शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३७७ - उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं

भाग: २२ साल: २०३७ महिना: भाद्र अंक:

निर्णय नं. १३७७    ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३६ सालको रिट नम्बर ९८६

आदेश भएको मिति : २०३७।५।३१।३ मा

निवेदक : सि.पा.जि. चौतारा गा.पं.वडा नं. १ बस्ने तिलकबहादुर दमाई

विरूद्ध

विपक्षी : श्री जिल्ला कार्यालय सिन्धुपाल्चोक समेत

विषय : उत्प्रेषणको वा उपयुक्त आदेश जारी गरिपाउं

(१)  दुई वर्ष पाँच महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा रिट निवेदन विलम्बको आधारमा खारेज हुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

आदेश

          न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुनआएको प्रस्तुत रिट निवेदनको विवरण निम्न बमोजिम छ :

          २.   सिं.पा.जि.अ.बाट ०३२।३।१७ मा र सिं.पा.मालबाट ०३३।५।४ मा पास भएको चन्द्रप्रसादबाट लिएको राजीनामाले भोग गरी आएकोमा मलाई ०३४।३।४ गते विपक्षी जिल्ला कार्यालयले पक्री लगेकोमा २७ नं. माटो ।४।१।७ को घलेखेतबाट मलाई छलबल गरी निकाल्न लाग्यो भनी वेदमायाले निवेदन गरेकोले म निवेदकलाई थुनामा राखी सबै कागज लिएर कतिपय कागजहरूमा म नपढेकालाई औंलाका सहिछाप गराई माल कार्यालयमा लगी सही गराई जिल्ला कार्यालयले थुनामा नै राखी ०३४।४।३ गते मात्र छोडी दिए कागजको नक्कल पाउँ भनी बराबर माग्दा नदिएको र पछि मबाट हकसफा गराएको ०३४।३।७ पारित भएको भनी कागज थान ३ र प्रेमप्रसाद वेदमाया आगे भएको थैली नदिएको ०३४।४।५ को भर्पाई थान २ को अलावा बेदमायाले जिल्ला कार्यालयमा दिएको, गराइएको ०३४।३।३ को निवेदन र ऐ. ८ गतेको मिति उल्लेख भएको संयुक्त निवेदन समेतको प्रतिलिपि ०३६।७।१८ गते मात्र पाएँ भन्ने समेत व्यहोरा रिट निवेदनमा उल्लेख भएको ।

          ३.   रिट निवेदन जिकिर : चन्द्रप्रसादबाट मैले लिएको जग्गा १० महीना पछि मलाई थुनामा राखी हकसफा गरेको भन्ने ०३०।७।२० गते नक्कल लिँदा थाहा हुन आयो यसरी हकसफा गराउने कानुनी म्याद खिलाफ गरी बेदमाया मबाट प्रेमप्रसाद बेदमायाले पाउने गरेको संवैधानिक एवं कानुनी अधिकारको अपहरण भएको प्रष्ट छ यसरी मेरो इच्छा विरूद्ध अदालतको कार्यक्षेत्र ग्रहण गरी मेरो सम्पत्ति बेदमाया प्रेमप्रसादलाई दिलाएको संविधानद्वारा प्रदत्त मौलिक हक कर्तव्य हनन् गरी कानुन प्रतिकूल र मेरो इच्छा विरूद्ध खडा गरेको कारवाईद्वारा अपहरण गरिएको अचल सम्पत्तिमा कारवाहीहरू बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

          ४.   विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३६।८।१९ को आदेश ।

          ५.  निजलाई थुनामा राखेको छैन निजले नक्कल मागेको छैन । संयुक्त निवेदन घरसारमा मिलापत्र गरेकाले निवेदन तामेलीमा राखेको हो, झुठ्ठा कुरा अपनाई दिएको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जिल्ला कार्यालय सिन्धुपाल्चोकको लिखितजवाफ ।

          ६.   कुन निर्णय वा आदेश वा कारवाही बदर गराई पाउँ भनी किटानी नभएकोले रिट जारी गर्न मिल्ने अवस्था छैन राजीखुसीबाट हक गरी दिए लिएको कुरामा चित्त बुझाई बसी २ वर्ष ५ महीना पछि झुठ्ठा कुरा अपनाई अनुचित विलम्ब गरी दिएको रिट निवेदन खारेज हुनुपर्ने प्रष्ट छ । यसरी सफा हात नलिई अदालतमा आउनेलाई असाधारण अधिकार प्रयोग गरी रिट जारी गर्न मिल्दैन । तसर्थ दूषित आचरण देखाई रिट निवेदन दिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बेदमाया पाध्याको लिखितजवाफ ।

          ७.  रजिष्ट्रेशनको ३ नं. ले जुनसुकै लिखित पारित गर्न आएमा गरी दिनुपर्ने कर्तव्य भई पारित भएको हुन् । २ वर्ष भन्दा बढी समय व्यतीत गरी निवेदन गरेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको सिन्धुपाल्चोक माल कार्यालयको लिखितजवाफ ।

          ८.   चन्द्रप्रसाद पाध्या र प्रेमप्रसाद उपाध्यायले तामेली भएको सूचनामा लिखितजवाफ पेश नगरी म्याद गुजारेको रहेछ ।

          ९.   निवेदक तिलकबहादुर दमाई र विपक्षी बेदमाया पाध्याको वारेस गणेशमान डंगोललाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री भक्तबहादुर श्रेष्ठ र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापित र प्रत्यर्थी कार्यालयतर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री इश्वराज पाण्डेले गर्नुभएको बहस समेत सुनियो, प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो वा होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

          १०.  यसमा निर्णयतर्फ हेर्दा २०३४ साल आषाढ ७ गते सिन्धुपाल्चोक मालबाट रजिष्ट्रेशन पारित गरी निवेदकले बेदमाया र प्रेमप्रसादलाई हकसफाको कागज गरी दिएकोमा निवेदकले स्वीकार गरेको देखिन्छ । सो कागज निवेदकलाई झुक्याई गफलतमा पारी गराएको भए त्यसको सबूत प्रमाण खुलाई कानुन बमोजिम अदालतमा उजूर गरी बदर गराउन सक्नुपर्ने सो बमोजिम उजूर गरी बदर गराएको देखिँदैन । यसरी ०३४।३।७ गते आफैंले हकसफाको कागज गरी रजिष्ट्रेशन पारित गरी दिएको कुरामा सो मितिले करीब २ वर्ष ५ महीना पछि मात्र अनुचित विलम्ब गरी सो रिट निवेदन पर्न आएको छ । यस प्रकार दुई वर्ष ५ महीना भन्दा बढी अवधि नाघिसकेपछि ढिलो गरी रिट निवेदन दिनुपर्ने मनासिव कारण निवेदकले उल्लेख गर्न समेत नसकेको हुँदा ढिलो गरी परेको रिट निवेदनबाट निवेदकको मागतर्फ विचार गर्ने अवस्था नहुँदा प्रस्तुत रिट निवेदन विलम्बको आधारमा खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३७ साल भाद्र ३१ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु