निर्णय नं. ८९२३ - लागुऔषध

ने.का.प. २०६९, अङ्क ११
निर्णय नं. ८९२३
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुशीला कार्की
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
२०६५-CR-६०६
फैसला मितिः २०६९।६।१६।३
मुद्दा :– लागू औषध ।
पुनरावेदक वादीः इलाका प्रहरी कार्यालय, इटहरीका प्र.ना.नि.सुभाष राईको प्रतिवेदनले नेपाल सरकार
विरुद्ध
प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी हाँसपोसा गा.वि.स.वडा नं.२ बस्ने अर्जुन भोटे भन्ने जीतबहादुर खत्री
शुरु फैसला गर्नेः
मा.न्या.श्री लीलाप्रसाद गौतम
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री दीपककुमार कार्की
मा.न्या.श्री केदारप्रसाद चालीसे
§ सेवन प्रयोजनलाई खरिद गर्ने र विक्री बितरण गर्नेलाई खरिद हुने अवस्था छुट्याउन लागू औषधको परिमाणलाई हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि एक दुई डोजसम्मको लागि खरिद हुने हुँदा बरामद लागू औषध अत्याधिक मात्रामा देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्न नमिल्ने ।
(प्रकरण नं.४)
§ कुनै चीज वस्तु सँग साथमा फेला पर्नु वा सो चीजवस्तु कसैसँग रहेको कुरा स्थापित हुनु तथ्यगत प्रश्न हो, सबै तथ्यगत विषय कसूर वा अपराध हुन नसक्ने ।
§ कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य (Corpus delicti) गरेको प्रमाणित भएको मानिने प्रकृतिका अपराध जसलाई Possessory Crime भनिन्छ, त्यस्ता अपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुने ।
(प्रकरण नं.६)
पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता रेवतीराज त्रिपाठी
प्रत्यर्थी प्रतिवादी तर्फबाटः
अवलम्बित नजीरः
सम्बद्ध कानूनः
§ लागू औषध (नियन्त्रण ऐन, २०३३ को दफा ४(घ), (ङ), १४(१)(झ)
फैसला
न्या.वैद्यनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :–
जिल्ला सुनसरी हाँसपोसा गा.वि.स.वडा नं.२ स्थित पूर्वमा बाटो, पश्चिममा खाली जग्गा, उत्तर दक्षिण बाटो यती ४ किल्लाभित्र प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको साथबाट लागू औषध नाइट्रोजन ट्यावलेट थान १२०, कोरेक्स–७ बोतल र स्यामो प्रोक्सीभन क्याप्सूल थान ८ बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
मिति २०६३।१०।१७ गते बिहान ८ बजेको समयमा हाँसपोसा गा.वि.स.वडा नं.२ मा अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीले लागू औषधको कारोवार गरेको छ भन्ने गोप्य सूचनाको आधारमा मेरो कमाण्डमा खटी गएको गस्ती प्रहरी टोलीले निजलाई लागू औषध बोकी रहेको अवस्थामा नियन्त्रणमा लिई बरामदी मुचुल्कासाथ पेश गरेको छु । आवश्यक कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको प्र.ना.नि.सुभाष राईको प्रतिवेदन ।
मिति २०६३।१०।१७ गते मलाई प्रहरीले पक्राउ गरी बरामदी मुचुल्कामा उल्लिखित परिणामको लागू औषध मेरो साथबाट बरामद गरेको हो । उक्त लागू औषधहरू मध्ये कोरेक्सको भारतमा रु.९०।– यहाँ रु.१५०।– देखि रु.२००।– सम्म र नाइट्रोजन ट्यावलेट र स्यामोप्रोक्सीभन भारतमा रु.३।– यहाँ रु.५।– को दरले विक्री गर्दछु भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको प्रहरी समक्ष भएको बयान कागज ।
प्रतिवादी जीतबहादुर खत्री भाडामा बस्ने गरेको घरको कोठा खानतलासी गर्दा लागू औषध मुद्दाको प्रमाणमा लाग्ने कुनै पनि चिजवस्तु फेला नपरेको भन्ने समेत व्यहोराको घर खानतलासी मुचुल्का ।
मिति २०६३।१०।१७ गतेका दिन विहान ८ बजेको समयमा हाँसपोसा वडा नं.२ मा अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरी निजको शरीर तलासी लिँदा नाईट्रोजन ट्यावलेट १२०, कोरेक्स ७ बोतल र स्यामोप्रोक्सीभन क्यापसूल ८ थान बरामद गरेको हो भन्ने समेत व्यहोराको स्थानीय व्यक्ति धु्रव तामाङ्ग, जोगिन्द्र लिम्बू र दिनेश गुरुङले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
बरामदी मुचुल्कामा उल्लिखित लागू औषधसाथ प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्री पक्राउँ परेको भन्ने कुरा सुनेको हुँ । निजले सो लागू औषध आफै पनि सेवन गर्ने गरेको सुनेकी हुँ भन्ने समेत व्यहोराको बुझिएकी व्यक्ति हरिमाया बनको कागज ।
मेरो स्थायी वतन छैन । मेरो जम्मा भोजपुर सालवा गा.वि.स.वडा ४ अन्तर्गत भएको हो भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको बयान कागज ।
संकलित सबूद प्रमाणहरूबाट विरुद्ध खण्डमा उल्लिखित प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीका साथबाट मिति २०६३।१०।१७ गतेका दिन जिल्ला सुनसरी हाँसपोसा गा.वि.स.वडा नं.२ अन्तर्गत प्रहरी गस्ती टोलीले निज प्रतिवादीको शरीर खानतलासी गर्दा निषेधित लागू औषध नाईट्रोजन ट्यावलेट १२० थान कोरेक्स ७ बोतल र स्यामोप्रोक्सीभन ७ क्याप्सूल बरामद भएकोले सो लागू औषध कमाउने उद्देश्यले निज प्रतिवादीले भारतको जोगबनीबाट खरिद गरी हाँसपोसामा पैठारी गरी विक्री वितरणका लागि सार्वजनिक चोकमा बसेको अवस्थामा पक्राउ परेको प्रमाणित भएको हुँदा निज प्रतिवादीको सो कार्य लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) र (ङ) को निषेधित कसूर हुँदा निज प्रतिवादीलाई सोही ऐनको दफा १४(१)(झ) बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको अभियोग दावी ।
म विराटनगरको जगदीशको मोटर ग्यारेजमा काम गर्ने हुँदा मिति २०६३।१०।१७ गते ग्यारेजमा काम गरी फर्केर डेरातर्फ हाँसपोसा २ मा जाँदै गर्दा प्रहरीले मलाई पक्राउ गरेको हो । बरामदी मुचुल्कामा उल्लिखित लागू औषधहरू प्रहरीले मबाट बरामद गरेको होइन । प्रहरीले के कहाँबाट ल्याए मलाई थाहा छैन । पहिले मेरो छाती सम्वन्धी विरामी हुँदा भारत सिलगुडीको डाक्टरले खानु भनेको हुँदा खाने गर्दथो । बिवाह गरेपछि सो दबाई पनि खान छोडेको छु । नाइट्रोजन र स्पाभोप्रोक्सीभन खाने गरेको छैन । प्रहरी समक्ष भएको मेरो बयान व्यहोरा मलाई पढी नसुनाई कुटपीट गरी पछि सही गराएको हो । म लागू पदार्थ विक्री गर्दिन । वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूको व्यहोरा झूठा हो । हरिमाया वन समेतको कागज व्यहोरा झूठा हो । म लागू औषध सेवन ओसारपसार र विक्री समेत गर्दिन । म उपरको अभियोग दावी झूठा हो भन्ने समेत व्यहोराको प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीको अदालत समक्ष भएको बयान ।
यी प्रतिवादीले शुरु अदालतसमक्ष इन्कारी बयान गरेको भए तापनि मिसिल संलग्न बरामदी मुचुल्का, अधिकार प्राप्त अधिकारी समक्षको कसूर अपराधलाई स्वीकारी गरेको निजको बयान कागज एवं वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिको व्यहोरा समेतबाट हाल यी प्रतिवादी कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिँदा पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीलाई अ.वं.११८ (२) तथा विशेष अदालत ऐन, २०५९ को दफा ७ (क) बमोजिम मुद्दा पूर्पक्ष निमित्त थुनामा राख्नू भन्ने समेत व्यहोराको आदेशानुसार निज प्रतिवादी कारागार शाखा, मोरङ्गमा थुनामा रहेको ।
बरामदी लागू औषध कोरेक्समा कोडिन फस्फेड, स्याभोप्रोक्सीभन क्याप्सूलमा नारकोटिक र नाइट्रोजन ट्याब्लेटमा नाइट्रोजेपामको तत्व पाइएको भन्ने समेत व्यहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, काठमाडौँका चिकित्सकले गरिदिएको परीक्षण प्रतिवेदन मिसिल सामेल रहेको ।
आदेशानुसार वादीको साक्षी प्रतिवेदक सुभाष राई र प्रतिवादीका साक्षी कुशान तामाङ्गको बकपत्र भै मिसिल संलग्न रहेको ।
यी प्रतिवादीले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को उपदफा (छ) को सेवन सम्मको कसूर अपराध गरेको प्रमाणित भएको हुँदा ऐ.ऐनको दफा १४(१)(ज) बमोजिम २(दुई) महिना कैद र रु.२०००।–(दुईहजार) जरीवाना हुने ठहर्छ भन्ने शुरु सुनसरी जिल्ला अदालतको मिति २०६४।८।६ को फैसला ।
प्रतिवादीले जोगबनीबाट खरिद गरी साथमा राखेको अवस्थामा निजबाट बरामद लागू औषध विक्री गर्ने प्रयोजनका लागि जाँदै गर्दा प्रतिवादीका साथबाट पक्राउ परी अभियोग माग दावी बमोजिम प्रतिवादीले कसूर गरेको कुरा पुष्टी भईरहेको विद्यमान अवस्थामा केवल सेवन मात्र ठहर गरी प्रतिवादीलाई कम सजाय गर्ने गरी भएको शुरु अदालतको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी प्रतिवादीलाई अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन जिकीर ।
प्रतिवादीवाट बरामद लागू औषधको प्रकृति अनुसारको परिणामलाई ठूलो मात्रा मान्न सकिने अवस्था देखिएन । प्रतिवादीबाट बरामद हुँदैमा लागू औषधको विक्री वितरण समेत गरेको भन्न पनि मिल्दैन । लागू औषधको कारोवार गर्ने, संगठन वा गिरोह भएको पनि छैन । यस्तो अवस्थामा प्रतिवादीलाई लागू औषधको सेवनसम्मको कसूरदार ठहर्याई भएको मिति २०६९।८।६ को शुरु सुनसरी जिल्ला अदालतको निर्णय मनासिव नै देखिदा सदर हुन्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत विराटनगरको मिति २०६५।१०।१२ गतेको फैसला ।
अदालतमा बयान गर्दा बरामद भएको लागू औषध आफूबाट बरामद भएको छैन भने पनि सोको प्रमाण प्रतिवादीले पुर्याउन सकेको पाइदैन । निजबाट बरामद भएको लागू औषधलाई न्यून मात्राको भन्न मिल्दैन । निजबाट विभिन्न किसिमको लागू औषध बरामद भएको र सेवनमा निजले जिकीर नै नलिएको अवस्थामा निर्णयकर्ताले आत्मनिष्ठ आधारमा सेवन गरेको भनि ठहर गरेको फैसला मिसिल संलग्न सम्पूर्ण प्रमाण कागजको प्रतिकूल भै त्रुटिपूर्ण छ ।
प्रतिवादीले लागू औषध विक्री गदैछन् भन्ने सूचना पाएको कारणले पक्राउ गर्न गएको हुँ भनी प्रतिवेदक सुभाष राईले अदालतमा वकपत्र गरेको देखिन्छ । प्रतिवादीले लागू औषध खरिद गरी विक्री गर्ने गरेको प्रतिवेदकको प्रतिवेदन, वकपत्र, प्रतिवादीको साविती, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू र हासपोसा गा.वि.स. का ४७ जना टोलवासी नागरिकको भनाइबाट पुष्टी भैरहेको देखिदाँ लाग्नै नसक्ने लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१) (ज) प्रयोग गरी गरेको फैसलामा कानूनी त्रुटि भएकोले उक्त फैसला बदर गरी प्रतिवादीलाई अभियोग दावी बमोजिम सजाय गरिपाऊँ । अतः पुनरावेदन अदालत विराटनगरको फैसलामा न्याय प्रशासन ऐन,२०४८ को दफा १२(१) (क) को अवस्था विद्यमान रहेकोले शुरु अभियोग दावी बमोजिम गरी पाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको मुद्दा दोहार्याई हेरिपाऊँ भन्ने निवेदन ।
यसमा प्रतिवादीले मौकामा विक्री गर्नका लागि ल्याएको भनी राखेको र अदालतमा समेत सेवन गर्न ल्याएको भन्न नसकेको अवस्थामा निजलाई बरामद लागू औषधतर्फ सेवन सम्म गरेको भनी दावी भन्दा घटी सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसलामा लागू औषध ऐन, २०३३ को दफा १४(१) (झ) को व्याख्यात्मक त्रुटि एवं प्रमाण ऐन, २०३१ को दफा ५४, अ.वं.१८४ (क) अनुसार प्रमाणको मूल्याङ्कन भएको नदेखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अनुसार मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । शुरु, रेर्कड र भए प्रमाण मिसिल समेत झिकाई आएपछि साथै राखी नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति २०६६।१।३१ को आदेशानुसार प्रस्तुत मुद्दा पुनरावेदनको रूपमा दर्ता भएको देखिन्छ ।
नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितका सम्पूर्ण मिसिल कागजातहरू अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठीले प्रस्तुत मुद्दामा प्रतिवादीलाई लागू औषध नियन्त्रण ऐन २०३३ को दफा ४ को देहाय (घ) र (ङ) अनुसारको कसूरमा सोही ऐनको दफा १४ (१) (झ) बमोजिम सजायको मागदावी लिई शुरु सुनसरी जिल्ला अदालतमा अभियोग प्रस्तुत गरिएकोमा उक्त अदालतबाट प्रतिवादीहरूले ऐ. ऐनको दफा ४(छ) बमोजिम सेवन सम्मको कसूर अपराध गरेको भनी सजाय ठहर भएकोमा सो फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन अदालत विराटनगर समक्ष पुनरावेदन गरिएकोमा उक्त अदालतबाट शुरु फैसलालाई नै सदर गरेको नमिलेको हुँदा उल्टी गरी प्रतिवादीले अभियोग दावीअनुसार सजाय पाउनु पर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।
उपरोक्त विद्वान सहन्यायाधिवक्ताको बहस समेत सुनी इन्साफतर्फ बिचार गर्दा पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला मिले नमिलेको के हो र वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने नसक्ने के हो भन्ने सम्वन्धमा ठहर निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीबाट नाइट्रोजन ट्यावलेट १२० थान, कोरेक्स ७ बोतल र स्यामोप्रोक्सीभन क्याप्सूल ८ वटा बरामद भएकोमा विवाद देखिदैन । बरामद भएको उक्त लागू औषध प्रतिवादीले सेवन गर्ने प्रयोजनको लागि ल्याएको हो भन्ने कुराको जिकीर लिएको देखिदैन । अधिकारप्राप्त अधिकारी समक्ष बयान गर्दा बरामद भएको लागू औषध विक्री गर्ने उद्देश्यले ल्याएको र सो भन्दा अगाडि पनि विक्री गर्ने गरेको थिए भनी खुलाएको देखिन्छ ।
३. अनुसन्धानमा बुझिएका वस्तुस्थिति मुचुल्कामा सबै व्यक्तिहरूले प्रतिवादीले लागू औषध धरानसम्म लगेर विक्री गर्ने भनी लेखाई दिएको पाइन्छ भने हाँसपोसा गा.वि.स.का ४७ जना टोलबासी नागरिक समाजको बैठक बसी लागू औषध बेचबिखन गर्ने निज प्रतिवादीलाई कडा कारवाही गरिनु पर्ने भन्ने निर्णय समेत भएको देखिन्छ ।
४. अदालतमा बयान गर्दा बरामद भएको लागू औषध आफूबाट बरामद भएको छैन भने पनि सो बरामदी मुचुल्का अन्यथा प्रमाणित हुन सकेको देखिदैन । निजबाट बरामद भएको भनेको लागू औषधलाई न्यून मात्राको भनी सेवनतर्फ ठहर भएकोमा नाइट्रोजन ट्यावलेट १२० थान, कोरेक्स ७ बोतल र स्यामोप्रोक्सीभन क्याप्सूल ८ वटालाई न्यून मात्राको भन्न मिल्दैन । सेवन प्रयोजनलाई खरिद गर्ने र विक्री बितरण गर्नेलाई खरिद हुने अवस्था छुट्याउन लागू औषधको परिमाणलाई पनि हेरिनुपर्ने हुन्छ । सेवन प्रयोजनको लागि एक दुई डोजसम्मको लागि खरिद हुने हो । तर प्रतिवादीबाट बरामद लागू औषध अत्याधिक मात्रामा देखिएकोले सेवनसम्मको लागि खरिद गरेको हो भन्न मिल्ने अवस्था देखिदैन । निजबाट विभिन्न किसिमको लागू औषध बरामद भएको र सेवनमा निजले जिकीर नै नलिएको अवस्थामा पुनरावेदन अदालतबाट सेवन गरेको भनी ठहर गरेको फैसला मिलेको देखिन आएन ।
५. प्रमाणको भारसम्वन्धी सिद्धान्त निरपेक्ष हुँदैन । कुन अपराधमा प्रमाणको भार कसमा राख्ने भन्ने कुरा विधायिकी नीतिको कुरा हो । अपराधको प्रकृति, यसमा संलग्न पक्षहरूको प्रकृति र अपराधिक कार्यशैली आदिको आधारमा राज्यले प्रमाणको भारसम्वन्धी व्यवस्थालाई निर्धारण गरेको हुन्छ । सामान्य परम्परागत अपराधहरूमा प्रमाणको भार वादीमा रहन्छ भने कतिपय मुद्दाहरूमा विषयगत अपराधको गम्भीरतालाई विचार गरी कानूनले निषेध गरेको वस्तु प्रतिवादीबाट बरामद भएमा सो तथ्यलाई कसूर मान्ने कानूनी प्रावधान भई सो आपराधिक कार्य (Corpus delicti) स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा राख्ने गरेको पाइन्छ ।
६. कुनै चीज वस्तु सँगसाथमा फेला पर्नु वा सो चीजवस्तु कसैसँग रहेको कुरा स्थापित हुनु तथ्यगत प्रश्न हो, सबै तथ्यगत विषय कसूर वा अपराध हुदैनन् । तर, कुनै प्रतिबन्धित वस्तु कसैको साथबाट फेला पर्नु नै आपराधिक कार्य (Corpus delicti) गरेको प्रमाणित भएको मानिने प्रकृतिका अपराध जसलाई Possessory Crime भनिन्छ, त्यस्ता अपराधमा आपराधिक कार्य स्थापित भएपछि निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ । लागू औषध अपराध Possessory Crime भएकोले सोमा कसूर प्रमाणित गर्ने भार प्रतिवादीको हुन्छ भन्ने भएकोले प्रतिवादीको साथबाट लागू औषध बदामद भएको पुष्टि भएपछि आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार यस मुद्दामा लागू औषध (नियन्त्रण ऐन) २०३३ को दफा १२ ले प्रतिवादीमा रहेको कुरामा विवाद रहेन । यस्तो अवस्थामा प्रतिवादीले यस ऐन अनुरूप सजाय हुने अपराध गरेको हुन् भनी लागू औषध (नियन्त्रण ऐन), २०३३ को दफा १२ अनुरूप मान्नुपर्ने देखिन आयो ।
७. प्रतिवादीले लागू औषध विक्री गर्दैछन् भन्ने सूचना पाएको कारणले पक्राउ गर्न गएको हुँ भनी प्रतिवेदक सुभाष राईले अदालतमा बकपत्र गरेको देखिन्छ । प्रतिवादीले लागू औषध सेवन गर्ने गरेको भन्ने भनाई तर्कबाट पुष्टी हुने विषय होइन । लागू औषध खरिद गरी विक्री गर्ने गरेको तथ्य प्रतिवेदकको प्रतिवेदन, बकपत्र, प्रतिवादीको साविति, वस्तुस्थिति मुचुल्काका व्यक्तिहरू र हाँसपोसा गा.वि.स.का ४७ जना टोलबासी नागरिकको भनाइबाट पुष्टि भैरहेको देखिँदा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(ज) प्रयोग गरी सेवनसम्मको ठहर र सजाय गरेको पुनरावेदन अदालत बिराटनगरको मिति २०६५।१०।१२ को फैसला त्रुटिपूर्ण भएकोले उक्त फैसला उल्टी भई प्रतिवादीलाई अभियोग मागदावी अनुसार लागू औषध (नियन्त्रण ऐन, २०३३ को दफा ४(घ) र (ङ) बमोजिमको कसूर कायम भई ऐ.को दफा १४(१)(झ) अनुसार २ वर्ष कैद र रु.१,००,०००।– (एक लाख) जरीवाना हुने ठहर्छ । अरुमा तपसीलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम पुनरावेदन अदालत विराटनगरबाट भएको फैसला उल्टी भई प्रतिवादी अर्जुन भोटे भन्ने जीतबहादुर खत्रीलाई २ वर्ष कैद र १ लाख जरीवाना हुने ठहरेकोले निज बेरुजु देखिँदा पक्राउ गरी सो कैद जरीवाना असूलउपर गर्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाइदिनु – –१
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ––– २
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०६९ साल असोज १६ गते रोज ३ शुभम्
इजलास अधिकृतः– परशुराम भट्टराई