शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६८५६ - जग्गा खिचोला

भाग: ४२ साल: २०५७ महिना: जेष्ठ अंक:

निर्णय नं. ६८५६           ने.का.. २०५७             अङ्क २

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री टोपबहादुर सिंह

सम्वत २०५४ सालको दे.पु.नं. ... ४१२७

फैसला मितिः २०५६।८।२०।२

मुद्दाः   जग्गा खिचोला ।

पुनरावेदक/वादीः जिल्ला जाजरकोट, खलंगा गा.वि.. वडा नं. २ बस्ने टेककुमार शाह

विरुद्ध

विपक्षी/प्रतिवादीः जिल्ला रुकुम, खोलागाउँ गा.वि.. वडा नं. १ बस्ने धनुवली

 

§  वादीले दावी गरेको र प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको जग्गा बेग्ला बेग्लै नभई एउटै भएपछि त्यस्तो जग्गालाई देखाई दायर गरेको फिरादलाई हकदैया बिहिन भन्‍न मिल्ने देखिएन । यस्तो स्थितिमा अलग अलग तालुक अन्तर्गत दर्ता भएको भन्‍ने आधारमा हकदैयाको अभाव भएको भन्‍ने आधारमा खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला वदर हुन्छ । वादी प्रतिवादीका बयानबाट जालसाजी सम्बन्धी प्रश्‍न खडा भएको देखिँदा प्रस्तुत जग्गाको विवाद तथा जालसाजी समेतका कुरामा जो बुझ्नु पर्ने प्रमाण बुझी प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु भनी दुवै पक्षलाई शुरु रुकुम जिल्ला अदालतको तारेख तोकी शुरु मिसिल समेत रुकुम जिल्ला अदालतमा पठाई दिने ।    

       (प्र.नं.१७)

 

पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री श्रीहरि अर्याल

विपक्षी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री एकराज भण्डारी

अवलम्बित नजिरः

फैसला

न्या.केशव प्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२() अन्तर्गत मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदन लगत दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः

2.           मेरो लोग्ने दीपकजंग शाहले दोयम सिम खोला मुहान बगर खेत जहारी खोला सो दक्षिण खहरे खोला सो पश्‍चिम माथि ठीक सो उत्तर र खोला सो पूर्व यति ४ किल्ला भित्रको दोयम सिम खोला मुहानबगर खेत र लोग्ने दीपक शाहबाट सो खेत लगायत अरु खेत पाखाहरु समेत २०४०।५।२७ मा मैले हालैको बकसपत्र पाई मेरा नाउँमा दा.खा.नामसारी समेत गराई आएको मेरो एकलौटी हक भोग चलन भित्रको जग्गालाई विपक्षीले म सँग पटक पटक यो खेत मलाई लिन मन छ मलाई दिनुहोस भनेको र मैले सो खेत बिक्री गर्न  इन्कार गरेको कारणबाट रिसाई विपक्षी २०४७ साल मार्ग १० गतेका दिन बिहान १० बजेको समयमा आफ्ना घरबाट हल गोरु ल्याई जोती गहु छरी खिचोला गरेको देखि किन मेरो खेत खिचोला गर्नु भएको भनी सोध्दा तिम्रो लोग्नेबाट मैले २०४४ सालमा हक छुटाई लिएको छु । अब खेत भोगचलन गर्न छाडदिन भनी जग्गा खिचोला गरेकाले खिचोला मेटाई मेरो हक कायम राखी चलन चलाई पाउँ भन्‍ने समेत फिराद पत्र ।

3.           वादी दावीको ४ किल्ला भित्रको माटो मुरी ।९७।१० को खेत खला रुकुम मौजा मानकोट लहरे सिमल तालुक १९९८ सालको मोठ नं. ५० मा हिराजंग शाह दर्ता भएको निज दर्तावालाबाट निजको छोरा विपक्षीले लोग्ने दीपकजंग शाहले पाई हक भोग गरेको अवस्था दीपकजंग शाहबाट मैले २०४५।३।६ गते हालैको बकसपत्र पाई २०४५।३।७ गते जाजरकोट मालबाट पारित गराई मेरो हक भोगचलन भै २०४५।६।२४ गते रुकुम माल कार्यालयबाट मेरा नाउँमा दा.खा. नामसारी भएको र सो बमोजिम मेरै परिवारले हक भोग गरी आएको वादीको लोग्ने दीपकजंग शाहले मलाई बकसपत्र गरी दिएको रिसइवीबाट झुठ्ठा मुद्दा दिने वादीलाई नै सजाय गरी पाउँ भन्‍ने समेत प्रतिउत्तर पत्र ।

4.          दीपकजंग शाहले २०४० सालमा जग्गा आफ्नो श्रीमतीलाई बकस गरी दिएको कुरा मलाई थाहा जानकारी नदिई मेरो पैसा खाने नियतले मलाई झुक्याई जालसाजी मेरो सोही जग्गा २०४५।३।६ मा बकसपत्र गरी दिएका हुन । जग्गा बकसपत्र गरी दिए वापत निज दिपकजंज शाहलाई १,६५,०००।- दिएको हुँ । दोहोरो पारी खाने नियतले कागज  जालसाजीबाट खडा गरेका हुन भन्‍ने समेत धनुवलीले गरेको बयान ।

5.           दीपकजंग शाह र धनुवलीले जालसाजीबाट बकसपत्रको कागज खडा गरेका हुन । टेक कुमारी र दीपकजंग शाह लोग्ने स्वास्नी भएको र दीपकजंग शाहले २०४० साल भाद्र २७ गते आफ्नी श्रीमती टेकु कुमारीलाई हालै देखिको बकसपत्र गरी सकेपछि सोही जग्गा २०४५।३।७ मा धनुवलीलाई बकसपत्र जालसाजीबाट खडा गरेका हुन भन्‍ने समेत प्र.वा.खिमबहादुर बुढाले गरेको बयान ।

6.           दीपकजंग शाहले आफ्नी श्रीमती टेक कुमारीलाई माल कार्यालय जाजारकोटबाट बकसपत्र पास गरी दिएको प्रमाणको आधारबाट रसिद काटी दिएको हुँ जालसाजबाट रसिद काटी दिएको होइन भन्‍ने समेत जालसाज तर्फ सचिव अम्बरबहादुर बुढाले गरेको बयान ।

7.           प्र.धनुवलीले दीपकजंग शाहबाट  २०४०।५।२७ मा बकसपत्र पाएको जग्गालाई पक्री दावी गर्ने अधिकार वादीलाई कुनै ऐनले प्रदान गरेको नदेखिँदा प्रस्तुत फिराद वादीको हक अधिकारको अभावमा अ.वं. १८० नं. अनुसार खारेज हुने ठहर्छ भन्‍ने समेत रुकुम जिल्ला अदालतको फैसला ।

8.           रुकुम जिल्ला अदालतको फैसलामा चित्त बुझेन शुरुको खारेजी फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्‍ने समेत व्यहोराको पुनरावेदन पत्र ।

9.          रुकुम जिल्ला अदालतको खारेजी फैसला फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम म्याद जारी गरी पेश गर्नु भन्‍ने पुनरावेदन अदालत नेपालगंजको आदेश ।

10.       वादीले काप्रा गाउको तालुक भित्रको जग्गा बकसपत्र लिएकोमा मौजे मानाकोट लहरे सिमल गाउँको जग्गा मेरो हो भनी दावी लिने हकदैया नपुगेको भन्‍ने आधारमा अ.वं. १८० नं. बमोजिम फिरादपत्र खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसला मिलेकै देखिँदा सनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्‍ने समेत व्यहोराको २०५०।६।१९।३ मा पुनरावेदन अदालत नेपालगंजबाट भएको फैसला ।

11.        मोठ नं. ५० सीम खोला मुहान बगर नामको माटो मुरी ।९७।१० को जग्गा काप्रा तालुक नभई मानकोट लहरे सीमल तालुकको हुँदा सोही तालुक कायम रही मैले तिरो चलाई आएबाट प्रमाणित भएकै छ । अ.वं. ८२ नं. उजुर गर्न हक नपुगेको भनी गरेको फैसला सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको समेत प्रतिकूल भएकोले मुद्दा दोहर्‍याई हेरी पाउँ भन्ने समेत व्यहोराको टेक कुमारी शाहको यस अदालतमा पर्न आएको निवेदन ।

12.        यसमा शुरु रेकर्ड र भए प्रमाण मिसिल समेत झिकाई पेश गर्नु भन्‍ने यस अदालत संयुक्त इजलासबाट २०५३।७।१६।६ मा भएको आदेश ।

13.        यसमा वादीले २०४०।६।२६ को बकसपत्र र सो को नाताले भएको नामसारी दर्ता समेत मिति २०४०।७।२३ मा रुकुम मालबाट भई वादीबाट तिरो चलिरहेको देखिन आएको अवस्थामा केवल मिति २०४०।६।२६ को बकसपत्रलाई मात्र अंगाली गरेको पुनरावेदन अदालत नेपालगंजको फैसलामा ने.का.. २०४९, नि.नं. ४६५६, पृष्ठ ९६६ मा प्रतिपादित सिद्धान्त समेतको विपरीत देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा () को खण्ड () को आधारमा प्रस्तुत मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको छ    नियमानुसार गरी पेश गर्नु भनने २०५४।८।२०।६ मा यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

14.       नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) का तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री श्रीहरि अर्यालको २०४० सालमा लिखत भएको जग्गा र विवादको जग्गा एउटै हो भन्‍ने कुरामा विवाद छैन यस्तो अवस्थामा फिराद गर्ने हकदैया छैन भन्‍न मिल्ने अवस्था  छैन खारेज गर्ने गरेको फैसला मिलेको नहुँदा शुरु र पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भनी विपक्षी प्रतिवादीका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री एकराज भण्डारीले जुन नजिर लगाएर प्रस्तुत मुद्दामा निस्सा दिइएको छ सो नजिर प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन दर्ता भएर विभिन्‍न व्यक्तिमा गईसकेपछि सो वदर नभए सम्म जुन जग्गा खिचोलाको नालेस परेको छ त्यसको औचित्य छैन भनी बहस गर्नु भयो ।

15.        दुवै पक्षबाट उपस्थित विद्बान कानूनी व्यवसायीहरुको बहस जिकिर सुनी मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको के रहेछ ? निर्णय दिनुपर्ने हुन आएको छ ।

16.        लोग्ने दिपकजंग शाहबाट  २०४०।५।२७ मा हालैको बकसपत्र गराई लिइएको जहारी खोला सो दक्षिण खहरे खोला सो पश्‍चिम माथि ढिक सो उत्तर खोला सो पूर्व यति चार किल्ला भित्रको खेत विपक्षीले तिम्रो लोग्नेबाट २०४४ सालमा हक छुटाई लिएको छु भनी खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्‍ने फिराद दावी र दावीको जग्गा विपक्षीको लोग्ने दिपक जंगबाट बकसपत्र पाई रुकुम मालबाट दा.खा. नामसारी गराई भोगी आएको जग्गा हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्‍ने समेत व्यहोराको प्रतिउत्तर पत्र भएकोमा वादीले काप्रा तालुक अन्तर्गतको हिराजंग शाह दर्ताको जग्गा बकस पाएकोमा सोही नाताले अर्कै तालुकमा हिराजंगको नाउँमा दर्ता भई प्र.धनुवलीले दिपकजंगबाट २०४०।५।२७ मा बकसपत्र पाएको जग्गालाई पक्री दावी गर्ने अधिकार वादीलाई नभएकोले फिराद दावीको हकाधिकारको अभावमा खारेज हुने ठहरी शुरु रुकुम जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरी पुनरावेदन अदालत नेपालगंजबाट फैसला भएको रहेछ । सो फैसला उपर यस अदालतमा परेको निवेदनबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता भई प्रस्तुत मुद्दा निर्णयार्थ आज यस इजलास समक्ष पेश हुन आएको रहेछ ।

17.        यसमा वादी टेक कुमारी शाहले दिपकजंग शाहबाट मिति २०४०।६।१६ मा बकसपत्र पारित गराई लिएको जग्गाको चार किल्ला हेर्दा जहारी खोला सो दक्षिण खहरे खोला सो पश्‍चिम माथि ढिक सो उत्तर खोला सो पूर्व यति चार किल्ला भित्रको सीम खोला मुहान खेत माटो मुरी ।९७।१० भन्‍ने देखिन्छ भने निजै दिपक जंग शाहले प्रतिवादी धनुवलीलाई मिति २०४५।६।७ मा पारित गरिदिएको बकसपत्रको जग्गा पनि सोही चार किल्ला भित्रको सिम खोला मुहान खेत माटो मुरी ।९७।१० भन्‍ने उल्लेख भई वादीले दावी गरेको र प्रतिवादी धनुवलीलाई दिपकजंगले बकसपत्र गरी दिएको खेत एउटै देखिन आउँछ । यसरी वादीले दावी गरेको र प्रतिवादीले बकसपत्रबाट प्राप्त गरेको जग्गा बेग्ला बेग्लै नभई एउटै भएपछि त्यस्तो जग्गालाई देखाई दायर गरेको फिरादलाई हकदैया बिहिन भन्‍न मिल्ने देखिएन । यस्तो स्थितिमा अलग अलग तालुक अन्तर्गत दर्ता भएको भन्‍ने आधारमा हकदैयाको अभाव भएको भन्‍ने आधारमा खारेज गर्ने गरेको शुरु रुकुम जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत नेपालगञ्‍जको फैसला वदर हुन्छ । वादी प्रतिवादीका बयानबाट जालसाजी सम्बन्धी प्रश्‍न खडा भएको देखिँदा प्रस्तुत जग्गाको विवाद तथा जालसाजी समेतका कुरामा जो बुझ्नु पर्ने प्रमाण बुझी प्रमाणको मूल्यांकन गरी निर्णय गर्नु भनी दुवै पक्षलाई शुरु रुकुम जिल्ला अदालतको तारेख तोकी शुरु मिसिल समेत रुकुम जिल्ला अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.टोपबहादुर सिंह

 

इति सम्वत २०५६   साल मार्ग २०  गते रोज २   शुभम्..................

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु