शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८६५ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: असोज अंक:

निर्णय नं. ३८६५    ने.का.प. २०४६            अङ्क ६

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४५ सालको सा.नं. फौ.पु.नं. ६०,५९९

संवत् २०४४ सालको फौ.पु.नं. ६४३

फैसला भएको मिति : २०४६।३।११।१ मा

पुनरावेदक/प्रतिवादी : जि. रौ.बसनपट्टी गा.पं.वा.नं. ९ बस्ने रामदेव ठाकुर लोहार

विरुद्ध

विपक्षी/वादी : जोगेन्द्र सहनीको जाहेरीले श्री ५ को सरकार

पुनरावेदक/वादी : जोगेन्द्र सहनी मलाहको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. रौ.बसनपट्टी गा.पं. वा.नं. ९ बस्ने रामदेव ठाकुर लोहार

मुद्दा : कर्तव्य ज्यान

§  इवी रहेका व्यक्तिले मिटिङ गरेको भोलिपल्ट सबेरै शंकास्पद स्थितिमा देखा परेको र वारदात समेतको क्रमबद्धता तथा निजै प्रतिवादीको बयान र घटना विवरण समेतका आधारबाट अदालतमा इन्कार रहेता पनि निज पुनरावेदक प्रतिवादीको कर्तव्यबाट मृत्यु भएको देखिने ।

(प्रकरण नं. २२)

§  सहअभियुक्तको पोललाई आधार मानी दोषी ठहर्‍याउन कानुनद्वारा नमिल्ने तथा पहिलेको मुद्दाको आचरणको आधारमा दोषी ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. २३)

श्री ५ को सरकारको तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला

प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेव राज शाही

फैसला

     न्या. गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझाई वादी प्रतिवादी दुबै तर्फबाट यस अदालतमा पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ ।

      २.    मिति २०३९।१२।११ गते विहान वसनपट्टी गा.पं. वार्ड नं. ६ बस्ने जंगिलाल सहनीलाई कर्तव्य गरी मारेको खबर आएकोले घटनास्थलमा आउँदा जंगिलाललाई धारिलो हतियारले नाक कान गाला निधार काटी मारेको लास देखी कुरुवा राखी प्रतिवेदन गर्न आएको छु । कानुन बमोजिम होस भन्ने समेतको प्र.ह. जगदेवप्रसाद यादवको प्रतिवेदन ।

      ३.    रामदेव ठाकुर लुहार, सरुप ठाकुर लुहार, लालबाबु ठाकुर लुहार, विरा ठाकुर लुहार, रामाज्ञा राउत कुर्मी, सुखल राउत कुर्मी, पासपत हजरा दुसाध समेतका व्यक्तिहरुले बेलुका पोखरीको किनारामा बसी सल्लाहा गरी राती गाउँका पूर्वपट्टिको भुस र माल समेत राख्ने घरमा सुतिरहेको अवस्थामा बाबु जंगीलाललाई धारिलो हतियारले काटी मारी भागेको अवस्थामा भोला ठाकुरले देखेकोले पहिलेको इवीको कारणले बाबुलाई मारेका हुन । कर्तव्य गरी ज्यान मारेकोमा सजाय गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३९।१२।१४ गतेको जोगेन्द्र सहनी मलाहको जाहेरी दरखास्त ।

      ४.    टाउको तर्फ बायाँ पट्टि गालामा काटिएको लामो लामो घाउ भई रगत प्रशस्त मात्रामा बगेको निधारमा ३xकाटिएको घाउ भएको बायाँ कान देखि आँखीभौं सम्म २xकाटिएको घाउ भएको भन्ने समेत व्यहोराको मिति २०३९।१२।१२ को लास जाँच प्रकृति मुचुल्का।

      ५.    टाउकोमा लागेको चोटबाट मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको मिति २०३९।१२।१३ मा मेडिकल अधिकृतको राय व्यक्त भई आएको पोष्टमार्टम फाराम ।

            ६.    म समेतका पासपत हजरा दुसाध, नवलकिसोर थारु, आली मियाँ राकी, विरा ठाकुर लुहार समेत मिली मिति २०३९।१२।११ गते राती जंगीलाल सहनी मलाहलाई मैले गडासाले हानी मारेको हो अरुले समातेका हुन् भन्ने समेत व्यहोराको मिति २०४०।१।१९ को रामदेव ठाकुर लुहारले प्रहरीमा गरेको बयान कागज ।

            ७.    अभियुक्त रामदेव ठाकुर लुहारले जंगीलाल सहनी उपर प्रहार गरेको हतियार गडासा भोला ठाकुर लुहारको गोठ घरमा रहेको परालको भुस भित्र लुकाएको छु भनी बताए अनुसार सो ठाउँबाट काठको बिंड भएको गडासा बरामद भएको मिति २०४०।१।२१ को बरामदी मुचुल्का ।

            ८.    जंगीलालको हत्या भएको रातको साँझ रामदेव ठाकुर समेतका मानिसहरु पोखरीको किनारामा बसी मिटिङ गरिरहेको भन्ने गणेशदास तत्मा र देवधारी सहनीको भनाई र सो रातको मारमा रामदेव ठाकुर समेतका मानिसहरु हडबड गरी दक्षिणतर्फ गइरहेका बोलाउँदा नबोलेको कारणबाट निजहरुले जंगीलाल सहनीलाई काटी मारी भागेको हुनुपर्छ भन्ने समेत व्यहोराको मिति २०४०।१।२२ मा भोला ठाकुर लुहारले प्रहरीमा कागज गरिदिएका ।

            ९.    भीरमा दक्षिणतर्फ भाग्दै गरेको देखेको भन्ने भोला ठाकुर साँझमा मिटिङ गरिरहेका भन्ने देवधारी र गणेशदास पहिलेको रिस इविबाट जंगीलाल सहनीलाई रामदेव ठाकुर लुहार, विरा ठकुर, लालबाबु सुखल राउत, नबल किसोर, पासपत, आली मिया समेतका मानिसहरुले बरामद भएको गडासाले कर्तव्य गरी काटी मारेको हो निजहरु बाहेक अरु उपर शंका छैन भनी सारा सर्जमिनका मानिसहरुले मिति २०४०।२।२ मा गरिदिएको सर्जमिन मुचुल्का ।

            १०.    प्रस्तुत मुद्दाको जाहेरी दरखास्त रामदेव ठाकुर लुहारले मुख सावित भई गरिदिएको कागज, गणेश दास र देवधारीले गरिदिएको कागज, भोला ठाकुर लुहारले गरिदिएको कागज, सर्जमिनका मानिसहरुको भनाई, लास जाँच प्रकृति मुचुल्का, पोष्टमार्टम रिपोर्ट, बरामदी मुचुल्का समेतबाट मिति २०३९।१२।११ गते राती जंगीलाल सहनी मलाहालाई कर्तव्य गरी काटी मारेको सिद्ध हुन आएकोले काटी मार्ने रामदेव ठाकुर लोहार उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय हुन, मार्न संयोग पारी दिने ठाउँको खुट्टा छातिमा समाउने थिच्ने विरा ठाकुर लोहार, लालबाबु ठाकुर लुहार, सुखल राउत कुर्मी, नवल किशोर थारु, पासपत हजारा, अली मिया समेत छ जना उपर ज्यानसम्बन्धीको १३(४) बमोजिम कारवाही भई सजाय हुन र सरुप ठाकुर लुहार र रामआज्ञा उपर अन्य प्रमाणबाट केही खुल्न नआई जाहेरीकै आधारमा मुद्दा चलाउन सबूद प्रमाण नपुग्ने भएबाट निज २ जना उपर मुद्दा नचलाइएको व्यहोरा अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको मिति २०४०।२।९।२ को प्रहरी प्रतिवेदन ।

            ११.    मेरो गाउँको जंगीलाल सहनीलाई फागुपूर्णीमा भन्दा २।४ दिन अघिको शुक्रवारको रातमा मारेको भनी वडहर्वामा बैनीको घरमा सासु मारी गएको अवस्थामा सुनेको हुँ । म गाउँमै नभएको अवस्था निज जंगीलाल मरेकोले कस्ले मारे थाहा छैन । म निर्दोष छु । इवीको कारणले मलाई पोलेको हो विरा ठाकुर लालबाबु मेरा छोरा हुन । सुखल नवल किसोर, आली मियालाई चिनेको छैन । पासपातलाई वीरगंज जेलमा चिनेको हुँ । प्रहरीमा गरेको बयान मेरो स्वइच्छाबाट भएको होइन । गडासी मेरो होइन । भोलाको घरबाट निकालेका हुन त्यस्मा रगत लागेको थियो थिएन थाहा भएन । जंगीलालको छोरा प्रधानपंच भएकोले निजका गफमेलका व्यक्तिबाट सरजमिन गराएको हो । जंगीलाल कांग्रेसको आन्दोलनमा लागेको सरकार विरोधी हुँदा निजलाई पक्रन सिपाही जाने हुँदा मैले सुराक दिएको भनी इवी लिएको थियो । त्यसैबाट मलाई फसाएको हो भन्ने व्यहोराको मिति २०४०।२।९ मा रामदेव ठाकुर लुहारले रौतहट जिल्ला अदालतमा गरेको बयान ।

            १२.   वारा जिल्ला खजानी बस्ने मामा सिउआज्ञा ठाकुर विरामी भएको खबर पाई मिति २०३९।१२।८ गते वहाँ गै जेष्ट महीनामा मात्र घर आएको हुँ । जंगीलाल मारिएको अवस्थामा म गाउँ घरमा थिइन । कस्ले मारे मराए मलाई थाहा छैन । रामदेव ठाकुर पिता र विरा ठाकुर भाइ हुन् सुखल राउतलाई चिन्दछु । रामआज्ञा पासपतलाई चिन्दिन । गडासी कस्को हो थाहा छैन पोखरीको डिलमा बसी मिटिङ समेत गरेको छैन । चुनावमा मुनिलालको तर्फबाट प्रचार गरेकोले इबी लिई झुट्टा उजूर गरी मलाई फसाउन खोजेको हो भन्ने समेत व्यहोराको लालबाबु ठाकुरले अदालतमा गरेको बयान ।

            १३.   २०३९।१२।११ गते म आफ्नो गाउँमा छु । आमा दमको विरामी हुँदा डाक्टर बोलाई औषधि उपचार गराइरहेको थिएँ । सो राती पोखरी डिलमा मिटिङ समेत गरेको र भिरमा दक्षिणपट्टि भागेको पनि थिइन । साम्प्रदायिक दंगामा वीरगंजमा जेल बस्दा रामदेव ठाकुर सँग चामलको विषयमा झगडा परी इवी बोकेकोले मलाई पोलेको हो भन्ने समेत व्यहोराको पासपत हजराले अदालतमा गरेको बयान ।

            १४.   प्रतिवादीहरु मध्ये विरा ठाकुर लुहार सुखल राउत कुर्मी, आली मिया, राकी र नवलकिसोर थारु म्यादी पुर्जीमा हाजिर नभै फरार रहेकोले अ.बं १९० नं. बमोजिम निजहरुको हकमा मुल्तवी राखी दिने रामदेव ठाकुर लुहारले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानलाई अन्य सबूद प्रमाण कागजको अभावमा निराधार भन्न नसकिएकोले जंगीलाल सहनी मलाहलाई कर्तव्य गरी मारेकोमा ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्म कैद, लालबाबु ठाकुर वारदात हुनु अगावै मावली बाजै कहाँ गएको भन्ने भनाइलाई निजका साक्षीले पुष्टि गरी दिएबाट प्रहरी माग दावी बमोजिम कसूर गरेको ठहर्दैन । चामलको कारणले झगडा परेको भन्ने भनाई र साक्षीले डाक्टरको नाम उल्लेख गर्न नसकेबाट परस्पर सामान्जस्यता नदेखिँदा पासपत हजरालाई ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद हुने ठहर्छ भन्ने समेत व्यहोराको रौतहट जिल्ला अदालतको मिति २०४२।३।३१ को फैसला ।

            १५.   रौतहट जिल्ला अदालतले लालबाबु ठाकुरलाई सफाई दिने गरेको निर्णय सरासर नमिलेको हुँदा सो हदसम्म उक्त फैसला बदर गरी लालबाबु ठाकुर लोहारलाई शुरु माँग दावी अनुसार सजाय गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारले मिति २०४२।६।८ मा मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदनपत्र ।

            १६.    मेरो इविवाला रामदेव ठाकुर लुहारले पोल गरेको आधारमा मलाई जन्मकैद गर्ने गरी गरेको शुरु जिल्ला अदालतको उक्त फैसला कानुन विपरीत हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४२।९।४ मा पासपत हजरा दुसाधले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको पुनरावेदनपत्र ।

            १७.   उक्त रौतहट जिल्ला अदालतको फैसला प्रत्यक्ष गम्भीर कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको मिति २०४२।७।२ मा रामदेव ठाकुर लुहारले म.क्षे. अदालतमा चढाएको पुनरावेदनपत्र ।

            १८.   यस्मा बरामदी मुचुल्काका नबुझिएका अन्य भर भलाद्मीलाई प्रमाण सरह बुझिएको नदेखिँदा प्रमाण सरह बुझ्न उपस्थित गराउनु भनी वादी पक्षलाई लेखी पठाउने त्यस्मा प्रतिवादीले जिरह गर्न पाउने हुँदा सफाई पाएका प्र. लालबाबु ठकुर समेतलाई ७ दिने म्याद दिई झिकाई थुनामा रहेकाहरुलाई समेत जनाउ दिई तारेख मिलान गरी आएपछि पेश गर्नु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत संयुक्त इजलासको मिति २०४३।११।१८ को आदेश ।

            १९.    प्रतिवादी रामदेव ठाकुर प्रहरीमा सावित भई बयान गरेको र सावितीको कुरा लास जाँच र पोष्टमार्टम प्रतिवेदनबाट समर्थित भइरहेको यस अवस्थामा सिर्फ अदालतमा रामदेवले इन्कारी बयान गर्दैमा निज निर्दोष भन्न सकिने अवस्था नभएबाट निज रामदेवलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय गरेको शुरुको फैसला मिलेकै देखिँदा रामदेव ठाकुर लोहारको पुनरावेदन जिकिर पुग्न सक्दैन । लालबाबु ठाकुरको हकमा, निजसंग सम्बन्धित दशी पनि वरामत हुन नसकेको निजको साक्षीले पनि सफाई दिई बकपत्र गरेको निजसंग मर्ने जंगीलालको रिस इवी परेको भन्ने कुरा मिसिलमा कतै पाइन्न । शंकाको सुविधा निजले पाउने हुँदा शुरु जि. अ.ले सफाई दिएको मनासिब छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । पासपत दुसाध हजराको हकमा अदालतमा इन्कारी बयान गरेको, साक्षीहरुले सफाई दिई बकपत्र गरेको पहिलोको मुद्दाको आचरणको आधारमा दोषी ठहर्‍याउन नमिल्ने भएबाट निजलाई सफाई दिनु पर्नेमा ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम सजाय गरेको शुरु जि. अ. को फैसला उल्टी भई निज पासपत दुसाध हजराले सफाई पाउने ठहर्छ भन्ने म.क्षे.अ. को फैसला । म.क्षे.अ. को फैसला त्रुटिपूर्ण र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत हुँदा आरोपित कसूरबाट सफाई पाउनु पर्छ भन्ने रामदेव ठाकुर लोहारको र जाहेरी दरखास्त, लासजाँच मुचुल्का, चस्मदिद व्यक्तिहरुको बकपत्र, सर्जमिनको बकपत्र समेतका आधारमा प्रतिवादी लालबाबु समेतलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय होस भन्ने श्री ५ को सरकारको छुट्टा छुट्टै पुनरावेदनपत्र ।

            २०.   नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइरालाले र प्र. रामदेवको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाहीले गर्नुभएको बहस समेत सुनियो ।

            २१.   यस्मा क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

            २२.   यस्मा निर्णयतर्फ विचार गर्दा, मृतक जंगीलाल संग पुनरावेदक प्रतिवादी रामदेव ठाकुरको चुनावको विषय लगायत डाँका मुद्दाको सन्दर्भमा समेत इवी रहेको भन्ने देखियो । निजले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानमा मृतकलाई गडासाले प्रहार गरेको भनेको र मृतकको लास जाँच मुचुल्का र लास जाँच प्रतिवेदन ९एयकत :यचतयm च्भउयचत० बाट निजको कथनलाई पुष्टि हुने देखिन्छ । मृतकलाई प्र.रामदेवले प्रहार गरिएको भनी निजले बयान गर्दा भनेको गडासा निजकै भनाई अनुसार भोला ठाकुरको गोठघरबाट बरामद भएको पाइन्छ । गणेशदास, देवधारी भोला ठाकुर समेतले वारदात भएको रात ८.३० तिर निज रामदेव समेतका व्यक्तिहरु मिटिङ गरी बसेको देखेको भनेका र त्यसको भोलिपल्ट विहान ४ बजेतिर निज रामदेव समेतका व्यक्तिहरुलाई देखेको कुरा उल्लेख गरेका देखियो । यसरी इबी रहेका व्यक्तिले त्यसरी मिटिङ गरेको भोलिपल्ट सबेरै शंकाष्पद स्थितिमा देखा परेको र वारदात समेतको क्रमबद्धता तथा निजै प्रतिवादीको बयान र घटना विवरण समेतको आधारबाट अदालतमा इन्कार रहेता पनि निज पुनरावेदक प्रतिवादी रामदेव ठाकुरको कर्तव्यबाट जंगीलालको मुत्यु भएको देखिन्छ । तसर्थ निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब देखियो । यस तर्फ पुनरावेदक प्रतिवादी रामदेव ठाकुरको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            २३.   अब शुरु अदालतबाट समेत सफाई पाएका लालबाबु ठाकुर तथा क्षेत्रीय अदालतबाट सफाई पाएका पासपत हजराका सम्बन्धमा विचार गर्दा, सहअभियुक्तको पोल र गणेश दास, देवधारी समेतको भनाई बमोजिम मिटिङमा बसेको देखेको भने तापनि लालबाबु ठाकुरका हकमा निजको दोषी सावित हुन अन्य सबूद प्रमाण गुज्रन आएको देखिएन । निजलाई शंकाको सुविधा प्रदान गरी सफाई दिने ठहराएको शुरुको सदर गरेको क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि देखिएन । अब अभियुक्त पासपतका हकमा विचार गर्दा, स्पष्ट रुपमा जाहेरी समेत नपरेको नचिनेका व्यक्ति यिनै अभियुक्त हुन् भनी भन्न नमिल्ने, सहअभियुक्तको पोललाई आधार मानी वारदातमा उपस्थित भएका मध्ये दोषी ठहर्‍याउन कानुनद्वारा नमिल्ने तथा पहिलेको मुद्दाको आचरणको आधारमा दोषी ठहर्‍याउन नमिल्ने समेत आधारमा अन्य सबूद प्रमाणको अभावमा शुरुको उल्टी गरी सफाई दिने ठहराएको क्षेत्रीय अदालतको इन्साफ मनासिब देखियो । अतः निज अभियुक्त प्रतिवादी पासपत समेतलाई सफाई दिने समेत ठहराएको फैसला मिलेकै देखिँदा निजहरुका हकमा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्र. रामदेव ठाकुरका हकमा पुनरावेदन परी विचार भएको हुँदा साधकको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्य. प्रचण्डराज अनिल

 

इति सम्वत् २०४६ साल आषाढ ११ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु