शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९२६ - लागू औषध

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९२६     ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४४ सालको फौ.पु.नं. ५८८

फैसला भएको मिति :      २०४६।७।२।४ मा

पुनरावेदक/वादी : प्र.ना.नि. सिताराम विष्टको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : पोखरा न.पं. वडा नं. ६ बस्ने पूर्णबहादुर परियार

मुद्दा : लागू औषध

§  चरेशलाई पनि गाँजा भित्र लिनु पर्ने ।

(प्रकरण नं. १४)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी

फैसला

     न्या. हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।८।१९ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    मिति २०४४।५।२१ गतेका दिन पोखरा न.पं. वडा नं. ६ वैदामतर्फको वस्तुस्थिति बुझ्न जाँदा ऐ. बस्ने पूर्णबहादुर परियारको घर कोठामा अवैध लागू औषध चरेस समेत भएको भन्ने कुरा विशेष सुत्रबाट बुझिन आएको हुँदा निजको घर कोठा खानतलासी गर्न आवश्यक व्यवस्था समेत हुनको लागि प्रतिवेदन पेश गरेको छु भन्ने समेत प्र.ना.नि. सिताराम विष्टको जि. प्र.का. कास्कीमा २०४५।५।२१ मा प्रतिवेदन ।

      ३.    पूर्णबहादुर परियार बस्ने गरेको घर कोठा खानतलासी गर्दा सिमेन्टको बोरा माथि सलाइको थाली बट्टामा २५ ग्राम चरेश र गाँजा २५ ग्राम र सोही कोठामा रहेका बाकसहरू मध्ये टिनको १ बाकसमा हेर्दा १२ बोर बन्दुकको मेडइन इण्डिया लेखिएको १ नम्बर करतोस टोटा थान १ फेला परेको भन्ने समेत व्यहोराको २०४४।५।२१ को खानतलासी र बरामदी मुचुल्का ।

      ४.    मिति २०४४।५।२१ गतेका दिन पूर्णबहादुर परियारको घर खानतलासी गर्दा निज बस्ने घर कोठा अवैध लागू औषध चरेश २५ ग्राम, गाँजा २५ ग्राम १२ बोर बन्दुकको इण्डिएन १ नं. को टोटा थान १ समेत फेला परेको हुँदा मौकामा बरामदी मुचुल्का गरी पूर्णबहादुर परियारलाई पक्राउ गरी उल्लेखित बरामद गरिएका लागू औषध समेत यसैसाथ पेश गरेका छौं भन्ने समेत प्र.ना.नि. कर्णध्वज थापा समेतले मिति २०४४।५।२२।२ मा जि. प्र. कार्यालयमा दिएको प्रतिवेदन।

      ५.    २०४४।५।२१ गतेका दिन मेरो घर कोठाबाट चरेश २५ ग्राम र २५ ग्राम गाँजा १२ बोर बन्दुकको पिठमा मेडइन इण्डिया लेखिएको १ नं. को साबुद टोटा थान १ समेत प्रहरीले बरामद गरी ल्याएका हुन् चरेशको कारोवार केही महिना अघि देखि मैले गर्न थालेको हुँ । यो चरेश १ जना अपरिचित व्यक्तिसंग १०० ग्रामको रु. २००।मा खरीद गरी लिएको थिएँ सो चरेश मेरै लजमा आउने जाने विदेशीहरूलाई सेवन गर्न प्रतिग्राम रु. ४।५।नाफा निकाल्ने गरी बिक्री वितरण गर्ने गरिआएको थिएँ । सोही मध्ये बाँकी २५ ग्राम चरेश बरामद भएको हो । २५ ग्राम गाँजाको हकमा मेरै घरमा उत्पादन भई गाई भैंसीलाई खोरेतको रोग र पातलो छेर्ने रोगको औषधिको रुपमा प्रयोग गर्न राखेको हुँ । सो बाहेक अन्य गाँजा संचित पनि छैन र कसैलाई बिक्री वितरण गर्ने गरिआएको पनि छैन । टोटा थान १ समेतको हकमा २३ वर्ष अगाडि नामथर वतन थाहा नभएको साथीहरू हाँस मार्ने शिकार खेल्न आएका बखत देखि नै मसंग रही आएको रहेछ । उक्त बन्दुक टोटाहरू अवैध किसिमबाट ल्याई राखेको पनि होइन यो खरखजाना प्रयोग गरी जीव जन्तुलाई शिकार गरी हानी नोक्सानी गरे गराएको छैन र खरखजाना राख्ने इजाजत समेत लिएको छैन भन्ने समेत पूर्णबहादुर परियारले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०४४।५।२२ मा गरेको बयान कागज ।

      ६.    मिति २०४४।५।२१ गतेको दिन पूर्णबहादुर परियारको घर कोठा प्रहरीले खानतलासी गर्दा चरेश २५ ग्राम, गाँजा २५ ग्राम, टोटा गोली १ समेत बरामद भएको हो निज पूर्णबहादुर लागू औषध खरीद बिक्री गर्ने र सेवन गर्ने व्यक्ति होइनन् निजको घरमा विदेशी आई बस्ने जाने हुँदा निजहरूले नै छाडेको हुनुपर्छ हातहतियार नराम्रो उद्देश्यले राखेका होइनन् भन्ने समेत मिति २०४४।६।१ को मौका तहकिकात सरजमीन मुचुल्का ।

      ७.    बरामदी मुचुल्का प्रतिवादीको सावित बयान कागज सरजमीन मुचुल्का समेतको सबूत प्रमाणबाट प्रतिवादी पूर्णबहादुर परियारले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४(ख) अनुसारको कसूर गरेको देखिँदा निजलाई ऐ. ऐनको दफा १४(१)(ग) अनुसार चरेशको हकमा सजायँ हुन माग गरिएको छ भन्ने समेत मिति २०४४।६।५ मा गण्डकी अञ्चल अदालतमा दायर गरिएको प्रहरी प्रतिवेदन ।

      ८.    प्रहरीमा मलाई मुखमा कपडा कोचेर पिटेर बयान कागज लेखेका हुन् बयान कागज समेत पढी बाची नसुनाई जबर्जस्ती सहिछाप गर्न लगाएका हुन् प्रहरीमा मैले कुनै किसिमको बयान गरेको छैन बरामद गरिएको भनेको चरेश, गाँजा समेत मेरो घरबाट बरामद भएको हो होइन मलाई थाहा छैन मैले चरेश सेवन गर्ने र बिक्री वितरण समेत गर्ने गरेको छैन । साक्षी सबूत बुझी न्याय पाउँ भन्ने समेत व्यहोराको प्र.पूर्णबहादुर परियारको ग.अं.अ. मा बयान ।

      ९.    प्रतिवादीको घरबाट बरामद भएको मानिएको लागू औषधको प्रकृति परिमाण इत्यादिको आधारबाट प्रतिवादीलाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४(१)(घ) अनुसार तजविजी रु. २५००।जरिवाना हुने ठहर्छ भन्ने समेत ग.अं.अ. को मिति २०४४।९।१५।४ को फैसला ।

      १०.    उक्त फैसला उपर वादी तर्फबाट परेको पुनरावेदनमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (क) अन्तर्गत पर्ने उल्लेखित मुद्दाहरू सम्बन्धित जिल्ला अदालतमा दायर भई निर्णय हुनुपर्ने कानुनी व्यवस्था भएको देखिँदा अञ्चल अदालतले आफ्नो अधिकार क्षेत्र ग्रहण गरी गरेको अञ्चल अदालतको फैसला बदर हुने ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।९।१ को फैसला ।

      ११.    म.क्षे.अ. ले गण्डकी अञ्चल अदालतको फैसला बदर गरी सकेपछि उक्त मुद्दा अधिकार प्राप्त अदालतमा पठाउन पर्नेमा सो नगरेको त्रुटिपूर्ण हुँदा सो बदर गरी प्रस्तुत मुद्दा अधिकार प्राप्त अदालतबाट नै कारवाही किनारा गर्नु भन्ने आदेश पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारका तर्फबाट पर्न आएको पुनरावेदनपत्र ।

      १२.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फका विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीको बहस जिकिर सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी ग.अं.अ. को फैसला बदर गर्ने गरेको म.क्षे.अ. को फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनु पर्ने हुन आयो ।

      १३.   यस्मा पेश भएको प्रहरी प्रतिवेदनबाट प्रतिवादी पूर्णबहादुर परियार उपर लागू औषध (नियन्त्रण) (संशोधन सहितको) ऐन, २०३३ को दफा ४(घ) अन्तर्गत सजायँ कसूर गरेमा सोही ऐनको दफा १४(१)(ग) अन्तर्गत सजायँ गरिपाउँ भन्ने दावी लिएको देखिन आउँछ ।

      १४.   तर २०४३।७।२४ मा भएको पहिलो संशोधन सहितको लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को स्पष्टीकरणमा यस दफाको खण्ड (ख)(ग)(घ)(ङ) र (च) को प्रयोजनको लागि लागू औषध भन्नाले गाँजालाई जनाउने छैन भन्ने व्यवस्था गरेकोबाट गाँजाको सम्बन्धमा सो दफा ४(घ) अन्तर्गत मुद्दा नै चल्न नसक्ने स्पष्ट भएको छ । सोही ऐनको दफा ३(ख) मा गाँजाको परिभाषा सम्बन्धमा व्यवस्था गरी गाँजा भन्नाले निम्न लिखित पदार्थहरू सम्झनु पर्छ भन्ने व्यवस्था गरी उपदफा (२) मा चरेश तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खाँटो, लिस्सा र चोप भनी उल्लेख गरेकोबाट चरेशलाई पनि सोही गाँजा भित्र लिनु पर्ने भएकोले गाँजा र चरेशको सम्बन्धमा ऐनको दफा ४(घ) अन्तर्गतको अपराध नै कायम हुन नसक्ने देखिन आएकोले त्यस्तो कानुनले अपराध नै कायम नगरेको दावीलाई परेको प्रतिवेदन लिई गण्डकी अञ्चल अदालतबाट भएको फैसला बदर गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब नै देखिन्छ । वादी श्री ५ को सरकारको पुनरावेदन तथा विद्वान सहन्यायाधिवक्ताको बहस जिकिर पुग्न सक्दैन ।

      १५.   सोही संशोधन सहितको लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २१ क(१) मा दफा ४ को खण्ड (क) सम्बन्धी कसूर बाहेक यस ऐन अन्तर्गतको अन्य कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन गरेको वा तोकेको अदालतलाई हुनेछ भनी व्यवस्था गरी दफा ४ को खण्ड (क) को कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकारीको सम्बन्धमा अरु कुनै व्यवस्था नगरेकोबाट सो खण्ड (क) को कसूर सम्बन्धी मुद्दा मात्र न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ९ ले जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्नेमा लागू औषध (नियन्त्रण) (संशोधन सहितको) ऐन, २०३३ को दफा ४(घ) अन्तर्गत दावी लिई दायर भएको प्रहरी प्रतिवेदन पनि जिल्ला अदालतको अधिकार क्षेत्रभित्र पर्ने भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतले आफ्नो ठहरमा उल्लेख गरेको कानुनी व्यवस्थाहीनको देखिन आएकोले सो उल्लेख भए जतिसम्म बदर हुने ठहर्छ । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमछु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

 

इति सम्वत् २०४६ साल कार्तिक २ गते रोज ४ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु