शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४०७-१ - अंश

भाग: २२ साल: २०३७ महिना: माघ अंक: १०

निर्णय नं. १४०७-१   ने.का.प. २०३७

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३६ देवानी फुल नं. ३२

फैसला भएको मिति : २०३७।९।१९।६ मा

निवेदक : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने गोविन्दमोहन प्रधान

विरूद्ध

विपक्षी : का.जि.का.न.पं.वडा नं. १ त्रिपुरेश्वर बस्ने बालकृष्ण प्रधान

मुद्दा : अंश

(१)  अंशबण्डाको २० नं. मा घरको लेनदेन कामकाज गर्ने जानकारसँग फाँट लिई बण्डा गरिदिनु भन्ने र २१ नं. मा दबाएकोमा नदबाउनेले ऐन बमोजिम खान पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट अरू अंशियार जिम्मा रहेको फाँटवारी अनुसार बण्डा गर्न पर्ने भनी सम्झन नमिल्ने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

फैसला

          न्या. सुरेन्द्रप्रसाद सिंह : मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : आशा मरुको २ स्वास्नी अन्यान्य म कान्छा कृष्ण छोरी रीता र कान्छी स्वास्नी म नन्दलक्ष्मीको बाबु लोग्ने ०११ साल कार्तिकमा परलोक हुनुभएपछि पनि सबै सगोलमा नै थियौं म गोविन्द ०१७ सालमा विदेशतर्फ गएको र म कृष्ण नोकरीमा बाहिर गई ०२५ सालमा घर फर्केको हाम्रो समेत हक लाग्ने त्रिपुरेश्वर घर विपक्षीले बिक्री गरेकोमा हामीले नालिश गरी बदर हुने ठहरी का.जि.अ.बाट ०२७।४।१८ मा फैसला भएको छ । यसरी मुद्दा परेकोले सँग बस्न नहुने भई अंशबण्डा गराउ भन्दा नमानेको विपक्षीसँग ०२५।७।१ मा मानु छुट्टिएको हुँदा त्यसको अघिल्ला दिनसम्मको तायदाती फाँट लिई अंशियार जवान मध्ये हामी गोविन्दमोहन, कृष्ण नन्दलक्ष्मीको ३ भाग र म रीताको अंशबण्डाको १६ नं. बमोजिम आधा समेत गरी जम्मा ३।। भाग अंश हामीलाई दिलाई बण्डा गरी सजाय गरिपाउँ भन्ने समेत फिराद ।

          २.   विपक्षी नन्दलक्ष्मी घरमा बस्न मञ्जूर नगरी हाना गुलुमा घर जग्गा लिई बस्नु भएकोले प्रचलित कानुनले वहाँले अंश नपाउने भई चित्त बुझाई बसेकोमा बाबु गोविन्दको सिखावटबाट अंशमा दावा गर्नु भएको छ । घरको जेठापाको विपक्षी गोविन्दमोहन हुँदा सारा सम्पत्ति हात व्यवहार चलाई बसेको राजनीतिमा लागि मखमलीसँग रु.३२८५। लिई ०१६।१।१९ मा घर समेत भोगबन्धकी दिएको वादी गोविन्दमोहन अन्तर्राष्ट्रिय तत्त्वमा लागि चल सम्पत्ति लिई विदेश भागी ०२५ सालको आखिरीमा काठमाडौं आएकोले चल अचल सम्पत्तिको फाँट निजसँग लिई बण्डा हुनुपर्ने वादी मध्ये कृष्ण पनि ०१८ साल देखि बाहिर हिंडेको बाबुले लिनुभएको ऋण २५००।दाजुले लिनुभएको ३२८५।का तमसुकी साहू रु.१२५०।समेतमा मुद्दा परी डिग्री भरी भराउ दरखास्त समेत पर्‍यो सो ऋण र बहालको रु.६८५।३० समेतमा साहूहरूलाई तिरी घर बनाउन मुआब्जाबाट नपुगी ६० हजार रुपैयाँ लगाई घर तयार पारी लागेको साहू तिर्न रत्नबहादुरलाई केही घर जग्गा बिक्री गरी साहू तिरी सकेपछि ऋण जति मेरो थाप्लोमा हाल्ने कुनियत गरी निखनाई पाउँ भन्ने मुद्दा जि.अ.मा दायर गरेकोमा फैसला भई मेरो पुनरावेदन परी रहेको छ । हामीहरू सो मुद्दा पर्नु अघिल्ला दिनसम्म सगोलमा भएको दावीको मानु छुट्टिएको दिन कायम गर्न प्रमाण दिएको छैन घर निर्माणमा लागेको रु.६० हजार शुरू देखिको ऋण समेत खर्च भएको जम्मा गरी भाग लगाई वचुवाको सर्व श्री सम्पत्तिको फाँट विपक्षी गोविन्दसँग खुलाई भाग लगाई पाउँ भन्ने समेत प्रतिउत्तर ।

          ३.   मानु छुटेको मिति ०२६।६।२४ कायम गरी तायदाती मागिएकोमा मोल बिगो रु.५०००।को घर बण्डा गर्नुपर्ने तायदाती आएकोले सो माल बिगोको ४।। खण्डमा ३।। खण्ड अर्थात ३।। भाग वादीहरूले अंश पाउने ठहर्छन भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।

          ४.   वादी मध्येको पर्ने कृष्ण प्रधान १, गोविन्दमोहन १, रीता प्रधान १ र प्रतिवादी बालकृष्ण प्रधान समेत जम्मा ४ अंशियार ठहरिन आएको छ । वादी मध्येकी रीता प्रधान ३५ वर्ष पुगेकी अविवाहिता हुँदा निजले अंशबण्डाको १६ नं. र मुलुकी ऐन संशोधन अध्यादेश अनुसार अरू छोरा सरह १ भाग अंश पाउने ठहर्छ । ऋणतर्फ प्रतिवादी रत्नबहादुरलाई बिक्री गरेको घर वादीहरूको उजूर परी वादीहरूको उजूर परी वादीहरूको भाग जति ३ भाग बिक्री बदर हुने ठहरेको र सो को थैली लिई कपाली हुनगएको सो कपाली ऋण अंशियारलाई भाग लाग्नुपर्ने भन्ने प्रतिवादी जिकिर उपयुक्त मान्न सकिँदैन । सो बाहेक ०३२।७।९ को तायदातीमा देखाएको साहू लक्ष्मीभक्तलाई तिर्नुपर्ने भनिएको रु.९५०१। र साहू कृष्णराज श्रेष्ठलाई तिर्नुपर्ने भनिएको रु.१०५०१। सगोलको घर व्यवहार चलाउन बापत लिएको ऋण हुँदा सबै अंशियारहरूलाई तिर्नुपर्ने र तायदातीमा देखाइएको धन समेतमा वादीहरूले ४ भागको ३ भाग मध्ये जेठीतर्फ छोरा जेठा म गोविन्द माइला अंश पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

          ५.  ऋणतर्फ प्रतिवादीले रत्नबहादुरलाई बिक्री गरेको घर वादीहरूको उजूरी परी वादीहरूको भाग जति ३ भाग बिक्री बदर हुने ठहरेको र सो थैली कपाली हुनगएको सो कपाली ऋण सबै अंशियारलाई भाग लाग्नुपर्ने भन्ने प्रतिवादी जिकिर उपयुक्त मान्न सकिँदैन, सो बाहेक ०३२।७।९ को तायदातीमा देखाएको साहू लक्ष्मीभक्तलाई तिर्नु पर्ने भनिएको रु.९५०१। र साहू कृष्णराज श्रेष्ठलाई तिर्नुपर्ने भनिएको रु.१०५०१। सगोलको व्यवहार चलाउन बापत लिएको ऋण सबै अंशियारहरूलाई तिर्नुपर्ने र वादी मध्येकी रीता प्रधान ३५ वर्ष पुगेकी अविवाहिता हुँदा अंशबण्डाको १६ नं. र मुलुकी ऐन संशोधन अध्यादेश अनुसार समेत वादीहरूले ४ भागको ३ भाग अंश पाउने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ ।

          ६.   अंशतर्फ फिराद गर्दा सो अवस्था बहाल रहेको प्रचलित कानुन अनुसार वादी मध्येका रीता प्रधानले अंशबण्डाको १६ नं. अनुसार आधा अंश मात्र दावी गरेको र त्यसप्रकारको दावीमा दावी गर्दाका अवस्था बहाल रहेको अंशबण्डाको १६ नं. अनुसार वादी दावी बमोजिम आधा अंश पाउनेमा दावी नै नभएको पुरै अंश पाउने गरेको मिलेको देखिन आउँदैन ।

          ७.  ऋणतर्फ पनि साहूहरूको दावी भइआएको नदेखिएको । त्यस किसिमको ऋणहरूमा साहूको कानुन बमोजिम दावी परेका बखत सोही मुद्दाबाट ठहरे बमोजिम निर्णय हुने नै भएकोले यस अंश मुद्दाबाट ऋणतर्फ केही बोली रहन नपर्नेमा ऋणतर्फ समेत भाग बण्डा लाग्ने गरेको समेत उपयुक्त लेखिएबमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ ।

          ८.   यसमा निवेदकतर्फका विद्वान अधिवक्ता श्री अनुपराजको र विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको बहस समेत सुनी निर्णयतर्फ विचार हेर्दा यसमा दे.मु.नं. ९९।१०० को परशुराम गिरी विरूद्ध दशरथ गिरी भएको अंश मुद्दामा सर्वोच्च अदालतबाट ०३४।२।२८ मा भएको निर्णय र प्रस्तुत मुद्दामा ०३५।७।२४ मा भएको निर्णय उक्त मुद्दाकै रुलिङसँग बाझिएको भनी सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३(ख) अनुसार प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएबाट अंश मुद्दामा एका पक्षले अर्को पक्षको जिम्मामा यो यति बण्डा गर्नुपर्ने सम्पत्ति छ सो पनि बण्डा हुनुपर्ने भनी अर्को पक्ष जिम्मा रहेको सम्पत्ति छ सो पनि बण्डा हुनु पर्ने भनी अर्को पक्ष जिम्मा रहेको सम्पत्ति पनि तायदाती दिन र सो सम्पत्ति बण्डा गर्नुपर्ने नपर्ने के हो सो कुरामा नै यस बेञ्चबाट निर्णय दिनुपर्ने हुनआएको छ ।

          ९.   परशुराम गिरी विरूद्ध दशरथ गिरी भएको अंश मुद्दामा यस अदालत डिभिजन बेञ्चबाट ०३४ साल जेष्ठ २८ गते निर्णय हुँदा अंश मुद्दामा तायदाती तोक्दा आफ्नाफ्ना जिम्मामा रहेको चल अचलको फाँटवारी तोक्नुपर्छ । अंशबण्डाको २० नं. मा घरको लेनदेन काम कारवाही गर्ने जानकारसँग फाँटवारी लिई बण्डा गरी दिनुपर्ने व्यहोरा लेखिएकोबाट अरूसँग जिम्मा रहेको पनि फाँटवारी लिनु पर्छ भनी सम्झन हुँदैन । प्रतिवादीको जिम्मामा रहेको भनी दशरथ गिरीले तायदाती पेश गरेको देखिएकोबाट अंशबण्डाका २० नं. दण्ड सजायको ४६ नं. बमोजिम तायदाती पेश गरेको नदेखिएकोले उक्त ऐन बमोजिम आफ्नाफ्ना जिम्मामा रहेको फाँटवारी ल्याउनु भनी तोक्ने र पक्षहरूले आफ्फ्ना जिम्मामा रहेको फाँटवारी ल्याउनु भनी तोक्ने र पक्षहरूले आफ्ना जिम्मा रहेको सम्पत्ति तायदाती पेश गरेमा सोही अनुसार बण्डा छुट्याई दिनुपर्ने एका पक्षले जिम्मा रहेको भनी तायदाती पेश गरेको र सो तायदातीलाई कायम गरी बण्डा छुट्याई दिने गरेको क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन बदर हुन्छ भनी निर्णय गरेको र प्रस्तुत मुद्दामा प्रतिवादी बालकृष्ण प्रधानले ०३२ साल कार्तिक ९ गते पेश गरेको तायदातीमा नन्दलक्ष्मीले मुआब्जा बापत अञ्चलाधिशको कार्यालयबाट लिएको हाल गोविन्दमोहन जिम्मामा रहेको रु.१२५१२।५० मध्ये ३ खण्ड १ खण्ड मेरो पनि अंश भाग लाग्ने कलम १ भनी पेश गरेको तायदातीलाई आधार मानी यस अदालत डिभिजन बेञ्चबाट ०३५।७।२४।६ मा निर्णय हुँदा उक्त १२५१२।५० को ३ भागको २ भाग वादीहरूलाई र १ भाग प्रतिवादीलाई भराई दिने गरी फैसलाको तपसील खण्डमा उल्लेख भएको रहेछ ।

          १०.  अंश मुद्दामा तायदाती पेश गर्ने विषयमा के कसो कानुनी व्यवस्था रहेछ भनी हेरिएमा अंशबण्डाको २० नं. मा घरको लेनदेन कामकाज गर्ने जानकारसँग फाँट लिई बण्डा गरिदिनु भन्ने र २७ नं. मा दबाएकोमा नदबाउनेले ऐन बमोजिम खान पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । यसबाट अरू अंशियार जिम्मा रहेको फाँटवारी दिन र सो फाँटवारी अनुसार बण्डा गर्न पर्ने भनी सम्झन मिल्दैन ।

          ११.  प्रस्तुत मुद्दामा माथि उल्लिखित अंशबण्डाको २० नं. र २७ नं. को प्रतिकूल ०३५।७।२४।६ मा निर्णय हुँदा फैसलाको तपसील खण्डमा नन्दलक्ष्मीले मुआब्जा बापत अञ्चलाधिशको कार्यालयबाट लिएको हाल गोविन्दमोहन जिम्मा रहेको रु.१२५१२।५० मध्ये ३।। भागको २।। भाग वादीहरूलाई र १ भाग प्रतिवादीलाई भराई दिने भन्ने कमल सम्म बदर हुने ठहर्छ । सो कलमको लगत कट्टा गर्नु भनी काठमाडौं जि.अ.तहसिल फाँटमा लगत दिई मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

न्यायाधीश

 

उक्त रायमा हामीहरू सहमति छौं ।

 

न्यायाधीश     न्यायाधीश

 

इति सम्वत् ०३७ साल पौष १९ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु