शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३८८७ - कर्तव्य ज्यान

भाग: ३१ साल: २०४६ महिना: कार्तिक अंक:

निर्णय नं. ३८८७     ने.का.प. २०४६                         अङ्क ७

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४५ सालको फौ.पु.नं. ५००

फैसला भएको मिति : २०४६।२।१७।३ मा

पुनरावेदक/वादी : श्री चक्रबहादुर राउतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि. बाजुरा डोगडी गा.पं. वा.नं. ६ डोगडी गाउँ बस्ने सेते राउत

मुद्दा : कर्तव्य ज्यान

§  करणी गर्न जाँदा बन्चरो लिई जानु पर्ने अवस्था र मरी सकेपछि गहना लिएको भन्ने बयान सबूद प्रमाणहरुबाट पुष्टि नभएसम्म मिल्दो र पत्यार लाग्दो भन्न नमिल्ने ।

(प्रकरण नं. २४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

      न्या. सुरेन्द्रप्रसाद सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परेको र निर्णयार्थ पेश हुन आएको यस मुद्दाको संक्षिप्त व्यहोरा निम्न बमोजिम छ ।

      २.    मेरी भाउजू पिल्ठु राउत गुफलेडीको गोठमा बस्दथिन २०४२।५।५ का राती मृत्यु भई भनी राउतले मृतक अवस्थामा देखेको र भाउजूको लाशको टाउकोमा घाउ परी नाक, कानमा लगाएको सुनको गहना समेत लगेकोले भाउजूको मृत्यु कर्तव्यबाट भएको विश्वास लाग्छ कर्तव्यवाला को हो थाहा छैन भन्ने समेत व्यहोराको चक्रबहादुर राउतको जाहेरी दर्खास्त ।

      ३.    धारिलो हतियार प्रयोग गरिएको भन्ने पिल्ठु राउतको लाश प्रकृति मुचुल्का । मृतकको छोरीले उठाई देउ भन्दा पिल्ठु राउत नउठेकी र मरी सकेको हुँदा निजका छोरा छोरीलाई आफ्नो गोठमा ल्याएकी कर्तव्यवाला को हो थाहा छैन भन्ने समेत व्यहोराको मनी राउतले प्रहरीमा गरेको कागज ।

      ४.    जि. बाजुरा आरी चौर हेल्थपोष्टको मिति ०४२।५।९ को लाश जाँच प्रतिवेदन ।

      ५.    २०४२।२।१६ मा भारत गई २०४६।५।८ मा घरमा आउँदा पत्नी पिल्ठु राउत मरेको कारणको पिरले व्यहोस भएको थिएँ । सेते राउतसंग २।३ पटक गाई, भैंसीले बाली खाएको सम्बन्धमा झगडा परी निजले रिसइवी लिएको थियो । त्यसो हुँदा मेरी स्वास्नी पिल्ठुलाई निज सेते राउतले नै मारेको पूर्ण विश्वास लाग्छ भन्ने समेत व्यहोराको रति राउतले प्रहरीमा गरेको कागज ।

      ६.    मेरो सौता पिल्ठुको मृत्यु सेते राउत कै कर्तव्य र परिपञ्चबाट भएको विश्वास लाग्छ भन्ने सन्तला राउतको प्रहरीमा गरेको कागज ।

      ७.    आमा मरेको रात भाइ बहिनी सहित म पनि आमासंग सुतेको थिएँ आमाको मृत्यु कसरी कुन बेला भयो थाहा छैन भन्ने मृतककी छोरी निली राउतले गरेको कागज ।

      ८.    ६ गते सन्ते राउतले गोठ सारेको हो, सेते र मृतकको परिवारको झगडा थियो भन्ने समेत अलग अलग व्यहोराको विन्दु राउत, विरमाने राउत, डिले धामी र अंगविरे धामी समेतले प्रहरीमा गरी दिएको कागज ।

      ९.    २०४२।५।५ मा मृतकको गोठदेखि उत्तरतर्फको आफ्नो गोठमा जुने राउतसंग सुतेको थिएँ मृतकको लोग्ने गोठमा नभएको र आफ्नो स्वास्नी नभएकाले करणी गर्ने आसयले मृतकको गोठमा राती १२ बजे जाँदा पिल्ठुले नमानेकी र भोलिपल्ट हल्ला गर्लिन भन्ने डरले लिई गएको बन्चरोले निजको टाउकोमा १ चोट प्रहार गरेपछि कति चोटी प्रहार गरे भन्ने समेत व्यहोराको सेते राउतले प्रहरीमा गरेको कागज ।

      १०.   पिल्ठुलाई सेतेले मारेको हो हैन थाहा छैन भन्ने केहीको र केही व्यक्तिको मृतकको लोग्नेसंग झगडा भएको र निजले किटानी जाहेरी दिएकाले सेते राउतले पिल्ठुलाई मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

      ११.   सेते राउतले गरेको साविती बयान र सरजमीनका व्यक्तिहरुको किटानी समेतबाट धारिलो हतियार प्रयोग गरी सेते राउतले पिल्ठुलाई कर्तव्य गरी मारेको देखिन आएकाले सेते राउतलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

      १२.   प्रहरीमा डरको मारे पिल्ठुलाई मारेको हुँ भनी बयान गरेको हुँ २०४२।५।४ मा जुने राउत र बीरबहादुर राउतसंग सुतेको थिए राती भैसी फुकेकोले उठी बाँधी आएको हुँ । पिल्ठु र मेरो बोलचाल थिएन, किन म माथि उजूर पर्‍यो थाहा छैन, पिल्ठुलाई मैले मारेको हैन भन्ने समेत व्यहोराको सेते राउतले अदालतमा गरेको बयान ।

      १३.   जाहेरवाला सरजमीनका व्यक्तिहरु प्रहरीमा कागज गर्ने व्यक्तिहरु तथा प्रतिवादीका साक्षीहरुको बकपत्र मिसिल संलग्न रहेको ।

      १४.   सेते राउतले पिल्ठु राउतलाई करणी गर्न नदिएको कारणबाट फलामको बन्चरो प्रहार गरी मारेको देखिँदा दावी अनुसार निजले अपराध गरेको ठहर्छ भन्ने समेत व्यहोराको बाजुरा जिल्ला अदालतको फैसला ।

      १५.   रति राउतले पुरानो रिसइवी साधन गर्न गफमेलका मानिसहरु मिलाई मेरा उपर शंका देखाई कसूरदार बनाएकाले बाजुरा जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्ने सेते राउतले सेती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

      १६.   शंकाको भरमा कसूरदार ठहर गर्न फौज्दारी न्याय सिद्धान्तको विपरीत हुने हुँदा प्र.सेते राउतलाई ज्यानसम्बन्धीको १३(३) अनुसार कसूरदार ठहर्‍याएको बाजुरा जिल्ला अदालतको फैसला उल्टी भई प्र.सेते राउतले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको सेती अञ्चल अदालतको फैसला ।

      १७.   प्र. सेते राउत अपराध गरेकोमा अदालतमा बयान गर्दा इन्कार रहे पनि इन्कारीलाई समर्थन गर्ने अन्य प्रमाणको अभावमा निजलाई सफाई दिने गरी भएको अञ्चल अदालतको फैसला मिलेको नहुँदा सो बदर गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

      १८.   प्र.सेते राउतले प्रहरीमा गरेको साविती समर्थित हुनसक्ने मिसिल साथ अन्य कुनै प्रमाण देखिँदैन । प्रहरीको साविती प्रमाण मान्न नहुने समेतबाट प्र.सेते राउतलाई सफाई दिने गरी सेती अञ्चल अदालतले गरेको फैसला मनासिब छ भन्ने समेत व्यहोराको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले २०४४।५।३१ मा गरेको फैसला ।

      १९.   साविती बयानलाई इन्कार गरे पनि प्रहरीले कुटपीट नगरी बयान गराएको भनेकाले उक्त बयान स्वइच्छाको हुँदा प्रमाण लिनु पर्ने भन्ने समेतको व्यहोराको श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनपत्र ।

      २०.   सेती अञ्चल अदालतले अभियुक्तलाई सफाई गरेको फैसलालाई सदर गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला विचारणीय हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई झिकाई आएपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको आदेश ।

      २१.   नियमानुसार निर्णयका लागि प्रस्तुत हुन आएको यस मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फका विद्वान सहन्यायाधिवक्ता श्री वलराम के.सी. को बहस सुनी विचार गर्दा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले यो मुद्दामा गरेको फैसला मनासिब छ छैन भन्ने कुराको निर्णय गर्नु पर्ने भयो ।

      २२.   यस्मा प्रतिवादीले कुटपीट नगरी बयान गराएका हुन् भनी अदालतमा बयान गरेकाले प्रहरी समक्ष निजले गरेको बयान स्वइच्छाले गरेको भन्ने देखिएको र मृतकको लोग्नेले प्रतिवादीले मारेकोमा विश्वास प्रकट गरेको र सरजमीन समेतले गडाउ गरेको र लाश प्रकृति मुचुल्का समेतबाट प्रतिवादीलाई सफाई दिन नमिल्ने भन्ने पुनरावेदन जिकिर रहेको पाइयो ।

      २३.   निर्णयतर्फ विचार गर्दा मृतक पिल्ठुको लाश प्रकृति मुचुल्काबाट टाउकोमा ४गहिरो ५लामो घाउ देखिएको र ओछ्यानमा रगत रहेको कारणबाट समेत पिल्ठुको मृत्यु कर्तव्यबाट भएको कुरा देखिन आउँछ । तर कर्तव्यवाला को हो ? भन्नेतर्फ वादी पक्षबाट, प्रतिवादीले प्रहरीमा गरेको कागज र सरजमीनका व्यक्तिहरु समेतले प्रहरीमा गरेको कागज र अदालतमा गरेको बकपत्रलाई नै आधार लिएको पाइन्छ । प्रतिवादीले प्रहरी समक्ष गरेको कागजमा पिल्ठुलाई करणी गरेको र पिल्ठु मारेपछि गहना समेत लिई गएको र भोलिपल्ट फेरि सो गहनाहरु र रगत लागेको लुगाहरु खोलामा फाली दिएको भन्ने समेत लेखिएको देखिन्छ ।

      २४.   करणी गर्न जाँदा बन्चरो लिई जानु पर्ने अवस्था र मरी सकेपछि गहना लिएको भन्ने बयान सबूद प्रमाणहरुबाट पुष्टि नभएसम्म मिल्दो र पत्यार लाग्दो भन्न मिलेन । प्रतिवादीले कसूर गरेको देख्ने प्रत्यक्षदर्शी साक्षीहरु कोही देखिँदैनन् र सरजमीनका व्यक्तिहरुले युक्ति युक्तपूर्ण कानुनसंगत रुपमा शंका देखाउन सकेको पाइदैन । दाखेल भएको भनिएको बन्चरो प्रतिवादीकै हो र त्यसैले नै पिल्ठुलाई मार्न प्रयोग गरिएको थियो भने कुरा सबूद प्रमाणबाट समर्थित हुनसकेको देखिँदैन । यसरी प्रतिवादीले प्रहरी समक्ष गरेको साविती भनिएको बयान पुष्टि र समर्थित हुनसक्ने कुनै पनि स्वतन्त्र सबूद प्रमाण वादी पक्षबाट पेश गर्न सकेको मिसिल अध्ययनबाट देखिन आउँदैन तसर्थ प्रतिवादीले नै पिल्ठुलाई मारी कर्तव्य गरेको ठहर गर्न सबूद प्रमाणको अभावको कारणबाट नमिल्ने भन्ने समेतको आधारमा सेती अञ्चल अदालतले प्रतिवादी सेते राउतलाई अभियोगबाट सफाई दिने गरी गरेको फैसलालाई सदर गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । कुनै परिवर्तन गर्न नपर्ने हुँदा श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्नु परेन । नियमानुसार मिसिल बुझाई दिनु ।

     

उक्त रायमा म सहमत छु ।

 

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४६ साल जेष्ठ १७ गते रोज ३ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु