शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९१४ - ज्यान मार्ने उद्योग

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९१४     ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४५ सालको फौ.पु.नं. ४४८

फैसला भएको मिति :      २०४६।६।९।२ मा

पुनरावेदक/प्रतिवादी : कारागार कार्यालय मलंगवामा थुनामा रहेका राजेन्द्रसाह रौनियार

विरुद्ध

वादी : रामवृक्ष ठाकुरको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान मार्ने उद्योग

§  ज्यान मार्ने उद्योगको अभियोगमा घा चोटको स्थिति भन्दा अभियुक्तको मनसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।

(प्रकरण नं. १८)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गाना

वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर र निर्णय यस प्रकार छ ।

            २.    २०४१।५।२९ गतेको बिहान राजेन्द्रसाहले रामकुमारीलाई छुरी प्रहार गरी सोही छुरीले आफूलाई पनि घाइते बनाएका छन् भन्ने सुनी जाँदा रामकुमारीलाई अस्पताल पुर्‍याई सकेको, राजेन्द्रसाहलाई पक्राउ गरी राखेकोले, निजलाई अस्पताल पुर्‍याई बरामद छुरी र बरामदी मुचुल्का यसैसाथ पेश गरेको भन्ने प्र.ज. गणेशबहादुरको प्रतिवेदन ।

            ३.    मलाई राजेन्द्रले मसंग विवाह गर भनेका थिए । मैले मानेको थिइन । २०४१।५।२९ गते बिहान भोला रायको घरमा बिंडी बनाइरहेको अवस्थामा राजेन्द्र आई मलाई समाती ज्यान मार्ने उद्देश्यले शरीरको जत्रतत्र भागमा छुराले हानी, सोही छुराले आफ्नो जीउमा समेत हानेको भन्ने समेत व्यहोराको रामकुमारीको बयान कागज ।

            ४.    राजेन्द्रले छोरी रामकुमारीसँग विवाह गर्न भनेकोमा छोरी समेतको मन्जूरी नहुँदा २०४१।५।२९ गते बिहान छोरीलाई ज्यान मार्ने उद्देश्यले पेट जस्तो मर्मस्थान लगायत शरीरको विभिन्न भागमा छुरीले हिर्काई घाइते बनाएकोले निजलाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको रामवृक्ष ठाकुरको जाहेरी दर्खास्त ।

            ५.    रामकुमारी र मेरो बीच प्रेम बसी विवाह गर्ने प्रण गरी करणी समेत लिनु दिनु भएको अवस्थामा निजले राजेन्द्र हजामसँग विवाह गरेको निजलाई मारी आफू समेत मर्छु भन्ने उद्देश्यले निजलाई छुरी प्रहार गरेको हो भन्ने समेत व्यहोराको राजेन्द्रसाहले प्रहरीमा गरेको बयान।

            ६.    मिति २०४१।५।२९ गतेका दिन रामकुमारी मेरो घरमा बिंडी बनाउँदै रहेको अवस्थामा राजेन्द्र आई छुरी प्रहार गरेको भन्ने समेत व्यहोराको भोला रायको पत्नी लछनदेवी रायको बयान कागज ।

            ७.    आफूसँग रामकुमारीले विवाह नगरेको कारण राजेन्द्रले रामकुमारीलाई छुरीले हानेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

            ८.    राजेन्द्र साह रौनियारको ज्यानसम्बन्धी महलको १ नं. विपरीत रामकुमारीको ज्यान मार्ने उद्योग गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा १५ नं. अनुसार सजायँ हुने भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

            ९.    रामकुमारीसँग प्रेम सम्बन्ध रहेको कारणबाट हामी दुई बीच विवाह गर्ने प्रण गरेका थियौं तर निजले राजेन्द्र ठाकुरसँग विवाह गरी भोला रायको घरमा बिंडी बनाइरहेको अवस्थामा मसंग हिंड भन्दा निजले मेरो पेटमा छुरी रोपी दिएको हुँदा रिसको झोकमा मैले पनि छुरीले निजलाई हिर्काएको हो भन्ने समेत व्यहोराको राजेन्द्र रौनियारले अदालतमा गरेको बयान ।

            १०.    २०४१।५।२९ गते बिहान भोला रायको घरमा बिंडी बनाइरहेको अवस्थामा राजेन्द्र आई चुल्ठो समाती चक्कु रोपी दिन्छु भन्दा म भाग्न खोजे सारीको छेउ समाती मलाई छुरी प्रहार गरेका हुन् भन्ने समेत व्यहोराको रामकुमारीले अदालतमा गरेको बयान ।

            ११.    रामकुमारीको भुँडीको देब्रे भागमा र भुँडीको माझमा धारिलो हतियारले रोपी चोट पारेको भन्ने समेत घा जाँच केश फाराम ।

            १२.   रामकुमारीले प्रतिवादीसँग विवाह नगरेको कारण निजले छुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको देखिँदा ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ हुने ठहर्छ भन्ने समेत व्यहोराको सर्लाही जिल्ला अदालतको फैसला ।

            १३.   जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भनी प्रतिवादी राजेन्द्र साहतर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

            १४.   यस्मा अधिकार प्राप्त अधिकारी समक्ष भएको प्रतिवादीको साविती पहिला रामकुमारीले मलाई छुरी प्रहार गरेको हुँदा पछि सोही छुरीले मैले हिर्काएको भन्ने निजको अदालत समक्षको बयानबाट शंकास्पद देखिन नआएको अन्य संकलित सबूद प्रमाणबाट पनि प्रतिवादी उपरको अभियोग पुष्टि हुन आएको देखिँदा दावी बमोजिम सजायँ गर्ने गरेको जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

            १५.   यकीन प्रमाणको मूल्यांकन नगरी गरेको उक्त फैसला बदर गरी पाउन पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादी पक्षबाट परेको निवेदनमा, पुनरावेदनको अनुमति प्रदान भएको रहेछ ।

            १६.    नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुङ्गानाले र वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस जिकिर समेत सुनियो ।

            १७.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिन पर्ने हुन आयो ।

            १८.   निर्णयतर्फ हेर्दा, यस्मा मिति २०४१।५।२९ गते प्रस्तुत वारदात भएको र रामकुमारीलाई चक्कु प्रहार गरेकोमा विवाद देखिँदैन । राजेन्द्र शाहले रामकुमारीलाई ज्यान मार्ने उद्देश्यबाट चक्कु प्रहार गरेको हो होइन भनी हेर्दा, रामकुमारीसँग विवाह गर्ने प्रवल इच्छा भएका यी प्रतिवादीले रामकुमारीको विवाह अर्को व्यक्तिसंग गरिदिएको कारण प्रस्तुत वारदातको सिर्जना हुन गएकोमा प्रतिवादी सावित छन् । जहाँसम्म रामकुमारीले मलाई पहिला छुरी रोपेको भन्ने प्रतिवादीको जिकिर छ, सो कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन नसक्नुको साथै प्रतिवादीले पनि शंकारहित रुपबाट प्रमाणित गर्न सकेको पाइदैन । छुरी जस्तो धारिलो हतियारले शरीरको जत्रतत्र प्रहार गरी घा खत लागेको भनी घा जाँच प्रतिवेदन रहेको पाइन्छ । मसंग विवाह नगरेको हुँदा निजलाई मारी आफू पनि मर्ने मनसायबाट पहिला रामकुमारीलाई छुरी प्रहार गरी सोही छुरी आफ्नो शरीरमा समेत प्रहार गरेको भन्ने निज प्रतिवादीको बयान संकलित प्रमाणबाट समर्थित भइरहेको स्थिति अवस्थामा घा चोट मर्ने स्थितिको नदेखिएको भन्नेतर्फ मनासिब मान्न मिलेन । अतः ज्यानमार्ने उद्योगको अभियोगमा घा चोटको स्थिति भन्दा अभियुक्तको मनसायले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा प्रस्तुत मुद्दामा वादी दावी बमोजिम ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन जिकिर पुग्न नसकेकोमा अ.बं. २०३ नं. ले कैद वर्ष १० (दश) को थप सयकडा ५ प्रतिशतले थप कैद (६) छ महिना हुन्छ । व्यहोरा जनाई लगत दिनु र मिसिल नियमानुसार बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. महेशरामभक्त माथेमा ।

 

इति सम्वत् २०४६ साल आश्विन ९ गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु