निर्णय नं. ४६९७ - बन्दी प्रत्यक्षीकरण

निर्णय नं. ४६९७ ने.का.प. २०५० (क) अङ्क २
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला
माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा
सम्वत् २०५० सालको पुनरावलोकन नं. : ४
आदेश मिति : २०५०।२।२२।६
निवेदक : इन्द्र बहादुर गुरुङ ।
विरुद्ध
विपक्षी : राजश्व न्यायाधीकरण, काठमाडौं ।
मुद्दा : बन्दी प्रत्यक्षीकरण ।
विषय : पुनरावलोकन गरी पाउँ ।
(१) पुनरावलोकन गर्दा मिनि २०४८।८।२९ गतेको जे जस्तो व्यवस्था थियो त्यस बखतको अवस्था विचार गरी निर्णयमा पुग्ने कुरा आउंछ । करिव ९ महिना पछि पूर्ण इजलासबाट प्रतिपादित भएको सिद्धान्तले पहिले भएको निर्णय ठहरलाई पश्चातदर्शी असर (Retrospective) दिन सक्ने अवस्था नआउने
(प्र.नं. १)
(२) विधायिकाले कानून निर्माण गर्दा स्पष्ट पश्चातदर्शीको अवस्था भएको अवस्थामा बाहेक अन्य अवस्थामा पश्चातदर्शी असर हुने गरी कानून निर्माण गर्न सक्दैन भने कानूनको व्याख्याता न्यायपालिकाद्वारा निर्मित निर्णयले पनि सोही अनुरुप पश्चातदर्शी असर गर्न सक्छ भन्न सकिने अवस्था नहुने ।
(प्र.नं. १)
(३) न्यायालयले विधि बनाउने होइन, संशोधन गर्ने होइन, र खारेज गर्ने पनि होइन । विधिलाई निष्कृय गर्ने काम पनि अदालतको होइन, आदलतको काम विधिलाई प्रयोग गर्ने मात्र हो ।
(प्र.न. १)
(४) यो प्रयोग गर्ने प्रक्रियाका सिद्धान्तहरू २, ३ वटा छन् तिन मध्ये प्रथम प्रक्रिया हो । शाब्दिक व्याख्या । यसलाई व्याकरणिक व्याख्या पनि भनिन्छ । शाब्दिक व्याख्याको अभिप्राय हो विधिको रुपमा लिपिवद्ध गरिएका विधिका शब्द (Litralogis) हरूको सजिलो र स्वाभाविक अर्थ गर्नु अर्थात विधिमा प्रयोग गरिएका शब्दहरूको व्याकरण अनुसार अर्थ गर्नु, यसलाई गणितको हिसाबले अर्थ गर्नु भने पनि हुन्छ ।
(प्र.नं. १)
(५) विधिमा कमि भएको भन्ने सम्झेका कुरा (Cabus Omssus) को पूर्ति गर्नु अथवा त्यसलाई सुधार गर्नु न्यायालयको काम होइन ।
(प्र.नं. २)
(६) विधिको व्याख्याका अरु धेरै नियमहरू पनि छन् तर ती नियमहरू यो ब्याख्याको स्वर्णिम नियम प्रयोग गर्दा अर्थाश्रीत त्रुटी हुन आउंछ । अथवा विधिको मूलपाठमा कुनै लिपिको भूल भएको देखिन्छ भने मात्र प्रयोग गर्ने हो तर यसमा त्यस्तो अवस्था छैन । त्यसकारण यस स्वर्णिम नियम प्रयोग नगरी अरु तिर लाग्नु व्याख्या नीतिको विपरीत हुन जान्छ । यो अनुचित मात्र होइन व्याख्या नीति र नियमको विपरीत नै हुन जान्छ । यस सिद्धान्तलाई हिन्दू अन्वेषणात्मक पद्धतिले पनि मान्दछ । यो सिद्धान्तलाई चेक विस्मिथ (१८३६) २ एम एण्ड डब्लु १९१ र ग्रे.वि. पियरसन (१८५७) एच १ कास ६१ मा प्रयोग गरिएको छ । त्यसमा पनि दण्ड गर्ने किसिमको विधिको व्याख्या (अर्थान्वयन) जस्ताको तस्तै गर्न पर्दछ । (सेयद र टिम वि. ईम्परक ए. आइ. आर. १९१५ नाग २ र लण्डन एण्ड नर्थ ईस्टर्न रेल कं. वि. वेरिमेन (१९६४) १ अल इंग्लेण्ड रिपोर्ट २५५)
(प्र.नं. २)
आदेश
१. यसमा यस अदालतका मिति २०४८।८।२९ गतेमा यहि इजलासले गरेको रिट नं. १६२९ मा भएको निर्णय उपर पुनरावलोकन गरी पाउँ भनी यिनै निवेदक इन्द्र वहादुर गुरुङले निवेदन दिएको देखिन्छ । सो मिति २०४८।८।२९ गतेमा भएको निर्णय मिति २०४९।५।९ मा पूर्ण इजलासबाट निवेदक लोप्सान लामा विरुद्ध राजश्व न्यायाधीकरण समेत भएको रिट पूर्ण इजलास नं. ६२ मा प्रतिपादित सिद्धान्तबाट सो मिति २०४८।८।२९ गतेको निर्णय विपरीत भएको छ भनी जिकिर लिएको देखिन्छ । पुनरावलोकन गर्दा मिति २०४८।८।२९ गतेको जे जस्तो व्यवस्था थियो यस वखतको अवस्था विचार गरी निर्णयमा पुग्ने कुरा आउँछ । करिव ९ महीना पछि पूर्ण इजलासबाट प्रतिपादित भएको सिद्धान्तले पहिले भएको निर्णय ठहरलाई पश्चातदर्शी असर (Retrospective) दिन सक्ने अवस्था आउँदैन । सो पूर्ण इजालासको निर्णय त्यसपछिका निर्णयहरूमा मात्र लागू हुन सक्ने कुरा हुन्छ । विधायिकाले कानून निर्माण गर्दा स्पष्ट पश्चातदर्शीको व्यवस्था भएको अवस्थामा बाहेक अन्य अवस्थामा पश्चातदर्शी असर हुने गरी कानून निर्माण गर्न सक्दैन भने कानूनको व्याख्याता न्यायपालिकाद्वारा निर्मित निर्णयले पनि सोही अनुरुप पश्चातदर्शी असर गर्न सक्छ भन्न सकिने अवस्था पनि भएन । न्यायालयले विधि बनाउने होइन, शंसोधन गर्ने होइन र खारेज गर्ने पनि होइन । विधिलाई निष्कृय गर्ने काम पनि अदालतको होइन, अदालतको काम विधिलाई प्रयोग गर्ने मात्र हो । यो प्रयोग गर्ने प्रक्रियाका सिद्धान्तहरू २, ३ वटा छन् ति मध्ये प्रथम प्रक्रिया हो शाब्दिक व्याख्या यसलाई व्याकरणिक व्याख्या पनि भनिन्छ, शाब्दिक व्याख्याको अभिप्राय हो विधिको रुपमा लिपिवद्ध गरिएका विधिका शब्द (Litralogis) हरूको सजिलो र स्वभाविक अर्थ गर्नु अर्थात् विधिमा प्रयोग गरिएका शब्दहरूको व्याकरण अनुसार अर्थ गर्नु, यसलाई गणितको हिसावले अर्थ गर्नु भने पनि हुन्छ, भन्नाको तात्पर्य २+२=४ भन्नु हो । २+२=३ अथवा २+२=५ भन्नु होइन । विधिमा कमि भएको भन्ने सम्झेका कुरा (Cabus Omssus) को पूर्ति गर्नु अथवा त्यसलाई सुधार गर्नु न्यायालयको काम होइन (क्रफोर्ड वि स्युतर (१८४६) मुरे पी.सी तथा ग्रे.वि.पियरसन् (१०. ई. आर. १२१६) ।
२. विधिको व्याख्याका अरु धेरै नियमहरू पनि छन् तर ती नियमहरू यो व्याख्याको स्वर्णिम नियम प्रयोग गर्दा अर्थाश्रित त्रुटी हुन आउँछ अथवा विधिको मूलपाठमा कुनै लिपिका भूल भएको देखिन्छ भने मात्र प्रयोग गर्ने हो तर यसमा त्यस्तो अवस्था छैन । त्यसकारण यस स्वर्णिम नियम प्रयोग नगरी उक्त अरु तिर लाग्नु व्याख्या नीतिको विपरित हुन जान्छ र यो अनुचित मात्र होइन व्याख्या नीति र नियमको विपरित नै हुन जान्छ । यस सिद्धान्तलाई हिन्दु अन्वेषणात्मक पद्धतिले पनि मान्दछ, यो सिद्धान्तलाई चेक वि. स्मिथ (१८३६) २ एम एण्ड डब्लु १९१ र ग्रे.वि. पियरसन् (१८५७) एच. १ कास ६१ मा प्रयोग गरिएको छ । त्यसमा पनि दण्ड गर्ने किसिमको विधिको व्याख्या (अर्थन्वयन) जस्ताको तस्तै गर्नु पर्दछ (सैयद रटिम वि. ईम्परक ए. आई. आर. १९१५ नाग २ र लण्डन एण्ड नर्थ ईस्टन रेल क वि. वेरिमेन (१९६४) १ अल ईङ्गलैण्ड रिपोर्ट २५५) ।
३. तसर्थ प्रस्तुत मुद्दामा पुनरावलोकन गरी हेर्न पर्ने अवस्था विद्यमान नहुँदा फाईल तामेलीमा राखी दिनु ।
इति संवत् २०५० साल जेष्ठ २२ गते रोज ६ शुभम्