निर्णय नं. ३८९७ - उत्प्रेषण

निर्णय नं. ३८९७ ने.का.प. २०४६ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रि.नं. १०६१
आदेश भएको मिति : २०४६।६।९।२ मा
निवेदक : जि. पर्वत शिवालय गा.पं. वडा नं. ४ बस्ने काशीराम गिरीसमेत
विरुद्ध
विपक्षी : प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय, पर्वतसमेत
विषय : उत्प्रेषण
§ नापीको समयमा व्यक्ति विशेषको नाममा नापी गरी सकेपछि आएर निवेदकहरुलाई बुझ्दै नबुझी केबल जिल्ला कार्यालयको पत्रको आधारमा विवादित जग्गालाई पर्ति गौचरन कायम गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन जाने ।
(प्रकरण नं. ८)
§ सुनवाईको मौका नै नदिई सार्वजनिक पर्ति गौचरन कायम गरेको देखिएको हुँदा उक्त विवादित जग्गा पर्ति गौचरन कायम गरेको सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. ८)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
आदेश
न्या. हरगोविन्द सिंह प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ ।
२. पर्वत जिल्ला शिवालय गा.पं. वडा नं. ४ अन्तर्गत पूर्व टुनिखोल्सी पश्चिम इनारको खोल्सी उत्तर पूरानो बार मुलबाटो दक्षिण भिर यति चार किल्लाभित्रको विजन मुरी २ को जग्गा श्री ५ राजेन्द्र वीर विक्रम शाहदेवबाट म निवेदक काशीराम गिरीका पुर्खा बाजे धनराज गिरीलाई गुठीको लालमोहर बक्सी विक्रम सम्वत् १९८२ मा गुठी लगत जाँच अड्डाले मेरा पतिका पुर्खा बाजे टिकापुरी तथा मनु गिरी समेतका नाममा मोही लगत राखेको घरवास गरी बसी आएकोमा तत्कालिन बाग्लुङ मालबाट २०२१।५।६ मा मुचुल्का हुँदा कलाधर गिरी, हरिकृष्ण गिरी र लछुमन भन्ने जनिई लगत खडा भएको छ । पिता कलाधर परलोक हुनु भएपछि काशीरामका नाममा नामसारी समेत भएकोमा सर्वे हुँदा माथि लेखिएको जग्गा मध्ये केही म विष्णुमतीका नाममा दर्ता भई प्रमाणपुर्जा पाइसकेको र म काशीराम तर्फको जग्गा कि.नं. १८४ र १८५ मा नापी भएकोमा शालिकराम गिरी समेतसंग मुद्दा चलिरहेकोछ । कि.नं. ३०६ को १७–७–३–२ जग्गा म काशीराम र विष्णुमतीका पति स्व.लछुमन पुरीका नाममा नापी भई फिल्डबुकमा जनिई जग्गा धनी प्रमाण पुर्जा पाउन निवेदन गर्दा जिल्ला कार्यालयका पत्र अनुसार गौचरन पर्ति भनी जनाइएको थाहापाई श्री ५ महाराजाधिराजका हजूरमा बिन्तीपत्र जाहेर गर्दा हु.प्र. बक्स भए बमोजिम सर्वेमा दिएको निवेदनको कारवाही गर्ने सिलसिलामा हाम्रा प्रमाणहरु भिडाई दर्ता गरी दिनु पर्नेमा गुठी संस्थानले व्यक्ति विशेषका नाममा दर्ता गर्न नमिल्ने भन्ने समेत व्यहोराको सूचना दिने भनी पत्र पठाएको रहेछ जुन आजसम्म हामीहरुलाई सुनाइएको छैन । कि.नं. ३०६ को जग्गा हाम्रा पिता पुर्खाका नाममा दर्ता भई लगत खडा भएको र ७ नं. फाराम समेत हामीले भरेकोमा कानुनी आधार बिना गौचरन पर्ति हो भन्न र पत्र लेख्न र सोपत्रको आधारमा गौचरन भनी लेख्न मिल्ने होइन । एकै लगतको केही जग्गादर्ता हुने र कि.नं. ३०६ मा नापी भएको जग्गादर्ता नहुने भन्न मिल्दैन । नेपालको संविधानको धारा ९ को संवैधानिक मर्यादा नराखी माथि उल्लेख गरेबमोजिम पत्र लेख्नेलेखाउने गरी हामी निवेदकहरुका नाममा दर्ता नगर्ने गरिएका कामकारवाहीहरुबाट हाम्रो हकमा आघात पुग्न गएकाले जि. कार्यालयको ०४२।३।३१ मा लेखिएको पत्र मा.पो.का.को मिति ०४५।५।१९ को पत्र तथा गुठी संस्थानको मिति ०४५।६।१४ को पत्रसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरी हामी निवेदकहरुको हकको घर बसोबास समेत भएको जग्गा हाम्रो नाउँमा कानुन बमोजिम दर्ता गर्ने गरी परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको निवेदनपत्र ।
३. यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ साथ हाजिर हुनु भनी विपक्षीहरुका नाममा सूचना पठाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासबाट मिति ०४५।८।२४।६ मा भएको आदेश।
४. श्री ५ राजेन्द्र विक्रम शाहबाट लालमोहर लागेको जग्गाको ४ किल्ला मध्ये दक्षिण तर्फको बाँझो चौर गौचर र तीजमा नाच्ने गाउने रुपमा प्रयोग भई रहेको र बाँकी जग्गा आवाद कमोद गरेको रहेछन् । आवाद कमोद गरेका गुठी जग्गाहरु नाप नक्सा भए अनुसार मोही सम्बन्धी विवाद नभएको हकमा दर्ता गरिदिने कार्य समाप्त भइसकेको छ । विपक्षीहरुले आवाद कमोद गरेका गुठी जग्गा दर्ता गर्न बाँकी छैन । नापी हुँदा बन बुटेन, पर्ति, गौचरण पानीघाट जनिएको जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता नगर्ने श्री ५ को सरकारको निर्णय समेत भइसकेको परिप्रेक्षमा हेर्दा पनि गुठी पर्ति जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता हुनै सक्तैन । गुठी संस्थानले गुठीको नाउँमा दर्ता गर्न दिएको आदेश र पर्ति गौचरण हाट लाग्ने ठाउँलाई पर्ति गौचरन कायम गर्न जिल्ला कार्यालय पर्वतले दिएको आदेश पनि कानुन अनुरुपकै हुँदा विपक्षीका निराधार दावी भएको निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय पर्वतको लिखितजवाफ ।
५. रिट निवेदककले उल्लेख गरेको ४ किल्ला भित्रको जग्गा १८९४ सालको लालमोहर र १९८२ सालको लगत किताव समेतबाट मुक्तिनाथ जाने आउनेलाई वास पानी दिने पौवा गुठीको फुलवारी र पानी खुवाउने चिताइदार बस्ने पाटी सम्म भएको सो जग्गा नापी हुँदा कि.नं. ३०६ मा १७–७–३–२ कायम भई गौचर पर्ति जनिएको छ । उक्त जग्गा गुठीको फुलवारी हो भन्ने कुरा निवेदकले पनि स्वीकार गरेको र सो गुठीमा रहेको पाटी इनारको सम्भार गर्ने र पानी खुवाउने समेतलाई रु. १०।– फुलवारीको हेरचाह र विरुवा लगाई फलफुल साधु सन्तलाई बाड्नेलाई रु. ४।– दिने गरी १९८२ मा खडा भएको लगत उतारबाट प्रष्ट देखिएको हुँदा रकम पाई कुनै काम गर्न खटिएको व्यक्ति मोही हुन सक्तैन । खान्गी सम्म खाई काम गर्र्ने कामदारले आफू जिम्मा रहेको जग्गा नापीमा मोही लेखाई सो आधारमा जोताहा अस्थायी निस्सा र मोहीको प्रमाणपत्रकै आधारमा मोही कायम मान्न नमिल्ने हुनाले निवेदकहरुले आफ्ना बाबुका नाममा कायम रहेको मोही हक नामसारी गरिपाउँ भनी दावी लिएको नपुग्ने भनी स.अ. समेतबाट सिद्धान्त प्रतिपादन भैरहेको हुँदा निवेदकको रिटनिवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको गुठी संस्थान के.का.काठमाडौंको लिखितजवाफ ।
६. विपक्षीले दावी लिएको जग्गामा घरवास नभएको र आमोद कमोद समेत नभएको पर्ति गौचर जग्गा भएकोले यस कार्यालयबाट उक्त जग्गा पर्ति गौचर कायम गरिदिनु भनी भएको आदेश कानुन बमोजिम कै भएको र सो कार्यबाट विपक्षीहरुको कुनै पनि हकमा आघात भएको नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको जिल्ला कार्यालय पर्वतको लिखितजवाफ ।
७. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदकका तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विपक्षी तर्फबाट उपस्थित हुनुभएका सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटीले गर्नु भएको बहस समेत सुनियो ।
८. हाम्रा पुर्खाका नाममा गुठीको लालमोहर बक्स भई घरवास समेत गरी भोगी आएको कि.नं. ३०६ को १७–७–३–२ जग्गा जिल्ला कार्यालयको पत्रको आधारमा नापीले गौचरन पर्ति भनी जनाएको ज.ध.प्र. पुर्जा पाउन निवेदन गर्दा थाहा पाएकोले उक्त जग्गा हामी निवेदकहरुका नाममा दर्ता नगर्ने गरिएका काम कारवाहीबाट हाम्रो हकमा आघात परेकाले विपक्षीहरुको काम कारवाही उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने निवेदन व्यहोरा भएकोमा विपक्षीले दावी लिएको जग्गामा घरवास नभएको र आमोद कमोद समेत नभएको पर्ति गौचरण भएको र त्यस्तो पर्ति, गौचरन पानीघाट जनिएको जग्गाहरु व्यक्ति विशेषको नाममा दर्ता नगर्ने भन्ने श्री ५ को सरकारको निर्णय समेत भएको हुँदा दावी लिएको जग्गा पर्ति गौचरन कायम गर्नु भनी दिएको आदेश र काम कारवाहीहरु कानुन अनुरुप नै भए गरेको हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको लिखितजवाफ भएको प्रस्तुत निवेदनमा निर्णयतर्फ विचार गर्दा निवेदकहरुले दावी लिएको विवादको कि.नं. ३०६ को १७–७–३–२ जग्गा नापीमा काशीराम तथा लछुमन पुरी समेतका नाममा नाप जाँच भई फिल्डबुक समेतमा नाम जनिई सकेपछि सर्भे गोश्वाराले जिल्ला कार्यालयको पत्रको आधारमा विवादित जग्गा पर्ति गौचरन कायम गरी फिल्डबुकको कैफियत महलमा उल्लेख गरेको कुरालाई विपक्षी तर्फको लिखितजवाफबाट पनि स्वीकारै गरेको देखियो । नापीको समयमा व्यक्ति विशेषको नाममा नापी गरी सकेपछि पछि आएर निवेदकहरुलाई बुझ्दै नबुझी केवल जिल्ला कार्यालयको पत्रको आधारमा विवादित जग्गालाई पर्ति गौचरन कायम गर्नु प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुन जाने प्रष्ट छ । विवादित जग्गा सार्वजनिक पर्ति गौचरन भए निवेदकहरु समेतलाई झिकाई बुझी निवेदकहरुका नाममा दर्ता गर्न मिल्ने नमिल्ने सम्बन्धमा निर्णय गर्नु पर्नेमा निवेदकहरुलाई सुनवाईको मौका नै नदिई जिल्ला कार्यालयको पत्रको आधारमा सार्वजनिक पर्ति गौचरन कायम गरेको देखिएको हुँदा उक्त विवादित जग्गा पर्ति गौचरन कायम गरेको सम्पूर्ण काम कारवाहीहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब निवेदकहरु समेतलाई राखी जे जो बुझ्नु पर्ने हो बुझी निवेदकहरुका नाममा विवादित जग्गा दर्ता गर्न मिल्ने नमिल्ने के हो पुनः ठहर निर्णय गर्नु भनी विपक्षी मालपोत कार्यालय पर्वतका नाममा परमादेशको आदेशजारी हुनेठहर्छ । आदेशको जानकारीको लागि प्रतिलिपि विपक्षी गुठी संस्थान लाई म.न्या. का. मार्फत विपक्षी मालपोत कार्यालय पर्वत समेतलाई दिई नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल आश्विन ९ गते रोज २ शुभम् ।