शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ४७०१ - बहाल भराई घर खाली गराई पाउँ

भाग: ३५ साल: २०५० महिना: जेष्ठ अंक:

निर्णय नं. ४७०१     ने.का.प. २०५० (क)        अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

२०४६ सालको दे.पु.नं. ५२२

फैसला मिति : २०५०।२।१६

पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पा. वडा नं. २७ केल मच्छिन्द्र बहाल बस्ने ताराबीर सिंहको       मु.स. गर्ने ऐ.ऐ. बस्ने छोरा चन्द्रवीर कांसाकार

विरुद्ध

विपक्षी/वादी : का.जि.का.न.पा. वडा नं. १८ भेडासिंह बस्ने भगत कुमार मारवाडीको मु.स.गर्ने   ऐ.ऐ. बस्ने जुगल किशोर मारवाडी ।

मुद्दा : बहाल भराई घर खाली गराई पाउँ

(१)    भोग चलनले मात्र हक स्वामित्वमा प्रमाणित हुन सक्दैन ।

(प्र.नं. २१)

(२)   प्रतिवादीको नाममा बिजुली जडान भएको हुंदैमा घरको हक स्वमित्व प्रमाणित हुन्छ भन्न मिल्ने नदेखिने ।

(प्र.नं. २१)

(३)   घर जग्गा कर ऐन अनुसार करको प्रयोजनका लागि घर धनीले दाखिल गर्नु पर्ने विवरण दिएको रहेनछ भने पनि त्यसैबाट घर धनीको हक स्वमित्व कायम हुन नसक्ने अवस्था नहुने ।

(प्र.नं. २१)

(४)   हक स्वामित्वको लागि विवादको सम्पत्तिसंग सम्बन्धित प्रत्यक्ष प्रमाण हुन आवश्यक छ र त्यस्तो प्रमाणको अभावमा भोग लगायतका अरु आधार केवल गौण तथा झिनो प्रमाण हुने ।

(प्र.नं. २१)

(५)   दबावमा परी सहीछाप गर्नु र एउटा ब्यहोरा भनी अर्को व्यहोराको कागजमा सहीछापगराउनु अलग अलग अवस्था हुन् ।      

(प्र.नं. २१)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्ग

            : विद्वान अधिवक्ता श्री तिर्थराज बसौला

प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया

फैसला

न्या. अरविन्दनाथ आचार्य

१.     पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पुनरावेदनको अनुमतिको निवेदन परेकोमा अनुमती प्रदान भई प्रस्तुत हुन आएको मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२.    मेरा बाजे शंकरलाल माडवारी र कैलास चन्द्र मारवाडीको साझा हक भोगको ब्लक नं. ९/११ केलटोलको १ नाले ४ तले ७ कवले पक्का घरको भूई तल्ला छाडी यस बाहेकका माथिल्ला तल्लाको घर कोठाहरू विपक्षीले बहालमा बस्न लिई साल १ को बहाल रु १००१।मध्ये आधा रु ५००।५० शंकरलाललाई र आधा रु ५००।५० कैलाशचन्द्रलाई साल भुक्तान हुनासाथ आश्विन १ गते पहिले नै बहाल पेस्की दिने गरी २०२०।६।१ मा बहाल कबुलियत समेत गरी उक्त घरमा बसी आउनु भएकोमा निज कैलाश र शंकरको छोरा मेरा बाबु जुगल किशोरका बीच २०२७।५।२९ मा पारित सट्टापट्टा अनुसार उक्त घरको दक्षिण तर्फको आधी घर बाबु जुगलको हक भागमा परी निज बाबु र म  समेतका बीच मिति ०२८।२।१९ मा पारित बण्डापत्रको लिखत बमोजिम बाबुको हक भागको उक्त घर मेरो भागमा परी मेरो हक भएकोमा विपक्षीले मेरो भागको उक्त घरको कबुलियत अनुसारको बहाल आजसम्म नबुझाई पटक पटक ताकेता गर्दा पनि वास्ता नगरी बस्नु भएको तथा उक्त घर आफू लाई आवश्यक भै चाहिएको समेतले मु. ऐन घर बनाउनेको ९ न. बमोजिम ३५ दिने सूचना विपक्षीलाई ०३४।११।२२ मा नं. ११२ को रजिष्टर गरी पठाउँदा पनि आजसम्म घर खाली गरी नदिएको तथा बहाल पनि नदिएकोले साल १ बहाल रु ५००।५० को दरले मिति ०२८।२।१९ देखि आजसम्म ६ वर्ष १० महिना २० दिनको हुने रु ३,४४७।८० तथा फैसला हुँदा सम्मका बहाल समेत निज विपक्षीबाट दिलाई भराई रु ५०००।जाने घर खाली गराई अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको मिति २०३५।१।१९ को भगतकुमारको फिराद पत्र ।

३.    बादी दावी झुठ्ठा हो, दावी गरेको घर विपक्षीको कुनचाहि पूर्खाले, कोबाट खरीद गरेको हो फिरादमा खोली लेख्न नसकेबाट र भगत कुमारको बाबु जुगल किशोर जन्माउने बाबु शंकरलाल होइनन् भारतीय नागरिक हुन् । शंकरलाल खास बाबुका बाबु नभएको जुगलको बाजे भोला पनि इण्डियन थिए । भोला रामले शंकरलाई जन्माएको पनि होइन । शंकरले जुगलाललाई जन्माएको पनि होइन । २०२८।२।१९ को बण्डापत्र प्रमाणमा दिएकोमा पनि भगत कुमार वर्ष १३ को नाबालक हुँदा निजको हकमा आमा भवानी देवीले वारेश राखी मुद्दा गर्न पाउने कानूनी व्यवस्था छैन, खारेज गरी पाउँ कबुलियत छ भनेको झुठ्ठा हो । कीर्ते खडा गरेको हो । सो घर ९० सालको भुकम्पले बिग्री बाबु धर्मवीरले बनाई आउनु भएको मेरो स्ववासी घर हो । १९७२ सालतिर बाबुले बिजुली जडान गरी आजसम्म मैले रकम तिरी आएको छु । जालसाजी काम गरी भगनको वारेशनामा नभै हक नभएको आमा भवानीको वारेशबाट दायर गरिएको यो नालेश खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।

४.    वादी दावीको घर मेरो हक भोगको स्ववासी घर हो । बहाल कबुलियत गरी दिएको छैन, किर्ते खडा गरेको हो, छिंडी तल्लमा बाटोको कवल आफ्नो हो , मटान तल्लादेखि माथी सम्पूर्ण घर पुर्खौली हकको हो भन्ने समेत तारावीरको बयान ।

५.    घर तारावीरलाई वहालमा बस्न दिएको हो । बाजेको पालादेखिको हाम्रो स्ववासी घर हो, कबुलियत कीर्ते भने पनि कागज सद्दे हो भन्ने समेत वादीको वा. हिरामानको बयान ।

६.    विवादको घर वादीको हक पुगेको कानूनी सबुद प्रमाण दिन नसकेकोले कबुलियतले कानूनी स्थान पाउने अवस्था नआउने हुँदा सो कीर्ते तर्फको कारवाही निष्क्रिय हुने । बहाल भराई घरबाट चलन चलाई हक कायम गरी पाउँ भन्ने समेत दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ.को मिति ०३०।५।१८ को फैसला ।

७.    उपरोक्त फैसलामा अन्याय भयो, मेरो फिराद दावी अनुसार हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोराको वादी भगत कुमार मारवाडीको बा.अं.अ. मा परेको पुनरावेदन पत्र ।

८.    वादीको हक पुगेको प्रमाणको अभावमा सो कागजहरूमा बयान गराई निर्णय गर्नुपर्ने आवश्यक नभएकोले जि.अ. बाट वादी दावी पुग्दैन भनी गरेको फैसला सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ.को मिति ०३८।९।३ को फैसला ।

९.    सो फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानूनी त्रुटी हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत भगत कुमार माडवाडीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३९।१०।२० को आदेश ।

१०.    शुरु तथा अञ्चल अदालतबाट गरेको फैसलाहरू कानून विपरीत देखिन आएकोले बदर हुने ठहर्छ । सद्दे कीर्तेतर्फ पनि कारबाही गरी कानून बमोजिम फैसला गर्नु भन्ने मिसिल शुरु जि.अ.मा पठाई दिने भन्ने समेत व्यहोराको मध्यामाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।९।२६ को फैसला ।

११.    शुरु तथा अञ्चल अदालतको फैसला बदर गरी सद्दे कीर्तेमा कारबाही किनारा गर्न शुरुमा पठाउने गरेको म.क्षे.अ.को निर्णयमा अ.व. ७८ नं. का त्रुटी देखिंदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको श्री सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।११।३ को आदेश ।

१२.   फैसला गर्न मिसिल शुरु जिल्ला अदालत पठाउने गरेको म.क्षे.अ.को फैसला बदर हुने ठहर्छ बा.अं.अ.को फैसला उपर अनुमतिद्वारा परेको पुनरावेदनबाट सद्दे कीर्तेतर्फ समेत कानून बमोजिम निर्णय गर्नु भनी उपस्थित पक्षहरूलाई तारेख तोकी मिसिल म.क्षे.अ.मा पठाई दिनु भन्ने समेत व्यहोराको ०४२।३।३१।२ को श्री सर्वोच्च अदालतको फैसला ।

१३.   ००९।५।२१ को कागजमा साक्षी समेत नभएकोले प्रमाणमा लाग्न सक्दैन । ०३५।७।१९ मा यस मुद्दामा ताराबीर सिंहको प्रतिउत्तर परी सकेपछि ०३५।१०।१२ मा विपक्षीले बयान गर्नुभन्दा अगाडि कीर्ते गरेका हुन् भन्ने समेत व्यहोराको प्रतिवादीका वा दान बहादुरले मध्यमाञ्चल क्षेत्रीय अदालत समक्ष गरेको बयान ।

१४.   ००९।५।२१ मा गरिएको बहाल कबुलियतहरू निजहरूले गरी दिनुभएको सत्य व्यवहारको लिखत हो । उक्त लिखतको शिर पुछारमा लागेको हस्ताक्षर निज ताराबीर सिहं कै हो । विपक्षीलाई झुठ्ठा बयान गरेबापत कानून बमोजिम सजाय गरी पाँउ भन्ने समेत व्यहोराको वादी वा. हिरामान डंगोलले मध्यमाञ्चल क्षेत्रीय अदालत समक्ष गरेको बयान ।

१५.   यसमा वादी दावा बमोजिम कानूनले ३ वर्षसम्मको बहाल लिन खान पाउने देखिन आएको कबुलियत बमोजिमको बहाल बापतको रकम प्रतिवादीले बादीलाई बुझाई सकेको छु भनी भन्न लेख्न नसकेको विवादित घर आफूलाई चाहिएको कुरा दर्शाई वादीले प्रतिवादीलाई रीतपूर्वक सूचना दिएको प्रमाण मिसिल सामेल देखिन आएको तथा वादी दावीको घरमा बादीको हक देखिएकोले मिति २०२०।६।१ मा बहाल कबुलियत गरी बहालमा बस्ने प्रतिवादीबाट ३ वर्षको बहाल रु १५०१।५० सम्म भरी पाउने र वादी दावी बमोजिम केलटोलको ९।११ घरमध्ये वादीको हकको घरबाट प्रतिवादीले उठ्नुपर्ने वादीले चलन समेत पाउने ठहर्छ भन्ने समेत म.क्षे.अ.बाट भएको फैसला ।

१६.    उक्त म.क्षे.अ.को फैसला चित्त बुझेन पुनरावेदन गर्ने अनुमती पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको प्रतिवादीको अनुमतीको निवेदन ।

१७.   यसमा विवादीत घर वादी पक्षको ठहरी ३ वर्षसम्मको बहालको रकम बादीले प्रतिवादीबाट भरी लिन पाउने र वादीको हकको घरबाट प्रतिवादी उठ्नुपर्ने वादीले चलन समेत पाउने ठहर्छ भनी म.क्षे.अ. ले निर्णय गरेको पाइन्छ । कैलाश र शंकरको छोरा, मेरो बाबु जुगल किशोरका बीच २०२७।५।२९ मा पारित सट्टा पट्टा अनुसार उक्त घरको दक्षिणतर्फको आधि घर बाबु जुगलको हक भागमा परी बाबु र म समेतका बीच २०२८।२।१९ मा बण्डापत्र हुँदा मेरो अंश भागमा परेको भन्ने बादी दाबी भएको पाइन्छ । तर सट्टापट्टाको लिखत पारित भएको नदेखिई वादीको घर भन्ने कुरा अन्य सबूद प्रमाणबाट पुष्टयाई भएको समेत पाइएन । यसरी बादी दाबी बमोजिम चलत समेत पाउने ठहराएको म.क्षे.अ. को फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटी देखिन आयो । अतः प्रस्तुत मुद्दामा न्या. प्र. सु. ऐन, २०२१ को दफा १३ (५) (ख) को अवस्था विद्यमान देखिंदा पुनरावेदनको अनुमती प्रदान गरिएको छ, भन्ने समेत यस अदालतको संयुक्त इजलासको आदेश ।

१८.   नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता द्वय श्री गजेन्द्र बहादुर प्रधानाङ तथा तिर्थराज बसौलाले बादी दाबी बमोजिमको पसल कवल बाहेकको घर मेरो पक्षको हक भोगको घर हो । विवादीत घरमा मेरो पक्ष बसिराखेको छ । उक्त घर शहरी क्षेत्रको घर भएकोले दर्ता तिरो छैन । तर विवादीत घरमा मेरो पक्षका पूर्खा धनवीर सिंहको नामसारी १९९०।११।७ मा बिजुली बत्ति जडान छ, तत्काल घरधनी बाहेक भाडामा बस्ने व्यक्तिको नाममा बिजुली बत्ती जडान हुने प्रचलन थिएन । बिजुली बत्ति जडान गर्न घरको विभिन्न भागमा प्वाल पारी तोडफोड गर्नुपर्दछ । भाडामा बस्ने मानिसलाई सो गर्ने अधिकार हुँदैन । २०२० सालको कबुलियतनामामा लागेको ल्याप्चे सही मेरो पक्ष तरावीर सिंहलाई झुक्याई गराएको हो । सो कागजमा बसने साक्षीहरूले अदालत समक्ष आई बकपत्र गर्न सकेको छैन । २००९ सालको कागज विशेषज्ञले पनि नक्कल गरी ताराबीरको सही लेख्ने प्रयास गरेको छ भनी राय दिएकै छ । १९७९ सालको कागज प्रमाण योग्य छैन । विपक्षीले कर तिरेको घरसारको लगत देखाएको र सट्टापट्टाको कागज भनेको कागजात प्रमाण ग्राह«ा छैन । २०१० सालदेखि २०१४ सालसम्म मेरो पक्षले पशे गरेको भर्पाईहरूको व्याख्या गर्दा लिखतमा लेखिएको शब्दावली बमोजिम गरिनुपर्दछ । कैलाश चन्द्र मारवाडी केदारनाथको छोरा होइन । तसर्थ हक नपुग्ने व्यक्तिबाट विपक्षीले हक प्राप्त गरेको आधारबाट प्रस्तुत नालेश लाग्न सक्तैन । विवादीत घर वादीको भन्ने कुराको कुनै प्रमाण छैन । वादी पक्षबाट पहिले पेश हुन नसकेका प्रमाणहरू ग्राह्य हुन सक्दैन भन्ने समेत गर्नु भएको बहस र प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले वादी दावी बमोजिम ९।११ को घर वादीको हक भोगको घर हो । उक्त घरको पसल कवल मध्ये आधी पसल कवलको सम्बन्धमा वादी बेखालाल, प्रतिवादी कैलाशचन्द्र माडवाडी समेत भएको दर्ता बदर गरी पाउँ भन्ने मुद्दामा विवादीत घरको पसल कबल मेरै पक्षको हो, उक्त विवादीत घरमा प्रतिवाद िपक्षका नाममा बिजुली बत्ति जडान गरिएको कारणबाट मेरो पक्षका हक भोगका घर प्रतिवादीको कायम हुन सक्दैन । त्यस्मा पनि विद्युत कर्पोरेशनको पत्रबाट भाडामा बस्ने व्यक्तिहरूको नाममा पनि बिजुली बत्ति जडान हुन सक्दछ । प्रतिबादी पक्षले नै पेश गरेको ०१० सालदेखि ०१४ साल तकको भाडा बुझाएको भर्पाईबाट समेत मेरो पक्षको घरमा प्रतिवादीलाई बस्न सम्म दिएको कुरा सोही भर्पाइबाट समर्थित हुन्छ । मेरो पक्षले पेश गरेको १९७९ सालको लिखतमा लागेको ल्याप्चे तथा हस्ताक्षरको यकिन हुन नसकेतापनि २०२० सालको ताराबीर सिंहले मेरो पक्षलाई गरिदिएको कागजबाट बिबादिन घर मेरो पक्षको भन्ने देखिन्छ । उक्त कागजमा लागेको सही तारावीर सिंहकै सहीसँग भिड्दछ भनी विशेषज्ञवाट समेत राय भै आएको छ । उक्त कागज मेरो पक्षले जालसाजी गरी खडा गरेको भनी विपक्षीले जिकिर लिएता पनि सो कुराको प्रमाण प्रतिवादीतर्फबाट पुष्टी हुन सकेको छैन । घरजग्गा कर ऐन, ०१९ अनुसार मेरो पक्ष समेतको नाममा उक्त घरको कर निर्धारण भै मेरो पक्षले पहिलेदेखि नै श्री ५ को सरकारलाई कर तिरी आएको छ । विवादीत घर विपक्षको भए निजको नाममा कर निर्धारण भएको प्रमाण निजले समेत दाखिला गर्न सक्नु पर्ने थियो । सो सकेको छैन । विवादीत घर तत्काल १९९६ सालको घर दरको लगतमा केदार मारवाडीको नाममा दर्ता छ । यही विवादित घरमा कैलाशचन्द्र मारवाडीले रतिराम अग्रवाललाई भोग बन्धकी दिएकोमा बा.अ.अ.को फैसला बमोजिम २०२७।५।२९ मा भोगबन्धकी लिखत पास भएको कुरा पारीत लिखत कागजबाटै प्रष्ट हुन्छ । मिति १९९१।१०।२८ मा पारित फार्छे पत्रमा उत्तरतर्फ किल्ला केदार नाथको घर भन्ने कुरा उल्लेख भएको हुँदा म.क्षे.अ.को फैसला सदर कायम रहनु पर्दछ भन्ने समेत गर्नु भएको बहस सुनियो ।

१९.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट शुरुको सदर गरेको बागमती अञ्चल अदालतको इन्साफ उल्टी गरी बादी दाबीको घरबाट प्रतिवादीले उठ्नु पर्ने र वादीले चलन पाउने र प्रतिवादीबाट बहाल भरी पाउने समेत ठहराएको फैसला उपर यस अदालतमा पुनरावेदनको अनुमतिका लागि परेको निवेदनमा यस अदालत संयुक्त इजलासबाट पुनरावेदनको अनुमती प्रदान भई पुनरावेदनको रुपमा पेश हुन आएको पुनरावेदनको अनुमती प्रदान हुँदा कैलाश र जुगल किशोरका बाबु शङ्करका बीचको मिति २०२७।५।२९।२ को सट्टापट्टाको लिखत पारित नभएको र दावीको घरमा वादीको हकको प्रमाण नभएको भन्ने मुख्य आधार लिएको पाइयो । विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता श्री रतनलाल कनौडियाले आफ्नो बहसको प्रारम्भमा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (६) अनुसार जुन प्रश्नमा अनुमती दिइएको छ, सोही प्रश्न सोसंग सम्बन्धित तथ्यमा सीमित रहेर हेरिनु पर्ने भनी उक्त दफा १३ (६) तर्फ ध्यान आकर्षित गर्नुभएको मुख्य रुपले यस परिप्रेक्ष्यमा विचार गर्नुपर्ने हुन आएको छ र विद्वान अधिवक्ताले सोही बहस जिकिरको परिपुष्टिको लागि उल्लिखित मिति २०२७।५।२९।२ को सट्टापट्टाको कागज पारीत हो भन्ने कुरा मेरो पक्षले दिएको यस मुद्दाको फिराद पत्रको प्रकरण १ मा स्पष्ट उल्लेख भएको छ, सो लिखत पारित नभएको भन्नु गलत हो भन्न समेत जिकिर गर्नु भएको छ । सर्वप्रथम यसैतर्फ दृष्टिगत गर्दा बहसमा पुनरावेदक तर्फबाट सो कुराको कुनै खण्डन नआएको र साथै प्रमाण निमित्त रहेको ३ नं. नापी गोश्वाराको फाइल संलग्न कागज हेर्दा पनि उक्त मिति २०२७।५।२९।२ को सट्टापट्टाको लिखतको नक्कल प्रतिमा सो लिखत भूमि प्रशासन कार्यालय, काठमाडौंबाट मिति २०२७।५।२९।२ मा पारित भएको निस्सा लागेको समेत देखिनाले यस सम्बन्धमा अरु बिचार गरिरहन परेन ।

२०.   अब दावीको घरमा वादीको हकको प्रमाण भए नभएको के रहेछ सो प्रश्न नै मुख्य विचारणीय हुन आएको छ । यस सम्बन्धमा पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्गले विवादित घरको पसल कवल वादीको हकको भएको भए पनि माथिल्ला तल्लमा मेरो पक्ष पुस्तौंदेखि बसिआएको, निजको स्वावासी घर हो, माथिल्लो तल्लमा विपक्षी वादीको हक स्वामित्व छैन । उत्तर तर्फको कि.नं. ३५ का घरका हकमा चलेको विवादबाट कैलाशचन्द्रको हक कायम हुन नसकेकोबाट पनि कि.नं. ३६ का हकमा मेरो पक्षको नै हक रहेको स्पष्ट देखिन आउँछ भन्ने मुख्य बहस जिकिर गर्नुभएको र पुनरावेदक प्रतिवादी तर्फकै अर्का विद्वान अधिवक्ता श्री तिर्थराज बसौंलाले पनि सोही जिकिरसंग मिल्दो जुल्दो बहस गर्नु हुँदै मिति २०२०।६।१ को कबुलिय नामामा भएको ल्याप्चे सही छाप स्पष्ट नहुँदा प्रमाणमा लिन नहुने साथै लिखतका साक्षीहरूलाई उपस्थित गराइएको पनि छैन र विवादको घरमा मेरो पक्षको भोगाधिकार नै हकको प्रमाण हो भन्ने समेत बहस जिकिर प्रस्तुत गर्नु भएको छ भने विपक्षी वादी तर्फका विद्धान अधिवक्ताले आफ्नो बहसको क्रममा दाविको घर मेरो  पक्षको हो भन्ने स्वयं ताराबीर कंसाकारले काठमाडौं नगर पञ्चायतको उपप्रधान पञ्च हुँदा आयकर अदालतलाई लेखेको मिति २०२४।९।१२ को पत्रबाट वादीको केलटोको घर मेरो पक्षको हो भन्ने कुरा स्वीकार गरी राखेको स्पष्ट देखिने र निज प्रतिवादी मेरो पक्षको हकको घर तलामा बहाल सम्म बसी आएका हुन् भन्ने कुरा मिति २०२०।६।१ को तारावीर कंसाकारले गरी दिएको कबुलियतबाट पुष्टी भएको छ । सो कबुलियतको सहिछाप आफ्नो हो भनी अदालतमा प्रतिवादीले स्वीकार गरेकै छ । मेरो पक्षले झुक्याई सहिछाप गराएको भनी लिएको बयान दावी झूठ्ठा हो र प्रतिवादीले सो दावी प्रमाणित गर्न सकेको छैन भन्ने समेतको जिकिर प्रस्तुत गर्नु भएको छ । उपर्युक्त बहस जिकिरहरूलाई समेत ध्यानमा राखी हेर्दा मध्यमाञ्चल क्षेत्रीय आदलतले ठहर गर्दा दावीको घरको तल्लो पसल कबल वादीको हकको भएपछि माथिल्लो तलामा आफ्नो हकको प्रमाण प्रतिवादीले नै दिन सक्नु पर्ने र वादीबाट पेश भएको मिति २०२०।६।१ को बहाल कबुलियत झुक्याई जालसाज गरेको भन्ने प्रतिवादीले प्रमाणित गर्न नसकेको भन्ने नै प्रमुख आधार लिएको पाइन्छ ।

२१.   दावीको घर वादीको हकको भन्ने कैलास चन्द्र र जुगल किशोरको बीच खडा भएको मिति २०२७।५।२९।२ को सट्टापट्टाको कागजबाट देखिन आउने र सोही सट्टापट्टाको कागज अनुसार नै विवादको घर २०३६ सालमा नापी हुँदा कि.न. ३६ मा भगत कुमारको नाममा नापी दर्ता हुन गएको देखिन्छ । कि.नं. ३६ को उक्त घरको छिडीको पसल कवलमा वादीको हक भोग स्वमित्व रहेको विवाद नदेखिएको अवसर सोही घरको माथिल्लो तला अरुको नै हुन सक्ने अवस्था पनि सामान्यतः देखिन आउँदैन । प्रतिवादी पक्ष पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्गले बहसमा उल्लेख गर्नु भए अनुसार यहिको पुरानो बासिन्दा भएको र दावीको घर तला निजैको भोग चलनमा रहेकोले निजको नै हक स्वामित्वको होला भनी अनुमान गर्न प्रस्तुत मुद्दामा मिल्ने देखिन आउँदैन । विवादको घर तलामा प्रतिवादीले पुस्तौं देखि भोग चलन गरी आएको भन्ने भए पनि हक स्वमित्वको नै प्रमाण प्रतिवादीले दिन सकेको देखिदैन । भोग चलन गर्न अरु आधारहरू हुन सक्छ र भोग चलनले मात्र हक स्वामित्व प्रामाणित हुन सक्तैन । छिडीको पसल कवलमा हक स्वामित्व हुने वादीको लागि सो पसल कवलको हक स्वामित्व नै माथिल्लो तलाको हकको यथेष्ट प्रमाण मान्न सकिन्छ । जबकी सोही घरको माथिल्लो तलामा पुस्तौंदेखि बसी आएको छु भनी भोग चलनको आधार देखाउने प्रतिवादीले भने हक स्वमित्वको अरु बलियो प्रमाण दिन सक्नु पर्दछ । प्रतिवादी पक्षबाट दाबीको घरमा तारावीर कंशाकारको नाममा बिजुली जडान भएको भन्ने आधार समेत देखाउन खोजिएको देखिन्छ । तर बिजुली धारा आदि तत्काल भोगचलन गर्नेले पनि आफ्नो नाममा जडान गर्न नसक्ने देखिंदैन । प्रतिवादीको नाममा बिजुली जडान भएको हुँदैमा घरको हक स्वमित्व प्रमाणित हुन्छ भन्न मिल्ने देखिएन । त्यस्तै घर जग्गा कर ऐन अनुसार करको प्रयोजनका लागि घर धनीले दाखिल गर्नु पर्ने विवरण दिएको रहेनछ भने पनि त्यसैबाट घर धनीको हक स्वामित्व कायम हुन नसक्ने अवस्था हुँदैन । हक स्वामित्वका लागि बिवादको सम्पत्तिसंग सम्बन्धित प्रत्यक्ष प्रमाण हुन आवश्यक छ र त्यस्तो प्रमाणको अभावमा भोग लगायतका अरु आधार केवल गौण तथा झिनो प्रमाण हुन् । प्रस्तुत मुद्दामा अर्को महत्वपूर्ण पक्ष के देखिन आउँछ भने तारावीर कंसाकरबाट गरिएको मिति २०२०।६।१ को बहालको कबुलियत पेश हुन आएको रहेछ र सो वहाल कबुलियतलाई प्रतिवादीले झुक्याई जालसाजबाट खडा गरेको भने पनि बयान दावी गरेको पाइयो । तर मिसिल संलग्न वारिशद्वारा गरिएको बयान हेर्दा उक्त कबुलियतमा ताराबीरबाट भएको सही छापलाई स्वीकार गर्दै लौ जहाँ भन्दछौं त्यही गरी दिन्छु भनी सहिछाप गरी दिएको हो भन्ने समेत उल्लेखगरेको पाइन्छ । यसबाट विना मंजुरी वा दवावमा परेर नै सहिछाप गरी दिएको भन्न खोजिएको जस्तो पनि देखिन्छ । दबाबमा परी सहीछाप गर्नु र एउटा ब्यहोरा भनी अर्को व्यहोराको कागजमा सहिछाप गराउनु अलग अलग अवस्था हुन् । पूरा स्वेच्छाले नभै करवलले मात्र गरिदिएको भन्ने अवस्था समेत देखाउँदै झुक्याई जालसाज गरेको भनी लिएको दाबी जिकिर आधारहिन देखिनुका साथ विश्वासनीय पनि छैन । यसबाट सो कबुलियत कागजका लिखत साक्षी लगायतका अरु प्रमाण तर्फ अरु विवेचना गरिरहन आवश्यक देखिन आएन । अर्को तर्फ सोही मिति २०२०।६।१ मा कैलास चन्द्रलाई पनि कबुलियत गरिदिएको भन्ने देखिन्छ ।

२२.   विपक्षी तर्फबाट विद्वान अधिवक्ताले बहसमा तारावीरले आयकर अदालतलाई लेखेको मिति २०२४।९।१२ को पत्रमा पनि दावीको घर मेरो पक्षको हो भन्ने कुरा स्वयं प्रतिवादीले नै स्वीकार गरिरहेको देखिन आउँछ भनी जिकिर गर्नुभएको र यस सम्बन्धमा मिसिल संलग्न रहेको कर कार्यालय काठमाडौंबाट काठमाडौं जिल्ला अदालतलाई लेखिएको मिति २०३६।८।१९ को पत्रसाथ संलग्न भएको प्रतिलिपि ठीक छ भनी सो कार्यालयको छाप समेत लागी प्रमाणित भएको काठमाडौं नगर पञ्चायत वडा नं. ११ बाट समिति केलटोलबाट प.सं. १०१ मिति २०२४।९।१२ को ताराबीरको दस्तखत परी रजिष्ट्रार, आयकर कर अदालतलाई संवोधन गरिएको पत्रमा शंकरलालको बाबु भोलाराम र कैलाशचन्द्रका बाबु केदारनाथकै पालादेखि बेग्लाबेग्लै भई छुटिरहेको केलटोलको घर र भेडासिंको घर समेतको छुट्टी आ आफ्नो भोग चलन गरी छुटी आएको भन्ने उल्लेख भएको पाइन्छ । यसबाट पनि केलटोलको ब्लक ९।११ को घर वादी पक्षको परिवारको रहेछ भन्ने पुष्टी हुन्छ । अतः दावीको घरको पसल कवल वादीको हकको भन्ने कुरामा नै कुनै विवाद  नभएको र सोही घरको माथिल्लो तलामा बसी आएको छु भन्ने प्रतिवादीले नै आफ्नो हक स्वामित्वको बलियो प्रमाण दिन सक्नुपर्नेमा सो दिन सकेको छैन भने अर्कोतर्फ वादीबाट पेश भएको वहालको कबुलियलाई झुक्याई जालसाज गरेको भनी बयान दावी लिएको पनि त्यसतर्फ समेत तथ्ययुक्त प्रमाण पुर्‍याउन सकेको देखिंदैन । सो कबुलियतनामा सद्दे ठहरिएपछि विवादको घर तलामा प्रतिवादी बहालमा सम्म बसि आएको रहेछ भन्ने स्पष्ट देखियो । यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान हुँदा दाबीको घर तलामा बादी प्रमाण नभएको भन्ने सम्म उल्लेख भएको, तर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादीको हक स्वामित्व कायम गर्न लिइएको आधार प्रमाणहरू यो यति कारणबाट प्रमाण योग्य नभएको भन्ने उल्लेख भएको पनि पाइदैन । साथै प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री गजेन्द्र बहादुर प्रधानाङ्गले कि.न. ३५ को कैलाशचन्द्रसँगको विवादमा निजको हक कायम हुन नसकेकोले यसमा पनि वादीको हक कायम हुन सक्ने होइन भन्ने लिनु भएको जिकिरको सम्बन्धमा पनि कैलाशचन्द्रसंगको विवादमा निजको हक कायम भएको नभएको पनि सो मुद्दामा भएको निर्णयले प्रस्तुत कि.नं. ३६ को वादी दावीका सम्बन्धमा कुनै असर पर्न सक्ने देखिन नआएको यस स्थितिमा विवादको घर तलामा पुनरावेदकको भोग चलन हुँदा विपक्षीको हक कायम हुन नपर्ने भन्ने पुनरावेदक तर्फका विद्वान अधिवक्ताको बहस जिकिर तथा यस अदालतको संयुक्त इजलासको पुनरावेदनको अनुमति प्रदान हुँदाको बुँदाका आधारसंग यो इजलास सहमत हुन सकेन । यसर्थ मध्यमाञ्चल क्षेत्रीय अदालतबाट बागमती अञ्चल अदालतले बादीदाबी नपुग्ने गरेको शुरुको सदर गरेको फैसला समेत उल्टी गरी दाबीको घरबाट प्रतिबादीले उठ्नु पर्ने र वादीले चलन पाउने समेत ठहराएको फैसलामा कुनै त्रुटी नदेखिंदा म.क्षे.अ. को इन्साफ मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

न्या. रुद्र बहादुर सिंह

इति सम्बत् २०५० साल जेष्ठ १ गते रोज ६ शुभम्

 

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु