निर्णय नं. ३८५२ - निर्णय बदर

निर्णय नं. ३८५२ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
सम्वत् २०४५ सालको दे.पु.नं. ७१६, ७९९
फैसला भएको मिति : २०४६।५।९।६ मा
पुनरावेदक/प्रतिवादी : भोलानाथ गिरीको मु.स.गर्ने का.जि. रामकोट गा.पं.वा.नं. ९ बस्ने गणेशबहादुर गिरी
विरुद्ध
विपक्षी/वादी : ऐ.ऐ. बस्ने कालु गिरी
पुनरावेदक/प्रतिवादी : गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट कार्यकारिणी अध्यक्ष विश्वमान श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : का.जि. रामकोट गा.पं. वा.नं. ६ बस्ने कालु गिरी
मुद्दा : निर्णय बदर
§ वादीले मोहियानी हक खरीद गरेको लिखत अस्तित्वमा छँदाछँदै लिखत साक्षी भएको नाताले मात्रै उक्त जग्गामा वादीको मोहियानी हक टुटेको भनी मान्न नमिल्ने ।
(प्रकरण नं. १२)
§ गुठी संस्थानलाई मोहीको विवादमा निर्णय गर्न पाउने अधिकार भएको देखिन नआएकोले अधिकारै नभएको कुरामा पनि गुठी लगत तथा तहबिल कार्यालयले निर्णय गरेकोलाई कानुनसंगत भनी मान्न नमिल्ने ।
(प्रकरण नं. १३)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री हेमराज सुवेदी
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।९।१३ को फैसला उपर पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न प्रकार छ ।
२. का.जि. रामकोट बस्ने कृष्णबहादुर ठकुरीको हक भोग दर्ता तिरोको साल एकको धान मुरी ३ पाथी ७ गहुँ पाथी ६ बिउ रु. ।२४ पैसा तिरो लागेको का.ई. मरुटोल बस्ने ख. मोतीमान गोलका हकको मोही निज कृष्णबहादुर ठकुरी कायम भएको थानकोट अन्बल खुसी महाकाल डडयाबिमिरा खेत १५ भन्ने रसिदमा जनिएको पूर्व रैकर, पश्चिम बिर्ता, उत्तर खोला, दक्षिण बिर्ता यति ४ किल्ला भित्रको उक्त जग्गा निज कृष्णबहादुर परलोक भई निजका छोराबाट मेरो बाबुले रु. ९०१।– मा ०१६।११।५ मा खरीद गरी लिएको हो । उक्त जग्गा नापी हुँदा कि.नं. २२, २३, २४ कायम भएको । नापीका बखत मेरो पिता नहुँदा बाबुरामको सौतेनी आमा कृष्णकुमारीले उन्को नाममा नापी गराएपछि पिताको फिराद परी फिराद बमोजिम हुने गरी का.जि. अ.को फैसला भएपछि उक्त जग्गाको स्वामित्व म मा सरेकोमा विपक्ष भोलानाथ गिरीले उक्त जग्गा आफूले कमाएको प्रमाणपत्र पाउन भनी ०४०।६।१९ मा भू.सु.का. काठमाडौंमा निवेदन दिई सनाखत गरेको रहेछ । उक्त जग्गाको नामसारी गर्न विपक्ष भोलानाथ गिरीले उक्त जग्गा मेरो नाउँमा नाउँसारी गरिपाउँ भनी मेरा पिता ज्ञानबहादुर गिरीबाट हक सरेको भन्ने कुराको कुनै प्रमाण पेश गर्न नसकी रामकोट गा.पं. को सिफारिश खडा गरी मिति ०४०।८।६ मा गुठी लगत तहबिल कार्यालयमा निवेदन दिएछन् । सो बमोजिम विपक्ष गुठीले मलाई जानकारी समेत नदी विपक्ष भोलानाथको नाममा मोही कायम गरी दर्ता गरी दिने गरी मिति २०४१।८।१५ मा गरेको रहेछ । सो मैले ऐ. २२ मा थाहा पाई आएको छु । निजले पेश गरेको मनकल्पित लिखतलाई स्थान दिई अधिकार क्षेत्र भन्दा बाहीरको भएकोले सो निर्णय बदर गरिपाउँ भन्ने वादी कालु गिरीको फिरादपत्र ।
३. वादीको फिराद झुट्टा हो । उक्त जग्गा मैले २०२४ साल देखि नै मैले कमाई आएको छु सम्बन्धित व्यक्तिलाई मैले अबिछिन्न रुपमा बाली बुझाई आएको छु । भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५, ३४ मा गुठी संस्थान ऐन, २०२१, २०२९, २०३३ का क्रमशः दफा ३४ को समेत वास्ता नराखी मलाई दुख दिने नियतले फिराद गरेका हुन् । गुठी कार्यालयले गुठीयार समेत बुझी विभिन्न प्रकारका आधारमा भएको दर्ता यथावत राखी झुट्टा वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी भोलानाथ गिरीको प्रतिउत्तरपत्र ।
४. अशोक बिनायक गणेश गुठीको जग्गा सर्भे नापी हुँदा का.जि. डाँडा पौवा गा.पं. वा.नं. ९ कि.नं. २२, २३, २४ समेतका जग्गा ०२४।१।६ का फैसला समेतबाट बाबु ज्ञानबहादुरको हक भएकोमा निजको ०३१ सालमा परलोक भई वहाँको हक खाने भाउजू मिनु गिरी, भाइ रामकृष्ण गिरी र मेरो नाममा दर्ता गरी सो जग्गा मैले ०२४ सालबाट कमाई आएको हुनाले मेरो नाममा मोहियानी हकको प्रमाण पूर्जा पाउँ भन्ने प्र.मध्ये भोलानाथको निवेदन पर्न आएकोले फिल्डबुक उतार झिकाई हेर्दा जोताहाको महलमा कृष्णकुमारी ठकुरानी जनिएको र किसानको व्यहोरामा कि.नं. २२, २३ मा यो जग्गा मेरो छोराको नाममा दर्ता हो मैले जोती खाएको छु भन्ने र कि.नं. २४ मा यो जग्गा मेरो नामको भन्ने लेखिएको र कैफियतमा गणेश गुठी जनिएको देखिएको र यस सम्बन्धमा सरजमीन समेत बुझिएको सरजमीन लेखाई र ०२४।७।२५ को कागज गुठीयारलाई बाली बुझाएको भरपाई समेतका आधारमा सो कि.नं. २२, २३, २४ ३ कित्ता जग्गा मोही भोलानाथ गिरीलाई कायम गर्ने भन्ने गुठी टोलीबाट ०४१।८।१५ मा निर्णय भएकोले निर्णयानुसार निजको नाममा मोही कायम भएको हो । वादी दावा झुठ्ठो हो भन्ने गुठी लगत तहबिल कार्यालयका प्रमुख माधवप्रसाद शर्माको प्रतिउत्तरपत्र ।
५. विपक्षले यस संस्थानलाई पनि विपक्षी बनाएको भएमा पनि फिरादमा यस संस्थानले गरेको कुनै कार्य भनी उल्लेख गरेको छैन । वास्तवमा यस संस्थानले विपक्षीलाई असर पार्ने कुनै काम समेत नगरेको हुँदा संस्थान उपरको उजूरी निरर्थक हुँदा हक इन्साफ हुन अनुरोध छ भन्ने समेत व्यहोराको मिति ०४१।१२।१५ को गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष विष्णुप्रसाद खनालको प्रतिउत्तरपत्र ।
६. वास्तविक जोताहा नै मोही भन्ने गुठी संस्थान ऐनले व्यवस्था गरेको वास्तविक मोही प्रतिवादीले नै बाली बुझाएको निस्सा पेश भएपछि वादी मोही भन्न सक्ने आधार नदेखिएकोले गुठीको निर्णय बदर गरिपाउँ भन्ने वादीको दावी निरर्थक देखिँदा वादी दावा पुग्न सक्दैन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको ०४२।९।२ को फैसला ।
७. बा.अं. अदालतको फैसला त्रुटिपूर्ण छ, भोलानाथलाई वास्तविक जोताहा कायम गरेको त्रुटिपूर्ण छ तसर्थ लगत तहबिलको गैरकानुनी एवं अनधिकृत निर्णयलाई सदर गरी उल्लेखित ऐन कानुनको प्रत्यक्ष त्रुटि गरी फैसला गरेको हुँदा बा.अं.अ. को फैसला बदर गरी गुठी तहबिलको निर्णय बदर गरिपाउँ भन्ने समेत व्यहोराको पुनरावेदक कालु गिरीले यस अदालतमा मिति २०४२ सालमा दिएको पुनरावेदनपत्र ।
८. मोहियानी तेरो मेरो सम्बन्धमा उठेको कारवाई गुठी संस्थानबाट प्र. भोलानाथ जोताहा मोही भनी गरेको निर्णय बदर गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहर्याएको बागमती अञ्चल अदालतको फैसला मिलेको देखिन आएन उल्टी हुने ठहर्छ । विवादको गुठी संस्थानको निर्णय दावी बमोजिम बदर हुने ठहर्छ भन्ने मिति २०४४।८।३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
९. म.क्षे.अ. को मिति ०४४।८।३ को फैसला उपर चित्त बुझेन इन्साफ गरिपाउँ भन्ने गुठी संस्थान केन्द्रीय कार्यालय र प्र. भोलानाथ गिरीको छुट्टाछुट्टै यस अदालतमा परेको पुनरावेदन।
१०. यस्मा विवादित जग्गा पुनरावेदकको बाबु भोलानाथ गिरीले कमाएको भन्ने र बाली बुझाई रसिद गरी लिए दिएको भन्ने कुरामा जग्गा धनी मोतिमानको छोरा प्रेममान डंगोल समेतले किटानी लेखी दिएको पाइन्छ । गुठी लगत तथा तहबिल कार्यालय सरजमीन गराउँदा पनि उक्त कृष्णबहादुर गिरीले जग्गा भोलानाथले नै कमाएको भनी सो संधियार समेतका २० जना सरजमीनले सहिछाप गरेको र यी पुनरावेदकले पेश गरेका रसिदहरुमा पनि कसैले केही बोलेको पाइदैन । वादीका फेराद लेखमा विवाद परेको कि.नं. २२ र २३ तथा २४ का ३ कित्ता नापीमा कायम भएको जग्गामा विपक्षी भोलानाथलाई मोही कायम गरी दिने ठहराएको निर्णय बदर गरिपाउँ भन्ने मुख्य दावी लिई फिराद परेको पाइन्छ । फिल्ड बुकमा प्रतिवादीलाई मन्जूरी दिने कृष्णकुमारी ठकुरानी भन्ने जनिएको देखिन्छ । २०२४ साल वैशाख ६ गते खिचोला मुद्दामा यिनै वादीको वादी दावीमा केवल कि.नं. २४ को जग्गामा मात्र हक दायित्व देखाई फिराद दावी गरी फेराद गरेको र का.जि. अ. बाट निर्णय भइरहेको पाइन्छ । विवादित जग्गा मध्ये कि.नं. २२ र २३ नं. का कित्ता जग्गामा वादीले आफ्नो हक पुगेको कानुनी सबूद प्रमाण पेश गरेको देखाएको समेत देखाउन सकेको देखिन आउँदैन । यस्तो स्थितिमा हक दायित्व नै नभएका वादीले दिएका फिरादपत्रबाट वादी दावी बमोजिमको निर्णय बदर हुने ठहराई गरेको म.क्षे.अ. को निर्णयसँग सहमत हुन सकिएन अ.बं. २०२ नं. र स.अ. नियमावली, ०२१ बमोजिम विपक्षीलाई झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी आज निर्णय सुनाउनका लागि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक गणेशबहादुर गिरीका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी पुनरावेदक गुठी संस्थान केन्द्रीय कार्यालयका तर्फबाट विद्वान अधिवक्ता श्री हेमराज सुवेदी र विपक्षी वादीका तर्फबाट विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउतले गर्नु भएको बहस जिकिर सुनी मिसिल समेत अध्ययन गरी हेर्दा म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ हेर्नु पर्ने हुन आयो ।
१२. यस्मा निर्णयतर्फ विचार गर्दा दर्तावाला मोतिमान डंगोल मोही कृष्णबहादुर ठकुरी कायम भएको थानकोट अम्वल सुसी मोही कालु गुइया विमिरा खेत १५ भन्ने रसिदमा जनिएको पूर्व रैकर पश्चिम बिर्ता उत्तर खोला दक्षिण बिर्ता यति ४ किल्ला भित्रको जग्गा मोही कृष्णबहादुर मरी निजको छोरा बाबुराम ठकुरीको हक भई वादीको बाबु ज्ञानबहादुर गिरीले रु. ९०१।– मा बाबुराम ठकुरीबाट २०१६।११।५ मा मोहियानी हक खरीद गरी भोग गर्दै आएको र २०२१ सालमा नापी हुँदा का.जि. डाँडा पौवा गा.पं. वडा नं. ९ बाट नापी भई कि.नं. २२, २३, २४ कायम हुन गई नापीमा कि.नं. २४ को जग्गा बाबुरामको सौतेनी आमा कृष्णकुमारीले आफ्नो र कि.नं. २२, २३ को जग्गा छोरा बाबुरामको दर्ता भनी फिल्डबुकमा लेखाएकोमा कि.नं. २४ को जग्गा सम्बन्धमा खिचोला मुद्दा परी कृष्णकुमारीले खिचोला गरेको ठहर भई मिति २०२४।१।६ मा फैसला भई सो फैसला अन्तिम रुपमा रहेको भन्ने वादी दावीको कुरालाई प्रतिवादीहरुले प्रतिउत्तरमा स्वीकार गरेका हुँदा कि.नं. २२, २३, २४ को जग्गाको मोहियानी हक वादी कालु गिरीका बाबु ज्ञानबहादुर गिरीले ०१६।११।५ मा दाता बाबुरामबाट खरीद गरी लिएको कुरा निर्विवाद देखिन आयो । दर्तावाला मोतिमान डंगोलले विवादित जग्गा कमाउन दिने सम्बन्धमा भोलानाथ गिरीबाट २०२४।७।२५ गते गराई लिएको भनिएको लिखतमा वादीका बाबु ज्ञानबहादुर गिरी लिखत साक्षी बसेबाट उक्त जग्गामा वादीको मोहियानी हक कायम हुन सक्दैन भन्ने पुनरावेदन जिकिरको हकमा वादीले मोहियानी हक खरीद गरेको मिति ०१६।११।५ को लिखत अस्तित्वमा छँदाछँदै लिखत साक्षी भएको नाताले मात्रै उक्त जग्गामा वादीको मोहियानी हक टुटेको भनी मान्न मिल्ने नदेखिँदा पुनरावेदकको उक्त जिकिरलाई तर्कसंगत मान्न सकिएन ।
१३. प्रस्तुत मुद्दामा जस्तो मोहियानी हकमा दुई पक्ष बीच तेरो मेरो परी विवाद खडा हुन आएमा छानबीन गरी निर्णय गर्ने अधिकार गुठी लगत तथा तहबील कार्यालयलाई भएको कुरा पुनरावेदक गुठी संस्थानबाट समेत पुष्ट्याई गर्नसकेको पाइएन । गुठी संस्थान ऐन, २०३३ को दफा २६ ले गुठी अधीनस्थ जग्गाको बन्दोवस्त गर्ने सम्बन्धी व्यवस्था भएको र सो दफाबाट पुनरावेदक गुठी संस्थानलाई मोहीको विवादमा निर्णय गर्न पाउने अधिकार भएको देखिन नआएकोले अधिकारै नभएको कुरामा पनि गुठी लगत तथा तहबिल कार्यालयले निर्णय गरेकोलाई कानुनसंगत भनी मान्न नमिल्ने हुँदा प्रतेवादी जिकिर नपुग्ने गरी बागमती अञ्चल अदालतको इन्साफ उल्टी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी रही पुनरावेदन दायर भएको देखिँदा केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. पृथ्वीबहादुर सिंह
इति सम्वत् २०४६ साल भाद्र ९ गते रोज ६ शुभम् ।