शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८४५ - उत्प्रेषण

भाग: ३१ साल: २०४६ महिना: असोज अंक:

निर्णय नं. ३८४५    ने.का.प. २०४६            अङ्क ६

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४५ सालको रि.पू.इ.नं. ५०

आदेश भएको मिति : २०४६।६।३।३ मा

संयुक्त इजलासबाट निर्णय मिति : २०४३।११।४

निवेदक/रिटनिवेदक : का.न.पं.वडा नं. ३२ कालिकास्थान बस्ने बिनोदराज शर्मा

विरुद्व

विपक्षी/प्रत्यर्थी : सञ्चालक समिति, शाही नेपाल चलचित्र संस्थान बालाजु, काठमाडौंसमेत

विषय : उत्प्रेषण

§  परीक्षणकालको समयावधि भित्र नोकरीबाट हटाउने भनी निर्णय समेत नगरी परीक्षणकाल समाप्त भैसकेपछि पनि लगातार रुपमा बहाल रहेको पदमा राखी राखेको अवस्थामा संस्थानको विनियम ११(२) अनुसार स्थायी नियुक्ति स्वतः सदर हुने ।

(प्रकरण नं. ८)

§  परीक्षणकाल समाप्त भइसकेपछि पनि परीक्षणकालमा रहे सरहको मानी नोकरीबाट हटाउने गरी निर्णय गर्ने अधिकार प्रत्यर्थीलाई रहे भएको नदेखिँदा रिट निवेदकको काम सन्तोषजनक नभएको भनी नोकरीबाट हटाउने गरी गरेको निर्णय एवं तत्सम्बन्धी सूचना कारवाही त्रुटिपूर्ण देखिँदा उक्त काम कारवाही तथा निर्णय उत्प्रेषणको आदेशले बदर हुने ।

(प्रकरण नं. ८)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की

प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त

अवलम्वित नजीर : नेपाल यातायात संस्थान केन्द्रीय कार्यालय समेत भएको २०४२ सालको रि.फु.नं. ३० को उत्प्रेषणको मुद्दा (ने.का.प. २०४३, अंक ५, पृष्ठ ३७७, नि.नं. २७०१)

आदेश

     प्र.न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।११।४ मा भएको निर्णय दोहोराई पाउँ भनी बिनोद शर्माको हकमा प्रकाशमणी प्रधानले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाई पठाएको बिन्तिपत्र र यसबारे न्यायिक समितिबाट भएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२ (ख) बमोजिम उक्त निर्णय दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत रिटनिवेदनपत्रको संक्षिप्त व्यहोरा यस प्रकार छ :

      २.    निवेदक मिति २०३९।४।२६ गतेको करारनामा बमोजिम मिति २०३९।४।२७ गतेदेखि शाही नेपाल चलचित्र संस्थानमा अधिकृत स्तर छैठौं तह सरहको सुविधा पाउने गरी निर्माण व्यवस्थापन सम्बन्धी काम गर्ने गरी करार सेवामा प्रवेश पार्र्र्ई संस्थापनमा कार्यरत रहेकोमा पटक पटक करारका अवधि बढाउदै लगी आखिर मिति २०४०।१२।३० गतेको पत्रबाट मिति २०४१।१।१ गतेदेखि मिति २०४१।३ मसान्तसम्मको लागी करारनामाको अवधि थप गरिएकोमा सोही अवधिभित्र अर्थात मिति २०४१।२।१५ गतेको निर्णय अनुसार एक वर्ष परीक्षणकालमा रहने गरी २०४१।२।१६ गते देखि स्थायी नियुक्ति पाई संस्थानमा सेवारत थिएँ । परीक्षणकाल मिति ०४२।२।१५ गतेमै समाप्त भइसकेपछि मिति ०४२।३।७ गतेको निर्णय भनी महाप्रवन्धकले मिति २०४२।२।१६ गते देखि लागू हुने गरी अर्को ३ महीनाको लागि परीक्षणको अवधि थप गरिएको पनि २०४२।५।१५ मा पूरा भई परीक्षणकालको अवधि भुक्तानी भएकोले महाप्रवन्धकले दशै पेश्की सुविधा समेत प्रदान भएको थियो । विपक्षी महाप्रवन्धकले मिति २०४२।८।३० गतेको निर्णय अनुसार भनी मिति २०४२।९।१ गतेदेखि लागू हुने गरी निवेदकलाई परीक्षणकालमा रहने गरी नियुक्ति दिइएको र पुनः परीक्षणकाल थप गरी हेर्दा पनि निवेदकको काम सन्तोषजनक नभएकोले संस्थानको सेवाबाट अवकाश दिइएको व्यहोराको पत्र मिति २०४२।९।१५ गतेमा निवेदकलाई दिइयो । परीक्षणकाल पूरा गरी साढे ३ महीनासम्म हाजिर भई काम काज गरी सकेपछि मात्र बिना सुनवाई र स्पष्टीकरण त्यसै अवकाश दिई सजाय गर्न प्राकृतिक न्याय सिद्धान्तको विपरीत समेत भएको छ । निवेदकको काम सन्तोषजनक नभएमा अवकाश दिने निर्णय सञ्चार संस्थान ऐन, २०२८ को दफा १० अन्तरगत गठित सञ्चालक समितिलाई मात्र हुनसक्ने हुँदा महाप्रवन्धकले अवकाश दिने गरेको निर्णय सामान्य सिद्धान्त, २०३९ को परिच्छेद २ को दफा ४ को प्रतिकूल भएको छ । मिति २०४२।८।३० गतेको निर्णय एवं मिति २०४२।९।३ गतेको सूचनाले नेपालको संविधानको धारा १०(१), ११(२) (ङ) तथा धारा १५ द्वारा प्रदत्त हकमा निवेदकलाई आघात पर्न गएबाट उक्त निर्णयहरु बदर गरी पूर्ववत हाजिर गराई काम काजमा लगाउनु भन्ने प्रत्यर्थीहरुको नाममा परमादेशको आदेश समेत जारी गरी पाउँ भन्ने व्यहोराको रिटनिवेदनपत्र जिकिर रहेछ । मिति २०४२।९।२३।३ मा यस अदालत सिंगलबेञ्चबाट लिखितजवाफ मगाई पेश हुन आएको लिखितजवाफ यस प्रकार छ ।

      ३.    विपक्षीले आफ्नो हकदैयाकै अभावमा सन्तोषजनक कार्य नगरेबापत अधिकारप्राप्त अधिकारीले परीक्षणकालमा रहेको व्यक्तिको सेवाबाट अवकाश दिएको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने व्यहोराको शाही नेपाल चलचित्र संस्थान बालाजुका अध्यक्ष तथा महाप्रवन्धक टिका सिंहको लिखितजवाफ रहेछ ।

      ४.    नेपाल चलचित्र संस्थान कार्य सञ्चालन विनियम, २०२८ को विनियम ११ मा कर्मचारीलाई परीक्षणकालमा नियुक्त गर्न सकिने र परीक्षणकाल एकपटक थप गर्न सकिने देखिन्छ । परीक्षणकाल समाप्त भएपछि वा सो अवधिभित्र कर्मचारीको काम सन्तोषजनक नदेखिएमा नोकरबाट हटाउन सकिने व्यवस्था भएको देखिएबाट निवेदकलाई एकपटक परीक्षणकाल थप गरिएको तथा थप परीक्षणकालको अवधिपछि निवेदकलाई उक्त संस्थानको सेवाबाट अवकाश दिइएको देखिन्छ । पुनः परीक्षणकाल थप गरी हेर्दा पनि निज कर्मचारी बिनोदराज शर्माको काम सन्तोषजनक नभएकोले २०४२।८।३० गतेको निर्णय अनुसार मिति २०४२।९।१ गतेदेखि लागू हुने गरी संस्थानको सेवाबाट अवकाश दिइएको कानुन बमोजिम भए गरेको देखिँदा प्रस्तुत रिटनिवेदनपत्रमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिटनिवेदनपत्र खारेज हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।११।४।२ को आदेश ।

      ५.    श्री ५ महाराजाधिराज सरकारको जुनाफमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।११।४ को निर्णय फुलबेञ्चबाट दोहोराई पाउँ भनी निवेदक बिनोद शर्माको हकमा प्रकाशमणी प्रधानले न्यायिक समिति मार्फत चढाएको निवेदन र सो सम्बन्धमा मिति ०४१।२।१५ मा १ वर्षको लागि परीक्षणकालमा रहने गरी नियुक्ति पाई पुनः एकपटक परीक्षणकालको अवधि थप गरी सो समेत मिति २०४२।५।१६ मा समाप्त भइसकेको अवस्थामा संस्थानको विनियमको परिच्छेद ६ को दफा ४६(क) को प्रकृया पूरा नगरी बर्खास्त गर्ने गरी मिति २०४२।८।३० मा शाही नेपाल चलचित्र संस्थानबाट भएको निर्णयमा शाही नेपाल चलचित्र संस्थान कार्य सञ्चालन विनियम, २०२८ को दफा ११ (१) (२),२५,४२,४६(क) र ४६(ख) समेतको त्रुटि देखिएको भन्ने समेत व्यहोराको न्यायिक समितिबाट भएको पर्चा समेत जाहेर हुँदा मौसफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्सेको छ भनी मौसूफ सरकारको प्रमुख सचिवालयबाट लेखी आए अनुसार यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

      ६.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदकको तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री गणेशराज शर्मा र श्री बद्रीबहादुर कार्कीले मिति २०४१।२।१५ का दिन १ वर्षको परीक्षणकालमा रहने गरी नियुक्ति पाई मिति २०४२।२।१५ मा परीक्षणकाल समाप्त भएकोमा पुनः मिति २०४२।२।१६ देखि ३ महीनासम्मको लागि परीक्षणकाल थप भएकोमा मिति २०४२।५।१५ मा सो समेत समाप्त भइसकेको छ । यस्तो अवस्थामा स्वतः स्थायी वा कन्फर्भ भएको मानिने भन्ने नि.नं. २७०० (ने.का.प. २०४३) पृष्ठ ३७७ मा सिद्धान्त समेत प्रतिपादन भइसकेको छ । शाही नेपाल चलचित्र संस्थान कार्य सञ्चालन विनियम, २०२८ को विनियम ११ अनुसार परीक्षणकाल बढीमा १ पटक सम्म थप्न सकिने व्यवस्था छ । सो बमोजिम थप भई सो समयावधि समेत समाप्त भइसकेको छ । मनलाग्दो रुपमा परीक्षणकाल पटक पटक थप्न मिल्ने होइन । परीक्षणकाल समाप्त भइसकेको अवस्थामा नोकरीबाट बर्खास्त गर्नु पर्ने भएमा विनियम ४६(क) अनुसार स्पष्टीकरण समेत लिई स्पष्टीकरण समेतलाई विचार गरी सजायको आदेश दिनसक्ने व्यवस्था छ । तर सो बमोजिम कारवाही समेत नगरी मिति २०४२।८।३० का दिन नोकरीबाट हटाउने भनी गरेको निर्णय त्रुटिपूर्ण हुँदा माग बमोजिम आदेश जारी हुनुपर्ने भन्ने र प्रत्यर्थी शाही नेपाल चलचित्र संस्थान तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले शाही नेपाल चलचित्र संस्थान कार्य सञ्चालन विनियम, २०२८ को विनियम ११ अनुसार १ वर्षको परीक्षणकाल समाप्त भएमा पुनः एकपटकलाई परीक्षणकाल थप्न सकिने र सो अवधिमा वा सो परीक्षणकाल समाप्त भएपछि पनि निजको काम सन्तोषजनक नभएमा निजलाई नोकरीबाट हटाउन सकिने प्रष्ट कानुनी व्यवस्था भएको र सोही अनुरुप निजलाई नोकरीबाट हटाउने गरी निर्णय भएको हो उक्त निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदनपत्र खारेज हुनुपर्ने भनी बहस गर्नुभयो ।

      ७.    आज निर्णय सुनाउन तोकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यस्मा मिति २०४१।२।१५ गते देखि अधिकृत स्तर छैठौं तहमा स्थायी नियुक्ति पाई १ वर्षको परीक्षणकालमा रही मिति २०४२।२।१५ मा परीक्षणकाल समाप्त भएकोमा २०४२।३।७ को निर्णयले मिति २०४२।२।१५ देखि ३ महीनासम्मको लागि परीक्षणकाल थप गरेकोमा सो समेत २०४२।५।१५ मा समाप्त भइसकेको अवस्थामा म बाट स्पष्टीकरण समेत नलिई बिना सुनुवाई काम सन्तोषजनक नभएकोले संस्थानको सेवाबाट अवकाश दिने गरी मिति २०४२।८।३० मा महाप्रवन्धकले निर्णय गर्नुभएको छ । यसरी अधिकार नै नभएको व्यक्तिबाट र अनिवार्य रुपमा अवलम्बन गर्नु पर्ने कार्यविधि समेतको पालन नगरी प्राकृतिक न्याय सिद्धान्त विपरीत भएको विपक्षीको काम कारवाही तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पूर्ववत हाजिर गराउनु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ । संस्थान तर्फका विद्वान अधिवक्ताले इजलास समक्ष देखाउनु भएको कारवाहीको सक्कल फायल हेर्दा रिट निवेदकलाई मिति २०४१।२।१५ गतेको निर्णयले अधिकृत स्तर छैठौं तहमा १ वर्षको परीक्षणकालमा रहने गरी स्थायी नियुक्ति गरेको देखिन्छ । सो बमोजिमको परीक्षणकाल मिति २०४२।२।१८ मा समाप्त भएपछि मिति २०४२।३।७ गतेको निर्णयले मिति २०४२।२।१६ गते देखि ३ महीनाको पुनः परीक्षणकाल थप गरिएको र सो परीक्षणकाल समेत २०४२।५।१५ मा समाप्त भइसकेको देखिन्छ । यसै बीच निजको काम सन्तोषजनक नभएको भनी अवकास दिने गरी २०४२।८।३० मा निर्णय गरी मिति २०४२।९।१ गतेदेखि लागू हुने गरी सेवाबाट अवकाश दिएको भनी रिट निवेदकलाई सूचना दिएको देखिन्छ ।

      ८.    यसरी थप गरेको परीक्षणकाल समाप्त भइसकेपछि पनि मिति २०४२।५।१६ गते देखि मिति २०४२।८।३० गते सम्म निवेदक नोकरीमा रही रहेको देखिन्छ । जहाँसम्म प्रत्यर्थीको लिखितजवाफ र प्रत्यर्थीतर्फको विद्वान अधिवक्ताले बहसको सिलसिलामा निवेदकलाई परीक्षणकालमै हटाउने गरी निर्णय गरेको हो भनी लिएको जिकिरतर्फ हेर्दा शाही नेपाल चलचित्र संस्थान कार्य सञ्चालन नियमावली, २०२८ को विनियम ११(१) अनुसार नियुक्ति गर्ने अधिकारीले कर्मचारीको निमित्त बढीमा १ पटक सम्म परीक्षणकाल थप गर्न सकिने र विनियम ११(२) मा यस्तो परीक्षणकाल रहेको कर्मचारीको परीक्षणकाल समाप्त भएपछि अरु कर्मचारीले पाए सरह यस नियममा उल्लेख भए बमोजिम सुविधा पाउने छ भन्ने व्यवस्था भएको पाइन्छ । उक्त विनियम अनुसारको थप भएको परीक्षणकाल समेत मिति २०४२।५।१५ मा समाप्त भइसकेको देखिन्छ । परीक्षणकालको समयावधि भित्रै नोकरीबाट हटाउने भनी निर्णय गरेको नदेखिँदा प्रत्यर्र्थी तर्फको जिकिर मिल्ने देखिएन । परीक्षणकाल समाप्त भएको मिति २०४२।५।१५ गते पछि निर्णय हुँदाको दिनसम्म अर्थात मिति २०४२।८।३० गते सम्म रिट निवेदकलाई नोकरीमा राखी राखेकै देखिन्छ । परीक्षणकालको समयावधि भित्र नोकरीबाट हटाउने भनी निर्णय समेत नगरी परीक्षणकाल समाप्त भइसकेपछि पनि लगातार रुपमा बहाल रहेको पदमा राखी राखेको अवस्थामा संस्थानको विनियम ११ (२) अनुसार स्थायी नियुक्ति स्वतः सदर हुनसक्ने देखिन्छ । परीक्षणकाल समाप्त भइसकेको अवस्थामा निजको परीक्षणकाल समाप्त भएपछि निजको नियुक्ति सदर कन्फर्म गरिएको मान्नु पर्ने भनी निवेदिका तारादेवी अधिकारी विरुद्ध नेपाल यातायात संस्थान केन्द्रीय कार्यालय समेत भएको २०४२ सालको रि.फु.नं. ३० को उत्प्रेषणको मुद्दामा (ने.का.प.२०४३, अंक ५, पृष्ठ ३७७, निर्णय नं. २७०१) फुलबेञ्चबाट सिद्धान्त समेत प्रतिपादन भइसकेको देखिन्छ । अतः माथि उल्लेख गरिए बमोजिम मिति २०४२।५।१५ मा परीक्षणकाल समाप्त भैसकेपछि पनि परीक्षणकालमा रहे सरहको मानी नोकरीबाट हटाउने गरी निर्णय गर्ने अधिकार प्रत्यर्थीलाई रहे भएको नदेखिँदा रिट निवेदकको काम सन्तोषजनक नभएको भनी नोकरीबाट हटाउने गरी गरेको मिति २०४२।८।३० गतेको निर्णय एवम् तत् सम्बन्धी सूचना कारवाही त्रुटिपूर्ण देखिँदा उक्त काम कारवाही तथा निर्णय उत्प्रषेणको आदेशले बदर हुने ठहर्छ । अब निवेदकलाई निजको पदमा वहाल गर्नु भन्ने परमादेशको आदेश समेत जारी हुने ठहर्छ । रिटनिवेदनपत्र खारेज गर्ने गरेको संयुक्त इजलासको निर्णय मिलेको देखिएन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरु सहमत छौ ।

 

न्या. त्रिलोकप्रताप राणा,

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४६ साल आश्विन ३ गते रोज ३ शुभम्

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु