निर्णय नं. १३८६ - ज्यान

निर्णय नं. १३८६ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३६ सालको फौजदारी पुनरावेदन नम्बर १६५+१६७+१८५+१८६+र १८७
फैसला भएको मिति : २०३७।६।३।६ मा
पुनरावेदक : जि. मोरङ गा.पं. कसेनी वार्ड नं. ४ घर भई हाल जि.का.कारागार शाखा का.मा थुनिएको मखान सिंह भन्ने शेरबहादुर लिम्बूसमेत
विरूद्ध
विपक्षी : ऐ कसेनी गा.पं.वडा नं. ६ बस्ने संग्राम सिंह राईको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) ज्यान मारेको मुद्दामा ज्यानमारा हुनालाई हेरिने तत्त्व मध्ये मनसाय थियो थिएन भनी हेरिने एउटा तत्त्व हुन्छ । यदि त्यस्तो तत्त्व थियो भने ज्यानसम्बन्धीको १३ नं. ले अधिकार गर्छ । त्यसैले ज्यान मार्ने मनसाय भए नभएको थाहा पाउनलाई निजले प्रयोग गरेको हतियार वा कार्यहरूबाट पत्ता लगाइन्छ । जुन हतियार प्रहारको परिणामले मृत्युको सम्भावना अवश्य नै थियो भने त्यसलाई मनसाय गरेको भन्नुपर्छ, यस्तो ख्यालमा राखी उक्त ऐनको १४ नं. मा सजायको व्यवस्था भएको देखिने ।
(प्रकरण नं. ३८)
(२) जिउमा रहेको घा चोटहरूको रूपबाट घातकी हतियारबाट परेको हो भन्ने देखिन आएको नहुँदा ज्यानसम्बन्धीका १४ नं. अन्तर्गतको कसूर यसलाई मान्न परेको छ । त्यस्तो कसूर क–कसले कुन–कुन मात्रामा गरेका हुन् भनी ठहर गर्न मृतकको टाउकोमा सबै भन्दा ठूलो चोट परेको नै मृत्युको कारण हो भनी ठहर गर्न (सो प्रहार यसले गरेको हो भन्ने निश्चय हुन नसकेको–सम्बन्धित प्रकरणबाट राखिएको – संयोजक) अरूले समेत कुटपिट गर्दा संयुक्त रूपमा परेको चोटको वेदना नै एकत्रित हुन गई सोको (Cumulative effect) मृत्यु भएको देखिन्छ । त्यसकारणले चोट छोडनेहरू पृथक–पृथक उक्त १४ नं. को सजाय भागी देखिन आउने ।
(प्रकरण नं. ३८)
(३) प्रतिवादी भिमप्रसाद र रणबहादुरले हात छोडेको हो, लाठी इत्यादिले हानेको हो भनी बकपत्र भएको देखिएन, जब वादीतर्फबाट सबूत पुर्याइँदैन भने निजहरूले कसूर गरेको ठहराउन सबूत नपुग्ने ।
(प्रकरण नं. ४०)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना, ऐ. ऐ. श्री कुसुम श्रेष्ठ, ऐ. अधिवक्ता श्री विश्वकान्त मैनाली, ऐ. अधिवक्ता श्री विष्णुबहादुर राउत, ऐ. अधिवक्ता श्री शम्भुकुमार थापा, विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति २०३५।९।२१ का फैसला उपर प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू समेत जना ५ पाँचको पुनरावेदन सहित पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ :
२. मेरो सहोदर दाजु देवानसिं राई मोरङ कसेनी गा.पं.वा.नं. ४ मा खेती हुँदा ०२९।५।२ का दिन बिहान आउँदा मखानसिं भन्ने शेरबहादुर लिम्बू, हरिबहादुर लिम्बू, सनमान गुरुङ, भिम आचार्य, प्रेमबहादुर गुरुको भाइ साइला नाम नजानेको गुरुङ, जयबहादुर लिम्बू, रणे तामाङ, कैलास लिम्बू समेतका २५ जना र अरू नाम नजानेका ७५।८० जनाको जमात भई कुटपिट गरी मारेछन् र साथमा भएको टोटावाल जोर नाले बन्दुक रु.२५००। साईको घडी रु.२५०। पर्ने लगेछन् लास सुरक्षित राखी जाहेर गर्न आएको छु लास जाँच गरी अपराधीलाई पक्राउ गरी कानुन बमोजिम सजाय गरिपाउँ भन्ने संग्रामसिं राईको मिति २०२९।५।३ को जाहेरी रहेछ ।
३. ०२९।५।२ को बिहान करीब ९ बजे मन्त्री देवान सिंह र निजका साथमा दानबहादुर नेवार, जयबहादुर नेवार, ३६ ड्राईभर भन्ने र टिकाराम राई, नारायण निजको दाजु पर्ने समेत रामप्रसाद दाहालको घरमा आई पुग्नासाथ मन्त्री देवान सिंहले गोरु खोजे, त्यसपछि मन्त्री देवान सिंहले पाएको भनेको जग्गामा सबै गई गोरु जोत्दा जोत्न लाग्दा मखानसिं भन्ने शेरबहादुर समेतले गाली दिई मानिस बोलाउन गए मन्त्री समेत फर्की रामप्रसाद कहाँ आई खाना खाई केही पछि शेरबहादुर समेत मन्त्री बसेको तलामाथि आई झगडा गर्ने कुरा गरी मन्त्री लगायतलाई कुटपिट गर्दा म तल भागे मन्त्रीलाई टाढाबाट भूँइमा झारी कुट्दा म डरले पाटा वारीमा गई लुके ३५।४० जना मानिस आई के के गरे थाहा पाइन निजहरूले कुटपिट गरी कर्तव्यबाट मन्त्री मरेको हो भन्ने समेत प्रहरीमा रामकिसान गुप्तले गरेको कागज ।
४. मैले लालपूर्जा पाएको जग्गा मखानसिं भन्ने शेरबहादुर, हरिबहादुर, समेतले जोतेछन्, छलफल गर्नु जानु पर्यो भनी मन्त्रीज्यूले भन्नुभएकोले टिकाराम, दानबहादुर समेत मन्त्री देवान सिंहको साथ कानझोरा गई रामप्रसाद दाहालको घरमा बसी मखानसिंहले जोतेको गोरु खोसी मन्त्री आफैंैंले जोती बिहानको खाना रामप्रसादको घरमा खाई बसे २।३ बजे मखानसिं, भिम आचार्य, हरिबहादुर समेत मन्त्री बसेको ठाउँमा गई टाँडमा चढी जग्गा विषय केही कुरा गरी उनीहरू तल उत्रे केही बेरमा हरिबहादुर आई बूढापाका बोलाएका छौ मिले सल्लाह गरौला भन्दा मन्त्रीले माने त्यसपछि ईन्द्रराज लिम्बू समेत आई मिलाउने कुरा हुँदाहुँदै तारा गुरुङको आमाले हान बजा किन ढिला गर्छस् भनी बचन दिई पछि टाँडमाथि ईन्द्रराजले पनि ईसारा गरेपछि हरिबहादुरले लात्ताले हानी नाम नजानेको गुरुङले बन्दुक खोसी देवान सिंहलाई जत्रतम कुटी तला मुनि मन्त्रीलाई झारी कुटन थाले म भकारीभित्र लुके टिकारामलाई लखेट्दै लगे उक्त ३०।३५ जनाको मिलोमतोबाट कुटपिट गरेको हो भन्ने समेत मन्त्री साथ जाने नारायणप्रसाद राईको कागज ।
५. २०२९।५।२ का दिन बिहान अं.७ बजे मन्त्री देवान सिंह र साथमा टिकाराम समेतका ८ जना मेरा घरमा बस्नु भई मसँग गोरु माग्दा मेरो गोरु दाउनीमा लगेकोले घरमा छैन भनेँ, खिलप्रसादको गोरु र हलो समेत लिई दानबहादुर नेवार, कुवेरप्रसाद समेत मन्त्री देवान सिंहले पाएको जग्गामा जोत्न गएछन् । म आफ्नो दाउनीमा गएको थिएँ । त्यसपछि मखान सिंह भन्ने शेरबहादुर मन्त्री देवान सिंहलाई गाली दिन थाले र नरबहादुरलाई पख्लास् भन्ने खिलप्रसादलाई पनि भरे चाख्लास् भनी हप्काउदै हर्कबहादुरको घरतिर झरेको छन् भन्ने खिलप्रसादले दाउनी गरेको ठाउँमा भन्न आए हामी दाउनी गरिरहेको थियौं त्यसपछि आमा म भएमा जानु भयो र मान्छे भेला हुँदैछन् हामीलाई पनि मार्ने भन्छन् के गर्ने भनी भन्नु भयो त्यसपछि बहिनी ४ बजेतिर आएर देवान सिंहलाई किन हाम्रो घरमा बस्न दिएको हामी समेतलाई कुट्ने भएका छन् भनिन् कुटने भन्ने मानिस को भन्दा आचार्य केटा मखानसिं भन्ने शेरबहादुर, हरिबहादुर, कैलास, नरबहादुर समेत मैले चिनेको र अरू नचिनेको समेत धेरै मानिस थिए भनिन् त्यसपछि सूर्य मगरको वर्ष ८ कि छोरीले तपाईको घरमा आउनुभएको मन्त्रीलाई घरको टाँडबाट खसाएर कुटे मारे अरू चाही भागे भनी कसले कुटे भनी सोद्धा मखानसिंह तारा गुरुङ, हरिबहादुर, समेतका २५।३० जनाले कुटेर मारे भनिन् आमा बहिनी समेत भागी आई मलाई घर आउनु नदिएकोले ठानामा गई संग्राम सिंह समेतलाई खबर गरी रातको १२ बजे ४०।५० जना भइआएँदा मन्त्री देवानसिं मारी राखेकोले निजहरूकै कुटपिट कर्तव्यबाट मारेको हो भन्ने समेत घरवाला रामप्रसाद दाहालको प्रहरीमा भएको कागज ।
६. ०२९।५।२ का दिन बिहान ६ बजे मेरो खेतीतर्फ जानुपर्छ भनी मर्ने देवान सिंह राईले म सँग भन्दा म र नारायणप्रसाद समेतका ७ जना बेलबारीबाट बिहान ६ बजे हिँडी ७।५ तिर देवान सिंहको खेती काकुम झोरामा पुगियो झगडा गर्न गएको होइन । रामप्रसादको घरमा पुगी धान समेत खरीद बिक्री गर्ने कुरा गर्दा रामकिसुनले तपाईहरू आउनु भयो झगडा हुने सम्भावना छ, भने मन्त्री समेत आफैंले आफ्नो जग्गा जोते सो जोत्दा मखानसिं देवान सिंहको, झगडा भयो भिमप्रसाद समेतका १० जना जमात लिई वृषमायाको घरमा आई सल्लाहका कुरा गर्दा दिउँसो ३ बजे ईन्द्रराज आउनु भनेको म बस्छु भनेबाट म दिनका ३।२५ मा हिँडे लक्ष्मीमियाँ पुगेपछि भोटे राई आई मन्त्री देवान सिंहलाई गाउँको ८० जनाले कुटपिट गरेकाले ज्यान बचाउनु भागी आयौं भनेबाट हरिबहादुर राई समेतका मानिसले कुटपिट गरी मन्त्री देवान सिंहलाई मारेको भन्ने समेत मन्त्रीसाथ जाने भन्नेको क्वुरेप्रसाद चापागाईको प्रहरीमा भएको कागज ।
७. जग्गाको कुरामा मन्त्री आउनुभएको अरू मानिसले हुल गरे भनी रामप्रसादको आमाले भन्दा म शेरबहादुर समेत रामप्रसादको घरमा गयौं सो ठाउँमा प्रेमबहादुर समेतका मानिस थिए मेहनत दिन्छु भनी मन्त्रीले भन्दा पैसा लिई जग्गा छाडी दिनुपर्छ भनी मैले भनेँ मलाई नै झपारेकोले चुप भई घरतर्फ जान लाग्दा मन्त्रीले बस्नु भनेबाट बसेँ मन्त्रीको बन्दुक हरिबहादुरले खोसे भिम आचार्य कृष्णबहादुर रणध्वज, मखानसिं कैलास लिम्बू समेतका मानिसले मारपिट गरी मन्त्री देवान सिंहलाई मारी बन्दुक चन्द्रबहादुरले लगे भनी रामबहादुर कामीले भनेबाट सुनेको हुँ भन्ने समेत प्रहरीमा र मन्त्रीतर्फ १०।१२ जना विरोधीमा हरिबहादुर समेत थिए जग्गाबारे मिल्नुपर्छ भन्दा मानेनन् म धनपाल समेत हिंडी पर पुग्दा यता उता हिंडेको देखि म भोलिपल्ट मन्त्री मरेको सुनेकाले कुटी मारे थाहा छैन प्रहरीमा नभएको लेखेछन् भन्ने समेत ईन्द्रराजको कागज बयान ।
८. मन्त्री देवान सिं रामप्रसादको घरमा बसेको ठाउँमा गई बसी १०।१५ मिनेट पछि घर गई खाना खाई तारा गुरुङको घरमा गई बसेका थिए सो ठाउँमा कैलास लिम्बू, मखानसिंह भिम आचार्य, समेतले जाँड मागी खाई २०।२५ जना मैले नचिनेको मानिस समेत देवानसिं बसेको ठाउँमा गए प्रेमबहादुरका भाइ लगायत टाँडमा गई हरिबहादुरले बन्दुक खोसे नचिनेका मानिसले बन्दुक लिए हरिबहादुर समेत २०।२५ जनाले बन्दुक लाठी, खुकुरी चलाई मारपिट गर्न थाले म नचिनेको बाहुनका घरमा आई काँक्रा मागी खाएँ र घरमै सुते भोलिपल्ट मन्त्रीलाई कुटपिट गरी कुटी मारे भन्ने सुने मैले कुटपिट गरेका छैन भन्ने समेत प्रहरीमा र सोही मिलान गरी हुल गरी पहिले हरिबहादुरले कुटे अनि अरूले कुटपिट गर्न थाले मैले बाहुनको घरबाट देखेको हुँ भन्ने समेत अदालतमा हरिप्रसाद लिम्बूले गरेको बयान रहेछ ।
९. ०२९।५।२ का दिन २।३० बजे मेरा घरमा मखानसिं भन्ने शेरबहादुर समेतका ३०।३५ जना साथमा लाठी खुकुरी समेत लिई आई रक्सी खाए, जग्गा खाने मानिस मार्नु पर्छ भन्थे किन मार्नु भन्दा मन्त्री बसेको तलामा गई हरिबहादुर समेतको मारपिट हुन थाल्यो म भागे कसको चोटबाट मुत्यु भयो म भन्न सक्दिन भन्ने समेत वृषमाया गुरुङनीको प्रहरीमा र मकहाँ रक्सी जाँड खाई कुटपिट गरेका घरबाटै देखेँ धेरैजनाका हातमा लाठी खुकुरी थियो रामप्रसाद र मेरा झगडा परेकोले पोल गरे मन्त्रीले दर्ता गरेको जग्गा मेरो छोराको सम्बन्ध छैन हुलमा भागी गएछ भन्ने समेत अदालतमा वृषमाया गुरुङसेनीले गरेको बयान कागज ।
१०. घटनास्थल मन्त्री बसेको ठाउँमा गए हरिबहादुरले मन्त्रीका हातको बन्दुक खोसे अनि मार भनी कैलासले भनेपछि चन्द्रबहादुरले तलबाट खसाले मारपिट गर्नेमा मुख्य मखानसिं भन्ने शेरबहादुरले मानिस बोलाई जग्गा कमाउने ५ जना र तारा कैलास समेतले मारपिट गरेको हो मैले कुटपिट गरेको छैन भन्ने समेत रामबहादुर कामीको प्रहरी तथा अदालतमा समेत कागज बयान । म धान काट्न झर्दा रामप्रसादको घरमा धेरै मानिस देखी बुझ्दा तलामा कैलास लिम्बू समेत थिए अरू ४।५ जना नचिनेकोसँग बात भई मिल्नु राम्रो छ भन्दा कैलास समेत २०।२५ जना मारपिट गरी हरिबहादुरले बन्दुक लिई दक्षिणतर्फ जाँदै गरेको देखेँ मारपिट मैले गरेको छैन भन्ने समेत घनबहादुर पोख्रेल र घटना भएको अवस्था म घर ठाउँमा छैन हरैंचा रामबहादुरको घरमा गई सुतेको छु भोलिपल्ट मन्त्रीलाई मारे भन्ने सुनेको छु मन्त्रीले पाएको जग्गा मध्ये ०–१२–० कठ्ठा जग्गा मैले कमाएको र अरू निरबहादुर, सनमाया, हरिबहादुर, मखानसिं भन्ने शेरबहादुर समेत भई कमाएका छन् । सो जग्गामा मन्त्री आए ठीक पार्नुपर्छ भनी हरिबहादुरले भनेको सुनेको हुँ, मैले कुटपिट गरेको होइन क–कसले कुटपिट गरेको कसले मारे थाहा छैन भन्ने समेत प्रहरीमा र टिकाराम समेतसँग जग्गा सम्बन्धमा ईवी परेकोले पोलेको होला भन्ने समेत गरी अरू प्रहरी मिलान अदालतमा समेत वीरध्वज तमाङको कागज बयान भएको रहेछ ।
११. ०२९।५।२ का दिन म काकुम कान्छी स्वास्नी मरेकोले कृया भराउन गएका थिएँ दिउँसो रामप्रसादको घरमा मखानसिं, हरिबहादुर समेत मन्त्रीका जग्गामा छलफल, गरिरहेका थिए ईन्द्रराजले मिलाउन खोज्दा नमिली निज र म तल ओर्ली सासूको घरमा गएँ । त्यस बखत त्यहाँ रहेका मानिसको हातमा लाठ्ठी खुकुरी थिए वीरध्वज त्यहाँ थिएन मैले कुटपिट गरेको छैन निजहरूले नै कर्तव्य गरी मारेका हुन् जाहेरवालाले किन पोले भन्ने समेत प्रहरीमा र ०२९।५।२ का बेलुका मन्त्री बसेका ठाउँमा आएको थिएँ शेरबहादुर समेतका १०, १२ जना मानिस बसी कुरा मिलाउँदैथे म घरतर्फ आएको के भयो भन्न सक्तिन, भोलिपल्ट मन्त्री कुटेर मरे भन्ने सुनेको कसले मारे मलाई थाहा छैन भन्ने समेत अदालतमा ईन्द्रबहादुर तमाङले गरेको कागज बयान रहेछ ।
१२. ०२९।५।२ गते ११ बजे रामकिसुन बानियासँग धरान पढ्न भनी जाँदा हरिबहादुर, तारा गुरुङ रामबहादुर, मखानसिंह, जयबहादुर र अरू नचिनेका समेत रहेछन् मन्त्री आए कुटेर खेद्नुपर्छ भन्ने र लालपुर्जा पाएको व्यक्तिलाई कसरी खेद्ने भन्ने कुरा पनि गरिरहेका थिए सोही रिसइवीबाट मन्त्रीलाई मारपिट गरी मारे भन्ने सुनेको हुँ मैले कुटपिट समेत गरेको छैन भन्ने समेत प्रहरीमा र सोही मिलान अदालतमा समेत भगतराम लिम्बूले गरेको कागज बयान ।
१३. ०२९।५।२ का दिन खेतमा थिए रामप्रसादको आमाले मेरो घरमा मन्त्री आई जग्गाको कुरा गर्न धैर मानिस आएका छन् भन्नुभएबाट दिनको ४ बजे म पनि गएँ मखानसिं भन्ने शेरबहादुर समेतले ईन्द्रराजलाई झपार्दा मिलाउन सक्दिन भने निज र म हिंडी ३५।४० गज पर पुगेपछि मारपिट हुन थालेछ केही बेरपछि टिकारामलाई लखेटेको देखेको हुँ वीरध्वज त्यहाँ थिएन मखानसिं समेत भई मारपिट गरी मन्त्रीलाई मारेको हो मैले कुटपिट गरेको हैन किन जाहेर गरे थाहा छैन भन्ने समेत प्रहरीमा र सोही मिलान गरी अदालतमा समेत शेरबहादुर लिम्बूले गरेको कागज बयान रहेछ ।
१४. मखानसिंहको स्वास्नीलाई झारफुक गरी ०२९।५।२ गते रामप्रसाद कहाँ मान्छे भेला भएको ठाउँमा गएँ त्यहाँ मन्त्री देवान सिं र शेरबहादुर समेत रहेछन् ईन्द्रराजले मिल्नुपर्छ भन्दा सनमान तारा मेरो छोरा रणबहादुर समेत बसेको रहेछन् इन्द्रराज र हामी घरतर्फ गएको हो निजहरूले ढालफाँड गरेको जग्गामा मन्त्रीले जोत खन गरेको रिसबाट क–कसले मारपिट गरेको हो मैले गरेको छैन भन्ने समेत प्रहरीमा र सोही मिलान गरी छोरा रणबहादुर तामाङ समेत वारदातमा रहेको कुरा दर्शाई अदालतमा धनपाल लामाले गरेको कागज बयान रहेछ ।
१५. कैलास लिम्बू समेत भई मन्त्री देवान सिंलाई कुटेर मारे भन्ने सुनेको हुँ कसले मारे थाहा छैन भन्ने समेत मानबहादुर, पिताम्बर लिम्बू, हस्तबहादुर लिम्बू, दौतलमणी राई, अम्बरबहादुर राई, मानबहादुर कामी, तथा अबीरमान दर्जी समेतको कागज रहेछ ।
१६. देवानसिं म समेत ८ जना काकुम झोरामा पुगी रामप्रसादको घरमा ओर्ली जग्गा जोत्न गोरु खोज्न जाँदा नपाई फर्की आउँदा कैलास लिम्बू समेतका २०।२५ जना रामप्रसादको घर पश्चिम लागे दिनको ४ बजेतिर बूढा पाका भई कुरा मिलाउन ईन्द्रराज लिम्बू समेतले भन्दा मन्त्रीले परिश्रम खर्च दिन्छु भन्दा मान्दैनौ भनी कराउँदा तल भएका मानिसको हातमा खुकुरी लाठीले देवान सिंलाई प्रहार गर्न लागे म पटुवा घारीभित्र लुकी बसे देवानसिं राई निजहरूको कर्तव्यबाट मारेको हो भन्नेसमेत प्रहरीमा भएको कागज ।
१७. ०२९।५।२ गते मन्त्रीसाथ जग्गामा जाँदा मखानसिं उफ्रिदै थिएँ भिम आचार्य समेत खुकुरी लिई पूर्व पट्टिको घरमा भेला हुँदै थिए जग्गाको कुरामा कराउँदा र खुकुरी समेतका मानिस देखि डर लागी पटुवा वारीमा लुक्न गएँ सो ठाउँमा १०।१२ जना लुकी रहेकोले उजूरमानलाई भनी ठानामा खबर गर्नु भनी हरिबहादुर मखासिंले कुटपिट गरी टाँडबाट झारी मर्न लागेको थियो घटनास्थलमा दानबहादुर, कुवेरप्रसाद आई पुग्दा मन्त्रीज्यू मरिसके भनी क.प.हर्षशेरले भनेका र घटनास्थलमा आउँदा मन्त्री मरी सकेको देखेको हुँ भन्ने समेत नारायणप्रसाद राईको बयान ।
१८. मन्त्रीको साथमा म नारायणप्रसाद समेत गई जग्गा जोत्दा मखानसिंहले मेरो जग्गा जोतेको चाख्लास् भनी गयो हामी रामप्रसाद कहाँ खाना खाई बसेको थियौं तारा गुरुङको घरमा मानिस भेला भएको देखी मन्त्रीले के रहेछ भनी जाउँ भन्दा हरिबहादुर लिम्बू समेत रहेछन् पुग्दासाथ शोषकको पछि लाग्ने भने, भिम आचार्य समेतले कसरी जग्गा जोत्दा रहेछन् भने सोही कुरा मन्त्रीलाई भनी म विरामी भएको हुँदा दिनुमानसिंको घरमा गई सुतेको भोलिपल्ट वेलवारी पुग्दा मन्त्रीलाई मखानसिं समेतले कुटपिट गरी मारे भन्ने सुनेको हुँ भन्नेसमेत प्रहरीमा जयबहादुर श्रेष्ठले गरेको कागज ।
१९. लासजाँच पोष्टमार्टमबाट समेत मन्त्री देवानसिं राईलाई कर्तव्यबाट मारेको भन्ने शब्द हुनआएकोले कैलास लिम्बू, कान्तु भन्ने हरिबहादुर, तारा गुरुङ, रणबहादुर, मखानसिंह भन्ने शेरबहादुर, भिमआचार्य, चन्द्रबहादुर,कृष्णबहादुर, सनमानसमेतलाई ज्यानसम्बन्धीको १३ नं. बमोजिम र क.पं.हर्षशेर राई, हरिप्रसाद, वीरध्वज, जयबहादुर, ईन्द्रराज लिम्बू समेतका व्यक्तिलाई ज्यानसम्बन्धीको १७(३) अनुसार हुने ईन्द्रबहादुर तामाङ, धनपाल लामा, भक्तराम काईलो दमाई समेत उपर ज्यान सम्बन्धीको १९ नं. ले र दौलतमणी नरसिंबहादुर, अम्बरबहादुर, मानबहादुर कामी समेतका व्यक्ति उपर मुद्दा चलाउन नमिल्ने चक्रबहादुर गुरुङ सलबहादुर, महावीर मित्र, लाल घिमिरे समेतलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम हुने भन्ने समेत मिति ०२९।५।३१ को प्रहरी प्रतिवेदन रहेछ ।
२०. २०२९।५।२ गते १।३० बजेको समयमा म हरैंचा जान भनी आएको बीच बाटामा पर्ने तेलकुडी भन्ने ठाउँमा पुगेको बखत घरवालाका नाउँ चिन्दिन त्यसै ठाउँमा मन्त्री देवान सिं टाँडमा बस्नुभएको र त्यस ठाउँमा भिम आचार्य, मखानसिं लिम्बू, वेलवारीको नाउँ नजानेको गुरुङ, चिनेका र अरू नचिनेका करीब १५।१६ जना मानिस कोही कोहीको साथमा लाठी लिइआएका र मखानसिंले मन्त्रीको टाउकोमा लाठीले हानेको देखेँ अरू अरूले पनि लाठी चलाएको देखी म सरासर हरैंचातर्फ गएँ बेलुका ६ बजेतिर त्यही बाटो फर्कदा मन्त्री देवानसिं टाँड मुनीतिर लडी राखेको अलि टाढैबाट देखेँ ८।१० जना मानिस थिए म सरासर घरतर्फ गएँ भन्ने समेत कृष्णबहादुर लिम्बूको बयान ।
२१. २०२९।५।२ का दिन ३।४ बजेको समयमा तेलकुडी बस्ने मखानसिं भन्ने शेरबहादुर लिम्बूले जोतेको जग्गा भू.पु.मन्त्री श्री देवानसिं राईले आफ्ना नाउँमा दर्ता गराई ल्याएछ सो जग्गा मिलाउने कुरा छ भनी भनेको हुँदा म समेत माखानसिंको घर छेउ रामप्रसाद बाहुनको घरमा गएको थिएँ सो घर सिकुवा कुराकानी हुँदाहुँदै झगडा भयो माखानसिंले बाँसको लाठीले देवानसिंलाई हिर्कायो सोही समय कैलास लिम्बू, कान्तु लिम्बू, कृष्णबहादुर लिम्बू समेतले हिर्काए देवानसिंको मृत्यु हुनगएको हो । भिमप्रसाद आचार्यले हाम्रो काम शुरू गरौं भनी बचन दिएको थियो भन्ने समेत प्रहरीमा र मन्त्रीको बन्दुक सनमानले खोसी लिएका थिए मैले कुनै कसूर नगरेकोले मेरो उपरको अभियोग झुठ्ठा हो भन्ने समेत अरू सबै व्यहोरा प्रहरीमा गरेको कागज मिलान अदालतमासमेत रोहितकुमार भन्ने रणबहादुर तामाङको कागज बयानरहेछ ।
२२. ०२९।५।२ का दिन खेती बेलकुडी झोरामा गएको बेलुका ४ बजे घर फर्की आएको मन्त्री देवानसिं आएका छन् जग्गाको कुरा मिलाउने भनी मानिसहरूको आवत जावत छ भन्ने खेतीमै सुनेको थिएँ भाद्र ३ गते आफ्नो फुपू सासू विरामी परेकोले भारत दार्जलिङ गई आश्विनमा घर आएँ मार्नेमा सनमान, कान्तु, मखानसिं, तारा समेत भई मारे भन्ने कुरा सुने रिसइवीको कारणबाट सरजमीन समेतले लेखाएका हुन् भन्ने समेत क.प.हर्षशेर राईको बयान ।
२३. ०२९।५।२ गते हरैंचाबाट घर आएको हुँ मैले समेत आवाद गरेको जग्गा मन्त्री देवान सिंहले प्रमाण बनाई ल्याउनुभएको थियो वारदातको दिन टायम बेलुका ४।५ बजेको टायममा म हरैंचामा भएको देख्ने असई घनपाल राई हो म हरैंचामै छु शेरबहादुरसँग जग्गा मुद्दा परेको शेरबहादुर र भक्तबहादुरको सानीआमाको छोरा हुनाले त्यस जरियाबाट मलाई सरजमीनमा पोलेको हो भन्ने समेत महावीर तामाङको बयान ।
२४. ०२९ भाद्र महीनामा मन्त्री देवान सिंहलाई जग्गाको विषयमा झगडा कुटपिट गरी मारेको कुरा २।४ गते धरानमा सुनेको हुँ कसले के के कुराको झगडा गरी कुटपिट गरे मारे कुनै कुरा थाहा छैन ०२९।५।२ गते म आफ्नै घर–घरानमा छु मैले कुनै कसूर गरेको छैन झुठ्ठा पोल हुँदा सफाई गरिपाउँ भन्ने समेत वलिराम राईको बयान रहेछ ।
२५. ०२९।५।१ गते ससूरा ह.धनबहादुर विरामी छन् भन्ने खबर लिई जमानसिं संग्रौला आएकोले भाद्र २ गते बिहानै निज जमानसिंको साथ पहाड तेह्रथुम जान हिंडी २ गते बेलुका धनकुटा मूलघाट क्षेत्रमा बास बसी ३ गते फिदिम सामापारी र ४ गते वेलुका ससुराली पुगे ११ दिन वसी आश्विन २७ गते खेती घर तेलकुडीमा पुगेँ मन्त्री देवानसिंलाई गाउँले ५०।६० जना भई कुटपिट गरी मारेछन् भन्ने हल्ला सुनेको हुँ १।२ महीना अघि देवानसिंले जग्गाको कागज गराउने रे भन्ने कुरा हुँदा मैले अर्काले ढालफाँड गरेको जग्गा कसरी बनाई ल्याउने रहेछन् भनी भनेको थिएँ त्यही कुरा लिएर मलाई पोल शंका गर्ने गरेका हुन् मन्त्री देवानसिंलाई मैले कुटपिट गरेको मारेको कुनै कुरा होइन भन्ने समेत कैलास लिम्बूको बयान ।
२६. २०२९।४।९ गते मोरङ कलेजमा जाँच दिई म आफ्नो पहाड घर गएँ त्यसपछि आश्विन महीनाको दशैंलाई इनरुवा आएँ पहाडमा छँदा र मदेश इनरुवामा आएपछि पनि मन्त्री देवानसिंलाई झोडेली जनताले कुटपिट गरी मारे भन्ने कुराको आम चर्चा भएको सुने जानेको हुँ कुट्ने भनेका मानिस को–को हुन् म नाम वतन बताउन सक्तैन जग्गा सम्बन्धमा झगडा थियो रे ¤ त्यसै कारणबाट कुटी मारे भन्ने सुनेको हुँ जाहेरी सरजमीन समेतका टिकाराम, नारायणप्रसाद, सहितका व्यक्तिहरू रिसइवी परेकोले मलाई फसाएका हुन । वारदात मिति भाद्र २ गते म पहाडमा भएको मेरो खसी हराएकोले त्यसको जाहेरी धनकुटा इलाका सिधुवा प्रहरी चौकीमा जाहेरी दिएको प्रमाण मसँग छ मैले कुनै कसूर नगरेकोले सफाई पाउँ भन्ने समेत भिमप्रसाद आचार्यको बयान ।
२७. मन्त्री देवानसिं र मखानसिंको जग्गाको झगडा थियो सो इवीबाट गाउँले को को भई कुटपिट गरी मारेको कुरा सुनेको हुँ भाद्र २ गते घरमा छु ७ कोस फरकमा घर छ सरजमीनले पोल्नुपर्ने कारण भक्तबहादुर समेतसँग कुटपिट मुद्दा गरी सो इवी साधन गर्न पोलेका हुन् भन्ने समेत चन्द्रबहादुर गुरुङ र देवानसिंलाई मैले चिनेको छैन २०२९।४।२० गते कसन दहपथरी गई भाद्र २० गते घर आएको हुँदा मन्त्रीलाई कुटी मारे भन्ने सुनेको हुँ भक्तबहादुरले रिसबाट झुठ्ठा पोल गरेको हो भन्ने समेत लोकबहादुर तामाङ समेतको बयान रहेछ ।
२८. मैले कसैनी गा.पं.काकूममा १ बिगहा जग्गा आवाद ढालफाँड गरेको झोरा कमिशनले ९ कठ्ठा मात्र दर्ता गरिदिएको सो जग्गासँग कान्तु, सनमान, रणबहादुर, महावीर, नारायण गुरुङको जग्गा मन्त्रीले दर्ता गराएको हुँदा वारदात हुनु ४ दिन अघि मन्त्री र नजिकका एकजना मानिससँग कुरा हुँदा परिश्रम खर्च दिए मिल्ने भन्ने अरूले मिल्दैन जग्गा छाड्दैन भनेको हो म भोलिपल्ट श्रीमतीको हातमा घाउ परेकोले हरैंचा बजारमा डाक्टरकहाँ गई औषधी लिई हाटबजार भरी बेलुका आएको हो रामप्रसादको घरमा कान्तु भन्ने हरिबहादुर सनमानले बन्दूक खोसी मन्त्रीलाई टाँडबाट झारी नारायण गुरुङ र अरू नचिनेका २०।२२ जना भई कुटपिट गरी मारे भन्ने मेरी श्रीमतीले देखेको म औषधी लिन गएकोले देखिन म वारदातमा थिइन भन्ने समेत मखानसिं भन्ने शेरबहादुर लिम्बूको बयान ।
२९. कालिबहादुर, टिकाराम, नारायणप्रसाद समेत म्याद गुजारी पक्राउमा समेत फेला नपरेका रहेछन् ।
३०. २०२९।५।२ गते घटनास्थलमा नभई भारत आसाममा छु खेतीपाती गोठघर गृहस्थी गरी ०२८।१०।१५ देखि बसेको छु । टिकाराम समेतले ज्यान मार्ने उद्योगमा मैले जाहेरी दिई सफाई पाए पनि सो इवीबाट झुठ्ठा पोल गरेका हुन् मैले कसूर गरेको छैन भन्ने समेत भिमलाल घिमिरेको बयान रहेछ ।
३१. सरजमीन मिसिल प्रमाणबाट मखानसिं भन्ने शेरबहादुर लिम्बू, चन्द्रबहादुर गुरुङ भन्ने रणबहादुर तामाङ समेतले कुटपिट गरेको देखिएको र यसैको चोटले मरेको भन्ने यकीन हुन नआएकोले मुख्य मखानसिं भन्ने शेरबहादुर लिम्बू, रने भन्ने रणबहादुर तामाङ, चन्द्रबहादुर गुरुङलाई प्रहरी प्रतिवेदनको दावी अनुसार ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद हुने र म्याद गुजार्ने कान्तु भन्ने हरिबहादुर लिम्बू, सनमान गुरुङ, नारायण गुरुङ साहिला बुढाको छोरा जेठाको डाईका लामा, सलबहादुर गुरुङ, प्रेमबहादुर गुरुङको मीत भाइ साहिँला, बुढाको छोरा कान्छो नाम नजानेको चक्रबहादुर गुरुङ समेतको हकमा फेला परेका बखत कारवाही गर्ने गरी मुलतवी रहने र लोकबहादुर तामाङ, कैलास लिम्बू, कृष्णबहादुर लिम्बूलाई ज्यानसम्बन्धीको १७(३) अनुसार ३ तीन वर्षका दरले कैद गर्ने र भिम आचार्य, कृष्णमाया गुरुङनीलाई ऐ. १६ नं. ले कैद वर्ष ५ इन्द्रराज लिम्बू, वीरध्वज, हरिप्रसाद क.प.हर्षशेर राई, वलिराम, महावीर, जयबहादुर, रामबहादुर कामी समेतलाई ऐ. १७।३५ ले कैद वर्ष २ इन्द्रबहादुर तामाङ, धनपाल लामालाई ऐ. १९ नं. ले रु.३०। का दरले जरीवाना र भगतराम सुब्बा शेरबहादुर लिम्बू, कवीरमान दमाई, भिमलाल घिमिरेलाई सफाई पाउने अरूको हकमा मुलतवी राख्ने समेत गरी शुरू मोरङ जिल्ला अदालतबाट ०३४।३।९ मा गरेको जाहेरी फैसला रहेछ ।
३२. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारतर्फबाट र प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू समेतको अलग–अलग पुनरावेदन परेकोमा मखानसिं भन्ने शेरबहादुर लिम्बू, चन्द्रबहादुर गुरुङ, रणबहादुर तामाङलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद गर्ने र कृष्णबहादुरलाई ज्यानसम्बन्धीको १७(३) बमोजिम कसूर गरेको ठहराएको इन्साफ शुरू मोरङ जि. अदालतको मनासिव ठहर्छ । प्र.मध्ये कैलास लिम्बूलाई ज्यानसम्बन्धीको १७(३) र भिम आचार्यलाई ज्यानसम्बन्धीको १६ नं. बमोजिम शुरूले सजाय गरेको तर्फ विचार गर्दा कैलास लिम्बू चोट छाड्नेमा रहेको भनी मौकामा देख्ने गजराज राईले अदालतमा समेत बयान गरेको र घटना हुँदा कैलास लिम्बू र भिम आचार्य घटनास्थलमा रहेको भएको कुरा देखाई मानिस उत्तेजित पार्ने बचन दिने कुट्ने भनी टाँडबाट तल झार्ने समेत काममा सरिक रहेको देखाई रणबहादुर, ईन्द्रराज, जयबहादुर, हरिप्रसाद, ईन्द्रबहादुर, घनपाल, टिकाराम र सरजमीनका पहलमान समेतले र मृतकसँग साथै रहेको नारायणप्रसाद समेतले लेखिदिएको देखिन आएकोले कैलास लिम्बू र भिम आचार्यलाई क्रमशः ज्यानसम्बन्धीका १३(३) बमोजिम जन्मकैद हुने ठहर्छ । क.प.हर्षशेर राई, जयबहादुर लिम्बू, ईन्द्रराज लिम्बू कान्छो भन्ने वलिराम राई, महावीर तामाङलाई ज्यानसम्बन्धीका १७(३) बमोजिम शुरूले कसूरदार कायम गरी सजाय गरेको मिलेन निजहरूले सफाई पाउने ठहर्छ प्र.पुनरावेदन हरिप्रसाद लिम्बूका हकमा शुरूले ज्यानसम्बन्धीको १७(३) बमोजिम कसूर कायम गरी सजाय हुने ठहराएको इन्साफ मनासिव छ । वृषमाया गुरुङनीलाई ज्यानसम्बन्धीका १६ नं. लगाई सजाय गरेको मिलेन ज्यानसम्बन्धीको १७(३) को कसूर गरेको कायम हुने ठहर्छ । सफाई पाउने भिमलाल घिमिरे समेतका हकमा दावी बमोजिमकै कसूर कायम हुनपर्ने भन्ने समेत श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिर र विद्वान स.स.अ.को बहससँग सहमत हुन सकिएन । शुरूले सफाई दिने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३५।९।२१।६ को जाहेरी फैसला रहेछ ।
३३. उक्त इन्साफमा चित्त बुझेन क्षेत्रीय अदालतको इन्साफ बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेतका विभिन्न कुराहरूको जिकिर लिँदै प्र.मखानसिं भन्ने शेरबहादुर लिम्बू, भिम आचार्य, रणबहादुर तामाङ, कैलास लिम्बू तथा चन्द्रबहादुर गुरुङ समेतको अलग–अलग पुनरावेदन परेको रहेछ ।
३४. घटित वारदातबाट ज्यानसम्बन्धीको १३ नं. को अपराध कायम गरी प्रहरी प्रतिवेदन दावी भएको र वारदात अपराध सोही अनुसार कायम गरी कसूर ठहरेका सम्बन्धित प्रतिवादीहरूलाई ऐन बमोजिम सजाय गर्ने गरी पू.क्षे.अ.बाट निर्णय भएको देखिन आउँछ ।
३५. संकलित प्रमाणबाट जोखिमी हतियार विष आदि प्रयोग भएको नदेखिएको र ज्यान मार्नुपर्ने इवी कारण पनि देखिएकोले ज्यान मार्ने मनसाय तथा नियतरहित जग्गाको सम्बन्धमा भएको कुटपिटको परिणाममा मानिस मर्न गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. को कसूर अपराध कायम गरी सजाय गर्ने गरेको मिलेको नदेखिएकोले अ.बं.२०२ नं. र स.अ.नियमावली बमोजिम छलफल निमित्त सरकारी अधिवक्ता खटाई पठाइदिनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियमानुसार पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति २०३६।१२।१४।५ को आदेश रहेछ ।
३६. पुनरावेदक थुनुवा प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू समेतको थुनाबाट पर्न आएको पुनरावेदन जिकिर हेरी थुनुवा प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू, रणबहादुर तामाङ तथा भिमप्रसाद आचार्यलाई प्रस्तुत मुद्दा पेश हुने मिति २०३७।५।२ को दिन थुनाबाट बेञ्च समक्ष उपस्थित गराई रोहवरमा राखी निजहरूका तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुड्डाना तथा विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान, अधिवक्ता श्री विश्वकान्त मैनाली तथा श्री विष्णुबहादुर राउत, श्री शम्भुकुमार थापा तथा विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीहरूको र विपक्षी वादी श्री ५ को सरकारतर्फबाट छलफल निमित्त खटिनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल समेतको बहसहरू सुनी आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतबाट भएको इन्साफ मनासिव या गल्ती के हो ? निर्णय दिनुपरेको छ ।
३७. यसमा पुनरावेदक प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू समेत जना ५ ले पुनरावेदन दर्ता गरेका र निजहरूको हकमा तोकेको सजाय सदर गराउन साधक गरेको समेतबाट हुने प्रतिवादी ५ जवानको हकमा यस अदालतबाट निर्णय दिनुपरेको छ ।
३८. ज्यान मारेको मुद्दामा ज्यानमारा हुनलाई हेर्ने तत्त्व मध्ये मनसाय थियो थिएन भनी हेरिने एउटा तत्त्व हुन्छ । यदि त्यस्तो तत्त्व थियो भने ज्यानसम्बन्धीको १३ नं. ले अधिकार गर्छ त्यसैले ज्यान मार्ने मनसाय भए नभएको थाहा पाउनलाई निजले प्रयोग गरेको हतियार वा कार्यहरूबाट पत्ता लगाइन्छ । जुन हतियार प्रहारको परिणामले मृत्युको सम्भावना अवश्य नै थियो भने त्यसलाई मनसाय गरेको भन्नुपर्छ यस्तो ख्यालमा राखी उक्त ऐनको १४ नं. मा सजायको व्यवस्था भएको देखिन्छ । भूतपूर्व मन्त्री श्री देवान सिंहलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा पाएको जग्गा मखानसिं भन्ने शेरबहादुर लिम्बूले आवाद गरेको भन्ने कुरामा मिलाउने योजना छँदाछँदै निज देवान सिंहको मृत्यु भएको हो भनी प्रमाणित हुन्छ । निज देवान सिंहका हातमा भएको बन्दूक खोसाखोस गर्दा माथिबाट लडी त्यसबाट मृतक देवान सिंहको शीरमा चोट लाग्न गई यो घटना घटेको हो र उक्त ऐनको ५ नम्बरको भवितव्य मुद्दा हो भन्ने प्रतिवादीतर्फका विद्वानहरूबाट उठेको तर्कलाई अरू कुनै तरहबाट पुष्टि हुन आउँदैन र एउटै लक्ष्य हासिल गर्न पृथक–पृथक अडेका व्यक्तिहरूले झगडा मच्याउनु भरपर्दो कुरा हुन्छ । मृतक देवानसिंह राईको जिउमा रहेको घाउ चोटहरूको रूपबाट घातकीय हतियारबाट परेको हो भन्ने देखिन आएको नहुँदा ज्यानसम्बन्धीका १४ अन्तर्गतको कसूर यसलाई मान्न परेको छ । त्यस्तो कसूर क–कसले कुन कुन मात्रामा गरेका हुन् भनी ठहर गर्न मृतक देवान सिंहको टाउकोमा सबैभन्दा ठूलो चोट परेको नै मृत्युको कारण हो भनी ठहर गर्न सो प्रहार यसले गरेको हो भन्ने निश्चय हुन नसकेको अरू घाउ पर्ने अरूले समेत कुटपिट गर्दा संयुक्त रूपमा गरेको चोटको वेदना नै एकत्रित हुन गई सोको (Cumulative effect) मृतकको मृत्यु भएको देखिन्छ । त्यसकारणले चोट छोड्नेहरू पृथक–पृथक उक्त १४ नं. को सजायको भागी देखिन आउँदछन् । यो ज्यानसम्बन्धीको १४ नं. प्रयोग भएकोमा बचन दिने कोही खडा हुन्छन् कि भनी निर्णय गरे पनि एकाएक घटेको यसको वारदातमा हात छोड्नेलाई सजायको व्यवस्था गरेको ऐनमा देखियो ।
३९. कुनै एकले प्रतिवादी फैसला फलाना–फलाना वारदातमा थिए पनि भनेकोमा कुनै एकले तिनीहरू सबै वा मध्ये कुनै थिएन भन्ने भनाई नगरी फलाना–फलाना थिए भनी आपसमा लेखेको रहेछ भने परस्पर विरोधी कायम हुन आउँदैन ती भनिएका व्यक्तिहरूलाई कसैले हेक्का राखी वा कसैले हेक्का राख्न नसकी फरक फरक व्यक्तिलाई देखाएको हुन्छ ती देखाउने मध्ये कस–कसले कस–कसलाई देखाएको हो भनी साँचो ठहराउने आधार मिसिलको सन्तुलित प्रमाण र परिबन्द हुन्छ ।
४०. प्रस्तुत मुद्दामा प्रतिवादी भीमप्रसाद आचार्य र रणबहादुर तामाङले हात छाडेको हो लाठी इत्यादिले हानेको हो भनी बकपत्र भएको देखिएन जब वादी तर्फबाट सबूत पुर्याइँदैन भने निजहरूले कसूर गरेको ठहराउने सबूत पुग्दैन ।
४१. प्रत्यक्षदर्शी जगराज, राम किसुनले कुटपिट गर्ने भनी किटानसाथ पोल गरेका मखानसिं भन्ने शेरबहादुरले यो वारदातमा सम्मिलित भएको भनी ठहर गरेको कारण प्रमाणहरू क्षेत्रीय अदालतको फैसलामा प्रष्टै छ । जग्गा आवाद गरेको भनी दावी गरेकोले आफ्नो आवादी जग्गामा कचमच पर्न आउँदा यस्तो कलह हुनुपनि स्वाभाविकै हो प्रतिवादी कैलास लिम्बू र चन्द्रबहादुर गुरुङ यस वारदातमा रहेको र हात छाडेको भनी प्रत्यक्षदर्शीको बयानबाट सबूत पुग्ने हुनाले क्षेत्रीय अदालतबाट वारदातमा सम्मिलित ठहराएको मनासिव छ ।
४२. सजायका हकमा प्रतिवादी मखानसिं भन्ने शेरबहादुर लिम्बू, चन्द्रबहादुर गुरुङ र कैलास लिम्बूलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम दश वर्षका दरले मात्र कैद लाग्छ । ज्यानसम्बन्धी महलका १४ नं. को वारदात ठहरेकाले ज्यानसम्बन्धीका १३ (३) बमोजिमको वारदात ठहराई ज्यानसम्बन्धीका १७ तथा १६ नं. बमोजिम अरू प्रतिवादीहरूलाई सजाय भएको समेत मिलेन । निजहरूका हकमा अ.बं.२०५ नं बमोजिम इन्साफ उल्टी हुने ठहर्छ । तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रस्तुत ज्यान मुद्दाको अभियोगमा सजाय पाएका देहायका प्रतिवादीहरूलाई यस मुद्दाको थुनाबाहेक अन्य मुद्दाको थुनामा राख्न नपर्ने भए यस मुद्दाको थुनाबाट तुरून्त छाडी दिनु भनी छिटो साधनद्वारा निजहरू थुनामा रहेको कारागार शाखालाई सूचना गर्न छुट्टैआदेश लेखी सूचना पठाउनु र देहायबमोजिम लगतकट्टा गर्न मोरङ जि.अ.लाई पत्र लेखीपठाउन का.जि.अ.त मा लगत दिनु...१
प्र.भीमप्रसाद आचार्य १, प्र.रणबहादुर तामाङ १ प्र.भिमप्रसाद आचार्यलाई शुरू मोरङ जिल्ला अदालतका ०३४।३।९ का फैसलाले ज्यानसम्बन्धीका १६ नं. बमोजिम कैद वर्ष ५ र पूर्वाञ्चल क्षेत्रीय अदालतका मिति ०३५।९।२१ का फैसलाले ज्यानसम्बन्धीका १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरेको कलम १ प्र.रणबहादुर तामाङलाई शुरू मोरङ जि.अ.का २०३४।३।९ का फैसलाले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरेकोलाई पू.क्षे.अ.बाट सदर गरेको कलम १
शुरू तथा क्षेत्रीय अदालतका फैसलाले ज्यानसम्बन्धीका १.७, ३ र १३ अन्तर्गत सजाय तोकिएका देहायका प्रतिवादीहरू के प्रस्तुत मुद्दा ज्यान सम्बन्धीका १४ नं. बमोजिम ठहरेकाले सो अनुसार गर्नु परेन व्यहोरा जनाई देहायका प्र.हरूको देहाय बमोजिमको लगत कट्टा गर्न ऐ. ऐ....२
प्र.लोकबहादुर तामाङ के कैद वर्ष ३ को कलम–१ प्र.कृष्णबहादुर लिम्बू के ऐ. ऐ. ३ वर्षको ऐ– १ प्र.वृषमाया गुरुङनी के कैद वर्ष ५ को कलम– १ प्र.ईन्द्रराज लिम्बूके कैद वर्ष २ को कलम– १ प्र.वीरध्वज तामाङ के ऐ. ऐ. २ वर्षको ऐ– १ प्र.वल्लु भन्ने हरिप्रसाद लिम्बू के २ वर्षको ऐ– १ प्र.क.प.हर्कध्वज लिम्बू के ऐ. ऐ. २ वर्षको ऐ– १ प्र.कान्छी भन्ने वलिराम राई के ऐ. २ वर्षको ऐ १ प्र.महावीर तामाङ के ऐ. ऐ. २ वर्षको ऐ १ प्र.जयबहादुर लिम्बू के २ वर्षको ऐ– १ प्र.रामबहादुर कामी २ वर्षको ऐ– १
देहायका प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिएबमोजिम ज्यान सम्बन्धका १४ नं. बमोजिम निजहरूलाई १० वर्षका दरले कैदको सजाय हुने हुँदा शुरू तथा क्षेत्रीय अदालतबाट गर्ने गरेको देहाय बमोजिमको लगत कट्टा गरी केवल १० दश वर्षका दरले कैदको सजाय गर्नु भनी ऐ. ऐ.............. ३
आसामी लगत कट्टा गर्ने कलम थुनामा परेको मितिबाट अब कायम हुने भएको कैदको सजाय
प्र.कैलास लिम्बू– पुर्पक्ष निमित्त थुनामा के............परेको मिति २०२९।११।४ सुरु कैद वर्ष ३ र पू.क्षे.अ.
का.फै.ले गरेको जन्म –कैद
१० दश वर्ष कैद सजाय
प्र.मखानसिं भन्ने ०३०।२।३२– सुरु तथा जि.अ.को जन्मकैद– १० दश वर्ष कैद सजाय
शेरबहादुर लिम्बू के–
प्र.चन्द्रबहादुर– ०२९।११।८ गुरुङ के ............ ऐ ऐ. ऐ ऐ ऐ ऐ................ऐ...............ऐ
अनुपस्थित पुनरावेदक प्रतिवादी कैलास लिम्बू तथा चन्द्रबहादुर गुरुङलाई यो फैसला भएको जनाउ दिनु....................४
नियम बमोजिम गरी मिसिल बुझाई दिनु..............................५
उक्त रायमा म सहमत छु ।
न्या. त्रिलोकप्रताप राणा
इति सम्वत् २०३७ साल आश्विन ३ गते रोज ६ शुभम् ।