निर्णय नं. ३९१७ - उत्प्रेषण मिश्रित परमादेश समेत

निर्णय नं. ३९१७ ने.का.प. २०४६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४५ सालको रिट नं. ८९५
आदेश भएको मिति : २०४६।८।१३।३ मा
निवेदक : विराटनगर नगरपञ्चायत वडा नं. १३ बस्ने उमा अग्रवाल
विरुद्ध
विपक्षी : श्री शाखा प्रबन्धक, नेपाल बैंक लि. दुहवी शाखा, सुनसरीसमेत
विषय : उत्प्रेषण मिश्रित परमादेश समेत
§ एउटा इण्डष्ट्रिजको लागि राखिएको सुरक्षण सो इण्डष्ट्रिजको कर्जा चुक्ता भइसकेपछि अर्को इण्डष्ट्रिजको कर्जा बाँकी भएको नाताबाट सो फुकुवा नगरी रोक्का राख्न या त कुनै कानुनले अधिकार दिएको हुनुपर्छ या पक्ष विपक्षको बीचमा भएको मन्जूरी लिखतले अधिकार दिएको हुनुपर्ने ।
(प्रकरण नं. १०)
§ एउटा इण्डष्ट्रिजको लागि दिएको सुरक्षण सो को कर्जा भुक्तान भएपछि अर्को इण्डष्ट्रिजको लागि दिएको कर्जाको सम्बन्धमा रोक्न पाउने कानुनी अधिकार भएको नपाइने ।
(प्रकरण नं. १०)
§ सम्पत्ति फुकुवा नगरी रोक्का राख्नु र बाँकी नपुग रकममा घर घरानाबाट उक्त रकम असूल गर्ने बेग्ला बेग्लै कुरा एवं कार्यविधि हो । अतः बैंकले रोक्का राख्ने सम्बन्धमा दिएको सूचनापत्र समेतको सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया
प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
आदेश
न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, २०१९ धारा १६।७१ अन्तर्गत दायर भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार रहेछ :–
२. गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. दुहवी रोलिङ मिल सञ्चालन गर्न बिना मार्जिन कर्जा व्यापार गर्नको लागि विपक्षी नं. १ ले मेरो हकभोगको विराटनगर नगरपञ्चायत साविक वडा नं. ८ हालको वडा नं. १३ को रैती नं. १५१ दुई कठ्ठा डेढधुर जग्गा र सोही जग्गामा बनेको आर.सी.सी. ढलान भएको दुई तल्ले घर १ तथा सो जग्गामा पछि बन्ने घर गोदाम समेत सुरक्षण बापत जेथा जमानतको लिखत गराई मालपोत कार्यालय मोरङ मार्फत मिति २०४२।१०।२७ मा दृष्टि बन्धकी पारित गराई लिई सो सम्पत्ति रोक्का राखेको थियो । सो कर्जा रकम गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. ले चुक्ता गरी सकेकोले सो सम्पत्ति फुकुवा गरी पाउँ भनी निवेदकले विपक्षी नं १ लाई मिति २०४४।८।१६, २०४४।८।२७ तथा २०४४।१०।७ मा र विपक्षी नं. २ लाई मिति २०४४।९।२ मा र विपक्षी नं. ३ लाई मिति २०४४।९।५ तथा २०४५।२।१८ मा समेत गरी पटक पटक गरी सम्पर्क समेत राखी फुकुवा गर्न अनुरोध गरेको तथा गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. को यस बैंकसँग हाल कुनै कारोवार नरहेको र सो उद्योगले यस अघि उपभोग गरेको सम्पूर्ण कर्जाको साँवा र व्याज हाल चुक्ता भइसकेको छ भनी विपक्षी नं. १ ले नै प्रमाणित गरी दिएको मिति २०४४।१०।१० को पत्रको प्रतिलिपि तथा गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. ले सो सम्पत्ति फुकुवा गरी दिने भनी विपक्षी नं. १ लाई मिति २०४४।९।२ को पत्रबाट लेखी मलाई दिएको बोधार्थ पत्र समेत पेश गर्दा गर्दै फुकुवा नगरी दुःख दिइयो । यतिकैमा विपक्षी नं. १ को मिति २०४५।४।११ को पत्रसाथ विपक्षी नं. १ कै २०४५।३।८ को पत्र समेत प्राप्त हुन आएको र मिति २०४५।३।८ को पत्रमा तपाईले श्री पशुपति प्याकेजिङ इण्डष्ट्रिज प्रा.लि. को लागि लेखी दिएको लिखतमा, लेखिएको सुरक्षणबाट बैंकको रकम असूल गर्न बाँकी रहेमा सो बाँकी रकम मेरा घर घरानबाट अन्य चल अचल समेतका गैर जायजेथाबाट असूल उपर गरिदिनु भन्ने व्यहोरा उल्लेख भएको र पशुपति प्याकेजिङ इण्डष्ट्रिज प्रा.लि. संग बाँकी कर्जाहरू हालसम्म पनि चुक्ता नभएकोले गायत्री आइरन इण्डजिष्ट्रज प्रा.लि. संगको कर्जा चुक्ता भइसकेको भए तापनि सोको सुरक्षण निमित्त पास गरी दिइराखेको अचल सम्पत्ति फुकुवा गर्न नमिल्ने सूचित गरिन्छ भन्ने उल्लेख भयो ।
३. निवेदकले सुरक्षण बापत जेथा जमानत लेखी दिएको बापतको काम समाप्त भई विपक्षी नं. ४ बाट सम्पूर्ण कर्जाको साँवा र व्याज समेत असूल समेत भइसकेकोले सुरक्षण बापत जेथा जमानत राखेको घर तथा जग्गा विपक्षी नं. १, २, ३ समेतले फुकुवा गरिदिनु पर्ने हो । जमानी गर्नेको ६ नं. को पूर्वावस्था विद्यमान नभएकोले निवेदकले सुरक्षण बापत जेथाजमानी लेखी दिएको घर तथा जग्गा समेतलाई रोक्का राखी राख्ने कुनै कानुनी औचित्य छैन । विपक्षी नं. ४ को कर्जा बापत निवेदकले सुरक्षण बापत राखेको छुट्टै अचल सम्पत्तिलाई पशुपति पैकेजिङ इ.प्रा.लि. को कर्जा बापत फुकुवा गर्न नमिल्ने भनी विपक्षी नं. १ ले पठाएको पत्र जमानी गर्नेको ६ नं. विपरीत छ । लिखतको आधारमा विपक्षी नं. ४ को कर्जा बापत जेथा जमानत राखेको छुट्टै घर तथा जग्गालाई विपक्षी नं. १ ले रोक्का राखी राख्न नमिल्ने हुन्छ । निवेदकले विपक्षी नं. ४ को कर्जाको लागि मिति २०४२।१०।२७ मा लेखी दिएको जेथा जमानत सुरक्षण अन्तर्गतको घर तथा जग्गालाई पशुपति पैकेजिङ इ.प्रा.लि. को कर्जा बापत रोक्का राख्न पाउने अधिकार विपक्ष नं. १, २, ३ समेतलाई छैन । पशुपति प्याकेजिङ इ.प्रा.लि. को कर्जा बापत मिति २०४१।३।१९ मा छुट्टै जेथा जमानत सुरक्षण लिखत गरिदिएको र सो लिखतमा लेखिदिएको उक्त सम्पत्ति र मिति २०४१।३।१९ मा गरिदिएको लिखतका अचल सम्पत्ति एउटै नभई छुट्टा छुट्टै छ । विपक्षी नं. ४ ले विपक्षी नं. १ लाई बुझाउनु पर्ने सम्पूर्ण कर्जाको साँवा र व्याज बुझाई सकेकोले विपक्षी नं. ४ को सो कर्जा बापत निवेदकले सुरक्षा राखेको अचल सम्पत्तिलाई अर्को व्यक्तिको अर्को कर्जा बापत रोक्का राख्न पाउने कानुनी व्यवस्था समेत छैन ।
४. अतः विपक्षी नं. १ को मिति २०४५।३।८ को सूचना तथा सो सम्बन्धी सम्पूर्ण कार्य कारवाही बदनियतपूर्ण तथा गैरकानुनी भएको र त्यस्मा विपक्षी नं. २, ३ को समेत मिलेमतोबाट निवेदकको संविधानको धारा १०(१) ११(२)(ङ) तथा धारा १५ द्वारा प्रदत्त हक समेत कुण्ठित भएको हुँदा सो सूचना तथा तत्सम्बन्धी सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी मिति २०४२।१०।२७ को सुरक्षणको लिखत अन्तर्गत राखेको उक्त सम्पत्ति अविलम्ब फुकुवा गरिदिनु भनी विपक्षी नं. १ तथा २, ३ समेतका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन । यस्मा के कसो भएको हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट आदेश भए अनुसार प्राप्त हुन आएको लिखितजवाफको व्यहोरा निम्नानुसारको रहेछ ।
५. रिट निवेदकको कि.नं. १५१ को घर जग्गा मेरो गायत्री आइरन इण्डष्ट्रिजले ने.बै.लि. संग लिएको २०,००,०००।– ऋण बापत दृष्टिबन्धक दिएकोमा सो सबै साँवा व्याज लिखितजवाफवालाको उद्योगले तिरी सकेको र कुनै ऋण बाँकी छैन । पशुपित प्याकेजिङ इ. प्रा.लि. म लिखितजवाफवालाको उद्योग होइन । निवेदकको उद्योग र पशुपति प्याकेजिङ उद्योगलाई छुट्टा छुट्टै सम्पत्ति दृष्टिबन्धक दिएकोमा लिखितजवाफवालाको उद्योगले ऋण रकम तिरी सकेपछि पनि जमानीको सम्पत्ति फुकुवा नगरी दिनु ने.बैं.लि. को गैरकानुनी कार्य हो । विपक्षीको सम्पत्ति जमानी दिएको ऋण मैले चुक्ता गरी जेथाजमानी फुकुवा गरी निवेदन दिइसकेकोले मलाई विपक्षी बनाई रिटनिवेदन दर्ता गर्नुपर्ने अवस्था छैन भन्ने समेत व्यहोराको प्रत्यर्थी गायत्री आइरन इण्डष्ट्रिज प्रा.लि. को तर्फबाट महावीरप्रसाद गोयलको लिखितजवाफ ।
६. नेपाल बैंक लिमिटेड दुहवीमा पशुपति प्याकेजिङ इण्डष्ट्रिज तथा गायत्री आइरन इण्डष्ट्रिज दुबैले गरेको कारोवारको सिलसिलामा दुबै कम्पनीका डाइरेक्टर निरन्जनकुमार चौधरीले कारोवार गरेका हुन् सोही सिलसिलामा गायत्री आइरन तथा पशुपति प्याकेजिङ दुवैले सुरक्षण बापत विपक्षी रिटनिवेदिकाको अचल सम्पत्ति बैंकलाई दृष्टिबन्धक लेखाई दिएका छन् । विपक्षीको गायत्री आइरन इण्डष्ट्रिजको लागि सुरक्षण बापत लेखी दिँदा आफ्नो राजीखुसीले लेखी दिएको भन्ने व्यहोराका अतिरिक्त कर्जाको सुरक्षण बापत जेथाजमानी लेखी दिएको उल्लेख छ । त्यस्तै पशुपति प्याकेजिङ इण्डष्ट्रिजलाई लेखी दिएको लिखतमा तपसीलमा उल्लेखित जेथा उपरोक्त कर्जाको सुरक्षण बापत दृष्टिबन्धकी लेखी दिएकी छु भनी सोही सुरक्षण वाणिज्य बैंक ऐन बमोजिम बिक्री गरी गराई असूल उपर गराई लिएमा मन्जूर छ, बंैकको रकम असूल उपर नभई बाँकी रहेमा बाँकी रकम मेरो घर घरानाका अन्य चल अचल समेतका जायजेथाबाट असूल उपर गरी लिनु भन्ने समेत व्यहोरा उल्लेख छ । तसर्थ विपक्षीको अन्य जायजेथाबाट पनि पशुपति प्याकेजिङ इण्डष्ट्रिजको कर्जा असूल गर्न सकिने व्यहोरा स्पष्ट छ । एकपटक आफ्नो स्वेच्छाले बैंकलाई लेखी दिएको सम्पत्ति हाल अन्यथा भन्न मिल्ने होइन । पशुपति प्याकेजिङलाई छुट्टै सुरक्षण लेखाई दिएको छ भन्ने आधारमा निवेदकले फुर्सद नपाउने हुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको महाप्रबन्धक नेपाल बैंक लिमिटेड प्रधान कार्यालय समेतका अन्य प्रत्यर्थीहरूको संयुक्त लिखितजवाफ ।
७. नियम बमोजिम निर्णयार्थ पेश भएको प्रस्तुत रिटनिवेदनमा रिट निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र श्री रतनलाल कनौडियाले मेरो पक्षले गायत्री आइरन इण्डष्ट्रिजको लागि बेग्लै घरजग्गा र पशुपति प्याकेजिङको लागि बेग्लै घरजग्गा लेखेको छ । गायत्री आइरन इण्डष्ट्रिजको लागि दिएको कर्जा भुक्तान भइसकेपछि अब सो उद्योगको लागि राखेको सम्पत्ति फुकुवा गरिदिनु पर्छ । मेरो पक्षले रु. ४,१९,०००।– को दृष्टिबन्धक गरी दिएको हो† सो भन्दा बढीको दायित्व मेरो पक्षले व्यहोर्न पर्दैन । छुट्टै उद्योगले लिएको कर्जा बापत गायत्री इण्डष्ट्रिजको निमित्त रहेको सम्पत्ति रोक्न मिल्ने होइन । वाणिज्य बैंक ऐनको दफा ४७क. मा भएको व्यवस्थानुसार पनि पशुपति प्याकिङ इण्डष्ट्रिजलाई लेखिदिएको सुरक्षण बिक्री गर्न सक्छ र त्यसरी बिक्री गर्दा नपुग भएमा मेरो पक्षले अरुजेथा बिक्री गर्न सकिन्छ तर विवादित सम्पत्ति गायत्री आइरन इण्डष्ट्रिज अन्तर्गत सुरक्षण राखिएको हुँदा त्यसलाई रोक्का राख्न वा बिक्री गर्न मिल्ने होइन भनी र प्रत्यर्थी नेपाल बैंक लिमिटेडका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले विपक्षी स्वयं आगे भई आफ्नो राजीखुशीबाट लिखत गरिदिएको हो बैंकलाई यस्तो लिखत भइसकेपछि अ.बं. २४ नं. र प्रमाण ऐनको दफा ३४ ले अन्यथा भन्न मिल्दैन । मिति २०४१।३।१८ को लिखतमा सुरक्षण बापत दृष्टिबन्धक लेखी दिएको देखिन्छ । निवेदकबाट पशुपति प्याकेज इण्डष्ट्रिजको रुपैयाँ बुझाएको छु भनेको पाइदैन । साँवा व्याज र अन्य रकम समेत बुझाउने र नपुग भएमा अन्य जेथा समात्नु भनेकोले सो नाताबाट गायत्री आइरन इण्डष्ट्रिजको लागि राखिएको सुरक्षण रोक्का रहेको हो । यस्तो स्थितिमा रोक्का राख्न मिल्ने हुन्छ । २०४१ सालको लिखत बमोजिम अन्य सम्पत्ति लिन सकिने र कर्जा चुक्ता नभएसम्म गायत्री आइरन इण्डष्ट्रिजको सम्पत्ति रोक्का रहेको हुँदा माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन निवेदन खारेज होस् भन्ने बहस प्रस्तुत गर्नु भयो ।
८. प्रस्तुत रिटनिवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन सो कुराको निर्णय दिनु पर्ने हुन आयो ।
९. यस्मा निर्णयतर्फ विचार गर्दा, मिति २०४२।१०।२७ मा निवेदक उमा अग्रवालले गायत्री आइरन इण्डष्ट्रिजका लागि रै.नं. १५१ को ०–२–१ जग्गा र सो मा बनेको घर तथा पछि बन्ने घर समेतका लागि आफ्नो घर जग्गा नेपाल बैंक लिमिटेडलाई सुरक्षण बापत जेथाजमानी लेखी दिएको पाइन्छ । उक्त लिखतमा लेखिएको सुरक्षणको घर जग्गा र श्री पशुपित प्याकेजिङ इण्डष्ट्रिज प्रा.लि. का लागि २०४१।३।१८ मा सुरक्षण बापत दृष्टिबन्धक लेखी दिएको कि.नं. ९९६ मा अवस्थित घर जग्गा बेग्ला बेग्लै भएकोमा विवाद देखिन्न । गायत्री आइरन इण्डष्ट्रिजको कर्जा लिएको रुपैयाँ चुक्ता भइसकेको कुरामा समेत विवाद छैन ।
१०. पशुपति प्याकेजिङ इण्डष्ट्रिजले कर्जा बापत बैंकबाट लिएको रुपैयाँ चुक्ता नभएकोले सो बाँकी कर्जामा गायत्री आइरन इण्डष्ट्रिजको कर्जा चुक्ता भए तापनि गायत्री आइरन इण्डष्ट्रिजको लागि सुरक्षणमा राखिएको उक्त अचल सम्पत्ति फुकुवा गर्न नमिल्ने भन्ने प्रत्यर्र्थी नेपाल बैंक लिमिटेडको भनाई देखिन्छ । मिति २०४१।३।१९ मा भएको लिखत हेर्दा सुरक्षण कच्चा ठहर भई बिक्री हुन सकेन वा बिक्री गर्दा पनि बैंकको रकम उपर नभई बाँकी रहेमा सो बाँकी रकम मेरो घर घरानाबाट असूल उपर गर्नु भन्ने बोली परेको देखिन्छ । मिति २०४१।३।१९ मा राखिएको सुरक्षण बिक्री भई सो मा बाँकी देखिएको रकम यति भन्ने देखिँदैन । मिति २०४१।३।१९ मा राखिएको सुरक्षण बिक्री गर्दा कर्जा चुक्ता पनि हुन सक्दछ, नहुन पनि सक्दछ तर एउटा इण्डष्ट्रिजको लागि राखिएको सुरक्षण सो इण्डष्ट्रिजको कर्जा चुक्ता भइसकेपछि अर्को इण्डष्ट्रिजको कर्जा बाँकी भएको नाताबाट सो फुकुवा नगरी रोक्का राख्न या त कुनै कानुनले अधिकार दिएको हुनुपर्छ या पक्ष विपक्षको बीचमा भएको मन्जूरी लिखतले अधिकार दिएको हुनुपर्छ । तर गायत्री आइरन इण्डष्ट्रिजको कर्जा बापत दिएको सुरक्षण पशुपति प्याकेजिङ इण्डष्ट्रिजको कर्जा चुक्ता नभएसम्म त्यस्तो सुरक्षण रोक्का राख्न निवेदकले मन्जूरी दिएको पाइन्न । साथै एउटा इण्डष्ट्रिजको लागि दिएको सुरक्षण सो को कर्जा भुक्तान भएपछि अर्को इण्डष्ट्रिजको लागि दिएको कर्जाको सम्बन्धमा रोक्न पाउने कानुनी अधिकार भएको पनि पाइन्न । पशुपति प्याकेजिङ इण्डष्ट्रिजको लागि सुरक्षण राख्दा साँवा व्याज बुझाउन नपुग भएमा अन्य जेथाबाट असूल गर्नु भनी लेखी दिएको नाताबाट गायत्री आइरन इन्डष्ट्रिजको लागि राखिएको सुरक्षण जेथा पशुपति प्याकेजिङ इण्डष्ट्रिजको लागि त्यस्तो सम्पत्ति रोक्का राख्छु भन्न मिल्ने होइन । सम्पत्ति फुकुवा नगरी रोक्का राख्नु र बाँकी नपुग रकममा घर घरानाबाट उक्त रकम असूल गर्ने बेग्ला बेग्लै कुरा एवं कार्यविधि हो । अतः नेपाल बैंक लिमिटेड दुहवीले रोक्का राख्ने सम्बन्धमा मिति २०४५।३।८ मा दिएको सूचनापत्र समेतको सम्पूर्ण कारवाही त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । गायत्री आइरन इण्डष्ट्रिजका सम्बन्धमा निवेदकले दिएको सुरक्षण बापतको घर जग्गा रोक्का राख्न नमिल्ने हुँदा सो २०४२।१०।२७ को सुरक्षण अन्तर्गतको अचल सम्पत्ति फुकुवा गरिदिनु भनी प्रत्यर्थी नेपाल बैंक लिमिटेड दुहवी शाखा समेतका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. महेशरामभक्त माथेमा
इति सम्वत् २०४६ साल मंसीर १३ गते रोज ३ शुभम् ।