शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३८९ - लिखत पास

भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक:

निर्णय नं. १३८९   ने.का.प. २०३७

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय प्रधान न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३६ सालको दे.पु.नं. २८

फैसला भएको मिति :   २०३७।६।२८।३ मा

निवेदक : जि. झापा ज्यामीरगढी गा.पं.वडा नं. ९ बस्ने कमलादेवी राजवंशी

विरूद्ध

विपक्षी : ऐ ऐ. बस्ने हरिनारायण उपाध्याय

मुद्दा : लिखत पास

(१) दुबै साहुको घरायसमा लिखत भएकोमा हरिनारायणले अदालतमा फिराद दायर गरिसकेको र टिकारामले फिराद दायर गर्ने सुविधा लिई ऐनले दिएकोमा म्यादभित्रै अदालतमा फिराद दर्ता गरेको छ । जुन निर्णयले अदालतमा फिराद गरेको मिति पहिले हुनआएको छ, त्यही तर्कले हरिनारायणले पास गरिपाउँ भनी अदालतमा प्रवेश गरिसकेको समयमा टिकारामले प्रवेश नगरेकोले हरिनारायणको लिखत जेठो ठहर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडीया विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

          न्या. हेरम्बराज : सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलाबाट साह्रै अन्याय पर्न गएकोले मुद्दा दोहर्‍याई इन्साफ जाँच गरिपाउँ भनी कमलादेवी राजवंशीको निवेदन परेकोमा श्री ५ महाराजाधिराज सरकारबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भएअनुसार प्रस्तुत मुद्दामा यस फुल बेञ्चमा पेश हुनआएको छ ।

          २.  मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : विपक्षी कमलादेवीका पतिलाई रोहवरमा साक्षी राखी मिति ०२८।५।३ का दिन मबाट रु.३३८९४। लिई ज्यामिरगढी पञ्चायत अन्तर्गत वडा नं. ९ को जग्गा बिगहा १३१११५ राजीनामा लिखत गरी दिनुभएको म्याद गुजारी पास गरी नदिएकोले पास गराई पाउँ भन्ने समेत मिति ०२८।११।२४ मा वादी हरिनारायण उपाध्यायको फिराद परेको ।

          ३.  वादी दावीको जग्गा मैले ०२८।५।२ मा टिकाराम प्रसाईलाई रु.२९०००। मा राजीनामा गरी दिइसकेको छु दोहरो लिखत गरी दिन नहुने कुरा हुनाले लिखत गरी दिएको छैन वादी दावी बमोजिम लेखी गरी नदिएको हुँदा सक्कल देख्न पाए नामाकरण गर्नेछु वादी झुठ्ठा दावाबाट फुर्सद पाउँ भन्ने समेत कमला राजवंशीको प्रतिवादी ।

          ४.  मिति ०२८।५।३ को लिखतको सहिछाप मेरै हो दृष्टिबन्धकको कागज भनी हामी लोग्ने स्वास्नीलाई झुक्याई जालसाजबाट फार्सापत्र खडा गरेको हुँदा बदर गरिपाउँ भन्ने समेत कमला राजवंशीको वा.पद्मबहादुरको बयान ।

          ५.  कमला र निजको लोग्ने समेत भई राजीनामाको लिखत गरी दिएका हुन् झुक्याई लिखत गरे गराएको होइन भन्ने हरिनारायणको वारेस मेधनाथको बयान ।

          ६.  म मुनिलाललाई पनि झुक्याई दृष्टिकागज भनी सही कागज गराई लिएका हुन् जालसाज लिखत खडा गरे गराएमा सजाय गरिपाउँ भन्ने समेतको मुनीलालको बयान ।

          ७.  हरिनारायणबाट कमलाले रूपैयाँ लिई राजीनामा लिखत गरी दिएकी हुन् । झुक्याई दृष्टिबन्धकीमा नै सही गराएको होइन भन्ने समेत मानबहादुर खड्का क्षेत्रीको बयान ।

          ८.  कमल राजवंशीको जालसाजतर्फको दावी डिसमिस हुने ठहरेकाले यस लिखतको जग्गा ०२८।५।२ गते रु.२९०००। मा प्रतिवादी कमला राजवंशीबाट राजीनामा गरी लिएको पास गरिपाउँ भन्ने टिकाराम प्रसाईको पास मुद्दा र सो ०२८।५।२ गतेको राजीनामा जालसाजबाट खडा गरेको हुँदा सजाय गरिपाउँ भनी यिनै वादीको जालसाज मुद्दा दायर भएको देखिन आएको । जालसाज मुद्दामा जालसाज गरेको नठहरी टिकरामले पास गरिपाउँ भनी दावी लिएको ०२८।५।२ को राजीनामा पास हुने ठहरी आजै किनारा भएको हुँदा टिकारामको ०२८।५।२ को लिखत भन्दा वादीको ०२८।५।३ को लिखत पछिको देखिन आएको टिकारामको ०२८।५।२ को राजीनामा लिखत पास हुने ठहरेकाले सोही जग्गाको वादीको ०२८।५।३ को लिखत पास गरिपाउँ भन्ने वादीको फिराद दावी पुग्न सक्दैन भन्ने समेत झापा जिल्ला अदालतको मिति ०३०।६।२।३ को फैसला ।

          ९.  उक्त इन्साफमा चित्त बुझेन भनी वादीको पुनरावेदन परेकोमा टिकारामलाई गरिदिएको राजीनामा जालसाज भन्ने फिरादी हरिनारायणको जिकिर पुग्नसक्ने भनी जालसाजी मुद्दामा शुरूले दिएको इन्साफ मनासिवै ठहरी यस बेञ्चबाट आजै निर्णय भएकोले यौटै जग्गा २ व्यक्तिका नाउँमा रजिष्ट्रेशन पास हुन नसक्ने हुँदा लिखत पास गराई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने नै ठहराई झापा जिल्ला अदालतले छिनेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पू. क्षेत्रीय अदालतको ०३१।१२।३१।१ को फैसला ।

          १०.  उक्त इन्साफमा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी कमला राजवंशीको निवेदन परेकोमा अनुमति पाई सर्वोच्च अदालतबाट वादी हरिनारायणको दावी अघिको मितिको पास गरिपाउँ भनी देखिन आएकोले सो राजीनामा लिखत नै सदर मान्नुपर्ने हुन आई सो राजीनामा पारित हुने अवस्थाको लिखत देखिनाले शुरूले पास हुन नसक्ने ठहराएको इन्साफ सदर ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ गल्ती ठहर्ने र उपरोक्त धनी हरिनारायण उपाध्यायको ऋणी कमला राजवंशी भएको रु.३३,८९४। को मिति ०२८।५।३।५ को राजीनामा पारित हुने ठहर्छ भन्ने मिति ०३३।८।९।४ को फैसला ।

          ११.  सर्वोच्च अदालत डिभिजन बेञ्चको उक्त मिति ०३३।८।९।४ को फैसलाबाट साह्रै अन्याय परेकोले मुद्दा दोहर्‍याई इन्साफ जाँच गरिपाउँ भनी प्रतिवादी कमला राजवंशीको निवेदन परेकोमा श्री ५ महाराजाधिराज सरकारबाट मुद्दा दोहर्‍याई इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भइआएअनुसार प्रस्तुत मुद्दा निर्यायार्थ यस फुल बेञ्चमा पेश हुनआएको छ ।

          १२.  यसमा पुनरावेदिका प्रतिवादी कमला राजवंशीको वारेस शेषनाथ पराजुली तथा विपक्षी वादीका वारेस भोलाप्रसाद शर्मालाई रोहवरमा राखी पुनरावेदिकातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री रतनलाल कनौडीया तथा विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले सर्वोच्च अदालतबाट पुनरावेदनको अनुमति दिँदा तथा फैसला गर्दा आधार लिएको नजीरहरू यस मुद्दामा लाग्न नसक्ने र वादीले पेश गरेको लिखत कागजमा केरमेट तथा थप गरेको स्थानमा सहिछाप नभएबाट कागज सद्दे देखिन आउँदैन तथा यदि वादीको कागज सद्दे हुँदो हो त निजले जग्गाधनी प्रमाण पूर्जा रसिद पेश गर्नसकेको छैन तथा लेनदेनको महलको २५ नं. अनुसार लिखत दोहरो परेको अवस्थामा अघिल्लो मितिको सदर हुनुपर्छ भनी बहस गर्नुभयो । विपक्षी वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले झुठ्ठो व्यहोरा देखाई मुद्दा दोहर्‍याएको र रजिष्ट्रेशनको महलको ३४ नं. ले रजिष्ट्रेशन पास नभएको लिखतमा जसले लिखत पास गरिपाउँ भनी अदालतमा पहिला फिराद दावी गर्छ उसैको लिखत जेठो हुने हुनले वादी हरिनारायणको लिखत जेठो ठहर्छ भनी बहस गर्नु भएको सुनियो ।

          १३.  यसमा कमलादेवी राजवंशीले हरिनारायणलाई ०२८।५।३ मा घरायसमा राजीनामा लिखत गरेको र ०२८।११।२४ मा उक्त लिखत पारित गरिपाउँ भनी हरिनारायणको फिराद परेको तथा कमलादेवीले टिकारामलाई ०२८।५।२ मा घरायसमा लिखत गरेकोमा ०२८।१२।५ मा निजले फिराद गरी पारित गरिपाउँ भनी कार्यवाही गरेको देखिन्छ । मिसिल हेर्दा हरिनारायणको कमला राजवंशी समेत उपर ०२८।५।३ को लिखत पास गरिपाउँ भनी नालिश परी कमलाको नाममा ०२८।११।२४ मा म्याद जारी भई निज कमलाले बुझी सकेपछि टिकारामको ०२८।१२।५ मा लिखत पास मुद्दामा कमला राजवंशी उपर नालेश परेको देखिन्छ ।

          १४. एक आसामीले दुई साहुलाई राजीनामा गरी एकै जग्गा दिन्छ भने कुन साहुको लिखत पक्का हुन्छ भन्ने प्रश्न यहाँ उठेको देखिन्छ । लिखत पारित भइसकेकोमा जसको लिखत पहले पारित भएको छ, उसको लिखत जेठो हुने व्यवस्था मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३४ नं. ले गरेको छ । कुनै लिखतलाई पारित गरिपाउँ भनी जुन साहूले आसामी उपर फिराद गर्न आउँछ, सो लिखतवाला साहूले दावी गरेको जग्गाको स्वामित्व अरूमा जान नपाओस् भन्ने हेतुले अदालतमा फिराद गरेको मितिलाई पनि गणना गर्ने गरेको छ । प्रस्तुत मुद्दामा भने दुवै साहूको घरायसमा लिखत भएकोमा हरिनारायणले अदालतमा फिराद दायर गरिसकेको र टिकारामले फिराद दायर गर्ने सुविधा ऐनले दिएकोमा म्यादभित्रै अदालतमा फिराद दर्ता गरेको छ । जुन निर्णयले अदालतमा फिराद गरेको मिति पहिले हुनआएको छ । त्यही तर्कले हरिनारायणले पास गरिपाउँ भनी अदालतमा फिराद गरिसकेपछि टिकारामले फिराद गरेकोले हरिनारायण भन्दा टिकारामको लिखत अघिल्लो मितिको कायम गर्न मिल्दैन । हरिनारायणले अदालतभित्र प्रवेश गरिसकेको समयमा टिकारामले प्रवेश नगरेकोले हरिनारायणको लिखत जेठो ठहर्छ । सो ठहर्नाले वादी हरिनारायणको लिखत पारित हुने ठहरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३३।९।८।४ मा भएको इन्साफ मनासिव ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. धनेन्द्रबहादुर सिंह

न्या. त्रिलोकप्रताप राणा

 

इति सम्वत् २०३७ साल आश्विन २८ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु