निर्णय नं. १३९९ - ज्यान

निर्णय नं. १३९९ ने.का.प. २०३७
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३६ सालको फौ.पु.नं. १३९
फैसला भएको मिति : २०३७।७।१४।५ मा
पुनरावेदक : बाग्लुङ जिल्ला तित्याङ गा.पं.वार्ड नं. ५ डिही डाँडा पोखरे घर भई जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा रहेका कर्णबहादुर खत्री क्षेत्री
विरूद्ध
विपक्षी : पहलसिंहको जाहेरीले श्री ५ को सरकार
मुद्द : ज्यान
(१) मृतकसँग ज्यान लिने इवीलाग वा मनसाय भएको मिसिल प्रमाणबाट देखिन नखाएको अभियुक्तले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिए पनि त्यसैद्वारा ढुंगाले हानी लागेको चोटबाट निधारमा रगत जम्न गई मरेको देखिन आएकोले अभियुक्तले ढुंगाले हानेको चोटबाट ज्यानसम्बन्धीको ५ नं. अनुसार भवितव्य भई मरेको ठहर्ने ।
(प्रकरण नं. २१)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
फैसला
न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा ज्यानसम्बन्धीको १४ नं. को त्रुटि देखिएको भनी पुनरावेदनको अनुमति प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएकोमा मुद्दाको विवरण निम्न अनुसार छ ।
२. ०३१।११।२७ गते रात सिली खेतमा रमिता हेर्न गएकोमा अन्याय कर्णबहादुर जंग जोगीसँग झगडा गरिरहेकोमा किन झगडा गरेको भन्दा निज कर्णबहादुरले मेरो दाहिने आखाँमाथि आँखी भौंमा हानी ठाउँ–ठाउँमा कुटपिट गरी भागे कुटपिटतर्फ पछि उजूर गर्ने छु घाजाँच गराई पाउँ भन्ने समेत ०३१।११।२८ को मर्ने मिनबहादुर खड्काको प्रहरीमा दिएको दरखास्त ।
३. काटेको घाउ ३५ दिनभित्र निको हुने भन्ने समेत घा जाँच केश फाराम ।
४. ०३१।११।२७ गते पहिले हेर्न गएको काका मिनबहादुरलाई कर्णबहादुरले कुटेकोमा घा जाँच भएको सोही चोटपिरले काका ०३१।१२।३ गते मुत्यु भएकोले अपराधी पक्राउ गरी लास जाँच मौका तहकिकात गरिपाउँ भन्ने समेत ०३१।१२।४ को पहलसिंह खड्काको जाहेरी दरखास्त ।
५. मेरो लामाचौर घरको छिमेकी मिनबहादुर खड्का क्षेत्री ०३१।११।२७ को राती सिलीखेतमा जात्रा हेर्न गएको अवस्था कुटपिट भई औषधी गर्न आएको भनी बाग्लुङ अस्पतालमा उपचार गर्ने अवस्थासम्म डेरा देउ भनेकोले मेरो बाग्लुङको घर डेरा गरी बसी औषधी गर्न अस्पताल जाने गरेको थिए । ०३१।१२।३ गतेको राति पिसाव गर्न बाहिर निस्केछन् के भई बाहिर पल्टिरहेका रहेछन् के भो भनी बोलाउँदा नबोलेको नाडी राम्रै आउने गरेकोले मेरै घर भित्रपट्टि छिँडीमा सुताई हामी सुत्न गयौं बिहान उठी हेर्दा निज मिनबहादुर मरिरहेकोले लासजाँच गरिपाउँ भन्ने समेत ०३१।१२।४ को पदबहादुरको जाहेरी दरखास्त ।
६. सिलीखेतमा शिवरात्रीको मेला लाग्ने हुँदा साथी पिपा चक्रबहादुर टेकबहादुर र म समेतको सल्लाह भई रातको ८:३० बजे त्यहाँबाट बजार गई रक्सी खायौं र जात्रा लाग्ने ठाउँतर्फ गयौं सो जात्रा लाग्ने सिलीखेतमा पुग्दा ९:३० बजेको हुँदो हो मलाई कसले हो सानो ढुंगाले हानेकोमा रिस उठी मिनबहादुरलाई ढुंगाले हिर्काएँ निजलाई दायाँ आँखीभौंमाथि सो ढुंगा गई लाग्यो र जमीनमा लड्यो पछि उठी मलाई लछारपछार पार्न लाग्दा मैले बलका जोरले ३।४ घुस्सा हिर्काएँ र मिनबहादुरका नचिनेका साथीहरूले पक्रेकोमा ३ बजेतिर छाडिदिए र सो २८ गते बिहान ५ बजे व्यारेक आई पुगेँ आफ्नो काम सकी मैंले पिटेको मानिस यहाँ उजूर गर्नआएको छ कि भनी बुझ्न यस कार्यालयमा आएको थिएँ निजले दरखास्त दिई केश फाराम तयार भएको छ कुनै रिसइवी थिएन मारौं भन्ने विचारले हानेको होइन भन्ने समेत ०३१।१२।४ को कर्णबहादुरले प्रहरीमा गरेको कागज रहेछ ।
७. बाग्लुङ जिल्ला आ.गा.पं.किनारा टोलको पद्मबहादुर कार्कीको घर दक्षिण लङ्गको बार्दली मुनिको सिँडीमा उतानो परिरहेको उत्तर शीर दक्षिण गोडा बायाँ गोडा खुम्चिएको बायाँ हात देब्रे गोडा थिचिएको दायाँ गोडा पसारिएको नाकको प्वालबाट हडिलो रगत पानी निस्केको निधारको दाहिने आँखामाथि सेतो कपडाले बण्डेज गरेको दाहिने आँखाको आँखीभौंको डिलबाट कन्चटपट्टि २ इन्च लम्बाको घा चोट देखिएको सो चोटमा टाँका लगाइराखेको इलाज गरेको देखिने दाहिने घुँडाको बायाँपट्टि केही छाला खुइलिएको दाग दाहिने कुहिनामा छाला खुइलिएको गुदद्वारबाट केही रगत निस्केको भन्ने समेत ०३१।१२।४ को लासप्रकृति मुचुल्का ।
८. मेरो राय मृत्युको कारण मगजको दाहिने अगाडिको भागमा रगत जम्न गई भएको हुनसक्छ भन्ने समेत ०३१।१२।५ को पोष्टमार्टम रीपोर्ट ।
९. कर्णबहादुरको चोटबाट मिनबहादुर मर्न गएको हो अरू रिसइवी भएको थाहा छैन भन्ने समेत ०३१।१२।७ को सरजमीन मचुल्का रहेछ ।
१०. ०३१।११।२७ गतेको रात जात्रा हेर्न सिलीखेततर्फ जान गयौं बजारमा रक्सी खाइसकेपछि खहरेबाट फर्की ११ बजे ब्यारेकमा आई सुतेको २९ गते मात्र कर्णबहादुरले झगडा गरे ढुंगाले हान्दा घाइते भएको मृतक मिनबहादुर समेत आएका थिए रे भन्ने हल्ला सुनेको हुँ म फर्किदा हाम्रो गुल्मको चन्द्रबहादुर थापा क्षेत्री र कर्णबहादुर रमिता हेर्न गएको हो कति खेर फर्के अरू कुनै थाहा छैन भन्ने समेत प्रहरी टेकबहादुर थापा क्षेत्रीको प्रहरीमा गरेको कागज रहेछ ।
११. सिलीखेतमा रमिता हेर्न टेकबहादुर म गई रहरे पुगेपछि टेकबहादुर त्यहीँ बसे म र कर्णबहादुर जात्रा लाग्ने सिलीखेतमा गयौं निकै मानिस जम्मा भएको र अँध्यारो भएकोले म छलिएछु र सोही रातको अं.२ बजे गुल्ममा आइपुगेको कर्णबहादुर सो २८ गते बिहान ५ बजे मात्र फर्केको थाहा पाएको हुँ कर्णबहादुरले ढुंगाले हानी मिनबहादुर घा जाँच गराउन आएको कुरा २८ गते मात्र थाहा पाएको हुँ के कस्तो व्यहोराले मिनबहादुरलाई घाइते बनाएका हुन् थाहा छैन भन्ने पिपा चन्द्रबहादुरले ०३१।१२।८ मा प्रहरीमा गरेको कागज बयान ।
१२. ०३१।१२।२८ गते बेलुकी सिलीखेतमा रमिता हेर्न गएकोमा झगडा भई कुटपिट भयो औषधी गरुञ्जेल घरमा बस्न देउ भनेकोले २८ गतेदेखि मेरो घरमा आफैं हिँडी अस्पतालमा एक्लै हिँडी औषधी गर्ने गरेको पशु चिकित्सालयका डाक्टर मेरा घर डेरा गरी बसेका म बाहिर पिसाव गर्न जाँदा मिनबहादुर पल्टेको नारी छाम्दा राम्रो भएको हुँदा डाक्टरले र मैंले निजलाई विस्तारै उठाई विस्तारै लगी सुताउँदा १२ बजेको थियो पछि कुन समयमा मरे भोलिपल्ट ४ गते बिहान ५ बजे उठी हेर्दा मिन बहादुर मरिरहेका थिए भन्नेसमेत पद्मबहादुरले प्रहरीमा गरेको कागज बयान रहेछ ।
१३. औषधी गर्न पद्मबहादुरको घरमा बसेको मिनबहादुर खड्का ०३१।१२।३ गते रात सुतिरहेको किन हो बाहिर निस्केका रहेछ र त्यसबेला १२ बजेको रहेछ पद्मबहादुरले बोलाउँदा नबोलेकोले मलाई उठाई दुबै गई बोलाउँदा नबोलेको नारी छाम्दा राम्रो थियो विस्तारै उठाई पहिले सुतेको ठाँउमा मिनबहादुरलाई ल्याई सुताई कतिखेर मरे थाहा भएन हान्ने खास गरी को को हुन त्यहाँको मानिसले मिनबहादुरलाई हानेको भन्ने सुनेको हुँ अरू थाहा छैन भन्ने समेत पशु चिकित्सालयको प्रमुख देवानन्द न्यौपानेको प्रहरीमा गरेको बयान कागज ।
१४. प्रहरी हिरासतमा राखेको कर्णबहादुर उपर ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजायको माग दावी भएको ०३१।१२।१२ को प्रहरी प्रतिवेदन ।
१५. प्रहरीमा गरेको बयान मैले खुसीराजीसँग गरेको होइन साहेबहरूले यसो यसो भन भनी लेखाएको हो मलाई पढेर सुनाएको होइन ०३१।१२।२७ गतेको राति ७ बजे ब्यारेकमा साथी चक्रबहादुर, टेकबहादुर म समेत शिवरात्रीको मेला हेर्न सिलीखेत जाउँ भनी खहरे पुगी चन्द्रबहादुर टेकबहादुर त्यहाँबाट फर्केर आयो म सिलीखेत नगई एक्लै पौने १० बजे व्यारेकमा आई सेन्ट्री हुँदा तारबाट छिरेर भित्र पसेर थाहा नपाउने गरी मेरो ओछ्यानमा सुतेँ कसैले देखेन मर्ने मिनबहादुरलाई मैले कुटपिट गरेको होइन भन्ने समेत कर्णबहादुरले अदालतमा गरेको ०३१।१२।१२ को बयान ।
१६. तत्काल उठेको रिस खप्न नसकी कर्णबहादुरले ढुगांले हानेको चोटपिरबाट मिनबहादुर मरेको हुँदा ज्यानसम्बन्धीको १४ नं. ले कैदवर्ष १० हुन्छ भन्ने समेत बाग्लुङ जिल्ला अदालतको ०३३।२।५ को फैसला ।
१७. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादी कर्णबहादुर खत्रीको पुनरावेदन ।
१८. बाग्लुङ जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने समेत पश्चिमाञ्चल अदालतको ०३४।१।२९ को फैसला ।
१९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी कर्णबहादुरको निवेदन परेकोमा मर्ने मिनबहादुर ०३१।११।२७ गतेको कुटपिटको चोटले ०३१।१२।३ गते मरेको भन्ने उल्लेख छ तर निज थला परी मरेको भन्ने देखिन आउँदैन यस स्थितिमा ज्यानसम्बन्धीको १४ नं. बमोजिम निवेदकलाई १० वर्ष कैद गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा उक्त ज्यानसम्बन्धीको १४ नं. त्रुटि भएको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत स. अदालत डिभिजन बेञ्चको ०३५।१२।१२ को आदेश ।
२०. पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल तथा विपक्षी तर्फबाट बहस गर्न खटिनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्यायले गर्नुभएको बहस समेत सुनियो । प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपरेको छ ।
२१. यसमा निर्णयतर्फ हेर्दा ज्यानसम्बन्धी ५ नं. मा ज्यान लिने इवीलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्तो नदेखिएको कुनै काम कुरो गर्दा त्यसैद्वारा केही भई कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत मुद्दामा अभियुक्त कर्णबहादुर र जंगे जोगीको झगडा गर्न लागेको अवस्था मैले किन झगडा गर्छौ भन्दा कर्णबहादुरले ढुंगाले पुङमा हाने भन्ने मर्ने मिनबहादुरका घा जाँच गरिपाउँ भन्ने दरखास्तमा र ३ गाउँका मानिसहरू गुरूप लागी रक्सी खाई झगडा गर्न लागेको रहेछ म मितसँग गफ गरी उभिरहेको अवस्थामा झगडा गर्न लागेको गुरूपबाट कसले हो सानो ढुंगाले मेरो बायाँपट्टि हिर्कायो मैले रक्सी खाएको हुँदा मलाई रिस उठी हात भरिको ढुंगाले मर्ने मिनबहादुरलाई हिर्काएँ भन्ने समेत अभियुक्त कर्णबहादुरले प्रहरीमा सावित भई बयान गरेको पाइन्छ । त्यसप्रकार मर्नेको दरखास्त र अभियुक्तको प्रहरीमा भएको साविती बयानबाट मिनबहादुरको मृत्यु भएको अवस्था हेर्दा अभियुक्त कर्णबहादुरलाई कहाँबाट लाग्न आएको ढुंगाको चोटबाट असावधानी हुनगएको र हातभरिको ढुंगा टिपी मिनबहादुरलाई हानेको कुरा मिसिलबाट देखिन आउँछ । मृतक मिनबहादुरसँग ज्यान लिने इवीलाग वा मनसाय भएको मिसिल प्रमाणबाट देखिन नआएको, अभियुक्त कर्णबहादुरले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिए पनि त्यसैद्वारा ढुंगाले हानी लागेको चोटबाट निधारमा रगत जम्न गई मरेको देखिन आएकोले अभियुक्त कर्णबहादुरले ढुंगाले हानेको चोटबाट मिनबहादुर ज्यानसम्बन्धीको ५ नं. अनुसार भवितव्य भई मरेको ठहर्छ । वादी दावी बमोजिम ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गर्ने गरेको शुरू बाग्लुङ जिल्ला अदालतको इन्साफ मनासिव गरी पश्चिमाञ्चल क्षे.अ.ले गरेको निर्णय मिलेको देखिएन । तपसील बमोजिमगर्नु ।
तपसील
पुनरावेदक प्रतिवादी कर्णबहादुर खत्री के माथि लेखिएअनुसार वारदात ज्यानसम्बन्धीको ५ नं. बमोजिम भवितव्य ठहरेकोले ज्यानसम्बन्धीको ६ नं. को देहाय ४ नं. बमोजिम कैद वर्ष २ दुई हुन्छ थुनिएका मिति ०३१।२।४ देखि कैद कट्टा भइसकेको हुँदा थुनाबाट छाडी कानुन बमोजिम गर्नु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु ...........................१
प्र.कर्णबहादुर खत्रीके शुरू बाग्लुङ जिल्ला अदालत मिति ०३३।२।५ को फैसलाले ज्यानसम्बन्धीका १४ नं. बमोजिम गर्ने गरेको कैद वर्ष १० दश र त्यस उपर पुनरावेदन गर्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति ०३४।१।२९ का फैसलाले गर्ने गरेको थप कैद वर्ष १ एक समेत माथि लेखिएबमोजिम भवितव्य ठहरी उक्त कैदहरू नलाग्ने भएकोले व्यहोरा जनाई लगत काटी दिनु भनी बाग्लुङ जि.अ.र पश्चिमाञ्चल क्षेत्रीय अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु......................२
पुनरावेदन निर्णय भएको सूचना पुनरावेदक कर्णबहादुरलाई दिनु ..........................३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु .................... ४
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३७ साल कार्तिक १४ गते रोज ५ शुभम् ।