शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १३९२ - ज्यान मार्ने उद्योग

भाग: २२ साल: २०३७ महिना: कार्तिक अंक:

निर्णय नं. १३९२ ने.का.प. २०३७

फुल बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३६ सालको फौ.फु.नं. १५

फैसला भएको मिति : २०३७।६।२८।३ मा

निवेदक : जि. मोरङ डाँगी हात गा.पं.वडा नं. ३ बस्ने डिल्लीप्रसाद सिंखडा समेत

विरूद्ध

विपक्षी : योगेन्द्रप्रसाद, कमला आचार्यको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान मार्ने उद्योग

(१)  वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने नियत थियो भन्ने देखिँदैन, यस स्थितमा प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ बमोजिम सजाय गर्न मिल्दैन, वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने, कुटपिटका महल बमोजिम कारवाई किनारा गर्नुपर्ने ।

(प्रकरण नं. २०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त श्री ५ को सरकार तर्फबाटःविद्वान महान्यायाधिवक्ता श्री रमानन्दप्रसाद सिंह

फैसला

          न्या. त्रैलोक्यराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक प्रतिवादी डिल्लीप्रसाद सिंखडा समेत जवान १० ले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहोरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

          २.   मुद्दाको विवरण यस प्रकार छ : दाजु मेघराज आचार्य ०३०।६।१७ गते दिउँसो कामत घर बाहुनीबाट करीब २ बजे हिंडी ३ बजे डागीहाट गा.पं.वार्ड नं. २ बस्ने जबाहिर भन्ने विश्वनाथको घर अगाडि मूल बाटोमा आई पुगेको अवस्था विश्वनाथकै घर गुहालीमा लुकी बसेका टिकाराम ओझा समेतका १६ जनाले मेघराजलाई आफ्ना हातमा भएको खुकुरी छुरी छड लाठीले प्रहार गरी भाग्न उम्कन नदिई कुटपिट चोटपटक पुर्‍याई मरर्णान्त पारी बेहोस तुल्याई त्यही छाडी गएछन् सम्पतलालले देखि म समेतले थाहा पाई बेहोस भएको मेघराजलाई विराटनगर अस्पताल ल्याई भर्ना गरेपछि ९ बजेतिर मेघराजलाई सोद्धा निजले खोले बमोजिमको व्यहोरा लेखी ल्याएको छु । अरू मेघराजबाट खुलाई पाउँ भन्ने समेत योगेन्द्रप्रसाद र कामतबाट घर आउने भनी साथमा ७०००। रूपैयाँ लिई आउनु भएका पति मेघराजलाई ०३०।६।१७ का दिन टिकाराम समेतले घेरी ज्यान मार्ने मनसायबाट कुटपिट गरी बेहोस भई मरेको भन्ने सम्झी मुखमा माटो वालुवा समेत कोचाई छाडेका रहेछन् बेहोस अवस्थामा पनि मेघराजलाई विराटनगर अस्पतालमा ल्याई भर्ना गरी राखेको छ ज्यान मार्ने उद्योग गरी कुटपिट गरेमा तुरून्त कारवाही गरिपाउँ भन्ने समेत कमला आचार्य समेतको दरखास्त निवेदन रहेछ ।

          ३.   ०३०।६।१५ का दिन विराटनगर घरबाट वाहुनी गा.पं.राधानगरमा गई बाली उठाउने काम गरी बिक्री गरिसकेपछि ऐ. १७ गते कामतबाट घरमा आउन भनी दिनको २.३० बजेको समयमा हिडेको ३ बजे विश्वनाथको घर अगाडि बाटैमा डिल्लीप्रसाद समेतले घेरी पक्री कुटपिट गरी ज्यान मार्ने नियत गरेकोले म बेहोस भई मलाई अस्पताल ल्याएछन् मौकैमा श्रीमती कमलाको जाहेरी परेको हुँदा सो बमोजिम ज्यान मार्न उद्योगमा सजाय गरिपाउँ, साथको रु.७०००। र रु.५५०। को नारी घडी निजै टिकाराम समेतका व्यक्तिहरूले ज्यान मार्ने नियतबाट लगे भन्ने समेत मेघराज आचार्यको प्रहरीमा भएको कागज ।

          ४.   म समेत भई जाहेरी बमोजिम ज्यान मार्ने नियतले मेघराजलाई कुटपिट गरेको छैन वारदातका दिन बाबुको वार्षिक भएकोले फडेन्द्र, होमनाथ, टिकाराम, तुल्सीप्रसाद समेतका गाउँघरका मानिस आएका थिए ४ बजे खानपिन गरेपछि आफूआफू घर गएको हुँदा मैले कुटपिट गरेको छैन मेघराजलाई फणेन्द्रप्रसाद समेतले कुटे भनी सुने किन कुटे निजहरू जानुन् भन्ने समेत प्रहरीमा र प्रहरीमा कुटपिट गरे तुल्सीप्रसाद समेतले मेघराजलाई कुटपिट गरेको हो भन् भनेकोले डरले हो भनी दिएको मात्र हुँ निज मेघराजलाई कसले किन कुटे भन्न सक्तिन भन्ने समेत अदालतमा डिल्लिप्रसादले गरेको कागज बयान रहेछ ।

          ५.  ०३०।६।१७ गते बिहान ९१० बजे खाना खाई स्कूलमा क्यारमवोर्ड खेली ५ बजे घर आएको छु जाहेरी बमोजिम मैले मेघराजलाई कुटपिट गरेको होइन १६ गते शंकरप्रसादको घरमा टिकाप्रसाद समेतलाई मेघराजले कुटपिट गर्न खोजेको, कुटपिट भएन भनाभन सम्म भएको र १७ गते मेघराजलाई प्रतिवादीहरूले कुटेर खत्तम पारे भन्ने कुरा बाहुनी हाटमा चर्चा भइरहेको सुनेको हो पशुपति मेरो साथी थियो भन्ने समेत प्रहरीमा र जग्गा विषय बाबुसँग झगडा भएको झुठ्ठा पोल गरेको हो कुटपिट गरेकोसमेत होइन भन्नेसमेत अदालतमा गुरूप्रसादले गरेको कागज बयान रहेछन् ।

          ६.   होमनाथको जग्गा मेघराजले चापी खाएकोमा टिकाराम, होमनाथ, देवीप्रसादलाई मेघराजले शंकरप्रसादको घरमा कुट्न खोजेमा कुटपिट गर्न नसकी भनाभन भएको र होमनाथ समेतका मानिसले मेघराजलाई कुटपिट गरे भन्ने कुरा सुनेको हुँ मैले कुटपिट गरेको छैन घाँस काट्न गएको थिएँ भन्ने समेत मेघनाथले प्रहरीमा गरेको कागज । जाहेरी बमोजिम मेघराजलाई मैले कुटपिट गरेको छैन मेघराजले वारदात अघि देवीप्रसादको घरमा म समेतलाई कुटाएको थियो आश्विन १७ गते मेघराजलाई कसले कुटपिट गरे रूपैयाँ घडी लगे जान्दिन भन्ने समेत प्रहरीमा र बैशाख १४ गते जग्गाको कुरामा झगडा भएको ईवीबाट मेघराजले पोल गरेका हुन् भन्ने समेत अदालतमा टिकाराम ओझाले गरेको कागज बयान ।

          ७.  ०३०।६।१५, १७ गते विराटनगर छु मैले जाहेरी बमोजिम मेघराजलाई कुटपिट गरेको होइन कसले कुटे थाहा छैन भन्ने समेत प्रहरीमा र सोही मिलान गरी इन्कार भई अदालतमा समेत पशुपति ओझाले गरेको कागज बयान रहेछ ।

          ८.   ०३० साल आश्विन १५, १६, १७ गते आफ्नै घरमा छु जाहेरी बमोजिम मेघराजलाई कुटपिट गरी रूपैयाँ घडी समेत लिएको छैन खेतीका कुरामा झगडा भएकोले पोलेको हो भन्ने समेत प्रहरीमा र सोही मिलान गरी अदालतमा समेत मेघराजलाई कुटपिट नगरेको भनी तुल्सीप्रसाद तथा होमनाथले गरेको कागज बयान रहेछ ।

          ९.   २०३० आश्विन १५, १६, १७ गते आफ्नै घरमा छु मेघराजलाई मैले कुटेको छैन र घडी रूपैयाँ पनि लिएको छैन अरू कसले कुटे मलाई थाहा छैन भन्ने समेत प्रहरीमा र डिल्लिप्रसाद लक्ष्मीकलाको बाली मुद्दामा म समेत साक्षी राखेको कारण ईवीबाट पोलेको हो भन्ने समेत अदालतमा फणेन्द्रप्रसादले गरेको कागज बयान रहेछ ।

          १०.  म २०३० साल आश्विन १५, १६, १७ गते आफ्नै घरमा छु मेघराजलाई चिनेको र कुटपिटसमेत गरेको छैन अरू कसले कुटे मलाई थाहा छैन रीस इवी पनि छैन किन पोल गरे थाहाछैन भन्नेसमेत प्रहरी तथा अदालतमा लोकबहादुर गुरुङले गरेको कागज बयान ।

          ११.  २०३० साल आश्विन १५, १६, १७ गते म आफ्नै घरमा छु जाहेरी बमोजिम मेघराजलाई मैले कुटपिट गरेको छैन कसले गरे किन मलाई पोले, जान्दिन भन्ने समेत प्रहरीमा र डिल्लिप्रसादको घरमा १७ गते श्राद्धमा फणिन्द्रप्रसाद, होमनाथ, तुलसीप्रसाद टिकाराम समेत ४ बजेसम्म बसी आफ्नो घरमा गएको छु भन्ने समेत अदालतमा हरिप्रसादले गरेको कागज बयान रहेछ ।

          १२.  जाहेरी बमोजिम मेघराजलाई मैले कुटपिट गरेको छैन अरू कसले गरे म जान्दिन मेघराज र बाबुको जग्गाबारे झगडा परेको कारणले पोल गरेको हो भन्ने समेत भिष्मप्रसादको कागज बयान रहेछ ।

          १३.  टिकाराम ओझा १, तुल्सीप्रसाद सुवेडी १, पशुपति ओझा १, भिष्मप्रसाद सुवेडी १, गुरूप्रसाद सुवेडी १, होमनाथ ओझा १, फणिन्द्रप्रसाद ओझा १, हरिप्रसाद तिमिल्सीना १, डिल्लीप्रसाद सिंखडा १, लोकबहादुर गुरुङ१ समेतलाई ज्यानसम्बन्धीका १५ नं. बमोजिम सजाय हुन र अरू जाहेरीमा उल्लेख भएका कलाघर ओझा १, देवीप्रसाद ओझा १, लक्ष्मीप्रसाद पराजुली १, गंगाराम दाहाल १, डिल्लीप्रसादको हली भन्ने १, नेम्रनाथ ओझा १ समेत उपर मुद्दा नचलाउने भन्ने समेत प्रहरी प्रतिवेदन रहेछ ।

          १४.  अभियुक्त डिल्लीप्रसाद समेतले मेघराजलाई ज्यान मार्ने उद्योग गरेको हुँदा प्र.टिकाराम, डिल्लीप्रसाद, गुरूप्रसाद, पशुपति, होमनाथ, तुलसीप्रसाद, फणिन्द्रप्रसाद, लोकबहादुर गुरुङ, हरिप्रसाद, भिष्मप्रसाद समेत जना १० लाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम जनही १० वर्ष कैदको सजाय गर्ने ठहराई शुरू मोरङ जिल्ला अदालतबाट ०३२।३।२३ मा फैसला भएको रहेछ ।

          १५.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत टिकाराम, डिल्लीप्रसाद, गुरूप्रसाद, पशुपति, होमनाथ, तुलसीप्रसाद, फणिन्द्रप्रसाद, लोकबहादुर गुरुङ, हरिप्रसाद, भिष्मप्रसाद समेत जना ७ को पुनरावेदन परेकोमा ज्यानसम्बन्धीको ११, १२ नं. मा मार्ने नियतले कुटे त्यसै महलको १५ नं. बमोजिम र सो नियत नदेखिएमा कुटपिटको महल बमोजिम सजाय गर्नुपर्छ भनी लेखिएको देखिँदा र ज्यान मार्ने सम्मको इवी अदावत र ज्यान मार्ने सम्मको नियत नदेखिँदा र चोट पुर्‍याएको अवस्था र परिस्थितिबाट ज्यान मार्नको लागि उद्योग गरी ज्यान मार्ने सम्मको काम गरिसकेको भन्न नमिल्ने हुँदा ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न मिल्दैन । वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने सरोकारवाला मेघराज आचार्यलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी यसै मुद्दाको मिसिलबाट कानुन बमोजिम कारवाई किनारा गर्न मिसिल मोरङ जिल्ला अदालतमा पठाई दिने भन्ने समेत भई शुरूको इन्साफ उल्टी गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३४।८।५।६ मा फैसला भएको रहेछ ।

          १६.  क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको परेको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई डिभिजन बेञ्चबाट निर्णय हुँदा सरकारी मुद्दा सम्बन्धी नियमावली, २०१८ को नियम १२(४) बमोजिम यस्ता सरकार वादी भई चलेको मुद्दामा तारिखका दिन भएको कारवाई निर्णयको लिखित सूचना पनि पब्लिक प्रोसिक्यूटरलाई दिइने छ भन्ने व्यवस्था भएको देखिएको र सो अनुसार निर्णय भएको सूचना महान्यायाधिवक्ताको कार्यालयले प्राप्त गरेपछि पुनरावेदनको अनुमति पाउँ भनी श्री ५ को सरकारतर्फबाट प्रस्तुत निवेदन ३५ दिनभित्रै यस अदालतमा दर्ता हुनआएको देखिँदा, विद्वान वरिष्ठ अधिवक्ताले नजीर देखाई व्यक्त गर्नुभएको रायसँग सहमत हुन सकिएन । इन्साफतर्फ विचार गर्दा घटनामा परेका मेघराज आचार्यलाई मौकामा घाजाँच गराउँदा डाक्टरले गरिदिएको घाजाँच फाराम तथा मिसिल संलग्न अन्य कागज प्रमाण समेतबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम कसूरदार ठहराई शुरू मोरङ जिल्ला अदालतबाट गरेको इन्साफ मनासिव ठहर्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतले प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न मिल्दैन । वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने सरोकारवाला मेघराज आचार्यलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी यसै मुद्दाको मिसिलबाट प्रचलित नेपाल कानुन अनुसार कुटपिटको महल बमोजिम कार्यवाही किनारा गर्न मिसिल मोरङ जिल्ला अदालतमा पठाई दिने भन्ने समेत गरी गरेको इन्साफ मिलेन भन्नेसमेत ०३५।८।२३ मा डिभिजन बेञ्चबाट निर्णय भएकोरहेछ ।

          १७.  प्रस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भइआएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा ज्यानसम्बन्धीको नं. ११ र नं. १२ का दोस्रो वाक्यबाट नं. १५ का व्यवस्था प्रयोग हुनका लागि ज्यान मार्ने नियत हुनुपर्ने भन्ने कुरा स्पष्ट उल्लेख भएको छ ज्यानसम्बन्धीको १५ नं. प्रयोग हुने वा कुटपिटको महलको व्यवस्थाहरू प्रयोग हुने भन्ने विषयमा ज्यान मार्ने नियतबाट नै भिन्नता स्पष्ट हुने संकेत गरेको छ । ज्यान मार्ने नियत राखी कुटपिट गरेमा र कुटिने व्यक्ति नमरेमा ज्यानसम्बन्धीका महलको नं. १५ प्रयोग हुने र यस्तो नियत नदेखिएमा कुटपिटको महलका व्यवस्थाहरू लागू हुने देखिन्छ प्रस्तुत मुद्दामा मेघराजलाई कुटपिट गर्ने प्रतिवादीहरूको मार्ने नियत थियो वा थिएन भन्ने कुरा नै पत्ता लगाउनुपर्ने हुनआएको छ । मार्ने नियत नदेखिँदा पनि ज्यानसम्बन्धीको नं. १५ प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको भनी मोरङ जिल्ला अदालत डिभिजन बेञ्चले निर्णय गरेको देखिएकोले सम्बन्धित प्रमाणको आधारको उपेक्षा गरी गलत मूल्याङ्कन हुनगएको देखिन्छ भन्ने समेत उल्लेख भएको रहेछ ।

          १८.  यसमा न्यायिक समितिमा निवेदन दिई मुद्दा दोहर्‍याई ल्याउने निवेदक प्रतिवादीहरू मध्ये डिल्लिप्रसाद सिंखडा १, हरिप्रसाद तिमिल्सिना १, लोकबहादुर गुरुङ १ समेत ३ जनाले सर्वोच्च अदालतबाट जारी भएको म्याद गुजारी बसेको र अरू थुनामा रहेका निवेदक प्रतिवादीहरू भीष्मप्रसाद सुवेदी १, गुरूप्रसाद सुवेदी १, फणिन्द्रप्रसाद ओझा १, पशुपति ओझा १, टिकाराम ओझा १, तुल्सीप्रसाद सुवेदी १, होमनाथ ओझा १ समेत जवान ७ लाई थुनाबाट झिकाई उपस्थित गराई रोहवरमा राखी ०३७।६।२१।३ मा मुद्दा सुनुवाई भई निवेदक प्रतिवादी भिष्मप्रसाद सुवेदी समेतको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको र जाहेरवाला कमला आचार्यको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तको र विपक्षी वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान महान्यायाधिवक्ता श्री रमानन्दप्रसाद सिंहको समेत बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा ज्यान मार्न उद्योग गरे भनी दायर भएको प्रस्तुत मुद्दामा ज्यान मार्नको लागि उद्योग गरी ज्यान मार्ने सम्मको काम गरिसकेको भन्न नमिल्ने हुँदा ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न मिल्दैन वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट कुटपिटमा पर्ने सरोकारवाला मेघराजलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी यसै मुद्दाको मिसिलबाट कुटपिटका महल बमोजिम कारवाई किनारा गर्न पठाई दिने गरी पू.क्षे.अ.बाट ०३४।८।५ मा निर्णय भएकोमा सो निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादी श्री ५ को सरकारको निवेदन परेकोमा ज्यानसम्बन्धीको १५ नं. बमोजिम ज्यान मार्नको लागि उद्योग गरी मर्ने सम्मको जुनसुकै काम गरिसकेको थियो थिएन भनी निर्णय गर्नुपर्ने त्यो कुराको निर्णय नगरी उक्त ऐन लाग्दैन भनी जि.अ.मा पठाउने गरेको पू.क्षे.अ.को इन्साफमा उक्त ऐनलाई प्रयोगमा ल्याउन त्यसको क्षेत्र थियो थिएन भनी यकीन नगरी ज्यानसम्बन्धीको १५ नं. को ऐनको त्रुटि गरेको देखिएको भनी अनुमति प्राप्त भई डिभिजन बेञ्चबाट निर्णय हुँदा अनुमति भएको विषयको प्रश्नमा कुनै निर्णय नगरी मुद्दाको तथ्यमा निर्णय गरी पू.क्षे.अ.को इन्साफ उल्टाई निवेदक प्रतिवादीहरूलाई ज्यान मार्न उद्योग गरेको ठहराई सजाय गर्ने गरेको जिल्ला अदालतको इन्साफ सदर गरी ०३५।८।२३ मा निर्णय भएको देखिन्छ ।

          १९.  मुख्यतः प्रस्तुत मुद्दामा निवेदक प्रतिवादीहरूले ज्यान मार्न उद्योग गरेको छ छैन भनी निष्कर्षमा पुग्न सर्वप्रथमतः प्रतिवादीहरूले ज्यान मार्नको लागि उद्योग गरी मर्ने सम्मको काम गरिसकेको थियो थिएन भन्ने प्रश्नमा नै निर्णय गर्नुपर्ने हुनआयो । तत्सम्बन्धमा विचार गर्दा मुलुकी ऐन ज्यानसम्बन्धीको नं. १५ मा ज्यान मार्नका लागि उद्योग गरी मर्ने सम्मको जुनसुकै काम गरिसकेको सो काम गर्दा पनि ज्यान भने मर्न पाएको रहेनछ भने त्यस्तो काम गर्ने र त्यस्तो मुख्य भई बचन दिनेलाई दश वर्ष कैद गर्नुपर्छभन्ने उल्लेख भएको देखिन्छ सो ऐनको व्यवस्था अनुसार ज्यान मार्ने नियतले मर्नेसम्मको कुनै काम भए गरेको हुनुपर्ने अनिवार्यता देखिन्छ ।

          २०.  जाहेरवाला योगन्द्रप्रसादको जाहेरी र अरू मिसिल सामेल रहेको बकपत्र सरजमीन तथा चस्मदीद गवाहको बकपत्रबाट समेत निज प्रतिवादीहरूले ज्यान मार्ने नियत गरी मेघराजलाई कुटपिट गरेको भन्नसकेको छैन । मेघराजलाई कुटपिट गरेको अवस्था के के साधन प्रयोग गरेको रहेछ भन्ने तर्फ विचार गर्दा कुनै प्रतिवादीहरूले खुकुरी, रडहरू र लाठी समेतका साधन लिई बसेको भन्ने कुरा मिसिलबाट देखिन्छ तर कुटपिट गर्दा खुकुरी र तिखारिएको रड जस्ता जोखिमी साधन प्रयोग गरेको भन्नसकेको र प्रयोग गरेको भन्ने मिसिल प्रमाणहरूबाट देखिँदैन मेघराजको घाजाँचबाट पनि खुकुरी र तिखारिएको रडको चोट देखिएको छैन यसरी वारदातमा खुकुरी जस्तो जोखिमी हतियार ल्याइराखेको छ भने पछि यदि निवेदक प्र. हरूको मेघराजको ज्यान मार्ने नै नियत भएको भए वारदातमा ल्याइराखेको भनेको ज्यान मार्नसक्ने जोखिमी साधन नै प्रयोग गरिने थियो । सो गरेको छैन, सिर्फ लाठी मात्र प्रयोग गरी कुटपिट गरेको देखियो र वारदात अवस्थामा कसैले हटक गरेकोबाट बाध्य भई छोड्नु पर्दा छोडिएकोबाट घाइते बच्न गएको नभई प्रतिवादीहरू आफैं स्वेच्छाले छोडिएको देखिन आएकोले समेत वारदातमा प्रयोग गरेको साधन र वारदातको प्रकृतिबाट समेत प्रतिवादीहरूको नियत ज्यान मार्ने नियत थियो भन्ने देखिँदैन यस स्थितिमा प्रतिवादीहरूले ज्यान मार्ने उद्योग गरे भन्न मिल्ने नदेखिएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजाय गर्न मिल्दैन, वारदात कुटपिटको हुँदा यसै मुद्दाबाट सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ (संशोधन सहित) को दफा ७(क) बमोजिम कुटपिटमा पर्ने सरोकारवाला मेघराज आचार्यलाई झिकाई निजले सकार गरेमा वादी पक्ष कायम गरी यसै मुद्दाको मिसिलबाट प्रचलित कानुन अनुसार कुटपिटका महल बमोजिम कारवाई किनारा गर्न मिसिल मोरङ जि.अ.मा पठाइदिने गरेको पू.क्षे.अ.को ०३४।८।५।६ को इन्साफ मनासिव ठहर्छ । प्रतिवादीहरू लाई कसूरदार ठहराई मोरङ जिल्ला अदालतबाट गरेको इन्साफ मुनासिव ठहराएको डिभिजन बेञ्चको ०३५।८।२३।६ को इन्साफ मिलेको देखिएन । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

तपसील

माथि लेखिएबमोजिम ज्यान मार्न उद्योग गरेको नठहरिएकोले सर्वोच्च अदालतको ०३६।१२।२२ को आदेशानुसार थुनामा रहेको निम्नलिखित प्रतिवादीहरूलाई थुनाबाट तुरून्त छाडी दिनु भनी सम्बन्धित कार्यालयमा लेखी पठाई दिनु........................१

भिष्मप्रसाद १, गुरूप्रसाद सुवेडी १, फणिन्द्रप्रसाद ओझा १, पशुपति ओझा १, टिकाराम ओझा १, तुलसीप्रसाद सुवेडी १, होमनाथ ओझा १

सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।८।२३।६ को फैसलाले देहाय बमोजिम गर्ने गरेको देहायको कलममा हाल सो बमोजिम गर्नु नपर्ने भएकोले व्यहोरा जनाई सो लगत कटाई दिनु भनी मोरङ जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा कानुन बमोजिम लगत दिने................२

देहायका प्रतिवादी के पू.क्षे.अ.का ०३४।८।५।६ को फैसला बमोजिम निज प्र.हरूलाई सफाई दिने गरी शुरूबाट भएको देहायका दरको कैद सजायको लगत समेत कट्टा गर्ने गरेको लगत र प्र.हरूले पुनरावेदन गर्दा क्षेत्रीय अदालतमा राखेको जेथाजमानी समेत फुक्का गर्ने गरेको लगत समेत कट्टा गर्ने र शुरूकै लगत कायम राख्नु भनी शुरू मोरङ जि.अ.लाई लेखी पठाउन का.जि.अ.मा लगत दिने गरेको कलम.१ टिकाराम ओझा कैद वर्ष १०, फणिन्द्र ओझा कैद वर्ष १०, तुल्सीप्रसाद सुवेडी कैद वर्ष १०, गुरूप्रसाद सुवेदी के कैद वर्ष १०, हरिप्रसाद सुवेदीको कैद वर्ष १०, होमनाथ ओझा के कैद वर्ष १०, पशुपति ओझा के कैद वर्ष १०, भीष्मप्रसाद सुवेदी के कैद वर्ष १०, लोकबहादुर गुरुङके कैद वर्ष १०, डिल्लीप्रसाद सिंखडा के कैद वर्ष १० देहायका प्रतिवादी के रुजू नरहेकाले निजहरूले ज्यान मार्न उद्योग गरेको ठहरेकोले १० वर्षका दरले कैदको सजाय हुने हुँदा कानुन बमोजिम गरी देहायका प्रतिवादीहरूलाई १० वर्षका दरले कैदको सजाय असूल गर्नु भनी मोरङ जि.अ.मा लेखी पठाउने गरेको कलम २ प्र.गुरूप्रसाद सुवेदी के कैद वर्ष दस १०, प्र.पशुपति ओझा के ऐ. ऐ. १०, प्र.होमनाथ ओझा के ऐ. ऐ. १०, प्र.तुल्सीप्रसाद सुवेदी के ऐ. ऐ. १०, प्र.फणिन्द्रप्रसाद ओझा के ऐ. ऐ. १०, प्र.भीष्मप्रसाद सुवेदी के ऐ. ऐ. १०

स.अ.डिभिजन बेञ्चको ०३५।८।२३ को फैसलाले देहाय बमोजिम गर्ने गरेकोमा सो बमोजिम गर्नु परेन देहाय बमोजिम गर्ने....................३

पुनरावेदन दर्ता हुँदा जेथाजमानी बापत रहेको सक्कल तमसुक र सक्कल जग्गाधनी दर्ता पूर्जा समेत फिर्ता दिने गरेको र रोक्का रहेको जग्गा समेत फुकुवा गरेकोमा डिभिजन बेञ्चको फैसलाले सो अनुसार गर्नु परेन भनेकोमा हाल सो बमोजिम केही गर्नु परेन फुकुवा गरी दिने समेत गरेको कायम गर्ने प्रतिवादी गुरूप्रसाद सुवेदी समेतले पू.क्षे.अ.मा पुनरावेदन गर्दा राखेको तुल्सीप्रसाद सुवेदीका नाउको जग्गा र होमनाथ ओझाका नाउँको जग्गा समेत जेथा जमानत राखेको कागजात सहितका जेथा निज प्र.हरू के कैद सजाय असूल भएपछि मात्र सक्कल कागज फिर्ता र रोक्का रहेको सम्बन्धित जग्गाहरू फुकुवा गरी दिनु भनी पू.क्षे.अ.लाई लेखी पठाई दिने गरेकोमा हाल सो वमोजिम गर्नु परेन भनी पू.क्षे.अ.मा लेखी पठाई दिने......................४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

माननीय न्यायाधीश श्री हेरम्बराजको राय

          २१.  घटनामा हुने मुख्य तत्त्व मध्ये सो घटनाहरूको नियत, निजले प्रयोग गरेको साधन र परेको क्षति देखिन्छ पहिले कुनै गरेको काममा आफूलाई भएको नोक्सानीको बदला लिन वा अब हुने हासिल गर्न निमत्ति अरूको ज्यान लिन नियत हुनआउँछ । त्यस्तो नियत थियो थिएन भनी पत्ता लगाउन बाहिर प्रकट भएको कामबाट अन्जाम गरिन्छ जस्तो क्षति थियो उस्तै नियत थियो भनी निश्चय गर्न मार्ने नियत नभए पनि संयोगवस आफूले ताकेको अङ्गमा ठूलो वेदना परी वा साधनको भूलले क्षति हुन गई भवितव्यको घटना हुन्छ, जुन कुरा ज्यानसम्बन्धीको ५ नं. अनुसारको मुद्दा हुन्छ त्यसै गरी मार्ने नियत भए पनि प्रयोग गरेको साधन उपयुक्त छैन भने मर्ने सम्मको क्षति पर्न सक्तैन प्रयोग गरेको साधनले पनि कुनै बखतमा निसान चुक्न गई नियत अनुसारको क्षति पार्न सक्तैन त्यसकारणले नियत पहिल्याउन प्रयोग गरेको साधन र क्षतिको विचार गर्नुपर्छ ।

          २२.  प्रयोग गरेको साधनले हुन जाने क्षतिबाट मानिस मर्न सक्छ भन्ने नियतवालालाई याद छ भने त्यस्तो अपराध गरेकोमा मानिस मर्ने हुनाले ज्यानसम्बन्धीको १३ नं. को मुद्दा हुन्छ । नियतवालाले चाहेको क्षति पर्नलाई तत्कालै कुनै बाधा पर्न आई त्यस्तो क्षति हुन सकेमा मानिस पनि मर्न पाएन भने ज्यान मार्ने उद्योग गरेको भन्नुपर्छ प्रयोग गरेको साधन र क्षतिको विचारले मानिस मर्नलाई ज्यानसम्बन्धीको ९१० नं. को म्याद बाँकी भई ठूलो यत्नद्वारा मानिस मर्नलाई बाधा पारी बचाएको छ भने त्यसमा पनि ज्यान मार्न उद्योग गरेको मुद्दा हुन्छ।

          २३.  ज्यान मार्ने सम्मको वारदात गरेको भए ज्यान मार्ने उद्योग गरेका थिए भन्ने निष्कर्षमा पुगिन्छ । घाइते मेघराज आचार्यको कागजमा सास्ती सासना दिई मार्नुपर्छभन्ने खुकुरीले पाखुरामा घोचेको मेरो ज्यानै मार्न खोजेको भन्ने कुरा घा जाँचबाटै देखिएको छ भन्ने बयानमा लेखाएकोबाट अभियुक्तहरूको जति कसूर पनि यहाँ घा जाँचले नै प्रमाणित गर्नसक्ने रहेछ । माथि लेखेबमोजिम परेको घाउबाट मर्नलाई ऐनको म्यादभित्र राम्रो उपचार गरेकोले ज्यान मर्नमा बाधा पुर्‍याएको हो भनेपनि घाउ बनाउँदा निजको शरीरमा निज हतियार छोड्नेहरूले चाहे जति नै चोट पुर्‍याइन कुनै बाधा परेको देखिँदैन । ज्यान मार्ने उद्योगको लक्षणमा परेको चोटबाट भन्दा पार्न खोजेको चोटबाट नियतको अनुमान हुन्छ पार्न खोजेको चोट पार्न प्रयोग गरेको साधनलाई रोकावट केही देखिएन जति चोट पारेको छ मार्ने नियतले चोट पारेको हुँ भन्ने अभियुक्तहरूको नियत थियो भनी म मेघराजकै बयानमा छ न अरूको बयानबाट सबूत गुज्रन्छ, खुकुरीले घोचे भनेकोमा जाँचबाट ½ सम्मको घाउ पारेको देखिन्छ हात गोडा भाँचिएकोमा कुटपिटको महलले अङ्गभङ्गको संज्ञा दिँदै कैद सजाय पनि तोकेको छ यसकारणले यी घाउहरू मार्ने सम्मको नियतले पारेको देखिँदैन तसर्थ पूर्वाञ्चल क्षेत्रीय अदालतका राय सदर गरेका सहयोगी न्यायाधीशहरूको रायमा म सहमत छु ।

 

न्यायाधीश

 

इति सम्वत् २०३७ साल आश्विन २८ गते रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु