शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९२५ - खिचोला समेत

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९२५    ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ६६३

फैसला भएको मिति :      २०४६।७।२०।१ मा

पुनरावेदक/प्रतिवादी   : का.न.पं. वडा नं. २७ त्यौड तननी बस्ने तुल्सीनारायण डंगोल

विरुद्ध

विपक्षी/वादी : ऐ. ऐ. बस्ने रत्नेश्वरी मल्लको मु.स. गर्ने बद्रीराज मल्ल

मुद्दा : खिचोला समेत

§  जग्गा नापजाँच भई स्रेस्ता तयार भएको मितिलाई नै मुद्दा गर्नुपर्ने कारण परेको मान्नु पर्ने ।

(प्रकरण नं. १५)

पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठ

फैसला

     न्या. हिरण्येश्वरमान प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतलको मिति २०४४।२।३१ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    काठमाडौं जिल्ला काठमाडौं नगरपञ्चायत वार्ड नं. २७ त्यौड तननीको पूर्व विपक्षीहरूकै घर, पश्चिम मेरै श्री इन्द्रमुनी देवीको घर, उत्तर न्हुच्छेमान महर्जनको घर किलास, दक्षिण श्री बाबुकाजी महर्जनले भोगी आएको जग्गा यति ४ किल्ला भित्रको ढलापात जग्गा विपक्षीहरूको र मेरो समेत संजिया भई आई रहेकोमा विपक्षीहरूको दाजु भाइ भिन्न हुँदा विपक्षीहरू मध्ये तुल्सीनारायण महर्जनले मेरो घरले च्यापिएको ढलापात जग्गा मध्येमा मेरा हक तर्फ मैले नै घर बनाउने छु र तपाईको हक तर्फ तपाईले नै घर बनाई मलाई नै बहालमा दिनुहोस या मैले नै बनाउने छु र श्री इन्द्रायणी देवीको काममा समेत रेखदेख गरी दिनेछु भनी मिति २०२४।१२।१५।५ मा दिएको दर्खास्तनुसार घर बनाउनलाई जग्गा नाप जाँच गर्दा विपक्षी तुल्सीनारायणको घर साँध सरहको निजको घरले च्यापिएको पेटी बाहेक गरी ढलापात मात्र पूर्व पश्चिम ७ फुट ४ ईन्ची र उत्तर दक्षिण ९ फुट भएको थियो । सो मध्ये आधि ३ फुट ८ ईन्च विपक्षी तुल्सीनारायणको भागको निजले र मेरो भागको ३ फुट ८ ईन्ची लम्बाई ९ फुट चौडा भएको जग्गामा मैले घर उठाउँदा गारो एउटै जस्तो देखाई मिलाई बनाई ल्याएको थिएँ । सो बनाई सकेपछि निज विपक्षी तुल्सीनारायण महर्जनलाई नै महीना १ को रु. १५।का दरले बहाल लिने गरी मिति २०२५।८।२७ मा कबूलियत लेखाई निजलाई नै बहालमा दिई आई रहेकोमा उक्त जग्गा समेत नाप जाँचमा विपक्षी तुल्सीनारायणले निजकै स्वबासी घरमा गाभी कि.नं. ९९८ मा स्वबासी दर्ता गरी ज.ध.प्र.पुर्जा लिइसकेको भन्ने बुझिएकोले सो बदर गरी मेरो ३ फुट ८ ईन्ची लम्बाई ९ फुट चौडाको घरको छुट्टै कित्ता काट गरी मेरो कि.नं. १००० को घरमा समावेश गर्नुका साथै माथि उल्लेखित कबूलियत बमोजिमको घरको बहाल समेत नदिएकोले मिति २०३८।१।१ गते देखि फिराद दावी तक ९ महीनाको बहाल भराई खिचोला मेटाई अड्डैबाट चलन चलाई पाउँ र विपक्षीका भाइ चैत्यनारायण महर्जनले माथि उल्लेखित ४ किल्ला भित्रका ढलापात मध्ये उत्तरतर्फ पूर्व पश्चिम २ फुट उत्तर दक्षिण ६ फुट भएको जग्गामा निजलाई असजिलो भएको भनेकोले बाटाको निमित्त भाग गर्दा मैले निजलाई भर्‍याङ्ग राख्नु निमित्त श्री इन्द्रायणी देवीको सपोहुती होम आदीमा रेखदेख गरी परेको काम समेत गरिदिने छु भनेबाट निजलाई मोहिया हक तुल्याई दिएकोमा निजकै आफ्नो कि.नं. ९९७ मा गाभी स्वबासी जनाई ज.ध.प्र.पुर्जा समेत लिई मोल रु. ४०।जाने १ दाम जग्गा खिचोला गरेकोले बदर गरी मेरो कि.नं. १००० को घरमा नै समावेश गरिपाउँ भन्ने समेत व्यहोराको रत्नेश्वरी मल्लले मिति २०३८।१०।१९।२ मा गरेको फिरादपत्र ।

      ३.    मैले विपक्षीको हकको जग्गामा घर बनाएको तथा विपक्षीलाई बहाल बुझाउने गरी घरमा बसेको समेत कुनै कुरो होइन । विपक्षीले घर बनाएको भन्ने कुनै लिखित सबूद प्रमाण छैन । मेरो घर बनेको जग्गा मेरो स्वबासी भोगचलन र बसोवासको जग्गा हुँदा एउटा फिरादमा विभिन्न झुठ्ठा दावी लिई गरेको फिराद खारिज हुनुपर्दछ भन्ने समेत व्यहोराको तुल्सीनारायण डंगोलले मिति २०३९।१।२९।४ मा दिएको प्रत्तिउत्तरपत्र ।

      ४.    फिराद दावीको ४ किल्ला भित्रको ढलापत मध्ये उत्तर तर्फको पूर्व पश्चिम २ फुट उत्तर दक्षिण ६ फुट भएको जग्गा मलाई बाटोको निमित्त असजिलो भएकोले मैले श्री इन्द्रायणी देवीको काममा रेखदेख गर्ने गरी लिखतनामा लेखी दिएको छु । नापी आउँदा म नभएकोले मात्र मेरो स्वबासीमा दर्ता हुन गएको हो । तर उक्त जग्गा मेरो मोहियानी मात्र हो जग्गाधनी रत्नेश्वरी नै हुन् भन्ने समेत व्यहोराको चैत्यनारायण डंगोलले मिति २०३९।३।२९।३ मा दिएको प्रतिउत्तरपत्र ।

      ५.    मिति २०२५।८।२७ गतेको सक्कल कबूलियत देखें सुनें, सो कबूलियतमा लागेको ल्याप्चे तुल्सीनारायण को हो र निजलाई झुक्याई सहिछाप गराएको हो भन्ने समेत तुल्सीनारायणको वा.ईश्वरलालले गरेको बयान ।

      ६.    प्रतिवादीको बयान बमोजिम झुक्याई सहिछाप गराएको होइन भन्ने समेत व्यहोराको वादी वा.लिलाकृष्णको बयान ।

      ७.    गुठीको जग्गामा कबूलियत बमोजिम प्रतिवादी कै भोगचलन गरेको देखियो उक्त कबूलियत बमोजिम बसेको घरबाट निकाली पाउँ भन्ने वादीको दावा नहुँदा र साझा गुठीको जग्गामा वादी एक्लैको नाउँमा दर्ता गरिपाउँ भन्ने दावासम्म नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतबाट मिति २०४०।११।२९।२ मा भएको फैसला ।

      ८.    विवादको जग्गा साझा भनी मैले पनि नभनेको र विपक्षीले समेत भनेको छैन । त्यसरी मेरा नाउँको इन्द्रायणी गुठीको जग्गा भनेको अवस्थामा समेत वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको फैसला अन्यायपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत व्यहोराको वादीले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

      ९.    विवादास्पद घरको नाप नक्शा हुँदा पनि सो घरमा जान वादीको ढोका र भर्‍याङ्ग समेत नभएको र प्रतिवादीको घरसंग जोडिएको घरमा प्रतिवादीले भोग गरी दर्ता समेत भएको जग्गामा बनेको घरमा गुठीको जग्गा भन्ने कुनै सबूद पनि वादीले गुजार्न पनि नसकेको अवस्थामा प्रतिवादीले कबूलियत बमोजिम भोगचलन गरेको देखियो भन्न कानुनसंगत र तर्क संगत नहुँदा सो हदसम्म बदर गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तुल्सीनारायण डंगोलले बागमती अञ्चल अदालतमा गरेको पुनरावेदनपत्र ।

      १०.    मिति २०३४।९।२६।२ मा नापीमा स्ववासी भनी लेखाएका बखत नै वादीलाई जानकारी भइसकेकोमा मिति २०३८।१०।१९ मा मात्र फिराद परेको हुँदा ज.मि.को १८ नं. को म्याद नाघी नालिश दायर भएको देखिँदा त्यस्तो हदम्याद नाघी परेको फिरादबाट इन्साफ गरेको शुरुको फैसला बदर हुने ठहर्छ र अ.बं. १८० नं. बमोजिम फिराद खारिज हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट मिति २०४१।८।१८।२ मा भएको फैसला ।

      ११.    बा.अं.अ. को उक्त फैसला उपर म.क्षे.अ. मा वादीको पुनरावेदन परेकोमा जग्गा नाप जाँच ऐन, २०१९ बमोजिमको दफा ८(२) दर्ता पुर्जा वितरण भएको मितिले १२० दिन भित्र तोकिएको अधिकारी समक्ष उजूर गर्न सक्ने सो म्याद भित्रै खिचोलामा अदालत प्रवेश गरेको देखिँदा जग्गा नाप जाँच भएकै मितिलाई खिचोला मिति कायम गरी खारेज गर्ने ठहर्‍याएको बा.अं.अ. को फैसला मिलेको नदेखिँदा बदर हुन्छ । कानुन बमोजिम पुनरावेदन किनारा गर्नु भनी दुवै पक्षलाई बागमती अञ्चल अदालतको तारेख तोकी मिसिल समेत पठाई दिनु भन्ने समेत म.क्षे.अ. को २०४४।२।३१।१ को फैसला ।

      १२.   म.क्षे.अ. को उक्त फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी तुल्सीनारायण डंगोलको यस अदालतमा पर्न आएको निवेदनपत्र ।

      १३.   म.क्षे.अ. को फैसला स.अ. बाट प्रतिपादित दुर्गेन्द्रबहादुर निरौला विरुद्ध बलबहादुर निरौला भएको जग्गा दर्ता बदर मुद्दामा ने.का.प. २०३७, अङ्क १० पृष्ठ २३६ मा प्रकाशित सिद्धान्त समेतको व्याख्यामा त्रुटि गरी गरेको देखिन आएकोले न्या. प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५) (ख)(ग) तथा उपदफा (७) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको २०४४।७।२५।४ को आदेश ।

      १४.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री रामकुमार श्रेष्ठको बहस सुनी विपक्षी वादीलाई रोहवरमा राखी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन किनारा गर्नु भनी बा.अं.अ. मा पठाउने गरेको म.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

      १५.   यस्मा पुनरावेदकका तर्फबाट यस अदालतबाट २०३६ सालको दे.फु.नं. ३६ मा प्रतिपादित पूर्ण इजलासको नजीर समेतको आधारमा प्रस्तुत फिराद थाहा पाएका मितिले जग्गा मिच्नेको १८ नं. को म्याद भित्र नपरेको र जग्गा नाप जाँच ऐन, २०१९ अन्तर्गत नापीमा पनि उजूर नपरेकोबाट खारेज हुनुपर्ने भन्ने मुख्य जिकिर लिएको हकमा बहसमा देखाइएको पूर्ण इजलासबाट प्रतिपादित उक्त नजीरबाट पनि जग्गा (नाप जाँच) ऐन, २०१९ अन्तर्गत उजूर नगरे पनि उजूर दिन सकिने कुरालाई मान्यता दिइएकोबाट प्रस्तुत मुद्दामा जग्गाको कुरामा जग्गा (नाप जाँच) ऐन, २०१९ अन्तर्गत उजूर नगरेकोबाट यो फिराद लाग्न नसक्ने भन्न मिल्ने देखिएन । अब जग्गा मिच्नेको १८ नं. अन्तर्गत म्याद भित्र प्रस्तुत फिराद परे नपरेतर्फ विचार गरेमा प्रस्तुत गरिएको नजीरबाट जग्गामा मुद्दा गर्नुपर्ने कारण परेको मितिबाट जग्गा मिच्नेको १८ नं. को म्यादभित्र नै फिराद दिनु पर्ने भनी जग्गाको स्रेस्ता तयार भएपछि मुद्दा गर्नुपर्ने कारण परेको मान्नु पर्ने भन्ने ठहर भइरहेको देखिएकोले सो नजीरबाट प्रतिपादित सिद्धान्तको आधारमा प्रस्तुत फिराद जग्गा मिच्नेको १८ नं. को म्यादभित्र छ छैन भन्ने तर्फ हेरिएमा २०३४।९।२७ पछि लागू रहेको ज.मि. को १८ नं. मा जग्गाको कुरा थाहा पाएको मितिले ६ महीनाभित्र उजूर गर्नुपर्ने व्यवस्था गरेकोबाट पनि आफ्नो जग्गा अरुको नाउँमा दर्ता भई मुद्दा गर्नुपर्ने कारण परेको थाहा पाएको मितिले ६ महीनाभित्र उजूर गर्नुपर्ने व्यवस्था गरेको स्पष्ट छ । प्रस्तुत गरिएको नजीरबाट मुद्दा गर्नुपर्ने कारण जग्गा नाप जाँच भई स्रेस्ता तयार भएको मितिलाई मान्नु पर्ने भन्ने भएकोले प्रस्तुत मुद्दामा पनि जग्गा नाप जाँच भई स्रेस्ता तयार भएको मितिलाई नै मुद्दा गर्नुपर्ने कारण परेको मान्नु पर्ने हुन आएको र जग्गा नाप जाँच भई स्रेस्ता तयार भई २०३८।९।१४ मा ज.ध.प्र. पुर्जा वितरण भई प्रतिवादीले ज.ध.प्र.पु. पाएपछि वादीलाई मुद्दा गर्नुपर्ने कारण परेको मान्नु पर्ने र सो मितिबाट प्रस्तुत फिराद ज.मि. को १८ नं. को म्याद ६ महीना भित्रै मिति २०३८।१०।१९ मा परेको देखिएकोले इन्साफ तहकिकात गर्न बा.अं.अ. मा पठाएको सम्म म.क्षे.अ. को निर्णय मनासिब ठहर्छ । कोर्टफी रही पुनरावेदन दायर गरेको देखिँदा केही गरी रहनु परेन । रुजु पक्षलाई तारेख तोकी मिसिल नियम बमोजिम गरी बा.अं.अ. मा पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल कार्तिक २० गते रोज १ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु