शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५८५ - अंश माना चामल ।

भाग: ४० साल: २०५५ महिना: मंसिर अंक:

निर्णय नं. ६५८५          ने.का.प. २०५५                       अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय

सम्वत् २०५१ सालको दे.पु.नं..... २२२८

फैसला मिति : २०५५।१।११।६

 

मुद्दा : अंश माना चामल ।

पुनरावेदक/प्रतिवादी : कपिलवस्तु जिल्ला कृष्णनगर घर भई का.जि.का.म.न.पा. वडा नं. ११ त्रिपुरेश्वर बस्ने रत्नलाल कनौडिया ।

विरुद्ध

विपक्षी/वादी : का.जि.का.म.न.पा. वडा नं. ७ चावहिल बस्ने रेणु अधिकारी ।

§  सामान्यतया गर्भ रहेको ९ महिना पश्चात् बच्चाको जायजम्न हुन्छ । प्रस्तुत मुद्दामा वादीले छोरी जन्मी सकेपछि दावी लिएको ९,१० महिना अगाडिको प्रतिवादीसँग यौन सम्बन्ध रहेको कुराको एकिन मिति खुलाउन नसकेको कुरा अश्वभाविक नहुने तथा यसर एकि मित खुलाउन नसकेता पनि २०३२ साल भाद्र महिना सम्म उल्लेख गरेको र प्रसुती गृहको रिपोर्टबाट पनि वादीको २०३२ साल भाद्र महिना देखि महिनावारी रोकिएको भन्ने रहेको छ । यस्तो अवस्थामा करणी भई गर्भ रहेको एकनि मिति वादीले खुलाउन नसकेकै कुराले मात्र प्रतिवादीको जिकिर पुष्टि हुने अवस्था पनि नदेखिने ।

§  यी वादी प्रतिवादी दुवैलाई प्रतिवादी बनाई वादी श्री ५ को सरकारले मुद्दाको तहकिकात गरी का.जि.अ.मा. वहु विवाह मुद्दा दायर गरेको कुरमामा मुख मिलेकै देखिन्छ । सो मुद्दा हदम्याद नाघी दायर भएको कारण जनाई का.जि.अ. बाट तामेलीमा राखेको देखिन्छ । यसरी हदम्याद नाघेको कार्य विधिगत कारणबाट सो वहु विवाह मुद्दा तामेलीमा राखिएको कुराले वादी प्रतिवादीलाई उक्त मुद्दामा सजाय हुने वा नहुने भन्ने विषयसँग मात्र सरोकार राख्ने हुदा सो मुद्दा तामेलीमा रहेबाट वादी प्रतिवादी विचको सम्बन्ध नै स्थापित हुन नसक्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । 

 (प्र.नं.१९)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्तहरु श्री शिवनन्द शरस, श्री कमल नारायण दास र श्री शंभु थापा ।

विपक्षी वादीको तर्फबाट : विद्वान अधिवक्ता श्री लोकभक्त राणा

अबलम्बित नजिर : ने.का.प. २०३४, पृ१३८

                        ने.का.प. २०४५, पृ १२७

फैसला

            न्या. हरिशचन्द्रप्रसाद उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :

            २.    का.मु. वरिष्ठ सरकारी अधिवक्ता रत्नलाल कनौडियाले आफ्नो अफिस कोठामा टाइप गर्न पर्छ भनी बोलाई जवरजस्ती करणी गरी गर्भ रहन गएपछि २०३३।२।१७ मा म प्रसुती गृहमा भर्ना भई बच्चाको न्वारन पनि निजले नै गर्नु भयो । यि सब कुरा वि.प्र.वि.मा समेत बयान गरी सकेकोमा २०३३।३।२१ मा दिउसो अफिसबाट निजको घरमा लगी कोठामा राखी मेरो लोग्ने रत्नलाल कनौडिया होइन अर्कौ छ भनी डर धाक देखाई ३ थान कागजमा सहिछाप गराएपछि पुन जस्ताको तस्तै वि.प्र.वि.मा बयान गरी सकेपटि वि.प्र.वि. बाट भइ सकेको कारवाहीमा समेत ढाकछोप गरी रत्न लाल कनौडियालाई बचाउने प्रयास गरेकोले जाहेर गर्न आएको छु । म अन्जान अनाथ अवला आइमाई उपर अनैतिक व्यवहार गरे उपर निज कनौडिया उपर कानूनी कारवाही भई मलाई माना चामल तथा अंश दिलाई दिनु भनने हु.प्र. पाउ भनी रेणू कनौडियाले वि.जा.वि.मा दिएको निवेदनमा बक्स भै आएको हु.प्र. बमोजिम गर्न सम्बन्धित मिसिल राखी कानून बमोजिम गर्नु भन्ने २०३३।५।९ को हु.प्र. बमोजिम कारवाही भएको प्रस्तुत मुद्दामा श्री ५ का जुनाफमा मैले दिएको विन्तिपत्रबाट दावी लिए बमोजिम विपक्षी रतनलाल कनौडियाबाट मैले कानूनले पाउने अंश दिलाई पाउँ र मलाई र बच्चा समेतलाई खान लाउन बस्न वार्षिक ४०७५। दिलाई पाउ । विपक्षीले करणीले गर्नु भई जिनको विर्यबाट मेरो गर्भ रही आठ महिना पुगेपछि मलाई माइतीघरबाट निकाली दिनु भएकोले सो कुरालाई निजलाई भन्दा डेरा खोजी बस भनी निजले भने बमोजिम डेरा खोजी बसी आएकोमा यी सबै कुरा कसले वि.प्र.वि.मा सूचना दिएछन् र मलाई पक्राउ गरी लगे । विन्तिपत्रमा लेखिए बमोजिम बयना गरि दिएको थिए । सो पनि कार्यालय जादा तिमीलाई बच्चा हेर्ने मानिस बन्दोबस्त गरिदिएको छ ।मेरो घर जाउ भन्नु भएबाट निजको घर जादा कोठामा लगी मेरो जागीर जान्छ, तिम्रो पनि जागिर जान्छ, कागज गर भनी भन्दा म गर्दिन भन्दा तलाई ज्यान जागिरको माया भए कागज गर भन्नु भएपछि आफ्नो कार्यालयमा फर्कि आए । उक्त काजगमा यो जन्मेको बच्चा विपक्षीको होइन, केटा भारत तर्फको हो भन्ने समेत व्यहोराको कागज गरी कार्यालयमा फर्कि बसिरहेकी थिए । सो कागज विपक्षीले महान्यायाधिवक्ताको कार्यालयमै दर्ता गराएछन् । सो कुरा दर्ताको कर्मचारीले भनेबाट थाहा पाई मेरो कार्यालयका ख. गणेश प्रसाद पाण्डेलाई सो कुरा भन्दा निजले प्रहरीमा निवेदन देउ भनेबाट उक्त कागज गराएको कुरा विशेष प्रहरीमा प्रतिवेदन दिए । म माइति घरबाट निस्केपछि पटक पटक गरी रु.२०० सम्म दिएको थियो । वि.प्र.वि.मा उजुर परेपछि दिन छोडेको र यो कुरा कतै गएर भनिस् मने प्रहरी लगाएर कुटाउँछु भनी डर त्रास समेत देखाएकोबाट मैले छुट्टा छुट्टै निवेदन प्रधान मन्त्री र कानून मन्त्री कहा सम्म दिएको हु । मलाई विपक्षीले अन्याय गरेको हुँदा निजले दिन छाडेको मिति देखि खर्च दिलाई अघिल्लो दिनसम्मको तायदाती लिई अंशियार निजहरुबाटै खुलाई कानूनले पाउने अंश तथा अंश नपाउन्जेल सम्म कानून बमोजिम माना चामल समेत दिलाई भराई पाऊ भन्ने समेत व्यहोराको मिति ०३३।४।१३ को रेणु कनौडियाको वा.अं.अ. मा भएको बयान ।

            ३.    वादीसँग करणी र गर्भ तुहाउने तर्फ समेत केही गरेको छैन । वादीसँग अर्को विवाह गरेको वा अर्को स्वास्नी राखेको समेत होइन कोठामा जवरजस्ती गरेको भन्ने कपोलकल्पित छ । बयानमा लेखिएको सबै कुरा निराधार हुन् । वादी दावीबाट फुर्सद पाउँ भन्ने समेतको व्यहोराको प्रतिवादी रतनलाल कनौडियाको मिति ०३३।७।२० मा वा.अं.अ.मा भएका बयान ।

            ४.    प्रतिवादी रतनलाल कनौडियाले मलाई स्वास्नी राख्नु भई दुवै थरी बिच लोग्ने स्वास्नी सम्बन्ध कायम रही छोरी समेत जन्मेको कुरा सत्य हो । म र रतनलाल कनौडिया बिच महान्यायाधिवक्ताको वहा वसी आइ रहनु भएको कोडामा हाम्रो यौन सम्बन्ध पहिलोपटक करिब बेलुकाी ५:३० बजेतिर भएको हो । सो दिन अफिसमा कोही थिएन । सो दिन शाखा अधिकृत कृष्णप्रसादले पनि काम छ रतनलाल कनौडियासँग नसोधि नजानु भन्ने मौखिक आदेश दिनु भएको हुदा म बसेकी थिए । कार्यालयको नाउ नजानेको पिउनले टाइप राइटर बोकी प्रतिवादी बसी रहनु भएको कोठामा पसे । सो दिन फैसला टाइप करिब पन्ध्र मिनेट जति गरे । प्रतिवादीले एक्कासी मलाई तान्नु भएपछि म रोए। म रोइनै रहेको बखत प्रतिवादीले मलाई करणी गर्नु भई अ. १५।२० मिनेट सम्म यो प्रकृया चलु रह्यो । उसै बखत देखि हामी दुवै लोग्ने स्वास्नी भयौ। करिब ४:४५ बजेतिर रुदै रुदै फर्के । हामीहरु बीच यौन सम्बन्ध भएको भाद्र महिना हो । म घर फर्कदा सो कार्यालयमा कोही थिएन । त्यसपछि करिब २ महिना पछि मात्र अफिसमा हाम्रो करणी लिनुदिनु भयो । सो दिन प्रतिवादीले काम छ बस भन्दा बसी वहाकै कार्यालयमा हाम्रो यौन सम्बन्ध रह्यो । मेरो छोरीको ०३३ साल जेष्ठ २० गते थापाथली स्थित प्रसुति गृहमा जन्म भएको हो । आमाले कान्छी अधिकारी नै नाउँ प्रसुती गृहमा लेखाउनु भयो । मैले प्रसुति गृहमा आफ्नो नाउँ कृष्ण कुमारी कनौडिया लेखाए । मेरो गर्भ रहेको कुरा वहाँकै कार्यालय कोठामा गइ भन्दा मैले परिवार नियोजन गराई सकेको छु, गर्भ रहेको होइन होला भन्नु भयो । गर्भ नै रहेको एकिन भएपछि वहाले ट्यावलेटहरु खान दिनु भयो । तर गर्भ पतन र्भन । वहाले आफ्नो नाउँ सक्कली नलेखाउनु भन्नु भएकोले काल्पनिक नाउँ लेखाएको थिए । मेरो लोग्नेको नाउँ रतनलाल कनौडिया भनेको थियो । के लेख्यो मलाई थाहा भएन । बच्ची जन्मेपछि वहालाई कार्यालयमा फोन गरी आउनुस् भन्दा आउन फुर्सद छैन बाहुन बोलाई न्वारन गराउनु पैसा दिन्छु भनेकोले बाहुनले न्वारन गराए । सुत्की भएको १४।१५ दिन पछि म अफिसमा गई तलब बुझे । प्रतिवादीले मलाई रु.५० दिनुभयो ।रिसइविलै निवजलाई लोग्ने भनी निजबाट छोरी जन्मेको भनी भुट्टा दावी लिउको होइन । तसर्थ प्रतिवादी रतनलाललाई मेरो लोग्ने कायम गरी म तर्फबाट जन्मेकी छोरी वहाको विर्यबाट जन्मेको ठहरी वहाको छोरी कायम गरी म तिर्फबाट जन्मेकी छोरी वहाको विर्यबाट जन्मेको ठहरी वहाकै छोरी कायम गरी नाता कायम गरी पाउँ भनने समेत व्यहोराको वादी रेणु कनौडियाले मिति २०३४।२।२१ मा नाता कायम तर्फ वा.अं.अ. मा गरेको बयान ।

            ५.    वादीले नाता कायम तर्फ दिएको बयानमा लिएको सबै जिकीर झुटा र निराधार हुन् । वादीलाई मैले स्वास्नी बनाई राखेको होइन । जन्मेको छोरी मेरो विर्यबाट जन्मेको होइन नाता कायम तर्फ सात दिनकै म्याद पाउ भन्ने समेत व्यहोराको प्रतिवादी रतनलाल कनौडियाले मिति २०३४।२।२१ मा वा.अं.अ. मा गरेको बयान ।

            ६.    नाता कायम गरी पाउँ भन्ने बयानमा करणी भएको साल मति वादीले खुलाउन नसकेको र अंश माना चामल तर्फको ठाडो बयानमा साल महिना मिति समेत नखुलेको वहुविवाह तर्फको प्रहरीमा बयानमा सनल महिना खुलाएको एकिन मिति खुलाउन सकेको देखिदैन । वादीलाई टाइप गर्न कसले बोलायो त्यो कुरा खुल्दैन । करणी दिनु लिनु भएको होइन । न्वारान गरे ग राएको भन्ने होइन । वादी मेरो स्वास्नी होइन भन्ने समेत व्यहोराको प्र. रतनलाल कनौडियाको नाता कायम तर्फ मिति २०३४।२।२७ मा बा.अं.अ. मा भएको बयान ।

            ७.    छोरी गोपिकृष्णले भनेपछि छोरी रेणुले पेट बोकेको थाहा भयो । यस व्यक्तिको गर्भ हो भनी निजे नभनेको । छोरी ०३३ साल वैशाख ६ देखि घरमा फर्केन । त्यसपछि छोरी रेणु नघर छोलमा डेरा गरी बसेकी छिन् । छोरीलाई बेथा लागिसकेपछि मैले मेरो नाउँ सानुकान्छी अधिकारी भनी लेखाए । छोरीलाई प्रसुती गृहमा भर्ना गरी दिएको हुँ । छोरीले नाम ढाटी लेखाउन भनेकीले कृष्ण कुमारी नाम लेखाएकी हुँ प्रसुती गृहमा भर्ना गर्दा लोग्नेको नाम के हो भनी सोध्दा मैले उसैलाई थाहा होला भने छोरीले आफ्नो लोग्नेको नाम रतनलाल कनौडिया भनेपछि पहिलो पटक सुनेको हुँ भन्ने समेत व्यहोराको झिकाएकी कन्छी अधिकारीको बयान ।

            ८.    वादीको भनाई स्वयममा विरोधाभाषपूर्ण रहेको र घटनाक्रम समेत कुनै प्रत्यक्ष वा परिस्थितिजन्य प्रमाणबाट समर्थित र प्रमाणित हुन नसकेकोले तथाकथित करणीको आधारमा लोगने स्वास्नीको सम्बन्ध स्थापित भइसकेको देखिन आएन । लोग्ने स्वास्नी सम्बन्धमा नै कायम नभएकोले वादी प्रतिवादी अंशियार देखिन आएनन् । वादीले प्रतवादीबाट अंश माना चामल भराई पाउने ठहर्दैन भन्ने समेत व्यहोराको २०४५।३।२८ को बा.अं.अ. को फैसला ।

            ९.    प्रतिवादीसँगको सम्पर्क सहवास, सहवास पछि पुनः सहवास, गर्भ, भाडा लिई अन्यत्र बसेको र प्र.बाट खर्चपर्च पाएकी, प्र.को कारणले सुत्केरी विदा नलिन दिई घर बिदा स्वीृकत गरेको, बच्चीको जन्मपछि प्र. बाट पाइएको खर्च, न्वारान सम्बन्धमा प्र.सग भएको कुराकानी, बच्ची लिई म अफिसमा पुगेको, प्र.ले मलाई फकाई आफ्नो निवासमा लगि कागज गराएको यावत कुराको मेरो स्वभाविक बयानलाई झुठा ठहराई अन्य प्रमाणहरुको समेत मतलब नराखी बा.अं.अ.बाट भएको त्रुटिपुर्ण फैसला वद गरी प्र.सँगको मेरो नाता सम्बन्ध कायम गरी अंश माना चामल दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको म.क्षे.अ.मा दिएको पुनरावेदन पत्र ।

            १०.    विभागीय कारबाही सम्बन्धि उत्प्रेषण आदेश जारी गरी पाउँ भन्ने रिटमा भएको फैसला समेतबाट वादी दावा नपुग्ने ठहर्याएको बा.अं.अ.को फैसला फरक पर्ने भएबाट अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४६।२।१६ को आदेश ।

            ११.    प्रतिवादीकै करणी विर्यबाट वादीको गर्भ रही निजबाट छोरी जन्मिएको होइन भन्ने समेत नमिल्ने देखिएकोले वादी अंश पाउने अवस्थाकी प्रतिवादी श्रीमती नाताकी देखिएको र प्रतिवादीले सम्पर्ण दावी जिकिरलाई नै इन्कार गरी करणी गरेको र श्रीमती बनाएको नै होइन भनी प्रतिवाद गर्नुबाट पु.वे. वादीले अंश पाइ सकेकीछन् भन्न नमिल्ने हुँदा वादीले दावी बयान गरेको मितिलाई मानो छुट्टिएको मिति कायम गरी दिएका छ । सो मिति सम्मको बण्डा गर्नु पर्ने अवस्थाको सम्पत्ति दुवै थरबाट दाखिला गराई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०४९।१०।२० को पुनरावेदन अदालत पाटनको आदेश ।

            १२.   चल अचल सम्पत्ति मेरो नाउमा छैन भन्ने समेत व्यहोराको प्र. रत्नलाल कनौडियको पुनरावेदन अदालत पाटनमा परेको तायदाती फाटबारीको निवेदन ।

            १३.   मेरो जिम्मा भोगचलन दर्ता स्वामित्वमा उक्त मिति सम्मको बण्डा गर्नुपर्ने सम्पत्ति केही पनि छैन भन्ने समेत व्यहोराको रेणु कनौडियाको पुनरावेदन अदालतमा परेको तायदाती लिखत कागज ।

            १४.   प्रतिवादीको करणी विर्यबाट गर्भ रहन गइ छोरी समेत जन्मेको स्थितिमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको आधारमा लोग्ने स्वास्नीको नाता कायम हुन्छ । वादी प्रतिवादीबाट दाखिल भएको तायदाती पाटवारीमा चलअचल सम्पत्ति छैन भनी वादी प्रतिवादी दुवैले उल्लेख गरेकोले प्रस्तुत मुद्दाबाट सम्पत्ति सम्म बण्डा छुट्टयाउन नपरे पनि ६ अंशियार कायम भई वादीले प्रतिवादीसँग लोगने नाता कायम गरी वादी दावी बमोजिम छोरी समेत प्रतिवादीकै हुने ठहर्छ भन्ने समेत व्होराको पुनरावेदन अदालत पाटनको मिति २०५१।४।२७ को फैसला ।

            १५.   विपक्षी वादीले स्वयं महान्यायाधिवक्ताको कार्यालयमा दिएको मिति ०३३।२।२१ को निवेदनमा भारतीय केटासँगको सहवासबाट गर्भ रहेको भन्ने उल्लेख भएको र सो कागजका सम्बन्धमा चलेको करकाप मुद्दा सर्वोच्च अदालतको फुलबेन्चबाट खारेज भएको, काठमाडौ जिल्ला अदालतबाट वहु विवाह मुद्दा तामेलीमा रहेको, प्रसुति गृहमा वादीले बच्चीको बाबुको नाम नलेखाएको समेत अवस्थाका साथै वादी जिकिर बमोजिमको तथाकथित जवरजस्ती करणीको घटनाक्रमबाट लोगने स्वास्नीको नाता कायम हुन सक्ने वा नसक्ने मुलुकानून प्रश्न समेत खडा रहेकोबाट उल्लेखित आधार प्रमाण तथा कनूनहरुको बाध्यात्मक प्रावधानतर्फ कुनै विचार नगरी पुनरावेदन अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुदा सो फैसला बदर गरी पाउँ भन्न् समेत व्यहोराको प्रतिवादी पुनरावेदन पत्र ।

            १६.    यसमा टाइपराइटर बोकी लाने भनी उल्लेख गरेको पिउन बद्री प्रसाद अधिकारी र ५ बजे पछि काम छ रतनलाललाई नसोधी नजानु भनी मौखिक आदेश दिने शा.अ. कृष्ण प्रसाद भन्ने देखिएको, यस मुद्दामा वादी रेणुले गरेको बयान रेणु र पुनरावेदक प्रतिवादी रतनलाला बीच पहिलो करणी कहिले कुन मितिमा भएको र कुन महिनामा गर्धधारण गरेको भन्ने खुल्न आउदैन । छाइपराइटर बोकी लाने भन्ने पियन बद्रि प्रसाद अधिकारी मिति २०३२।७।२५ गते देखि मात्र अस्थायीमा नियुक्ति भएको र शा.अ. कृष्ण प्रसाद मिति २०३२।५।८ गते देखि ऐ ३० गते सम्म विदामा रहेको भन्ने कुरा महान्यायाधिवक्ताको कार्यालको पत्रहरुबाट देखिएको र मिसिलसाथ रहेको वादी श्री ५ को सरकार प्रतिवादी रतनलाल कनौडिया समेत भएको वहु विवाह मुद्दमा मिति २०३३।८।१४ मा का.जि.अ. बाट तामेलिमा राख्ने आदेश भई अन्तिम रहेकोले सो मुद्दामा संकलित प्रमाणलाई अदालतले परिक्षण नगरेको हुदा अकाट्य आधार प्रमाणबाट पुनरावेदन अदालत पाटनको फैसलामा फरक पर्ने देखिदा अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाउनु भन्ने मिति २०५२।१०।१५ गतेको आदेश ।

            १७.   नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन  आएको प्रस्तुत मुद्दाको पुनरावेदनपत्र सहित मिसिल संलग्न सम्पूर्ण कागज प्रमाण अध्ययन गरी पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरु श्री शिवानन्दशरस, श्रीकमल नारायण दास र श्री शम्भुथापाले वादीले महान्यायाधिवत्तःको कार्यालयमा मिति २०३३।३।२१ गते पेश गरेको निवेदन स्वेच्छाले दिएकीले उक्त कागज प्रमाणको रुपमा ग्राह्य हुन्छ, वादीले प्रसुती गृहमा कृष्ण कुमारी कनौडिया लेखाई बच्चीको बाबुको नाउ लेखाउन सकेकी छैनन्, जि.अ.बाट तामेलीमा रहेको वहु विवाह मुद्दामा व्यक्त भएको कुरा प्रस्तुत मुद्दामा प्रमाणमा लिन मिल्दैन, वादीले नाता कायमतर्फ दावी नै लिएको छैनन् र तथाकथित जवरजस्ति करणीबाट लोग्ने भएको बहस र प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री लोभक्त राणाले वादीको गर्भ रहदाको अवस्थमा वादी टाइपिस्ट मुखियाको पदमा र प्रतिवादी का.मु. वरिष्ट सरकारी अधिवक्ताको पदमा महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत रहेको कुरामा विवाद छैन, ०३३।३।२१ मा स्वेच्छाले आफ्नो लोग्ने  भारतीय केटा हो भन्ने वादीले प्रतिवादी उपर अंश माना चामलमा दावी लिनुपर्ने अवस्था आउदैन । आफूबाट जायजन्म भएको बच्चाको बाबु हो हो भन्ने सम्बन्धमा आमाको कथनले नै मुख्य प्राथमिकता पाउने प्रतिपादित सिद्धान्त समेत रहेको हुँदा पुनरावेदन अदालतको फैसला मनासिव छ भनी गर्नु भएको वहस समेत सुनियो ।

            १८.   आज निर्णय सुनाउन भनी पेश भएको प्रस्तुत मुद्दामा उल्लेखित वहसहरु समेतलाई ध्यानमा राखी मिसिलहरु अध्ययन गर निर्णयतर्फ विचार गर्दा वादी रेणुको कोखबाट मिति ०३३।२।२० मा एउटा बच्चिको जायजन्म भएको कुरामा विवाद छैन । यसरी आफ्नो कोखबाट बच्चिको जायजन्म भई सकेपछि प्रतिवादीको करणी विर्यबाट छोरीको जायजन्म भएको भनी प्रतिवादीबाट अंश नपाउन्जेल माना चामल भराई पाउन वादीले श्री ५ महाराजधिराजका जुनाफमा बिन्तीपत्र चढाई हुकुम प्रमांगी बक्स भए बमोजिम बादीले तत्कालिन वागमती अञ्चल अदालतमा ०३३।७।२० मा बयान गर्दा र ०३४।२।२१ मा सोही हदालतमा नाता कायम तर्फ बयान गर्दा प्रतिवादीकै करणी विर्यबाट गर्भ रही बच्चिको जायजन्म भएकोले अंश माना चामल भराई पाउन र प्रतिवादीसँग लोग्ने नाता कायम गरी पाउन दावी लिई बयान गरेकी छन् । यसै वारदातका सम्बन्धमा विशेष प्रहरी विभागद्वारा प्रतिवादी उपर विभागी कार्वाही गर्ने प्रयोजनको लागि घटनाको छानविन हुने क्रममा यी वादीले मिति ०३३।३।१७ मा विशेष प्रहरी विभागमा बयान गर्दा पनि प्रतिवादी रतनलाल कनौडियाले २०३२ साल भाद्र महिनामा कार्यालय समय ५ बजेपछि छाइप गराउने बहानामा आफ्नो कोठामा बोलउन लगाई करणी गरेको र सोही करणीबाट गर्भ रही बच्चिको जायजन्म भएको भनी बयान गरेको व्यहोरा प्रमाणको रुपमा पेश भएको सम्बन्धित मिसिलबाट देखिन्छ । वादीले प्रसुती गृहमा अफ्नो नाउ अर्कै लेखाई बच्चीको बाबुको नाउँ नेखाएको र मिति २०३३।३।२१ मा स्वहस्ताले महान्यायाधिवक्तको कार्यालयमा दिएको निवेदनमा भारतीइ केटासँग सहवासबाट बच्चीको जायजन्म भएको भन्ने उल्लेख भएको भनी प्रतिवादीले पुनरावेदन जिकिर लिएको तर्फ विचार गर्दा यि वादीले प्रसुति गृहमा भर्नाहुँदा आफ्नो थर कनौडिया नै लेखाएको देखिन्छ भने वादीले २०३३।३।२१ को महान्यायाधिवक्तालाई सम्बोधन गरी दिएको निवेदनमा माथि उल्लेखित कुराहरुको कुनै जिकिर नलिई भारतीय केटासँग हितचित मिली करणी लिनु दिनु भई गर्भ रहेको भनी प्रतिवादी रतनलालसँगको सम्बन्ध नदेखाएको भएता पनि विशेष प्रहरी विभागमा २०३३।२।२३ मा ततिम्बा बयान गर्दा रतन लाल कनौडियाले नै उक्त कागज डर त्रास देखाई लेख्न लगाइदिन लगाएको भन्ने कुरा व्यक्त गरेको देखिन्छ । उक्त निवेदनमा उल्लेखित भारतीय केटा भनीएका व्यक्तिको नाम, थर वतन समेत केही खुलेको देखिदैन । र, प्रसुति गृहमा समेत प्रतिवादीकै निर्देशन बमोजिम वास्तविक नाउ नलेखाएको भन्ने वादीको भनाई पनि रहेको पाइन्छ । कसैको प्रभावमा नपरी त्यस्तो व्यहोरा आफै रेणुले लेखेको अवस्थामा सो कागज मुद्दा हेर्ने अड्डा वा अदालतमा नदिई महान्यायाधिवक्ताको कार्यालयमा दिनुपर्ने अवस्था पनि नदेखिएको र पुनः प्रस्तुत मुद्दा गरी कार्वाही पर्ने मनासिब कारण पपनि देखिन आउँदैन । वादी रेणुले गोप्य यौन सम्पर्कबाट गर्भ धारण गरी माइतीबाट निकाला समेत भउको निजको तत्कालिन अवस्था, प्रतिवादीको पदीय हैसियत समेतको वादीमा पर्न सक्ने प्रभाव र यि प्रतिवादीसँग करणी लिनु दिनु भएको कुरालाई लएर कारवाही उठी सकी वादी रेणुको बयान समेत भइसकेको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयमा परेको निवेदन व्यहोराबाट वादीको विशेष प्रहरी विभागमा भएको निवेदन व्यहोराबाट वादीको विशेष प्रहरी विभागमा भएको बयान असत्य भनी मान्न सकिने आधार देखिदैन । उल्लिखित मिति ०३३।३।२१ को निवेदनको सम्बन्धमा कारकापमा वागमती अञ्चल अदालतमा मुद्दा चली सर्वोच्च अदालतबाट २०४०।१०।१८ मा करकाप मुद्दा खारेज भैकोले उक्त २०३३।३।२१ को कागजले प्रमाणिकता पाएको छ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर भएकोमा उल्लेखित २०४०।१०।१८ को यस अदालतको फैसला हेर्दा करकापसँग गराएको भनी दावी लिएको २०३३।३।२१ को महान्यायाधिवक्तालाई सम्बोधन गरी लेखेको निवेदन प्रमाणमा लिन मिल्ने हो होइन भन्ने सम्बन्धमा अंशमाना चामल मुद्दाबाट नै विचार हुने हुदा त्यसतर्फ बोली रहन परेन भनी दावा नभएको कुरामा अदालतैबाट विवाद उठाई कारवाही नै चल्न नसक्ने अवस्थामा करकाप तर्फ कार्वाही उठाई बागमती अञ्चल अदालत र म.क्षे.अ. बाट भएको दुवै फैसला गल्ती बदर भई प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ भन्ने फैसला भएको देखिदा उक्त मिति २०४०।१०।१८ को फैसलाले २०३३।२।२१ को निवेदन कागजलाई प्रमाणिकता प्रदान गरेको छ भन्ने अवस्था पनि देखिएन ।

            १९.    वादीले प्रतिवादीसँग करणी भएको वारदातका सम्बन्धमा उल्लेख गरेको शा.अ.कृष्ण श्रेष्ठा मिति ०३२।५।८ देखि ऐ. ३०गते सम्म विदा बसेको र टाइप राइटर बोकी लग्ने भनिएका अर्दली बद्रि प्रसाद जैसीले मिति २०३२।७।२५ मा मात्र अस्थायी नियुक्त भएको भन्ने महान्यायाधिवक्तको कार्यालयको पत्रको आधारमा पुनरावेदन जिकरि लिइएको तर्फ विचार गर्दा सामान्यतयाः गर्भ रहेको ९ महिना पश्चात बच्चाको जायजन्म हुन्छ । प्रस्तुत मुद्दामा वादीले छोरी जन्मि सकेपछि दावी लिएको ९,१० महिना अगाडिको प्रतिवादीसँग यौन सम्बन्ध रहेको कुराको एकिन मिति खुलाउन नसकेको कुरा अस्वभाविक नहुने तथा यसरी एकिन मित खुलाउन नसकेतापनि २०३२ साद भाद्र महिना सम्म उल्लेख गरेको र प्रसुति गृहको रिपोर्टबाट पनि वादीको २०३२ साल भाद्र महिना देखि महिनाबारी रोकिएको भन्ने रहेको छ । यस्तो अवस्थामा करणी भई गर्भ रहेको एकिन मिति वादीले खुलाउन नसकेकैकुराले मात्र प्रतिवादीको जिकिर पुष्टि हुन सक्ने अवस्था देखिएन । सार्थ टाइप बोकी लाने भनिएका पिउन २०३२।७।२५ मा अस्थायी नियुक्ति पाउने बद्रि प्रासाद जैसी नै हुन भन्ने वादीको किछानी दाबी भउको पनि पाइदैन । त्यसै गरी काठमाडौं जिल्ला अदालतबाट वहु विवाह मुद्दा तामेलीमा रहेकोले त्यस मुद्दाबाट आरोपित घटना वा अपराध खम्बिर नभएकोले नै अकाट्य रुपमा प्रमाणित छ भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा यि वादी प्रतिवादी दुवैलाई प्रतिवादी बनाई वादी श्री ५ को सरकाले मुद्दाको तहकिकात गरी का.जि.अ.मा बहु विवाह मुद्दा दायर गरेको कुरामा मुख मिलेकै देखिन्छ । सो मुद्दा हदम्याद नाघी दायर भएको कारण जनाई का.जि.अ. बाट तामेलीमा राखेको देखिन्छ । यसरी हदम्याद नाघेको कार्य विधिगत कारणबाट सो वहुविवाह मुद्दा तामेलीमा राखिएको कुराले वादी प्रतिवादीलाई उक्त मुद्दामा सजाय हुने वा नहुने भन्ने विषयसँगमात्र सरोकार राख्ने हुँदा सो मुद्दा तामेलीमा रहेबाट वादी प्रतिवादी विचको सम्बन्धनै स्थापित हुन नसक्ने भन्ने पुनरावेदन जिकिरसँग पनि सहमत हुन सकिएन ।

            २०.   यसरी प्रतिवादीको करणी विर्यबाट गर्भ रही बच्चिको जायजन्म भएको भन्ने वादी दावी, सोही वारदातको सम्बन्धमा विषेश प्रहरी विभागमा दावीको यावत घटनाक्रमहरुलाई उल्लेख गरी वादीले गरेको बयानलाई वादी प्रतिवादी बीच सम्बन्ध् रहेको भनी बकपत्र, प्रतिवादी रतनलाल कनौडियाको रगतको गु्रप रेणुको छोरीको सम्भावित बाबुको रगत ग्रुपमध्ये पर्दछ भन्ने केन्द्रिय प्रयोगशालाको मिति २०३४।५।२३ को रिपोर्ट, यसै वारदाताको सम्बन्धमा प्रतिवादी उपर विशिष्ठ श्रेणीको वरिष्ठ सरकारी अधिवक्ताको पदमा का.मु. भई रहेकोले कार्यालयकै कर्मचारीसँग अनुचित सम्बन्ध राखी कार्यालयमा दुराचार गरेको आरोपमा विशेष प्रहरी विभागबाट घटनाको तथ्य समेत बुझि विभागीय कार्वाही भई प्रतिवादीलाई भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतया अयोग्य ठहरीने गरी नोकरीबाट बर्खास्त गर्ने भन्ने २०३३।५।२३ को श्री ५ को सरकारको निर्णय भएको र सो उपर प्रतिवादीले दायर ग।रेको उत्प्रेषणको रिट निवेदन यस अदालतको फुलबेन्चबाट मिति २०४०।५।३ गते खारेज भएको तथ्यका साथै वादी प्रतिवादीको मतहतको निम्नस्तरको कर्मचारी भएको विभिन्न घटनाका परिस्थितिहरुबाट समेत समर्थित भइ रहेको अवस्थामा अन्यथा प्रमाणित नभएसम्म आमाले मनेको कुरालाई नै सो मन्नु पर्ने हुन्छ, भन्ने बच्चि विष्ट विरुद्ध कबिन्द्र बहादुर भएको ने.का.प. २०३४ पृष्ट १३८ र वाङदेल विरुद्ध जानु तामाङनी भएको ने.का.प. २०४५ पृष्ट १२७ को मुद्दामा प्रतिपादीत सिद्धान्त समेतको आधारबाट वादी रेणुको कोखबाट जन्मेको बच्चि वादी दावी बमोजिम प्रतिवादी रतनलाल कनौडियाको करणी विर्यबाट जायजन्म भएको होइन भन्न सक्ने स्थिति देखिएन । साथै वादी प्रतिवादी बिच करणी लिनु दिनु भई छोरीको जायजन्म भएको अवस्थमा यि वादी प्रतिवादी बस्च लोग्ने स्वास्नीको नाता कायम हुने समेत ठहर्छ । अतः वादी प्रतिवादी बीच लोगने स्वास्नीको नाता कायम हुने ठहर्याइएको पुनरावेदन अदालत पाटनको मिति २०५१।४।२७ को इन्साफ मिलेकै देखिदा सदर हुने ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । दायरीबाट मुद्दाको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. कृष्णजंग रायमाझी

 

इति सम्वत् २०५५ साल वैशाख ११ गते रो ६ शुभम्.......

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु