निर्णय नं. १४१४-१ - कर्तव्य ज्यान

निर्णय नं. १४१४-१ ने.का.प. २०३७
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३६ को फौ.पु.नं. १२३
फैसला भएको मिति : २०३७।९।२६।६ मा
पुनरावेदक : रामबहादुर थापा मगरको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी : जि. सिन्धुपालचोक साँगाचोक गा.पं.वार्ड नं. ६ बस्ने इन्द्रबहादुर राना मगर
मुद्दा : कर्तव्य ज्यान
(१) आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको बोलाउन जाँदा नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटपिटको चोटबाट ऐनको म्यादभित्र मर्न गएकोले निजलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजाय गरेको इन्साफ मनासिव ठहर्ने ।
(प्रकरण नं. ११)
(२) शुरू जिल्ला अदालत र म.क्षे.अ.समेत २ अड्डाको राय मिलेकोमा साधक जाहेर गर्न नपर्ने।
(प्रकरण नं. ११)
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (क) अनुसार मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदन परी फौजदारी पुनरावेदनको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : विपक्षी सोने भन्ने इन्द्रबहादुरलाई वर्ष २३ कि मेरी छोरी सुन्तलीको विवाह गरी दिएकोमा हाल वर्ष ३ को निजबाट छोरी जन्मेकी छन् मेरी छोरी सुन्तलीलाई के कुरामा हो विपक्षीले २०३३ साल बैशाख २५ गतेका दिन १० बजेको समयमा कुटपिट गरी घरबाट निकाला गरेछन छोरी मेरो घर नजिकै हुँदा आई बसेकी थिई रात अं.७ बजे पुनः विपक्षी आई छोरीलाई चुल्ठो समाती घिसारी बाहिर निकाल्न लाग्दा म समेतले त्यसो गर्न हुँदैन भने । छोरीले यसै कार्यालयमा ०३३।१।२८ मा दरखास्त दिई घा जाँच समेत गराएकोमा छोरी सुन्तली लाई सोने भन्ने इन्द्रबहादुरले कुटपिट गरेको चोटबाट २०३३।२।२ गते छोरीको मृत्यु हुनगएकोले दरखास्त गर्न आएको छु भन्ने समेत व्यहोराको जाहेरी दरखास्त ।
३. २०३३ साल वैशाख २५ गते बिहान म आफ्नो बारीमा काम गरी अं.९ बजे घर आउँदा श्रीमती सुन्तली भात नपकाई सुतिरहेकी रहिछन किन सुतिरहेको भात पकाउन पर्दैन भनी मैले भन्दा निज नबोली बसेकीले म आफैं भात पकाउन लाग्दा वर्ष ३ कि छोरी रुदै म बसेको ठाउँमा आएकीले यतिखेर सम्म छोरीलाई खान नदिइराखेको भनी मैले श्रीमतीलाई चिरपट दाउरा र लातले हानी कुटपिट गरे बेलुकी श्रीमती निजको माइत घर गएकीले ससुराली गई चुल्ठो समाई घिसारी घर जाँउ भने निज श्रीमती मैले कुटेको चोटबाट मरेकी हुन भन्ने इन्द्रबहादुरको प्रहरीमा भएको ०३३।२।३।१ को कागज ।
४. सोने भन्ने इन्द्रबहादुरलाई ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सजाय हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन ।
५. ०३३ साल बैशाख २५ गतेका दिन बिहान उठनासाथ म बारीमा खोर्सानी रोप्ने ठाँउ बनाई बिहान ९ बजे घर आएको घर आउँदा भोक लागिसकेको थियो । श्रीमतीले भात नपकाई सुतिराखेको देखेँ । किन भात नपकाएको भनी सोध्दा भात पकाउन सक्दिन भनी जवाफ दिएकोले सुतिरहेकै ठाउँमा लातले हानी म भात पकाउन लागेँ । भात पकाउन ल्याएको दाउरा लिई सो दाउराले श्रीमतीलाई कुटी सकेपछि माइत गईछ । बेलुकी ७ बजे ससुरालीमा हेर्न जाँदा सुतिरहेकी रहिछ घर जाँउ भनी भन्दा जान्न भनेकीले श्रीमतीको चुल्ठो समाती तानी ससुराले छुट्याई दिई मलाई बाहिर निकालेकाले म घर आएपछि श्रीमतीलाई चौतारा लगेछन् भनी सुनेपछि घरमा ल्याएको छ भनी सुन्दा श्रीमती सारी भई लिन आइज भनी जेष्ठ १ गते खवर आएकाले लिन गई घर ल्याएँ ऐ. २ गते बिहान श्रीमतीको मृत्यु भएकोले कुटपिटको चोटबाटै ऐनका म्यादभित्र मरेकी हो सोने भन्ने इन्द्रबहादुरको अदालत समक्ष भएको बयान ।
६. ज्यानसम्बन्धी महलको १३(३) बमोजिम नभई प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ भन्ने समेत व्यहोराको सिन्धुपाल्चोक जिल्ला अदालतको ०३३।९।१९।१ को फैसला ।
७. प्रहरी प्रतिवेदन दावी अनुसार सजाय नगरी प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १४ नं. लगाई सजाय गरेको जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट पर्नआएको पुनरावेदन पत्र ।
८. प्रतिवादी इन्द्रबहादुरले आफ्नो श्रीमतीलाई ज्यान लिनुपर्ने सम्मको इवी अदावत अथवा अरू कुनै स्थिति देखिन नआएको भात किन नपकाएको भन्ने कुरालाई लिई झगडा भई मौकैमा रिस उठी आवेशमा आई हानेको भन्ने देखिएको र त्यसपछि निज श्रीमती आफ्नो माइत हिंडेको कुराबाट लोग्नेलाई रिस उठ्न स्वभाविक नै हुने सोही रिसको झोकमा उसै दिन साँझका बखत श्रीमतीको माइत गई पुनः लछार पछार भएको सोही चोटपिटबाट मर्न गएको भन्ने कुरा मिसिल प्रमाणबाट देखिन आएको हुनाले ज्यानसम्बन्धीको १४ नं. लगाई प्र.इन्द्रबहादुरलाई जिल्ला अदालतबाट १० वर्ष कैदको सजाय गरेको मिलेकै देखिनाले जि. अ.को इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षे.अदालतको ०३५।९।१७ को फैसला ।
९. उक्त इन्साफमा चित्त बुझेन प्रहरी प्रतिवेदन दावी अनुसार हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१०. यसमा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ताको बहससमेत सुनी निर्णयतर्फ विचारगर्दा प्रहरी प्रतिवेदनमा ज्यान सम्बन्धी महलको १३(३) बमोजिमको सजायको माग भएकोमा ज्यानसम्बन्धीको १४ नं. बमोजिम प्र.लाई १० वर्ष कैद गर्ने ठहराएको शुरूको सदर गरी पुनरावेदन नपरे साधक सदरको लागि स.अ.मा जाहेर गर्नेसमेत ठहराई म.क्षे.अ.बाट निर्णय भएकोमा ज्यान सम्बन्धी महल १३(३) बमोजिम सजाय माग गरेको शुरू प्रहरी प्रतिवेदन अनुसार हुनुपर्ने भन्नेसमेत जिकिर लिई वादी श्री ५ को सरकारको पुनरावेदन परेको प्रस्तुत मुद्दा रहेछ ।
११. वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर समेत हेरी मिसिल अध्ययन गर्दा बिहान उठ्नासाथ बारीमा खोर्सानी रोप्ने ठाउँ बनाई ९ बजे घर आउँदा श्रीमतीले भात नपकाई सुतिराखेको किन भात नपकाएको भनी सोध्दा म खान पनि खान्न पकाउन पनि पकाउन्न भन्यो रिस उठी दाउराले श्रीमतीलाई कुटिसकेपछि माइत गईछ बेलुका हेर्न जाँदा सुतिरहेकी रहिछ घर जाँउ भन्दा जान्न भनेकोले चुल्ठोमा समाती तानी लान लाग्दा मलाई छुट्याई घर बाहिर पठाइदिए श्रीमती सारो भयो लिन आइज भनेर खबर पठाएकोले घर ल्यायौं भोलिपल्ट मरेको हुन भन्ने समेत प्र.इन्द्रबहादुरको अदालतमा बयान भएको देखियो । यस स्थितिमा निज प्र.इन्द्रबहादुर आफ्नो श्रीमतीलाई ज्यान लिनेसम्मको इवी अदावत भएको पनि कतैबाट देखिँदैन भात नपकाएको र किन नपकाएको भन्दा पकाउँदिन भनी जवाफ दिएकोमा झगडा उठी रिसले कुटपिट गरेकोमा माइत गई बसेको र बोलाउन जाँदामा समेत नआएकोमा रिस उठने स्वभाविकै देखिएकोले त्यसरी उठेको रिसको आवेसमा भएको कुटपिटको चोटबाट ऐनका म्यादभित्र मर्न गएकोले निज प्र.इन्द्रबहादुर राना मगरलाई ज्यानसम्बन्धीको १४ नं. लगाई १० वर्ष कैदको सजाय गरेको शुरूको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । शुरू प्रहरी प्रतिवेदन अनुसार सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्नसक्ने देखिएन शुरू सिन्धुपाल्चोक जिल्ला अदालत र मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा पुनरावेदन नपरे साधक जाँचको लागि सर्वोच्च अदालतमा जाहेर गर्ने भन्ने लेखिएको बढी बुँदा लेखिएको ठहर्छ यो फैसलाको प्रतिलिपि जानकारी निमित्त म.न्या. को कार्यालयमा पठाई मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमति छु ।
प्र.न्या. न्यायाधीश
इति सम्वत् २०३७ साल पौष २६ गते रोज ६ शुभम् ।