निर्णय नं. ३८४२ - सवारी ज्यान

निर्णय नं. ३८४२ ने.का.प. २०४६ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको फौ.पु.नं. ४९८
फैसला भएको मिति : २०४६।३।१८।१ मा
पुनरावेदक/प्रतिवादी : जि. बैतडी त्रिपूरा सुन्दरी गा.पं. वा.नं. ८ घर भई कैलाली कारागारमा बन्दी धनसिंह थापा
विरुद्ध
विपक्षी/वादी : लोकराज पन्तको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सवारी ज्यान
§ मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत देखिँदैन, सवारी चलाउन अनुमति प्राप्त नभएको प्रतिवादीले चलाएको ट्याक्टर ब्रेक फेल भई मृत्यु भएको देखिँदा ज्यान मार्ने सम्मको नियत नभई हेलचेक्र्याईबाट ज्यान मरेको देखिने ।
(प्रकरण नं. २२)
§ मारौं भन्ने प्रतिवादीको नियत नभै हेलचेक्र्याईबाट सवारी चलाउँदा दुर्घटना हुन गएको अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गर्नु न्यायसंगत नदेखिने ।
(प्रकरण नं. २३)
§ ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा मनसाय निर्णायक तत्व हुने हुँदा अवस्था अनुसार जुनसुकै दफा पनि प्रयोग हुन सक्छन यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय गर्ने गरेको न्यायसंगत नदेखिने ।
(प्रकरण नं. २४)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री थानेश्वरप्रसाद
विपक्षी/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
फैसला
न्या. महेशरामभक्त माथेमा : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त नबुझी प्रतिवादी धनसिंह थापाको पुनरावेदन परी साधक सदर समेतको लागि दर्ता भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ ।
२. मिति २०४३।१।९ गते बेलुकी अं.६ बजे मेरो भतिजा तर्कराज पन्त ध.न.पं. वार्ड नं. ३ चौराहा देखि उत्तर पट्टि पुग्दा ट्राफिक प्रहरी धनसिंह थापाले बिना लाइसेन्स से.अं. ६६ नं. को ट्रेक्टर हाँकी कुल्ची तिर्थराज पन्तलाई मारेकाले कारवाही गरी पाउँ भन्ने समेतको लोकराज पन्तको जाहेरी दर्खास्त ।
३. धनगढी चौराहाबाट अं.१५ गज उत्तर तर्फ सडकबाट अं. ५२ फिट साइडमा लाश रहेको, सडकमा स्पीड मार्क केही नदेखिएको, लाशको टाउको, नाक, मुखबाट रगत आएको टाउकोमा निधारदेखि माथि ६” लम्बाई ३” चौडाई घाउ भई प्रशस्त रगत निस्केको भन्ने समेत व्यहोराको घटनास्थल तथा लाश प्रकृति मुचुल्का ।
४. २०४३।१।९ गते बेलुकी ५,६ बजे म ट्राफिक आईलैण्डमा बसेको बेलामा से.अ.नं. ६६ नं. को ट्रेक्टर नरबहादुर देउवाले चलाई चौराहा तर्फ ल्याउदाँ सो ट्रेक्टरको हेडलाइट बनाएर ल्याउनु पर्यो भनी मैले भने पछि सो ट्रेक्टर घुमाई वर्कशप तिर लैजाँदा म पनि ट्रेक्टरमा बसी मलाई ट्रेक्टर चलाउन सिकाई दिनु पर्यो भनी भन्दा चालकले हुन्छ भनेकोले म ट्रेक्टरको सिटमा बसी स्टेरिङ समातें । चालकले गियर लगाई दियो । मेरो हात अचानक एक्सीलेटरमा लागी ट्रेक्टर बढी दौड्न लाग्यो । साइड लिन मृतकले आफ्नो साइकल एक्कासी घुमाउँदा निजलाई बचाउन भनी मैले ट्रेक्टरलाई बायाँ तर्फ दबाएर हाँक्न लागें । तै पनि ट्रेक्टरको अगाडि सिसाले साइकललाई छोई धक्का दिँदा रोडको बाँयातर्फ हुत्तिएर गै मृतक र निजको साइकल लड्यो । ट्रेक्टर पनि कन्ट्रोल नभई गुड्दै गई अगाडि खाल्टोमा गई अडियो । मृतकको नाक मुखबाट रगत आएको अचल भएको देख्दा म र नरबहादुरले ट्राफिक पोष्टमा गई ड्युटीवालासंग भनेको हु भन्ने समेतको धनसिंह थापाले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान ।
५. से.अ.नं. ६६ नं. को ट्रेक्टर वैट्री चेक गराएर फर्कन लाग्दा चौराहामा ट्राफिकले साइड दिई ट्रेक्टर रोक्न लगाएपछि मैले रोकें । म ट्रेक्टरमा चढछु भनी प्र.ज.धनसिंह थापाले भन्दा मैले गाडी न्युट्रलमा गरिदिएँ । म ट्रेक्टरको बायाँ साइडमा बसी धनसिंह सीटमा बसी स्टेरीङ्ग समाती गीयर लगाई गाडी अगाडि लगें । केही अगाडि पुगेपछि मृतक साइकलमा वायाँ तिरबाट जाँदै थियो । साइकलमा यता जाउँकी उता जाउँ भनी यताउति गरी रहेको थियो । धनसिंहले पनि गाडी यता काटूँकी उता काटूँ भनी स्टेरिङ्ग यताउति गरिरहेको थियो । त्यतिकैमा मृतकको साइकलमा ठक्कर लागी सडकको दायाँतर्फ गई लड्यो र स्टेरिङ्ग पनि छोडी दियो । ट्रेक्टर पनि त्यतै गयो । मृतक लडे पछि निज माथि र साइकल माथि ट्रेक्टर गएको थियो । टेक्टर चलाउन सिकाई दिनु पयो भनी धन सिंहले मसंग भनेको थिएन भन्ने समेतको चालक नरबहादुर देउजाले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान ।
६. नरबहादुर देउपाले हाँकी ल्याएको ट्रेक्टर सिभिल ड्रेशमा भएको धनसिंह थापाले ड्राइभर सीटमा बसी नरबहादुरलार्ई साइडमा राखी लापरवाही साथ ट्रेक्टर चलाई लैजाँदा तिर्थराज पन्तलाई ठक्कर लागी मृत्यु भएको हो भन्ने समेतको सर्जमिन मुचुल्का ।
७. धनसिंह थापाले चालक नरबहादुर देउपाले चलाई राखेको ट्रेक्टर रोकी आफूले लापरवाही साथ हाँकेको देखिएको हुँदा सवारी ऐन, २०२० को दफा १५ (१) अन्तर्गत मु.ऐ.ज्या.सं.को १३(३) अनुसार धनसिं थापालाई सजाय गरी पाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।
८. चालक नरबहादुर देउपाले चलाई ल्याएको से.अ.नं. ६६ नं. को ट्रेक्टरको हेडलाइट बनाउनु पर्यो भनी मैले भन्दा बनाउने ठाउँ देखाई दिन भनी सोही ट्रेक्टरमा बसी जाँदा ट्रेक्टर बनाउने ठाउँसम्म नपुग्दै चालकले रोड कटाउँदा रोड आउटमा उभीएको केटालाई ठक्कर लागी त्यहीं मृत्यु भएको हो । मैले प्रहरी समक्ष गरेको बयानमा ट्रेक्टर चलाएको हुँ भनी भनेको थिइन । प्रहरीले लेखी सहीछाप गर भनेकोले सहीछाप गरिदिएको हुँ । म उपर किन आरोप लगाएका हुन् भन्ने समेतको प्र. धनसिंह थापाले अदालत समक्ष गरेको बयान ।
९. वर्कशपबाट बनाई ल्याएको ट्रेक्टर धनसिंह थापाले चौराहामा रोक्न लगाई गाडी म चलाउँछु भनी गाडीमा बसी गाडी चलाई लैजाँदा गाडीले तिर्थराजलाई ठक्कर दिई मृतकको मृत्यु हुन गएको हो भन्ने समेतको बुझिएका चालक नरबहादुर देउपाले गरेको बकपत्र ।
१०. नरबहादुरले हाँकेको ट्रेक्टर ट्राफिक प्रहरी धनसिंह थापाले जवरजस्ती खोसी चलाउँदा मेरो भतिजा तिर्थराज पन्तको मृत्यु भएको हो भन्ने समेतको जाहेरवाला लोकराज पन्तले गरेको बकपत्र ।
११. नरबहादुरले चलाएको ट्रेक्टर प्र. धनसिंह थापाले रोकी सो ट्रेक्टरमा चढी लापरवाहीका साथ चलाएको कारणबाट मृतक तिर्थराज पन्तलाई ठक्कर लागी निज तिर्थराज मरेको हो भन्ने समेत यज्ञराज पाठक समेत सर्जमिनको १२ जना मानिसले गरेको पृथक पृथक बकपत्र ।
१२. अधिकारप्राप्त अधिकारी समक्ष प्र.धनसिंह थापाले बयान गर्दा से.अ.नं. ६६ नं. को ट्रेक्टर मैले चलाउँदा तिर्थराज पन्तको मृत्यु भएको हो भनी भनेको र अदालतमा बयान गर्दा सो कुरालाई इन्कार गरे तर्फ कुनै सबूद दिन नसकेको, चालक नरबहादुरले अधिकारप्राप्त अधिकारी तथा अदालत समक्ष बयान बकपत्र गर्दा धनसिंह थापाले ट्रेक्ट्रर चलाउँदा तिर्थराजको मृत्यु भएको भनी उल्लेख गरी दिएको जाहेरवाला तथा सर्जमिनका मानिसहरुले समेत धनसिंहले ट्रेक्ट्रर चलाउँदा तिर्थराजको मृत्यु भएको हो भनी बकी लेखाई दिएको समेतबाट प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्या.स.को १३ (३) नं. बमोजिम प्र.धनसिंह थापालाई सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । मृतकलाई मार्ने पूर्व रिस ईवि नभएको लापरवाही साथ चलाएको कारणबाट दुर्घटना भएको अवस्थालाई विचार गर्दा १० वर्ष कैद हुन मनासिब भएको भनी अ.बं. १८८ नं. बमोजिम राय समेत लगाई कै.जि. अ.बाट मिति २०४४।७।२५। मा भएको फैसला ।
१३. चलिरहेको ट्रेक्टरलाई सवैले हेरिरहने अवस्था नहुनेमा मैले ट्रेक्टर लापरवाही साथ चलाइरहेको देखेको भन्ने सर्जमिनका मानिसहरुको निराधार भनाईलाई प्रमाणको रुपमा ग्रहण गरिएको वादी पक्षबाट मेरा बिरुद्ध एकतर्फी वातावरण तयार गरी प्रमाणको सृजना गरिरहेको र प्रहरीमा मेरो राजीखूसीबाट नभएको बयानलाई आधार लिई मेरो विरुद्ध सर्वश्वसहित जन्मकैद हुने ठहराएको कै.जि. अ.को इन्साफ त्रुटिपूर्ण तथा अन्यायपूर्ण हुँदा सो फैसला बदर गरी सफाई पाउँ भन्ने समेतको धनसिंह थापाले से.अं.अ.मा दिएको पुनरावेदन जिकिर ।
१४. सार्वजनिक चौराहामा अन्य व्यक्तिबाट हुने दुर्घटनामा नियन्त्रण गर्ने व्यक्तिले नै अरुले चलाई ल्याएको ट्रेक्टर रोकी सिक्न भनी लापरवाही साथ चलाउँदा तिर्थराज पन्तलाई किची सोही कारणबाट निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी अनुसार प्र.धनसिंह थापालाई कसूरदार ठहराई अ.बं. १८८ नं. अनुसार घटी सजाय १० वर्ष कैद हुने राय समेत लगाएको कै.जि. अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेतको से.अं.अ.को मिति २०४५।१।२४ को फैसला ।
१५. म ट्रेक्टरमा बस्नु मात्र मेरा विरुद्ध अभियोग सिद्ध गर्न यथेष्ठ आधार भएको मान्न मिल्दैन । आफू स्वयं ट्रेक्टरमा बसेको चालक नरबहादुरले पूर्णरुपमा मलाई गाडी चलाउन छुट दिई दुर्घटना हुँदासम्म पनि हेरी बसेको होला भनी विश्वास लिन सकिन्न । मैले ट्रेक्टर चलाएको भन्ने कुरा असत्य हुँदाहुँदै नरबहादुरलाई केवल सबूद सरह बुझ्ने कार्यले गर्दा वादी पक्षले म प्रति दुर्भावना लिएको प्रष्ट भएकोले वादी पक्षको माग दावी अनुसार नै मलाई सजायभागी बनाएको कै.जि. अ. तथा से.अं.अ.को इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेतको प्र.धनसिंह थापाले सुदूर पश्मिाञ्चल क्षेत्रीय अदालत समक्ष मिति ०४५।३।७ मा दिएको पुनरावेदन ।
१६. प्रतिवादी धनसिंह थापाले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान तथा नरबहादुर देउपाको बयान बकपत्र समेतको आधारबाट प्र.धनसिंह थापालाई वादी दावी बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको र मृतक तिर्थराज पन्तको ज्यान लिने मनसाय प्र.धनसिंह थापामा रहेको नपाइएको, केवल ट्रेक्टर चलाउन सिक्ने उद्देश्यले ट्रेक्टरमा बसी ट्रेक्टर चलाएको अवस्थामा निजको लापरवाहीको कारणले दुर्घटना हुन गई तिर्थराजको मृत्यु भएको, दुर्घटनाको अवस्था र प्रकृतिलाई विचार गर्दा निज धनसिंह थापालाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्न जाने देखिँदा निजलाई १० बर्ष कैद गर्न उपयुक्त देखी अ.बं. १८८ नं. बमोजिम राय लगाएको समेतको कै.जि. अ.को इन्साफ सदर गर्ने गरेको से.अं.अ.को इन्साफ मनासिबै देखिँदा साधक सदरको लागि सर्वोच्च अदालतमा पठाउने गरी गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४५।४।२० मा भएको फैसला ।
१७. सुदूर पश्मिाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसलामा चित्त नबुझी प्रतिवादी धनसिंह थापाको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।
१८. यस्मा जुन फैसला अनुसार यो साधक जाहेर हुन आएको छ । सोही फैसला उपर प्रतिवादी धनसिंह थापाको यस अदालतमा फौ.पु.न.४९८ मिति २०४५।६।२४।२ मा पुनरावेदन परी कारवाही शुरु अवस्थामा रहेको देखिँदा पुनरावेदन परेको मुद्दामा सोही तहबाट निर्णय हुने नै हुँदा साधकको डायरी लगत काटी कानुन बमोजिम गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४६।१।८ मा भएको आदेश ।
१९. प्रतिवादी धनसिंह थापाले चलाएको ट्रेक्टर परीक्षण गर्दा ब्रेकले बिल्कुलै काम नगर्ने भन्ने समेत व्यहोराको मेकानिक नातीकाजी श्रेष्ठको मिति २०४३।१।१० मा जि. प्र.का.कैलाली धनगढीमा प्रतिवेदन परी मिसिल संलग्न रहेको पाइयो । उक्त ब्रेकले बिल्कुलै काम नलिने स्थितिको ट्रेक्टर चलाएको कारणबाट दुर्घटना हुन गै मानिसको मृत्यु हुन गएको देखिएकोले त्यस्तो स्थितिमा ज्यानसम्बन्धीको महलको १३(३) बमोजिम सु.प.क्षे.अ. समेतबाट प्र.धनसिंहलाई सजाय गर्ने गरेको इन्साफ विचारणीय हुँदा अ.बं.२०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम छलफलको लागि उपस्थित हुन भनी म.न्या. का. लाई सूचना दिनु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासबाट मिति २०४६।१।८ मा भएको आदेश ।
२०. नियम बमोजिम पेश भएको प्रस्तुत मद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री थानेश्वरप्रसाद तथा विपक्षी वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले गर्नु भएको बहस जिकिर समेत सुनियो ।
२१. पुनरावेदन समेतको मिसिल अध्ययन गरी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ हेरी निर्णय दिनु पर्ने हुन आयो ।
२२. यस्मा निर्णयतर्फ विचार गर्दा मृतकलाई मारौं भन्ने प्रतिवादीको नियत देखिँदैन । सवारी चलाउन अनुमति प्राप्त नभएको प्रतिवादी धनसिंह थापाले चलाएको ट्रेक्टर ब्रेक फेल भई तीर्थराज पन्तको मृत्यु भएको देखिन्छ । ज्यान मार्ने सम्मको नियत नभई हेलचेक्र्याईबाट ज्यान मरेको देखिन आयो ।
२३. मारौं भन्ने नियत नभै हेलचेक्र्याईबाट सवारी चलाउँदा दुर्घटना हुन गएको यस अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गर्नु न्यायसंगत देखिएन ।
२४. सवारी ऐन, २०२१ को दफा ५१ मा कसैले यो ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप कुनै सवारी चलाएबाट मार्नेसम्मको इवी नभए पनि मानिस मर्न गए सो चालकलाई ज्यानसम्बन्धीको प्रचलित नेपाल कानुन बमोजिम सजाय गर्नु पर्छ भन्ने कानुनी व्यवस्था भएको देखिन्छ । तर यहाँ मारौं भन्ने नियत नलिइकन हेलचेक्राईबाट ज्यान मर्न गएको अवस्थामा पनि ज्यानसम्बन्धीको १३ नं. नै आकर्षित हुनुपर्छ भन्ने उक्त ऐनको मनसाय होइन । ज्यान जस्तो गम्भीर प्रकृतिको मुद्दामा मनसाय पनि निर्णायक तत्व हुने हुँदा अवस्थानुसार जुनसुकै दफा पनि प्रयोग हुन सक्दछन् । यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३ नं. प्रयोग गरी प्रतिवादीलाई सजाय गर्ने गरेको न्यायसंगत देखिएन ।
२५. सवारी चलाउने अनुमतिपत्र नभएको पुनरावेदकले हेलचेक्राईबाट चलाएको ट्र्याक्टरको ब्रेक फेल भई भवितव्य परी ज्यान मर्न गएको यस अवस्थामा मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) नं. अनुसार कैद वर्ष २ हुन्छ । साथै सवारी ऐन, २०२० को दफा ५४ (१)(क) बमोजिम ज्यान मारेकोले मृतकका हकदारलाई क्रिया खर्च बापत रु. दुई हजार र क्षतिपूर्ति बापत रु.४ हजार भराई दिने ठहर्छ । ज्यानसम्बन्धीको १३ नं. प्रयोग गरेको सुदूर पश्मिाञ्चल क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण देखिँदा केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक धनसिंह थापाके, माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले ठहर खण्डमा लेखिए बमोजिम क्रिया खर्च र क्षतिपूर्ति बापतको रकम मृतकलाई भराई दिए थुनामा बसेको मितिले हुने कैद भुक्तान भइसकेको देखिँदा थुनाबाट मुक्त गरी दिनु भनी शुरुमा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु ............. १
सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति ०४५।४।२० का फैसला बमोजिम समेत राख्ने गरेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई कट्टा गरी दिनु भनी शुरुमा लेखिपठाउन का.जि. अ.त. मा लगत दिनु.....................२
मिसिल नियामानुसार गरी बुझाई दिनु.....................३
उक्त रयमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल आषाढ १८ गते रोज १ शुभम् ।