निर्णय नं. ३९०९ - परमादेश

निर्णय नं. ३९०९ ने.का.प. २०४६ अङ्क ८
संयुक्त इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४५ सालको रिट नं. १९२७
आदेश भएको मिति : २०४६।७।११।६ मा
रिटनिवेदक : त्रि.वि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस नरदेवीको उपप्राध्यापक पदमा कार्यरत लक्ष्मीकान्त मिश्र
विरुद्ध
विपक्षी : त्रिभुवन विश्व विद्यालय केन्द्रीय कार्यालय कीर्तिपुरसमेत
विषय : परमादेश
§ संविधानद्वारा प्रदत्त कानुनको समान संरक्षण समान स्थितिका व्यक्तिहरूलाई दिइनु पर्ने अधिकार हो । धर्म, वर्ण, लिङ्ग, जात–जाती आदिको आधारमा कानुनको प्रयोगमा भेदभाव गर्न सकिन्न । समानताको हक स्वभावैले समानहरूका बीच प्राप्त हुने अधिकार भएकोले असमानहरूका बीच समानताको प्रयोग गर्न नमिल्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दाश
प्रत्यर्थीहरूतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
आदेश
प्र.न्या. धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :–
२. म श्री ५ को सरकारको स्वास्थ्य सेवामा मिति २०१७।६।११ मा प्रवेश गरी २०२६।१।१२ गतेदेखि आयुर्वेद तथा चिकित्सालय नरदेवीमा शिक्षणतर्फ सरुवा बढुवा भई त्रि.वि.वि. अन्तर्गत उक्त शिक्षालय क्याम्पसमा परिवर्तित भई उपप्राध्यापक पदमा सेवा गर्दै आएको छु । मैले भारतको आयुर्वेद तथा युनानी चिकित्सालय पटनाबाट आयुर्वेदतर्फ आई.एस.सी. परीक्षा उत्तीर्ण भए पनि ५ वर्ष लाग्ने जी.ए.एम.एस. (Graduate of Ayurvedic Medicine & Surgery) परीक्षा उत्तीर्ण गरेको छु । एलोपैथिक पद्धतितर्फ आई.एस.सि. उत्तीर्ण गरेपछि लगभग ५
वर्ष नै लाग्ने एम.बी.बी.एस. को स्नातक शैक्षिक उपाधि प्रदान गरिन्छ । मेरो पद कायम रहेको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतकै एलोपैथिक, (आधुनिक चिकित्सा) तर्फ सहप्राध्यापक पदको लागि विनियम ११.१०.२ (२०) अन्तर्गत एम.बी.बी.एस. को स्नातक उपाधि प्राप्त गरी महाविद्यालयमा कम्तिमा १० वर्ष पढाएको अनुभव वा १० वर्ष सम्बन्धित प्राविधिकतर्फ काम गरेको अनुभव हुनुपर्ने प्रावधान भएको पाइन्छ तर त्यसै चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेदतर्फ विनियम १०.१०.१४ (१) अनुसार आयुर्वेदतर्फ डक्टरेट डिग्री वा आयुर्वेद स्नातकोत्तर उपाधि प्राप्त गरी महाविद्यालयमा १० वर्ष पढाएको वा १० वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने गरी योग्यता निर्धारण गरिएको हुनाले समान अवस्थाका व्यक्तिहरूको लागि पदोन्नतिका लागि विभेद गरिएको देखी आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुखलाई आज भन्दा लगभग १
वर्ष अघि यस सम्बन्धमा चित्त नबुझेको हुनाले ऐनको दफा २७ अन्तर्गत कारवाहीका लागि अनुरोध गर्दा क्याम्पस प्रमुखले आयुर्वेदतर्फ पनि आधुनिक चिकित्सा अनुसार नै योग्यता निर्धारण हुनुपर्दछ भनी प्रत्यर्थी डीनको कार्यालय समक्ष लेखी पठाउनु भएको थियो । सो सम्बन्धमा पटक पटक सम्पर्क राख्दा पनि कारवाहीको स्थिति सम्बन्धमा स्पष्ट जानकारी दिइएन । मिति २०४४।१२।२७ गतेको गोरखापत्रमा प्रकाशित विज्ञापन नं. ५।०४४ को सूचना अनुसार सो मितिले ३५ दिनभित्र आयुर्वेद क्याम्पस नरदेवीका लागि आयुर्वेदतर्फ सहप्राध्यापक पद १ को बढुवाद्वारा पूर्ति गर्नुपर्ने भएकोले त्रि.वि.वि. वा यसद्वारा मान्यता प्राप्त शिक्षण संस्थानबाट डक्टर ईन आयुर्वेद मेडिसिन वा आयुर्वेद विषयमा स्नातकोत्तर उपाधि प्राप्त तथा महाविद्यालयमा कम्तिमा १० वर्ष पढाएको वा सम्बन्धित प्राविधिक क्षेत्रमा १० वर्ष काम गरेको अनुभव प्राप्त व्यक्तिहरूबाट बढुवाको फारामको आव्हान गरिएको पाइयो । प्रत्यर्थी डीनको कार्यालय तथा प्रत्यर्थी छनौट समितिसंग सम्पर्क राख्दा प्रत्यर्थी त्रि.वि.वि. के.का. प्राविधिक समिति कीर्तिपुरले निर्धारित गरेको योग्यता सम्बन्धमा परिवर्तन नभएकोले आयुर्वेदतर्फ स्नातकोत्तर उपाधि प्राप्त गरेको वा आयुर्वेदमा डक्टरेट डिग्री पाएको शैक्षिक योग्यता हुनुपर्ने भएकोले आयुर्वेदमा स्नातक उपाधि प्राप्त तपाईको बढुवा फाराम लिन नमिल्ने भनी मौखिक जवाफ दिई फिर्ता गरिएको हुनाले यो रिटनिवेदन गर्न आएको छु ।
३. कानुन इन्जिनियरिङ्ग व्यवहारिक विज्ञानको ४ वर्षमा स्नातक डिग्री प्राप्त गर्ने व्यक्तिलाई शैक्षिक पठन पाठन वा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव सहित सहप्राध्यापक पदको त कुनै जावस प्राध्यापकसम्म हुन पाउने गरी प्रत्यर्थी प्राविधिक समितिबाट योग्यता निर्धारण गरिएको । त्यस्तै गरी उही चिकित्सा शास्त्र अध्ययन संस्थानको आधुनिक चिकित्सातर्फ एम.बी.बी.एस. को ५ वर्ष लाग्ने स्नातक उपाधि प्राप्त गरेकोले शिक्षण तथा सम्बन्धित क्षेत्रमा एक निश्चित अवधिसम्म काम गरेको आधारमा सहप्राध्यापक तथा प्राध्यापकसम्म पनि हुन पाउने गरी योग्यता निर्धारण गरिएको छ तर आयुर्वेदतर्फ आई.एस.सी. उत्तीर्ण गरेपछि त्यतिकै ५
वर्ष लगाई प्राप्त गरेको स्नातक उपाधि हासिल गर्नेलाई भेदभाव गरी सहायक प्राध्यापक भन्दा अगाडि नै जान नपाउने गरी सहप्राध्यापक र प्राध्यापक पदका लागि आयुर्वेदमा डक्टरेट डिग्री वा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने गरी योग्यता निर्धारण गरिएकोबाट समान अवस्थाको शैक्षिक डिग्रीहरूलाई समान प्रयोजनका लागि भेदभावपूर्ण तरीकाले योग्यताको निर्धारण गरी सहप्राध्यापक र प्राध्यापक पदमा बढुवा पाउने अवसरबाट स्पष्टतः बन्चित गरिएको र सो सम्बन्धमा आयुर्वेद क्याम्पसबाट ऐनको दफा २७ अन्तर्गत समयमा नै लेखापढी गर्दा पनि कुनै निर्णय निरोपण नगरी बढुवा प्रकृया समेत प्रत्यर्थी डीनको कार्यालय छनौट समितिले प्रारम्भ गर्नु भएकोबाट नेपालको संविधानको धारा १०(१) अन्तर्गतको कानुनको समान संरक्षणको हकबाट बन्चित गरिएकोले उत्प्रेषण लगायतको जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी प्रत्यर्थी त्रि.वि.वि. केन्द्रीय कार्यालय प्राविधिक समितिबाट मलाई असर पर्ने गरी गरिएको निर्णयलाई बदर गरी आयुर्वेदतर्फ पनि आधुनिक चिकित्सा जस्तै आयुर्वेदको स्नातक उपाधि हासिल गरेकालाई पढाएको अनुभव वा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव समेतलाई आधार बनाई सहप्राध्यापक र प्राध्यापकमा बढुवा पाउने गरी शैक्षिक योग्यता निर्धारण गरी त्यस पछि मात्र आयुर्वेदतर्फको सहप्राध्यापक १ पदको लागि बढुवा प्रकृया प्रारम्भ गर्नु भनी प्रत्यर्थीहरूका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र ।
४. यस्मा के कसो भएको हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. त्रि.वि.वि. ले मुलुकमा उच्च जनशक्ति तयार गर्ने आवश्यकता अनुसार र नेपालमा उपलब्ध हुनसक्ने शिक्षकहरूलाई समेत ध्यानमा राखी विभिन्न संकाय विषयहरूमा सहायक प्राध्यापक, उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकको पदमा विनियममा बेग्ला बेग्लै आवश्यक न्यूनतम योग्यता उल्लेख गरिएको छ । विशेषतः सहप्राध्यापक तथा प्राध्यापकहरूलाई स्नातकोत्तर कक्षा र पी.एच.डी. आदिमा अनुसन्धान रिसर्च गराउन पर्ने हुँदा मानविकीतर्फ नेपाली, अंज्रेजी, भूगोल, इतिहास, राजनीतिक शास्त्र, शिक्षाशास्त्र संकायतर्फ शिक्षाशास्त्रमा विज्ञान संकायतर्फ गृह विज्ञान रसायन विज्ञान भौतिक विज्ञान जन्तु विज्ञान वनस्पति विज्ञान माइक्रो बाइलोजी आदि विषयहरूमा व्यवस्थापन संकायतर्फ कमर्स समेतको विभिन्न विषयमा तथा चिकित्सातर्फ नै नर्सिङ्ग र आयुर्वेदमा पनि सहप्राध्यापक र प्राध्यापकको पदको लागि मास्टर्स डिग्री उत्तीर्ण हुनु अनिवार्य गरिएको छ । साथै अनुभव र पी.एच.डी आदि थप योग्यताहरू पनि हुनुपर्छ । त्रि.वि.वि. को स्थापना कालमा केही विषयहरूमा त्रि.वि. बाट वा विदेशबाट माष्टर डिग्री उत्तीर्ण गरिआएको व्यक्ति उपलब्ध नभएको हुनाले हाम्रो मुलुकमा स्नातक डिग्री उत्तीर्ण गरी न्याय सेवा इन्जिनियरिङ्ग सेवा र एलोपेथिक आदिमा वर्षैदेखि अनुभव प्राप्त व्यक्तिहरूबाट काम चलाउनु परेकोले नै कानुन र इन्जिनियरिङ्गमा वि.एल. र वि.ई. उत्तीर्ण अनुभवी व्यक्तिलाई सहप्राध्यापक वा प्राध्यापक पदमा आवेदन गर्न पाउने विशेष व्यवस्था गरिएको छ । इन्जिनियरिङ्ग सेवा कानुन संकाय सेवा आयुर्वेदतर्फको सेवा आदि छुट्टा छुट्टै संकाय र अध्ययन संस्थान अन्तर्गत पर्ने हुँदा ती संकाय र अध्ययन संस्थानको पाठ्यक्रम विषय परीक्षा आदि बेग्ला बेग्लै भएको हुँदा ती संकायहरूमा आवश्यक न्यूनतम योग्यतामा भेदभाव गरियो भन्न मिल्ने हुँदैन । त्रि.वि.वि. को आयुर्वेदतर्फको सहप्राध्यापक पदको लागि आवश्यक न्यूनतम योग्यताको निर्धारण प्राविधिक समितिबाट मिति २०३०।७।२० मा भइसकेको त्यसपछि हालसम्म परिवर्तन गरिएको छैन । रिट निवेदक त्रि.वि. मा मिति २०३८।९।१६ गतेमा उपप्राध्यापक पदमा नियुक्ति भएको छ र त्यस नियुक्ति पत्रमा त्रि.वि.ऐन, नियम विनियम समेतलाई पालना गर्नेछ भनी उल्लेख भएकोले अहिले आएर त्रि.वि. को ऐन, नियम विनियम मान्दिन भन्न मिल्दैन । विज्ञापनमा विनियमको नं. ११, १०, १४ अनुसार न न्यूनतम योग्यता तोकी विज्ञापन गरिएको छ । विनियम पनि त्रि.वि. ऐन नियम अनुसार नै बनाइएकोले बदरभागी छैन । रिटनिवेदन खारेज होस् भन्ने समेतको त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय छनौट समितिको लिखितजवाफ ।
६. रिटनिवेदनमा कतै पनि त्रि.वि. मा केन्द्रीय कार्यालय वा त्रि.वि प्राविधिक समिति हाल कार्यकारिणी परिषद्ले कुन काम गरी निजको हक हनन् हुन गएको हो सो उल्लेख गरिएको छैन । प्राविधिक समितिबाट मिति २०३०।७।२० मा शिक्षकहरूको न्यूनतम योग्यता सम्बन्धी विनियम स्वीकृत भएको र त्यसैका आधारमा निवेदकले उपप्राध्यापक पदमा नियुक्ति पाई सेवारत रहेकोमा अहिले सोही विनियमको पालना गर्दिन भन्न विबन्धन लाग्दछ । रिटनिवेदन खारेज होस् भन्ने समेतको त्रि.वि.वि. केन्द्रीय कार्यालय र त्रि.वि.वि. प्राविधिक समितिको हाल कार्यकारी परिषद्को लिखितजवाफ ।
७. नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमलनारायण दाशले त्रि.वि.वि. का इन्जिनियरिङ्ग तथा कानुन अध्ययन संस्थान समेतको सहप्राध्यापक पदमा बढुवा हुनको लागि स्नातक उपाधि प्राप्त र अनुभवी भनी न्यूनतम शैक्षिक योग्यता निर्धारण गरिएको छ । त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानकै एलोपैथिक चिकित्सातर्फ एम.वि.वि.एस. अर्थात स्नातक उपाधि प्राप्त व्यक्ति र अनुभवको आधारमा सहप्राध्यापक तथा प्राध्यापक सम्मको पदमा बढुवा हुनसक्ने गरी तोकिएको छ भने सोही अध्ययन संस्थानको आयुर्वेदतर्फ उतिकै वर्ष लगाएर स्नातक उत्तीर्ण भएको र अनुभवको न्यूनतम अवधि पूरा गरेको उपप्राध्यापकलाई सहप्राध्यापक वा प्राध्यापकमा बढुवा हुन नदिने किसिमबाट उनीहरूको हकमा मात्र स्नातकोत्तर वा डक्टरेट डिग्री हासिल गरेको हुनुपर्ने गरी न्यूनतम योग्यता तोकी विनियम बनाई दिनाले कानुनको समान संरक्षण र कानुनको अगाडि समानताको हकबाट निवेदकलाई बन्चित गरिएको छ । तसर्थ त्यस्तो भेदभावपूर्ण विनियम बदर होस भनी बहस गर्नु भयो । प्रत्यर्थीहरूको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले कानुन इन्जिनियरिङ्ग विषय र आयुर्वेद विषय एकै नाम होइनन् । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतकै नर्सिङ्ग विषयको सहप्राध्यापक वा प्राध्यापक पदको लागि स्नातकोत्तर वा डक्टरेट डिग्री हासिलगरेको हुनुपर्ने गरी एकै अध्ययन संस्थान अन्तर्गतका पृथक पृथक विषयहरूमा पृथक पृथक न्यूनतम योग्यता निर्धारण गरिएको हो । निवेदकको आयुर्वेद विषय र एलोपैथिक चिकित्सा एकै अध्ययन संस्थान अन्तर्गत भए पनि छुट्टाछुट्टै विशिष्टिकृत क्षेत्र हुन् । त्यस्तो अवस्थामा समानता भएन भन्न मिल्ने स्थिति छैन । रिटनिवेदन खारेज होस् भन्ने समेतको बहस प्रस्तुत गर्नु भयो ।
८. आज निर्णय सुनाउन भनी तोकिएको प्रस्तुत रिटनिवेदनमा निवेदकका माग बमोजिमको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यस्मा निर्णयतर्फ हेर्दा चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको आधुनिक चिकित्सा (एलोपैथिक) तर्फ सहप्राध्यापक पदमा बढुवा हुनको लागि आई.एस.सी. उत्तीर्ण भएपछि ५ वर्ष लाग्ने एम.वि.वि.एस. (स्नातक उपाधि) को न्यूनतम शैक्षिक योग्यता निर्धारण भएको छ तर सोही अध्ययन संस्थान अन्तर्गत आयुर्वेद विषयको सहप्राध्यापक पदमा बढुवा हुनको लागि स्नातकोत्तर उपाधि प्राप्त वा डक्टरेट डिग्री प्राप्त हुनुपर्ने गरिएबाट समान अवस्थाका व्यक्तिहरूको लागि पदोन्नतिको सन्दर्भमा कानुनको समान संरक्षणको हकमा विभेद गरिएकोले हक प्रचलन गराई पाउँ भन्ने रिट निवेदकको मुख्य जिकिर रहेको छ । प्रत्यर्थीहरूको लिखितजवाफ हेर्दा आयुर्वेद लगायत सबै संकाय अन्तर्गतका विषयहरूमा सहप्राध्यापक पदको लागि आवश्यक न्यूनतम योग्यताको निर्धारण त्रि.वि.वि. केन्द्रीय कार्यालय प्राविधिक समितिबाट मिति २०३०।७।२० मा भएको हो । निवेदकलाई आयुर्वेदतर्फको उपप्राध्यापक पदमा मिति २०३८।९।१६ मा नियुक्तिपत्र दिँदा निवेदकको हकमा समेत त्रि.वि.वि. ऐन, नियम, विनियम लागू हुने भनी प्रष्ट रुपमा लेखी दिएको थियो । त्रि.वि.वि. ऐन, नियम, विनियमलाई स्वीकार गरी बहाल रहनु भएका निवेदकले हाल मिति २०४५।२।४ मा आएर रिटनिवेदन दिई विवाद गर्न पाउने होइन । प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक पदको लागि न्यूनतम शैक्षिक योग्यता निर्धारण गर्दा मुलुकमा उच्च जनशक्ति तयार पार्ने आवश्यकता अनुसार नेपालमा उपलब्ध हुनसक्ने शिक्षकहरूलाई समेत ध्यानमा राखी विभिन्न संकाय अध्ययन संस्थान तथा विषयहरूमा भिन्दा भिन्दै न्यूनतम शैक्षिक योग्यताको निर्धारण विनियममा भएको हो, विभेदपूर्ण व्यवहार भएको छैन भन्ने लिखितजवाफ रहेको पाइन्छ ।
१०. निवेदकको कथन तथा प्रत्यर्थीहरूको लिखितजवाफबाट कानुन इन्जिनियरिङ्ग, व्यवहारिक विज्ञान, आधुनिक चिकित्सा शास्त्र आदि विषयमा सहप्राध्यापक पदको लागि स्नातक उपाधिको न्यूनतम शैक्षिक योग्यता निर्धारण भएको छ भने मानविकीतर्फ नेपाली, अंग्रेजी, इतिहास आदि, विज्ञानतर्फ गृह विज्ञान, रसायन विज्ञान, भौतिक विज्ञान आदि र चिकित्सातर्फ नर्सिङ विषयमा सहप्राध्यापक प्राध्यापकका लागि स्नातकोत्तर उत्तीर्णलाई न्यूनतम शैक्षिक योग्यता निर्धारण भएको देखिन्छ । नेपालको संविधान, २०१९ को धारा १०(१) द्वारा सबै नागरिकलाई कानुनको समान संरक्षण र प्रत्याभूत गरिएको छ । धारा १०(२) मा सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिक माथि धर्म, वर्ण, लिङ्ग, जात, जाती वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव विरुद्ध हक सुरक्षित गरिएको छ । त्यस्तै गरी धारा १०(३) द्वारा सरकारी सेवा वा अरु कुनै सार्वजनिक सेवाको नियुक्तिमा कुनै पनि नागरिक माथि केवल धर्म, वर्ण, लिङ्ग, जात वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव हुने छैन भन्ने मौलिक हक प्रदान गरिएको छ । अब निवेदन जिकिर बमोजिम रिट निवेदकलाई कानुनको समान संरक्षणबाट बन्चित गरिएको हो होइन भन्नेतर्फ हेर्दा संविधानद्वारा प्रदत्त कानुनको समान संरक्षण समान स्थितिका व्यक्तिहरूलाई दिइनु पर्ने अधिकार हो । धर्म, वर्ण, लिङ्ग जात, जाती आदिको आधारमा कानुनको प्रयोगमा भेदभाव गर्न सकिन्न । समानताको हक स्वभावैले समानहरूका बीच प्राप्त हुने अधिकार भएकोले असमानहरूका बीच समानताको प्रयोग गर्न मिल्ने हुँदैन । संविधानको उक्त प्रावधानको अर्थ समान परिस्थिति र योग्यता भएको कुनै नागरिकलाई धर्म, वर्ण, लिङ्ग, जात, जातीको आधारमा अरु नागरिक सरहको सुविधाबाट बन्चित गर्न मिल्दैन भन्ने हो । छुट्टाछुट्टै योग्यता भएका नागरिकहरूलाई सो योग्यताको आधारमा छुट्टाछुट्टै किसिमको सुविधा प्रदान गरिएमा त्यस कार्यलाई असमान व्यवहार गरेको भन्न मिल्दैन । तसर्थ विभिन्न विषयका खास पदका लागि खास खास न्यूनतम योग्यता निर्धारण गर्न सकिन्छ । कुनै एक विषयमा भएको विशेषताहरूको आधारमा अर्को विषयसंग फरक हुनसक्ने हुँदा खास विषयको गुण तत्व तथा विशेषताको विभिन्नताको आधारमा विषय विषयमा फरक फरक न्यूनतम योग्यता निर्धारण हुनसक्ने नै देखिन्छ । आधुनिक साधारण चिकित्सा (एलोपैथी) को लागि एउटा मापदण्ड र नर्सिङको लागि अर्को मापदण्ड तोकिएको छ भने त्यो विषयगत आधारमा फरक मानिएको हो । भेदभाव गरिएको होइन निवेदकले आयुर्वेद विषयमा स्नातक उत्तीर्ण गरी सोही विषयको उपप्राध्यापक पदमा बहाल रहेकोमा सहप्राध्यापकमा बढुवा हुनको लागि आयुर्वेदमा स्नातकोत्तर वा डक्टरेट डिग्री प्राप्त गरेको हुनुपर्ने र आधुनिक चिकित्सा (एलोपैथिक) तर्फ भने सो विषयको सहप्राध्यापक पदको लागि न्यूनतम योग्यता एम.बी.बी.एस. उत्तीर्ण भए पुग्ने गरी समान स्थितिको व्यक्तिहरू बीच कसैलाई स्नातकोत्तर वा डक्टरेट गरेको हुनुपर्ने र कसैलाई स्नातक भए पुग्ने गरी योग्यता निर्धारण गरिएकोले आधुनिक चिकित्सा (एलोपैथिक) र आयुर्वेद चिकित्सा (होमियोपैथिक) वस्तुगत रुपमा एकै हुन् भन्न सकिने स्थिति छैन । यिनीहरू बीच खास विशेषतागत अन्तरहरू रहेका छन् । तसर्थ आयुर्वेद विषयमा स्नातक उत्तीर्ण व्यक्तिहरूका बीच विभेद गरिएको भए असमान व्यवहार भन्न सकिने हुन्छ तर एम.बी.बी.एस. डिग्री र होमियोपैथिक डिग्रीमा केही फरक गरिएको छ भने त्यस्मा असमान व्यवहार गरिएको भन्नेतर्फ न्यायोचित मान्न मिलेन । प्रस्तुत रिटनिवेदनको सन्दर्भमा आयुर्वेद उपाधि र एलोपैथिक उपाधिलाई अलग सम्म गरी विनियमले नै तत् विषयमा छुट्टाछुट्टै न्यूनतम योग्यता निर्धारण गरेको पाइन्छ । निवेदकले विनियमको बर्खिलाप न्यूनतम योग्यता राखिएको वा आयुर्वेद विषयमै स्नातक उत्तीर्ण गर्ने कुनै अर्को व्यक्तिलाई बढुवा हुने सुविधा दिइएको र आफूलाई नदिइएको भन्ने जिकिर लिनु भएको छैन । निवेदकले नियुक्ति लिँदाको अवस्थामा बहाल रहेको विनियमकै आधारमा न्यूनतम योग्यता निर्धारण भएको देखिन्छ । यस स्थितिमा कानुनको समान संरक्षण भएन अथवा निवेदकलाई संविधान विपरीत भेदभावपूर्ण व्यवहार भयो भन्ने जिकिर कानुनसंगत नदेखिएकोले यस्मा निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिटनिवेदन खारेज हुने ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. प्रचण्डराज अनिल
इति सम्वत् २०४६ साल कार्तिक ११ गते रोज ६ शुभम् ।