निर्णय नं. १३९८ - लेनदेन

निर्णय नं. १३९८ ने.का.प. २०३७
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३६ सालको दे.फु.नं. ३०
फैसला भएको मिति : २०३७।७।१९ मा
पुनरावेदक : का.जि.नक्साल भगवतीबहाल वार्ड नं. २६ बस्ने बिलायतमान सिंह मास्के
विरूद्ध
विपक्षी : नेपाल राष्ट्र बैंकको तर्फबाट का.जि.डिल्लीबजार बस्ने बटुकृष्ण तिवारी
मुद्दा : लेनदेन
(१) तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई २०२० साल भाद्र १ गते देखि प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा व्यवस्था गरी सो ऐनमा उल्लिखित कुरामा उजूर गर्ने हदम्याद उक्त नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. ले २ वर्षको हदम्याद तोकिएको हुँदा सो म्यादभित्र फिराद गर्ने हदम्याद नतोकिएको जहिले पनि फिराद गर्न पाउने तत्कालीन बाँकी नतिर्नेको १७ नं. को कुरामा फिराद लाग्दैन भन्न मिल्ने नदेखिएकोले नयाँ मुलुकी ऐन लागू भएको मितिले बाँकी नतिर्नेको ११ नं. का म्याद २ वर्षभित्रकै दर्ता भएको–फिराद हदम्याद भित्रकै देखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
फैसला
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३६।३।३१।१ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायायधीशहरूको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : ने.रा.बैंक तहवील जाँच हुँदा रु. ५०,०००।– नपुग भएकोमा विपक्षी क्या.बिलायतमान सिंह र मेनेजर श्रीकण्ठ नारायण समेत उपर विशेष पुलिस विभागबाट अनुसन्धान भई मुद्दा दायर भएकोमा भ्र.नि.ऐन अन्तर्गत अदालतबाट ०२१।१।१४ मा विपक्षी क्या.बिलायतमान सिंहले तहवील रु. ५०,०००।– मासेको ठहराई निजलाई जरीवाना समेत गरी फैसला भएको सो तहवील मसौटको अभियोगमा ०१६।१०।२१ मा क्या.बिलायतमानलाई सस्पेण्ड गरिएको र बैंकको तहवील बुझ–बुझारथ गर्दा पुनः रु. ७,१६६।५४ भा.रु. २,३१४।– को १६० का दरले हुने रु. ३७०२।४० गरी जम्मा रु. १०८६८।९४ निजले दाखिल गर्न नसकेकोले निजका नाउँमा बैंकको सण्ड्रीडेटर्स हिसाबमा उक्त रकम बाँकी भएको बराबर ताकेता गर्दा पनि दाखिल गर्न ल्याउनुभएको नहुँदा सो रु.१०८६८।९४ निजबाट दिलाई भराई पाउँ भन्ने समेत नेपाल राष्ट्र बैंकतर्फबाट बटुकृष्ण तिवारीको मिति ०२२।४।३२ मा फिराद परेको रहेछ ।
३. विपक्षीको दावी बाँकी नतिर्नेको ११ नं. को आधारमा आएको देखियो । कुन मितिमा बुझ–बुझारथ हुँदा रकम नपुग हुनआएको हो नालेशमा कतै उल्लेख छैन । बाँकी नतिर्नेको ९ नं. मा लेखिएको विषयमा कारवाई चलाउने हदम्याद बाँकी नतिर्नेको ११ नं. ले २ वर्षपछि नालिश दिने कानुनी अधिकार विपक्षीलाई छैन । पदको हैसियतले काम गर्दा पर्नआएको नोक्सानी व्यक्तिगत दावा गरी लिन ने.रा.बैंक ऐन, ०१२ को दफा २९ ले दिँदैन । लेनदेन व्यवहारको ऐनको रीत पुगेको लिखत छ भन्नसकेको छैन विपक्षले बैंकको सण्ड्रीडेटर्समा मेरा नाममा बाँकी राखी दावी गरेको भए बाँकी नतिर्नेका ११ नं. ले २ वर्षभित्र मुद्दा चलाउन सक्नुपर्ने सो ऐन बमोजिमको मुद्दा अ.बं.९ ले फौजदारी हो भनी बताएको छ फौजदारी र देवानी समावेश गरी एउटै नालेशबाट कारवाई चल्न नसक्ने । बिना अपराध मैले दाखिल गर्न नपर्ने रकममा म उपर दावी गरेको भन्ने समेत बिलायतमान सिंहको प्रतिउत्तरपत्र ।
४. बुझिएसम्मको प्रमाणबाट जम्मा रु.८३०६।– वादीले प्रतिवादीबाट भरी पाउने र सयकडा पच्चीस बाँकी नतिर्नेका ९ नं. बमोजिम जरीवाना हुने समेत ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०२९।७।३० को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी बिलायतमान सिंहको पुनरावेदन ।
६. बागमती अञ्चल अदालतको फैसला मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३४।१।२७ को फैसला ।
७. सो फैसला सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत बिलायतमान सिंहको निवेदनमा ०१६ सालमा निवेदकलाई बैंकको तहवील बुझ–बुझारथ गर्दा पक्राउ गरेको रकममा २०।५।१ गते देखि प्रारम्भ भएको मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. को हदम्याद कानुन व्यवस्था व्याख्या सम्बन्धी ऐनको दफा ४ ले लाग्न नसक्नेमा लगाई गरेको निर्णय त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।५।१९ को आदेश ।
८. प्रस्तुत मुद्दामा ०१७ सालको बाँकीमा उस बखत मुद्दा गर्नुपर्ने कारण उपस्थित भएको पनि नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको महलका ११ नं. को हदम्याद नाघेको भनी फिरादपत्र खारेज गर्न मिल्दैन । साथै तहवील मसौट वा ठाडो बाँकीका सम्बन्धमा एउटा निश्चित अवधिको हदम्याद कायम गर्ने उद्देश्यले व्यवस्थापिकाले कानुनद्वारा निर्धारित गरेको नयाँ नीतिको सन्दर्भमा साविकको तहवील मसौट वा ठाडो बाँकीमा जहिलेसुकै नालिश लाग्नसक्ने कुरा कायमै रहेको सम्झन पनि नमिल्ने हुनाले नयाँ कानुन प्रारम्भ भएको मितिदेखि गणना हुने गरी साविकको तहवील मसौट वा ठाडो बाँकीमा दुई वर्षको हदम्याद लागू गर्नुपर्ने देखिन्छ । तसर्थ प्रस्तुत मुद्दामा ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन जारी भएपछि २ वर्षको हदम्याद शुरू भएको सम्झनुपर्ने हुनाले वादीको दावी हदम्याद भित्रै परेको देखिन आउँछ ।
९. प्रस्तुत मुद्दामा सहयोगी न्यायाधीशज्यूले वादी दावी बमोजिमको बाँकीमा साहू आसामी सरह लेनदेन व्यवहारको महल अन्तर्गत नालेश हुनुपर्ने भन्ने राय व्यक्त गर्नुभएको छ । तर उक्त रायसँग म सहमत छैन । मुलुकी ऐन बाँकी नतिर्नेको महलको साविक १७ नं. तहवील मसौट र ठाडो बाँकी बाहेक अरू दिनुपर्ने दिएन भन्ने किसिमको दावीमा साहू आसामी सरह हुने व्यवस्था भएको देखिन्छ । नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको महलको ९ नं. मा यो व्यवस्था संशोधित रूपमा कायमै रहेको छ । बैंकको क्यासियरको पदमा बहाल रहेको प्रतिवादी पुनरावेदकसँग बैंकको तहवील बुझ–बुझारथ हुँदा नपुग भएको बाँकीलाई तहवील मसौटको वा ठाडो बाँकी नभनी अरू किसिमको बाँकी भन्न सकिन्न । तहवील बुझ–बुझारथ हुँदा नपुग देखिएको बाँकीलाई बैंकको प्रचलन अनुसार सण्ड्रीडेटर्स खातामा जनाउँदामा उक्त बाँकीको रूप नै परिवर्तिन भएको सम्झन मिल्दैन । तहवील नपुग भएपछि सो तिर्नुपर्ने दायित्व भएको व्यक्तिसँग उक्त रकम लिनपर्ने बाँकी भनी कुनै न कुनै खाता वा हिसावमा जनाउनै पर्छ । ठाडो बाँकी भन्ने नामको कुनै छुट्टै हिसाव वा खाता हुँदैन । यस स्थितिमा वादी दावी बमोजिमको बाँकीलाई सण्ड्रीडेटर्स हिसावमा जनाउँदैमा उक्त दावीमा साविक मुलुकी ऐन साहू आसामीको महल र नयाँ मुलुकी ऐन लेनदेन व्यवहारको महल आकर्षित हुँदैन ।
१०. उपर्युक्त कुराहरूबाट प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानुनी त्रुटि नदेखिएकोले पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने मा.न्या. श्री विश्वनाथको राय । भ्रष्टाचारतर्फ मुद्दा दायर भएको र सो बाहेक पुनः तहवील बुझ–बुझारथ गर्दा रु.१०८६८।९४ दाखिल गर्न नसकेकोले बैंकको सेण्ड्रिडेटर्स हिसावमा बाँकी भएको दिलाई पाउँ भन्ने वादी दावी व्यहोरामा उल्लेख भएको देखिन आउँछ तहवील बुझ–बुझारथ गर्दा जुन श्रेस्ताको हिसाबबाट बाँकी देखिन आएको हो सोही श्रेस्ताको बाँकीमा दावी गरेको नभई पहिले बुझ–बुझारथ गर्दा बाँकी देखिन आएको श्रेस्ताबाट सेण्ड्रीडेटर्स भन्ने अर्को श्रेस्तामा बाँकी चढाई दावी गरेको छ, उक्त श्रेस्ताबाट देखा पर्नआएको बाँकी अर्को श्रेस्तामा चढाइराखेपछि पहिले बाँकी देखा पर्नआएको मूल श्रेस्तामा बाँकी रहेको हुँदैन । पहिले देखा पर्नआएको मुख्य श्रेस्तामा रहेको बाँकीको हिसावको लगत काटिसकेपछि ठाडो बाँकी नबुझाएको भन्ने कुरा मिल्न आउँदैन आम्दानीमा खर्च कटाई बाँकी कायम हुन आउने श्रेस्ताबाट देखिन आउने बाँकी नबुझाएमा सोही श्रेस्ताबाट कारवाई शुरू भइआएको अवस्थामा मात्र ठाडो बाँकी नबुझाएको भन्नुपर्ने हुन्छ । मुख्य श्रेस्ताबाट देखिन आएको बाँकी रकम सेण्ड्रिडेटर्स भन्ने अर्को श्रेस्तामा चढाएपछि पहिले बाँकी देखा परेको मूल श्रेस्ताको बाँकी काटिन जाने र सेण्ड्रिडेटर्सबाट देखिन आउने बाँकीमा बराबर पत्र व्यवहारद्वारा बाँकी बुझाउन ल्याउनु भन्ने तरताकेता भइरहेको र तरताकेता गर्दा पनि बुझाउन नल्याएपछि प्रस्तुत फिरादपत्र पर्नआएको हुनाले यस प्रकारको बाँकी रकमलाई बाँकी देखा पर्नआएको मूल श्रेस्ता लिखतको रूप परिवर्तन भएपछि साथसाथै कसूरको विषय प्रकृति पनि परिवर्तन हुँदै जाने हुन्छ । जस्तै ठगी गर्नेलाई लिखत गराइराखेको छ र लिखत बमोजिमको रकम बुझाएन भनी नालिश गर्दा ठगीको ३ नं. ले ठगीमा नालिश लाग्न सक्दैन देवानीतर्फबाट मात्र दावा गर्नसकिने हुन्छ । ठाडो बाँकीबाट रूप परिवर्तन भई सेण्ड्रीडेटर्समा बाँकी जनाइराखेको रकम बाँकी नतिर्नेको ९ नं. मा उल्लेख भएबमोजिम तहवील मासेको वा ठाडो बाँकी नबुझाएको भन्ने संज्ञा दिन मिल्ने देखिन आउँदैन । तहवील मासेको वा ठाडो बाँकी नबुझाएको कसूरको अवस्थामा मात्र बाँकी नतिर्नेको ११ नं. को हदम्याद प्रयोग गर्नपर्ने हुन्छ ।
११. सो बाहेक अरू दिनपर्ने दिएन भन्ने समेत अन्य व्यवस्थाको बाँकीमा तत्काल पुरानो मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. बमोजिम कर्जा लेनदेन सरह साहू आसामीका ऐन बमोजिम हुन्छ भन्ने भएकोले तत्कालीन पुरानो मुलुकी ऐन साहू आसामीको ३८ नं. मा भएका व्यवस्था अनुसार भए गरेको मितिबाट २ वर्षभित्र नालिश गर्नुपर्ने विषय प्रष्ट हुनआउँछ । तदनुसार ०१६ सालमा जाँचबुझ हुँदा निस्केको बाँकी रकम सेण्ड्रीडेटर्स हिसावबाट देखिन आएको बाँकी रकम दिलाई पाउँ भन्ने दावी भएको प्रस्तुत फिराद ०२२।४।३२ मा दर्ता हुनआएको फिरादपत्र ऐनको हदम्याद २ वर्ष नाघी सकेपछि पर्नआएको देखिन आएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने मा.न्या. श्री त्रैलोक्यराजको राय भई ०३६।३।३१ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
१२. पुनरावेदक प्रतिवादी बिलायतमान सिंका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले जुन अवस्था अदालतमा आउँछ सो अवस्था प्रचलित बाँकी नतिर्नेको नं. ११ लागू हुने हुँदा सो ऐन बमोजिम काम भए गरेको २ वर्षभित्रको फिराद हुन पर्नेमा काम भए गरेको मिति ०१६ सालको बुझ–बुझारथमा बाँकी भएको रकम भराई पाउँ भन्ने दावी हुँदा २ वर्ष नाघेको फिराद खारेज हुनपर्छ भन्ने समेत र विपक्षी वादी नेपाल राष्ट्र बैंकको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले बुझ–बुझारथमा ठाडो बाँकी भएको रकम भराई पाउँ भन्ने दावी हुँदा नयाँ मुलुकी ऐन लागू भएको मितिले २ वर्षभित्र दर्ता भएको फिराद बाँकी नतिर्नेको ११ नं. को म्यादभित्रको छ । क्षेत्रीय अदालतको इन्साफ सदर गरेको राय सदर हुन पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा वादीको दावी हदम्याद भित्रकै देखिन आउँछ । क्षेत्रीय अदालतको इन्साफ मनासिव भन्नेमा न्या. श्री विश्वनाथ उपाध्यायको राय र फिरादपत्र हदम्याद नाघिसकेपछि पर्नआएको देखिन आएकोले वादी दावी खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्यालको राय भई राय बाझी निर्णयार्थ पेश हुनआएको देखिएकोले प्रस्तुत मुद्दामा सर्वप्रथम हदम्याद सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।
१४. तत्सम्बन्धमा विचार गर्दा तहवीलको रु.५०,०००। मसौट गरेको अभियोगमा ०१६।१०।२१।५ मा बिलायतमानलाई सस्पेण्ड गरिएको र बैंकको तहवील बुझ–बुझारथ गर्दा पुनः रु.७१६६।५४ भा.रु.२,३१४। को १६० का दरले हुने रु.३७०२।४० गरी जम्मा १०,८६८।९४ निजले दाखिल गर्न नसकेको हुँदा निजका नाममा बैंकको सण्ड्रीडेटर्स हिसावमा उक्त रकम बाँकी भएको बुझाउन ल्याउनु भनी ताकेता गर्दा पनि दाखिला गर्न ल्याउनुभएको नहुँदा बाँकी नतिर्ने महलका ११ नं. समेतका ऐनका हदम्यादभित्र फिराद गर्न आएको छु भराई पाउँ भन्ने दावी गरी ०२२।४।३२ मा प्रस्तुत फिराद दर्ता गरेको देखिन्छ ।
१५. प्रतिवादी बिलायतमान सिंहले ०१६ साल समेतको बैंकको तहवील बुझ–बुझारथ गर्दा दाखिल गर्न नसकी निजका नाममा बैंकको सण्ड्रीडेटर्स हिसावमा बाँकी भएको रकममा भराई पाउँ भनी दावी लिएको प्रस्तुत मुद्दा हुँदा उस अवस्थामा प्रचलित तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई हेर्दा “सरकारीया बाहेक अरू भाइ भारदार रैती दुनियाँहरूको निजामती घरको दामकाम र तहवील जिम्मा लिई काम गर्ने कामदार कारिन्दाहरूले तहवील मासे ठाडो बाँकी नबुझाए औ बेइमानी चिताई आदर नभएको काम गरी वा लिखत कबुलीयत आदरै बमोजिम नगरी घटीबढी पारी काम गरी नोक्सान पारी दिए त्यसलाई बिगो भराउन पर्नेमा जससँग बुझाउनुपर्छ उसैबाट बिगो भराई रहनुपर्ने नपर्नेमा समेत बिगोको सयकडा १५ का दरले दण्ड गर्नु सरकारी बहालवाला जागीरदारको नोक्सान पारेकोमा भएको दण्ड तिर्छु भन्यो भने ३२४ रूपैयाँ वा त्यसभन्दा बढी दण्ड भएकोमा ३ रूपैयाँ दण्डमा कैद गरी अरू बाँकी दण्ड बुझाए बुझी लिनु लेखिएबाहेक अरू दिनपर्ने दिएन पक्राउ गर्न नपाउनेमा पक्राउ गर्यो लियो भन्ने समेत इत्यादि व्यहोराको काम गर्ने गराउनेको नाउँ उजूर परेमा कर्जा लेनदेन सरह साहू आसामीको ऐन बमोजिम हुन्छ” भन्ने व्यवस्था भएको देखिन्छ सो कानुनी व्यवस्थाबाट तहवीलमा सेवा ठाडो बाँकी नबुझाएकोमा उजूर गर्नलाई उक्त बाँकी नतिर्नेको महलले हदम्यादको व्यवस्था गरेको नदेखिएकोले तत्कालीन अ.बं.का ६० नं. ले जहिले पनि उजूर लाग्ने देखिन्छ । उक्त तत्कालीन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई हाल २०२० साल भाद्र १ गतेदेखि लागू भएको हाल प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा सरकारी बाहेक अरू काम गर्ने कामदारले आफ्ना जिम्माको नगद जिन्सी तहवील मासेमा धनीको उजूर परी ठहर्यो भने बिगोको सयकडा पच्चीस जरीवाना गरी बिगो भराउन पर्नेमा बिगो समेत भराई बिगो भन्ने र सो बाँकी नतिर्नेको ९ नं. को कसूरमा २ वर्षभित्र नालेश नदिए लाग्दैन भन्ने सोही बाँकी नतिर्नेको ११ नं. मा व्यवस्था भएकोबाट त्यस्तोमा फिराद गर्ने हदम्याद २ वर्ष तोकिदिएको देखिन आएकोले, तत्कालीन मुलुकी ऐन बाँकी नतिर्नेको १७ नं. को व्यवस्थालाई २०२० साल भाद्र १ गतेदेखि प्रचलित नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ९ नं. मा व्यवस्था गरी सो ऐनमा उल्लिखित कुरामा उजूर गर्ने हदम्याद उक्त नयाँ मुलुकी ऐन बाँकी नतिर्नेको ११ नं. ले २ वर्षको हदम्याद तोकिदिएको हुँदा सो म्यादभित्र फिराद गर्नेले हदम्याद नतोकिएकै जहिले पनि फिराद गर्न पाउने तत्कालीन बाँकी नतिर्नेको १७ नं. को कुरामा फिराद लाग्दैन भन्न मिल्ने नदेखिएकोले नयाँ मुलुकी ऐन लागू भएको मितिले बाँकी नतिर्नेको ११ नं. का म्याद २ वर्षभित्रकै ०२२।४।३२।२ मा दर्ता भएको प्रस्तुत फिराद हदम्यादभित्रकै देखिएकोले तहवील बुझ–बुझारथमा दाखिल गर्न नसकी तहवील बाँकी भनी प्रतिवादी बिलायतमान सिं आफैले समेत सही गरी सण्ड्रीडेटर्समा लेखेको रकम तहवीलकै बाँकी रकम भन्नुपर्ने हुनआउँछ त्यस्तो रकम भराई पाउँ भनी वादीले दावी लिएको मध्ये रु.८३०६। भराइदिने गरेको बा.अं.अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को फैसलामा कुनै कानुनी त्रुटि नदेखिएकोले पुनरावेदन जिकिर पुग्न नसक्ने ठहराएको माननीय न्यायायाधीश श्री विश्वनाथ उपाध्यायको राय मनासिव ठहर्छ । तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु ।
तपसील
पुनरावेदक वादी बिलायतमान सिं के माथि इन्साफ खण्डमा लेखिएबमोजिम म.क्षे.अ.को इन्साफ सदर भएकोले पुनरावेदन गरे बापत शुरू जरीवाना रु.१२४५।९० को अ.बं.२०३ नं. को देहाय (१) ले सयकडा ५। ले रु.६२।३० जरीवाना लाग्छ, सो जरीवानामध्ये स.अ.मा पुनरावेदन गर्दा निजले राखेको कोर्टफी रु.५२।८४ कोर्टफी नलाग्ने भई निजले फिर्ता पाउने सो कोर्टफीबाट रु.५२।८४ कट्टी गरी नपुग रु.९।४६ वारेस भई बेरुजू हुँदा कानुन बमोजिम असूल गर्नु भनी का.जि.अ.त.मा कानुन बमोजिम लगत दिने ....................१
उक्त रायमा सहमत छौं ।
प्र.न्या. नयनबहादुर खत्री
न्या. त्रिलोकप्रताप राणा
इति सम्वत् २०३७ साल कार्तिक १९ गते रोज ३ शुभम् ।