शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८२७ - जग्गा खिचोला

भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक:

निर्णय नं. ३८२७    ने.का.प. २०४६            अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.नं. ६२४

फैसला भएको मिति :      २०४६।४।१८।४ मा

पुनरावेदक/प्रतिवादी : जि. दोलखा मालुशहरे गा.पं.वडा नं. ५ बस्ने हर्कबहादुर खड्कासमेत

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने चुनीबहादुर रोक्कासमेत

मुद्दा : जग्गा खिचोला

§  जग्गाहरु अन्य विभिन्न व्यक्तिहरुको भएको देखिँदा जसले भोग गरेको छ, उसै उपर दावी नभई खिचोला नगर्ने प्रतिवादीहरु उपर गरेको दावीबाट इन्साफ गर्न नमिल्ने ।

(प्रकरण नं. १७)

§  २००१ सालमा संयुक्त दर्ता भएको नाताले तत्पश्चातको भोग प्रमाण समेतको अभावमा तिसौं वर्षपछि अर्काको भोगचलनमा रहेको जग्गामा वादीले दावी गर्न पाउने भन्न कानुनले नमिल्ने ।

(प्रकरण नं. १७)

वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली

फैसला

     न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति ०४३।५।८ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    तामाकोशी देखि पूर्व मानबहादुरको साँधदेखि पश्चिम, क्यामुनाको रुखदेखि दक्षिण, शर्मानन्दको साँधदेखि उत्तर यति ४ किल्ला भित्रको बिरुवा टापुबारी भन्ने खेत २००१ सालमा पदमनाथ, मानबहादुर, शुरबीर, गम्भीर सिंह र रुद्रलाल समेत ५ जनाको नाममा बराबरका दरले दर्ता भई हाम्रा बाबुहरुको भाग भोगबन्धकीबाट विपक्षीहरुले नै तिरो तिर्ने गरी २००३ सालदेखि बन्धकी दिएकोले बन्धकी ऋण निश्चित गरिपाउँ भनी हामीहरुले उजूर गर्दा विपक्षीहरुले शुरवीरको ।१।४ गम्भिर सिंह र इन्द्रलालको ।१।४ का दरले जम्मा ।२।८ को र छोडपत्रबाट हक भएको समेत ।३।१२ मा खम्भध्वजले ।३ हर्कबहादुरले ।.।१२ को खेत खाएका छन् । हाम्रो माटो मुरी ।१।४ का दरले ।२।८ को जग्गा बन्धकी खाएको होइन भनी लिखत दवाई विपक्षीले भू.सु.का. मा बयान गरेको हुनाले तामेलीमा राखिदिने भू.सू.का. दोलखाबाट निर्णय भएको छ । उपरोक्त माटो मुरी ।२।८ को उल्लिखित चारकिल्ला भित्रको हाम्रो जग्गा २०३२ साल मार्ग २० गते खनजोत गर्न जाँदा विपक्षीहरुले हामीहरुको हक पुग्छ भन्दै खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत फिराद दावा ।

      ३.    उपर्युक्त जग्गा हाम्रा बाबु बाजे ५ जना मोहीका नाममा दर्ता गराए पनि निजहरुले आवाद नगरी वीरबहादुर समेतले भोगी खाएका छन् । २००४ सालमा नापी हुँदा शैनध्वजका नाममा ।.।१ हर्कबहादुरका बाबुका नाममा ।.।१ पदमबहादुरका नाममा ।.।१ समेत ।.।३ बिजन दर्ता भई हामीले खाई आएको जग्गा हो । विपक्षीहरुले ७ नं. फाँटवारी समेत भरेका छैनन् । उक्त जग्गा हामीहरुको हुने गरी २००२।४।२१ मा छोडपत्र गरिदिएको जग्गा हो । विपक्षीको ४ किल्ला भित्रको हाम्रो बाहेकको जग्गा के कस्तो शर्तबाट वीरबहादुर, लक्ष्मण, शुरवीर, लालबहादुर, जमानसिंह र भिमबहादुर समेत ५ जनाले खेत बनाई खाएका छन् । हामीले जग्गा खिचोला गरेका छैनौं भन्ने समेत प्रतिउत्तरपत्र ।

      ४.    वादी दावीको कित्ता मध्ये माटो पाथी ।.।१० को जग्गा २००४ सालमा राजीनामा गरी रु. ४०।मा गम्भिर सिंहबाट खरीद गरी भोगी आएको छु, सोही जग्गामा वादीहरुले दावी गरेका हुन् भन्ने समेत वीरबहादुरको बयान ।

      ५.    दावीको ४ किल्ला भएको ।६ मुरी माटोको जग्गा मध्ये पाथी ।१० गम्भिर सिंहबाट खरीद गरी लिएको जग्गा भोगी रहेको छ । दावी झुठ्ठा हो भन्ने समेत लक्ष्मणको बयान ।

      ६.    दावीको ४ किल्ला मध्ये माटो पाथी ।.।५ बाबु बाजेका पालादेखि भोगी आएको जग्गा हो भन्ने समेत डम्बरबहादुरको बयान ।

      ७.    दावीको ४ किल्लाभित्रको जग्गा माटो मुरी ।६ भित्रको जग्गा होइन । रत्नबहादुर समेतबाट राजीनामा गरी लिएको माटो पाथि ।.।२ को जग्गा खाई आएको छु भन्ने समेत अम्बरबहादुरको बयान ।

      ८.    दावीको ४ किल्लाभित्र मेरो जग्गा पर्दैन । जिजुबाजेका नाममा दर्ता रहेको माटो मुरी ।२० मध्ये ।.।५ पाथी अंशबाट भोग गरी खाइआएको छु भन्ने समेत चन्द्रबहादुरको बयान ।

      ९.    वादी दावीको टापु खेत मैले भोग गरिआएको छैन, धानको बीउ पाथी ।।२ जाने राजीनामा गरी लिएको सालदेखि भोगचलन गरिआएको छु भन्ने समेत नारायणध्वजको बयान ।

      १०.    विवादको न.नं. १, , १५, १९ भित्र वादीहरु २ जनाको समेत दामासाहीले ।१।४ का दरले जग्गा माटो मुरी ।२।८ जग्गामा हक निहित रहेको देखिँदा प्रतिवादीहरुले खिचोला गरेको ठहर्छ भन्ने समेत दोलखा जिल्ला अदालतको फैसला ।

      ११.    शुरु फैसला बदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादीहरुको जनकपुर अञ्चल अदालतमा पुनरावेदन परेकोमा २००३ सालदेखि भोग तिरो नभएको जग्गामा हदम्यादभित्रको भनी निर्णय गरेको नमिल्ने देखिएकोले अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको मिति २०३५।८।२२ को फैसला ।

      १२.   उक्त फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी वादी कर्णाखर उपाध्यायको म.क्षे.अ.मा पुनरावेदन परेकोमा २०३२ मार्ग २० गते खिचोला गरेको भनी फिराद दायर गरेकोमा जनकपुर अञ्चल अदालतले खारेज गर्ने गरेको मिलेको देखिएन । कानुन बमोजिम बुझ्नु पर्ने प्रमाण बुझी इन्साफ गर्नु भनी तारेख तोकी ज.अं.अ. मा पठाइदिने ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०३७।११।१२ को फैसला ।

      १३.   फिरादीहरुले ७ नं. फाँटवारी तिरो तिरेको रसिद समेत पेश नभएको र बन्धकी दिएको भन्ने पनि नठहरिएपछि २००१ सालमा संयुक्त दर्ता भएकै आधारले बीचमा भोगको कुनै प्रमाण पेश गर्न नसक्ने फिरादीलाई अधिकार प्रति उदासिन रहनेले अधिकार गुमाउँछ भन्ने सिद्धान्त समेतका आधारमा शुरुले फिरादीहरुलाई हक दिने ठहराएको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत जनकपुर अञ्चल अदालतको २०३९।५।१३ को फैसला ।

      १४.   जनकपुर अञ्चल अदालतको उक्त फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी वादी तर्फबाट म.क्षे.अ. मा पुनरावेदन दायर हुन आएकोमा वादीका बाबु पदमनाथ र मानबहादुरको दर्ता टुटेको नदेखिँदा तामा कोशी पूर्व, मानबहादुर पश्चिम, क्यामुनाको रुख दक्षिण शर्मानन्दको साँध उत्तर यति चारकिल्ला भित्रको माटो मुरी ।६ को जग्गा मध्ये वादीको ।२।८ जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत म.क्षे.अ. को २०४३।५।८।१ को फैसला ।

      १५.   म.क्षे.अ. को उक्त फैसलामा चित्त बुझेन । पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

      १६.    यस्मा विवादित वादीले दावी लिएका जग्गाको ४ किल्ला भित्र अरु विभिन्न व्यक्तिले भोग गरिआएको कुरामा पनि विवाद उठेको छैन, तिनीहरुलाई पेटबोलीबाट बुझेको पनि पाइँदैन । वादी दावीमा लेखिएको ४ किल्लाको माटो मुरी ।२।८ वादीहरुका दर्ता किल्ला भित्र घटि बढी के छ सो कुराको नाप नक्सा गरी निर्णय गरेको पनि देखिँदैन । प्रतिवादी निवेदकहरुले चन्द्रलालसँग छोडपत्र गरिलिएको कुरामा पनि विवाद उठी सो प्रतिवादीहरुको हक भएकोमा सो छोडपत्र बदर गरिपाउँ भन्ने वादी दावी भएको पनि पाइँदैन । मुख्य ।६ मुरी माटो मध्ये ।२।८ वादीको हो भन्नेमा विवाद देखिँदैन र सो जग्गा उत्तरपट्टि छ भन्नेमा पनि दुवै पक्षको मुख मिलेको देखिएको र सो उत्तरपट्टिको वादीको जग्गामा प्रतिवादी निवेदकहरुले खिचोला गरेका छन, छैनन् मुख्य त्यति कुराको निर्णय गर्नु पर्नेमा वादी दावी नै नभएको सम्पूर्ण ४ किल्लामा नै अंगाली खिचोला गरेको ठहराएको म.क्षे.अ. को फैसलामा अ.बं. १३९ तथा १७१ र १८४(क), १८५ समेतको कानुनको त्रुटि गरी गरेको देखिन आएकोले न्या. प्र.सु. (चौथो संशोधन) ऐन, २०३१ को दफा १३(५)(ख)(ग) तथा उपदफा (ठ) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।६।२ को आदेश ।

      १७.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादीतर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलको र प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली समेतको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी म.क्षे.अ. को फैसला मिले नमिलेतर्फ विचार गर्दा यस्मा वादीले आफ्नो फिरादमा तामाकोशी पूर्व, मानबहादुरको साँध पश्चिम, क्यामुनाको रुख ठाडो खाडी दक्षिण शर्मानन्दको साँध उत्तर यति ४ किल्लाभित्रको विरुवा टापुबारी भन्ने खेत ००१ सालमा वादी कर्णाखरका बाबु पदमनाथ, वादी चुनीबहादुरको बाबु मानबहादुर, प्रतिवादी खम्बध्वजका बाबु सुरवीर र गम्भीर सिंह, इन्द्रलाल समेत ५ जनाका नाममा माटो मुरी ।६ को जग्गा ।१।४ का दरले दामासाहीले दर्ता गराएकोमा सुरवीरले इन्द्रलाल र गम्भीर सिंहको भाग २००२।४।२५ मा छोडपत्र गराई लिएको भन्ने उल्लेख गरी मूल कित्ताको ४ किल्ला मध्ये क्यामुनाको रुख ठाडो खाडी दक्षिण इन्द्रलाल समेतको दर्ता विपक्षीहरुले छोडपत्र लिई खाएको साँध उत्तर, मानबहादुरको साँध पश्चिम तामाकोशीको डिलदेखि पूर्वको जग्गामा प्रतिवादीले खिचोला गरे भनी दावी लिई प्रतिवादीका बाबुले इन्द्रलाल समेतबाट छोडपत्र गरी लिएको कुरालाई स्वीकार गरी छोडपत्र लिई खाएको जग्गा बाहेक सो देखि उत्तर तर्फको जग्गामा मात्र खिचोलातर्फ दावी गरेको देखिएको र यदि वादीका बाबुहरुको हक खिलाप गर्ने गरी छोडपत्र गरिदिएको भए सो बदर गराउनतर्फ वादीबाट कुनै प्रयास भएको समेत नदेखिएकोले इन्द्रलाल गम्भीर सिंहले छोडपत्र गरी प्रतिवादीका बाबुलाई दिएको जग्गामा वादीहरुको दावी नभएको देखिन आयो । अदालतबाट भई आएको मिति २०३८।३।१३ को नक्सामा उक्त छोडपत्रमा उल्लिखित ४ किल्ला भिडाउँदा न.नं. ४ मा तामाकोशीसँग जोडिएको ठूलो भीर डिल (न.नं. ७) पूर्व, मानबहादुरको खेत (न.नं. ५) पश्चिम दोबाटेलीको खेत (न.नं. ६) दक्षिण, शर्मानन्दको खेत (न.नं. ३) देखि उत्तरतर्फ न.नं. १९ को खम्बध्वजको जग्गा सो छोडपत्रको देखिन आउँछ । मूल कित्ताको दक्षिणतर्फ न.नं. १९ को खम्बध्वजको जग्गाको उत्तरपट्टि दोबाटेलीको खेत न.नं. ८ र न.नं. ६ चन्द्रबहादुरको खेत न.नं. ९, जमान सिंह न.नं. १४, नारायणध्वजको खेत न.नं. १५, डम्बरबहादुरको खेत न.नं. १६ का जग्गाहरु देखिएकोमा उक्त जग्गाहरुमा यी प्रतिवादीहरुले खिचोला उठाएको भन्ने देखिँदैन । उक्त जग्गाहरु अन्य विभिन्न व्यक्तिहरुको भएको देखिँदा जसले भोग गरेको छ उसै उपर दावी नभई खिचोला नगर्ने यी प्रतिवादीहरु उपर गरेको दावीबाट इन्साफ गर्न मिल्ने देखिएन । अब झगडा जनिएको न.नं. १८ को जग्गाका हकमा उक्त जग्गा प्र.हर्कबहादुरको हक भोगमा रहेको देखिन्छ । न.नं. ७ को ठूलो भिरदेखि पूर्व सम्मको मूल कित्ताको किल्ला भित्रको उक्त जग्गामा वादीहरुको हक भए ७ नं. फाराम समेत भरी तिरो भोग गरेको प्रमाण हुनु पर्नेमा सो नभएको तथा यिनी वादीहरुका बाबुले प्रतिवादीका बाबुलाई २००३ सालमा भोगबन्धकी दिएको ऋण साधन गरिपाउँ भनी यिनी वादीहरुले यिनै प्रतिवादी खम्बध्वज उपर दिएको भोगबन्धकी ऋण साधन मुद्दामा भोगबन्धकी दिएको नठहरी भूमिसुधार कार्यालय चरिकोटबाट मिति २०३२।१०।२१ मा फैसला भएको प्रमाणका निमित्त आएको उक्त मुद्दाको मिसिलबाट समेत देखिँदा ००१ सालमा संयुक्त दर्ता भएकै नाताले तत्पश्चातको भोग प्रमाण समेतको अभावमा तीसौं वर्ष पछि अर्काको भोग चलनमा रहेको जग्गामा वादीले दावी गर्न पाउने भन्न कानुनले नमिल्ने समेत हुनाले वादी दावी बमोजिम प्रतिवादीहरुले खिचोला गरेको नठहराएको जनकपुर अञ्चल अदालतको इन्साफ मनासिब ठहर्छ । वादीले दावी नै नलिएको न.नं. १९ को प्रतिवादीहरुको जग्गामा र प्रतिवादीको हक भोगमा रहेको न.नं. १८ को जग्गामा तथा जग्गा भोग गर्ने उपर उजूरी नै नभएको न.नं. ८, , १४, १५, १६ समेतका जग्गाहरुमा मूल दर्ता कित्ताको सम्पूर्ण ४ किल्ला उल्लेख गरी माटो मुरी ।२।८ मा प्रतिवादीले खिचोला गरेको भनी ठहर गरेको म.क्षे.अ. को फैसला त्रुटिपूर्ण देखिँदा उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम म.क्षे.अ. को इन्साफ उल्टी हुने ठहरेकोले उक्त अदालतको २०४३।५।८।१ को फैसला बमोजिम प्रतिवादीहरुबाट वादीलाई भराई दिने गरेको कोर्टफी रु. १३।भराउन परेन व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु...१ ऐ.ऐ. हुने ठहरेकोले प्रतिवादीहरुले ज.अं.अ. मा रु. १।५० तथा यस अदालतमा रु. १।५० समेत पुनरावेदन गर्दा राखेको कोर्टफी जम्मा रु. ३।वादीहरुबाट भराई पाउने हुँदा ऐनका म्यादभित्र दर्खास्त दिन आए ऐनको रीत पुर्‍याई वादी कर्णाश्वर र चूनीबहादुरबाट बराबरीका दरले प्रतिवादी हर्कबहादुर र खम्बध्वजलाई भराई दिनु र ज.अं.अ. मा वादीहरुलाई भराई दिन प्रतिवादीबाट राखेको धरौटी रु. १०।प्रतिवादीहरुलाई ऐनको रीत पुर्‍याई फिर्ता दिनु भनी शुरु जि. अ. मा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु...१ इन्साफ उल्टीमा मा.न्या. श्री मोहनप्रसाद शर्मा र मा.न्या. श्री हरिश्चन्द्रप्रसाद उपाध्यायको रेकर्ड राख्नु...१ मिसिल नियमबमोजिम गरी बुझाई दिनु...१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल श्रावण १८ गते रोज ४ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु