निर्णय नं. ४६९३ - धर्मपुत्र लिखत बदर

निर्णय नं. ४६९३ ने.का.प. २०५० (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
२०४६ सालको दे.पु. नं.– ५३८
फैसला मिति : २०५०।२।१०।१
पुनरावेदक/प्रतिवादी: भ पु जि., भ.पु.न.पं. वडा नं. २ तौलाछे टोल बस्ने पुनलक्ष्मी कोजू समेत ।
विरुद्ध
प्रत्यर्थी/वादी: भ पु जि., भ.पु.न.पं. वडा नं. १ बस्ने दुगु नारायण कोजू समेत ।
मुद्दा :– धर्मपुत्र लिखत बदर ।
(१) धर्मपुत्र राख्दा आफू जन्मेका एकै भुंडीका सन्तानले पहिलो प्राथमिकता पाउने
(प्र.नं.१५)
(२) धर्मपुत्रको १ नं. मा उल्लेखित एकै भुडीका सन्तान भन्ने वाक्यांशको व्याख्या गर्दा आफ्नै भतिजाहरू हुंदा हुंदै पनाती अर्थात दुई पुस्ता मुनिकालाई राख्न पाउने भन्ने अर्थ गर्न मिल्ने नदेखिने
(प्र. नं. १५)
(३) एक भुंडीका सन्तान वादीहरू भतिजा छंदा छंदै निजहरूको मन्जुरी वेगर पनातीलाई धर्मपुत्र राखेको मिलेको नदेखिनाले सो धर्मपुत्रको लिखत बदर हुने ।
(प्र.नं. १५)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा ।
प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर
विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर पधानाङ्ग
विद्वान अधिवक्ता श्री सुर्यराज दाहाल
फैसला
न्या. सुरेन्द्र प्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्राप्त भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । :–
२. हाम्रो पुस्तेवारी नारायण कोजूको दुई भाई छोरा जेठा नारायण कृष्ण कोजू, कान्छा कृष्णनारायण कोजू, हाम्रा बाबु नरायण कृष्ण कोजूको तीन भाईमा जेठा लक्ष्मी नारायण कोजू पहिना नै स्वर्गे भएको हुँदा हामी फिरादि मात्र जीवित छौं, बिपक्षी काका कृष्ण नारायणको दुई छोरी गणेश मायाँ र कृष्णमायाँ बिपक्षी काका कृष्ण नारायण कोजूले विपक्षी कर्मनारायण कोजूलाई ब्यहोरा ढाटी धर्मपुत्र राखेको ०४४।२।२० मा नक्कल सारी लिंदा थाहा पायौं । धर्मपुत्रको १ नं. अनुसार हामी धर्मपुत्र बस्न नचाहेमा मात्र हाम्रो मन्जुरी लिई सो नं. मा व्यवस्था गरिए अनुसार अरुलाई राख्न पाउने हो । सो विपरित धर्मपुत्र लिनेदिने गरेको मिति ०४३।१०।४ गते र.नं. २१९१ को लिखत बदर गरी पाउँ भन्ने समेत फिरादपत्र ।
३. मिति ०४३ माघ २, ३ गते म ज्वरोको व्यथाले थला परी रहेको अवस्थामा नाती नाता पर्ने तुलसीनारायण कोजू समेतले मलाई उपचारको लागि अस्पताल लैजान्छु भनी म होस ठेगाना नभएको वृद्धालाई घरसम्म ट्याक्सी ल्याई झुठ्ठा बहाना लगाई अस्पतालको सट्टा ०४३।१०।४ गते भ.पु.मा.पो.का. लगि निज तुल्सीनारायणको छोरा वर्ष १५ को कर्मनारायणको धर्मपुत्र भनी लेखी दिई तुल्सी नारायण कोजू संरक्षक साक्षी र निजका श्रीमति पुनलक्ष्मी कोजू लिखतमा अन्तरसाक्षी बसी मेरो कुनै सल्लाह मंजुरी बेगर धर्मपुत्रको लिखत पास गरिदिएकामा उक्त लिखत बदर गरी पाउन विपक्षीहरू तीनजनाका नाउँमा यसै अदालतमा फिराद दर्ता गरी कारवाही चलि रहेको छ । अतः फिराद दावी बमोजिम कानून प्रतिकूलको धर्मपुत्र लिखत कानून बमोजिम बदर गरिदिएमा मेरो मन्जुरी छ भन्ने समेत प्रतिवादी कृष्ण नारायण कोजूको प्रतिउत्तर पत्र ।
४. हामी प्रतिवादीहरू एकै भुँडीको सन्तान भएको हुँदा ०४३।१०।४ गते हामी प्रतिवादीहरूको बीचमा रीतपूर्वकको धर्मपुत्रको लिखत भक्तपुर मालपोत कार्यालय मार्फत रजिष्ट्रशन भएको छ । लक्ष्मीनारायण कोजू फिरादीहरूको सहोदर एकै भूंडिको जेठादाजु भएको र हाम्रा बाबु ससुरा र बाजे भएका हुनाले म धर्मपुत्र हुने कर्मनारायण कोजू समेत वादी प्रतिवादीहरू सबै एकै भुंडीका सन्तान हुन् भन्ने निर्विवाद सत्य हो । धर्मपुत्रको १ नं. ले एकै भुंडीका सन्तानहरूमा धर्मपुत्र बस्ने हक रोलक्रम गरेको छैन । अतः वादी दावी झुठ्ठा हुँदा धर्मपुत्रको लिखत बदर गरी पाउँ भन्न वादी दावी बाट फुर्सद पाउँ भन्न समेत प्रतिवादी तुल्सीनारायण कोजू, पुनलक्ष्मी कोजु र कर्मनरायण काजूको संयुक्त प्रतिउत्तरपत्र ।
५. धर्मपुत्र बस्ने प्र. मध्येको कर्मनारायण भन्दा वादीहरू नै नजिक भएको र वादीहरूको कुनै लिखत गराई लिएको प्रमाण समेत पेश दाखिल भएको नदेखी प्रतिवादीहरूले लिए दिएको धर्मपुत्र वदर हुने ठहर्छ भन्ने समेत भक्तपुर जिल्ला अदालतको ०४४।५।७।१ को फैसला ।
६. शुरु भक्तपुर जिल्ला अदालतको फैसला बदर गरी धर्मपुत्रको लिखत सदर हुने गरी इन्साफ पाउँ भन्ने समेत व. स. तुल्सी नारायण कोजूको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।
७. शुरुको निर्णय मिलेकै देखिंदा सदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०४५।७।१५।२ को फैसला ।
८. उक्त फैसलामा धर्मपुत्रको १ नंं., अ.वं.२४ नं. ८३ नं., १८४(क), १८५ नं. समेतको कानूनी त्रुटी भएको हुँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(४) को अवस्था विद्यमान हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत पुनलक्ष्मी कोजू समेतको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदन पत्र ।
९. शुरुले धर्मपुत्र बस्ने कर्मनारायण भन्दा बादीहरू नै नजिक भएको र उनीहरूको कुनै लिखत गरी लिएको प्रमाण समेत पेश दाखिल भएको नदेखिने भन्ने आधारमा प्रतिवादीहरूले लिए दिएको धर्मपुत्रको लिखत बदर हुने ठहर्याएको फैसदा सदर गरको बा.अं. अ. को फैसला कानूनी त्रुटीपूर्ण देखिएकोले न्या. प्र.सु.ऐन, ०३१ को दफा १३ (४) को (ख) को आधारमा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४५।११।९।२ को आदेश ।
१०. पुस्तावारीबाट वादीहरू धर्मपुत्र राख्ने कृष्णनारायणका भतिजा र धर्मपुत्र हुने कर्मनारायण पनाती भै कर्मनारायण भन्दा वादीहरू पुस्तावारीको क्रममा अघिल्लो देखिएकोले विवादको धर्मपुत्रको लिखत बदर हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा कानूनी त्रुटी नदेखिंदा मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४६।६।२९।१ को फैसला ।
११. उपरोक्त फैसलाहरूमा धर्मपुत्रको १ नं. को गलत ब्याख्या भएको, अ.वं.२४ नं., ८३ नं. १८४ (क), १०५ नं. को कानूनी त्रुटी भएको हुँदा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ (५) को खण्ड (ख) (ग) र उपदफा ७ को आधारमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत तुल्सीनारायण कोजू समेतको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
१२. धर्मपुत्र हुने प्रतिवादी कर्मनारायण एकै भुँडीको सन्तान भएकोमा विवाद देखिन्न । यस्तो अवस्थामा धर्मपुत्र वदर गर्ने गरेको जिल्ला अदालतको इन्साफ सदर गरेको बा.अं.अ.को फैसलामा कानूनी त्रुटी नभएको भनी म. क्षे.अ. बाट भएको इन्साफमा धर्मपुत्रको महलको १ नं. को व्याख्यात्मक त्रुटी भएको देखिदा न्या. प्र.सु. ऐन, २०३१ को १३(५) (ख) के अवस्था विद्यमान देखिंदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालतको ०४६।९।२०।५ को आदेश ।
१३. नियम बमोजिम पेशीसूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले २०४३।१०।४ गते धर्मपुत्रको लिखत पारीत भएको छ, प्रस्तुत फिराद दिने दुगुनारायण र लोक नारायण धर्मपुत्र राख्ने कृष्ण नारायणको भतिजा र धर्मपुत्र हुने कर्म नारायण धर्मपुत्र राख्ने कृष्णनारायणको पनाती हो । फिरादी र धर्मपुत्र हुने प्रतिवादी कर्मनारायण एकै भुँडीको सन्तान हुनाले एकै भुडीका सन्तानमध्ये नजीक वा टाढाको भन्ने प्रश्न उठ्न सक्ने होइन, एकै भुँडीका सन्तान मध्ये जसलाई पनि धर्मपुत्र राख्न मिल्छ । अर्को कुरा यी वादी प्रतिवादीहरू बीच परेको अंश मुद्दामा भक्तपुर जिल्ला अदालतमा मिलापत्र हुँदा कृष्णनारायण कोजूको धर्मपुत्र कर्मनारायणको रोहवरमा भएको भन्ने लेखिएबाट पनि वादीहरूले समेत प्रतिवादी कर्मनारायणलाई कृष्णनारायणको धर्मपुत्र मानीसकेको प्रष्ट हुन्छ । अतः प्रतिवादीलाई धर्मपुत्र राखेको लिखत कानूनसंगत नै हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालत समेतको फैसला वदर हुनुपर्छ भन्ने समेत वहस प्रस्तुत गर्नु भयो । प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पन्नामान तुलाधारले प्रतिवादी कर्मनारायण धर्मपुत्र राख्नेको पनाती भएको, धर्मपुत्र राख्ने कुष्ण नारायण स्वयंले सो लिखत बदर गरी पाउँ भनी फिराद गरेको र प्रस्तुत मुद्दाका वादी दुगुनारायण र लोकनारायणको समेत सोही लिखत बदर मुद्दा परी लिखत बदर भइसकेको हुनाले कृष्णनारायणको मुद्दा अन्तिम रुपमा बसेको छ, अहिले दुगुनारायण र लोकनारायण बादी भएको मुद्दा मात्र अदालत सामु विचाराधीन छ । धर्म पुत्र राख्दा धर्मपुत्रको १ नं. मा उल्लेखित क्रमानुसार राख्नु पर्ने उक्त नं. मा ३ ठाउँमा क्रमशब्दको प्रयोग भएको र “अघिल्ला हुनेलाई” भन्ने वाक्यांश पनि भएबाट एकै भुँडीको सन्तान मध्ये पनि नजिकको सन्तानलाई धर्मपुत्र राख्नु पर्ने हो । तसर्थ : धर्मपुत्र हुने प्रतिवादी भन्दा बादीहरू क्रममा अघिल्लो भएको हुँदा धर्मपुत्र लिखत बदर हुने ठहर्याएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला सदर हुनुपर्छ भनी र वादी तर्फका अर्का विद्वान अधिवक्ता द्वय श्री गजेन्द्र वहादुर प्रधनाङ्ग र श्री सुर्यराज दाहालले धर्मपुत्रको १ नं. मा उल्लेखित क्रमानुसार भन्ने शब्द सबैमा लागू हुन्छ । समान हकवाला भएमा मात्र जसलाई पनि रोज्न सकिने भन्ने नजिर समेत प्रतिपादित भइरहेको छ । लालमोहर राय यादव समेत बिरुद्ध रामशरण राय यादव समेत भएको २०२७ सालको दे.वि.नं.५५१ को धर्मपुत्र लिखत वदर मुद्दामा सर्वोच्च अदालतबाट २०२८।८।६।२ मा निर्णय हुँदा एकै भुँडीको सन्तान भएपनि नजिकका पछि मात्र टाढाकालाई धर्मपुत्र राख्न पाउने भन्ने सिद्धान्त प्रतिपादन भइसकेको समेत हुँदा म क्षे.अ.को फैसला सदर कायम हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको छ छैन सो सम्बन्धमा हेरी निर्णय दिनु पर्ने हुन आयो ।
१५. निर्णय तर्फ विचार गर्दा कृष्णनारायण कोजूको हामी भतिजा र निजले धर्मपुत्र राखेको कर्मनारायण कोजू पनाती भएको हुनाले एकै भुँडीको सन्तान हामी छँदाछँदै हाम्रो कुनै मन्जुरी बेगर राखेको धर्मपुत्र बदर गरी पाउँ भन्ने वादी दावी अनुसार सो धर्मपुत्रको लिखत बदर हुने गरी भक्तपुर जिल्ला अदालतले गरेको फैसलालाई बागमती अञ्चल अदालतले सदर गरेको र सोही फैसला मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत मनासिव ठहराएको त्रुटीपूर्ण हुँदा सो धर्मपुत्रको लिखत सदर कायम रहनु पर्ने भनी प्रतिवादीहरूको यहाँ पुनरावेदन पर्न आएको रहेछ । यहाँ यी बादी प्रतिवादीहरूको पुस्तेवारी सम्बन्धमा धर्मपुत्र राख्ने कृष्णनारायण कोजूको बादीहरू भतिजा र प्रतिवादी मध्येका धर्मपुत्र हुने कर्मनारायण पनाती भएकोमा विवाद देखिएन । भतिजाहरू छँदाछँदै पनातीलाई धर्मपुत्र राख्न र बस्न मिल्छ मिल्दैन सो सम्बन्धमा यहाँ निर्णय दिन पर्ने देखिन आयो । मुलुकी ऐन धर्मपुत्रको महलको १ नं. मा धर्मपुत्र राख्दा आफू जन्मेका एकै भुँडिका सन्तानमा त्यस्तो नभएर सौतेनी आमा पट्टीको छोराको सन्तानमा त्यस्तो सन्तान पनि नभए एकै बाजेका सन्तानमा, एक बाजेका सन्तान पनि नभए छोरिहरूका छोरामा छोरीहरुका छोरा पनि नभए जिज्यू बाजेका सन्तानमा, त्यस्तो सन्तान पनि नभए दिदी बहिनीका छोरामा, दिदी बहिनीका छोरा पनि नभए आफ्ना गोत्रका दाजु भाईको छोरामा राख्नु पर्छ । त्यस्ता नातेदार भएसम्म अरु गोत्रका मानिस धर्मपुत्र राख्न हुँदैन । सो क्रमानुसार अघिल्ला हुनेलाई धर्मपुत्र राख्नको निमित्त माग्दा दिएन भने सोही ब्याहोराको लिखत लिई र लिखत पनि दिएन भने स्थानीय पंचायतलाई साक्षी राखी क्रमानुसार उसपछिकोलाई धर्मपुत्र राख्नुपर्छ । सो क्रम विरुद्ध वा रीत नपुर्याई राखेको धर्मपुत्र कच्चा ठहरन्छ । सो क्रम बिरुद्ध वा रीत नपुर्याई राखेको धर्मपुत्र कच्चा ठहर्छ” भन्ने व्यवस्था भएको पाइन्छ । उक्त व्यवस्था अनुसार धर्मपुत्र राख्दा आफू जन्मेका एकै भूंडीका सन्तानले पहिलो प्राथमिकता पाउने स्पष्ट छ । प्रस्तुत विवादमा धर्मपुत्र राख्ने कृष्णनारायण कोजूको एकै भुँडीको सन्तान भतिजाहरू छँदाछदै पनातीलाई धर्मपुत्र राखेको छ । निज पनाती कर्मनारायण पनि कृष्ण नारायणको एकै भँुडीको सन्तान भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकिर छ । धर्मपुत्रको १ नं. मा उल्लेखित एकै भुँडीका सन्तान भन्ने वाक्यांशको व्याख्या गर्दा आफ्नै भतिजाहरू हुँदा हुँदै पनाती अर्थात दुईपुस्ता मुनिकालाई राख्न पाउन भन्ने अर्थ गर्न मिल्ने देखिदैन । अतः एक भूँडीका सन्तान वादीहरू भतिजा छँदाछँदै निजहरूको मन्जुर वेगर पनाती कर्मनारायण कोजूलाई धर्मपुत्र राखेको मिलेको नदेखिनाले सो धर्मपुत्रको लिखत वदर हुने ठहराएका शुरु भक्तपुर जिल्ला अदालतको फैसदा सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ मुनासिब ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिंदा मनासिव ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफि राखी दर्ता हुन आएको हुँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा समहत छु ।
न्या. केशव प्रसाद उपाध्याय
इतिसम्बत २०५० साल जेष्ठ १० गते रोज १ शुभम् ।