निर्णय नं. ३८९६ - उत्प्रेषण

निर्णय नं. ३८९६ ने.का.प. २०४६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको रि.नं. १०१७
आदेश भएको मिति : २०४६।४।८।१ मा
निवेदक : पर्सा जिल्ला श्रीसिया गा.पं. वडा नं. ८ बस्ने बृक्षा महतो
विरुद्ध
विपक्षी : श्री भूमिसुधार कार्यालय, पर्सासमेत
विषय : उत्प्रेषण
§ मोही हक कायम हुन भूमिसम्बन्धी ऐनले तोकेको प्रक्रिया पुग्नु पर्ने ।
(प्रकरण नं. ११)
§ जग्गा धनीले बाली भराई लिंदैमा मोही कायम हुन नसक्ने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मोहमद शेख अबास
प्रत्यर्थी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
आदेश
न्या. गजेन्द्रकेशरी बास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय निम्नानुसार छ ।
२. जिल्ला पर्सा श्रीसिया गा.पं. वडा नं. ६ कि.नं. १३७ को ज.वि. ०–१६–० र ऐ. ऐ. कि.नं. ७४ को ज.वि. ०–१३–१० समेत जम्मा जग्गा वि. १–९–१० को मोही बाबु चनरमन भई जग्गा कमाई बाली बुझाई आएकोमा २०३० सालमा निज पिताको आफ्ना काल गतिले स्वर्गे भएपछि निजका सगोलमै रहेका तीन जना छोराहरु म निवेदक बृक्षा महतो –१, जानकी महतो –१, रामयत्नप्रसाद –१ मध्ये जेठो बृक्षा महतो र माहिला जानकी महतोले उक्त जग्गाको मोही नामसारी पिता चनरमनको नामबाट कान्छो रामयत्नप्रसादको नाममा मन्जूरी सिफारिश दिएको आधारमा ०४३।३।१० गते मोही नामसारी भई मोहियानी प्रमाणपत्र प्राप्त भयो । सो निर्णय उपर विपक्षी अयोध्याप्रसादले श्री सर्वोच्च अदालतमा रिटनिवेदन गरेबाट उक्त निर्णय बदर भई मिति ०४५।१।८ गते श्री भू.सु.का. बाट बृक्षा महतोले आफूले मोही कायम गर्न नचाही भाइ रामयत्नलाई मन्जूरनामा दिएको मोही निष्कासन मुद्दामा मोही छ भनी दावी नगरेको र विबन्धित समेत भएको हुँदा भन्ने उल्लेख गरी रामयत्नप्रसादलाई मोही नामसारी लगत कट्टा गर्ने पर्चा खडा गरियो ।
३. उक्त जग्गामा म निवेदक उपर विपक्षी जग्गा धनीले ०४१ सालको बालीको सम्बन्धमा विवाद उठाई मोही निष्कासन गरी पाउँ भनी श्री पर्सा जिल्ला अदालत समक्ष उजूर गरेकोमा वाली भराउने गरी गरिएको निर्णय अन्तिम रहेको छ । निजै जग्गा धनीले म निवेदक उपर ०४२ सालको बाली भराई मोही निष्कासन गरी पाउँ भनी श्री पर्सा जिल्ला अदालतमा दायर गर्नु भएको मुद्दा डिसमिस भएको छ । मोही रोज्न पाउने अधिकार जग्गा धनीको भए पनि लगत कट्टा गराई लिन पाउने अधिकार छैन । रामयत्नको मोही लगत कट्टा भएपछि भूमिसम्बन्धी ऐनको दफा २६(१) नं. को व्यवस्थाले स्वतः म निवेदकको नाममा मोहियानी हक आउनु पर्नेमा लाग्दै नलाग्ने विबन्धनको सिद्धान्त लगाई म निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने गरी गरिएको भूमिसुधार कार्यालयको मिति ०४५।१।८ को पर्चाबाट संविधान प्रदत्त सम्पत्ति सम्बन्धी हकमा आघात परेकोले सो पर्चा उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको हक संरक्षित र प्रचलन गरी पाउँ साथै यस निवेदनको किनारा नहुन्जेल उक्त निर्णय कार्यान्वित नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने समेत निवेदन ।
४. यस्मा प्रत्यर्थीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजालसको मिति ०४५।७।३०।३ को आदेश ।
५. विपक्षी निवेदकले यस कार्यालय सम्बन्धमा नामसम्म उल्लेख गरी रिटनिवेदन दिएको भए पनि दावीमा यस कार्यालय सम्बन्धी कुनै कुरा उल्लेख गरेको नहुँदा विपक्षीका उपरोक्त आधारबाट यस कार्यालय आरोपित हुन नसक्ने व्यहोरा जाहेरी अनुरोध छ भन्ने समेत मालपोत कार्यालय पर्साको लिखितजवाफ ।
६. विपक्षी निवेदक बृक्षा महतोले मोही बन्न इन्कार गरेकोले नै स्वर्गीय मोहीको अर्को छोरा रामयत्नका नाममा मोही नामसारी गरिएकोमा सो बदर भएको र बृक्षा महतोलाई मोही नामसारी गर्न निजले मोही बन्न इन्कार गरी विबन्धित भइसकेको हुँदा नियमानुसार गरी मोही लगत कट्टा गरिएको हो । नियम बमोजिम गरेको यस कार्यालयको ०४५।१।८ को निर्णय बदर नगरी रिटनिवेदन नै खारेज गरी पाउँ भन्ने समेत भूमिसुधार कार्यालय पर्साको लिखितजवाफ ।
७. विपक्षी निवेदकलाई म जग्गा धनीले मोहीमा पत्याएकोमा निजले आफूले कमाउन नचाही भाइ रामयत्नप्रसादका नाममा मोही नामसारी गर्न मन्जूर गरेर रामयत्नका नाममा भएको नामसारी श्री सर्वोच्च अदालतको उत्प्रेषणको आदेशले बदर भएपछि निज निवेदकसंगको मैले दिएको मोही निष्कासन मुद्दामा आफू मोही हुन्न भनी रामयत्न उपर मुद्दा दिनु पर्ने र रामयत्न मोही भइसकेको भन्ने, मोही दर्ता श्रेस्तामा नाम नचढेका र कमाउन नचाहेको कारणले हकदैया नै नभएका मोहीलाई पुनः निर्णय गर्दा बुझ्नु पर्ने कुनै आवश्यकता रहने होइन । बैशाखमा मोही लगत कट्टा भई म आफैले जोत कमाई गरी आएकोमा ५ महीनापछि रिट दिएको विलम्व भएकोछ । तसर्थ भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण नरहेको तथा हकदैयाको अभाव रहेको प्रस्तुत रिट खारेज गरी पाउँ भन्ने समेत अयोध्याप्रसाद रौनियारको लिखितजवाफ ।
८. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश भएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मोहमद शेख अब्बास तथा प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट तथा विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो ।
९. प्रस्तुत निवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।
१०. यस्मा बाबुको मृत्यु पछि निजको मोही हक निवेदक समेतको मन्जूरी हुँदा भाइले प्राप्त गरी प्रमाणपत्र समेत पाएकोमा सो प्रमाणपत्र दिने निर्णय बदर भएपछि पुनः निर्णय गर्दा निवेदकलाई प्रतिवादको मौका नै नदिइ मोही लगत कट्टा गरेबाट निवेदकको संवैधानिक हकमा आघात पुगेकोले मोही लगत कट्टा गर्ने निर्णय बदर गरी पाउँ भन्ने समेत निवेदन जिकिर रहेकोमा निवेदकले मोही हक आफ्नो भाइलाई मन्जूरीले दिएको र निजले मोही बन्न इन्कार गरेकोले मोही लगत कट्टा गर्दा निजलाई सोध्नु पर्ने आवश्यकता नरहेको भन्नेसमेत लिखितजवाफ देखिन्छ ।
११. निवेदक उपर जग्गाधनी अयोध्याप्रसादले दिएको मोही निष्कासन मुद्दामा यिनै निवेदकले पर्सा जिल्ला अदालतमा ०४३ भाद्रमा चढाएको प्रतिउत्तरको प्रकरण नं. २ मा भू.सु.का. पर्साबाट ०४३।३।१० मा भएको निर्णय अनुसार ०४३।३।१७ मा स्व.बाबु चनरमनका नामबाट मोही हक रामयत्नप्रसादको नाउँमा नामसारी हुने भई मोही लगत कायम भई मोहीको प्रमाणपत्र समेत निजले पाएको हुँदा सो जग्गाको मोही रामयत्नप्रसाद भइसकेकोले मेरा नाउँमा मोही निष्कासन मुद्दा दिने हक अधिकार छैन भनी फिराद खारेज गरी पाउँ भनेका छन् । मोही हक कायम हुन भूमिसम्बन्धी ऐनले तोकेको प्रक्रिया पुग्नु पर्ने हुन्छ । निवेदकको बाबु मरेपछि निवेदक श्रेस्तामा मोही कायम भएको छैन । निजलाई जग्गाधनीले मोहीमा रोजेको भन्ने कुरा पनि श्रेस्ताबाट देखिन आउँदैन । निवेदकबाट जग्गाधनीले बाली भराई लिदैमा निवेदक मोही कायम हुनसक्ने होइन । निवेदकले घरसारमा मन्जूरनामा गरी भाइ रामयत्नप्रसादको नाममा मोही नामसारी गर्न दिएको तथा निवेदक उपर दिएको मुद्दामा निवेदक स्वयंले आफू मोही रहेको इन्कार गर्दै प्रतिउत्तर फिराएको अवस्थामा यस अदालतको आदेश बमोजिम रामयत्नप्रसादको नाममा रहेको मोही लगत कट्टा गर्दा भूमिसुधार कार्यालय पर्साले निवेदकलाई बुझ्नु पर्ने तथा नबुझेको प्राकृतिक न्याय सिद्धान्त विरुद्ध भएको भन्न नमिल्ने हुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्दछ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल श्रावण ८ गते रोज १ शुभम् ।