शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४१३-२ - ज्यान

भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११

निर्णय नं. १४१३-२   ने.का.प. २०३७

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३६ सालको पुनरावेदन नम्बर ११९

सम्वत् २०३७ सालको फौजदारी साधक नम्बर ६४

फैसला भएको मिति : २०३७।९।२८।१ मा

पुनरावेदक : श्री ५ को सरकार

विरूद्ध

विपक्षी : जिल्ला अर्घाखाँची गा.पं.गोखुगा वडा नं. ४ साझरूख बस्ने ईश्वर सार्कीसमेत

मुद्दा : ज्यान

(१) विधवा स्त्री जाति गाउँ घरको सिधा अवला नारी, आफू भन्दा तल्ला जातको व्यक्तिसँगको सहबासबाट उत्पन्न भएको गर्भलाई राखी रहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएको बच्चालाई निजको भनाई र अठोटमा लागी मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट अ.बं.१८८ नं. ऐन बमोजिम आजसम्म थुनिसकेकोबाट पर्याप्त हुनाले यस मुद्दाको थुनाबाट मुक्त गरी दिने ।

(प्रकरण नं. ११)

फैसला

        न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : खगी मगर्नी र ईश्वरे सार्कीले आपसमा अनुचित करणी लिनु दिनु गरी रहेको गर्भको किसिमबाट हो पतन गराई बच्चालाई मारी गाडेको समेत पत्ता लागेको र निजहरू समेत मुख सावित भएकोले कानुन बमोजिम कारवाई होस् भन्ने समेत प्र.पं.ऋषिराम थापाको जाहेरी दरखास्त ।

        २.  लोग्ने मरेको ८ वर्ष भयो । वनमा गाई वस्तु चराउन गएको बखत राजीखुशीबाट ईश्वरे सार्कीसँग करणी लिन दिन भई गर्भ रहन गएको ईश्वरेलाई गर्भ रहन गएको ०३३।९।२३ मा बताउँदा ईश्वरे सार्कीले एउटा बटुकोमा हरियो झोल र सेतो धुलो जस्तो अर्को औषधी खान दियो खाँदा टर्रो थियो पेटको बच्चा आफैं झर्छ, मरेको जन्मेको लुकाई राख्नु ज्यूँदै जन्मे मारी लुकाउनु भनी ईश्वरे सार्कीले भनेको थियो ०३३।९।३० गतेको बिहान मेरो पेटबाट ज्यूँदो छोरा जन्म्यो जन्मनासाथ दुवै हातले बच्चाको कम्परमा समाती जोडले भित्तामा र जमीनमा ठोकी दिएकोले बच्चा मर्न गयो र कोदालोले खाल्टो खनी खरान पोखरीमा गाडि माटो खर पातले ढाकी राखेको हुँ भन्ने खगी मगर्नीले प्रहरीमा गरेको कागज ।

        ३.  ०३३।१।१० गते गाई हेर्न वनमा जाँदा राजीखुशीबाट करणी लिनु दिनु भयो । त्यसपछि पनि समयसमयमा करणी लिनु दिनु हुन्थ्यो । चिउरीको बोक्राको रस र सेतो वरुवा भन्ने रुखको जराको धुलाले पनि गर्भ झर्ला मर्ला भनी खगीलाई खान दिएको हुँ गर्भ झरे फाली दिनु तँ र म आफ्नो जातमा बसौंला जिउँदै जन्मे जन्मने वित्तिकै मारी फाली दिनु भनेर मैले भने अनुसार खगीले बच्चामारी फाली छ भन्ने समेत ईश्वरे सार्कीले प्रहरीमा गरेको कागज ।

        ४.  जिउँदो बच्चा मार्न बचन दिएमा प्र.ईश्वरे सार्कीलाई ज्यानसम्बन्धीको १३(४) र बच्चालाई जमीन भित्तामा ठोकी मारेमा प्रतिवादी खगी मगर्नीलाई ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सजायको माग दावी भएको प्रहरी प्रतिवेदन ।

        ५.  खगीलाई गर्भ तुइने औषधी खान दिएको थिएँ । यसबाट नभए, जन्मने बेला भएको छ मरेको वा ज्यूउँदो जे भए पनि नराख्नु फाली दिनु भनी म घरतर्फ आएँ त्यसपछि ज्यूँदो छोरा जन्मेछ र मैले भने अनुसार बालकलाई खगीले मारी फाली छ भन्ने समेत प्रतिवादी ईश्वरे सार्कीले अदालतमा गरेको बयान ।

        ६.  ईश्वरेसँग करणी लिनु दिनु भई गर्भ रहेकोले ईश्वरले दिएको झोल र धुलो औषधी खाएँ । अब औषधिले मरेकै जन्मन्छ जिउँदै जन्मेमा बालकलाई मारेर फाल्नु भनेको थियो बच्चा ज्यूँदो जन्मेकोले मैले हातले ठोकी मारेको हुँ भन्ने समेत प्रतिवादी खगीले अदालतमा गरेको बयान ।

        ७.  जन्मेको जिउँदो छोरा मारेमा खगी मगर्नी र मार्नमा बचन दिएमा ईश्वरे सार्की प्रहरीमा र अदालतमा समेत सावित भएका र बालकको लास समेत फेला परेको समेतबाट प्र.ईश्वरे सार्कीले मार्न बचन दिएको र निजको बचन अनुसार खगी मगर्नीले जन्मेको जिउँदो छोरा मारी गाडेको ठहर्छ भन्ने समेत अर्घाखाँची जिल्ला अदालतको ०३४।९।२९ को जाहेरी फैसला ।

        ८.  ज्यानसम्बन्धीको १३(४) कसूरमा बचन दिने भनेको व्यक्ति घटनास्थलमा उपस्थित भएको हुनुपर्छ, ईश्वरे सार्की जातक जन्मेको अवस्था घटनास्थलमा उपस्थित भई मार भनी बचन दिएको कुरा स्वयं खगीले पनि भन्न नसकेको अवस्थामा ईश्वरे सार्कीलाई शुरूले ज्यान सम्बन्धीको १३(४) अन्तर्गतको कसूर गरेको ठहराई जन्मकैदको सजाय गर्ने गरेको फैसला मिलेको नदेखिएको गर्भ पतन गराउन दवाई दिएकोमा र गर्भ पतन नभई जिउँदो बच्चा जन्मेमा मारी दिनु भनेको हुँ भनी अदालतमा समेत ईश्वरे सार्की सावित रहेबाट मतलवी सम्म देखिन आएकोले ज्यानसम्बन्धीको १७(३) अन्तर्गत ३ वर्ष सम्म कैदको सजाय हुने ठहर्छ । पुनरावेदन नगर्ने खगी मगर्नीको हकमा प्रहरी र अदालतमा समेत सावित भएकोले शुरूको इन्साफ सदरठहर्छ भन्नेसमेत पश्चिमाञ्चल क्षे.अ.को ०३३।१।२८।६ को फैसला ।

        ९.  ईश्वरे सार्कीलाई १७(३) अन्तर्गत सजाय गर्ने गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन ।

        १०. पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट विद्वान अधिवक्ता श्री इन्द्रराज पाण्डेले प्र.ईश्वरे सार्कीले जिउँदो बच्चा जन्मेछ भने बालक जिउँदो जन्मने वित्तिकै तैंले मार्नु भनी बचन दिनेलाई ज्यानसम्बन्धीको १७(३) अन्तर्गत सजाय गर्ने गरेको प.क्षे.अ.को इन्साफ मिलेको छैन शुरू वादी दावी अनुसार ज्यानसम्बन्धीको १३(४) अनुसार नै सजाय हुनुपर्ने भन्ने समेत र प्रतिवादी ईश्वर सार्कीका तर्फबाट विद्वान अधिवक्ता श्यामप्रसाद खरेलले प्रतिवादी ईश्वरे सार्कीले खगीको पेटमा रहेको बच्चा मार्न औषधि खुवाउने जिउँदो बच्चा जन्मेमा मार्ने सल्लाह खगीलाई दिई ज्यानमार्ने षडयन्त्रसम्म गरेकोमा ज्यानसम्बन्धीको १३(४) अनुसार सजाय गर्न मिल्दैन भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

        ११. यसमा प्रतिवादी ईश्वरे सार्कीलाई ज्यानसम्बन्धीको १३(४) अन्तर्गत सजायको माग दावी भइआएकोमा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १७(३) अन्तर्गत ३ वर्ष कैद गर्ने गरेको इन्साफ मिलेको छ छैन सो तर्फ नै सर्वप्रथम निर्णय दिनुपर्ने हुनआएको छ । वादी दावी अनुसार निज ईश्वरे सार्कीलाई सजाय गर्न पर्छ कि भन्नलाई उक्त ऐन अन्तर्गतको कसूरमा बचन दिने भन्ने प्रतिवादी ईश्वरे सार्की घटनास्थलमा उपस्थित भई बचन दिएको भन्ने कुरा मिसिल कागजबाट देखिन आउँदैन । यस्तो अवस्थामा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(४) अन्तर्गत सजाय गर्न पर्छ भनी भन्न मिल्दैन । अब क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १७(३) अन्तर्गत ३ वर्ष कैद गर्ने गरेको इन्साफ कसो हो भनी हेर्दा प्रतिवादी मध्येको खगी मगर्नी र प्रतिवादी ईश्वरे सार्कीले करणी लिनु दिनु गरी खगीले पेट बोकेपछि चिउरीको बोक्रोको रस सेतो वरुवा भन्ने वन जंगलमा हुने सानो रुखको पोथ्रो जराको धुलाले गर्भ मर्ला झर्ला भनी खगीलाई खान दिए पेटको गर्भ पिटदै मर्छ र सो मरेपछि गर्भ झर्‍यो भने फालेस बच्चा जिउँदो जन्मेछ भने बालक जिउँदो जन्मने बित्तिकै तैंले मार्नु र अलिपर लगी फाली दिनु भनी भनेको भन्ने कुरा प्रतिवादीले स्वीकार गरी प्रहरी र अदालतमा समेत सावित भई बयान गरेको र सो कुरालाई पुष्ट्याँई गर्दै प्र.खगीले पनि बयान गरेकीले जिउँदो जन्मेको बालकलाई मार्नमा मुख्य षड्यन्त्र गर्ने यी प्रतिवादी ईश्वरे सार्कीलाई ज्यानसम्बन्धीको १६ नं. ऐन बमोजिम ५ वर्ष कैद हुनेमा क्षेत्रीय अदालतबाट ज्यानसम्बन्धीको १७(३) अन्तर्गत सजाय गरेको इन्साफ मिलेन अब प्रतिवादी मध्येकी खगी मगर्नीको हकमा जिउँदो जन्मेको बालकलाई ईश्वरे सार्कीको भनाई अनुसार जिउँदो छोरा जन्मियो भूँइमा झरेको बच्चालाई मैले दुवै हातले कम्मरमा समाती जोडले भित्तामा र जमीनमा ठोकी दिएकोले बच्चा मर्न गएको हो मरिसकेपछि खाल्टोमा हाली पुरेको हुँ भनी प्रहरी र अदालतमा समेत सावित भई बयान गरेकीबाट निजलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । निज प्रतिवादी खगी मगर्नीको हकमा विधवा स्त्री जाति गाउँ घरकी सिधा अवला नारीलाई ईश्वरे सार्कीसँगको सहवासबाट गर्भ रहन गई आफू भन्दा तल्लो जातको व्यक्तिको सहवासबाट उत्पन्न भएको गर्भलाई राखिरहँदा समाजको भनाइलाई लुकाउने प्रयासबाट आफूले जन्माएकी बच्चालाई निज ईश्वरे सार्कीकै भनाई र अठोटमा लागि मारेमा सावित हुँदैमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट अ.बं.१८८ नं. ऐन बमोजिम निज खगीका हकमा आजसम्म थुनिइसकेको बाटै पर्याप्त हुनाले यस मुद्दाको थुनाबाट मुक्त गरी क्षेत्रीय अदालतका फैसला बमोजिम सर्वस्वसहित जन्मकैदको लगत काटी दिनु भनी सम्बन्धित कारागार शाखालाई सम्बन्धित जिल्ला अदालतलाई लेखी पठाउनु । प्रतिवादी ईश्वरे सार्कीका हकमा ज्यानसम्बन्धीको १६ नं. ऐन बमोजिम कैद वर्ष ५ हुने ठहरेकाले पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३६।१।२८।६ का फैसलाले निजलाई कैद वर्ष ३ मात्र गर्ने गरेको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी निजलाई कैद वर्ष ५ मात्र गर्नु भनी अर्घाखाँची अदालतमा लेखी पठाउन का.जि.अ.अ.फाँटमा लगत दिई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३७ साल पौष २८ गते रोज १ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु