निर्णय नं. ३८७० - पर्खाल खिचोला

निर्णय नं. ३८७० ने.का.प. २०४६ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
संवत् २०४४ सालको दे.पु.नं. ५४३
फैसला भएको मिति : २०४६।२।८।१ मा
पुनरावेदक/वादी : ल.पु.न.पं.वा.नं. ११ बस्ने अमृतराज बज्राचार्य
विरुद्ध
विपक्षी/प्रतिवादी : ल.पु.न.पं.वा.नं. ११ बस्ने पन्नारत्न बज्राचार्यसमेत
मुद्दा : पर्खाल खिचोला
§ खिचोला गरेको हो होइन सबूद प्रमाणको आधारमा ठहर गर्नु पर्नेमा नगरपञ्चायतमा परेको उजूरीको आधारमा खारेज गरेको शुरु फैसला सदर गरी गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी क्षेत्रीय अदालतबाट भएको आदेश नमिल्ने ।
(प्रकरण नं. १२)
पुनरावेदक वादी, तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
प्रत्यर्थी, प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसाल
फैसला
न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतको पुनरावेदनको अनुमति नदिने आदेश उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यसप्रकार छ ।
२. विपक्षी पन्नारत्नले चौत्यराजबाट २०२६।७।१४।५ मा फार्से गरी लिंदा उत्तर तर्फ ऋणीको केववारी मात्र भनेको निजले घर बनाउन नगरपञ्चायतमा दरखास्त गर्दा वालाफाला गर्ने जग्गा नदेखाएको खड्गराजको घरको मोहडा पूर्व ओमवहाल तर्फ भएको उत्तरतर्फ १ नाले जोडिएको घर नै नभएकोमा पन्नारत्न र खड्गराज काका भतिजा मिली मेरो एकलौटी चोकमा हुँदै नभएको अण्डरग्राउण्ड ढल बनी गएको छ भनी मेरो चोकको पश्चिम तर्फको परखालको जमिन निर उत्तर दक्षिण लम्बाईका परखालको उत्तर कुना निर केही भत्काई प्वाल बनाउने उद्देश्य लिई खिचोला गर्न आएकाले खिचोला मेटाई पाउँ भन्ने समेत व्यहोराको वादी अमृतराज बज्राचार्यको फिरादपत्र ।
३. हामी विपक्षी मध्ये म खड्गराजको १ नाले उत्तरतर्फको घरदेखि पूर्व म पन्नारत्नको घरदेखि उत्तर हामी दुई काका भतिजाको साझा सागल छ । सो बाहेक हाम्रो अन्य कतै सागल छैन । सो हाम्रो साझा सागल देखि पूर्व फिरादीको घर देखि उत्तर फिरादीको सागल छ । जसलाई वहाँ बारी भन्नु हुन्छ । हाम्रो साझा सागलको निकास विपक्षीको बारी हुँदै गल्लीको ठूलो ढलमा पास हुने हुँदा फिरादीले सो निकास बन्द गरी दिंदा हाम्रो ठुलो नोक्सानी पर्न गै ललितपुर नगरपञ्चायतमा ढल खुलाई पाउन उजूर गरी नक्सा सर्जमिन समेत भएको छ । घर बनाउनेको ३ नं. ले दिई आएको निकास थुन्न नहुने कानुनी व्यवस्था समेत भएबाट फिरादीका झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. प्रस्तुत विषयमा नगरपञ्चायतमा उजूर परी कारवाही भइरहेको र ढल निकास सम्बन्धी विवाद नगरपञ्चायतले गर्ने अधिकार भएको देखिँदा यस अदालतको अधिकार क्षेत्र भित्र नपर्ने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको ललितपुर जिल्ला अदालतको २०४२।५।२०।५ को फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी अमृतराजको बा.अं.अ. मा परेको पुनरावेदन ।
६. यस्मा नगरपञ्चायत ऐनको दफा १७(१) मा हक बेहक छुट्याउनु पर्ने बाहेक घर पाताल सडक नाली सन्धी सर्पन सम्बन्धी उजूरीको किनारा गर्ने अधिकार नगरपंचायतको क्षेत्राधिकार भित्र पर्ने हुँदा फिराद दावी खारेज गर्ने गरेको ललितपुर जिल्ला अदालतको इन्साफ मनासिब देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको मिति २०४३।४।१२।१ को फैसला ।
७. ज.मि.को १८ नं. को परिभाषा भित्रको फिरादलाई निकास खोल्न भनी परखाल भत्काई माटो खनी खिचोला गरेकाले खिचोला मेटाई पाउँ भनी पर्न आएको फिरादमा तैकात गरी निर्णय गर्नु पर्नेमा नगरपञ्चायतको क्षेत्राधिकारको भनी फिराद खारेज गर्ने गरेको ललितपुर जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको बागमती अञ्चल अदालतको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी अमृतराज बज्राचार्यको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको निवेदनपत्र ।
८. यस्मा यिनै प्रतिवादी खड्गराज र पन्नारत्नले यिनै वादी उपर ढल निकास बन्द गरे खुलाई पाउँ भन्ने मुद्दा ललितपुर नगरपञ्चायतमा दायर गरी कारवाही चलिरहेकोले हक बेहक गर्ने विषय बाहेक ढल निकास सम्बन्धमा नगरपञ्चायतबाट निर्णय गर्नसक्ने नै भएको र वादी प्रतिवादी बीचमा ढल निकासकै विवाद देखिएकोले फिराद खारेज गर्ने गरेको शुरुको फैसला सदर गरेको बागमती अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ संशोधन सहितको दफा १३(४) को अवस्था विद्यमान भएको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन । कानुन बमोजिम गर्नु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।२।१२।३ को आदेश ।
९. पर्खाल खिचोला गर्यो भनी दावी गरेपछि सोही विषयमा केन्द्रित रही निर्णय गर्नु पर्नेमा सो अनुसार नगरी फिराद खारेज गर्ने गरी गरिएको जिल्ला अदालतको इन्साफलाई सदर गर्ने गरेको बागमती अञ्चल अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको क्षेत्रीय अदालतको आदेश प्रत्यक्षतः कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी अमृतराज बज्राचार्यको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
१०. यस्मा खिचोला मेटाई पाउँ भनी दावी भएकोमा त्यसतर्फ ठहर गर्नु पर्नेमा ढलको कुरामा सीमित रही निर्णय गरेको अ.बं. १८४(क) दण्ड सजायको १२ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०४४।३।३२।५ को आदेश ।
११. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक/वादी तर्फबाट उपस्थित हुनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी तथा प्रत्यर्थी/प्रतिवादीहरु तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री लक्ष्मणमणी रिसालले गर्नु भएको बहस समेत सुनी जिल्ला अदालतले फिराद खारेज गर्ने गरेको इन्साफलाई सदर गर्ने गरेको बागमती अञ्चल अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान नगरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको आदेश मिलेको छ छैन भनी निर्णय दिनु पर्ने हुन आएको छ ।
१२. यस्मा वादीले आफ्नो फिरादमा घर बनाउनेको ३ नं. ले अघिदेखि चलिआएको नभएको स्थानमा जवरजस्ती निकास लिने दुष्प्रयास गरी आफ्ना हकदैया नपुग्ने मेरो एकलौटी चोकका जमिनभित्र छँदै नभएको अण्डरग्राउण्ड निकास छ भनी परखाल भत्काई प्वाल पार्ने उद्देश्य लिई खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने दावी लिएकोमा प्रतिवादीहरुले आफ्नो प्रतिउत्तरमा वास्तवमा अहिले हामीले केवल निजको बारीबाट अघिदेखि चलिआएको निकासको मात्र प्रयोग गरेका छौं । समस्त जग्गा प्रयोग गर्न दावी गरेको होइन । घर बनाउनेको ३ नं. ले यसरी चली आएको दिई आएको निकास थुन्न नहुने कानुनी व्यवस्था गरेकोले यति नै हाम्रो मुख्य जिकिर हो भनी देखाएको पाइन्छ । प्रतिवादीहरुको जिकिरको अघिदेखि चलिआएको दिई आएको निकास बन्द गरेको भन्नेतर्फ प्रतिवादीहरुको ललितपुर नगरपञ्चायतमा नगरपञ्चायत ऐन, २०१९ को दफा १७(१) (ढ) अन्तर्गत उजूरी परी कारवाही भइरहेको देखिएकोले त्यसतर्फ उतैबाट कानुन बमोजिम हुने नै भएकोले प्रस्तुत मुद्दाबाट वादी दावी बमोजिम वादीको चोकमा जमिन भित्र छँदै नभएको अण्डरग्राउण्ड निकास छ भनी परखाल भत्काई प्वाल पार्ने उद्देश्य लिई खिचोला गरेको हो होइन सबूद प्रमाणको आधारमा ठहर गर्नु पर्नेमा ढल निकास खुलाई पाउँ भन्ने कुरामा नगरपञ्चायतमा परेको उजूरीको आधारमा खारेज गरेको शुरु फैसला सदर गरी गरेको अञ्चल अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति नदिने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको आदेश समेत मिलेको देखिएन । वादी दावीको कुरामा सीमित रही बुझ्नु पर्ने प्रमाण बुझी कानुन बमोजिम गर्नु भनी पक्ष विपक्षलाई तारिख तोकी मिसिल शुरु ललितपुर जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. गजेन्द्रकेशरी बास्तोला
इति सम्वत् २०४६ साल जेष्ठ ८ गते रोज १ शुभम् ।