निर्णय नं. ३९१२ - दर्ता बदर

निर्णय नं. ३९१२ ने.का.प. २०४६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको दे. विविधि नं. ५७
फैसला भएको मिति : २०४६।५।१२।२ मा
पुनरावेदक/वादी : जि. सल्यान वन गार्ड धाँजरी पिवल गा.पं. वडा नं. ६ बस्ने झुमाकुमारी बुढाथोकी क्षेत्रीको हकमा ऐ.ऐ. बस्ने भोलाप्रसाद बुढा क्षेत्री
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने जुद्धबहादुर बुढाथोकी
मुद्दा : दर्ता बदर
§ वादीले नापी गोश्वारामा निवेदन दिँदा नै विवादित जग्गा प्रतिवादीले दर्ता गराएको कुरा उल्लेख गरेकाले आफ्नो जग्गा अरुले दर्ता गराएको कुरा निजलाई थाहा थियो भन्ने कुरामा विवाद हुन नसक्ने ।
(प्रकरण नं. १८)
§ आफ्नो जग्गा अरुले दर्ता गराइसकेपछि थाहा पाएको मितिले ६ महीनाभित्र नालेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था ज.प. को १७ नं. तथा ज.मि. को १८ नं. अन्तर्गत भएको ।
(प्रकरण नं. १८)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेल
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : यस अदालतमा “यो बिन्तिपत्र जाहेर हुँदा यस्मा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतले छिनेको बिन्तिपत्रमा लेखिएको दर्ता बदर भन्ने मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु प्रमांगीको जनाउ बिन्तिपत्रवालालाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भन्ने विशेष जाहेरी विभाग राजदरवारको तोक आदेश साथ निवेदन प्राप्त हुन आएकोले इन्साफ जाँचका लागि प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ ।
२. सल्यान वन गाउँ डुडा खोला तालुक मौ.नं. १३ मा माटो मुरी ।१६। दर्ता भए मध्ये माटो मुरी ।२।१३।२।७ के साविक तिरो रु. १।१२ को छूटबाट माटो मुरी ।१। को रु. ५ को तिरो रु. १३ लागेको उक्त जग्गा रुद्रसिं बुढाथोकीबाट मैले २००९।३।२६।६ मा रु. ९९ मा घरायस्मा राजीनामा गराई तालुकदारको श्रेस्तामा दा.खा. समेत गराई तिरोभरो गरी भोगचलन गरिआएको पूर्व केदार बुढा समेत ४ किल्लाभित्रको सल्यान बाझकोट काफ्ले पानी गा.पं. वार्ड नं. ८ कि.नं. २७६ को रोपनी १–१–१–१ जग्गा म नापीमा उपस्थित हुन नसकेको अवस्था अन्यायवालाले उक्त कि.नं. २७६ को जग्गा अन्यायवालाका नाउँमा भएको दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने समेत व्यहोराको झुमाकुमारीको फिरादपत्र ।
३. सल्यान वन गार्ड डुडा खोला तालुम ०९८ सालमा मोठ नं. १०५ को सादुखोला गाँच्या विष्टका ३ ठाउँ गरी खेत ।७ मध्ये दर्तावाला देबु भन्ने बेद बुढा पर्लोक भएपछि उहाँको छोरा मैले ०१७।२।७ गते सल्यान मालको श्रेस्ता खेत ।१।३।३ नामसारी दा.खा. गराएको उक्त खेत ।७। मध्ये अर्को दर्तावाला जिते भन्ने जितबहादुर बुढा मतवालाले मलाई रु. ४५।– मा ०३२।१।१५ गते घरायस्मा राजीनामा गरिदिए अनुसार तालुकदारको श्रेस्तामा दा.खा. गराएको खेत ।११।५।२ समेत हकभोग गरिआएको उक्त खेत एकै चक्ला मिलेको पूर्व केशर बुढा समेत ४ किल्लाभित्रको जग्गा सर्वे नापी हुँदा सल्यान बाझकोट गा.प. वार्ड नं. ८ कि.नं. २७६ रोपनी १–१–१–१ कायम भई मेरो नाममा दर्ता भएको छ । वादी दावीको खेत सल्यान वन गार्ड बाझो डुडा गा.पं. वार्ड नं. ७ कि.नं. २२१ रोपनी ५–३–३–० कायम भई वादीको एकाघरको लोग्ने भोलाप्रसादका नाउँमा दर्ता भएको छ । वादी दावी कि.नं. २७६ को जग्गा मेरै हक कायम राखी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत जुद्धबहादुर बुढा मतवालाको प्रतिउत्तरपत्र ।
४. वादीबाट पेश भएको २००९।९।२६ को भनी झुमाकुमारी ऋणी रुद्रसिं बुढा भएको थैली रु. ९९।– को राजीनामा जालसाजबाट खडा गरेको लिखत हो भन्ने समेत प्र.जुद्धबहादुरको बयान ।
५. प्रतिवादीबाट पेश भएको २०१२।१।१५।२ को थैली रु. ४५।– को राजीनामा धनी जुद्धबहादुर ऋणी जितबहादुर समेत मिली जालसाजबाट खडा गरेको राजीनामा हो भन्ने समेत वादी लिलाधर बुढाथोकीको बयान ।
६. मेरो र प्रतिवादीको प्रमाण खण्डमा लेखिएको धनी जुद्धबहादुर ऋणी जितबहादुर भएको थैली रु. ४५।– को २०३२।२।१५ को सबै साँचो लिखत हो भन्ने समेत प्र. जुद्धबहादुरको बयान ।
७. धनी जुद्धबहादुर बुढा मतवाला ऋणी जिते भन्ने जितबहादुर बुढा मतवाला भएको थैली रु. ४५। को मिति ०३२।१।१५ को राजीनामा सद्दे हो जालसाज भन्ने बयानबाट फुर्सद गरी वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत डिल्लीबहादुर ढकालको बयान ।
८. वादीबाट पेश भएको २००९।९।२६ को रु. ९९।– को राजीनामा म समेत साक्षी बसी खडा भएको सद्दे लिखत हो । जालसाजबाट खडा भएको भनी प्रतिवादीले झुठ्ठा बयान गरेको छ । झुठ्ठा बयानबाट फुर्सद पाउँ भन्ने समेत खोपीराम बुढा १, परशुराम बुढा १, समेतको वा.लिलाधर बुढाथोकीको बयान ।
९. वादीबाट पेश भएको २००९।९।२६ को थैली रु. ९९।– को राजीनामा सद्दे साँचो राजीनामा हो जालसाज भन्ने बयान झुठ्ठा हो भन्ने समेत रुद्रसिंको वा.चिन्तराज पुरीको बयान ।
१०. जालसाजतर्फका प्रतिवादी मोहदत्त उपाध्यायले ०४१।१।२२ मा तामेल भएको म्याद गुजारी बसेको ।
११. नापीको गोश्वारालाई हदम्याद सृजना गर्ने अधिकार समेत नहुनाले प्रस्तुत मुद्दाको फिराद अ.बं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत सल्यान जिल्ला अदालतको फैसला।
१२. संशोधित जग्गा नाप जाँच ऐनमा उल्लेख भएको म्यादभित्रै फिराद दायर भई कारवाही भएको मुद्दा खारेज गर्ने गरेको फैसला न्यायसंगत भएन खारेज गर्ने गरेको स.जि. अ. को फैसला बदर गरी हक इन्साफ गरिपाउँ भन्ने समेत झुमाकुमारी बुढा क्षेत्रीको पुनरावेदनपत्र आफ्नो जग्गा प्रतिवादीको नाममा दर्ता भएको कुरा वादीले मिति ०३९।११।२२ मा निवेदन दिँदाका बखत थाहा पाइसकेपछि सो मितिले मुलुकी ऐन जग्गा पजनीको महलको १७ नं. बमोजिम ६ महीनाभित्र जिल्ला अदालतमा नालिस गर्नुपर्ने थियो तर त्यसो नगरी हदम्याद नघाई मिति २०४१।२।१९ मा मात्र दर्ता गराएको प्रस्तुत नालिसबाट इन्साफ गर्न नमिल्ने भनी खारेज गरी शुरु अदालतले गरेको फैसला मिलेको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने ठर्हछ भन्ने राप्ती अञ्चल अदालतको फैसला ।
१३. मेरो फिराद दावीलाई म्यादभित्र कै मानी दर्ता स्रेस्ता मोठ ४ किल्ला खुल्ने गरी नक्शा समेत गराई इन्साफ तहकिकात गर्नुपर्नेमा सो कुनै गरेको नहुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(४) अन्तर्गत पुनरावेदन गर्न अनुमति पाउँ भन्ने झुमाकुमारी बुढाथोकी क्षेत्रीको निवेदनपत्र ।
१४. दर्ता पुर्जा पाएपछि त्यस्मा चित्त नबुझ्ने व्यक्तिले पुर्जा पाएको १२० दिनभित्र तोकिएको अधिकारी समक्ष उजूर गर्न सक्ने कानुनी व्यवस्था भएको र दर्ता पुर्जा वितरण भएको भनी २०३९।११।२२ मा नापी गोश्वारामा निवेदन दिएकोमा तेरो मेरो परेको भनी जानकारी पाएको मितिले नालेस गरेको देखिएको र आफ्नो जग्गा अरुले दर्ता गराएकोमा थाहा पाएको मितिले ६ महीनाभित्र ज.प. को १७ नं. र ज.मि.को १८ नं. अन्तर्गत नालेश दिएको समेत नदेखिँदा म्यादभित्रको नभएको हुँदा नालेस खारेज हुने ठहराएको शुरुको निर्णय सदर गरेको राप्ती अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१५. जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(२) मा दर्ता पुर्जा वितरण प्रारम्भ मितिले वा बिर्ता पुर्जा पाएको मितिले नालेश गर्नुपर्छ भन्ने उल्लेख नभएको र तोकिएको अधिकारीले छानबीन गरी जसको प्रमाण बलियो देखिन्छ । उसैको नाममा अस्थायी दर्ता गरी अदालतबाट हक बेहकको निर्णय गराई ल्याउन निस्सा दिएपछि मात्र अदालतमा नालेश गर्न जानु पर्ने प्रष्ट व्यवस्था सोही ऐनको दफा ६(७) मा भएकाले ज.प. को १७ नं. को हदम्याद लगाई मेरो नालेस खारेज गर्ने गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको वादीको निवेदनपत्र ।
१६. नियम बमोजिम मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ जाँचका लागि यस इजलास समक्ष प्रस्तुत मुद्दाका सम्बन्धमा निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सानुबाबु पोखरेलले विपक्षीको नाउँमा विवादित जग्गा नापी भएको कुरा निवेदकलाई थाहा नभएको र ०३९।११।२२ मा ५ नं. नापी गोश्वारामा निवेदकले उजूर गरेपछि मात्र सो गोश्वाराबाट ०४१।२।२५ मा निवेदकलाई सूचना दिएको र सूचना प्राप्त गरेपछि जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(७) बमोजिम जिल्ला अदालतमा उजूर गरेकोले हदम्याद नाघेको नालेस भन्न नमिल्ने हुँदा क्षेत्रीय अदालतको इन्साफ उल्टाई पाउँ भन्ने माग दावी लिंदै बहस गर्नु भयो ।
१७. निर्णयतर्फ विचार गर्दा यस मुद्दाका सम्बन्धमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको छ छैन सो को नै निर्णय गर्नुपर्ने देखियो ।
१८. यस्मा जग्गा नाप जाँच गर्ने व्यवस्था र नाप जाँच गर्दा चित्त नबुझ्ने पक्षले अवलम्बन गर्नुपर्ने प्रकृया तथा हदम्याद सम्बन्धमा जग्गा नाप जाँच ऐन, २०१९ मा र मुलुकी ऐनको जग्गा पजनी तथा जग्गा मिच्नेको महलमा विधि कानुन प्रावधानहरूको उल्लेख भएको छ र जग्गा नाप जाँच ऐन, २०१९ को दफा (८)(२) मा दर्ता पुर्जा नपाएकोमा सोही क्षेत्रको दर्ता पुर्जाको वितरण प्रारम्भ भएको मितिले वा दर्ता पुर्जा पाएपछि त्यस्मा चित्त नबुझ्ने व्यक्तिले १२० दिनभित्र तोकिएको अधिकारी समक्ष उजूर गर्ने प्रावधान छ । आफ्नो जग्गा अरुले दर्ता गराएको सम्बन्धमा भने नालेश गर्ने म्याद मु.ऐ.ज.प. को १७ नं. तथा ज.मि. को १८ नं. ले व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दामा वादीले पनि सोही कानुनी प्रावधानलाई अंगाली आउनु पर्नेमा २०३९।९।५ सम्म दर्ता पुर्जा वितरण भएको भनी २०३९।११।२२ मा नापी गोश्वारामा निवेदन दिएको र तेरो मेरो परेकोले अदालतमा जानु भनी नापी गोश्वाराले सूचना दिएको मितिको आड लिएर फेराद दायर गरेको देखिन्छ । वादीले नापी गोश्वारामा निवेदन दिँदा नै विवादित जग्गा प्रतिवादीले दर्ता गराएको कुरा उल्लेख गरेकाले आफ्नो जग्गा अरुले दर्ता गराएको कुरा निजलाई थाहा थियो भन्ने कुरामा विवाद हुनसक्दैन । यसरी आफ्नो जग्गा अरुले दर्ता गराइसकेपछि थाहा पाएको मितिले ६ महीनाभित्र नालेश गर्नु पर्ने बाध्यात्मक व्यवस्था ज.प.को १७ नं. तथा ज.मि. को १८ नं. अन्तर्गत भएकोमा वादीले सो अनुरुप हदम्याद भित्र नालेस दिनसकेको देखिन आउँदैन । यसकारण वादीको फेराद म्याद नाघी सकेपछि परेको देखिन आएकाले सोही अनुरुप नालेस खारेज गर्ने ठहर गरेको शुरुको अञ्चल अदालतले सदर गरेको फैसलालाई मनासिब ठहर्याएको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेकै देखिएको र सो फैसलामा निवेदकको जिकिर अनुसारको त्रुटि विद्यमान नरहेको हुँदा परिवर्तन गर्नुपर्ने देखिन आएन । तसर्थ यस मुद्दाका विषयमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल भाद्र १२ गते रोज २ शुभम् ।