शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९१५ - जग्गा खिचोला

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९१५     ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४४ सालको दे.पु.नं. ५४८, ५४९

फैसला भएको मिति :      २०४६।७।२७।१ मा

पुनरावेदक/प्रतिवादी : जनकपुर न.पं. वडा नं. ५ बस्ने दिनानाथ सराफ

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ. बस्ने बजरंग साह तेली

पुनरावेदक : पेटबोलीबाट बुझिएको जनकपुर नगरपञ्चायतको तर्फबाट प्रधानपञ्च कृष्ण गिरी

विरुद्ध

विपक्षी : जनकपुर न.पं. वडा नं. ५ बस्ने बजरंग साह तेली

मुद्दा : जग्गा खिचोला

§  झिकाई हाजिर हुन आएकोलाई अनिवार्य रुपमा बयान गराउन पर्ने । तारेखमा सम्म राखी प्रमाणमा लिए नलिएको केही नखुलाई अ.बं. १३९ नं. को विपरीत हुने गरी गरेको क्षे.अ. को फैसला गल्ती भई बदर हुने ।

(प्रकरण नं. ११)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव

विपक्षी/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास

फैसला

            न्या. बब्बरप्रसाद सिंह : म.क्षे.अ. को मिति २०४४।२।१२ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी दिनानाथ सराफ तथा पेटबोलीबाट बुझिएको जनकपुर नगरपञ्चायतको पृथक पृथक निवेदनमा अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

            २.    मेरो पक्की घरदेखि पश्चिम, रामचन्द्र देवी उत्तर, सुर किशोर मार्गदेखि पूर्व विपक्षी देखि दक्षिण रैकर नं. २३९२ को ०४ जग्गा स्व.बाबुले ०३।११।१ मा लक्ष्मीनीया सुडिनबाट लिएदेखि भोग गरी बुबाज्यूको निधन पछि मेरो नाउँमा दर्ता हुन आई २०२२ मा ७ नं. फाराम भरी भोग गरिआएकोमा विपक्षीले उपरोक्त जग्गादेखि उत्तरमा घर बनाउँदा नक्शामा झ्याल नभएकोमा झ्याल खोल्दा न.पं. बाट बन्द भएको र मैले सोही जग्गामा घर बनाउन पाएको नक्शा अनुसार घर पूरा नबनाए पनि उत्तरतर्फ विपक्षीको घरदेखि दक्षिणतर्फबाट जोडिएर नै पूर्व पश्चिम अर्थात मेरो सो जग्गाको उत्तरी पर्खाल भनी २ फिट जति जमीन भन्दा माथि उठाई सकेको समेतबाट मेरो प्रमाणित हुन्छ । माथिको कुरा लोप गरी विपक्षीले मेरो जग्गालाई सार्वजनिक भनी सो जग्गातिर झ्याल खोल्न पाउँ भनी २०३६।२।२८ मा न.पं. मा निवेदन दिएकोमा मलाई प्रतिवाद गर्ने मौका नदिई झ्याल खोल्न पाउने र पाइप लगाई पानी खसाउन पाउने भनी विपक्षीलाई रु. ९८।जरिवाना समेत गरी २०३७।५।२ मा फैसला गरेको ०३७।५।१९ मा नक्कल लिई सो बदर गराउन दिएको रिट सर्वोच्च अदालतमा चलिरहेको छ । यता विपक्षीले मेरो उक्त जग्गामा हस्तक्षेप गर्न लागेको थाहा पाई जनकपुर अञ्चल अदालतमा २०३७।५।११ मा निषेधाज्ञा जारी गरी पाउन दिएको निवेदनमा अन्तरिम आदेश समेत जारी भएकोमा पनि मेरो जग्गातिर झ्याल खोली पानी खसाउने पाइप लगाएपछि मैले २०३७।६।१२ मा आदेशको अवहेलना मुद्दा दायर गरेको थिएँ सो मुद्दाहरू म.क्षे.अ. मा चलिरहेको छ । विपक्षीले ०३७।५।२२ गते दिउँसो १२ बजेदेखि ४ बजेसम्म मेरो उपरोक्त जग्गातिर जबर्जस्ती झ्याल खोली मेरो उपरोक्त जग्गामा पानी खसाउन मेरै जग्गामा पर्ने गरी ४ इन्ची व्यास भएको पाइप समेत हाली सो पाइपबाट मेरो गाह्रोमा निजको घर भरीको फोहोर पानी बाथरुम निकाशको पानी समेत खसाई मेरो उपरोक्त ०४ जग्गा मध्ये उत्तरतर्फबाट ०१२ जग्गामा खिचोला उत्पन्न गर्नु भएकोले मेरा जग्गातिर खोल्नु भएको उपरोक्त झ्याल बन्द गराई पानी खसाउने पाइप समेत मेरो जग्गाबाट हटाउन लगाई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

            ३.    वादी दावी बमोजिमको झ्याल मैले अहिले हैन करिव १०१२ वर्ष अगाडि बनाएको हो, हाल व्यवस्थित ढंगबाट चौकोस ग्रील फिट गरेको सम्म हुँ । दावी हदम्याद नाघी परेको छ । विपक्षीले दावी लिनु भएको जग्गा विपक्षीको नभई सार्वजनिक सडक हो र त्यहाँ निर नाली थियो जो हाल पुरिएको छ । विपक्षीको जग्गा निर मैले झ्याल खोलेको वा पाइप जडान गरेको नभई सडकतिर अघिदेखि पानी खसिरहेको ठाउँमा व्यवस्थित सम्म गरेको हुँ । अतः वादीको झुठ्ठा दावीबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

            ४.    नगरपञ्चायतको ०३७।५।२ को निर्णय बहालै रहेको र उक्त प्रतिवादीको घरमा जडान भएको झ्याल साविक देखि नै रहेको देखिन आई उक्त प्रतिवादीका घर जडान भएको झ्याल पाइपबाट वादीलाई अ.बं. ८२ नं. ले नालेश दिने हकदैया नै पुगेको नदेखिँदा वादीको नालेश खारेज हुन्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतबाट २०३९।५।४ मा भएको फैसला ।

            ५.    सो फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीले जनकपुर अञ्चल अदालतमा दिएको पुनरावेदनपत्र ।

            ६.    शुरु जिल्ला अदालतबाट नालेश खारेज हुने ठहराएको फैसला मिलेको नदेखिँदा बदर गरिदिएको छ प्र.को घर दक्षिण गाह्रो सट्ने गरी बनी रहेको २ अग्लो पर्खाल वादीको हकको देखिन्छ । सो गाह्रोमा पर्ने गरी प्र.को विवादको फोहर फाल्ने पाइप रहेको देखिंदा उक्त पाइप राखी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ । झ्याल बन्द गरिपाउँ भन्ने तर्फ उक्त झ्याल प्र.को दक्षिण गाह्रोमा देखिएको उक्त जग्गामा वादीले घर उठाउन उक्त झ्याल रहेकोबाट असर पर्न नसक्ने समेत हुँदा तत्काल झ्याल बन्द गरिपाउँ भन्ने सम्मको वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको जनकपुर अञ्चल अदालतबाट ०४१।७।२८ मा भएको फैसला ।

            ७.    जनकपुर अञ्चल अदालतको उक्त फैसला उपर प्रतिवादीको परेको पुनरावेदनमा वादी दावी बमोजिम वादीको जग्गा गाह्रोमा पर्ने गरी पुनरावेदक प्रतिवादीले न.नं. १ को पाइप राखेको देखिँदा पुनरावेदक प्रतिवादीले सो पाइप हटाई विपक्षी वादीलाई चलन दिनु पर्ने ठहर्‍याएको र झ्यालको हकमा घर बनाउनेको १ नं. बमोजिम न.नं. ४ को विपक्षी वादीको जग्गामा कानुन बमोजिम नक्शा पास गरी घर उठाउन उक्त झ्याल रहेको कारणबाट असर पर्न नसक्ने देखिँदा झ्याल बन्द गरिपाउँ भन्ने सम्मको वादी दावी पुग्न नसक्ने ठहर्‍याएको ज.अं.अ. को फैसला मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ. को फैसला ।

            ८.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिनानाथ सराफको निवेदन परेकोमा प्रमाणको निमित्त जनकपुर नगरपञ्चायतको निर्णय आएको देखिएकोमा कुनै निर्णय प्रमाणको निमित्त प्रस्तुत गरेमा उक्त निर्णय ठीक बेठीक भन्ने निर्णय दिन नमिल्ने भनी ने.का.प. २०२८ अङ्क १० पृष्ठ २८९ मा प्रतिपादित सिद्धान्त विपरीत म.क्षे.अ. बाट भएको फैसलामा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ग) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।३।२५ को आदेश ।

            ९.    सार्वजनिक जग्गालाई विपक्षी वादीको ठहराएको म.क्षे.अ. को निर्णय त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत जनकपुर नगरपञ्चायतको तर्फबाट प्रधानपञ्च कृष्ण गिरीको निवेदनमा जनकपुर नगरपञ्चायतलाई अ.बं. १३९ नं. बमोजिम पेटबोलीबाट बुझिएकोमा तारेखमा मात्र राखेको बयान नगराएको देखिन्छ । पेटबोलीबाट बुझिएको पक्ष सरहको ज.न.पं. लाई बयान समेत गराई सोको मूल्यांकन गरी निर्णय गर्नु पर्नेमा त्यसो नगरी म.क्षे.अ. बाट भएको फैसलामा अ.बं. १३९ को व्याख्या सम्बन्धी त्रुटि विद्यमान देखिँदा न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४४।३।२४ को आदेश ।

            १०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी दिनानाथ सराफतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्यालको र पुनरावेदक जनकपुर नगरपञ्चायततर्फका विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादवको तथा विपक्षी वादीतर्फका विद्वान अधिवक्ता श्री कमलनारायण दासको बहस जिकिर समेत सुनी म.क्षे.अ. को इन्साफ मनासिब बेमनासिब के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

            ११.    यस्मा वादीका बाबुले २००३ सालमा लक्ष्मीनीया सुडीनबाट घरसारमा राजीनामा गराई लिई आफ्नो हकाधिकारमा रहेको रै.नं. २३९२ को ०४ धुर जग्गातर्फ पारी प्रतिवादीले झ्याल खोली उक्त जग्गामा पानी खसाउन पाइप समेत हाली खिचोला गरेकोले सो मेटाई चलन समेत पाउँ भन्ने समेत व्यहोराको वादी दावी भएकोमा वादीले दावी लिएको जग्गा वादीको नभई सार्वजनिक भएकोले सार्वजनिक सडकतर्फ अघि भइरहेको झ्यालमा चौकोस ग्रिल फिट गरेको र अघिदेखि पानी खसिरहेको ठाँउमा पाइप राखी व्यवस्थित सम्म गरेको हुँ भन्ने समेत प्रतिउत्तर जिकिर भएको देखिन्छ । यसरी प्रतिउत्तर लेखबाट विवादको जग्गा सार्वजनिक भनी देखाएपछि सो जग्गा सार्वजनिक हो होइन भनी बुझ्नु पर्ने भएको कारणबाट आफ्नो क्षेत्रभित्रको पर्ति वा सार्वजनिक जग्गाको हेरचाह गर्ने तथा लगत राख्ने काम सम्बन्धित गा.प. वा न.पं. को भई प्रस्तुत मुद्दामा जनकपुर नगरपञ्चायतलाई बुझ्नु पर्ने देखिन आएपछि मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०४३।१०।५ मा जनकपुर नगरपञ्चायतलाई अ.बं. १३९ नं. बमोजिम बुझ्नु पर्ने देखिएको भनी झिकाउने आदेश गरी नगरपञ्चायतलाई तारेखमा राखेको देखियो । अ.बं. १३९ नं. मा भएको कानुनी व्यवस्था बमोजिम यसरी बुझ्दा प्रतिवादी सरह कारणी देखिन आएमा प्रतिवादी सरह प्रमाण समेत खुलाई बयान लिई कारणी सरह नै तारेखमा राखी उसले दिएको प्रमाण समेत बुझी र सो व्यक्ति प्रमाण सरह सम्म देखिएमा बयान सम्म गराई फैसला गर्नुपर्छ भन्ने देखिन्छ । तर झिकाई हाजिर हुन आएको उक्त नगरपञ्चायतलाई अनिवार्य रुपमा बयान गराउन पर्ने कानुनी व्यवस्था भएकोमा सो गरेको मिसिलबाट देखिन आएन । तारेखमा सम्म राखी सो न.पं. लाई प्रमाणमा लिए नलिएको केही नखुलाई उक्त अ.बं. १३९ नं. को विपरीत हुने गरी गरेको म.क्षे.अ. को फैसला गल्ती भई बदर हुन्छ ।

            १२.   अब तारेखमा रहेका पुनरावेदक जनकपुर नगरपञ्चायतलाई उक्त अ.बं. १३९ बमोजिमको ऐनको रीत पुर्‍याई बयान समेत गराई प्रमाण बुझी कानुन बमोजिम निर्णय गर्नु भनी रुजु पक्ष विपक्षलाई तारेख तोकी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०४६ साल कार्तिक २७ गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु