निर्णय नं. १४०७ - अंश

निर्णय नं. १४०७ ने.का.प. २०३७
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०३७ सालको दे.फु.नं. ३९,४०,४१,४१
फैसला भएको मिति : २०३७।९।५।६ मा
निवेदक : जि. काठमाडौं न.पं. काठमाडौं वडा नं. २२ खिचापोखरी बस्ने काशिराज पाण्डेसमेत
विरूद्ध
विपक्षी : का.जि.का.न.पं.खिचापोखरी साविक वडा नं. ८ हाल वडा नं. २२ देवकुमारी पाण्डे
मुद्दा : अंश
(१) वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो आर्जनको चल, अचल सबै आफ्नो खुसी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२) मा लेखिएबमोजिम हुने ।
(प्रकरण नं. २९)
(२) बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश बकस गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहरो हक दिलाउन नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिने ।
(प्रकरण नं. २९)
(३) प्रतिवादीले पहिले तायदाती नखुलाए पनि पछि आफ्नो जिम्माको भनी खुलाउन आई बण्डा हुने हो भनी तायदाती दिन्छ भने त्यस्तो पनि बण्डा गर्न बाधा नदेखिने ।
(प्रकरण नं. ३२)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान वरिष्ठ अधिवक्ता श्री मोतीकाजी स्थापित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ
फैसला
न्या. हेरम्बराज : प्रस्तुत मुद्दा ०३५।५।१३।३ को फुल बेञ्चको निर्णय दोहर्याई पाउँ भनी प्रतिवादी काशिराज पाण्डेले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भया स.अ.फुल बेञ्चबाट ०३५।५।१३ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी इन्साफ दोहर्याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने र प्रयागराज पाण्डेले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भया यिनै निवेदक सरहका प्रतिवादीको विन्तिपत्रबाट इन्साफ दोहरिने भएको भया यि निवेदकको हकमा पनि इन्साफ दोहर्याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने र ताराकुमारीको मु.स.गर्ने विश्वराज पाण्डेले चढाएको निवेदनमा यसमा अघि त्यस अदालत फुल बेञ्चबाट ०३५।५।१३ गते छिनिएको अंश मुद्दा प्रतिवादी काशिराजको विन्तिपत्रबाट इन्साफ जाँचिने भएको भया निवेदकको हकमा पनि इन्साफ जाँची कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत श्री ५ महाराजाधिराजबाट बक्स भइआएका हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरिएबाट र ताराकुमारीको बा.अं.अ.उपर म.क्षे.अ.मा पुनरावेदन परेको अंश मुद्दाको मिसिल झिकाई फुल बेञ्चको लगतमा दर्ता गरी एकैसाथ पेश गर्नु भन्ने भएको ०३६।१०।२९ को फुल बेञ्चको आदेशानुसार ताराकुमारीको म.क्षे.अ.मा परेको पुनरावेदन समेत झिकाई फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : ससुरा पद्मराजको छोरा जेठा टिकाराज १ माहिला मिनराज १ साँहिला सुब्बा लिलाराज १ काँहिला मि.सु.काशिराज १ र कान्छा सुब्बा प्रयागराज १ समेत ५ भाइ भएकोमा जेठा टिकाराजकी २ श्रीमतीमध्ये जेठी ओमकुमारी र कान्छी म देवकुमारी हुँ । पतिदेव ८९ सालमा ससुरा ०७ सालमा र देवर लिलाराज ०८ साल चैत्रमा परलोक भई निज देवर घरको मुख्य भई व्यवहार गर्ने श्रीमती फणिन्द्रेश्वरी खिचापोखरी घरमै छन् छोरा ज्वालाराज अध्ययनमा गइरहेका र ०१८ सालमा सौता दिदी पनि परलोक भई कोही देवर अड्डा अड्डामा जागिरे र कोही मधेश मौजामा आ–आफ्नो जाहान परिवारको संरक्षण गरी रहेबसेबाट मलाई खान लाउन दान पुण्य गर्न समेत नदिई हेला गरेकोले जो भएको जग्गा जमीन चल अचल समेत रीतपूवर्क बण्डा गरी दिनुहोस् भनी काठमाडौंमा रहनु भएका देवर प्रयागराजसँग भन्दा सल्लाह गरी जो गर्नुपर्ने गरौंला भनेको र विराटनगर रहेका देवरले पनि त्यसै भनी पठाउनु भएकोले छुट्टै खाने बस्ने गरी आएकोमा छोराको विहे गर्न माहिला देवर मिनराज यही साल आषाढमा काठमाडौं आउनुभएको बखत अब अंशबण्डा गरी दिनोस् भन्दा नदिएकाले सगोलको चारसय चानचुन बिगहा जमीन मोरङ विराटनगरमा दुई तीनसय मुरी आयस्ता आउँने वीरगञ्ज परसोनी लोसन्ना समेतमा र वर्षको पचासौं हजार बहाल आउँने घर काठमाडौं र मोरङ विराटनगर समेत ठाउँ ठाउँमा भएकोले त्यो हैसियत र इज्जत अनुसार मुद्दा किनारा नभएसम्म नोकर समेत राखी खान लाउन र दान पुण्य गर्न समेत मुद्दा दर्ता भएको मितिदेखि मासिक रु.५००। का दरले दिलाउने बन्दोवस्त गरी निजहरूबाट ०२१ साल आषाढ ३ गते मानो छुट्टिएको हुँदा सोको अघिल्ला दिनसम्मको चल अचलको तायदाती लिई ५ खण्डको १ खण्ड अंश दिलाई भराई पाउँ भन्ने समेत वादी ।
३. धेरै वर्ष अघि पिताजी छँदै वादीसँग मानो छुट्टी बसेको हुँदा र अंश नछुटेसम्मको माना चामल लिने कानुनमा व्यवस्था नहुँदा समेत अंश दिने कुरामा मेरो इन्कार छैन भन्ने समेत प्रयागराजको प्रतिवादी ।
४. अ.बं.७२ नं. ले एउटै मानिसले एउटै मानिसउपर मात्र जतिसुकै झगडाको विषयको पनि एउटै फिरादपत्र दिन पाउने र लिलाराजले १९७८ साल जेष्ठ २१ गते आफ्नो अंश छोडपत्र गरी बाबु पद्मराजलाई दिई भिन्न भएको र १९८२।१०।१ मा मानु छुट्टिई बेगलै बस्नुभएकोले ८२ साल माघ अघिको सम्पत्तिमा वादीका पतिको पनि हक लाग्छ र सोही आयस्ता बाली वादीले पनि खाई भोगी आउनुभएको हुँदा दाइजो पेवा ऋणबाट गुजारा चलाएको भन्ने झुठ्ठा हो ०३२।३।३ मा मानु छुट्टिएको भन्ने र ५ अंशको १ अंश पाउँ भन्ने असत्य हो मानु छुट्टिएको लिखत पास गर्ने कानुनी व्यवस्था नभएकोले मात्र ८२ सालमा मानु छुट्टिएकोलाई ०२२ साल भनेको र अंश हुनुपर्ने सम्पत्तिमा दाजुभाइले लालच गरी अंश नपाउने समेतलाई अंश दिलाई त्यसबाट आफूलाई फाइदा उठाउन यो फिराद गरिएका छन् भन्ने समेत काशिराजको प्रतिउत्तर ।
५. भाइ लिलाराज ०८ सालमा परलोक भएपछि निजकी श्रीमती फणिन्द्रेश्वरी त्यसै साल मानो छुट्टिए सरह दाजु टिकाराज परलोक भएपछि ८९ साल फाल्गुण ६ गते वादी पनि मानु छुट्टिई बसी आउनु भएकोले सो फाल्गुण ६ गतेसम्मको दायदातीबाट आए जति वादीको अंश भाग दिन मञ्जुर छ भन्ने समेत मिनराजको प्रतिउत्तर ।
६. ०९ साल चैत्र महीनादेखि मेरो मुमा फणिन्द्रेश्वरीले बेग्लै बसी खान्छु भनी मलाई साथमा लिई मूल घरकै कोठामा छुट्टै खाने बस्ने गरी आएकोले ७८।२।२१ मा मेरा पिताले अंश छोडपत्र गरेको भन्ने झुठ्ठा हो । ०७ सालमा मानो छुटेको भन्ने मिनराजको भनाई पनि साँचो नभई ०९ साल चैत्रमा मानो छुट्टिएको र जेठा माइला बाबु र बाजे पद्मराज जीवित छँदै काँहिला बाबु काशिराजलाई मेरा बाबु लिलाराजले अंश छोडपत्र गरी दिनुपर्ने अवस्थै नहुँदा समेत मेरा बाबु लिलाराजको ५ खण्डको १ खण्ड अंश कायम गरिपाउँ वादीले अंश लिए पाएको छैन मानो छुट्टिएको कुरा मलाई थाहा छैन भन्ने समेत ज्वालाराजको बयान ।
७. मानो छुटाएको कुरामा मुख नमिलेकोले फिराद दायर भएको ०२२।८।९।४ को अघिल्ला दिन अर्थात ०२२।८।८।३ सम्मको चल अचल गैह्र श्रीसम्पत्तिको फाँटवारी तायदाती प्र.हरूबाट लिई र सो नआए वादीबाट तायदाती लिई आएपछि पेश गर्नु भन्ने समेत का.जि.अ.को आदेश ।
८. व्यहोरा साँचो भए जि.अ.मा दायरी रहेको मिसिल झिकी त्यस अञ्चल अदालतबाट मिसिल झिकी हेरी कानुन बमोजिम चाँडो छिनी नतिजा जाहेर गर्नु भन्ने समेत हु.प्र.बक्स भई आई प्रस्तुत मुद्दा का.जि.अ.बाट बा.अं.अ.मा सरेको ।
९. वादीले दिएको तायदाती अंशबण्डाको २१।२२ नं. को रीत पुर्याउन टाँस भएपछि प्र.हरूकै छोरा लक्ष्मणराज मदनराज समेतले हामीले बकसपत्र पाएको हाम्रो हकको जग्गा समेत तायदातीमा परेको हुँदा सो तायदाती बदर गरिपाउँ भनी मुद्दा चलेकोमा तायदाती बदर नहुने ठहरी फैसला भएकोले वादीले दिएको तायदातीमा उल्लेख भएका सम्पत्ति तथा काशिराजको उजूरी निवेदनको ३ दफामा बण्डा हुनुपर्ने भनी देखाएको जग्गाहरूमा वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्छ माना चामलको हकमा अंशबण्डाको १० नं. मा बाबु लोग्ने सम्मबाट दावी लिन पाउने भन्ने भएकोले माना चामलतर्फको दावा लाग्ने नसक्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत बा.अं.अ. को मिति ०२९।१।२३।६ को फैसला ।
१०. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको प्र.काशिराज पाण्डेको सर्वोच्च अदालतमा पुनरावेदन परी न्यायप्रशासन सुधार ऐन, ०३१ बमोजिम प्रस्तुत मुद्दा म.क्षे.अ.को कार्य क्षेत्रभित्रको देखिँदा सरी आएको ।
११. मूल पूर्खा बुबा पद्मराजको छोरा टिकाराजको श्रीमती म हुँ मिनराज त्यसपछि लिलाराज, काशिराज, प्रयागराज मेरा देवर हुन् भनी आफू समेत ५ अंशियार मानी वादीले लेखेको छ । सो मध्ये लिलाराजले अघि नै अंश लिइसकेको हुनाले बाँकी ४ अंशियार मात्र हो भन्ने पुनरावेदक प्रतिवादी काशिराजले उल्लेख गरेको देखिन्छ । लिलाराजको छोरा ज्वालाराजले बाबुको अंश छुट्टिएको छैन भनी अदालतले बुझ्दा उल्लेख गरेको देखिन्छ, यस मुद्दामा वादीले मात्र अंश छुट्याई पाउने हुन् वा होइनन् भन्ने कुराको निर्णय दिनुपर्ने, अरू अंशियारको हकमा लाग दावी भइआएका बखत क–कस्ले अंश पाउने हो क–कस्ले अंश पाइसकेको हो भन्ने कुराको प्रश्न उपस्थित हुनआउँने हुनाले वादीको हकमा निर्णय दिनलाई वादी दावा बमोजिम अंशियार कायम मान्नुपर्ने हुनआयो ।
१२. यो अंश मुद्दामा प्रतिवादीहरूले तायदाती नदिई अंशबण्डाको २२ नं. बमोजिम वादीबाट तायदाती दाखिल भएको र सो तायदातीको सूचना प्रतिवादीहरूले अदालतबाट पाई उजूर विरोध प्रतिवादी पुनरावेदकबाट भइसकेको हुँदा अंश मुद्दा फैसला गर्ने सम्बन्धमा कानुनी रीत अङ्ग पुगिसकेको देखिन्छ । पछि दायर गरेको जालसाजी मुद्दामा कानुन बमोजिम जो हुने सो मुद्दाबाटै हुने हुँदा यो कानुन बमोजिम रीत अंग पुगिसकेको अंश किनारा गर्न अडचन पर्न आउँछ भन्न मिलेन ।
१३. वादीले अंशबण्डा गर्नुपर्ने सम्पत्तिको फाँटवारी दिँदा प्र.प्रयागराजकी श्रीमतीका नाममा रहेको अचल सम्पत्तिको उल्लेख गरेको देखिएन, अंश मुद्दामा बण्डा गर्नुपर्ने भनी तायदातीमा लेखिएको सम्पत्तिको मात्र वादीलाई अंशबण्डा छुट्याउने वा नछुट्याउने भन्ने कुराको निर्णय हुने र दैया लाग्नेले सो सम्बन्धमा कानुन बमोजिम दावी गरेमा दाइजो पेवा हो वा होइन भन्ने कुराको निर्णय कानुन बमोजिम हुने हुनाले यस मुद्दामा प्रयागराजकी श्रीमतीको नाममा भएको सम्पत्ति दाइजो पेवा हो वा होइन भनी केही बोलिरहन परेन ।
१४. वादी प्रतिवादी अंशियार भए रहेका कुरामा विवाद छँदै र वादीले अंशबण्डा पाइसकेको भन्ने ऐन बमोजिम रीतपूर्वकको बण्डापत्र भएको पनि नदेखिएपछि वादीले अंश छुट्याई पाउने कुरामा कुनै शंका रहेन मानु छुट्टिएको मितिमा वादी प्रतिवादीको मुख नमिलेको र मानु छुट्टिएको लिखत सबूत प्रमाण पनि केही देखिन नआएकोले उजूर परेको अघिल्लो दिनसम्मको तायदाती लिई अंशबण्डा गरी वादीलाई अंश छुट्याई दिने गरेको बागमती अञ्चल अदालतको इन्साफ मिलेको देखियो वादीले दाखिल गरेको तायदाती मध्ये प्र.काशिराजका छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस पाएको तायदाती बदर हुने भनी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ०३२।१।२ मा फैसला भएको देखिएकोले तायदाती मध्ये सो फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट मात्र वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहर्छ” भन्ने समेत ०३२ साल पौष २ गते रोज ४ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१५. सर्वप्रथम प्रतिवादी निवेदक ताराकुमारी तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा अञ्चल अदालतले वादी दावी अनुसार अंश पाउने ठहर्याई गरेको निर्णय उपर दिएको पुनरावेदनबाट मुद्दा चलिरहेको भन्ने जिकिर लिएको देखियो साथै निजले काशिराज समेत माथि अंश पाउँ भनी काठमाडौं जिल्ला अदालतमा फिराद दिएको पनि देखियो । प्रस्तुत मुद्दा निवेदक काशिराजले श्री ५ महाराजाधिराज सरकारका हजुरमा दिएको निवेदनमा इन्साफ जाँच्न निमित्त हुकुम बक्स भइआएबमोजिम यस बेञ्च समक्ष पेश भएको देखिन्छ र निवेदक ताराकुमारीले दिएको निवेदनमा पनि निजको हकमा समेत इन्साफ जाँची दिनु भन्ने हुकुम बक्स भएको देखिन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति ०३२।९।२ को निर्णय पछि ०३३।६।५।३ मा अञ्चल अदालतको निर्णय उपर निवेदक ताराकुमारीले पुनरावेदन दिएको र साथै काठमाडौं जिल्ला अदालतमा पनि ०३३।१।१५।३ मा अंश पाउँ भन्ने फिराद गरेको देखिएको हुँदा ०३२।९।२ मा भएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भनी इन्साफ जाँच्न सो मिति भन्दा पछि परेको पुनरावेदन वा फिरादबाट कुनै बाधा हुने देखिन्न । बक्स भइआएको हुकुम प्रमांगीबाट ताराकुमारीको हकमा समेत इन्साफ जाँच हुने भएकै छ अर्को कुरा माना चामल भराई आफ्नो हकको अंश पाउँ भनी ०२२ सालमा आफ्नो हक खाने देखभाल गर्ने छोरा छोरी लोग्ने कोही नभएको करीब ७० वर्ष पुगेको बृद्धा देवकुमारी पाण्डेले फिराद गरेकोमा विलम्ब गरी निजको दावीलाई निस्प्रयोजन गराउने उद्देश्यले समेत पछि प्रतिवादी विपक्षहरूको आपसमा परिरहेको मुद्दाहरूबाट प्रस्तुत मुद्दाको निर्णय गर्न विलम्ब हुन दिएमा वादीको दावी मनासिव नै ठहरिन आए पनि त्यसको उपभोग गर्न नपाउने स्थिति पैदा हुने हुँदा प्रस्तुत मुद्दा नटुड्ड्याई राख्न कुनै दृष्टिबाट पनि उपयुक्त देखिँदैन वादीको हकमा यस मुद्दाबाट विचार गर्न नमिल्ने देखिएन ।
१६. वादीले अंशियार ५ जवान देखाई ३ जनाको विरूद्धमा फिराद दिएको देखिन्छ । प्रतिवादी मध्येका निवेदक काशिराजले लिलाराजले अघि नै अंश लिइसकेकोले ४ जवान अंशियार कायम हुनुपर्छ भन्ने उल्लेख गरेकोमा जम्मा कति अंशियार कायम हुने हो भन्ने प्रश्न उपस्थित भएको छ । क्षेत्रीय अदालतको फैसला हेरेमा यस मुद्दामा वादीले भाग अंश छुट्याई पाउने हुन् वा होइनन् भन्ने कुराको निर्णय दिनुपर्ने अरू अंशियारको हकमा दावी भइआएका बखत कसले अंश पाउने हो क–कस्ले अंश पाइसकेको भन्ने कुराको प्रश्न उपस्थित हुनआउँने हुनाले वादीको हकमा निर्णय दिनलाई वादी दावा उल्लेख बमोजिम भई अंशियार कायम मान्नुपर्ने हुनआयो भन्ने व्यहोरा उल्लेख भएको देखियो । यस सम्बन्धमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३४।११।८।१ को आदेशमा अंशियारबारे पक्षहरूको विवाद उठेकोमा कति अंशियार कायम हुने हो ? त्यस कुराको समेत ठहर निर्णय गर्नुपर्र्नेमा सो अनुसार नगरी वादी दावा उल्लेख बमोजिम अंशियार कायम गरेको नमिलेको भन्ने उल्लेख भएको देखिन्छ ।
१७. प्रस्तुत मुद्दामा वादीले ज्वालाराजका बाबु लिलाराज समेतलाई अंशियार बनाई अंश माग गरेको पाइन्छ । प्रतिवादी मध्येका काशिराजले आफ्नो प्रतिउत्तरपत्रमा १९७८ साल जेष्ठ २१ गते आफ्नो अंश छोडपत्र गरी दिई भिन्न भएको भन्ने उल्लेख गरेको देखियो । यस सम्बन्धमा लिलाराजका छोरा ज्वालाराजले निजका बाबुले १९७८।२।२१ मा अंश छोडपत्र गरेको भन्ने झुठ्ठा हो भन्ने समेत व्यहोराको बयान अदालतमा गरेको देखिन्छ । यसरी वादीले नै ५ अंशियार स्वीकार गरी ५ भागको १ भाग अंश पाउँ भन्ने दावी लिएको प्रस्तुत मुद्दाको सन्दर्भमा ज्वालाराजका बाबु लिलाराजले १९७८ सालमा अंश छोडपत्र गरिदिएको भनी प्रतिवादी मध्येका काशिराजले प्रतिवादी जिकिर लिएको र उक्त छोडपत्र निजको साक्षी बाग्लुङ बस्ने डोलेन्द्रराजसँग छ भनेकोमा निजलाई बुझ्दा पनि उक्त कागज दाखिल हुन नआएको कारणबाट लिलाराजले १९७८ सालमा नै छोडपत्र गरेको भन्न मिलेन । तसर्थ वादी दावा बमोजिम नै ५ जना अंशियार कायम गरी वादीलाई ५ भागको १ भाग अंश छुट्याई पाउने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मुनासिव ठहर्छ ।
१८. प्रतिवादीहरूबाट तायदाती प्राप्त नभएपछि वादीबाट तायदाती माग्दा वादीबाट प्राप्त हुनआएको तायदातीका सम्बन्धमा अंशबण्डाको २२ नं. अन्तर्गत प्रतिवादी मध्येका काशिराजले वादीले आफ्नो तायदातीमा प्रयागराज हाल बसेको १९८२ साल पछि बनेको काठमाडौं जिल्ला अन्तर्गत लाजिम्पाट पक्की बंगला घर छुट्याएको रहेछ । मानु छुट्टिएको भनी कायम गरेको मितिभन्दा पहिले बनेको उक्त घर फाँटवारीमा आउनुपर्ने हुनाले सो समेत फाँटवारीमा चढाइयोस भन्ने समेत व्यहोरा उल्लेख गरेको पाइन्छ यस विषयमा बागमती अञ्चल अदालतबाट प्रयागराजले सो घर आफ्नो स्वास्नीको दाइजो पेवाबाट बनाएको बण्डा हुनु नपर्ने भनी आफ्नो उजूरीमा लेखिएको वादीले पनि सो घर बण्डा हुनुपर्ने भनी तायदातीमा समेत नदेखाएकोले सो घर तायदातीमा समावेश गर्नुपर्ने देखिन आउँदैन भन्ने उल्लेख गरी फैसला गरेको पाइन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट अंश मुद्दामा बण्डा गर्नुपर्ने भनी तायदातीमा लेखिएको सम्पत्तिको मात्र वादीलाई अंशबण्डा छुट्याउने वा नछुट्याउने भन्ने कुराको निर्णय हुने र दैया लाग्ने सो सम्बन्धमा कानुन बमोजिम दावी गरेमा दाइजो पेवा हो वा होइन भन्ने कुराको निर्णय कानुन बमोजिम हुने हुनाले यस मुद्दामा केही बोलिरहन परेन भन्ने उल्लेख गरी फैसला भएको पाइन्छ । प्रस्तुत मुद्दाको मिसिल हेर्दा वादीले दिएको तायदातीको सूचना पाएपछि अंशबण्डाको महलको २२ नं. को प्रयोजनको लागि प्रतिवादी मध्येको काशिराजले बण्डा लाग्नुपर्ने सम्पत्ति मध्ये लाजिम्पाट स्थित शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा उल्लेख नगरिएकोले सो समेत समावेश गरी बण्डा गरिपाउँ भन्ने दावी जिकिर समयमै लिइसकेपछि अंशबण्डाको २१ नं. अन्तर्गत ऐन बमोजिम बण्डा गर्नुपर्ने हुनआउँँछ ।
१९. तर प्रस्तुत मुद्दामा क्षेत्रीय अदालतले वादीले दिएको सम्पत्तिको फाँटवारीमा उल्लेख नभएको आधारमा प्रतिवादी मध्येको काशिराजको निवेदन जिकिरको हकमा कुनै निर्णय नगरेको पाइन्छ । उक्त नं. २१ मा वादीले तायादाती दिइसकेपछि पनि वादीले घटीबढी देखाएको रहेछ भने अंश दिनुपर्नेहरूले जाहेर गर्ने व्यवस्था गरेका छन् र जाहेर गरेकोमा ऐन बमोजिम बण्डा गर्नुपर्ने समेत कर्तव्य तोकिएपछि प्रतिवादीले जाहेर गरेको सम्मति बण्डा हुनपर्ने नपर्ने केही निर्णय नगरी वादीले दिएको तायादाती बमोजिम बण्डा गर्ने ठहर्याएको अंशबण्डाको २१ र २२ नं. को त्रुटी भएको भन्नुपर्ने हुनआउँछ । जहाँसम्म प्रतिवादी मध्येका प्रयागराजले उक्त लाजिम्पाटको घर जग्गा स्वास्नीको दाइजो पेवाबाट खरीद भएकोले बण्डा गर्नु नपर्ने भनी दिएको निवेदनको प्रश्न छ, यस सम्बन्धमा सबूत प्रमाण पेश गर्न भनी क्षेत्रीय अदालतबाट भएको आदेशानुसार पेश हुनआएको लिखतहरूबाट प्रयागराजकी श्रीमती शंखकुमारीको नाममा दर्ता हुँदैमा उक्त घर र जग्गा दाइजो पेवाबाट प्राप्त गरेको भन्न मिल्दो देखिँदैन । सिर्फ शंखकुमारीले आफ्नो नाममा दर्ता भएको घर जग्गा छोराहरूलाई दिएको बकसपत्रमा आफूले दाइजो दान दक्षिणा पाई त्यसबाट बढे बढाएको भन्नेसम्म उल्लेख गरेको पाइन्छ । यस स्थितिमा मानो छुट्टिएको कायम गरेको मितिभन्दा अगाडि शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा शंखकुमारीको आफू खुशी गर्न पाउने सम्पत्ति हो भन्ने प्रमाणित नभएकोले सगोलकै सम्पत्ति ठहर्ने हुँदा सो समेत तायदातीमा समावेश गरी वादीलाई आफ्नो अंश भाग छुट्याई दिनुपर्ने ठहर्छ ।
२०. अब वादी अंशियार भएको र निजले अंश पाएको ऐन बमोजिम बण्डापत्र भएको पनि नदेखिएको हुनाले वादीले अंश छुट्याई पाउने कुरामा शंका रहेन । मानो छुट्टिएको मितिमा वादी प्रतिवादीको मुख नमिलेको र मानो छुट्टिएको लिखत सबूत प्रमाण पनि केही देखिन नआएकोले उजूर परेको अघिल्लो दिनसम्मको तायदाती लिई वादीलाई अंश छुट्याई दिने गरेको अञ्चल अदालतको मुनासिव ठहर्याएको क्षेत्रीय अदालतको निर्णय मिलेको छ । साथै वादीले दाखिल गरेको तायदाती मध्ये काशिराजको छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस पाएको तायदाती बदर हुने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३२।१।२ को फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहर्याएको क्षेत्रीय अदालतको निर्णय मुनासिव देखिन्छ भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको राय ।
२१. वादीको लोग्ने टिकाराज १९८२ साल मै मानो छुट्टिएको भन्ने प्रतिवादी, काशिराज १९८९ सालमा टिकाराज मरेपछि मानो छुट्टिएको भन्ने मिनराज, धेरै वर्ष अघि पिताजी छँदै मानो छुट्टिई बसेको भन्ने प्रयागराज र मानो छुट्टिएको थाहा छैन वादीले अंश पाएको छैन भन्ने लिलाराजको छोरा ज्वालाराजको भाइ भएबाट मानो छट्टिएको भनेको सबभन्दा पछिल्लो मिति १९८९ साललाई माने तापनि सो मिति देखि वादी देवकुमारी बेग्लै बसेको देखिन आएको र त्यसपछि प्रतिवादी काशिराजले वादीले तायदातीमा प्रयागराजको नाउँमा दर्ता भएको भनेकोमा उक्त घर जग्गा काशिराजले गम्भीर जंग राणाबाट पाएको नं. ६२०७ र हरिजंगबाट पाएको नं. १५९९ को रजिष्ट्रेशनबाट पास भएको फार्छेपत्र समेतबाट काशिराजले मिति १९९९।११।१३।४ र २००१।२।१५।४ मा आर्जेको देखिन आएको र प्रयागराजकी श्रीमतीले दाइजो पेवाबाट खरीद गरेको घर भनेको ०२०।७।३ मा रजिष्ट्रेशन पास गरी अर्जन भएको देखिएकोमा लाजिम्पाटको घर वादीले तायदातीमा नदेखाई काशिराजको आर्जनको खिचापोखरीको घर जग्गा प्रयागराजको भनी देखाई सो घरलाई पुर्खौली आर्जनभित्र पार्न खोजेको देखियो । अधिकांश अंशियारले वादी मानो छुटिई भिन्न भएको भनेकोले वादीको हकमा आखिरी यकीन हुनआएको मानो छुट्टिएको मिति ०८९ साललाई मान्नुपर्ने देखिन्छ । सो कुरा बारा मालको १९९४ साल फाल्गुण १४ गतेको बहाली पूर्जिमा टिकाराजले उपार्जन गरेको जिमीदारी १९८८ सालको मालपोत बाँकीमा लिलाम भएको भन्ने व्यहोरा लेखिएबाट पनि निज ०८९ सालमा मानो छुट्टिई आफ्नो खतिउपति गरिबसेको भन्ने व्यहोरा कुरा समर्थित भएकै छ । तसर्थ १९८९ साल अघिको सम्पत्ति तायदाती वादी प्रतिवादीसँग लिई ५ भागको १ भाग अंश वादीले पाउने ठहर्छ । त्यसपछि काशिराज, प्रयागराजकी श्रीमती आदिले आर्जेको भनेको सम्पत्तिमा वादीको हक तत्काल प्रचलित अंशबण्डाको १८ नं. नपुग्ने हुँदा सो समेत बण्डा गर्नुपर्छ भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावलीको नियम ३३ बमोजिम फुल बेञ्च समक्ष पेश गर्नु भन्ने मिति ०३५।१।२७।४ को माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय भई डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
२२. सम्माननीय प्रधान न्यायाधीशज्यू र माननीय न्यायाधीश श्री ईश्ररीराज मिश्रको उक्त रायहरूमा मूलतः मानो छुट्टिएको मितिको सम्बन्धमा मैतक्य हुन नसकेको पाइन्छ । प्रस्तुत मुद्दामा ०२१।३।३ मा मानो छुट्टिएकोले सोको अघिल्लो दिनसम्मको तायदाती लिई ५ भागको १ भाग अंश दिलाई पाउँ भनी वादीले फिराद दिएकोमा प्रतिवादीहरू मध्येका काशिराजले वादीको लोग्ने टिकाराज १९८२ सालमा नै मानो छुट्टिएको भनेको, प्रतिवादी मध्येका मिनराजले १९८९ सालमा टिकाराज मरेपछि मानो छुट्टिएको भनेको, प्रतिवादी मध्येका प्रयागराजले धेरैवर्ष अघि पिताजी छँदै मानो छुट्टिएको भनेको र लिलाराजको छोरा ज्वालाराजले मानो छुट्टिएको थाहा छैन, वादीले अंश पाएको छैन भनेकोबाट वादीसँग प्रतिवादीहरूको मानो छुट्टिएको मितिको बारेमा प्रतिवादीहरूको भनाई आपसमा बाझिन गएको देखियो मुद्दा परेको दिन अर्थात ०२१।३।३ मा मानो छुट्टिएको भन्ने वादी र प्रतिवादी मध्येको विभिन्न व्यक्तिको विभिन्न मितिमा मानो छुट्टिएको भन्ने भनाई भएको, मानो छुट्टिएको सबूत समेत केही गुज्रन नआएको, र बुझिएका प्रतिवादीका साक्षीहरूबाट पनि प्रतिवादीको भनाई समर्थित नभएको देखिएको यस स्थितिमा प्रतिवदीहरूको विभिन्न भनाई मध्ये मानो छुट्टिएको भनेको सबैभन्दा पछिल्लो मिति ८९ साललाई मानो छुट्टिएको मिति कायम गर्नु युक्तिसंगत नहुने हुनाले सो मिति कायम गर्ने गरेको माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रज्यूको रायसँग यस बेञ्च सहमत हुनसकेन । तसर्थ मानो छुट्टिएको मितिमा वादी प्रतिवादीको मुख नमिलेको र मानो छुट्टिएको लेख सबूत प्रमाण पनि केही देखिन नआएको आधारमा निवेदन परेको अधिल्लो दिनसम्मको तायदाती लिई वादीलाई अंश छुट्याई दिने गरेको क्षेत्रीय अदालतको निर्णय ठीक ठहर्याएको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिव ठहर्छ ।
२३. अब यस मुद्दामा कतिजना अंशियार कायम हुने हो भनी विचार गर्दा वादीले अंशियार ५ जवान देखिएकोमा प्रतिवादी निवेदक काशिराजले आफ्नो प्रतिउत्तरपत्रमा लिलाराजले १९७८ साल जेष्ठ २१ गते आफ्नो अंश छोडपत्र गरी दिई भिन्न भएको भन्ने उल्लेख गरेको देखियो । यस सम्बन्धमा लिलाराजको छोरा ज्वालाराजले निजका बाबु १९७८।२।२१ मा अंश छोडपत्र गरेको भन्ने झुठ्ठा हो भन्ने समेत व्यहोराको बयान अदालतमा गरेको देखिन्छ । ज्वालाराजका बाबु लिलाराजले १९७८ सालमा अंश छोडपत्र गरी दिएको भनी प्रतिवादी मध्येका काशिराजले प्रतिवादी जिकिर लिएको र उक्त छोडपत्रको कागज निजको साक्षी बाग्लुङ बस्ने डोलेन्द्रराजसँग छ भनेकोमा निजलाई बुझ्दा पनि उक्त कागज दाखिल हुन नआएको कारणबाट लिलाराजले १९७८ सालमा नै छोडपत्र गरेको भन्न नमिल्ने भन्ने सम्माननीय प्रधान न्यायाधीशज्यूको रायसँग माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको मतभिन्नता नरहेकोले समेत उपरोक्त आधारहरूमा वादी दावा बमोजिम ५ अंशियार कायम गरी वादीलाई ५ भागको एक भाग अंश पाउने ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मुनासिव ठहर्याएको सम्माननीय न्यायाधीशको निर्णय मिलेको देखिन्छ । वादीले दिएको तायदातीको सूचना पाएपछि अंशबण्डाको महलको २२ नं. बमोजिम प्रतिवादी मध्येका काशिराजले बण्डा लाग्नुपर्ने सम्पत्ति मध्ये लाजिम्पाट स्थित शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा उल्लेख नगरिएकोले सो समेत समावेश गरिपाउँ भन्ने दावी जिकिर समयमै लिइसकेपछि अंशबण्डाको २१ नं. बमोजिम बण्डा गर्नुपर्ने नपर्ने ठहर निर्णय गर्नुपर्नेमा सो केही पनि नगरी वादीले दिएको तायदाती बमोजिम बण्डा गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिन्छ । साथै प्रतिवादी प्रयागराजले उक्त लाजिम्पाटको घर जग्गा स्वास्नीको दाइजो पेवाबाट खरीद भएकोले बण्डा गर्नु नपर्ने भनी दिएको निवेदनको सम्बन्धमा क्षेत्रीय अदालतको आदेशानुसार पेश हुनआएको लिखतहरू हेर्दा प्रयागराजकी श्रीमती शंखकुमारीको नाममा दर्ता हुँदैमा उक्त घर जग्गा दाइजो पेवाबाट प्राप्त गरेको भन्न मिल्दो देखिँदैन । शंखकुमारीले आफ्नो नाममा दर्ता भएको जग्गा छोराहरूलाई मिति ०२२।२।१४ मा बण्डा गरी दिएको लिखतमा आफूले दाइजो दान दक्षिणा पाई त्यसबाट बढे बढाएको भन्नेसम्म उल्लेख गरेको पाइन्छ । यस स्थितिमा मानो छुट्टिएको कायम गरेको मितिभन्दा अगाडि शंखकुमारीको नाममा दर्ता भएको घर जग्गा आफू खुसी गर्न पाउने सम्पत्ति हो भन्ने प्रमाणित नभएकोले सगोलकै बण्डा लाग्नुपर्ने सम्पत्ति ठहर्छ । जहाँसम्म प्रतिवादी मध्येका काशिराजले श्री ५ महाराजाधिराज सरकारमा दिएको निवेदनमा लिलाराजका छोरा ज्वालाराजले दिएको तायदातीलाई यस मुद्दामा अंश भाग लगाउने तायदातीमा समावेश गरिएन भनी उल्लेख गरेको विषयको सम्बन्ध छ, सो बारे विचार गर्दा वादीले त्यस सम्बन्धमा पुनरावेदन नगरी अञ्चल अदालतको निर्णयमा चित्त बुझाई बसेको देखिएको र यस विषयमा प्रतिवादीहरूका बीचमा कानुन बमोजिम माग दावी भएका बखत सोही मुद्दाबाट कानुन बमोजिम निर्णय हुनेहुनाले यस मुद्दाबाट विचार गर्नुपर्ने देखिएन । तसर्थ वादी अंशियार भएको र निजले अंश पाएको ऐन बमोजिमको बण्डापत्र भएको पनि नदेखिएको यस स्थितिमा माथि उल्लेख भएबमोजिम उजूर परेको अधिल्लो दिनसम्मको वादीबाट तायदाती लिई सो तायदातीमा उल्लेख भएमध्ये काशिराजका छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस पाएको तायदाती बदर हुने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३२।१।२ को फैसलाले बदर गरेको कटाई बाँकी सम्पत्तिबाट वादीले ५ भागको १ भाग अंश छुट्याई पाउने ठहर्याएको क्षेत्रीय अदालतको निर्णय मनासिव भनी सम्माननीय प्रधान न्यायाधीशज्यूले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ भन्ने ०३५।५।१३ मा फुल बेञ्चबाट निर्णय भएको रहेछ ।
२४. यसमा निर्णयतर्फ विचार गर्दा यसै अदालतको फुल बेञ्चबाट ०३५।५।१३।३ मा भएको फैसलाको मुद्दा दोहर्याई इन्साफ जाँची दिनु भन्ने प्रमांगी पाउँ भनी काशिराजले चढाएको विन्तिपत्रमा अंश मुद्दाको मिसिल झिकी इन्साफ दोहर्याई हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने समेत ०३५।७।८।४ मा हुकुम प्रमांगी बक्स भइआएअनुसार मिसिल झिकाइआएको छ प्रयागराज पाण्डे र विश्वराज पाण्डेको विन्तिपत्रमा पनि इन्साफ दोहर्याई दिने हुकुम प्रमांगी भएको देखिन्छ ।
२५. बागमती अञ्चल अदालतको ०२९।१।२३।६ को फैसला उपर म.क्षे.अ.मा ताराकुमारीको पुनरावेदन परेको अंश मुद्दा समेत झिकाई फुल बेञ्चबाट हेरी किनारा गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स भइआएकोबाट उक्त म.क्षे.अ.मा परेको पुनरावेदन समेत किनारा गर्नुपरेको छ ।
२६. निवेदक प्रतिवादी काशिराजको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी र प्रयागराज तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान वरिष्ठ अधिवक्ता श्री मोतिकाजी स्थापितको र विश्राजको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको र विपक्षी वादी देवकुमारीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ समेतको बहस सुनियो ।
२७. बागमती अञ्चल अदालतबाट फैसला हुँदा बण्डा लाग्ने भनी फाँट लेखिएको मध्ये लक्ष्मणराज समेतले चलाएको तायदाती बदर मुद्दामा ०३२।१।२ मा भएको फैसला बमोजिमको जग्गा कटाई बाँकीमा ५ भागको १ भाग वादीले अंश पाउने सदर गरी म.क्षे.अ.बाट फैसला भएको देखियो २०२२।८।८।३ तकको तायदाती लिने का.जि.अ.बाट ठहर गरेकोमा अघिल्लो फुल बेञ्च लगायतबाट सदरै रहेकोलाई अन्यथा हुनुपर्ने मिसिल संलग्न प्रमाणबाट नदेखिएकोले उक्त मितिको तायदाती तोकेको मनासिवै देखियो ।
२८. त्यसरी तोकिएको तायदातीमा वादी प्रतिवादीले आफैं आफ्नै जिम्माको फाँटवारी नदिएको र प्र.हरूले तारेख गुजारी बसेकोले तायदाती लिन निमित्त अंशबण्डाको ऐन बमोजिम कारवाई चली प्रतिवादीहरूको जिम्माको भनी वादीतर्फबाट तायदाती पेश भएको छ त्यसमा पाएका म्यादभित्र काशिराज प्रयागराजले विरोध जनाई उक्त अदालतमा उजूर पठाएको देखिन्छ मिनराजका नाउँमा पठाएको म्याद वेरित भएकोले उजूर गर्न पाएन भनी सो समेतमा पुनरावेदनको माध्यमबाट सुधार समेत होस् भन्ने मिनराजको मु.स.गर्ने ताराकुमारीले पुनरावेदनमा जिकिर गरेकोमा उक्त तायदातीको कति सम्पत्ति बण्डा हुनुपर्ने हो भन्ने विवेचना गर्नुपरेको छ ।
२९. बकसपत्र दिएकोमा वादी प्रतिवादीका लेखबाट पुर्खौली सम्पत्तिबाट नामसारी भइआएको नदेखिएको हुनाले त्यस्तो आफ्नो–आफ्नो आर्जनको चल अचल सबै आफ्नो खुशी गर्न पाउने व्यवस्था अंशबण्डाको १९ नं. को देहाय (२)मा लेखिएबमोजिमको हुने हुनाले यी बकसपत्र पाउनेहरूलाई एक भाइ आगे भएकोमा अरू भाइ साक्षी बसी कागत गरेकोबाट त्यस्तो बकसपत्रलाई उक्त ऐनले मान्यता दिनुपर्ने हुन्छ । लक्ष्मणराज समेतले यिनै वादीउपर दिएको तायदाती बदरको म.क्षे.अ.को फैसला अन्तिम भएकोबाट उक्त बकसपत्रको जग्गाहरू बण्डा गर्नु नपर्ने ठहरिएको र सबैसँग समान कानुनी हक रहने हुँदा त्यससरहको मिनराजले दिएको बकसपत्र पनि सदरै हुने भई बण्डा गर्न मिलेन । अंशबण्डाको ऐनको नं. १९ को देहाय (३) बमोजिम आफूखशी गर्न पाउने र ऐ. को देहाय (५) बमोजिम बकस पाएको बण्डा गर्नु नपर्ने हुनाले मिनराजले ०१६।११।२१।६ मा सरतराज पाण्डे समेतलाई गरी दिएको बकसपत्र र प्रयागराजले ०१६।११।१२।४ मा लक्ष्मणराज पाण्डे समेतलाई गरिदिएको बकसपत्रमा लेखिएको जग्गाहरू बण्डा गर्नुभएन । बकस दिनेले बकस गरी बाँकी रहेको जग्गाका हकमा आफ्नो अंश जति बकस गरिसकेपछि पनि बाँकीमा फेरि अंश गरी दोहरो हक दिलाउन मनासिव नहुने हुँदा बकस दिने बाहेकका वादीले बाँकी जग्गा बण्डा गरी लिन पाउने देखिन्छ ।
३०. खिचापोखरीको घरको हकमा प्रयागराजको नाममा दर्ता भएको का.न.पं.वडा नं. ८ को खिचापोखरीको पूर्व पशुपतिलालको बारी पश्चिम सडक उत्तर हरिचा साहूको घर दक्षिण लुमकर्ण माडवारीको घर भनी किल्ला खुलाई वादीले तायदातीमा लेखेकोमा शंखकुमारीको दाइजो आर्जनबाट खरीद गरेको त्यसमा अंश लाग्ने होइन भनी र तायदातीमा दिएको खिचापोखरीको घर केही मेरा चलनमा र अरू दाजु काशिराजको चलनमा छ भनी प्रतिवादी प्रयागराजले उजूर गरेको आफ्नो बारेमा दर्ता छ भनेको चलनमा नदेखाएको र मेरा नामको खिचापोखरीको घरलाई प्रयागराजको घर भनी तायदातीमा दिनु नै बेरीत हो भनी प्र.काशिराजले उजूर लेखाएको देखिन्छ । हक भएपछि चलमात्र गर्नेगरेको ज्वालाराजको लेखबाट देखियो । यिनीहरूको लेखबाट खिचापोखरीको घर प्रयागराजको दर्ता नभएको हुँदा वादीको तायदाती त्यसघर विषयमा मिल्दो देखिएन । तसर्थ उक्त घर बण्डा गर्नहुने देखिएन ।
३१. वादीका तायदातीमा अरूका नाममा राखेको भनी लेखेको जग्गाहरू माथि लेखिएको कारणले अंशबण्डा नहुने हुँदा बण्डा छुट्याउँदा सो बाहेक गर्नुपर्छ ।
३२. प्रतिवादीहरूबाट आफू जिम्माको तायदाती नआएकोमा कारवाई हुँदा प्रतिवादी जिम्माको भनी वादीले तायदाती खुलाएकोमा प्रतिवादी तर्फबाट पनि वादीले एकलौटी खानको लागि नदेखाएको नभएको धनमाल लेखिदिएको वा घटीबढी पारी लेखिदिएकोमा प्रतिवादी तर्फबाट उजूर आउनसक्ने भई त्यसमा तहकिकात हुँदा वादीले दिएको फाँटवारीमा उजूरबाट कायम रहनआउने जति बण्डा हुनसक्छ । प्रतिवादीले पहिले तायदाती नखुलाए पनि पछि आफ्नो जिम्माको भनी खुलाउन आई बण्डा हुने हो भनी तायदाती दिन्छन् भने त्यस्तो पनि बण्डा गर्न बाधा देखिँदैन । एउटा प्रतिवादीले अर्को प्रतिवादीसँग रहेको भनी तायदातीको उजूरमा लेखेकोले र वादीले तायदातीमा उल्लेख गर्न नसकेकाले शंखकुमारीको नामको घर जग्गा बण्डा गर्न मनासिव भएन ।
३३. प्रयागराजको नामको र मिनराजको नामको जग्गाको हकमा पेश भएको बकसपत्रबाट अरूलाई बकस दिइसकेको देखिएकोले बकस नदिनेहरूको मात्र बण्डा गर्न बाँकी देखिँदा वादी देवकुमारी प्रतिवादी काशिराज लिलाराजको हक खाने ज्वालाराज जना ३ ले बकस दिएको नहुँदा ३ भागको १ भाग वादीलाई छुट्याई दिनुपर्ने भयो ।
३४. काशिराजको उजूरीको प्रकरण (३) मा लेखेको जग्गा वादीलाई ५ भागको १ भाग छुट्याई दिनुपर्ने भयो ।
३५. ज्वालाराजको तायदातीको हकमा कोठा ५ मेरा हक नभएको भनेकोले निजको तायदातीमा लेखेको लोसन्दा भन्ने मौजाको ५ भागको १ भाग वादीलाई बण्डा दिनुपर्ने देखिन्छ ।
३६. वादी देवकुमारीले दिएको तायदातीमा ताराकुमारीले विरोध गर्दै पुनरावेदन पत्रमा लेखे पनि यो यो कुरा भनी नलेखेको र माथि लेखिएबमोजिम इन्साफ भएकोले अरू विवेचाना गरी रहनु परेन ।
३७. माथि लेखिएबमोजिम ठहरिएकोले ०३५।५।१३।३ को फुल बेञ्चको इन्साफ केही उल्टी हुने ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल नियम बमोजिम बुझाईदिनु।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम ठहरिएकोले खुलाउनुपर्ने कुरा देखिए बुझी खुलाई आदेश गरी देहायको कलममा देहाय बमोजिम गर्नु भनी लगत दिन शुरू मिसिल काठमाडौं जिल्ला अदालतमा पठाई दिने........................ १
बागमती अञ्चल अदालतको ०२९।१।२३ को म.क्षे.अ.को ०३२।२।४ को स.अ.डिभिजन बेञ्चको ०३५।१।२७ को स.अ.फुल बेञ्चको ०३५।५।१३ को फैसलाले गर्ने गरेकोमा यस फैसला बमोजिम भई छुट्टै लगत काटिने हुनाले व्यहोरा जनाई सो फैसलाहरू बमोजिमको सम्पूर्ण लगत काटिदिने.१ वादी देवकुमारीके देहायको सम्पत्तिको देहाय बमोजिमको हिसावले श्रीसम्पत्तिको अंश पाउने ठहरिएकोले सो सम्पत्ति छुट्याई पाउँ भनी दं.स.को ४६ नं. को म्याद २ वर्षभित्र निज वादी देवकुमारीको दरखास्त पर्न आए देहाय बमोजिमको सम्पत्तिबाट देहाय बमोजिमका हिसाबले कानुनको रीतपुर्याई वादीको भाग बण्डा देहाय बमोजिम गरी छुट्याई दिनु बिगोको सयकडा २।५० का दर्ले दस्तूर लिने ..........२
देहाय बमोजिमको श्रीसम्पत्तिको ३ भागको १ भाग बण्डा छुट्याई दिने..१
वादीका तायदाती बमोजिमको
कि.नं. चौहदि बिगहा तिरो अं.मु
प्रयागराज पाण्डेका नाउँमा रैती नं. १७४ को भोगेन्द्रराज पं.ज्यू मार्फत तिरो दाखिल हुने जि.मोरङ प्र.कटहरी मौजे कदमाहाको कदमा पञ्चायत क्षेत्रभित्रको प्रयागराजका नाउँमा रहेको
६३२ — राजेश्वर भाग २ थर्से उत्तर ।१।१ १६।६।२ ६०।
१०८७ — निज कित्ता सो पूर्व ।१।।२ १६।८३ ६०।
१०८८ — निज कित्ता से दक्षिण ।.४ १३।२६ ४०।
१०८५ — निज कित्ता से पश्चिम २।।।१.२ १४३।५।२ ४०५।
११०० — निज कित्ता से पश्चिम ।।।१।।।१ ४२।४८ १६०।
११०१ — निज कित्ता से पश्चिम १।।३।१ ८५–४–१ १६०
११०२ — निज कित्ता से पूर्व १ऽ४।।४।३९भित्र ४८।१६।२ २००।
१०८० — अर्जुन से पश्चिम १।१ ६६।३० २१०।
१०८१ — निज कित्ता से उत्तर ।।४।१ ३६४६।२ १४०।
१०८२ — निज कित्ता से पश्चिम ऽ२।।।२ ९।९१।३ २५०।
२३१ — निज कित्ता से पश्चिम १ऽ। ५१।६३।३ २००।
२३ — चितु से पश्चिम ५ऽ२ २६०।१० १०००।
१०८६ — डगर से पश्चिम २।।४ १६७।७० ४५०।
१०९१ — महादेव से उत्तर द्र।।२ १।५३ १०।
१०९८ — बाबुलाल से पश्चिम ।।२।।। ३२।५१।१ १००।
१०९९ — निज कित्ता से पश्चिम ।३।।। २२।३१।१ ८०।
१९१ — विहारी मियाँ सो पूर्व २ऽ४।।।३ ११४।३६।३ ४१०
६३३ — डगर से पूर्व ऽ२ ५।१० १५
ऐ का नाममा रै.नं. ३ दर्ता भएको ऐ. मार्फत तिरो दाखिल हुने जि.मोरङ कटहरी प्र.मौ.जि.गडरीया नोचा पञ्चायत क्षेत्रभित्रको ऐ. को नाउँको ।
२०८ — विर्ता सीमाना से पूर्व १ऽ३ ५८।६५ २००।
३०४ — लालजि से पश्चिम ।।१।३ २९।७ १००।
३०५ — सुगुजी से उत्तर ।२ १७।८५ ७०।
२२० — निज से उत्तर १।।.२ ७६।७५।२ २२५।
२२१ — निज से उत्तर ।।२४ ३५।७० १४०।
३२१ — विर्ता से पूर्व ।।।२।।२ ४४।८७ १७०।
३४ नं. गोपालबाट
२०९ — सर्गुनी से पूर्व ।।२ ३०।६० २१०।
२१० — नि से पूर्व ऽ४।। ११।४७। २२०
८१ नं. रामलालबाट ९१ साल
२९४ — वानी से पश्चिम १७ ८६७। ३४००।
साल
३०२ — गेदु से दक्षिण ।।१।।।३ ३०।३४।२ ११०।
७२ कुलकुबाट ९१
२२१ — सगुनी से पूर्व ।।१।।।३ ३०।३४।२ १३०।
२१२ — निज से पूर्व ।।३.१ ३३।३७।३ १३०।
८१ रामलालबाट ९१
२९३ — अछोरी से पश्चिम रैति नं. २०
मा प्रयाग राज ।१।१ १६।६।२ ६०।
पाण्डेका नाममा दर्ता भएको प्र.गाग्राहा मौ.संकरपुर जि.संकटा खनाल मार्फत तिरो दाखिल हुने विराटनगर नगर पञ्चायत वडा नं. ४ को मेनरोडको ।
८० — वची सो दक्षिण ५७। ई को १।.।।३ ६५।४०।३ १२६०।
९० — सडक सो पूर्व पश्चिम
५१—२१ को २।।३।।१ १३६।५५।१ २६३०।
।।२।१ २८।५ ६५०।
विराटनगर पञ्चायत वडा नं. ५ को जि.ठाकुर बाबु मार्फत तिरो दाखिल हुने प्र.गोग्राहा मौ गहेली मिनराजको नाममा रैति नं. ७८ मा दर्ता भएको ।
१३७ — सडक सोउत्तर अन्तलाल
से दक्षिण ।३ मध्ये ऽ२।।।१ ५।६ ५००।
१३८ — ललाई से उत्तर ।।.।।२ मध्ये ऽ२।।।१ ५।४६ ५००।
१५१ — सुफल से पूर्व सडक से
उत्तर १८।११को ।४।।।३ १९।३१।२ १५००।
देहाय बमोजिमका श्रीसम्पत्तिका ५ भागको १ भागबण्डा छुट्याई दिने ......................२
वादीका तायदाती बमोजिमको
वि.न.नगरपञ्चायत ४ नं. वडा उक्त कित्ता ३ को पूर्व मेनरोड सडक पश्चिम सडक परखाल उत्तर गल्ली दक्षिण उत्तर गल्ली दक्षिण परखाल भएको यो चौहदीभित्र बनेको पूर्व मोहडाको भैतला समेत तल्ला भएको अन्दाजी ५० हात लम्बा २५ हात चौडा ३० हात उचाईको ३ नाले पक्की घर १ को मूल्य आन्दाजी मोलिने दुई लाख २००००० उक्त चौहदीमा बनेको मूल घरदेखि पूर्व मीनरोड सडकमा जोडिएको उत्तर दक्षिण अन्दाजी ८० हात लमाई पूर्व पहाड १२ हात रोड १० हात उचाई भैंतला मात्र भएका अन्दाजी मोलिने रु.एक लाख १०००००। वडा नं. ५ मा विराटनगर न.पं.मा उक्त कित्ता नं. ३ मा पूर्व पश्चिम अन्दाजी १५ हात उत्तर दक्षिण अं.१० हात लम्बाई चौडाई भएको अं.७ हात उचाईको भैंतलामा भएको पक्की घर १ को अन्दाजी मोलिने मूल्य बीस हजार २००००।
जग्गाको विवरण
जि.पर्सा नियनी मौ.ग्राम पञ्चायत वार्ड नं. ७ को रैति काशिराज पाण्डेको नाममा दर्ता रहेको पोत रु.१०३।१९ लाग्ने जग्गा
जि.पर्सा वेलमा ग्राम पञ्चायत वार्ड नं. ३ को रैती काशिराज पाण्डेको नाममा दर्ता रहेको पोत रु.१७१।६० लाग्ने जग्गा
ज्वालाराजको तायदाती बमोजिम
जिल्ला बारा कलैया मालमा मेरा नाममा दर्ता भयाको पूर्व पश्चिम उत्तर दक्षिण चारैतर्फ रैकर जग्गा साध भएको चन्द्रकुमारीलाई धान मन ५।। बुझाइने गरी हुण्डामा दिएकोमा मालपोत रु.११७३। लागेको लोसन्दा भन्ने मौजाको प्रत्येक बिगहाको रु.५००। दरले जम्मा रु.११५००। मोलिने जग्गा बिगहा २३ को जग्गा कित्ता एक भन्ने लेखेको जग्गाको मोल रु.११५००।
काशिराज पाण्डेको बा.अं.अ.को तो.नं. ३४६ को निवेदनपत्रमा बण्डा गर्नुपर्ने भनी खुलाएको ।
बिगहा मालपोत मोल
२।।।.१ १०३।१९ १०००।
३।। १७१।६० ११००।
जिल्ला पर्सा हरपुर ग्राम पञ्चायत वार्ड नं. ७ को रैती काशिराज पाण्डेको नाममा दर्ता पोत रु.६१४।५५ लाग्ने जग्गा १५।।।१ ६१४।५५ ४०००।
का.जि.टुकुचाको जग्गा भोगबन्धकी लिएको आसामीले थैली बुझाउँदा सो थैली रु.१०००। का काशिराज र प्रयाथराजको संयुक्त नाममा नेपाल बैङ्क जम्मा भने लेखेको रु. १००००। १००००
देहायको प्रतिवादीहरूसँग पाउने भागको वादीलाई लाग्ने कोर्टफी प्रतिवादीहरू सँग असूल गर्नुपर्ने हुँदा देहाय बमोजिम कोर्टफी लाग्ने ..............३
आसामी बण्डाको बिगो शुरू कोर्टफी पुनरावेदन गर्दा लाग्ने कोर्टफी
मिनराजबाट पाउने ८३३।३३ ४१।६५ ३३।२४
ऐ ऐ ४०००। १८०।
प्रयागराज ६००००। २०७०।
ऐ.ऐ. ४४२५ १३२।७५
काशिराज ३२२०। १४८।८० २२।३२
ज्वालाराज २३००। ११२।
माथि लेखिएबमोजिम लाग्ने कोर्टफी मध्ये निजहरूबाट आएको कोर्टफी धरौटबाट समेत कट्टीमट्टी गरी बढी भए फिर्ता र घटी भए वा पूरा भए कानुन बमोजिम असूल गर्ने ............
उक्त रायमा सहमति छ ।
न्या. बासुदेव शर्मा
न्या. त्रैलोक्यराज अर्याल
न्या. बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय
३८. यसमा मानो छुट्टिएको कुन मिति कायम हुने हो सो नै मूल प्रश्नको रूपमा उपस्थित भएको छ । मानो छटिएतर्फ प्रतिवादीहरूले लिएको जिकिर हेर्दा प्र.काशिराज पाण्डेले वादीको लोग्ने टिकारामको १९८२ सालमा मानो छुट्टिई आफ्नो खतिउपति आफैंले व्यहोरी अलग बसेको भन्नुभएको छ प्र.मिनराज पाण्डेले १९८९ साल मानो छुट्टिएको भन्नुभएको छ । प्र.प्रयागराज पाण्डेले बाबा जीवित छँदै मानु छुट्टिएको भन्नुभएको छ र लिलाराज पाण्डेको छोरा ज्वालाराज पाण्डेले मानो छुट्टिएको छैन भन्नुभएको छ । मानो छुट्टिएको तर्फ प्र.काशिराज पाण्डे तर्फको बहस नोटमा मूलरूपमा देहायका प्रमाणहरू उल्लेख भएको पाइन्छ । मानो छुट्टिएको तर्फ प्र.काशिराज पाण्डे तर्फको बहस नोटमा मुलरूपमा देहायका प्रमाणहरू उल्लेख भएको पाइन्छ ।
(क) का.जि.टोकनी पूराना खुटुवा जल्ती मौजाको टिकाराज पाण्डेको ४ बिगहा चानचुन नम्बरी जग्गा मालपोत बाँकीमा लिलाम हुँदा १९९०।२।२ मा काशिराज पाण्डेले सकार गरेको ।
(ख) टिकाराम पाण्डेको बण्डा समेतका ४ वटा जिमीदारी १९८८ सालको मालपोत बाँकीमा लिलाम भएको टिकाराजका अन्य साहू पनि भएको वृजमोहन मारवाडीले जिमदारी सकार गरेको ।
(ग) लोहरबण्डा जिमदारी अन्तर्गत काशिराजको नम्बरी जग्गाको १९९२ सालको मालपोत जिमीदार वृजमोहन मारवाडीले जिमीदारीको जिरायत जग्गा भनी दावी गरी नबुझाएकोमा उजूरी परी कारवाई हुँदा काशिराज र वृजमोहनको बीचमा मिलापत्र भएको उक्त तथ्यहरूलाई हेर्दा ठाउँ ठाउँको जेथा जग्गा दिई भिन्न अंशियारको नाउँमा रहन सक्ने स्थिति छ सगोलमा रहँदा रहँदै पनि सगोलको सम्पत्ति सगोलकै अरू अंशियारको नाममा रहन सक्दछ । सगोलको एउटा अंशियारको नाममा रहेको जिमदारी जग्गा लिलाम हुँदा सगोलकै अर्को अंशियारले सकार गर्न नपाउने गरी कानुनले बन्देज लगाएको छैन । टिकाराम पाण्डेको जिमदारी तथा नम्बरी जग्गा मालपोत बाँकीमा लिलाम हुँदा काशिराज पाण्डेले सकार गरेको र वृजमोहनले जिमीदारीको जिरायत जग्गा भनी दावी गर्दा उजूर पनि काशिराज पाण्डे र वृजमोहनको बीचमा मिलापत्र भएकै नाताबाट टिकाराज पाण्डे १९८२ सालमा छुट्टिएको भन्ने स्थिति छैन ।
३९. प्र.मिनराज पाण्डेले १८८९ सालमा मानो छुट्टिएको भन्नु भएकोमा सो मानु छुट्टिएको कुनै तथ्ययुक्त प्रमाण दिन सक्नुभएको देखिँदैन ।
४०. प्र.प्रयागराजले बाबा छँदै मानो छुट्टिएको भन्नुभएको छ तर कुन साल मितिमा कसरी मानो छुट्टिएको हो सो सम्बन्धमा कुनै भर पर्दो प्रमाण छैन ।
४१. तथ्ययुक्त र पक्का प्रमाणको अभावमा मानो छुट्टिएको भन्न सक्ने स्थिति हुँदैन र मानो छुट्टिएतर्फ खूद प्रतिवादीहरूको बीचमा मुख नमिलेको समेत हुँदा नालेश उजूर परेका मिति मानो छुट्टिएको मिति कायम हुने ठहर्छ । उजूर परेको अघिल्ला दिनसम्मको तायदाती मागेको मनासिव भन्ने माननीय सहयोगी न्यायाधीशज्यूहरूको रायसँग मेरो सहमति छ ।
४२. अब खिचापोखरीको घर जग्गा र लाजिम्पाटको पक्की घर जग्गा समेत बण्डा हुने हो वा होइन सो तर्फ हेर्दा मूल रूपमा मानो छुट्टिएको कुन मिति हो तथा कायम भयो सो नै पहिले हेर्नु पर्ने हुन जान्छ ।
४३. माथि लेखिएबमोजिम फिराद परेको मिति मानो छुट्टिएको मिति कायम भएकोले सो दिनभन्दा अघि यी वादी प्रतिवादीहरू मानो नछुटाइसँग बसेका मान्नुपर्ने हुनआउँछ । तत्काल अंशबण्डाको १८ नं. हेर्दा मानो नछुट्टिइसँग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋण सबै अंशियारहरूलाई भाग लाग्ने र त्यस्तो सम्पत्ति ऐन बमोजिम बण्डा गरी लिनु दिनु पर्छ भन्ने लेखिएकोले मानो छुट्टिनु भन्दा अघिल्लो मितिको खिचापोखरीको घर जग्गा सँगालेको बण्डा हुनुपर्ने सम्पत्ति देखिन्छ । खिचापोखरीको घर जग्गालाई वादीले बण्डा हुने सम्पत्ति देखाई तायदाती फाँटवारी दिँदा त्यस्तो घर जग्गालाई प्र.प्रयागराज पाण्डेको दर्ताको भन्नुभएको छ तर प्र.काशिराज पाण्डेले सो घर जग्गा मेरा नाउँमा दर्ता छ भन्नु भएकोले त्यस्तो सम्पत्ति कानुन बमोजिम बण्डा हुने हो वा होइन भनी हेर्दा प्र.प्रयागराज पाण्डे र प्र.काशिराज पाण्डे दुवै वादीलाई अंश दिनुपर्ने अंशियार देखिन्छन् । उक्त खिचापोखरीको घर जग्गाको तायदाती वादीले प्रयागराज पाण्डेको दर्ता भनी उल्लेख गरे तापनि मानो छुट्टिएको मिति भन्दा अघिको सगोलको सम्पत्ति हुँदा तायदाती फाँटवारीमा प्रयागराज पाण्डेको दर्ता भन्ने उल्लेख गर्दैमा त्यत्तिकै नाताबाट सगोलको त्यस्तो सम्पत्ति बण्डा हुँदैन भन्न मिल्दैन । दर्ताको सम्बन्धमा तायदाती फाँटवारीमा प्रयागराज पाण्डेको नाम गल्तीबाट उल्लेख भएको छ भने त्यस्तोलाई सच्याई बण्डा लगाउनुपर्ने हुनआउँछ ।
४४. अब लाजिम्पाटको घर जग्गा बण्डा हुने हो वा होइन भनी हेर्दा वादीले फिराद दावी गर्दा चल अचल सम्पत्तिको तायदाती फाँट विपक्षी प्रतिवादीहरूबाट लिई अंश दिलाई पाउँ भनी दावी लिनुभएको पाइन्छ । तर प्रतिवादीहरूले कानुन बमोजिम दिनुपर्ने फाँटवारी नदिएबाट वादीले तायदाती फाँटवारी दिएको र त्यस्तो फाँटवारी अंश बण्डाको २२ नं. बमोजिम एक प्रति नक्कल सहित पठाई विपक्षीहरूको नाममा म्याद टाँस भएकोमा प्र.काशिराज पाण्डेले प्रयागराज पाण्डेको लाजिम्पाटको घर जग्गा तायदातीमा छुटेकोले सो समावेश गरी बण्डा होस् भनी जाहेर गरेको पाइन्छ ।
४५. यसरी दायदाती फाँटको एकप्रति नक्कल समेत पठाई म्याद टाँस भएकोमा तायदातीमा छुटेको कुरा जाहेर गरेमा त्यस्तो सम्पत्तिलाई समेत तायदातीमा समावेश गरी अंशबण्डाको २१ नं. बमोजिम बण्डा गरी दिनु पर्छ भनी अंशबण्डाको २२ नं. ले औंलाएको पाइन्छ।
४६. हुन पनि अंशियारहरूको बीचमा रहेको सगोलको सम्पत्ति अंश गर्ने अंशबण्डाको तात्पर्य हो । त्यस्तो सम्पत्ति वादी र विभिन्न प्रतिवादीहरूको बीचमा रहन सक्दछ । वादीले दिएको तायदाती फाँटवारीमा बण्डा हुनुपर्ने प्र.प्रयागराज पाण्डेको लाजिम्पाटको घर जग्गा छुटेको छ तर उक्त घर जग्गा भोग हुनुपर्ने भनी छुटेको कुरा दर्शाई तायदाती फाँटवारीमा समावेश गरियोस् भनी विपक्षी अंशियार प्र.काशिराजले कानुन बमोजिम म्यादमा जाहेर गर्नु भएको र त्यस्तो सम्पत्ति शंखकुमारीको दाइजो पेवाको हो भनी ठोस प्रमाणको अभावमा सगोलको त्यस्तो सम्पत्ति बण्डा हुँदैन मिल्दैन उक्त लाजिम्पाटको घर जग्गाको लगत कोर्टफी नमिलेको भए सो मिलाई कोर्टफी लिन सक्ने स्थिति छ ।
४७. वादीले दाखिल गरेको तायदाती मध्ये प्र.काशिराजका छोरा लक्ष्मणराज समेतले प्र.प्रयागराजबाट बकस पाएको बदर हुने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३२।१।२ मा फैसला भएकोले सो बदर गरेको कटाई बाँकी सम्पत्तिबाट लाजिम्पाटको घर जग्गा समेतमा वादीले ५ भागको १ भाग अंश पाउने देखिनाले फुल बेञ्चको ०३५।५।१३ को इन्साफ मनासिव छ सोतर्फ माननीय सहयोगी न्यायाधीशजीहरूको रायमा माथि लेखिएबमोजिम मेरो सहमति नभएकोले छुट्टै राय व्यक्त गरेको छु ।
४८.ज्वालाराजको ०२६।१।१९ को तायदातीमा लेखिएको लोसन्दा भन्ने मौजा बण्डा हुँदैन भन्न नमिल्ने हुँदा सो समेत बण्डा लाग्ने भई ५ भागको १ भाग वादीले पाउने देखिन्छ र तायदाती सुनाइएन भनी ताराकुमारी पाण्डेले विरोध गर्दै मानो छुट्टिएको मिति १८८९ साल कायम रहनु पर्छ भनी पुनरावेदन जिकिर लिएको सम्बन्धमा माथि लेखिएबमोजिम फिराद परेको मिति मानो छुट्टिएको मिति कायम भई इन्साफ भएकोले अरू विवेचना गर्न पनि अवस्था नरहँदा लेखिएबमोजिम राय व्यक्त गरेको छु ।
इति सम्वत् २०३७ साल पुस ५ गते रोज ६ शुभम् ।