निर्णय नं. ३८५४ - किलास खिचोला

निर्णय नं. ३८५४ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४४ सालको दे.पु.नं. ८६९
फैसला भएको मिति : २०४६।४।३०।२ मा
पुनरावेदक/प्रतिवादी : मकवानपुर हेटौंडा न.पं. वार्ड नं. ३ बस्ने रामचन्द्र श्रेष्ठ
विरुद्ध
विपक्षी/वादी : ल.पु.न.पं. वार्ड नं. १४ बस्ने उत्तमबहादुर श्रेष्ठ
मुद्दा : किलास खिचोला
§ विवादित किलास गारोमा छाना अडिने गरी, प्रतिवादीले घर बनाएको भन्ने कतैबाट खुल्न नआएको साथै विवादास्पद किलास गारो प्रतिवादीको घरको छानाले थिची सोही गारोमा प्रतिवादीको घरको छाना अडेको देखिएको यस्तो अवस्थामा घर बनाउनेको १ नं. आकर्षित हुन नसक्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२८ को फैसला उपर पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति पाई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. मेरो पिता खड्गबहादुरको भागमा परेको पूर्व पश्चिम लङ हात २६ गज हात ११ को २ नाले ४ तले झिंगटी छाना भएको घर १ बाबु आमाको भागमा परेको लम्बाई हात १५ गज हात ५ १/२ को बाँकी टहरा घर १ मध्ये दक्षिण पट्टिको लम्बाई हात ७ गज हात ५ १/२ छाडी दिएको घर १ समेत भत्की पाताल भएबाट म बनाउँछु भनी पिताजीबाट स्वीकृत लिई मन्जूरनामा सहित राखी पूर्व पिता खड्गबहादुर, कान्छी कुस्ले र माहिली कुस्लेको साझा घर, पश्चिम साझा चोक मेरो किलास गारो र सो को पश्चिम म विपक्षी रामचन्द्रको घर उत्तर कान्छी र माहिला कुस्लेको घर साझा चोक र मेरो किलास गोरो सो को उत्तर बुद्धिबहादुर श्रेष्ठको किलास समेतको घर, दक्षिण मेरो किलास गारो र सो को दक्षिण निज रामचन्द्र श्रेष्ठकै घरको पुछेननी यति ४ किल्ला भित्रको घर भत्की पाताल भएको सो मा र पश्चिम, दक्षिण, उत्तर किलास गारो भत्काई घर बनाउन पाउँ भनी ल.पु.न.पं. मा दरखास्त गरेकोमा सो प्रति विपक्षीले विरोध जनाई मलाई विपक्षी संकेत गरी आफ्नो गारो भनी दरखास्तमा लेखेको सो गारोको घर पाताल तर्फ मेरो घरको पाखा भएको सो पाखाको पानी सो पाताल तर्फ गिर्ने हाल मौजूद भएको मेरो एकलौटी गारो मेरो हक भोगको पेटीतर्फ बार्दली राख्न नपाउने मेरो घर देखि पूर्व हाम्रो पूर्खा देखि स्थापना भई मैले भोग चलन गरी आएकोमा चिबहाल समेत भित्र पारी सार्वजनिक देखाई मेरो हक मेटने गरी भन्ने समेत उल्लेख गरी नक्सा बदर गरिपाउँ भन्ने उजूर दिनु भएबाट अर्काको घर किलासलाई आफ्नो भनी अनावश्यक कुरा दर्साई उजूर दिई मोल रु. १००।– जाने किलास गारोमा खिचोला गरेकोले नक्सा सरजमीन समेत बुझी हक इन्साफ गरी विपक्षीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिराद ।
३. विपक्षीले झुठ्ठा दावी लिएको किलास गारोहरु मेरो घरको छानाले थिचेको मेरै हक हो भन्ने यर्थाथ अ.बं. १७१ नं. को कानुनी रीत पुर्याई नक्सा गराई विपक्षीको फिराद खारेज गरी विपक्षीको दावीको किलास गारो समेत मेरै एकलौटी हक कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर ।
४. मिति २०३८।७।२४ को नक्साको न.नं. १ को किलासमा खिचोला गरेको भनी विवाद परेको देखिन्छ । वादीले प्रमाण दिएको बण्डापत्रमा उल्लेख भएको किल्ला समेत भिडाई हेर्दा उक्त किलाससँग हाल भई आएको नक्सा मिले भिडेको देखिएको, प्रतिवादीले आफ्नो जिकिरमा बण्डापत्र देख्न सुन्न पाए नामाकरण गर्नेछु भन्ने उल्लेख गरेको आधारबाट उक्त बण्डापत्र प्र. वारेसलाई देखाउँदा सुनाउँदा सद्दे भनेको जिल्ला डोरको उक्त नक्सा मुचुल्काको तपसील विवरण उल्लेख भएको खण्डमा न.नं. ५ को प्रतिवादीको हाम्रो सिमाना भन्दा यता न.नं. १ को गारोको ईटा छुट्टै समेत देखाएको ठीक छ भनी उल्लेख भएको देखिएको समेतबाट विवादास्पद न.नं. १ को पश्चिम र दक्षिणको किलास गारो वादीकै हकको देखिएको समेतबाट वादी दावी अनुसार प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत ल.पु.जि. अ. को २०३८।८।१० को फैसला ।
५. ल.पु.जि. अ.को उक्त फैसला प्रत्यक्ष कानुनी त्रुटि भई चित्त नबुझेकोले सो फैसला उल्टाई हक इन्साफ पाउँ भन्ने समेतको प्रतिवादीको बा.अं.अ. मा परेको पुनरावेदन जिकिर ।
६. पुनरावेदकले पेश गरेको नक्सामा समेत विवादास्पद गारोमा खोपाहरु र प्वालहरु वादीकै तर्फ देखिन आएको छानो बलेसीको सम्बन्धमा घर बनाउनेको १ नं. ले व्यवस्था गरे अनुसार नै हुने हुँदा जिल्ला अदालतको नक्साबाटै गारोको ईटा छुट्टा देखाइराखेको देखिँदा खिचोला ठहर्याएको शुरुको इन्साफ बेमनासिब भन्ने मिलेन । जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा पुनरावेदन जिकिर पग्न सक्दैन भन्ने समेत बा.अं.अ. को फैसला ।
७. शुरुको फैसला सदर गरेको बा.अं.अ.को फैसला कानुनी त्रुटिपूर्ण भई चित्त नबुझेकोले पुनरावेदनको अनमुति पाउँ भनी प्रतिवादीको म.क्षे.अ.मा परेको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत म.क्षे.अ.को आदेश ।
८. यस्मा विवादको न.नं. १ को गारो किलास प्रतिवादीको घरको पूर्व उत्तरतर्फ छाना अडेको बारे पहिले न.नं. २ को वादीको घर पाताल भएको अवस्था प्रतिवादी तर्फबाट राखिएको उक्त छाना रहेकैसम्मबाट सो किलास गाह्रो प्रतिवादीको हकको कायम हुन ठोस सबूत आउन सकेको देखिंदैन र वादी तर्फबाट तलै पिच्छेको गाह्रोमा पहिले देखि दलिनहरु अडाइएको दलिन प्वाल तथा दलिनका टुक्राहरु रहेको र खोपाहरु समेत रहेकोबाट न.नं. २ को भत्केको घर किलासबाट वादी पक्षको छुट्टै भत्केको घरको किलास गारो भएको पुष्ट्याई हुन्छ र सो गाह्रोमा प्रतिवादीको घरको छाना बेलेसी अडेकोमा घर बनाउने महलको १ नं. ले वादीको घर बनाउँदा उक्त छाना बलेसी भत्काई बनाउन पाउने पनि देखिँदा विवादको गारो किलास वादीको हक कायम गरी प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको बा.अं.अ. को इन्साफ त्रुटि भएको देखिन नआएबाट केही परिवर्तन गर्न नपरी मनासिब ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ. को २०४४।३।२८ को फैसला ।
९. म.क्षे.अ. को मिति ०४४।३।२८ को फैसला उपर चित्त बुझेन न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख), (ग) र उपदफा (७) समेतको आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादी रामचन्द्र श्रेष्ठको निवेदनपत्र ।
१०. यस्मा विवादित गाह्रो किलास विपक्षीले वादीको निर्विवाद रुपमा हक स्थापित भैसकेको देखिन आउँदैन, यस्तो अवस्थामा मुलुकी ऐन अ.बं.८२ नं. ले त्यस्तो गाह्रो किलास सम्बन्धमा उजूर गर्न पाउने हक वादीलाई प्राप्त भएको मान्न नमिल्ने हुँदा हकै नपुग्ने व्यक्तिले गरेको फिराद खारेज गर्नु पर्नेमा इन्साफ गरेको म.क्षे.अ.को फैसलामा अ.बं.८२ नं. को व्याख्यात्मक त्रुटि भई न्या. प्र.सु.(सं.स.) ऐन, ०३१ को दफा १३ (५) को खण्ड (ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति ०४४।१०।२२ को आदेश ।
११. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा तारेखमा रही उपस्थित भएका वादी प्रतिवादीलाई समेत रोहवरमा राखी पुनरावेदक/प्र.तर्फबाट विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री पिताम्बर सिलवालले गर्नुभएको बहस जिकिर सुनी मिसिल समेत अध्ययन गरी हेरियो ।
१२. विवादको गाह्रो किलास प्रतिवादीले खिचोला गरेको ठहर्याएको बागमती अञ्चल अदालत समेतको इन्साफ सदर गरेको म.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ भनी त्यसतर्फ निर्णय दिनु पर्ने हुन आयो । यस्मा निर्णयतर्फ विचार गर्दा शुरु ललितपुर जिल्ला अदालतबाट मिति ०३८।७।२४ मा भई आएको नक्सा मुचुल्कामा न.नं. १ को विवादास्पद किलास गारोको इट्टा छुट्टै भएको र सो गारोको दक्षिण पश्चिममा बत्ति राख्ने खोपा तथा तलै पिच्छे दलिन राख्ने प्वाल र दलिनका टुक्रा समेत भएको देखिएको भन्ने जनिएको र मिसिल संलग्न फोटोले पनि समर्थन गरेको भन्ने आधार बुँदा लिई प्रतिवादीले खिचोला गरेको ठहराएको इन्साफ सदर गरी म.क्षे.अ. बाट निर्णय भएको पाइयो । विवादास्पद किलास गारो देखिने गरी खिचिएको मिसिल संलग्न रहेको फोटो हेर्दा विवाद परेको भनिएको किलास गाह्रो माथिसम्म उठी सोही किलास गारोमा अडिने गरी प्रतिवादीको घरको छाना रहेको देखिने र सो कुरा मिति ०३८।७।२४ मा भएको नक्सा मुचुल्कामा समेत जनिएको पाइएबाट विवादास्पद किलास गारो र प्रतिवादीको घरको गारो छुट्टाछुट्टै अस्तित्वमा नरही, वादीले मेरो भनेको विवादित न.नं. १ को किलास गारो भत्के बिग्रेमा प्रतिवादीको घरको छाना त्यस्मा अडिएको नाताले प्रतिवादीको घरलाई समेत असर पुग्न सक्ने अवस्थामा रहेको देखिन आयो । मुलुकी ऐन घर बनाउनेको महलको १ नं. मा “घर बनाउँदा बलेनी अर्काका जग्गामा परे जग्गाधनीले रोक्न हुँदैन । जग्गाधनीले त्यसै जग्गामा तला उठायो वा घर बनायो भने त्यो बलेसी काटी बनाउन पाउँछ काट्न नदिई रोक्न हुँदैन” भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा घरको गारो किलास सम्बन्धमा विवाद खडा भई मुद्दा चलेको र वादीको घर पाताल भएपछि मात्र, विवादित किलास गारोमा छाना अडिने गरी, प्रतिवादीले घर बनाएको भन्ने कतैबाट खुल्न नआएको साथै विवादास्पद किलास गारो प्रतिवादीको घरको छानाले थिची सोही गारोमा प्रतिवादीको घरको छाना अडेको देखिएको यस्तो अवस्थामा घर बनाउनेको १ नं. आकर्षित हुनसक्ने नदेखिँदा विवादास्पद किलास गारोमा वादीको एकलौटी हक कायम गरी दिनु न्यायरोहबाट उचित नहुने हुँदा न.नं. १ को विवादित किलास गारोमा एकलौटी हक कायम गरी प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु जिल्ला अदालत र बागमती अञ्चल अदालतको फैसला सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । विवादको किलास गारो वादीको मात्र एकलौटी नदेखिंदा प्रतिवादीले खिचोला गरेको ठहर्दैन । मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए अनुसार प्रतिवादीले खिचोला गरेको नठहरी फैसला भएकोले प्रतिवादीले पुनरावेदन गर्दा बा.अं.अ. मा रु. –।७५ म.क्षे.अ. मा रु. ।७५ पैसा र यस अदालतमा राखेको कोर्टफी रु. –।७५ समेत जम्मा रु.२।२५ वादीबाट भराई पाउने हुँदा दण्ड सजायँका ४२ नं. को म्याद भित्रै दर्खास्त दिन आए केही दस्तूर नलिई प्रतिवादीलाई भराई दिनु भनी शुरु ल.पु.जि. अ. मा लेखी पठाउन का.जि. अ. मा लगत दिनु ......१ ऐ.ऐ. भएकोले प्रतिवादीले बागमती अञ्चल अदालतमा पुनरावेदन दर्ता गर्दा मिति ०३८।१२।९ मा ल.पु.जि. अ. मा राखेको धरौटी रु. १५।– प्रतिवादीले फिर्ता पाउने हुँदा ऐनका म्यादभित्र फिर्ता माग्न आए कानुनको रीत पुर्याई फिर्ता दिनु बा.अं.अ. को लगत कट्टा गर्नु भनी ल.पु.जि. अ. मा लेखी पठाउन का.जि. अ. मा लगत दिनु ..२ म.क्षे.अ. को इन्साफ उल्टी हुने ठहर भएकोले म.क्षे.अ. का मा.न्या. श्री केदारनाथ आचार्य र मा.न्या. श्री महेश्वरमान प्रधानको उल्टीमा रेकर्ड राख्नु ..३ मिसिल नियम बमोजिम गरी बुझाई दिनु......४
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल साउन ३० गते रोज २ शुभम् ।