शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. १४१५ - ज्यान

भाग: २२ साल: २०३७ महिना: फागुन अंक: ११

निर्णय नं. १४१५   ने.का.प. २०३७

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३६ सालको फौजदारी पुनरावेदन नम्बर १४८

फैसला भएको मिति :  २०३७।१०।१।४ मा

वादी : श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : का.जि.डिल्लीबजार बस्ने रामचा खड्गी समेत

मुद्दा : ज्यान

(१) अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिने ।

(प्रकरण नं. १७)

(२) आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरीलाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवरजस्ती गर्न खोजेको रिसको झोंकमा चुप्पी प्रहार गरी मारेकोमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट थुनिएका मितिबाट कट्टी हुने गरी अ.बं.१८८ नं. ऐन बमोजिम कैद गर्न लगत दिने ।

(प्रकरण नं. १७)

पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

फैसला

          प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : आज बिहान वडा घुम्न वानेश्वरतर्फ जान लाग्दा रामचा कसाहीको घरदेखि पछाडि पर्खाल देखि अं.३ गज फरक दक्षिण बाटोको किनारामा रामचा कसाहीको घरमा नोकरी गर्ने अं.वर्ष २२ को रत्नबहादुर कसाहीको घाँटीमा सेरी धेरै रगत बगी मरीरहेको र त्यसको पूर्वपट्टि अं.१।। गज फरकमा काठको बीँड भएको फलामे चुप्पी १ लासको उत्तर पट्टि फालिएको र हवाई चप्पल जोर १ रहेको देखिएकोले सुरक्षा गरी कानुनी कारवाइको निमित्त प्रतिवेदन गरेको छौं भन्ने हे.कं.दामोदर लामिछाने समेतको प्रतिवेदन ।

          २.  अपराधीको सुराक पत्ता लगाउँदा रामचाको पसलमा रत्नबहादुरले खसी काटिदिने काम समेत गर्ने गरेको रहेछ । खसी काट्न आउँदा बिहान मासु बेच्नलाई भ्याउने गरी आउँने रहेछ । काम गर्न आउँदा रामचाको छोरी श्यामासँग असव भएको कुरा गुप्त रूपबाट बुझिन्छ । रामचाले रत्नबहादुरलाई अर्को केटी विवाह गराई दिने कुराको चर्चा पनि चलेको पाईयो । ०३०।५।९ गतेको रात अवेरसम्म रामचाको घरमा रत्नबहादुर भएको बुझिन्छ । सोही रात करणी लिने कुरा आमा बाबुले थाहा पाएर रत्नबहादुरलाई हत्या गरी मारेको हुनुपर्छ रामचा, चन्द्रमाया र श्यामालाई पक्राउ गरी दाखिल गरेको छौं भन्ने समेत स.ई.मुकन्द घले समेतको प्रतिवेदन ।

          ३.  रत्नबहादुर डेढ महीना अघि देखि मेरो घरमा खसी काट्ने सफा गर्ने काम गरी आइरहेका थिए । ०३०।५।९ गते शनिश्चरबार बिहान साविकै खसी काटी सफा गरिसकेपछि बिहान १० बजे तिर घर फर्की गएका थिए । सोही रात म निदाई रहेको बेलामा छोरी श्यामा कराई रहेको सुनी निद्राबाट ब्यूँझी के भयो भन्दै म र स्वास्नी छिँडीमा पुग्दा रत्नबहादुरले छुरी हातमा लिई घरबाट बाहिर भागेको देखेको हुँ । रत्नबहादुर कसाहीले करणी गर्न समात्न आँटेकोले म कराएको भनी छोरी श्यामाले भनिन् । सो सुन्ने वित्तिकै रिस थाम्न नसकी निजलाई लखेट्दै जाँदा मेरो घरबाट बाहिर निस्कने मूल ढोका देखि १५ गज देखि पश्चिम धनजन थापाको घर कम्पाउण्डभित्र पस्ने ढोका भन्दा पाँच गज पर पुगे पछि रत्नबहादुरलाई समात्दा हातमा भएको छुरी समेत मैले लिएँ । मेरो पछिपछि मेरो श्रीमती आई रत्नबहादुरलाई खसी काट्ने पर्खाल पछाडि चौरमा पछारी घोप्टो पारी ढाडमा चढी थिचेँ त्यसपछि स्वास्नी चन्द्रमायाले दक्षिणतिर अर्थात गोडातिरबाट दुवै गोडा चल्न नदिई समाती मेरो दुई घुँडाले रत्नबहादुरको दुई हात थिची दायाँ हातले चुप्पी लिई बायाँ हातले निजको टाउकोको कपाल तानी टाउको अली उचाली दाहिने हातको चुप्पीले रत्नबहादुरको घाँटीमा तलबाट रेटी काटी दिएँ रत्नबहादुरलाई मारेको हुँ । सो चुप्पी यहि देखाएको हो भन्ने रामचा खड्गीले प्रहरीमा गरेको बयान कागज ।

          ४.  ०३० साल भाद्र ९ गते बेलुकी ७।३० बजे तिर मेरो लोग्ने घरमा आए मैले भात पकाइसकेपछि छोरी श्यामा, लोग्ने र म समेत भात खाई सुतेँ, हामीहरू निदाई रहेको अवस्था छोरी श्यामाले आमा भनेर चिच्याई बोलाएको स्वरले ब्यूँझी छोरी कराएको ठाँउ तल छिँडीमा पुग्दा मेरो लोग्ने रामचाले पनि के भयो भनी हतपत गरी तल ओर्ली छिँडीमा पुग्दा रत्नबहादुरले घरको ढोकाको चुकुल खोली निस्की सडकबाट भागे हामी छिँडीमा आई पुग्ने वित्तिकै रत्नबहादुरले मलाई पाखुरामा समाती जवरजस्ती गर्न खोजेकोले म कराएको हुँ भनी छोरीले भनी उतिखेरै मेरो लोग्नेले रत्नबहादुरलाई नमारी छाड्दिन भनी लखेटदै दौडी गए, म पनि रामचाको पछिपछि दौडी गएँ निज रत्नबहादुरलाई धनजनको घर कम्पाउण्डको ढोका नाघी केही पर मेरो लोग्नेले भेटाई चुप्पी भएको दाहिने हात, समाती ताने त्यहाँबाट रत्नबहादुरलाई कम्पाउण्डभित्र लगी मेरो लोग्ने रामचाले उत्तर टाउको दक्षिण गोडा पारी पछारी घोप्टो पारी रत्नबहादुरको ढाडमा चढी दुवै घुँडाले रत्नबहादुरको दुवै हात थिची मैले पनि रत्नबहादुरको दुवै गोडा समाती चट पटाउन दिईन त्यसबेला रामचाले रत्नबहादुरको हातको चुप्पी खोसी सोही चुप्पीले घोप्टो परेका रत्नबहादुरलाई घाँटीमा सेरी काटी मारे भनी चन्द्रमायाले प्रहरीमा गरेको कागज ।

          ५.  यहि भाद्र ९ गते शनिबार राति आमा बाबु र म समेतले भात खाइसकेपछि आफ्नो कोठामा सुत्न गयौं, म सुतिरहेको अवस्था रातिको अं.२ बजेको समयमा घरभित्र पस्ने मुल ढोकामा ढकढक आवाज आएको सुनी को हो भनी सोद्धा रत्नेको आवाज सुनी ढोका खोली दिएँ निज रत्नबहादुरभित्र पसेपछि मैले ढोका बन्द गरी भित्रबाट ढोकामा चुकुल लगाएँ त्यतिन्जेल सम्म निज ढोकाभित्रको छिँडीमा उभिरहे निज आउँदा खसी काट्ने आफ्नै चुप्पी कागजमा बेरेर लिइआएका थिए निजले आफूले ल्याएको चुप्पी तल भूँईमा राखी मलाई करणी गर्न मेरो दाहिने पाखुरा समाई तानी करणी गर्ने कुरा गर्दा मैले आमा बाबुलाई बोलाई चिच्याएको आवाज सुनी मेरो बाबु आमा उतिखेरै माथि कोठाबाट दगुर्दै आए । बाबु आमा आएको थाहा पाउनसाथ निज रत्नबहादुर मलाई छाडी आफ्नो चुप्पी टिपी भाग्न ढोकामा पुग्दा मेरो बाबु आमा पनि हतपत तल छिँडीमा आई पुग्नुभयो । निजले ढोकाको चुकुल खोली निस्की सडकको बाटो गरी भागे मेरो बाबुले रत्नबहादुरलाई लखेटे मेरी आमा पनि पछि दुगुर्दै जानु भयो डरले म आफ्नो कोठामा गई बसेँ केही बेरपछि बाबु आमा फर्केर आउनु भयो र रत्नबहादुरलाई मारी आयौं कसैलाई पनि यो कुरा नभन्नु भनी आमाले मलाई भन्नु भयो ०३०।५।१० गते बिहान रत्नबहादुरलाई घाँटी काटी मारी राखेको रहेछ भन्ने हल्ला भएको मैले घरबाट देखेँ लास हेर्न गइन भन्ने श्यामाकुमारी खड्गेनीले प्रहरीमा गरेको कागज ।

          ६.  मेरो छोरा रत्नबहादुरलाई कसाहीले राँगो बोका मार्दा घाँटीमा सेरी रेटी मारे जस्तै गरी मारी राखेकोले मेरो छोरा रत्नबहादुरलाई कसाही नै मारेको हो । छोराको विवाहको निमित्त रामचाले ३ महीना देखिको तलब नदिई जम्मा गरी राखेको थियो भनी रत्नबहादुरले मलाई भनी राखेको थियो । अहिले बुझ्दा रामचाको छारीसँग प्रेम भएकोले नोकरले मालिकको छोरी ताक्ने भन्ने रिसले रामचा खड्गी र चन्द्रमाया समेत भई छोरा रत्नबहादुरलाई घाँटीमा चुप्पीले रेटी मारेको हुनुपर्छ सो चुप्पी रामचाको हो मेरो छोरा रत्नबहादुरको होइन भन्ने मृतक रत्नबहादुरको बाबु न्हुछेबहादुर खड्गीले प्रहरीमा गरेको कागज ।

          ७.  रत्नबहादुरको दुवै खुट्टा समाते म चन्द्रमाया र घाँटी चुप्पीले रेटी मारेमा रामचा खड्गी आशंका भएको निजहरूको छोरी श्यामाले पनि बाबु आमाले मारेको भनी बयान गरेको सरजमीनको मानिसहरूले रत्नलाई रामचा र चन्द्रमायाले मिलोमतो बाटै मारेको भनी देखिएकोले निज रामचा चन्द्रमायालाई ज्यानसम्बन्धीको १३ नं. देहाय १ बमोजिम सजाय हवस् भन्ने प्रहरी अधिकृत र स.अ.को संयुक्त प्रहरी प्रतिवेदन ।

          ८.  प्रहरीमा गराएको ०३०।५।२२ को बयान मेरो खुशीराजीले गरेको होइन र मैले भने बमोजिम लेखिएको समेत होइन मलाई प्रहरीले ०३०।५।१० गते बिहान पक्री लगी तैंले रत्नबहादुर खड्गीलाई मारेको होस् भनी दिनको २।२ पल्ट ११ दिनसम्म लगातार कुटेको भए तापनि निजलाई मैले मारेको होइन भनी इन्कार हुँदा प्रहरीले मलाई पढी वाची नसुनाई बयानमा सहिछाप गराएको हो । ०३० साल भाद्र १० गते बिहान मैले खसी काटी दुकानमा मासु ल्याई रहेको बेला रत्नबहादुर कसाही मेरो घरदेखि १७।१८ हात पर सेरीएरमरी रहेको रहेछ भन्ने कुरा मासु किन्न आउँने मानिसले कुरा गर्दा निज रत्नबहादुर मरेको थाहा भयो । निज रत्नबहादुर मरेको ठाउँमा हेर्न जान भनी मैले खोज्दा नचिनेको प्रहरीहरूले मलाई पक्राउ गरी जना दिएनन् । डेढ महीना अघि देखि खसी काटी सफा गर्ने काममा मेरो घरमा रत्नबहादुर काम गर्ने गरी आएको होइन । चाहड बाहडमा मात्र आई खसी काटी बनाई १।२ घण्टा काम गरी जाने गर्दथ्यो भाद्र ८ गते दिउँसो ३।४ बजेतिर रत्नबहादुरसँग मेरो भेटघाट भएको छैन । निज रत्नबहादुरले भाद्र ९ गते राति मेरो छोरी श्यामालाई जवरजस्ती करणी गर्न खोजेको होइन निज सो समय मेरो घरमा आएको छैन । मैले चुप्पीले रेटेको होइन । श्रीमती चन्द्रमायाले गोडा समातेको होइन रत्नबहादुर आफैं सेरी मरेको हो भन्ने लाग्छ । आफ्नै पीरले सेरीएर मरेको होला सेरीएर मर्नुपर्ने पीर र कारण मलाई थाहा छैन प्रहरी प्रतिवेदन साथ दाखिल भएको फलामे चुप्पी मेरो होइन रत्नबहादुरले नै ल्याएको चुप्पी होला सो भाद्र ९ गतेको रातभर म मेरो श्रीमती चन्द्रमाया र छोरी श्यामा समेत मेरै घरमा सुतिरहेकोले घरै छौं भन्ने रामचा खड्गीले अदालतमा गरेको बयान ।

          ९.  प्रहरीमा गराएको मेरो भाषाको ०३०।५।२२।६ को मितिको बयान मैले खुशीराजीले गरेको होइन । मैले भने बमोजिम लेखिएको पनि होइन लोग्ने रामचा खड्गीलाई पक्रेको दिन ०३०।५।१० गते प्रहरीले मलाई पक्री लगी लोग्ने र म समेतले रत्नबहादुर कसाहीलाई मारेको भनी प्रहरीले मलाई कुटी पढी वाची नसुनाई बयानमा सही गराएको हुन । प्रहरीमा म सावित भएको छैन । रत्नबहादुर कसाही चहाड बहाडमा कहिले कहीँ हाम्रो खसी काट्न आई काम गरी जाने गर्ने हुनाले निजलाई चिनेको मानिस हो यही ०३० साल भाद्र १० गते बिहान निज रत्नबहादुर तिम्रो घर पछाडि मरिरहेको छ भन्ने कुरा खसीको मासु पसलमा आउँनेले कुरा गरेको सुनेको हेर्न जान नपाउँदै प्रहरीले मलाई र लोग्ने रामचालाई पक्राउ गरी लगेको हो भाद्र ९ गते राति रत्नबहादुर मेरो घरमा आएको होइन । छोरी श्यामालाई जवरजस्ती करणी गर्न खोजेको होइन । रामचाले चुप्पीले सेरेको होइन । मैले गोडामा समातेको पनि होइन । निज के भई मरेको हो यसै भन्न सक्दिन दाखिल भएको चुप्पी हाम्रो घरको होइन कस्को चुप्पी हो थाहा छैन मेरो कपाल पछाडि बानी प्रहरीले रङ फराउन लगाई मलाई प्रहरीले कुटी बयान लिएका हुन प्रहरीमा मलाई कुट्दा कपाल बाट्दा मेरो झरेको कपाल मसँग छ सिस्नु र कोर्रालेसमेत मलाई कुटेको थिए भाद्र ९ गते रातभरि म, लोग्ने र छोरी श्यामा घरैमा छौं । झुठ्ठा अभियोगबाट फुर्सतपाउँ भन्ने चन्द्रमायाले अदालतमा बयान गरेको ।

          १०. ०३० साल भाद्रमा रत्नबहादुर मरेको भन्ने थाहा पाएँ । सेरीएर मरेको भन्ने बाहिरीया मानिसले भनेबाट पाएँ के कसरी मर्‍यो मलाई थाहा छैन । ०३० साल भाद्र २४ गते प्रहरी समक्ष मैले गरेको बयान मेरो राजीखुशीले गरेको होइन मर्ने रत्नबहादुर हाम्रो घरको नोकर होइन भन्दा प्रहरीले कार्रा सिस्नुले हानी करेन्ट लगाई लेखिएको कागजमा मलाई नसुनाई सही गर भने र डरले सही गरी दिएको हुँ । रत्नबहादुरलाई को कसले मार्‍यो मलाई थाहा छैन निजसँग बोल चाल र रिसइवी समेत थिएन समेत ०३३।९।२४ मा अदालतमा श्यामादेवीले गरेको बयान ।

          ११.  ०३० साल भाद्र ९ गते म आफ्नै घरमा छु ४,५ बजे कमल पोखरी साथीको घरमा गई ८ बजे घर फर्की खाना खाई सुतेँ सो रात केही थाहा भएन लास रहेको ठाँउबाट मेरो घर १५० गज फरकमा पर्छ । रामचाको घरमा रत्नबहादुर मासु काट्ने सफा गर्ने काममा नोकरी गरेको देखेको हुँ ९ गते थियो थिएन याद भएन नियमित रूपबाट रामचा कहाँ नै खाना खाने र सुत्ने कुरा मलाई थाहा छ भाद्र १० गते बिहान मेरो घरको बाहुनले हाम्रो कम्पाउण्डमा मान्छे काटेको छ भनेपछि म प्रहरीमा मौखिक खबर गर्न आए र प्रहरी साथै घटनास्थलमा आई रत्नबहादुर रहेछ भन्ने चिने लास रामचाको घर पछाडि पर्छ पर्खाल चढी आउँने जाने अवस्था छ रामचाको छोरी श्यामासँग रत्नबहादुरको लभ परेको भन्ने कुरा सुनेको थिएँ रत्नबहादुर आफैं सेरीएर मरेको जस्तो लाग्दैन रत्नबहादुर कर्तव्यबाटै मरेको हुनुपर्छ कस्को कर्तव्यबाट भन्ने कुरा किटानी भन्न सक्दीन भन्ने समेत धनजंग थापाले अदालतमा गरेको बयान ।

          १२. मेरो छोरा रत्नबहादुर मर्नु भन्दा ६,७ महीना अघि रामचाको घरमा नोकरी गरी सुत्ने खाने समेत निज कहाँ नै गर्दथ्यो तलब समेत निजले नै जम्मा गरी राखी दिएको छ भन्नेकुरा छोराले भनेबाट थाहा पाएको हुँ ०३० साल भाद्र ९ गते शुक्रबार बेलुकी घरमा आई शनिबार बिहान रामचाको घरमा गएको त्यसपछि मेरो छोरालाई सेरीएर मारिएको अवस्थामा फेला पारिएको छ भनी पुलीसहरूले खबर गर्न आएबाट हेर्न जाँदा सेरीएर मरेको अवस्थामा देखे छोरालाई रामचाले नै कर्तव्य गरी मारेमा शंका लाग्छ कानुन बमोजिम सजाय गरिपाउँ भन्ने समेत न्हुछेबहादुर खड्गीले अदालतमा गरेको बयान ।

          १३. प्र.मध्येका रामचा खड्गीलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्र.चन्द्रमाया खड्गेनीलाई ऐ.१३(४) बमोजिम जन्मकैदको सजाय हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरू का.जि.अ.को फैसला ।

          १४. काठमाडौं जिल्ला अदालतले म रामचालाई सर्वस्वसहित जन्मकैद र म चन्द्रमायालाई जन्मकैदको सजाय गर्ने गरी गरेको फैसलामा चित्त बुझेन हामी निर्दोष हुँदा शुरू फैसला बदर गरी सफाई पाउनुपर्छ भन्नेसमेत व्यहोराको पुनरावेदकहरूको पुनरावेदन ।

          १५. ०३०।५।१० गतेमा हे.कं.दामोदर समेतले दिएको पहिलो जाहेरी दरखास्तमा धनजङको कम्पाउण्डमा पुनरावेदक प्रतिवादी रामचाको पर्खालनेर सेरीएर मरेको अवस्थामा पुरानो हवाई चप्पल जोर १ र चुप्पी १ एक फेला परेकोले कानुन बमोजिम हवस् भन्ने उल्लेख भएको देखिन्छ । यो दरखास्त परेको ठिक १२ दिन पछि ०३०।५।२२ गते मुकुन्द घले समेत ४ जनाले दिएको दोश्रो जाहेरी दरखास्तमा भने आदेशानुसार सुराक पत्ता लगाउँदा प्रतिवादी पुनरावेदक रामचाको घरमा मर्ने रत्नबहादुर आवत जावत गर्ने गरेको र निज प्रतिवादी पुनरावेदक रामचा समेतको छोरी श्यामासँग लभ भएको बुझिएको ०३०।५।९ गतेको रात मर्ने रत्नबहादुर प्रतिवादी पुनरावेदक रामचाको घरमा भएको र मर्ने रत्नबहादुर र श्यामाको बीच करणी लिने दिने सम्बन्धमा आमाबाबुले थाहा पाई सोही कारणबाट घटनास्थलमा मारेको हुनुपर्छ भन्ने शंका देखिन आएकोले प्रतिवादी पुनरावेदकहरू र श्यामासमेतलाई पक्राउ गरी दाखिल गरेको छौं भन्ने उल्लेख भएको देखिन्छ । यसबाट पहिलो जाहेरी दरखास्तमा नाम किटान भएको देखिँदैन दोस्रो जाहेरीबाट शंका देखिन आएको भन्दै पक्राउ गरी दाखिल गरेकोसम्म देखिन्छ र यी पुनरावेदक प्रतिवादीहरूले प्रहरी कार्यालयमा कागज गर्दा आफू सावित भएको र निज प्रतिवादीहरूको छोरी श्यामाले मर्ने रत्नबहादुरले पक्री करणी गर्न खाजेकोले चिच्याई बाबुआमा बोलाएपछि निज मर्ने रत्नबहादुर सडकतर्फ भागे । बाबुले लखेटदै गए आमा पछिपछि गईन केहिबेरपछि रत्नबहादुरले लिएको चुप्पी खोसी मारेर आए । कसैलाई नभन्नु भनी भनेको भन्ने समेत प्रहरी कार्यालयमा कागज गरेको देखिँदा र पहिलो सरजमीन हुँदा प्रतिवादीहरू साविती भई प्रहरीमा कागज गरी दिएकोले शंका लाग्छ भनी लेखिदिएकोबाट र धनजङ थापाको अदालतमा बयान हुँदा अभियुक्त रामचा, चन्द्रमायाहरूले मारेकोमा शंका लाग्छ भनी बयान गरेबाट प्रतिवादी पुनरावेदकहरूको आरोपित कसूर गरेको हो कि भन्नालाई पुनरावेदक प्रतिवादीहरू अदालतमा आई बयान गर्दा कसूरमा इन्कार भई प्रहरी कार्यालयमा गराएको कागजलाई कुटपिट गरी इच्छा विरूद्ध गराएको भनी बयान भई घा जाँच हुँदा दुवै प्रतिवादीहरूको घा जाँच फाराम हेर्दा निल घा छ भनी चिकित्सक प्रतिवेदनमा उल्लेख भएको र पुनरावेदन परेपछि यस अदालतका आदेश बमोजिम ०३२।८।१०।४ मा भएको सरजमीन हेर्दा पुनरावेदक प्रतिवादी रामचा, चन्द्रमाया उपर आरोपित कसूर गरेको होइन आफैं सेरीएर मरेको भनी किटानीसाथ सरजमीन मुचुल्का भइआएको देखिन्छ । यी पुनरावेदक प्रतिवादी रामचा र चन्द्रमाया निजको छोरी श्यामा अदालतमा आई बयान गर्दा प्रहरी कार्यालयमा भएको कागजलाई इन्कार गरी बयान गरेको देखिनुको साथै जाहेरी दरखास्त दिने स.ई.मुकुन्द घलेले अदालतमा आई बयान गर्दा बयानको सिलसिलामा जिरह गर्दा २६ सवालको जवाफमा कस्ले मारेको थाहा छैन के भो कसरी मर्‍यो भन्ने जवाफ दिएको पाइन्छ र अन्य जाहेरवाला हे.कं.हरूले अदालतमा आई बयान गर्दा शंका सम्म देखिएकोले प्रस्तुत मुद्दा उपरोक्त कारणहरूबाट संदिग्ध अवस्थामा कायर भएको देखिन आउँछ । तसर्थ पुनरावेदक प्रतिवादीहरूले र निजको छोरी श्यामाले प्रहरी कार्यालयमा गरी दिएको कागजलाई पुष्ट्याँई गर्न अन्य सबूत वादीबाट पेश दाखिल गरेको देखिन आउँदैन । वादीले पुनरावेदक प्रतिवादीहरूलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई स्वत प्रमाण भन्न मिल्दैन ती कागजहरूलाई प्रमाण लिन अन्य समर्थित हुने प्रमाणको आवश्यकता पर्दछ । यो मुद्दामा वारदात भएको देखेको सुनेको छ भन्ने कोही देखिँदैन । फौजदारी मुद्दामा अनुमान र शंकाको आधार लिन कति पनि मिल्दैन । प्रत्यक्ष सबूत प्रत्यक्ष प्रमाण तथा प्रत्यक्ष गवाह चाहिन्छ । शंका रहीतको स्वतन्त्र प्रमाण बिना ज्यान जस्तो ज.घ.अपराधमा कसूरदार ठहर्‍याउन न्याय सिद्धान्तको विपरीत हुन जान्छ । शंकाको सुविधा अभियुक्त प्रतिवादीहरूले पाउने सिद्धान्त भएकोले प्रहरीमा भएको साविती कागजहरूलाई अन्य सबूत प्रमाणहरूबाट समर्थन भएको देखिँदैन । त्यसता प्रहरीमा भएका साविती कागजहरू प्रमाणमा लिन ग्राहृय हुँदैन । सो कागजहरू प्रमाणमा लिन नमिले पछि दुवै पक्षका विद्वानहरूले उठाउनुभएको अन्य प्रश्नहरूको परिप्रेक्ष्यमा केही विवेचना तथा विचार गर्नुपर्ने भएन । त्यसकारण उपरोक्त प्रमाण परिवन्दले प्रतिवादी रामचालाई ज्यान सम्बन्धीको १३(१) प्रतिवादी चन्द्रमायालाई ज्यानसम्बन्धीको १३(४) बमोजिमको कसूर ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी हुन्छ भन्ने समेत मिति ०३६।१।२३ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।

          १६. पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेले ०३०।५।९ गते राति वारदात भएको र त्यसको भोलिपल्ट १० गते प्रहरीद्वारा प्रतिवेदन पेश हुनआएको छ । लासको फोटो तथा मौकामा भएको प्रतिवेदन डाक्टरको प्रतिवेदनबाट रत्नबहादुर कसाहीको कर्तव्यबाटै मुत्यु भएको देखिन्छ । मौकामा भएको सरजमीनलाई बदर गर्ने गरी क्षेत्रीय अदालत सिंगलबेञ्चबाट पुनः अर्को सरजमीन गराउने आदेश दिन मिल्दैन । त्यस्तो आदेशबाट गरिएको सरजमीन लाई पनि प्रमाणमा लिन मिल्दैन । तसर्थ प्रहरी प्रतिवेदन अनुसार प्रतिवादीहरूलाई सजाय गरीनु पर्छ भन्ने र प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले पहिले ०३०।६।४।५ को सरजमीनमा प्रतिवादीहरूले मृतक रत्नबहादुर कसाही लाई कर्तव्य गरी मारेमा शंकासम्म देखाएको र म.क्षे.अ.का आदेशानुसार दोश्रा पटक ०३२।८।१०।४ मा भएको सरजमीनमा प्रतिवादीलाई सफाई दिने गरी बकपत्र गरेका र भाद्र १० गते नै पक्राउ गरी यातना दिई थुनामा १२ दिनसम्म यसै राखी प्रतिवादीको स्वेच्छा विरूद्ध ०३०।५।२२ गतेको मिति पारी कागज गराइएको मर्ने रत्नबहादुर प्रतिवादी रामचाको घरमा वारदात भएको रात सुतेको थियो भनिएको छ । तर प्रतिवादीहरूबाट प्रहरीमा सावित भएको भनिएको कागजमा रत्नबहादुर रातमा मात्र उनीहरूको घरमा आएको भन्ने देखिन्छ । रामचा समेतलाई भाद्र १० गते पक्राउ गरी भाद्र २२ गते बाट २५ दिन म्याद थप गरी आश्विन ८ गते मात्र प्रहरीद्वारा प्रतिवादीहरूलाई अदालतमा बुझाएको देखिन्छ । यसबाट प्रतिवादी हरूलाई प्रहरीले आफ्नो इच्छा विरूद्ध कुटपिट गरी बयान गराएको निजहरूको घाउखत विषेक हुनु अवस्था भई सक्छ । प्रतिवादी हरूको इच्छाविरूद्ध प्रहरीबाट कागज गराइएको थियो भन्ने कुरा घा जाँच फाराम बाट प्रष्ट देखिन्छ प्रहरीमा गरिएको साविती कागजलाई मान्यता दिन नमिल्ने हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालत बाट प्रतिवादीहरूले सफाई पाउने ठहराएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

          १७. प्रस्तुत मुद्दामा विद्वान अधिवक्ताहरूको बहस जिकिर सुनी थुनामा रहेका प्रतिवादीहरूलाई रोहवरमा राखी निर्णयतर्फ हेर्दा प्रतिवादीहरूलाई सफाई दिने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय मिले नमिलेको के हो भन्ने नै सर्वप्रथम निर्णय दिनुपर्ने हुनआएको छ । प्रतिवादी रामचा र चन्द्रमायाले हाम्रो घरमा सुतिरहेको अवस्था ०३०।५।९ गते छोरी श्यामा कराई रहेकी सुनी निद्राबाट ब्यूँझि के भयो भन्दै तल पुग्दा रत्नबहादुरले मलाई करणी गर्ने भनी समात्न आएकोले म कराएको हुँ भनी छोरी श्यामाले भनिन् यो कुरा सुन्ने बित्तिकै रिस थाम्न नसकी निजलाई लखेट्दै जाँदा घरबाट बाहिर निस्कने मूल ढोकादेखि अन्दाजी १५ गज जति पश्चिम घनजंग थापाको घर कम्पाउण्डभित्र लगे निजको हातमा भएको छुरी समेत मैले खोसी लिएँ र पछारी घोप्टो पारी ढाडमा चढी थिचेँ त्यसपछि चन्द्रमायाले दक्षिण तिर अर्थात गोडातिरबाट दुवै गोडा चल्न नदिई समाती दाहिने हातको चुप्पीले रत्नबहादुरको घाँटीमा तलबाट रेटी काटी दिएँ भनी रत्नबहादुर कसाहीलाई मारेमा सावित भई बयान गरेको र यस अदालतमा आई बयान गर्दा हामीले मर्ने रत्नबहादुरलाई मारेका होइनौं । हामीलाई प्रहरीले कुटपिट शास्ती शासना दिई गर्दै नगरेको कुरामा हामीले रत्नबहादुरलाई मारेको भनी साविती कागजमा जवरजस्ती सही गराएका मात्र हुन रत्नबहादुर के गरी सेरिएर मर्‍यो थाहा छैन भनी इन्कारी बयान दिएकोबाट प्रतिवादीहरूलाई के प्रहरीले कुटपिट गरेर नै सावित गराएका हुन कि त ? भनी भन्नलाई प्रतिवादीहरूले अदालतमा बयान गर्दा प्रहरीले कुटपिट गरी बयान गराएका भनी भनेबाट प्रतिवादीहरूको अदालतबाट घाजाँच गराउँदा दुख्छ भन्ने भनाई मात्र उल्लेख गरेको पाइन्छ । जवरजस्ती कुटपिट गरी सही गराएको भए अवश्य प्रतिवादीहरूको जिउँमा जोखिमी घा चोट देखिनुपर्ने सो कुरा मिसिल साथ संलग्न घा जाँच फारामबाट देखिन आउँदैन । मौकामा भएको सरजमीनमा बक्ने व्यक्तिहरूले पनि मर्ने रत्नबहादुर कसाही प्रतिवादी रामचाको घरमा खसी काट्ने काम गर्दथ्यो । रामचाको छोरीलाई रत्नबहादुरले जवरजस्ती करणी गर्न खोजेकोमा निजहरूकै कर्तव्यबाट रत्नबहादुरको मृत्यु भएको हो भन्ने कुरा लेखाइदिएका र प्रतिवादीहरूकै छोरी श्यामाले प्रहरी समक्ष बयान गर्दा मर्ने रत्नबहादुरलाई चुप्पीले घाँटीमा रेटी काटी मारेको हो भनी मेरो बाबु र आमा समेतले मलाई भन्नुभएको थियो भनी बयान गरेको र अधिकार प्राप्त अधिकारी समक्ष बयान भएको र मौकाको सरजमीनबाट समर्थित पनि भएको यस्तो बयानलाई प्रमाणको रूपमा लिन नमिल्ने कारण नदेखिएको रत्नबहादुरको लास फेला परेको कम्पाउण्डको घर धनी घनजंगले पनि रत्नबहादुर आफैं सेरिएर मरेको होइन भनी बयन गरेको र प्रहरीमा भएको साविती कागजलाई खण्डन हुने किसिमको तथ्ययुक्त प्रमाण प्रतिवादीहरू तर्फबाट पेश हुनआएको देखिँदैन । मौकामा भएको सरजमीनका मानिस र अन्य प्रहरी तथा अदालतबाट बुझेका घनजंग समेतको बयानबाट उक्त कुरालाई पुष्टी गरेकोले प्रतिवादीहरूले आरोपित कसूर गरेको होइन भनी भन्न मिल्ने देखिन आउँदैन । यस्तो स्थितिमा प्रतिवादीहरूलाई अनुमान र शंकाको आधार लिन कति पनि मिल्दैन । प्रत्यक्ष सबूत प्रमाणको अभावमा सजाय गर्न मिल्दैन भन्ने म.क्षे. अ.को ०३६।१।२३।५ को फैसला उल्टी हुनेठहर्छ । प्र.रामचा खड्गीलाई ज्यानसम्बन्धीको १३(१) अन्तर्गत सर्वस्वसहित जन्मकैद र प्रतिवादी चन्द्रमाया खड्गीलाई ज्यानसम्बन्धीको १३(४) अन्तर्गत जन्मकैद गर्ने गरेको शुरू का.जि.अ.को ०३४।८।२६।१ को इन्साफ मनासिव ठहर्छ । देहाएका प्रतिवादीहरू के माथि इन्साफखण्डमा लेखिए बमोजिम रामचा खड्गी तथा चन्द्रमाया खड्गीले आफ्नो घरमा काम गर्ने नोकरले आफ्नो छोरी श्यामालाई जवरजस्ती करणी गर्न खोज्दा समाजमा आफ्नो नोकरले छोरीलाई जवर जस्ती गर्नखोजेको रिसको झोकमा चुप्पी प्रहार गरी रत्नबहादुरलाई मारेकोमा ऐन बमोजिम सजाय गर्दा चर्को पर्ने देखिएबाट थुनिएका मितिबाट कट्टी हुने गरी देहायका प्र. हरूलाई देहायका दरले अ.बं.१८८ नं. ऐन बमोजिम कैद गर्नु भनी का.जि.अ.त. फाँट लगत दिनु ।

प्रतिवादी रामचा खड्गी के कैद वर्ष ......१२ बाह,

प्रतिवादी चन्द्रमाया खड्गीनी के कैद वर्ष .......८ आठ

 

उक्त रायमा सहमत छु ।

 

न्या. त्रैलोक्य राज अर्याल

 

इति सम्वत् २०३७ साल माघ १ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु