निर्णय नं. ३८३५ - बाली लुटपिट

निर्णय नं. ३८३५ ने.का.प. २०४६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
सम्वत् २०४४ सालको फौ.पु.नं. ५६९
फैसला भएको मिति : २०४६।३।११।१ मा
पुनरावेदक/प्रतिवादी : ताप्लेजुङ जिल्ला पैदाउ गा.पं. वा.नं. ९ बस्ने पूर्णप्रकाश लिम्बू
विरुद्ध
प्रत्यर्थी/वादी : ऐ.जि. तेल्लोक गा.पं.वा.नं. ३ बस्ने मनमाया अधिकारी
मुद्दा : बाली लुटपिट
§ आ–आफ्नो राजीनामा बकसपत्रको आधारमा विवादित जग्गामा आ–आफ्नो हक स्वामित्व देखाई दुवै पक्ष आएको देखिँदा लुटपिटको परिभाषा भित्र नपर्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
प्रत्यर्थी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय
फैसला
न्या. पृथ्वीबहादुर सिंह : पू.क्षे.अ.को आदेश उपर अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. ५० साल जाँचमा सु.आसाहाङ लिम्बू जिम्मा राजमान लिम्बू मिन्हा तिरो रु. २।– मा दर्ता भएको जग्गा मध्ये आसधोज लिम्बूका किपट जरुवा ढुंगा फधार ठूला ढुंगा समेत देखि पश्चिम लछीध्वजका किपट खेत देखि पूर्व ठाडो बाटो देखि दक्षिण आसधोजकै साँध देखि उत्तर यति ४ किल्ला भित्र तिरो रु. ।२५ लाग्ने खाम्बुलङ भन्ने किपट खेत १ जसबहादुर लिम्बुको साँध ठूलो डिलदेखि पूर्व आसधोज लिम्बुका रैकर खेत खले गराका भित्ता वारपार देखि पश्चिम नरबहादुर लिम्बुका किपट खेत देखि उत्तर, जसबहादुर लिम्बूका किपट खेत देखि उत्तर, जसबहादुर लिम्बुका साँधदेखि दक्षिण यति ४ किल्ला भित्रको तिरो रु. ।२५ लाग्ने जगेडा किपट खेत १ नरबहादुर लिम्बुका किपट खेत देखि पूर्व आसहाङका किपट खेत खले गरा भित्ता देखि पश्चिम नरबहादुर लिम्बुका खेत आँठा साँध देखि उत्तर आसध्वजका साँध आठा थुम्का देखि दक्षिण यति ४ किल्लाभित्र तिरो रु. ।२५ लाग्ने सिरुपानी किपट खेत १ जसबहादुरका किपट खेत देखि दक्षिण नरबहादुरका किपट साँधदेखि उत्तर ठाडो खोल्सा पूर्वका हुले खेत आसाहाङका खेत साँधदेखि पश्चिम यति ४ किल्लाभित्र तिरो रु. १२।– लाग्ने कूत सिं भन्ने किपट खेत १ समेत ४ थला जग्गामा हक हुने दर्तावालाको नाती तिर्नबहादुर ददिहाङले यिनै प्रतिवादीको बाजे आसमानलाई भा.रु. १२००। मा ०१३।२।१४ मा बन्धकी पास गरी त्यसपछि आसध्वजबाट रु. ११००।– लिई बड लिखत गरी दिएका ददिहाङले पास गरी नदिएका आसध्वजको यस अदालतमा उजूर परी फैसला बमोजिम १७–११–१५ मा पास भई यि प्र. को बाजे आसध्वजले भोग गरी आएको यस समय निज साहु आसध्वजको थैली बुझाई उता ददिहाङ विदेश गई बेपत्ता हुँदा ददिहाङको छोरा हर्कबहादुर उनै तिर्नबहादुरले म फिरादीका पति धर्मानन्दबाट ८४४१।– लि ०२८।११।२३ मा बन्धकी लिखत गरी ऐ. २४ गते पास गरी जग्गा धनी हर्कबहादुर तिर्नबहादुरको उक्त ४ थला जग्गा बण्डा हुँदा उक्त जग्गा मध्ये खोलुङ किपट तिर्नबहादुरको बण्डा र अरु ३ थला जग्गा हर्कबहादुरको बण्डा भई जग्गा धनी हर्कबहादुरले उनै पतिदेव धर्मानन्दबाट जम्मा रु. ८०००।– मा तिर्नबहादुरको भाग खोलुङ बाहेक उक्त ४ किल्लाभित्रको जगेडा समेत ३ थला जग्गा ०३०।११।३ मा राजीनामा पास गरी उक्त ३ कित्ता जग्गा भूस्वामित्व हक पति धर्मानन्दको हकमा सरेको थियो भने उता तिर्नबहादुरको भागको खेलुल भन्ने किपट खेततर्फ बन्धकी थैली कायम रही बन्धकीबाटै भोगी आएको थियो पति धर्मानन्द ज्यान मुद्दामा अभियोग लागी ०३८ साल देखि कारागार ताप्लेजुङमा थुनामा परी बस्नु भएको र घरको मुख्य म फिरादी भई माथि प्रकरण ६ मा ४ थला जग्गाको धान बाली मैले लगाई पाकी तयार भएको धान बाली ०४०।७।१९ गते विहान ९ बजे यि प्रतिवादीले कहाँ कुन ठाउँ बस्ने ७०।८० जना खेताला ल्याई धान मास पराल समेत लुटपिट गरी लगे बिगो रु. ९५००।– भराई लुटपीटको ४ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४०।८।४ को फिराद ।
३. फिरादीका लोग्ने धर्मानन्द समेत उपर बास जालसाज मुद्दामा उजूर गरेको मिसिलबाट सबै कुरा अवगत हुने हुँदा यस्मा दोहोरो लेखी रहन परेन । ५० साल जाँचमा म प्रतिवादीको जिजुबाजे र ध्वज निजै जिम्मा निजका नाममा तिरो रु. ३।– मा दर्ता भएको जग्गा मध्ये खोपी बारी भनेको कृत सिं भन्ने खेत समेत ४ कित्ता जग्गा दर्तावालाको छोरा आसध्वजले तिर्नबहादुरलाई १३ सालमा अंशबण्डा दिई तिर्नबहादुरलाई झुक्याई हर्कबहादुर समेतलाई ऋणी पारी २०२८।११।२४ मा रु. ८४४०।– मा भो.ब. पास गरी लिई त्यसतर्फ हर्कबहादुरको बाबु प्रदिहाङ जीवित छँदै जालसाजबाट रु. ८०००।– मा २०३०।११।३ गते राजीनामा पास गरेछन् । सो कुरा थाहा हुनसकेन । उक्त लेखिएको ४ कित्ता जग्गा मनीबहादुरले २०२९।११।२२ मा छिन्तिपत्र पास गरी दिनुभएको हुँदा तिर्नबहादुरले खाएको बन्धकी थैली तिरी खान पाउने भएकोले सो बन्धकी थैली बुझी दिनु हवस भन्दा बन्धकी थैली बुझी देउ भनी भनेको रिसइवीबाट झुठ्ठा उजूर गरेको मात्र हो । विवादको जग्गामा फिरादीका लोग्ने धर्मानन्दको बन्धकी थैली बमोजिम आफैं धान लगाई खाँदैछ । सो विवादित समयमा म घरगाउँमा पनि छैन । झुठ्ठा उजूर गरेमा वादीलाई नै सजायँ होस भन्ने समेत प्रतिवादी ।
४. जग्गाको हक बेहक तर्फ बयान गराई पेश गर्नु भन्ने मिति ०४०।७।१२ को ता.जि. अ.को आदेश ।
५. वादी दावीका ४ थला जग्गा मेरा वादी दावी बमोजिम राजीनामा बन्धकी लिएको हो । मेरा वादी दावीका जग्गाको धान बाली प्रतिवादीले लुटी खाएको हुँदा मेरा वादी दावी बमोजिम राजीनामाको ४ किल्ला भित्रको जग्गा राजीनामा बमोजिम बन्धकी तर्फ बन्धकी थैली नआएसम्म भोगी खान मेरै सदर थामी पाउँ प्रतिवादीले पेश गरेको बकसपत्र जालसाजी हुँदा अ.बं. ७८ नं. बमोजिम कारवाही हुने नै छ भन्ने समेत व्यहोराको मिति २०४१।७।१५ को वादीको वा. नरहरी दाहालले गरेको बयान ।
६. वादीले दावी लिएको जग्गा मध्ये खाम्लुम्बो जग्गा बाहेक अरु मेरा प्रतिउत्तरमा जिकिर लिए बमोजिम ०३९।११।२२ मा बकसपत्र गरिलिएको छ । विवादास्पद जग्गाको बाली लुटी लगेको होइन । यो जग्गामा वादी आफैंले कमाई गरेको छ । वादीको दावी बमोजिम बकसपत्र जालसाजी पनि होइन भन्ने समेत प्र.वा. डिल्लीरामले मिति २०४१।७।१५ गतेमा गरेको बयान ।
७. यस्मा वादी दावी अनुसारको रु. ६५००।– बराबरको बालीको बिगो प्रतिवादीले लुटपिट गरेको ठहर्छ भन्ने ता.जि. अ. को मिति २०४१।८।५।३ को फैसला ।
८. शुरुको इन्साफमा चित्त बुझेन, फैसला बमोजिम उल्टाई बदर गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदनपत्र ।
९. यस्मा आफ्ना हकमा लाग्ने जग्गा अघि २०२८।११।२४ मा भोगबन्धकी दिई राखेको र पछि २०३०।११।३ मा राजीनामा दिएको भए त्यसरी हक हुने यिनै पुनरावेदकको दाता मानबहादुरले मौकामा उजूर गरी बदर वातेल गराएको हुनुपर्ने त्यस्तो केही नगरी अगावै भोगबन्धकी राजीनामाले हक गराई भोगी आएको जग्गालाई हक नपुग्ने व्यक्तिबाट बकसपत्र गराएकोबाट पुनरावेदकको वादी दावीको जग्गा उपर हक पुग्ने प्रमाण गुज्रन आएको नहुँदा शुरुले ३ कित्ता राजीनामाबाट १ कित्ता बन्धकीबाट वादीको हक कायम समेत हुने गरी गरेको इन्साफ एवं लुटपिट ठहर गरेको इन्साफ पनि मनासिब ठहर्छ भन्ने समेत मे.अं.अ.को ०४३।३।२४ को फैसला ।
१०. मेची अञ्चल अदालतको फैसलामा चित्त बुझेन । पुनरावेदनको अनुमति पाउँ भनी पू.क्षे.अ. मा वादीको निवेदन पर्न आएकोमा उक्त मेची अं.अ. को फैसला उल्टीने त्रुटि नहुँदा पुनरावेदनको अनुमति पाउनु पर्छ भन्ने निवेदन जिकिर पुग्न सक्तैन भन्ने समेत पू.क्षे.अ. को मिति २०४३।९।२९ को आदेश ।
११. पू.क्षे.अ. को अनुमति नदिने गरी मिति २०४३।९।२९ मा भएको आदेश त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा निवेदन पर्न आएकोमा यसै लगाउको नि.नं. ८१५ मा आज यस इजलासबाट पुनरावेदनको अनुमति प्रदान गरिएको हुँदा प्रस्तुत निवेदनमा पनि पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालतको मिति २०४४।१०।२७ को आदेश ।
१२. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दाको मिसिल प्रमाण अध्ययन गरी पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापा तथा प्रत्यर्थी प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१३. निर्णयतर्फ विचार गर्दा जुन जग्गाको बाली लुटपिट गरेको भनेको हो सो विवादित जग्गा हर्कबहादुर र तिर्नबहादुरबाट बन्धकीमा लिई पछि हर्कबहादुरको बण्डा पर्न आई निज हर्कबहादुरबाट मिति २०३०।११।३ मा राजीनामा पास गराई लिएको भन्ने वादी मानबहादुरको स्वामित्वको भई निजबाट मिति २०२९।१०।२१ मा बकसपत्र लिएकोबाट मेरो हकको जग्गा हो भन्ने प्रतिवादी भई आ–आफ्नो राजीनामा बकसपत्रको आधारमा विवादित जग्गामा आ–आफ्नो हक स्वामित्व देखाई दुवै पक्ष आएको देखिन्छ । यस्तोमा लुटपिटको परिभाषा भित्र पर्ने नदेखिँदा वादी दावी पुग्न सक्तैन । लुटपिट ठहर गरेको शुरुको इन्साफ सदर गर्ने गरेको मेची अं.अ. को फैसला उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
प्रतिवादी पूर्णप्रकास लिम्बू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीले लुटपिट गरेको ठहर गरेको शुरु ता.जि. अ. को इन्साफ सदर गरेको मे.अं.अ. को इन्साफ उल्टी भई लुटपिट नठहर्ने निर्णय भएकोले शुरु ता.जि. अ. तथा मेची अं.अ. ले राख्ने गरेको लगत राख्न परेन । कट्टा गर्नु भनी शुरु ता.जि. अ. मा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु । ऐ.ऐ. निजलाई शुरु ता.जि. अ. ले गरेको जरिवाना रु. १३००।– वादीले भरी पाउने ठहर्याएको कोर्टफी रु. ५०६।३४ धरौट दाखिल गरी मेची अं.अ. मा पुनरावेदन दर्ता गरेको देखिँदा उपरोक्त रकमहरु फिर्ता पाउँ भनी ऐनका म्यादभित्र निवेदन दिए फिर्ता दिनु भनी शुरु ता.जि. अ. मा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु । ऐ. के निजले मे.अं.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. ७५।९५ वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र निवेदन दिए वादीबाट उक्त रकम भराई दिनु भनी ऐ.ऐ. । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्दसिंह प्रधान
इति सम्वत् २०४६ साल आषाढ ११ गते रोज १ शुभम् ।