निर्णय नं. ३८३६ - रकम दिलाई भराई पाउँ

निर्णय नं. ३८३६ ने.का.प. २०४६ अङ्क ५
संयुक्त इजालस
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
सम्वत् २०४५ सालको दे.पु.नं. ७११
फैसला भएको मिति : २०४६।२।२९।१ मा
पुनरावेदक/प्रतिवादी : मेमर्श ज्योतिज क्लियरिङ एजेन्सी तथा आफ्नो हकमासमेत ऐ.ऐ.को प्रो.अमृतज्योति कंशाकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : दुग्ध विकास संस्थानका कार्यकारी अध्यक्ष पर्लजंग राणा
तथा
सम्वत् २०४५ सालको दे.पु.नं. ७७७
पुनरावेदक/वादी : दुग्ध विकास संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक दुर्गादत्त जोशी
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ज्योती क्लियरिङ एण्ड फर्वाडिङ एजेन्सीसमेत
मुद्दा : रकम दिलाई भराई पाउँ
§ संस्थानको सञ्चालक समितिको निर्णयानुसार कानुनी कारवाहीका निमित्त संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद परेको देखिँदा नालेश गर्ने हकदैया नभएको भन्न नमिल्ने ।
(प्रकरण नं. २०)
§ वादीले हिसाब मिलानको लागि लेखेको पत्रमा प्रतिवादीले नै २ महिनाको म्याद मागी सो म्यादमा उपस्थित भई हिसाब मिलान गरेको नदेखिँदा सो म्याद पुगेको मितिलाई मुद्दा गर्नु पर्ने कारण मानी म्याद भित्रै फिराद जिल्ला अदालतमा दायर भएकोमा अञ्चल अदालत पठाउन सकिने अवस्थाको हदम्याद रहेबाट तत्काल सरुवा नगरी अदालतको गल्तीबाट पछि सरुवा गर्दैमा कानुनी क्षेत्र ग्रहण गरी निर्णय गर्न नपाउने भन्न नमिल्ने ।
(प्रकरण नं. २०)
पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
फैसला
न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. क्लियरिङ एण्ड फर्वाडिङ कार्यका सिलसिलामा विपक्षीले संस्थानबाट पटक पटक गरी जम्मा रु. ६,२८,९१४।३० पेश्की स्वरुप बुझी लिएकोमा विपक्षीले उक्त कार्य गरे बापतको बिलमा विभिन्न मितिमा जम्मा रु. ७,७३,८९७।६१ को बील पेश गर्नुभएकोमा करारको शर्त विपरीत सि.आई.एफ. मूल्यको रु. २।– को अलावा अन्य खर्च भनी समावेश गरी बील पेश गर्नुभएको रहेछ । करार अनुसार सि.आई.एफ. मूल्य रु. २।– का हिसाबले हुन आएको रकम रु. ५,२६,२१३।०१ मात्र दिनुपर्ने हो । विपक्षीहरुले पेश्कीको रुपमा रु. ६,२८,९१४।३२ बुझी सकेको हुँदा १, ०२,७०१।३१ बाट पेश्की गएको हुँदा संस्थानलाई फिर्ता बुझाउनु पर्ने निर्विवाद छ । संस्थानका नाममा आएका सामान नपुग भएको र नोक्सानी भएको समेत बीमा दावी गरी असूल उपर गर्नुपर्ने रकम कलम विभिन्न मुद्रा अमेरिकी डलर २५,३०९।८५ र नेपाली रुपैयाँ ३५,७५४।७८ छ । सम्बन्धित बीमा कम्पनी र सिपिङ एजेन्ट दावी गरी असूल उपर गर्ने काम समेत विपक्षीहरुलाई सुम्पिएको र यसरी दावी गरी असूल भएको रकम जुन विदेशी मुद्रा हो सोही मुद्रा विपक्षीहरुले दावी गर्नु पर्दछ । यसरी दाखिल गर्नुपर्ने विदेशी मुद्राको ने.रा. बैंकबाट २०४०।११।१७ मा तोकिएको विनिमय दर अमेरिकी डलर १ को ने.रु. १५।६५ र भारतीय रुपैयाँ रु. १०० को ने.रु. १४५ का दरले क्रमश अमेरिकी डलर २५,३०९।८५ को ने.रु. ३,९६,०९९।१५ र भा.रु. १३,७०२।१६ को ने.रु. १,९८,६८८।१३ र ने.रु. ३५,७५४।७८ गरी जममा ने.रु.४,५१,७२१।०६ हुन आउँछ । जुन विपक्षीहरुले यस संस्थानलाई बुझाएको छैन । यसरी पेश्की बढीको रु. १,०२,७०१।३१ र बीमा नोक्सानी दावी विदेशी मुद्राको २०४०।११।७ को विनिमय दरले हुन आएको रु. ४,५१,७२२।०६ गरी जम्मा रु. ५,५४,४२३।३७ विपक्षीसंग लिन बाँकी छ दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको २०४०।११।२६।६ को फिराद दावी ।
३. संस्थान वादी प्रतिवादी भएको मुद्दा मामिलाको कारवाही किनारा गर्ने अधिकार संस्थानको मुल कार्यालय रहेको इलाकाको सम्बन्धित अञ्चल अदालतमा अधिकार क्षेत्र पर्ने भनी का.जि. अदालतको आदेशले यो मुद्दा बागमती अञ्चल अदालतबाट शुरु कारवाही किनारा हुने भनी सरुवा भएको रहेछ ।
४. पेश्की लिएको बढी लिएको रकम फिर्ता पाउँ भन्ने र बुझाउनु पर्ने रकम नबुझाएको भन्ने अलग अलग प्रकृति र विषय एउटै फिरादपत्रमा अ.बं. ७२ नं. ले लाग्न नसक्ने खारेज गरिपाउँ पेश्की कुन मितिमा लिएको कुन मितिमा नपुग र नोक्सानी भएको यो मितिमा नालेस गर्नु पर्ने कारण परेको उल्लेख गर्न नसकेकोले खारेज हुनुपर्दछ । सामान नपुगेको र नोक्सानी भएको बीमा दावी गरी असूल उपर गर्नु पर्ने विषयमा पनि यो मितिमा दावी गर्नु पर्ने भनी मिति खोल्न किट्न नसकेको हुँदा समेत हदम्याद भित्र नभएको स्पष्ट हुन आउँछ । शुरु दायर बागमती अञ्चल अदालतमा नभएकोले अधिकार क्षेत्रकै दोषपूर्ण फिराद खारेजभागी छ । सञ्चालक समितिबाट भएको निर्णय प्रतिकूल वास्तविक तथ्य कुराहरुलाई विपक्षीले लुकाई प्रस्तुत गरिएको फिराद खारेज गरिपाउँ । बीमा दावी भएको काम कारवाही भएको समेतको विदेशी मुद्राको विनिमय दर ११।९० पैसा रहेको र हालको विनिमय दरले हिसाब गर्न मिल्ने होइन । पेश्की स्वरुप रु. ६,२८,९१४।३२ भनी उल्लेख भएको हकमा उक्त रकमहरु कुन कुन मितिमा को कसको मार्फत दिएको हो सो स्पष्ट खुलाउन सक्नुभएको छैन । यस एजेन्सीले विपक्षी समक्ष संलग्न विवरण बमोजिमको रु. १४,३२,१२७।१९ को बील भरपाई विभिन्न मितिमा पेश गरिएकोमा सोको विरुद्ध संस्थानले रु. ७,७३,८९६।६१ पैसा बील भर्पाईहरु प्राप्त हुन आएको उल्लेख गरी रु. ५,२६,२१३।०१ को भुक्तानी दिएको अनुसूची (ङ) मा देखाइएको छ । यसै गरी विपक्षीले सामान डेलिभरी भए बापत रु. ४,०१,६२८।९४ को दावी गरेकोमा सो बापत सम्बन्धित संस्थानसँग बीमा दावी गरी यस एजेन्सीले रु. २,८४,३४७।३४ को रकम उपलब्ध गराएको र सो बापत पाउनु पर्ने कमिशन रकम विपक्षीले उक्त विवरणमा देखाएको छैन । यसरी संस्थानले धरौटी बापत रु. २५,०००।– र एजेन्सीले संस्थानबाट लिनु पर्ने पुरानो हिसाबको रु. १०,०००।– समेत गरी जम्मा रु. १४,३२,१२७।१९ पैसाको विभिन्न बील भर्पाईहरु पेश गरेका छौं र आजसम्म विपक्षीबाट यस एजेन्सीले पटक पटक गरी रु. १०,७९,४७४।५० मात्र प्राप्त गरेको सो रकम कटाई हुन आउने बाँकी रु.४,१७,७७३।७६ पैसा यस एजेन्सीले नै संस्थानबाट लिनुपर्ने देखिएको छ । तसर्थ हाम्रो बीलमा कटाउन नहुने रकम कटाएको न्यायोचित नभएको बीमा दावी बापत देखाएको रु. ४,०१,५२८।९४ पैसा भा.रु. १,१७,६९३।१८ बीमा कम्पनीबाट नै असूल उपर नभएकोले हामीबाट तिराउन नमिल्ने भएको र बाध्यात्मक रुपमा कार्य गर्न भएका आवश्यक खर्चहरु कटाएको नमिलेको हुनाले संलग्न विवरणहरुमा उल्लेख भए बमोजिमको हरहिसाब समेत मिलान गरी गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।
५. वादीबाट सक्कल लिखत दाखिल गराई अ.बं. ७८ नं. बमोजिम प्रतिवादीको कागज गराउने भन्ने भएको आदेशानुसार बयान गराउँदा गो.भौ.नं. ३५४ मिति २०३५।१२।१४ को भौचरको रकमको रु. ६५,६८६।२७ मात्र लिएको हो बाँकी रु.१६,४३४।४४ लिएको होइन । सो रकम भौचरमा किन लेखे खुलाउन सक्तिन र दुग्ध विकास संस्थानको २०३५।८।२९ को गो.भौ.नं. २२८ को भौचरमा उल्लेख भएको रकम नेपाल क्यारियर्सका नाउँमा पेश्की भनी देखाएको रकम रु. ३५,०००। हामीले बुझी लिएको होइन । त्यस्मा हाम्रो सही पनि छैन । त्यसकारण यस्मा नामाकरण गरिरहनु परेन । दुग्ध विकास संस्थानको च.नं. ६६९ मिति २०३५।४।३० को ड्राफ्ट बनाई दिने बारेको रु. १६,०००।– हामीसंग सम्बन्धित नहुँदा सद्दे कीर्ते भनी रहनु परेन । अरु हामीले पनि मानेकै हो भन्ने समेत प्र.वा.प्रेमविलास बज्राचार्यको बयान कागज ।
६. प्र.ले रु. १६,४३४।४४ रकम भुक्तानी नलिएको भन्ने सन्दर्भमा उक्त रकम निजले यस संस्थानबाट पेश्की लिएको रकम रु. २६,२५०।– मध्ये कट्टी गरी हिसाब फछ्र्यौट गरेको रु. ३५,०००।– निजले नबुझेको भनेको रु. नेपाल क्यारियर्सले बुझी लगेको हुनाले वहाँहरुसंग लिनु पर्ने देखाएको त्यस्तै रु. १६,०००।– पनि नेपाल क्यारियर्सले बुझी लगेकोले प्रमाणको लागि नेपाल क्यारियर्स बुझी पाउँ भन्ने समेतको वादी वा. समुन्द्रकर शाक्यको बयान ।
७. उक्त बयान बमोजिम रु.३५,०००।– मिति २०३५।८।३१ का भौचर साथ मिति २०३५।८।३० मा जगन्नाथ अर्यालले उक्त रकम बुझ्दा बेबी फुडको भन्सार महसूल तिर्न भन्ने व्यहोरा जनाई बुझी लिएको रकम हुँदा हाम्रो पे. बाँकी छैन । कारण भन्सार तिरेपछि बील समेत जनाई दुग्ध विकास संस्थानमा पठाइसकेको हुँदा बाँकी छैन । दुग्ध विकास संस्थानबाट मिति २०३७।४।३० को रु.१६,०००।– को कागज हामीसँग सम्बन्धित नहुँदा सद्दे कीर्ते भनी भन्न सक्तैन भन्ने समेत व्यहोराको नेपाल क्यारियर्स प्रा.लि. इन्द्रचोकको मैनेजर पि.एल. शर्माले गरेको बयान कागज ।
८. रु. ३५,०००।– नेपाल क्यारियर्सका अफिस सहायक जगन्नाथ अर्यालले बुझेकोमा सहमति नै भएकोले सो रकम ज्योतिज क्लियरिङसँग लिनु पर्ने स्पष्ट हुन आउँछ रु. १६,०००।– को सम्बन्धमा ज्योतिज क्लियरिङ एण्ड फरवार्डिङ ऐजन्सीको कर्मचारी श्री सिद्धिलाल श्रेष्ठले बुझी लगेका हुँदा सो को सबूद निम्न पेश गरेको छु । प्रमाण लगाई पाउँ भन्ने समेत व्यहोराको वा.समुन्द्रकर शाक्यको बयान कागज ।
९. रु. १६,०००।– को हाम्रा पुराना कर्मचारी वीरगन्ज शाखाका सिद्धीलाल श्रेष्ठले बुझेका देखिँदा सद्दे हो भन्ने ज्योतिज क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सी वा.प्रेमविलासले गरेको बयान कागज ।
१०. रु.१,६३,५०९।६० का हकमा बयान गरेको नदेखिएकोले सो सम्बन्धमा सुनाई पेश गर्नु भन्ने २०४२।४।२३।४ का आदेशानुसार वादी वा. समुन्द्रकरले केही कागजहरु सद्दे नै हुन् भनेका र केही कागज (रसीद) बीलहरुका हकमा प्रस्तुत मुद्दासँग सम्बन्धित नहुँदा सद्दे कीर्ते जालसाजी भनिरहन परेन भनी २०४२।७।२० मा बयान गरेको कागज ।
११. उक्त हामीले पेश गरेका बीलहरु प्रस्तुत मुद्दासँग सम्बन्धित हुन् भनी प्र.वा.प्रेमविलास बज्राचार्यले २०४२।८।९ मा गरेको बयान कागज ।
१२ रु.१६,०००।– का हकमा प्रतिवादी वा.पे्रमविलास बज्राचार्यले २०४२।४।२३ को बयानमा लिएको भनी स्वीकार गरिसकेको रु. ३५,०००।– का हकमा मैले पहिले नै बयान गरिसकेको रु. १,६३,५०९।६० का हकमा हामीले लिएको पनि छैन । लिएको भए प्रमाण हेरिपाउँ भन्ने समेत बुझिएका नेपाल क्यारियर्श प्रा.लि. इन्द्रचोकका मैनेजर पी.एल. शर्माले गरेको बयान कागज ।
१३. कारोवारको सिलसिलामा हामीले नै पाउनु पर्ने अंक भनी प्रतिउत्तर जिकिर लिएको तर्फ प्रतिवादीले पाउनु पर्ने भए वादीसँग हिसाव गरी वा नालेश गरिलिनु पर्नेमा सो गरेको देखिंदैन । यस्तो अवस्थामा ढुवानी खर्च र भन्सार महसूल समेत वादीले दावी गर्न पाउने होइन भन्ने प्रतिउत्तर जिकिर पुग्न सक्ने देखिएन । वादीबाट पेश गरिएको अंश र हिसाबमा प्रतिवादीको विरोध नभएकोले वादी दावी अनुसार क्लियरिङ र फरवार्डिङ काम बापत प्रतिवादीले बढी पेश्की लिएको रु. १,०२,७०१।०१ वादीले प्रतेवादीबाट भरी पाउने ठहर्छ, अब बीमा सिपीङ इत्यादी दावीको रकम विदेशी मुद्रा समेतको गरी रु.४,५१,७२२।०६ पनि भरिपाउनु पर्छ भन्ने वादी दावीको हकमा त्यस्तो काम गर्न कुनै किसिमको करार नभएको र करार सम्बन्धी कागजातमा यस्तो कुरा उल्लेख नभएकोले करार सम्बन्धी ऐन अन्तर्गत कारवाही भएको प्रस्तुत मुद्दाबाट त्यस्तो दावीको रकम पनि भराई पाउँ भन्ने वादीको वादीमा कारवाही नै हुन नसक्ने देखिन्छ । तसर्थ त्यस्तो हदसम्म वादीको दावी खारेज हुने ठहर्छ । नेपाल क्यारियर्स उपर दावी नभएकोले त्यस सम्बन्धमा कुनै निर्णय दिइरहनु परेन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट मिति २०४३।३।२५।४ मा भएको फैसला ।
१४. सो बागमती अञ्चल अदालतबाट गरेको फैसलामा शर्ट ल्याण्डर बीमा दावीबाट रकम असूल उपर भएको छ भनी प्रतेवादी सावित भएकोमा पनि त्यसतर्फ वादी दावी नै खारेज गरेको उल्लेखित फैसला खारेज गरेको हदसम्म बदर गरी बीमा दावीबाट असूल उपर भएकोमा रकम पनि पुनरावेदकले फिर्ता पाउने ठहर गरिपाउँ भन्ने समेत व्यहोराको दुग्ध विकास संस्थानको कार्यकारी अध्यक्ष पर्लजंगबहादुर राणाको वा. ध्रुवबहादुर प्रधानले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदनपत्र ।
१५. उपर्युक्त उल्लेख गरिएका कानुनी बुँदाको आधारमा बागमती अञ्चल अदालतको फैसला प्रमाण ऐन, २०३१ को दफा ५४, करार ऐन, ०२३, मुलुकी ऐन, अ.बं. ८२, १८०, २९ समेत तथा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल हुँदा २३ नोभेम्बर १९७७ को पत्रको अनुचित अर्थ लगाई बढी पेश्की लिएको रकम भनी भराउने ठहर्याएको सो फैसला कानुन विपरीत भएकोले खारेज गरी वादी दावीबाट फुर्सद दिलाई पाउनु पर्छ भन्ने समेतको व्यहोराको मेमर्श ज्योतिज क्लियरिङ एण्ड फरवार्डिङ एजेन्सी १ र आफ्नो हकमा समेत ऐ.ऐ. फार्मको प्रो.अमृत जोती कंसाकारले मध्यमाञ्चल क्षेत्रीय अदालतमा गरेको पुनरावेदनपत्र ।
१६. सञ्चालक समितिको निर्णय अनुरुप कार्यान्वयन गर्न कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद दायर भएकोमा नालेश गर्ने हकदैया छैन भन्न मिलेन । हदम्यादको सम्बन्धमा प्रतिवादीलाई हिसाब फरफरक गर्न ३ दिनको म्याद दिएकोमा प्रतिवादीले २ महीनाको म्याद मागेको र सो समयभित्र पनि नआएकोले मुद्दा गर्नुपर्ने कारण उपस्थित भएको मितिले ३ महिनाको म्यादभित्रै परेको देखिन्छ । वादी दावीको रकम दावीतर्फ विचार गर्दा सो काम गर्न वादी पक्षले प्रतिवादीलाई पेश्की रकम देखाएकोमा कुनै विवाद छैन । काम गरे बापत प्रतिवादीले पाउनु पर्ने रकम देखाएको हकमा प्रतिवादीले काम गर्न गरेको मन्जूरीपत्रमा आफूले सि.आइ.एफ. भ्यालूको २ प्रतिशत कमिशन वा अन्य खर्च लागत समेत पर्ने भन्ने शर्त मन्जूर गरेको देखिन्छ । तर माग गरेको विवरणमा काबू भन्दा बाहिरको परिस्थितिवश भएको प्रमाणित सबूद दाखिल नभएको यस अवस्थामा वादी पक्षले प्रतिवादीलाई गएको पेश्कीमा प्रतिवादी पक्षले पाउनु पर्ने रकम कट्टा गरी असूल गर्नु पर्ने बाँकी बिगो १,०२,७०१।३१ रकम प्रतिवादीबाट भरी पाउने ठहर्याएको मनासिब छ । झिकाएको मालसामान सर्टेज र नोक्सानीको बिगो असूली भएको रकम दावीतर्फ प्रतिवादीले उठती गरेको रु. २,८४,३४७।३४ प्रतिवादीले वादीसँग लिनु पर्ने बील भौचर हिसाब मिलान गरेको भन्ने प्रतिवादीहरु हुँदा उक्त रकम असूल गरिएकोमा प्रतिवादीबाट गरिआएको भन्नेमा विवाद भएन । सो उठाएसम्मको नोक्सानी बिगोमा प्रतिवादी जिकिर बमोजिम उठतीको १० प्रतिशतले हुने रकम रु. २८,४३५।७३ हिसाब मिलान गरी कटाई बाँकी रु. २,५५,९१२।६१ समेतमा वादीले प्रतिवादीबाट भरी पाउने देखिएकोमा शर्तनामाको अभावमा सो सर्टेज र नोक्सानी बिगो तर्फको वादी दावी नपुग्ने ठहर्याएको हदसम्मको बागमती अञ्चल अदालतको फैसला केही उल्टी हुन्छ । अरु कुरामा दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन । सो ठहर्नाले हानी नोक्सानी तर्फ प्रतिवादीले बीमासँग उठाएको भनी देखाएको रु. २,८४,३४७।३४ मा कमिशन बापत १० प्रतिशतले हुने रकम रु. २८,४३४।७३ उक्त रकम कटाई बाँकी रु. २,५५,९१२।६४ प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ. को मिति २०४५।३।१६ को फैसला ।
१७. म.क्षे.अ. को फैसलामा चित्त बुझेन भनी दुवै पक्षको यस अदालतमा पुनरावेदन पर्न आएको रहेछ ।
१८. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री रेवन्तबहादुर कुंवर तथा पुनरावेदक प्रतिवादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
१९. अब प्रस्तुत मुद्दामा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ । सो को निर्णय दिनु परेको छ ।
२०. निर्णयतर्फ विचार गर्दा यस्मा संस्थानको सञ्चालक समितिको निर्णयानुसार कानुनी कारवाहीका निमित्त संस्थानको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकबाट फिराद परेको देखिँदा नालेश गर्ने हकदैया नभएको भन्न मिलेन । हदम्यादतर्फ हेर्दा वादीले हिसाब मिलानको लागि लेखेको पत्रमा प्रतिवादीले नै २ महिनाको म्याद मागी सो म्यादमा उपस्थित भई हिसाब मिलान गरेको नदेखिँदा सो म्याद पुगेको मितिलाई मुद्दा गर्नु पर्ने कारण मानी म्यादभित्रै फिराद पर्न आएको देखिन्छ । काठमाडौं जिल्ला अदालतमा दायर भएकोमा बागमती अञ्चल अदालत पठाउन सकिने अवस्थाको हदम्याद रहेबाट तत्काल सरुवा नगरी अदालतको गल्तीबाट पछि सरुवा गर्दैमा कानुनी क्षेत्र ग्रहण गरी निर्णय गर्न नपाउने भन्न मिलेन । वादी दावी रकमतर्फ हेर्दा क्लियरिङ एण्ड फरवार्डिङको कार्यको सिलसिलामा वादी पक्षबाट प्रतिवादीले पेश्की लिएकोमा विवाद छैन । प्रतिवादी पक्षले वादीबाट काम गरे बापत पाउनु पर्ने रकमको हकमा आफूले सि.आई.एफ. भ्यालूको मोलको २ प्रतिशत कमिशनमा अन्य खर्च लागत समेत पर्ने भन्ने शर्त मन्जूर गरेको तर उक्त लागत खर्च काबू बाहिरको परिस्थितिवस भएको प्रतिवादीले सबूद गुजार्न नसकेको यस अवस्थामा गएको पेश्कीमा प्रतिवादीले पाउनु पर्ने रकम कट्टा गरी असूल गर्नुपर्ने बाँकी बीमा रु. १,०२,७०१।३१ प्रतिवादीबाट वादी पक्षले भरी पाउने ठहर्याएको म.क्षे.अ. को इन्साफ मिलेकै देखिन्छ । मालसामान सर्टेज र नोक्सानीको बिगो असूली भएको रकम दावी तर्फ प्रतिवादीले उठती गरेको रु. २,८४,३४७।३४ को रकम वादीसँग लिनुपर्ने बील भौचरमा हिसाब मिलान भइसकेको भन्ने प्रतिवादी जिकिर हुँदा उक्त सर्टेज नोक्सानीको बिगो उठाउने काम प्रतिवादी पक्षबाट भएकोमा मुख मिलेकै देखिन्छ । अतः सो उठाएसम्मको नोक्सानी बिगोमा प्रतिवादी जिकिर बमोजिम १० प्रतिशत कमिशन पाउने नै देखिँदा प्रतिवादीले बीमासंग उठाएको भनी देखाएको रु. २,८४,३४७।३४ मा १० प्रतिशत कमिशन बापत हुने रु. २८,४३४।७३ उक्त रकममा कटाई बाँकी रु.२,५५,९१२।६४ प्रतिवादीबाट वादीले भरी पाउने ठहराएको म.क्षे.अ. को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हरगोविन्दसिंह प्रधान
इति सम्वत् २०४६ साल ज्येष्ठ २९ गते रोज १ शुभम् ।