निर्णय नं. ३८५५ - हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको
निर्णय नं. ३८५५ ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४५ सालको फौ.पु.नं. ४०१
फैसला भएको मिति : २०४६।५।११।१ मा
पुनरावेदक/वादी : प्र.स.नि. कृष्णबहादुर दुवाडीको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : ल.पु.न.प.वा.नं. ४ बस्ने चार्ल्स मेण्डिजसमेत
मुद्दा : हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार गरेको
§ संवैधानिक व्यवस्थाबाट सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन गर्न र सो अवलम्बन गरी आएको धर्मको धार्मिक कृतसम्म गर्न पाउने हकको संरक्षण प्रदान गरेको तर धर्म जुन सनातन देखि चलिआएको छैन भने त्यस्तो धर्म सम्बन्धी हकलाई भने संविधानमा संरक्षण प्रदान गरेको नदेखिने ।
(प्रकारण नं. २६)
§ संविधानको धारा १४ मा परम्पराको मर्यादा राखी सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत गर्न पाउने हकलाई अदलको १ नं. मा भएको व्यवस्थाले संकुचित पारेको नदेखिने ।
(प्रकरण नं. २६)
§ प्रतिवादीलाई मुलुकी ऐन अदलको १ नं. बमोजिम ६ वर्ष कैद हुने ठहरी प्रतिवादी विदेशी समेत देखिँदा देश निकाला समेत हुने ।
(प्रकरण नं. २७)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिं बोगटी
विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला
फैसला
न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।१।१६।४ को फैसला उपर चित्त नबुझी पुनरावेदनको अनुमतिको लागि वादी श्री ५ को सरकारतर्फबाट पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ ।
२. २०४०।४।२२ गते बिहान म एरियाको हाल खबर बुझ्न भनी जाँदा ल.पु.न.पं. धोविघाट नजिकको सडकमा धोविघाट बस्ने चार्ल्स मेण्डिज भन्ने व्यक्तिको फोटो समेत भएको क्रिश्चियन धर्म सम्बन्धी प्रचारको कुराहरु अंग्रेजी भाषामा लेखिएको पम्पलेट थान १ फेला परेकोले बुझ्दै जाँदा ल.पु.न.पं. धोविघाट बस्ने चार्ल्स मेण्डिज र दार्जलिङ घर भई हाल ल.पु.न.पं. ५ महापाल डेरा गरी बस्ने एडोन रंगोंग समेतका व्यक्तिले हिन्दू धर्मावलम्बीका व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी हिन्दू धर्मबाट क्रिश्चियन धर्ममा परिवर्तन गर्न लगाई इसाई मत प्रचार गरेको भन्ने बुझिएकोले निजहरुलाई कानुन बमोजिम कारवाई हुन फेला परेका पम्पलेट समेत यसै साथ राखी जाहेर गरेको छु भन्ने समेत व्यहोराको प्र.स.नि. कृष्णबहादुर दुवाडीको मिति २०४०।४।२२ को प्रतिवेदनपत्र ।
३. क्यानेडीयन गिडिवन भन्ने पत्रिकामा लेखिएको सम्पूर्ण कुराहरु सत्य हुन् मैले क्यानाडामा गै दिएको स्पीच उक्त पत्रिकामा लेखिएको छ । मैले नेपालमा आज भन्दा करीब ९–१० वर्ष देखि क्रिश्चियन धर्मको बाइवल किताबहरु बेची क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै आएको । मैले प्रचार गर्न लागे देखि हालसम्म क्रिश्चियन संख्या बढ्न गएको र प्रचार प्रसारबाट नेपाली हिन्दूमा असर प्रभाव भने परेको छ । प्रचार प्रसारबाट कुनै असर नपरोस भनी मैले कुनै कदम चलाएको छैन पुलचोक स्थित नारायणी होटलमा समेत मैले इसुकृष्टको बारेमा नेपाली तथा विदेशीहरु समेतमा ज्ञान होस भनी गिडेन वाइवलका किताबहरु दिएको छु भन्ने समेत व्यहोराको जि. प्र.का. समक्ष चार्ल्स मेण्डिजले गरेको ततिम्बा सहितको बयान कागज ।
४. मेरो धर्म क्रिश्चियन हो मैले पहिले देखि नै क्रिश्चियन धर्म मानी आएको छु, प्रत्येक दिन अनुग्रह भवन भनी उक्त म बस्ने गरेको भवनको नाम म आफैंले राखेको र प्रत्येक दिन प्रार्थना गर्दछु । म एउटा क्रिश्चियन भएको नाताले क्रिष्टियन झुण्डमा प्रबचन दिने गर्दछु । मैले दिएको प्रवचन शिक्षा जुन क्रिश्चियन धर्मसम्बन्धी हुन्छ । यस प्रवचनबाट हिन्दू धर्मावलम्बीहरुलाई असर नपरोस् भनी कुनै कदम चालेको छैन । च्यालेन्ज भन्ने पत्रिकाको बारेमा मैले नैतिकताको आधारमा समर्थन गरेको छु । चार आध्यात्मिक नियमहरु भन्ने किताब म बसी आएको घर कम्पाउण्ड भित्रको बगैंचाबाट बरामत हुन आएको हो, यो किताबको उद्देश्य क्याम्पसमा पढ्ने विद्यार्थीहरु क्रिश्चियन होस या हिन्दू इसु विरुद्धको बारेमा तिनीहरुले जानुन् भन्ने उद्देश्यले निकालिएको हो । म नेपालको लागि क्याम्पस क्रुसेट भन्ने संस्थाको सञ्चालक भएको हुँदा यस्को उद्देश्य नेपालको स्कूल कलेज गाउँ घरमा इसुक्रिष्टको बारेमा जानकारी गराई प्रभु इसु प्रति आस्था बढाई क्रिश्चियन धर्मको प्रचर गर्नु हो । यो धर्म प्रचार गर्ने संस्था भएकोले नेपाल भित्र हिन्दू जातीमा चली आएको धर्ममा खलल हुने गरी इसाई मत प्रचार गर्नु नै यस्को उदेश्य अनुरुप अगाडि बढाउँदै लैजानु मेरो समेत लक्ष रहेको छ र उद्देश्य अनुरुप गर्दै आएको छु भन्ने समेत व्यहोराको अभियुक्त एडोन रंगोगले जि. प्र.का. मा गरेको ततिम्बा सहितको बयान ।
५. मेरो हिन्दू कूलमा जन्म भए तापनि इसु क्रिष्टमा विश्वास भएकोले आफ्नो हिन्दू धर्मलाई त्यागी क्रिश्चियन धर्मका लागि धर्म परिवर्तन गरेको छु । मैले आफैं प्रत्यक्षरुपमा क्रिष्टियन धर्मको बारेमा प्रचार प्रसार नगरे तापनि कसैले क्रिश्चियन धर्मको बारेमा जान्न चाहेमा मैले जाने बुझेसम्म इसु क्रिष्टको बारेमा जानकारी गराउने गर्दछु भन्ने समेत व्यहोराको जि. प्र.का. मा सहदेव महतले गरेको बयान ।
६. मेरो जन्म हिन्दू धर्मावलम्बी क्षेत्री कूलमा भएको हो इसुक्रिष्ट प्रति मेरो विश्वास भई मलाई विमारीबाट निको पारेको हुनाले हिन्दू धर्मलाई त्यागी क्रिश्चियन धर्ममा परिवर्तन भएको हुँ । मैले कसैलाई क्रिश्चियन बन भनी प्रेरणा शिक्षा दिने गरेको छैन भन्ने समेत व्यहोराको जि. प्र.का.मा अब्राहम के.सी.ले गरेको बयान ।
७. डोरमा देखाइएका अभियुक्त एड्रोन रंगोग, चार्ल्स मेण्डिज समेत क्रिश्चियन हुन् । एण्ड्रोनले भाडामा लिई बसी आएको जावलाखेल स्थित घरमा क्रिश्चियन धर्म सम्बन्धी पाठ पूजा गानबजान हुन्छ । अरु बाहिरका मानिसहरु को को आउँछन चिन्दिनौं । यो घरलाई अनुग्रह भवन भन्ने गरेको छ अनुग्रह भवनमा आउने मानिस क्रिश्चियन हुन वा होइनन् हामीलाई थाहा छैन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
८. अभियुक्त एड्रोन रंगोग, चार्ल्स मेण्डिज, प्रकाश सुब्बा र काजी महर्जन समेतले नेपालभित्र हिन्दू जातीमा चलिआएको धर्ममा खलल हुने गरी इसाई मत प्रचार गरेको अभियोगमा निजहरुलाई मु.ऐ.अदलको १ नं. बमोजिम तथा अभियुक्त सहदेव महत र अब्राहम भन्ने ज्ञानबहादुर के.सी. ले आफ्नै धर्म परिवर्तन गरी इसाई धर्म लिएको अभियोगमा निजहरुलाई मु.ऐ.अदलको महलको १ नं. बमोजिम कारवाही र सजाय हुन माग दावी लिई अनुसन्धानमा फेला नपरेका काजी महर्जन र प्रकाश सुब्वालाई अदालतबाटै म्याद जारी गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४०।५।१९ को प्रहरी प्रतिवेदन ।
९. म क्रिश्चियन धर्म मान्नु पर्ने कारणमा मेरो आफ्नै स्थितिले गर्दा हो । मैले यो धर्म लिनलाई प्रभु इसुबाट प्रोत्साहन पाएको हुँ । मलाई कसैले क्रिश्चियन बनाएको होइन । धर्म परिवर्तन गर्दा कुनै कानुनी बन्देज छ भन्ने कुरा मलाई थाहा थिएन । थाहा पाएपछि हिन्दू धर्मतर्फ आउन कोशिशै गरिन भन्ने समेत व्यहोराको सहदेव महतले ललितपुर जिल्ला अदालतमा गरेको बयान ।
१०. म पहिला हिन्दू थिएँ ३ वर्ष जति बिरामी परेपछि प्रभु इसूमा विश्वास गरेर नयाँ जीवन पाएँ । म आफ्नै स्वेच्छाले क्रिश्चियन भएको हुँ मैले हिन्दू धर्मबाट शान्ति आनन्द मुक्ति नपाएर नै क्रिश्चिय धर्म परिवर्तन गरेको हुँ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतमा अब्राहम भन्ने ज्ञानबहादुर के.सी. ले गरेको बयान ।
११. मैले जिल्ला प्रहरी कार्यालय र जिल्ला कार्यालयमा गरेको बयान आफ्नो स्वेच्छाले गरेको बयान हो । म क्रिश्चियन धर्म सम्बन्धमा बोलाइएका ठाउँमा म प्रबचन दिने गर्दछु । यसरी प्रबचन दिंदा हिन्दू धर्मलाई कुनै असर पर्छ भन्ने मलाई लाग्दैन प्रबचनको लागि खास गरी काठमाडौं ललितपुर जाने गर्दछु । मैले क्रिश्चियन धर्मको प्रवचन र प्रसार गरेको थिएँ । हिन्दू धर्मलाई खलल पुग्ने गरी प्रचार गरेको थिइन भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतमा प्र.एण्ड्रोन रंगोगले गरेको बयान ।
१२. मेरो नागरिकता नेपाली र धर्म क्रिष्ट्रियन हो प्रहरीमा गरेको मेरो बयान आफ्नो राजीखुशीले नै गरेको हो । मैले क्रिश्चियन धर्म प्रचार गरेको हुँ । तर हिन्दू धर्मलाई खलल पारेको छैन भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतमा प्र.चार्ल्स मेण्डिजले गरेको बयान।
१३. मैले क्रिश्चियन धर्म मानी आएको छु । हिन्दू धर्मलाई खलल पर्ने गरी मैले प्रचार गरी आएको छैन । बाबु बाजेले मानेको क्रिश्चियन धर्मलाई मानी आएको छु । हिन्दू धर्मलाई खलल पर्ने गरी मैले प्रचार गरी आएको छैन । बाबु बाजेले क्रिश्चियन धर्मलाई मानी आएकोले मैले पनि क्रिश्चियन धर्म मानी आएको छु भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतमा प्रकाश सुब्बाले गरेको बयान ।
१४. प्रतिवादी मध्येका चार्ल्स मेण्डिज, एण्ड्रोन रंगोग, काजी महर्जन र प्रकाश सुब्बा समेतलाई प्रहरी प्रतिवेदनको माग दावी पुग्न सक्दैन निजहरुले सफाई पाउने ठहर्छ । प्रतिवादी अब्राहम भन्ने ज्ञानबहादुर, सहदेव महतलाई मु.ऐ. अदलको महलको १ नं. को आधारमा ३ महीनाका दरले कैद हुन्छ र सो परिवर्तित क्रिश्चियन धर्म बदर भई हिन्दू धर्ममै कायम रहने ठहर्छ भन्ने समेत व्यहोराको शुरु जिल्ला ललितपुर अदालतको मिति २०४२।१।१७ को फैसला ।
१५. शुरु जिल्ला अदालतले प्रमाणको सत्यतालाई बेवास्ता गरी प्रतिवादीहरुलाई सफाई दिएको फैसला तर्कहिन हुँदा प्रहरी प्रतिवेदन माग दावी अनुसार हदैसम्म सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको म.क्षे.अ. मा परेको पुनरावेदन ।
१५. हामीहरुले स्वेच्छापूर्वक अरु कसैलाई खलल नपुर्याईकन धेरै वर्ष पहिले देखि क्रिश्चियनमा रहेको स्थितिमा क्रिश्चियन धर्म ग्रहण गरेको हुँदा ललितपुर जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने समेत व्यहोराको म.क्षे.अ. मा अब्राहम भन्ने ज्ञानबहादुर के.सी. र सहदेव महतले गरेको संयुक्त पुनरावेदनपत्र ।
१६. प्रतिवादीहरुलाई सफाई दिने गरेको शुरु ललितपुर जिल्ला अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नियमावली, २०३६ बमोजिम छलफलको लागि झगडिया झिकाइने भन्ने समेत व्यहोराको म.क्षे.अ. को २०४३।१०।२५ को आदेश ।
१७. आफ्नो धर्मको अवलम्बन वा धार्मिक कृत्य गर्दा हिन्दू धर्ममा खलल पर्न गएको र हिन्दू धर्ममा खलल पर्ने गरी इसाई मतको प्रचार प्रसार गरेको नपाइएकोले शुरु ललितपुर जि. अ. ले प्रतिवादीहरु चार्ल्स मेण्डिज, एण्ड्रोन रंगोग, काजी महर्जन तथा प्रकाश सुब्बालाई आरोपित कसूरबाट सफाई दिने गरी गरेको फैसला मनासिब ठहर्छ । प्रतिवादीहरु अब्राहम भन्ने ज्ञानबहादुर के.सी. र सहदेव महत स्वेच्छाले आफ्नो धर्म परिवर्तन गरेमा अदालतमा सावित भई बयान गरेको र त्यस्तो कार्यलाई उक्त अदलको १ नं. विपरित भएकोले शुरु ल.पु.जि. अ.ले वादी दावी बमोजिम कसूर कायम गरी अदलको १ नं. बमोजिम तजविजी सजाय ३ महिना कैद गर्ने गरी र परिवर्तित धर्म बदर गरी हिन्दू धर्ममा रहने ठहर्याई गरेको फैसला मिलेकै देखिँदा परिवर्तन गरिरहन नपरी मनासिब ठहर्छ । वादी श्री ५ को सरकार तथा प्रतिवादी अब्राहम भन्ने ज्ञानबहादुर के.सी. तथा सहदेव महतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ. को २०४४।१।१६ को फैसला ।
१८. क्रिश्चियन धर्म प्रचार प्रसार गरेको कुरामा प्रहरी सावित भई सोही प्रहरीमा भएको बयान राजीखुशीबाट भएको भन्दै साविती रहेको स्थितिमा प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने तथा घटी सजायँ समेत गरी गरेको म.क्षे.अ. को इन्साफमा कानुनको त्रुटि देखिन आएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादी श्री ५ को सरकार तर्फबाट यस अदालतमा पर्न आएको निवेदनमा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(१) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४४।१०।४ को आदेश रहेछ ।
१९. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी इजलास समक्ष पेश भई आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान सरकारी सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले प्रहरी समक्ष कागज गर्ने प्रतिवादी चार्ल्स मेण्डिज, एड्रोन रंगोग समेतका प्रतिवादीहरुले प्रहरी समक्ष गरेको बयान कागज तथा अदालतमा गरेको बयान कागजबाट निज प्रतिवादीहरुले नेपाल अधिराज्य भित्र हिन्दू धर्ममा खलल हुने गरी इसाइमत (क्रिश्चियन) प्रचार प्रसार गरेको देखिनुको अतिरिक्त प्रतिवादीहरुबाट इसाईमत प्रचार गरेको बरामद भई आएको बुकलेट तथा (Canadian Gideon) भन्ने पत्रिकाहरुबाट समेत पुष्टी भैरहेको स्थितिमा केवल २ जना प्रतिवादीहरुलाई माग दावी भन्दा कम सजाय गरी अन्य प्रतिवादीहरुलाई सफाई दिने गरेको म.क्षे.अ. को फैसला मिलेको नहुँदा उक्त फैसला बदर गरी वादी दावी बमोजिम सबै प्रतिवादीहरुलाई सजायँ गरिपाउँ भन्ने समेत गर्नुभएको बहस जिकिर र विपक्षी प्रतिवादीहरुको तर्फबाट बहसको लागि उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री हरिशंकर निरौलाले नेपालको संविधानको धारा १४ ले प्रत्येक व्यक्तिले परम्पराको मर्यादा राखी सनातन देखि चलिआए को आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत गर्न पाउने धर्म सम्बन्धी हकको प्रष्ट व्यवस्था गरेको र नेपाल भित्र रहेको हिन्दू धर्ममा कुनै पनि किसिमबाट खलल हुने गरी मेरो पक्षहरुबाट दावी लिए बमोजिम मत प्रचार गरेको नहुँदा र हिन्दू धर्ममा दखल हुने किसिमको कुनै पनि प्रमाण वादी पक्षबाट प्रस्तुत हुन नसकेको स्थितिमा सजायँको भागी बन्नु पर्ने स्थिति छैन । म.क्षे.अ.ले १ वर्ष सजायँ गर्ने गरेको प्रतिवादीहरु लगायतका सबै प्रतिवादीहरुलाई सफाई पाउनु पर्ने स्थिति छ भन्ने समेत गर्नुभएको बहस जिकिर समेत सुनियो ।
२०. प्रस्तुत मुद्दामा म.क्षे.अ.ले गरेको इन्साफ मनासिब बेमनासिब के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
२१. यस्मा मु.ऐ.अदलको १ नं. बमोजिमको सजायँको माग दावी लिई प्रतिवादीहरु उपर प्रहरी प्रतिवेदन परेकोमा प्रतिवादी मध्येको चार्ल्स मेण्डिज, एड्रोन रंगोग, काजी महर्जन, प्रकाश सुब्बा समेतलाई सफाई दिने र प्रतिवादी अब्राहम भन्ने ज्ञानबहादुर र सहदेव महतलाई मुलुकी ऐन अदलको १ नं. को आधारमा ३ महीना कैद हुने शुरु इन्साफलाई म.क्षे.अ. ले सदर गरे उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदनको अनुमतिको लागि पर्न आएका निवेदनमा प्रतिवादीहरुले क्रिश्चियन धर्म प्रचार प्रसार गरेको प्रष्ट देखिँदा देखिंदै आरोपित कसूरबाट सफाई दिने गरेको म.क्षे.अ. को फैसलामा अदलको १ नं. को व्याख्यात्मक त्रुटि गरी गरेको देखिन आएकोले पुनरावेदनको अनुमति प्रदान भई इजलास समक्ष पेश हुन आएको देखिन आयो ।
२२. २०४० साल श्रावण २२ गतेको दिन ल.पु.न.पं. धोविघाट नजिकको सडकमा चार्ल्स मेण्डिज भन्ने व्यक्तिको फोटो समेत भएको क्रिश्चियन धर्म सम्बन्धी प्रचारका कुराहरु अंग्रेजी भाषामा लेखिएको पाम्पलेट थान १ फेला परेकोले उक्त फेला परेको पाम्पलेट यसै साथ दाखिल गरेको छु, यसरी हिन्दू धर्ममा प्रतिकूल असर पर्ने गरी क्रिश्चियन धर्म प्रचार गरी हिन्दू धर्ममा खलल पारी हिन्दू धर्मावलम्बीहरुलाई क्रिश्चियन बनाउने व्यक्तिहरु को को हुन त भनी बुझ्दा ल.पु.न.पं. धोविघाट बस्ने चार्ल्स मेण्डिज र दार्जलिङ्ग घर भई हाल ल.पु.न.पं. महापाल डेरा गरी बस्ने एड्रोन रंगोग समेतका व्यक्तिले हिन्दू धर्मावलम्बीहरुलाई विभिन्न प्रलोभनमा पारी हिन्दू धर्मबाट क्रिश्चियन धर्ममा परिवर्तन गर्न लगाई इसाई मत प्रचार गरेको बुझिन आएको हिन्दू धर्ममा खलल हुने गरी इसाई मत प्रचार गर्ने हाल देखा परेका चार्ल्स मेण्डिज र एण्ड्रोन रंगोग रहेछन् अरु को को भई के कस्तो परिबन्दबाट नेपालमा इसाई मत प्रचार गर्दै आएका छन् बुझिएका बखत प्रतिवेदन गर्ने गरी हाल थाहा हुन आएका चार्ल्स मेण्डिज र एण्ड्रोन रंगोगलाई कानुन बमोजिम कारवाही हुन फेला परेको पाम्पलेट साथ जाहेर गरेको छु भन्ने प्र.स.नि. कृष्णबहादुर दुवाडीको जिल्ला प्रहरी कार्यालयमा २०४०।४।२२ मा प्रतिवेदन परेको देखियो । प्रतिवादी चार्ल्स मेण्डिजले जिल्ला प्रहरी कार्यालयमा गरेको बयानको सवाल जवाफ ४ मा उक्त बरामद भई आएको Canadian Gideon पत्रिकामा छापिएको फोटो तथा त्यस्मा उल्लेखित कुराहरुलाई स्वीकार गरेको देखिन आयो । सोही बयान साथ रहेको ततिम्बा बयानको स.ज. ८ मा मानिसहरुले इसु क्रिष्टलाई चिनोस भन्ने उद्देश्यले नेपालको प्रत्येक होटल लजमा भएको कोठा कोठामा समेत गरी करीब ५००० जति बाइवल वितण गरी सकिएको र पुल्चोक स्थित नारायणी होटलमा समेत बाइबलहरु दिएको कुरा स्वीकार गरेको देखिन्छ । सोही बयानको स.ज. ९ हेर्दा नेपालमा आज भन्दा करीब ९।१० वर्ष देखि इसाई (क्रिश्चियन) धर्मको बाइबल बेची क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै आएको र उक्त क्रिश्चियन धर्म प्रचार गर्न शुरु गर्दा करीब ५/१० हजार क्रिश्चियन नेपाली भएको र हाल १५।२० हजार पुगी उक्त प्रचारबाट हिन्दूहरुमा असर प्रभाव परेको कुरा स्वीकार गरेको देखिन आएको छ । सोही ततिम्बा बयानको स.ज. ११ मा बाइबल किताबको माध्यमबाट नै नेपालमा क्रिश्चियन धर्म प्रचार प्रसार गर्दै आएको र यस प्रचार प्रसारबाट हिन्दूहरुलाई कुनै असर नपरोस भनी कुनै कदम चलाएको काम गरेको छैन भन्ने समेत उल्लेख गरेको देखिन्छ । मिसिल साथ रहेको चार्ल्स मेण्डिजको फोटो सहित छापिएको उक्त The canadian gideon, September Oct. 1982 को उक्त पत्रिकामा उल्लेखित शब्दहरु हेर्दा No Nepali national is allowed the freedom of his own choice to change his religion उल्लेख गर्दै The church in nepal is made up of people who have had to sacrifice a lot to become christians. We praise God for testimonies that have come about through the Gideon work. We know that it is not possible for the Gideon in Nepal to print and distribute literature except from the giving that you have made to Area 8. We praise God for the 9000, New Testaments & Bibles that we have been able to give out. We have been able to place Bibles in every major hotel in the city of Kathmandu, There is not a single hotel that does not have the Bible in each hotel room. We realized that we had a lot of Bibles left". भन्ने उल्लेख गरेको देखिन आएबाट इसाई क्रिश्चियन धर्म सम्बन्धमा नेपालको प्रत्येक होटलहरुमा समेत उक्त बाइवलको माध्यमबाट प्रचार प्रसार गरेको भन्ने कुरा समेत देखिन आएको छ । निज प्रतिवादीले अदालतमा गरेको बयानको स.ज.३ हेर्दा प्रहरीमा गरेको बयानमा भएका सहिछाप र आफ्नो राजीखुसी स्वइच्छाले बयान गरेको कुरा स्वीकार गर्दै स.ज.६ मा प्रतिवेदन साथ दाखिल भएको क्यानडाको पत्रिकामा छापिएको स्पीच १ वर्ष अगाडिसम्म मात्र नेपालका विभिन्न होटल लजहरुमा वितरण गर्दै आएको र व्यक्तिगत रुपमा क्रिश्चियन धर्म प्रचार प्रसार गरेको भन्ने बयान गरेको देखिन्छ ।
२३. प्रतिवादी एड्रोन रंगोगले जिल्ला प्रहरी कार्यालय समक्ष गरेको बयान हेर्दा स.ज. ४, ६ मा आफूले पहिले देखि नै क्रिश्चियन धर्म मानी आएको र जावलाखेल डेरा गरी बसी आएको घरलाई अनुग्रह भवन नाम राखेको सोही घरमा क्रिश्चियन धर्म सम्बन्धी प्रवचन दिने गरेको भन्ने उल्लेख गरेको देखिन्छ । स.ज.१५ बाट मिसिल साथ रहेको "In distant Nepal where laws prohibit changing one religion the christian population is increasing rapidly शीर्षकका कटपिश तथा New peak for church" We a very big movement scattered through christian Nepal" र त्यस्तै गरी Trials & Convictions भन्ने क्यालिफोर्नियाँबाट प्रकाशित च्यालेन्ज पत्रिकाको उक्त कटपिसहरुमा लेखिएका कुराहरु आफूले भने गरे अनुसार लेखिएको भनी सावित रहेको देखिन्छ । स.ज. १६ बाट आफूले दिने गरेको प्रवचन शिक्षादीक्षाबाट हिन्दू धर्ममा खलल भयो, भएन भन्न सक्दिन भन्ने उल्लेख गरेको देखिन्छ । स.ज. २० बाट चार आध्यात्मिक नियमहरु भन्ने पुस्तक निज म बसी आएको घर कम्पाउण्ड भित्रको बगैंचाबाट बरामद भएको कुरा स्वीकार गर्दै स.ज. २२ मा उक्त क्याम्पसमा पढ्ने विद्यार्थीहरुले इसुक्रिष्टको बारेमा जानुन भन्ने उद्देश्यले २०,००० प्रति छापी वितरण गरेको कुरा उल्लेख गरेको देखिन आएको छ । स.ज. २३ मा आफूले आफू बसी आएकै घरमा क्याम्पस क्रुसेट भन्ने एक संस्था खोलेको र यस्को उद्देश्य नेपालभित्र हिन्दू जातिमा चली आएको धर्ममा खलल हुने गरी इसाईमत प्रचार गर्नु रहेको र आफू यस्को सञ्चालक भएको हुँदा यसको उद्देश्य अनुरुप अगाडि बढाउँदै लैजानु समेत आफ्नो लक्ष रही सो अनुरुप गर्दै आएको कुरा उल्लेख गरेको देखिन्छ । साथै स.ज.२४ बाट विद्यार्थी सर्वसाधारण जनताहरुमा तिनीहरुले अपनाएको आफ्नो परम्परागत धर्मलाई त्यागी इसुक्रिष्टमा विश्वास राखी क्रिश्चियन बनुन भन्ने व्यक्तिगत उदेश्य भएको कुरा प्रष्ट पारेको देखिन्छ । निज प्रतिवादी एड्रोन रंगोगले अदालत समक्ष गरेको बयानको स.ज. ३ मा आफूले प्रहरी समक्ष गरेको बयान आफ्नो राजीखुसीबाट गरेको कुरा स्वीकार गरेको देखिन आएको छ । प्रतिवादी सहदेव महतले जिल्ला प्रहरी कार्यालयमा गरेको बयानको स.ज.४ तथा ११ मा निज हिन्दू धर्मावलम्बी क्षेत्रीय कूलमा जन्मिएको नेपाली नागरिक भई इसु क्रिष्टमा विश्वास भएकोले आफ्नो हिन्दु धर्मलाई त्यागी क्रिश्चियन धर्म लिई धर्म परिर्वतन गरेको र कानुनले जे जो ठहर्छ भनी हिन्दू धर्म परिवर्तन गरेकोमा सावित भएको देखिन्छ । निज प्र.ले अदालतमा गरेको बयानको स.ज.२ बाट आफूले प्रहरी समक्ष गरेको बयान कागज आफ्नो राजिखुसीबाट गरेको भन्ने प्रष्ट उल्लेख गरेको देखिन्छ । साथै अदालतमा भएको बयानको स.ज.४ मा हिन्दू धर्मबाट शान्ति पाउन नसकेर क्रिश्चियन धर्म अपनाएको हिन्दू धर्मबाट क्रिश्चियन धर्म परिवर्तन गर्दा कुनै कानुनी बन्देज छ भन्ने कुरा त्यतिबेला आफूलाई थाहा नभएको र थाहा पाएपछि हिन्दू धर्मतर्फ आउन कोशिश नगरेको कुरा समेत स्पष्ट रुपबाट उल्लेख गरेको देखिन आएको छ ।
२४. अब प्रतिवादी ज्ञानबहादुर भन्ने अब्राहम के.सी. ले जिल्ला प्रहरी कार्यालय समक्ष गरेको बयानको स.ज.८ तथा ९ मा आफू हिन्दू धर्मावलम्बी क्षेत्रीय कूलमा जन्म भई हाल हिन्दू धर्मलाई त्याग गरी इसाई धर्म परिवर्तन गरेको कुरा स्वीकार गर्दै एड्रोन रंगोग, प्रकाश सुब्बा तथा सहदेव महत समेतले इसु क्रिष्टको बारेमा प्रवचन शिक्षा–दिक्षा दिने गरी आएका कुराको पोल गरेको देखिन्छ । साथै निज प्र.ले अदालत समक्ष गरेको बयानको स.ज. ३ मा प्रहरीमा गरेको बयान राजीखुसीबाट गरेको भन्ने कुराको समर्थन गर्दै स.ज.५ बाट समेत हिन्दू धर्म परिवर्तन गरी क्रिश्चियन भएको कुरा प्रष्ट उल्लेख गरेको देखिन्छ । प्रतिवादी प्रकाश सुब्बाको अदालतमा भएको बयानको स.ज. ३ मा क्रिश्चियन धर्म मानी आएको कुरा स्वीकार गरेको देखिन्छ । प्रतिवादी अब्राहम के.सी. तथा सहदेव महतले समेत निज प्र.प्रकाश सुब्बाले इसु क्रिष्टको बारेमा प्रबचन शिक्षा–दिक्षा दिने गरेको कुरालाई पोल गरेको देखिन आएको छ उक्त पोललाई समेत निजले खण्डन गरेको देखिन आएन ।
२५. अब प्रतिवादीहरुले उपरोक्त बमोजिम गरेको बयान कागजहरु समेतलाई मध्यनजर राख्दै प्रतिवादी तर्फका विद्वान अधिवक्ताले कसैले कसैको धर्म परिवर्तन गराउन पाउने कार्य बाहेक प्रत्येक व्यक्तिले परम्पराको मर्यादा राखी सनातनदेखि चली आएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिककृत गर्न पाउने धर्म सम्बन्धी हक (Right to religion) संविधानद्वारा प्रदत्त हक हुँदा प्रतिवादीहरुले दावी बमोजिमको अपराध नगरेको भन्ने इजलास समक्ष बहस जिकिर लिनु भएबाट समेत संविधान लगायतका अन्य कानुनमा समेत सो सम्बन्धमा के कस्तो व्यवस्था गरिएको रहेछ हेर्नुपर्ने हुन आयो ।
२६. हरेक देशको लिखित संविधानमा (Written consitution) धर्म सम्बन्धी हकको व्यवस्था गरिए जस्तै नेपालको संविधानमा समेत धर्म सम्बन्धी हक (Right to religion) सम्बन्धी प्रष्ट व्यवस्था भएको पाइन्छ । संविधानको धारा १४ मा व्यवस्थित उक्त हक हेर्दा प्रत्येक व्यक्तिले परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत्य गर्न पाउने छ भन्ने उल्लेख गर्दै प्रतिबन्धात्मक वाक्यांसमा तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन भन्ने समेत उल्लेख भएको पाइन्छ । उक्त संवैधानिक व्यवस्थाबाट सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन गर्न र सो अवलम्बन गरी आएको धर्मको धार्मिक कृतसम्म गर्न पाउने हकको संरक्षण प्रदान गरेको देखिन आयो तर उक्त धर्म जुन सनातन देखि चलिआएको छैन भने त्यस्तो धर्म सम्बन्धी हकलाई भने संविधानमा संरक्षण प्रदान गरेको देखिन आउँदैन । साथै उक्त धारा १४ मा व्यवस्थित प्रतिबन्धात्मक वाक्यांशले कसैले कसैको धर्म परिवर्तन गराउन पाउने कुरालाई रोक लगाएको प्रष्ट देखिन आउँछ । प्रत्यर्थी तर्फका विद्वान अधिवक्ताले संविधानको धारा १ मा यो संविधान नेपालको मूल कानुन हो र यस्मा लेखिएका कुराको अधीनमा रही यो संग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने प्रष्ट व्यवस्था भएको र संविधानको धारा १४ मा व्यवस्थित हकमा बाझिने गरी मुलुकी ऐन अदलको १ नं. मा भएको व्यवस्था बाझिएबाट स्वतः अमान्य हुने हुँदा दावी बमोजिम प्रतिवादीहरुलाई सजायँ गर्न नमिल्ने भन्ने समेत जिकिर लिनु भएबाट उक्त मुलुकी ऐन अदलको १ नं. मा भएको व्यवस्था समेत हेर्दा नेपाल भित्र हिन्दू जातिमा चलिआएको धर्ममा खलल हुने गरी इसाई, इस्लाम इत्यादि मतहरु कसैले प्रचार गर्न वा सो मतहरुमा हिन्दू धर्मको कसैको धर्म परिवर्तन गराई लैजान हुँदैन । धर्म परिवर्तन भएकोमा सो बदर भई त्यस्तो व्यक्ति आफ्नो हिन्दू धर्ममा रहन्छ भन्ने व्यवस्था भएको पाइन्छ । संविधानको धारा १४ मा परम्पराको मर्यादा राखी सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन र आफ्नो धार्मिक कृत गर्न पाउने हकलाई यस अदलको १ नं. मा भएको व्यवस्थाले संकुचित पारेको देखिंदैन । केवल उक्त अदलको १ नं. को व्यवस्थाले २ कुरालाई गर्नबाट रोक लगाएको देखिन आउँछ । पहिलो कुरा त नेपाल भित्र हिन्दू जातिमा चलिआएको धर्ममा खलल हुने गरी इसाई, इस्लाम जस्ता इत्यादी मतहरुमा हिन्दू धर्मका कसैको धर्म परिवर्तन गराई लैजान नहुने र दोश्रो परिवर्तन भैसकेकोमा समेत सो बदर भई त्यस्तो व्यक्ति आफ्नो हिन्दू धर्ममै रहने कुरा उल्लेख गरेको पाइन्छ । उक्त व्यवस्थाबाट न त संविधानमा व्यवस्थित उक्त धर्म सम्बन्धी हक संग अदलको महलको उक्त १ नं. बाझिन गएको छ न त अदलको १ नं. मा भएको व्यवस्थासंग संविधान बाझिन पुगेको छ । संविधानमा भएको उक्त व्यवस्थाले सनातन देखि चलिआएको आफ्नो धर्मको अवलम्बन र धार्मिक कृतसम्म गर्न पाउने मौलिक हकको रुपमा संरक्षण प्रदान गरेको छ भने अदलको उक्त व्यवस्थाले हिन्दू जातिमा चलिआएको धर्ममा खलल हुने गरी अन्य मतहरु प्रचार गर्न वा हिन्दू धर्मको कसैको धर्म परिवर्तन गराई लैजान नहुने कुराको व्यवस्था गरी हिन्दू धर्म लगायतका अन्य धर्मावलम्बीहरुको प्रष्ट मार्गदर्शन गरेको पाइन्छ ।
२७. तसर्थ उपरोक्त संवैधानिक व्यवस्था बमोजिम प्रतिवादी चार्ल्स मेण्डिज तथा प्रतिवादी एड्रोन रंगोगले आफू सनातन देखि इसाई (क्रिश्चियन) धर्म मानी आएको भए तपानि निज प्रतिवादीहरु बाहेकका अन्य प्रतिवादी सहदेव महत, अब्राहम भन्ने ज्ञानबहादुर के.सी., प्रकास सुब्बा समेत लगायतका व्यक्तिहरुले सनातन देखि हिन्दू जातिमा चलिआएका धर्ममा खलल पर्ने गरी इसाई मत प्रचार समेत गरी हिन्दू धर्म परिवर्तन गराएको उपरोक्त निज प्रतिवादीहरुका साविती बयान प्रमाण समेतबाट प्रष्ट देखिन आएकोले मुलुकी ऐन अदलको महलको १ नं. बमोजिम निज प्रतिवादी चार्ल्स मेण्डिज तथा प्र. एड्रोन रंगोगलाई सजायँ गर्नु पर्नेमा आरोपित कसूरबाट सफाई दिने गरेको शुरु इन्साफलाई सदर गरेको म.क्षे.अ. को इन्साफ मिलेको देखिन आएन । प्रतिवादी चार्ल्स मेण्डिज तथा प्रतिवादी एड्रोन रंगोगलाई मुलुकी ऐन अदलको १ नं. बमोजिम ६ वर्ष कैद हुने ठहरी प्रतिवादी एड्रोन रंगोग विदेशी समेत देखिँदा देश निकाला समेत हुने ठहर्छ ।
२८. प्रतिवादी प्रकाश सुब्बा हिन्दू कूलमा जन्म भई सनातन देखि चलिआएको हिन्दू धर्ममा समेत खलल पार्ने गरी इसाई मत प्रचार प्रसार गरी आएका देखिन आएकोले मुलुकी ऐन अदलको महल बमोजिम निजलाई समेत सजायँ गर्नु पर्नेमा सो नगरी सफाई दिने गरी गरेको शुरुको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको नहुँदा निज प्रतिवादी प्रकाश सुब्बालाई उक्त अदलको १ नं. बमोजिम ६ वर्ष कैद हुने ठहर्छ ।
२९. प्रतिवादी सहदेव महत तथा प्रतिवादी अब्रा हम भन्ने ज्ञानबहादुर के.सी.समेतले उपरोक्त उल्लेखित निजहरुको बयान कागज समेत र अन्य प्रमाणको आधारमा हिन्दू धर्ममा खलल पर्न जाने गरी धर्म परिवर्तन गरी इसाई मतमा लागेको देखिन आएकोले निज प्रतिवादीहरुको हकमा समेत अदलको महलको १ नं. बमोजिम १ वर्ष कैद गर्नु पर्नेमा सो नगरी तजबिजी कैद महीना ३ मात्र सजाय गरेको शुरु जि. अ.को इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेको देखिन नआएकोले समेत प्रतिवादी ज्ञानबहादुर के.सी. तथा प्रतिवादी सहदेव महतलाई मु.ऐ.अदलको १ नं. बमोजिम १ वर्ष कैद हुने र परिवर्तित धर्म बदर भई हिन्दू धर्ममै रहने ठहर्छ ।
३०. अब प्रतिवादी काजी महर्जनतर्फ विचार गर्दा निज अदालतको बयानबाट हिन्दू धर्म परिवर्तन गरेको तथा इसाई मत प्रचार गरेको तथा निज उपर अन्य प्रतिवादीहरुबाट पोल उजूर परेको समेत नदेखिँदा निज प्र.काजी महर्जनले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ । वादी दावी बमोजिम सजाय हुनुपर्ने भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । म.क्षे.अ.को इन्साफ केही उल्टी हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादी काजी महर्जन बाहेकका अन्य प्रतिवादीहरुले अदलको १ नं. बमोजिमको कसूर गरेको ठहरी फैसला भएकोले म.क्षे.अ. का मिति २०४४।१।१६।४ का फैसलाले राख्ने गरेको लगत कायम नरही कट्टा हुने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरु का.जि. अ.त. मा लगत दिनु ... १ ऐ.ऐ. ठहरी फैसला भएकोले मु.ऐन अदलको १ नं. बमोजिम देहाय बमोजिमको कैद म्याद ठेकी असूल उपर गर्नु भनी शुरु का.जि. अ.त. मा लगत दिनु ....२
प्र.चार्ल्स मेण्डिज के हुने कैद वर्ष ६, छ । साथै प्रतिवादी एण्ड्रोन रंगोगके हुने कैद वर्ष ६, छ ।
साथै प्रतिवादी एण्ड्रोन रंगोग के विदेशी देखिँदा कैद ठेकी भूक्तान भए पछि देश निकाला गरी दिनु ....................३
प्र.प्रकाश सुब्बा के हुने कैद वर्ष ६, छ । प्र.अब्राहम भन्ने ज्ञानबहादुर के.सी. के हुने कैद वर्ष १, एक । प्र.सहदेव महत के हुने कैद वर्ष १, एक ।
माथि लेखिए बमोजिम म.क्षे.अ. को इन्साफ केही उल्टी हुने भई फैसला भएकोले म.क्षे.अ. का मा.न्या. श्री केशवप्रसाद उपाध्याय तथा मा.न्या. श्री टोपबहादुर सिंहको केही उल्टीमा रेकर्ड राख्नु ....४ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ................ ५
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल भाद्र ११ गते रोज १ शुभम् ।