शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८४३ - जग्गा खिचोला हक कायम

भाग: ३१ साल: २०४६ महिना: भाद्र अंक:

निर्णय नं. ३८४३    ने.का.प. २०४६            अङ्क ५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४४ सालको दे.पु.नं. ५२२

फैसला भएको मिति :      २०४६।४।३१।३ मा

पुनरावेदक/वादी : जि. महोत्तरी, गा.पं.घिरापुर वडा नं. ३ बस्ने लाल ठाकुर

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. महोत्तरी, गा.पं. नैनही वा.नं. ५ बस्ने हुकुम पाण्डेसमेत

मुद्दा : जग्गा खिचोला हक कायम

§  जिल्ला कार्यालयबाट २०३४।१।३१ मा हक बेहक गराउन सुनाई दिएको देखिँदा विवादको जग्गाको सम्बन्धमा ०३४ सालमा नै विवाद उठी सकेको मान्नु पर्ने ।

(प्रकरण नं. १६)

§  वारदात मिति पछिको कायम गरेर फिराद दिन आउँदैमा फिराद हदम्याद भित्र परेको भन्न नमिल्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गाना

फैसला

     न्या. महेशरामभक्त माथेमा : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :

      २.    जि. महोत्तरी नैन्ही गा.पं.सा.वा.नं. वार्ड नं. ९ मा पर्ने सार्दीन मिश्रको हकभोगको हुकुम पाण्डे देखि उत्तर, रामसिनेही देखि दक्षिण सडक देखि पश्चिम, हुकुम पाण्डे देखि पूर्व यति ४ किल्ला भित्रको ऐलानी बेनम्बरी जग्गा उत्तर दक्षिण ४४ हात पूर्व पश्चिम २१ हात र सो जग्गामा बनेको पूर्व मुखको फुसको घर एक समेत सारदीन मिश्रले मलाई २०३२ साल माघ १८ गते ठाडै बकसपत्रको लिखत रजिष्ट्रेशन गरी दिनुभयो । उक्त घर जग्गा भोगी आएको थिएँ । ०३८ साल चैत्र २७ गते बेलुका अन्दाजी ६।६१२ बजेको बखतमा प्र.हरु मेरो उक्त फुसको पूर्व मुखको घरलाई आफ्नो सहयोगीहरुको मद्दतबाट उखेली तोडी लग्नुको साथै उक्त जग्गामा मिसाई लिनु भएको भन्ने कुरा जानकारी पाई जग्गा भएको ठाउँमा जाँदा कुरा साँचो नै देखी यस्तो अनाधिकार किन गर्नुभयो भनी सोध्दा यो जग्गा तपाईको हैन मेरो हो जो मन लाग्छ गर्नु होस भनी भन्दै भयमास समेत देखाउनु भयो । प्रतिवादीहरु माथि फिराद लिई उपस्थित भएकोछु । रु. १२००।मोलिने मेरो हक भोगको उक्त उल्लेखित ०६ घडेरी जग्गाबाट प्रतिवादीहरुको खिचोला छोडाई चलन चलाइपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

      ३.    लिखत अनुरुपको दावी नै नभएको चौहद्दी र घरको लम्बाई चौडाई समेत फरक परेकोले वादीको दावा पुग्नसक्ने हैन । वादी दावीको जग्गामा खिचोला गरेको छैन । सरदीन मिश्रको मात्र ०६ धुर जग्गा थियो । सरदीन मिश्रको स्वास्नी मानकीले उपार्जन पाण्डेबाट २००३ साल वैशाख १७ गते रोज २ मा बकसपत्रको लिखत लेखाई महोत्तरी माल अड्डाबाट पारित समेत गरे गराएको थियो । उक्त जग्गाको साविक नं. ८६४६ र चौहद्दी मुटुक धारी से पूर्व श्रीधर से उत्तर माननीको दाता उपारजन पाण्डेले नै मात्र ०६ जग्गा दिएको सोही जग्गालाई आफ्नो इच्छाले चौहद्दी उल्लेख गरी क्षेत्रफल पनि बढाई सारदीन मिश्रले आफू माथि विदेशी मुद्दा परेपछि जग्गाको बचाउको लागि ज्वाई लाल ठाकुरलाई बकसपत्र गरी दिएको थियो । जग्गामा घर पनि छैन । अझ पनि ०६ जग्गा वादीकै भोगमा छ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

      ४.    बुझिएका वादीका साक्षी राजनन्दन राउत समेत जवान २ को वादी मिलानको र प्रतिवादीका साक्षी चलितर राउत समेत जवान २ को प्रतिवादी मिलानको बकपत्र ।

      ५.    वादी दावी अनुुुसार प्रतिवादीहरुले वादीको बकसपत्रमा उल्लेख भएको ४ किल्ला भित्रको जग्गामा भई आएको नक्सा नं. १ र १ (क) को जग्गा खिचोला गरेको ठहर्छ र वादीलाई चलन चलाई दिने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४०।६।१७ को महोत्तरी जिल्ला अदालतको फैसला ।

      ६.    उक्त महोत्तरी जिल्ला अदालतको फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको जनकपुर अञ्चल अदालतमा प्रतिवादी हुकुम पाण्डे समेतले चढाएको पुनरावेदनपत्र ।

      ७.    यो जग्गा विषयमा प्रतिवादीहरु तर्फबाट २०३३।५।२८ गते खिचोला गरिसकेको भन्ने देखिएको र यस मुद्दाको फिराद लेखको वारदात मिति कायम हुन आएको नदेखिएकोमा हदम्यादको प्रश्नबाट इन्साफ गर्ने कुरा हुँदैन । वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।८।८ को जनकपुर अं.अ.को फैसला ।

      ८.    जनकपुर अञ्चल अदालतको फैसलामा न्या. प्र.सु. ऐन, ०३१ को दफा १३(३) को देहाय (ख) र (घ) को प्रश्नमा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी लाल ठाकुरको श्री मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदनपत्र ।

      ९.    जनकपुर अञ्चल अदालतबाट भएको निर्णयमा न्या. प्र.सु. ऐन, ०३१ को दफा १३ (३) को प्रश्नमा कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको सिंगल बेन्चको मिति २०४२।४।३१ को आदेश ।

      १०    यस्मा यिनै वादीले यसै विवादको जग्गामा ०३३।५।२२ मा खिचोला गर्न आएको भनी प्रतिवादी उपर २०३३।५।२८ मा जिल्ला कार्यालय महोत्तरीमा आवेदनपत्र दिए उपर कारवाही भई २०३४।१।३१ मा जिल्ला कार्यालयबाट जग्गा सम्बन्धी उजूरीको कारवाही यस कार्यालयको क्षेत्राधिकार भित्र नपरेको हुँदा आफ्नो हक सुरक्षित गराउन कानुन बमोजिम जे जो गर्नु पर्ने हो गरी सुरक्षित गराई लिन पक्ष विपक्षलाई सुनाउने भनी सो सुनी पाएको निस्सा मिसिल सामेल रहेको देखिन्छ । प्रस्तुत फिरादपत्रमा सो कुरा कुनै उल्लेख नगरी २०३८।१२।१७ मा खिचोला गर्‍यो भनी २०३९।६।१० मा पर्न आएको छ । २०३३ सालमा नै खिचोला भई हक बेहक पर्ने स्थिति भइसकेकोमा २०३८ मा खिचोला गरेको भनी नयाँ वारदात बनाई परेको फिराद दावी हदम्याद विपरीत देखिँदा खारेज गर्ने गरेको जनकपुर अञ्चल अदालतको फैसला मनासिब ठहर्दछ भन्ने समेत श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४३।७।१९।४ को फैसला ।

      ११.    श्री मध्यमाञ्चल क्षेत्रीय अदालतको कानुन को व्याख्या सम्बन्धी प्रश्न तथा सर्वोच्च अदालतबाट स्थापित कानुनी सिद्धान्तको उल्लंघन गरी गरिएको फैसलामा न्या. प्र.सु ऐन (चौथो संशोधन) को दफा १३ (५) को (ख) र (ग) को प्रश्न विद्यमान भएकोले ऐ. दफाको उपदफा (७) अनुसार यस अदालतबाट पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी पक्षबाट पर्न आएको निवेदनपत्र ।

      १२.   यस्मा २०३८।१२।२७ मा प्रतिवादीले विवादित जग्गामा खिचोला गर्‍यो भनी २०३९।६।१० मा प्रस्तुत फिरादपत्र परेको देखिएबाट हदम्याद नाघी फिराद परेको देखिएन । हदम्याद परेको फिराद खारेज गर्ने गरेको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा जग्गा मिच्नेको १८ नं. को व्याख्या सम्बन्धी त्रुटि देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम पुुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।३।१९।६ को आदेश ।

      १३.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंहले यो प्रतिवादीले पछिल्लो पटक खिचोला गरेको मितिले म्याद भित्रै प्रस्तुत फिराद परेकोले प्रस्तुत फिराद हदम्याद भित्रको छ । २०३४ सालमा परेको विवादलाई २०३४।१।३१ को जिल्ला कार्यालय महोत्तरीको निर्णयको कागजले टुङ्गो लगाएको छ तसर्थ फिराद खारेज गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ त्रुटिपूर्ण छ भन्ने समेत एवं विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले २०३४ सालमा परेको विवादलाई २०३४।१।३१ को कागजले टुंगो लगाएको छैन । त्यसकारण २०३४ सालमा नै विवादको शुरुवात भएको मान्नु पर्ने अवस्था छ । २०३४ सालमा गरेको खिचोला उपर २०३९ सालमा फिराद दायर गरेको हुँदा फिराद हदम्याद भित्रको नभई फिराद खारेज गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्दछ भन्ने समेत गर्नुभएको बहस सुनियो ।

      १४.   प्रस्तुत मुद्दामा फिराद हदम्याद विपरीत हुँदा खारेजभागी छ भनी श्री मध्यमाञ्चल क्षेत्रीय अदालतबाट गरिएको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

      १५.   यस्मा मैले भोगी आएको मेरो हकको जग्गामा ०३८।१२।२७ मा विपक्षीले खिचोला गरेकोले म्यादभित्रै फिराद लिई आएको छु । विवादको जग्गामा प्रतिवादीको खिचोला छोडाई चलन चलाई पाउँ भन्ने समेत फिराद दावी रहेकोमा वादी दावीको जग्गामा खिचोला गरेको छैन । वादी दावीको जग्गा वादीकै भोगमा छ भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ ।

      १६.    प्रस्तुत मुद्दा परेकै जग्गाको सम्बन्धमा यिनै वादीले यिनै प्रतिवादी उपर २०३३ सालमा जिल्ला कार्यालय महोत्तरीमा आवेदनपत्र दिएको र सो आवेदनपत्रमा जिल्ला कार्यालयबाट २०३४।१।३१ मा हक बेहक गराउन सुनाई दिएको देखिन्छ । जिल्ला कार्यालयको निर्णयले विवादको निपटारा नगरी हक बेहक गराउन मात्र सुनाएको स्थितिमा विवादको जग्गाको सम्बन्धमा ०३४ सालमा नै विवाद उठिसकेको मान्नु पर्ने हुन आयो । वारदात मिति पछिको कायम गरेर फिराद दिन आउँदैमा फिराद हदम्याद भित्र परेको भन्न मिल्दैन । तसर्थ २०३८।१२।२७ मा खिचोला गरेको भनी २०३९।६।१० मा परेको फिरादलाई हदम्याद नाघेको भन्ने आधारमा दावी खारेज गर्ने गरी गरेको श्री म.क्षे.अ. को २०४३।७।१९ को फैसला मनासिब ठहर्दछ । पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत पुनरावेदन कोर्टफी राखी दायर भएको देखिँदा पुनरावेदकलाई केही सजायँ गरिरहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. प्रचण्डराज अनिल

 

 

इति सम्वत् २०४६ साल साउन ३१ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु