निर्णय नं. ३८२८ - सम्बन्ध बिच्छेद

निर्णय नं. ३८२८ ने.का.प. २०४६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको फौ.सा.नं. १५१
फैसला भएको मिति : २०४६।४।९।२ मा
प्रतिवादी : पाल्पा जिल्ला तांहु गा.पं. वार्ड नं. ७ बस्ने चन्द्रकुमारी अधिकारी
विरुद्ध
वादी : ऐ.ऐ. बस्ने प्रभाकर अधिकारी
मुद्दा : सम्बन्ध बिच्छेद
§ सम्बन्ध बिच्छेद मुद्दा र अंश मुद्दा एकै लगाउको देखिँदा अंश मुद्दा र लगाउको सम्बन्ध बिच्छेद मुद्दा समेत साथै निर्णय गर्नु पर्नेमा अंश मुद्दा मुल्तबी राखी सम्बन्ध बिच्छेद मुद्दामा निर्णय गरेको नमिल्ने ।
(प्रकरण नं. १५)
§ सम्बन्ध बिच्छेद मुद्दामा वादीको दावी र प्रतिवादीको भनाईबाट समेत प्रतिवादीबाट जन्मेकी छोरी वादीको हो होइन सो निर्णय बिन्दूमा पुगेपछि मात्र सम्बन्ध बिच्छेदमा निर्णय हुने हुँदा नाताको विवादको हकमा दुवै अंश र सम्बन्ध बिच्छेदमा निर्णय नगरी एउटै अंश मुद्दाबाट निर्णय गरे हुने ।
(प्रकरण नं. १६)
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल
वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
फैसला
न्या. त्रिलोकप्रताप राणा : न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ को उपदफा (५) बमोजिम, रुजु पक्षलाई तारेख तोकी, साधक सदरको लागि पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट यस अदालतमा पठाई साधकको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. मेरी जेठी श्रीमती पवित्रा कान्छी अन्यायकी चन्द्रकुमारी हुन् । जेठी तर्फबाट ईश्वरी समेत ४ छोरा, मायादेवी समेत २ छोरी र कान्छी तर्फबाट छोरा शिवलाल १ छोरी बिष्णु र सीता २ जन्म भएपछि सौताको मेलमिलाप नभई झगडा हुने गरेकोले चल अचल सम्पत्तिबाट यथावत अंश गरी छुट्टी घर बनाई २०२७ साल पौष १५ गतेबाट आ–आफ्नो खती उपतीमा रहे राखेको हुँ । निज र म मा भएको लोग्ने स्वास्नीको सम्बन्ध जाने आउने रेखदेख गर्ने यथावतै थियो । दुईवटी श्रीमती तर्फबाट छोरा छोरी यथेष्ट भइसकेकोले सल्लाहले २०३२।३।२५ मा पाल्पा तानसेन यूनाइटेड मिसन अस्पतालबाट भ्यासेक्टोमी (परिवार नियोजन) गरेको छु । नियोजन पछि मेरो करणी विर्यबाट सन्तान पैदा भएको पनि छैन । एक वर्ष जति भयो चन्द्रकुमारी र मेरो आउने जाने व्यवहार पनि थिएन । २०३६ साल आषाढ लागेपछि आमा विरामी पर्दा आइनन् । २०३६।३।१३ गते सुत्केरी भई छोरी जन्माएर बसेकी छन् भनेबाट कस्को गर्भ धारण गरेको हो उसै कहाँ जाउ भन्दा बच्चाको उमेर १–१।। वर्षको नभई जान्न, लोग्ने बताउन पनि बाध्य छैन भनिन् । लोग्ने स्वास्नीको सम्बन्ध कायम गरी बस्न सकिन । लोग्ने स्वास्नीका २ नं. बमोजिम सम्बन्ध बिच्छेद गराई पाउँ भन्ने समेत व्यहोराको प्रभाखर अधिकारीको फिरादपत्र ।
३. वादी लेख निजको कल्पना हो । २०१६ साल वैशाख महीनामा विपक्ष र मेरो विवाह भएपछि म तर्फ १ छोरा ३ छोरी, जेठी सौता तर्फ ४ छोरा २ छोरी जीवित छन् । २०२७ सालदेखि सौतासंग मिली बस्न नसक्दा केही जग्गा कमाउने गरी मानो छुट्टिई बेग्लै बसी आएकी छु । २०३५ साल भाद्र महीनाको पतिदेवकै करणीबाट गर्भ रही २०३६।३।१४ गते छोरी जन्मिन । सासूको जुठो खापिएकोले ऐ. २९ गतेसम्म कुना बसी पतिदेव सासूको क्रियाबाट उम्कनु भएको र राजिखुशीले न्वारान गर्नुभएको हो । न्वारानमा छोरीको नाउँ मीनकुमारी अधिकारी राखेको हो । रगत समेत विषेशज्ञबाट जँचाएमा प्रष्ट हुनेछ । परिवार नियोजन गर्नुभएको भनिएको थाहा छैन । भ्यासेक्टोमी गरे भनेको वादीको करणी विर्यबाट सो मितिले १५ महीना २० दिनपछि २०३३।६।२० मा मेरी सौता दिदी पवित्राबाट मायादेवी नामक छोरीको जन्म भएपछि भ्यासेक्टोमी असफल भएको प्रष्ट छ । अंशतर्फ छुट्टै नालेश दिएकी छु । दर्ता गर्न नमिल्ने मुद्दा दर्ता हुन आएकोले खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्र.चन्द्रकुमारीको प्रतिउत्तरपत्र ।
४. यूनाइटेड मिसन पाल्पाको १० मार्च १९८० को पत्रमा वादी प्रभाखरले भ्याक्सेटोमी गरेको र जाँच्दा स्पर्म (किटाणु) त्यसबेला नपाइएको भन्नेसम्म उल्लेख भएकोबाट प्रभाखर अधिकारीको किटाणु कैले पनि निस्कन नसक्ने र निजबाट गर्भ समेत रहन नसक्ने भन्ने कुरा पुष्टि हुन आएको नदेखिँदा प्र.ले अन्य कसैको गर्भ धारणा गरिन् भन्न वैधानिक प्रमाणको अभावमा वादी दावालाई समर्थन नगरी लोग्ने स्वास्नीको २ नं. को व्यवस्था अनुसार सम्बन्ध बिच्छेद गर्न उचित नदेखिँदा वादी दावा बमोजिम सम्बन्ध बिच्छेद हुन नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पाल्पा जिल्ला अदालतको मिति २०३७।२।२ को फैसला ।
५. परिवार नियोजन गराएपछि गर्भधारण गराउने शक्ति रहेको छैन । वादी दावी सार्थक अर्थमा विषेशज्ञको रायले यथेष्ट प्रमाण पुगेको छ । शुरु फैसला उल्टाई पाउँ भन्ने समेत व्यहोराको वादीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदपत्र ।
६. भ्यासेक्टोमी अप्रेशन गरी सन्तान जन्माउने क्षमता नभएको अवस्थामा प्र. बाट जन्मिएको जातक बालिका पुनरावेदकको करणी विर्यको हो भन्ने ठहराउन नमिल्ने हुँदा अर्कोसँग करणी गराउने स्वास्नीसँग लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद गर्न पाउने नै हुनाले वादी प्रतिवादी बीचको लोग्ने स्वास्नीको सम्बन्ध बिच्छेद हुने ठहर्छ भन्ने समेत मिति २०३८।१२।५ को लुम्बिनी अञ्चल अदालतको फैसला ।
७. वादी र बच्चाको बीचमा बाबु छोरीको नाता भन्न सकिदैन भन्ने जस्ता विषयमा निर्णय गरी त्यसको आधारमा सम्बन्ध बिच्छेदतर्फ समेत निर्णय गर्ने अधिकार अञ्चल अदालतलाई छैन । नाता टुटिसकेको अर्थबाट सम्बन्ध बिच्छेद हुने भन्ने ठहर गर्ने विषयको पुनरावेदन सुन्ने अधिकार क्षेत्रीय अदालतको हो । न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख), १३(३)(क) र अ.बं. ३५ नं. को प्रत्यक्ष त्रुटि हुँदा समेत पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.चन्द्रकुमारीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनपत्र ।
८. यस्मा सम्बन्ध बिच्छेद गरिपाउँ भनी विपक्षले शुरुमा दावी लिएकोमा, सम्बन्ध बिच्छेद नहुने ठहर्याएको फैसला नाता सम्बन्धी देखिन्छ । उक्त फैसला उपरको पुनरावेदन हेरी किनारा गर्न पाउने व्यवस्था न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(ख) ले क्षेत्रीय अदालतको हुँदा अञ्चल अदालतको अधिकार क्षेत्रात्मक त्रुटि गरी भएको फैसला उपर न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(३)(क) अन्तर्गत पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।१२।२२ को आदेश ।
९. यस्मा सम्बन्ध बिच्छेद मुद्दा नाता सम्बन्धी मुद्दा हुँदा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(ख) ले सो सम्बन्धमा शुरुको फैसला उपर पुनरावेदन सुन्ने अधिकार क्षेत्रीय अदालतलाई प्रदान गरेको देखिन्छ । यस्तो विषयको पुनरावेदन हेरी किनारा गर्न अञ्चल अदालतलाई कानुनले अधिकार क्षेत्र दिएको नदेखिँदा अधिकार क्षेत्र ग्रहण गरी गरेको फैसला उक्त ऐन तथा अ.बं. ३५ नं. ले कायम रहन नसक्ने हुँदा बदर हुन्छ । लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनलाई नै यस अदालतमा दर्ता गरी चन्द्रकुमारीको तारेख टुटाई नियम बमोजिम पेश गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको मिति २०४२।२।२ को फैसला ।
१०. यस्मा पुनरावेदकले सन्तान निरोधको अप्रेशन गरेको र निजको विर्यबाट सन्तान पैदा हुन नसक्ने भन्ने पाल्पा हेल्थ सेन्टरको लेखाइबाट देखिन आएपछि शुरु पाल्पा जिल्ला अदालतको फैसला फरक पर्ने भएबाट अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।४।२१ को आदेश ।
११. प्रस्तुत मुद्दा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१) को खण्ड (ख) बमोजिम नाता सम्बन्ध कायम गराई माग्ने विषयको नभएको हुँदा सो अवस्था परेको भनी शुरु अदालतको फैसला उपर सिधै क्षेत्रीय अदालतमा पुनरावेदन लाग्न सक्ने भन्न मिलेन । यस्तो अवस्थामा यस अदालतको पुनरावेदन सुन्ने अधिकार क्षेत्रभित्र नपरी लुम्बिनी अञ्चल अदालतकै क्षेत्राधिकार भित्रको देखियो । यस अदालतको मिति २०४२।२।२ को फैसलाबाट यस अदालतको पुनरावेदन सुन्ने क्षेत्राधिकार भित्र पर्ने भन्ने निर्णय यसै अदालतबाट २०४३।१०।२२ मा नि.नं. ४२१ को मुद्दामा अञ्चल अदालतको क्षेत्राधिकारको भनी निर्णय गरी आएको प्रचलनसंग भिड्न नआएकोले यस अदालतको २०४२।२।२ को फैसलासँग सहमत हुन सकिएन तसर्थ न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १४ को उपदफा (५) बमोजिम रुजु पक्षलाई तारेख तोकी प्रस्तुत मिसिल साधक सदरको लागि श्री सर्वोच्च अदालतमा पठाई दिनु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१०।५ को फैसला अनुसार यस अदालतको फौ. साधक लगतमा दर्ता हुन आएको रहेछ ।
१२. नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दामा वादी प्रभाखर अधिकारीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले बालिका कस्को विर्यबाट जन्मेकी हो भन्ने कुराको प्रस्तुत मुद्दामा निर्णय हुनुपर्ने हो, नाता सम्बन्धी निर्णय हुनुपर्ने होइन । क्षेत्रीय अदालतबाट २०४२।२।२ मा अञ्चल अदालतमा परेको पुनरावेदनलाई नै पश्चिमाञ्चल क्षेत्रीय अदालतमा दर्ता गर्ने गरी भएको फैसला उपर पुनरावेदन नगरेको हकमा एउटा इजलासले अर्को इजलाससँग फरक राय दिन सक्दछ । जन्मेको बालक वादीको हो, होइन भन्ने कुरा त सम्बन्ध बिच्छेदको निर्णय भएपछि मात्र ठहर हुने भएकाले नाता सम्बन्ध कायम गर्नु पर्ने भनी न्या. प्र.सु. ऐनको व्यवस्था बमोजिम जिल्ला अदालतको फैसला उपर सिधा क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
१३. प्रतिवादी चन्द्रकुमारीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले २०४२।२।२ मा क्षेत्रीय अदालतबाट फैसला हुँदा लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन हेर्नु पर्ने हुँदा लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन अब क्षेत्रीय अदालतले हेर्ने भयो । सो उपर वादीको कतै उजूर नभएकोले सो अन्तिम फैसलाले पुनरावेदन अब क्षेत्रीय अदालतले हेर्नु पर्ने हो । तसर्थ क्षेत्रीय अदालतले फैसला गर्दा अञ्चल अदालतले हेर्न मिल्छ भन्नु मिल्ने कुरा होइन । अघि नै अन्तिम भएकोमा हाल आएर सो को विपरीत निर्णय गर्न मिल्दैन । दावी लोग्ने स्वास्नीको २ नं. अन्तर्गतको हुँदा अर्कासँग करणी गराएको पहिलो प्रमाणित हुनुपर्ने हो । भ्यासेक्टोमी गराए पछि पनि अर्को श्रीमती तर्फबाट छोरी जन्मिएकी छ । तसर्थ यसै मुद्दाबाट छोरी हो होइन निर्णय दिनुपर्छ भन्ने समेत प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
१४. यस्मा निर्णयतर्फ विचार गर्दा, विपक्षी चन्द्रकुमारीबाट जन्मिएकी छोरी मेरो करणी विर्यको नहुँदा अर्कोसित करणी गराई छोरी जन्माउने स्वास्नी मानिससँग लोग्ने स्वास्नीको सम्बन्ध कायम राखी बस्न मलाई कर नभएकोले लोग्ने स्वास्नीको महलको २ नं. बमोजिम सम्बन्ध बिच्छेद गरिपाउँ भन्ने वादीको दावी भएकोमा यिनै पति वादीको करणीको विर्यबाट छोरी जन्मेकी हो, न्वारान गराउन अस्वीकार गर्नुभएको छैन । न्वारानमा छोरीको नाउँ मीनकुमारी अधिकारी रहेकोले लोग्नेकै सतित्वमा छु । उजूर खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी परेको देखिन्छ ।
१५. यीनै वादी प्रतिवादी भएको अंश मुद्दा पनि शुरु जिल्ला अदालतमा परी उस्मा पनि हाल विवादमा उठेकी छोरीको नाता कायम गराउनेतर्फ कारवाही चली सो मुद्दा मिति २०३७।११।४।१ मा मुल्तवी रहेको देखिन्छ । अंश मुद्दामा नाता कायम तर्फ कारवाही चलिसकेको र नातातर्फ समेत अंश मुद्दामा निर्णय दिनु पर्ने अवस्थाको श्रृजना भएबाट यो सम्बन्ध बिच्छेद मुद्दा र उक्त अंश मुद्दा एकै लगाउको देखिँदा अंश मुद्दा र यो लगाउको सम्बन्ध बिच्छेद मुद्दा समेत साथै निर्णय गर्नु पर्नेमा अंश मुद्दा मुल्तवी राखी यो सम्बन्ध बिच्छेद मुद्दामा निर्णय गरेको मिलेको देखिएन ।
१६. प्रस्तुत सम्बन्ध बिच्छेद मुद्दामा परेको वादीको दावी र प्रतिवादीको भनाईबाट समेत प्रतिवादीबाट जन्मेकी छोरी वादीको हो होइन सो निर्णय बिन्दुमा पुुगेपछि मात्र सम्बन्ध बिच्छेदमा निर्णय हुने हुँदा नाताको विवादको हकमा दुवै अंश र सम्बन्ध बिच्छेदमा निर्णय नगरी एउटै अंश मुद्दाबाट निर्णय गरे हुन्छ । तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(क) बमोजिम यस्तो मुद्दामा भएको जिल्ला अदालतको फैसला उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने नभई क्षेत्रीय अदालतमा नै पुनरावेदन लाग्ने देखिन्छ । क्षेत्रीय अदालतबाट यो मुद्दा क्षेत्रीय अदालतको अधिकार क्षेत्रभित्रको होइन भनी साधकको लागि सर्वोच्च अदालतमा पठाउने गरेको निर्णय मिलेन । लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनलाई नै कायम गरी क्षेत्रीय अदालतमा कानुन बमोजिम दर्ता गरी नियम बमोजिम पेश गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४२।२।२।४ को निर्णय मनासिब ठहर्छ । अंश मुद्दामा नातातर्फ बयान गराइसकेकोले अंश मुद्दा निर्णय भएपछि यो मुद्दाको निर्णय गर्नु भनी पक्ष विपक्षलाई तारेख तोकी मिसिल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । रेकर्ड मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हिरण्येश्वरमान प्रधान
इति सम्वत् २०४६ साल श्रावण ९ गते रोज २ शुभम् ।