निर्णय नं. ३९२४ - उत्प्रेषण

निर्णय नं. ३९२४ ने.का.प. २०४६ अङ्क ८
संयुक्त इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
सम्वत् २०४५ सालको रिट नं. १२६८
आदेश भएको मिति : २०४६।७।९।४ मा
निवेदक : का.न.पं. वडा नं. २८ बाड्डेमुडा बस्ने सप्तरत्न स्थापित
विरुद्ध
विपक्षी : ललितपुर गुठी तहसिल तथा खर्च कार्यालयसमेत
विषय : उत्प्रेषण
§ निर्णय उपर पुनरावेदन लाग्ने कानुनी व्यवस्था छँदै कानुन बमोजिम पुनरावेदन गर्न नगई बसी पछि पर्न आएको यो रिटनिवेदन खारेज हुने ।
(प्रकरण नं. १०)
रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठ
आदेश
न्या. हिरयेश्वरमान प्रधान : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. ल.पु. गुठी तहसिल तथा खर्च कार्यालयबाट मिति २०४५।६।९ को पत्रमा ल.पु.न.पं. वडा नं. १ (ज) को कि.नं. ४६ को ०–४–२ जग्गा गंगा देवी राजभण्डारीले रैकर दर्ता गरी बिक्री गरेको सम्बन्धमा कारवाही हुँदा उक्त लेखिएको जग्गा गुठी संस्थान ऐन, २०३३ को संशोधन सहितको दफा ३९ बमोजिम रैकरको लगत कट्टा गरी गुठी कायम गरिएको गुठी संस्थान केन्द्रीय कार्यालयको २०४५।५।२७ को निर्णय अनुसार जानकारी गराइएको छ भन्ने पत्र २०४५।१०।२३ गते म निवेदकको घर दैलोमा टाँस गरिएछ ।
३. उक्त जग्गामा गुठी संस्थानको कुनै अधिकार छैन । २००८।६।१२।६ मा गंगादेवी राजभण्डारीका बाबु माधवलालले गरिदिएको शेषपछिको बकसपत्रबाट बाबु माधवलाल परलोक भई गंगादेवीको नाउँमा भु.प्र.ल.पु. मौजाबाट २८९४ नं. मा दर्ता भएको ल.पु.न.पं. वडा नं. १(ज) अन्तर्गत नापी भई कि.नं. ४६ कायम भई निज गंगादेवीको एकलौटी हक भएको सो जग्गा र त्यस्मा बनेको घरसमेत गंगा देवीसंग मिरादेवी श्रेष्ठनीले २०२६।१२।२१ मा फार्छे राजीनामा गरिलिएको २०२६।१२।३१ मा दा.खा. समेत भएको उक्त जग्गा मिरादेवीसंग २०२८।१०।५ मा रु. २५,०००।– मा फार्छे राजीनामा गराई लिई म निवेदकको हक भोग भई २०२९ सालमा ल.पु.न.पं. बाट नक्शा पास गरी घर समेत बनाई ज.ध.द.प्र.पु. प्राप्त गरी तिरो भोग गरिआएको मेरो एकलौटी जग्गालाई गुठी अन्तर्गत दर्ता गरिएको त्रुटिपूर्ण छ उक्त जग्गा कित्ताकाट भई कि.नं. १८९ र तत्पश्चात कि.नं. २२५ मा परिवर्तन समेत भइसकेको छ ।
४. यस अघि २०४४।८।१३ मा पनि म निवेदकलाई उक्त जग्गा सम्बन्धी विवादमा गुठी संस्थान केन्द्रीय कार्यालयमा उपस्थित भई निराकरण समेत भएकोमा तत्पश्चात विपक्षी चुप रही अचानक २०४५।५।२७ को निर्णय भन्दै मेरो प्रमाणको निराकरण नगरी एकलौटी गरेको निर्णय त्रुटिपूर्ण छ । उक्त विवादित जग्गा मध्ये ०–१–३ जग्गा बागमती पुल देखि जावलाखेलको बाटो निर्माणको बेला अधिग्रहणमा परेकोमा मुआब्जा सम्बन्धमा विपक्षी समेतले विवाद उठाई निर्णय हुँदा मुआब्जा मैले पाएकोमा सो निर्णय उपर कारवाही नचलाई विपक्षी बसेकाले एकपटक उक्त जग्गा सम्बन्धी विवाद टुंगो लागी सकेपश्चात पछि आएर गरेको गुठी संस्थानको निर्णय अनाधिकार हुनुका अतिरिक्त प्रमाण ऐन, २०३१ को दफा ३४ तथा दफा ५४ को समेत प्रतिकूल हुन गई नेपालको संविधानको धारा १०, ११(२)(ङ), १५ द्वारा प्रदत्त हकमा आघात परेकोले धारा १६।७१ बमोजिम गुठी संस्थान केन्द्रीय कार्यालयको २०४५।५।२७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम गर्नु भनी परमादेश समेत जारी गरिपाउँ भन्ने रिटनिवेदन जिकिर ।
५. यस्मा के कसो भएको हो ? रिट निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको आदेश ।
६. बागमती पुल गुठीमा दरिएको ल.पु.न.पं. वडा नं. १(ज) कि.नं. ४६ को ०–४–२ जग्गा पिता गौरीलालको भागमा आधा र गंगादेवी राजभण्डारीको भागमा आधा परेकोले सो को लाग्ने कूत बुझाई आएकोले उक्त कित्ता मध्ये आधा हामीहरूका नाउँमा दर्ता गरिपाउँ भन्ने बद्रीलाल, केशवलाल, सनकलाल र रामलालको निवेदन परेकोमा पेश भएका रसीदबाट उक्त गुठी नं. ५९क. को उल्लेखित कित्ता कायम भई ०–१–२–१ जग्गाको बाली निवेदकहरूबाटै बुझाउने गरिआएका र उक्त जग्गाको ज.ध.प्र.पुर्जा माग गर्दा २०२५।५।१७ को निर्णयले गंगादेवी राजभण्डारीले सहारत्न स्थापितलाई बिक्री गरिदिएको भन्ने मा.पो.का.ल.पु. बाट लेखी आएको उल्लेखित कित्ता मध्ये ०–१–२–१ जग्गा बाजे जगतबहादुर र बाबु सन्तबहादुर समेत परलोक भई हाम्रो हक हुन आएकोले ज.ध.प्र. पुर्जा पाउँ भन्ने यादवकुमार र माधवप्रसाद अमात्यको निवेदन साथ बाली बुझाएको रसीद समेत प्राप्त हुन आएको गंगादेवीको वारेशले बाबु बाजेका पालामा भएको कागज केही नजान्ने भएकोले रैकरमा दर्ता गरेको हो प्रमाण केही छैन भनी २०४४।१।२२ मा कागज गरिदिएका । रैकरमा परिणत बिक्री वितरण गरेको बारे यी विपक्षी बुझ्दा मैले खरीद गरी लिई अविछिन्न भोगचलन गरी मालपोत बुझाई आएको जग्गा हो भन्ने कागज गरिदिई ज.ध.प्र.पु. को फोटोकपिसमेत पेश गरेको ।
७. गुठी संस्थान ऐन, २०३३ को संशोधन सहितको दफा ३९ बमोजिम लगत श्रेस्ता समेतको आधारमा गुठी जग्गा देखिन आएकोले रैकरमा दर्ता गरेको लगत कट्टा गरी गुठी नै कायम गर्ने निर्णय उपर चित्त नबुझे अञ्चल अदालतमा पुनरावेदन गर्न सक्नेमा रिट माग गर्न आएको मिलेको नहुँदा रिटनिवेदन खारेज गरिपाउँ भन्ने समेत गुठी संस्थान तथा ललितपुर गुठी तहसिल तथा खर्च कार्यालयको संयुक्त लिखितजवाफ ।
८. नियम बमोजिम पेश हुन आएको प्रस्तुत विषयमा रिट निवेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको र विद्वान अधिवक्ता श्री शिवकुमार श्रेष्ठको बहस जिकिर समेत सुनियो । विपक्षी गुठी संस्थान केन्द्रीय कार्यालयलाई आजको पेशीको सूचना दिएको फायलबाट देखिएकोमा उक्त कार्यालयतर्फबाट प्रतिनिधित्व गर्न इजलास समक्ष कोही उपस्थित भएको पाइएन ।
९. प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।
१०. यस्मा निवेदक तर्फबाट गुठी संस्थानबाट भएको कारवाहीमा मेरो बाँकी कित्ता गुठी कायम गरिपाउँ भन्ने वादी खडा भई उजूर नपरेको हुँदा सो बेगर गुठी संस्थान ऐन, २०३३ को दफा ३९(२) मा दफा ३९(१) अन्तर्गत भएको गुठी संस्थानको निर्णय भए पनि पुनरावेदन गर्न नमिल्ने हुँदा प्रस्तुत रिटनिवेदन सो अन्य उपचारको आधारमा खारेज हुन नपर्ने भन्ने बहस जिकिर समेत सुनी सर्वप्रथम यो रिटनिवेदन लाग्ने नलाग्ने के हो भन्ने तर्फ विचार गरेमा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ मा भएको व्यवस्थाबाट गुठी जग्गा वा अरु रैकरमा दर्ता भए तापनि गुठीको जग्गा घर भन्ने गुठीको स्रेस्ताबाट वा लालमोहर, खड्गनिसाना, ताम्रपत्र, शिलटपत्र आदिबाट देखिन आई प्रभावित हुन आएमा प्रशासकले त्यस्तो जग्गा वा घर गुठीमा दर्ता गर्न सक्नेछ र सो जग्गा घरको रैकरमा दर्ता भएको लगत कट्टी हुने र गुठी संस्थानको सो निर्णय उपर सोही दफाको उपदफा २ मा भएको व्यवस्थाले गुठी संस्थानको सो निर्णय उपर अञ्चल अदालतमा ३५ दिन भित्र पुनरावेदन लाग्ने व्यवस्था पनि गरेको देखिन आएको छ । ऐनको उक्त व्यवस्थाले गुठी संस्थानले गर्ने सो कारवाही र निर्णयमा बहस जिकिर बमोजिम गुठी संस्थान बाहेकका अरु गैह्र व्यक्ति वादीको रुपमा खडा भई उजूर दिनपर्ने कुनै व्यवस्था नगरेकोबाट गुठी संस्थान आफैंले पनि कुनै गुठी जग्गा घर रैकरमा दर्ता गराएको भनी देखेमा आफैंले कारवाही गरी निर्णय गर्नसक्ने र त्यस्तो निर्णय उपर पुनरावेदन लाग्न सक्ने स्पष्ट छ । तर प्रस्तुत विवादको कारवाहीमा विवादको जग्गा गुठीको हुँदा हाम्रा नाउँमा दर्ता गरिपाउँ भन्ने यादवकुमार समेतको निवेदन परी सोबाट निवेदकहरू समेत बुझी गुठी संस्थानबाट गुठी संस्थान ऐन, २०३३ को दफा ३९ अन्तर्गत निर्णय भएको लिखितजवाफबाट देखिन आएकोले पनि बहसको उक्त जिरह मनासिब मान्न नमिलेकोले गुठी संस्थानको निर्णय उपर पुनरावेदन लाग्ने कानुनी व्यवस्था छँदै कानुन बमोजिम पुनरावेदन गर्न नगई बसी पछि पर्न आएको यो रिटनिवेदन खारेज हुने ठहर्छ । फायल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०४६ साल कार्तिक ९ गते रोज ४ शुभम् ।