शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४०२ - अंश

भाग: २२ साल: २०३७ महिना: असार अंक:

निर्णय नं. १४०२ ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको दे.वि.नं. ८८

फैसला भएको मिति : २०३७।८।२९।१ मा

निवेदक : जि.गुल्मी ईस्मा ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने भगिराम ज्ञवालीसमेत

विरूद्ध

विपक्षी : जिल्ला गुल्मी ज्ञवाले टक्सार गा.पं.वार्ड नं. ४ बस्ने दिनानाथ ज्ञवाली

मुद्दा : अंश

(१)  घरसारमा बण्डापत्र गरी आफ्नो भाग जग्गा आफ्नो नाउँमा दर्ता गरी भोगचलन खरीदबिक्री गरेको र वादी प्रतिवादीहरू बीच मुद्दाहरू परेको समेत प्रमाणबाट, वादीले प्रतिवादीसँग अंश लिइसकेको भन्ने प्रष्ट देखिने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : निवेदकले इन्साफ जाँची पाउँ भनी चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हु.प्र.बक्स भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

          २.   बाबु मणीराजका छोरा जेठा देवीप्रसाद, माहिला हरिप्रसाद, साँहिलो म, काईलो थानेश्वर, कान्छो हिमलाल समेत पाँच भाइ र बाबु समेत ६ अंशियार छौं हामीहरू २००७।१०।१५ मा बेग्लै बसी मानोसम्म छुट्याई बस्ने सल्लाह भई जीवनवृत्तिको रूपमा भण्डारमन भन्ने बारी कित्ता समेतको ७ कित्ता मैले जिम्मा लिएको थिएँ । मणीराम, देवीप्रसाद, थानेश्वर, हिमलाल समेत सगोलमै थिए । देवीप्रसादले मेरो जिउनी जग्गा खिचोला गरेकाले मैले नालिश दिएकोमा अंश भएको नदेखिएको हक बेहक छुट्याउन नमिल्ने भनी गु.रा.अं.बाट खारेजी फैसला भएकोमा दुवै थरले चित्त बुझाई बसेका थियौ पछि मेरो जीवनवृत्ति जग्गाको बाली देवीप्रसाद समेतले लुटेकोले लुटपिटतर्फ समेत नालेश गरेको छु । अंशबण्डाको ३० नं. बमोजिमको रीतपूर्वक पूरा अंश नपाएको हुनाले २००७।१०।१५ गतेसम्मको सम्पत्तिको फाँट लिई ६ अंशको एक अंश दिलाई पाउँ भन्ने समेत ०२६।९।४।६ को वादी ।

          ३.   हामी ५ भाइहरू मध्ये जेठा देवीप्रसाद २००२ सालमा र २००७ साल मार्ग २५ गतेमा साँहिलो दिनानाथ र म हरिप्रसादले आफ्नो अंश लिई भिन्न भएका हौं र २०२० सालमा थानेश्वर र हिमलाल समेत छुट्टी भिन्न भइबसेका र म मनिराम कान्छो हिमलालतर्फ सगोल बसेको छु । वादीले जीवनवृत्ति भनेको जग्गा जीवनवृत्ति नभई अंश गरी दिएको हो वादीले आफ्नो हक अंशको जग्गा तिरो चलाई भू.सु.फाराम समेत भरी त्यस जग्गा विषयमा परस्पर मुद्दा समेत चली ०२६।१२।२५ मा मनिरामसँग मिलापत्र समेत भएको र लेनदेन व्यवहार समेत भएको छुट्टिएको प्रमाण प्रस्तुत हुनाले वादी दावी झुठ्ठा हो भन्ने समेत मनीराम, हरिप्रसाद ज्ञवाली तथा देवीप्रसाद ज्ञवाली समेतको प्रतिवादी ।

          ४.   वादीले अंश पाइसकेको भनी प्र.हरूले पेश गरेको २००७।८।२५ को बण्डापत्र बमोजिमको चल अचलमा मुद्दा परी मिलापत्र भएको देखिँदा अंश पाउँ भन्ने दावा झुठ्ठा ठहर्छ भन्ने अर्घाखाँची तथा गुल्मी जिल्ला अदालतको फैसला ।

          ५.  सो इन्साफमा चित्त बुझेन भन्ने वादीको पुनरावेदन परेकोमा शुरू जि.अ.को इन्साफ मनासिव छ भन्ने समेत लुम्बिनी अं.अ.को फैसला ।

          ६.   सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।

          ७.  हामी दाजु भाइहरूमध्ये जेठा देवीप्रसाद गत २००४ सालमा छुटिई भिन्न भएका २००७ सालमा माहिला हरिप्रसाद र साँहिला दिनानाथ बाबुबाट अंश लिई बसेका र २०२० सालमा थानेश्वर एकापट्टि बस्ने र म र बाबु एकापट्टि बस्ने गरी छुटिई बेगलै बसेका छौं कुनै सम्पत्ति अंश गर्न बाँकी छैन । अंशबण्डा पास नभएको हुनाले वादीले झुठ्ठा दावी गरेका हुन् भन्ने समेत थानेश्वरको वा.भई आफ्ना हकमा समेत पेटबोलीबाट बुझिएका हिमलाल ज्ञवालीको बयान ।

          ८.   कानुन बमोजिम रजिष्ट्रेशन पास भएको बण्डापत्रको अभावमा वादी दावा बमोजिम वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ अंश नपाउने गरी शुरू अर्घाखाँची तथा गुल्मी जि.अ.ले गरेको इन्साफ सदर गरी लुम्बिनी अञ्चल अदालतले गरेको इन्साफ नमिलेको हुनाले गल्ती ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ९.   सो फैसलामा चित्त बुझेन इन्साफ जाँची पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा इन्साफ जाँची दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भइआएको हु.प्र.बमोजिम पेश हुँदा आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको देखिँदा प.क्षे.अ. ले गरेको इन्साफ मिलेन अ.बं.२०२ नं. बमोजिम वादीलाई झिकाउनु भन्ने आदेश ।

          १०.  निवेदकतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नुभएको बहस समेत सुनियो प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के हो सो कुरामा निर्णय दिनुपर्ने हुनआएको छ ।

          ११.  यसमा निर्णयतर्फ हेर्दा कानुन बमोजिम रजिष्ट्रेशन पारित भएको बण्डापत्रको अभावबाट वादी दावी बमोजिम वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको देखिन्छ ।

          १२.  अंशबण्डाको ३० नं. मा अंशबण्डा गर्दा साक्षी राखी कानुन बमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिने दिनेको र साक्षीको समेत सहिछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ सो बमोजिम नभएको बण्डा सदर हुँदैन तर यो ऐन प्रारम्भ हुँदा सम्म बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टि आफ्नो आफ्नो हिसाव भागशान्ति बमोजिम लिई पाई दाखिल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डापत्र बढी असल कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंश छोडपत्र गरेकोमा भने रजिष्ट्रेशन भएको हुनुपर्छ भन्ने समेत व्यवस्था भएको पाइन्छ ।

          १३.  प्रस्तुत मुद्दामा वादी प्रतिवादीहरूका बीच २००७ साल मार्ग २५ गते घरसारमा अंशबण्डा भएको बण्डापत्रको नक्कल प्रतिवादी तर्फबाट पेश हुनआएको देखिन्छ । वादी दिनानाथले प्रतिवादी मनीराम ज्ञवाली समेतका नाउँमा जग्गा खिचोला मुद्दामा २०२३।८।२० मा अर्घाखाँची तथा गुल्मी ईस्मा जिल्ला अदालतमा फिराद गरेको सो फिरादपत्रमा ०७।८।२५ का बण्डापत्र बमोजिम अंश भागमा परेको अंश दर्ता बमोजिम भोग गरी आएको जग्गामा खिचोला गरेको भन्ने समेत उल्लेख गरेको प्रमाणको मिसिलबाट सो घरसारमा भएको बण्डापत्रलाई पुष्ट्याँई गरेको देखिएको यिनै वादीले विपक्षीसँग राजीनामा गरी लिएको जग्गामा खिचोला गरे भनी हरिप्रसाद ज्ञवाली उपर दिएको जग्गा खिचोला मुद्दामा ०२३।१२।२३ मा अर्घाखाँची तथा गुल्मी जिल्ला अदालतमा मिलापत्र भएको प्रमाण मिसिलबाट देखिएको त्यसबाट समेत वादी प्रतिवादीहरू अघि नै अंश भइसकेको भन्ने देखिन आउँछ सो बण्डापत्रमा लेखिएका जग्गाको ७ नं. फाराम भर्दा दिनानाथले आफ्नो नाउँमा फाराम भरेको समेत देखिन आएको त्यसप्रकार घरसारमा बण्डापत्र गरी आफ्नो भाग जग्गा आफ्ना नाउँमा दर्ता गरी भोग चलन खरीद बिक्री गरेको र वादी प्रतिवादीहरू बीच मुद्दाहरू परेको समेत प्रमाणबाट वादी दिनानाथले प्रतिवादीसँग अंश लिइसकेको भन्ने प्रष्ट देखिन आएको हुनाले शुरू अर्घाखाँची तथा गुल्मी ईस्मा जिल्ला अदालतबाट वादी दावा झुठ्ठा ठहराई छिनेको मनासिव गरी लुम्बिनी अञ्चल अदालतबाट गरेको इन्साफ मनासिव ठहर्छ । वादीले अंश पाउने ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेन । तपसील बमोजिम गर्नु ।

 

तपसील

कोर्टफी रही दायर भएको मुद्दा हुँदा कसैलाई केही गर्न परेन .............................१

वादी दिनानाथलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३६।९।५।१ का फैसलाले ६ भागको १ भाग अंश छुट्याई दिने गरेकोमा माथि लेखिएबमोजिम वादी दावी झुठ्ठा ठहरेकोले सो फैसला बमोजिम कसिएको लगत बमोजिम अंश छुट्याई रहन परेन सो अंश छुट्याई दिने भनी कसिएको सम्पूर्ण लगत काटी दिनु भनी प.क्षेत्रीय अदालत गुल्मी जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जि.अ.मा लगत दिनु.............२

वादी दिनानाथ ज्ञवाली के पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३३।९।५।१ का फैसलाले देहायका प्रतिवादीहरूबाट देहाय बमोजिम भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु परेन व्यहोरा जनाई सो लगत काटी दिनु भनी ऐ. ऐ.................................३

मोतीराज भन्ने मनीराम ज्ञवालीबाट.................. ६३०।५८

देवीप्रसाद ज्ञवालीबाट ................... ६३०।५७

हरिप्रसाद ज्ञवालीबाट ......................... ६३०।५७

थानेश्वर ज्ञवालीबाट ...................... ६३०।७५

हिमलाल ज्ञवालीबाट .................... ६३०।५७

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ........................

 

उक्त रायमा म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३७ साल माघ २९ गते रोज १ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु