शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४०९-१ - उत्प्रेषणको आदेश जारी गरिपाउं

भाग: २२ साल: २०३७ महिना: माघ अंक: १०

निर्णय नं. १४०९-१  ने.का.प. २०३७

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ रि.फु.नं. ३९

आदेश भएको मिति :   २०३७।१०।३।६ मा

निवेदक : जि. सप्तरीको चावरबरी गा.पं.वडा नं. ५ बस्ने सुनरदास कथवनीया

विरूद्ध

विपक्षी : श्री का.मु. भूमिसुधार अधिकारी भू.सु.का.सप्तरीसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) हरूवाहीमा जग्गा जोत्ने व्यक्ति मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउने लाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।

 (प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

आदेश

          न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दा ०३६।८।२७।५ मा डिभिजन बेञ्चबाट निर्णय हुँदा ०३५।८।८।५ को डि.बे. को निर्णयसँग रुलिङ बाझिएको भनी निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको रहेछ ।

          २.  तथ्य यस प्रकार छ : जगदीश्वरको नाउँमा दर्ता रहेको कि.नं. १९९ को ०१५ र कमलेश्वर दासको नाउँको कि.नं. २३९०१७ र कि.नं. १९ को २१३ मध्ये उत्तरपूर्व तर्फबाट ०० रामशेवक दासको नाउँको कि.नं. २७२ को ०१२१६ मध्ये दक्षिणतर्फबाट ०० र सुनरदास नाउँको कि.नं. ११९ को ०१७७ मध्ये दक्षिणको पूर्वबाट ०० जग्गा स्वर्गीय पिता फागु खत्वेले मोहीमा कमाइआएको ०२३।२।३० मा जोताहा स्थायी निस्सा समेत पाएको बाबु परलोक भए सर्भे नापी हुँदा विरामी परेकोले दर्ता गराउन छूट भएकोमा दर्ता गरी मेरो नाउँमा मोही नामसारी गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने रामेश्वरको मिति ०३५।८।१८ को निवेदन रहेछ । साथै कि.नं. १६२ को ०० जग्गा मोठ श्रेस्तामा सुन्दर दासको नाउँमा भएकोले मेरो नाउँमा मोही नामसारी दर्ता गरी प्रमाणपत्र पाउँ भन्ने मिति ०३५।९।३ मा अर्को निवेदन गरेको रहेछ । फागुको नाममा प्रकाशित अनुसूची म्यादभित्र बदर गराएको छैन साथै स.जि.अ.बाट ०२४ साल चैत्र ८ गते हटक गरेको ठहरी भएको निर्णय बदर गराएको छैन । दावी मध्येको कि.नं. २३९ को ०१७ मा कमलेश्वर दासको घर छ भन्ने प्र.कमलेश्वर दास, बसन्तप्रसादको र फागु खत्वे कमलेश्वर दासको हलो जोती आएको निज मरेपछि निजको हक समेत समाप्त भएको भन्ने जगेश्वर दास र कि.नं. १६२ को जग्गा सुन्दर दासको दर्ता कायम छ निवेदकको दावीमा रामसेवक दासको भनी गलत दावी लिएको छ भन्ने समेतको प्र.रामसेवक दास प्र.सुन्दर दासको प्रतिवादी परेकोमा फागुको नाउँमा प्रकाशित २ नं. अनुसूचीको म्यादभित्र प्रतिवादीहरूको उजूर नपरेको र निवेदकको बाबु मरिसकेको प्रतिवादीहरूले समर्थन गरिसकेकोमा प्रतिवादीहरू कुनै पनि पत्याउन नमानेको साथै मालपोत कार्यालयबाट प्राप्त जवाफमा जो.खा.भनी उल्लेख भएकोले निवेदक मोही ठहर्छ भन्ने समेतको विपक्षी भू.सु.का.सप्तरीको ०३५।११।२१ को निर्णय पर्चा रहेछ।

          ३.  रिट निवेदनको जिकिर यस प्रकार छ : हरूवाही भनेको हरूवा काम गर्नेलाई भनिन्छ जो पारिश्रमिक दिई ज्यालामा हलो जोत्ने र काम गर्न राखिएको व्यक्तिलाई भनिने हो सो व्यक्ति मोहीको परिभाषामा पर्दैन । ज्याला खाजामा काम गर्ने व्यक्तिलाई भू.सु.ऐन, ०२१ को दफा २(ख) को परिभाषाको गलत अर्थ गर्दै मोहीको निर्णय गरेको र कि.नं. १६२ को जग्गामा म सेवकका नामबाट प्रकाशित लगत र ४ नं. जो.अ.नि.बाट विपक्षीको बाबु मेरो मोही हुन नसक्नेमा मोहियानी हकको प्रमाण पत्र दिने गरिएको नापीको अवस्थामा विपक्षी मोही नभएबाट जो.खा.भनी जनिएको विपक्षीको बाबु मोही भएको भए कबुलीयत बाली बुझाएको भर्पाई हुनुपर्नेमा केही नभएकोमा विपक्षीलाई मोही मान्दै गरिएको निर्णय प्रत्यक्ष कानुनी त्रुटि हुनुको अतिरिक्त विभिन्न व्यक्तिहरूको विभिन्न जग्गाको सम्बन्धमा अ.बं.७२ नं. को समेत प्रतिकूल निर्णय गरिएकोले भन्नेसमेत जिकिररहेछ ।

          ४.  हरूवा मोही हुन सक्दैन भन्ने जिरह सम्बन्धमा ०३४ को रिट नं. ११३७ को नजीर लगाई पाउँ कि.नं. १६२ को जग्गामा मोही लाग्न नसक्ने भन्ने दावी आधारहीन छ भर्पाई हुनुपर्छ भन्ने सम्बन्धमा भू.सु.ऐन, ०२१ को दफा २५(१) बमोजिम मोहीको हकमा त्यस्तो प्रकृया नलाग्ने कुरा निर्विवाद रहेकोमा निवेदकले आवश्यक कानुनी सुविधा खोजेको हो । फागुले मोहियानी विवरण भरी सोही अनुरूप नियम ६ बमोजिम भएकोमा म्यादभित्र कसैको उजूर नपरेकोले सबै जग्गा एवं जग्गावालाको एउटै ४ नं. जो.अ.नि.पाएको र फागुको नाउँको ४ नं. जो.अ.नि.मोही हकको प्रमाणपत्र सरह हुनगएको प्रष्ट छ । त्यस्तो स्थायी प्रमाणपत्रलाई एउटा प्रमाणपत्र दिनुपर्नेमा धेरै जग्गावालाको भए पनि एउटै प्रमाणपत्र दिइने हुँदा सो दिनलाई अ.बं.७२ नं. विपरीत भन्नु निवेदकको तर्फ तथ्यहीन भएकोले यस कार्यालयबाट भएको निर्णय कानुन संगतै भएकोले रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ रहेछ ।

          ५.  फ्नो हकमा आघात पुगेको कुरामा तत्काल उपचारको अनुशरण नगरी मैले आवाद गरी रहेको अवस्था अनुचित विलम्ब गरी दिएको निवेदन खारेज हुनुपर्छ भन्ने समेतको रामेश्वर खत्वेको लिखितजवाफ रहेछ ।

          ६.  मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनुपर्ने भूमिसम्बन्धी ऐनको दफा २(ख) मा व्यवस्था भएको पाइन्छ र जग्गा जोती उब्जनीको हिसाबमा कानुनद्वारा निर्धारित बाली बुझाई भोग गर्न पाउने व्यक्ति देखिन आउँछ । विपक्षी रामेश्वर खत्वे निवेदकको हरूवा होइन भनी भन्ने र लिखितजवाफमा कुन खण्डन गर्न समेत नसकेको हुनाले त्यसप्रकार हरूवा भई काम गरेका विपक्षी रामेश्वर खत्वेले कानुनद्वारा निर्धारित गरे बमोजिमको बाली बुझाउनुपर्ने शर्तमा जग्गा जोतेको नभई हरूवाईमा जोतेको भन्ने देखिन आएकोले ऐनले मोहीको हक प्रदान नगरेको हरूवालाई मोही ठहर गरेको विपक्षी भूमिसुधार कार्यालय सप्तरीको मिति ०३५।११।२१ को निर्णय ऐनको विपरीत निर्णय देखिन आयो । अतः उपरोक्त उल्लेख भएबमोजिम हरूवालाई मोही कायम गरेको विपक्षी भूमिसुधार कार्यालय सप्तरीको ०३५।११।२१ को ऐन विपरीतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । निवेदक यामुनप्रसाद देव विपक्षी जिल्ला कार्यालय भूमिप्रशासन शाखा सप्तरीका श्री भूमिप्रशासक समेत भएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने ०३४ सालको रि.नं. ११३७ को निवेदनमा प्रत्यर्थी महावीर मोचीले विवादको जग्गा हरूवाही शर्तमा कमाउन पाएकोमा विवाद छैन । भूमिसम्बन्धी ऐनको दफा २५(२) को कानुनी व्यवस्था अनुसार विवादग्रस्त जग्गामा प्रत्यर्थी महावीरको मोहियानी हक कायम भएकै सम्झनुपर्ने देखिन आउँछ । तसर्थ भूमिप्रशासकको निर्णय कानुन संगत नै देखिएकोले रिट निवेदन खारेज हुने ठहर्छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३५।८।८।५ को निर्णयसँग सहमत हुन नसकी रुलिङ्ग बाझिन गएकोले निर्णय निमित्त प्रस्तुत मुद्दा सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ३३ अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने ०३६।८।२७।५ को डिभिजन बेञ्चको निर्णय रहेछ ।

          ७.  निवेदक सुनरदास कथवनियाको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले हरूवाही शर्तमा कमाउने व्यक्ति मोही कायम नहुने हुनाले मोही कायम गरेको निर्णय बदर हुनुपर्छ भन्ने समेत र विपक्षी भू.सु.कार्यालयतर्फबाट खटिई आउनुभएको विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले भूमिसम्बन्धी ऐनले जग्गावालाबाट कुनै शर्तमा जग्गा कमाई आउँने मोही कायम हुने हुँदा हरूवाही शर्तमा कमाउने पनि मोही हुने हुनाले मोही कायम गरेको भू.सु.कार्यालयको निर्णय कानुन बमोजिम छ भन्ने समेत र विपक्षी रामेश्वर खत्वेको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले हरूवाहीमा कमाएको भनी मोही लगत भरी लगत प्रकाशन भएकोमा उजूर समेत नपरी अन्तिम भएको ४ नं. जो.अ.नि.समेत पाइसकेको र हरूवाहीमा कमाउन पनि मोही हुने हुँदा मोहीकायम गरेको निर्णय कानुनबमोजिम छ भन्नेसमेत बहस प्रस्तुत गर्नु भएको छ ।

          ८.  यस निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दाको डि.बे.को निर्णय ०३५।८।८ को डिभिजन बेञ्चको निर्णयसँग रुलिङ्ग बाझिएको भनी निर्णयार्थ यस बेञ्चमा पेश हुनआएको रहेछ ।

          ९.  प्रस्तुत मुद्दामा रुलिङ बाझियो भनेको ०३५।८।८ को डिभिजन बेञ्चबाट निर्णय भएको निवेदक यामुनप्रसाद देव विपक्षी जि.का.भूमिप्रशासन शाखा सप्तरी भएको रिट नं. ११३७ को उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने मुद्दामा भएको निर्णय हेर्दा हरूवाही शर्तमा कमाइआएको माहावीर मोची चमार भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५(२) को कानुनी व्यवस्था अनुसार मोही हक कायम भएको सम्झनुपर्ने देखिन आउँछ भनी मोही कायम गरी निर्णय गरेको र प्रस्तुत मुद्दामा हरूवाहीमा कमाउनेलाई भूमिसम्बन्धी ऐनले मोहियानी हक प्रदान नगरेकोले भनी हरवाई मोही कायम नहुने गरी निर्णय भएको समेत देखिएको छ ।

          १०.  अब प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३६।८।२७ मा भएको निर्णय मिले नमिलेको के हो भन्ने तर्फ निर्णय दिनुपर्ने देखिएकोले हरूवाहीमा जोत्ने मोही कायम हुने नहुने के हो भन्ने तर्फ कानुनी व्यवस्था हेर्दा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (ख) मा मोही भन्नाले अरू जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छभन्ने उल्लेख भएबाट कुनै शर्तमा जग्गा कमाई आउँने मोही हुने भन्ने उक्त दफा २(ख) बाट प्रष्ट गरेको छ । अब कुनै शर्तमा कमाएको भन्नाले जग्गावालाबाट मोहीले कमाउने शर्त सम्बन्धमा विचार गर्दा भूमिसम्बन्धित ऐन, २०२१ को दफा २ को (घ) मा कूत भन्नाले जग्गावालाको जग्गा कमाउन लिए बापत मोहीले जग्गावालालाई बुझाउने नगदी वा जिन्सी वा दुवै सम्झनु पर्छभन्ने उल्लेख भएबाट जग्गावालालाई नगदी वा जिन्सी बुझाउने गरी जग्गावालाबाट जग्गा कमाउन लिने कुरा पनि प्रष्ट भएकै छ यस स्थितिमा उपरोक्त भूमिसम्बन्धी ऐन, २०२१ को दफा २ को (ख) र (घ) को उपरोक्त कानुनी व्यवस्थाबाट जग्गावालालाई कूत बुझाउने शर्तमा जग्गा कमाउनेलाई मोही भई कमाउने भन्नुपर्ने प्रष्ट हुनआएको छ ।

          ११.  विपक्षीको १ नं. लगतमा पनि हरूवाही भन्ने जनाई लगत भरेको देखिएको जग्गावालालाई कुनै नगदी वा जिन्सी कुनै बुझाउने शर्तमा कमाएको वा बुझाइआएको भन्ने नदेखिएको त्यस्तो हरूवाहीमा जग्गा जोत्ने व्यक्ति उपरोक्त लेखिएअनुसार मोही हुने व्यवस्था भूमिसम्बन्धी ऐनमा भएको नदेखिएको जग्गावालाको जग्गामा काम गर्ने गरी हरूवाही भई काम गरी कमाउनेलाई मोहियानी हक प्रदान नहुने देखिएकोले हरूवाहीलाई मोही कायम गरेको विपक्षी भूमिसुधार कार्यालय सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहराएको डिभिजन बेञ्चको ०३६।८।२७।५ को निर्णय मनासिव ठहर्छ । यो आदेश विपक्षी भू.सु.का.सप्तरीमा पठाउन प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उपरोक्त रायमा सहमति छ ।

 

प्र.न्या. नयनबहादुर खत्री, न्या. बासुदेव शर्मा

 

इति सम्वत् २०३७ साल माघ ३ गते रोज ६ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु