शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ३९२७ - जालसाजी

भाग: ३१ साल: २०४६ महिना: मंसिर अंक:

निर्णय नं. ३९२७    ने.का.प. २०४६                        अङ्क ८

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

सम्वत् २०४५ सालको फौ.पु.नं. ५१३

फैसला भएको मिति :      २०४६।६।३०।२ मा

पुनरावेदक/वादी : का.न.पं. वडा नं. ३० मरुविच्छे बहाल बस्ने नरमान मानन्धर

विरुद्ध

विपक्षी/प्रतिवादी : नु.जि. ओखर पौवा गा.पं. वडा नं. १ बस्ने ठुलीमाया तामाङनीसमेत

मुद्दा : जालसाजी

§  बिगो भरी पाउनेले कानुन बमोजिम ऐनका म्यादभित्र जायजात देखाई दर्खास्त दिएपछि सो दर्खास्त गर्नु अगावै बिगो बुझाउनु पर्नेले साहु समेतलाई गरिदिएको लिखत भए मान्यता दिनु पर्ने तर दर्खास्त परिसकेपछि गरिदिएको लिखतले कानुनी मान्यता नपाउने।

(प्रकरण नं. ९)

फैसला

     न्या. हिरण्येश्वरमान प्रधान : बा.अं.अ. को मिति २०४४।८।१७ को फैसलामा पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को २०४५।४।२७ को आदेश उपर पुनरावेदनको अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

      २.    विपक्षी मध्येका काजीमान र मेरो बीचमा लेनदेन मुद्दा परी विपक्षीबाट मलाई लेनदेनको बिगो रु. १७६२।५० र त्यसको कोर्टफी रु. ८८।१५ समेत जम्मा रु. १८५०।६५ भराई दिने ठहरी मिति २०४१।७।१३ मा फैसला भएको सो फैसला अनुसार मैले विपक्षीको नाउँको नु.जि. ओखरपौवा गा.पं. वार्ड नं. १ कि.नं. ६२ क्षेत्रफल १२ र कि.नं. ६३ को क्षेत्रफल ०२ कि.नं. ३९४ को १० समेत तीन कित्ता अचल सम्पत्ति पक्री बिगो भराई पाउँ भनी २०४२।२।९ मा दर्खास्त परेपछि विपक्षी बाबु छोरी मिली बीचमा मेरो धन नोक्सानी गराउने उद्देश्य लिई उल्लेखित जग्गा मिति २०४२।३।३ मा हालको बकसपत्र पारित गराएकोले सो बकसपत्र जालसाजी गरी लेनदेन गरेकोले सो बदर गरी जालसाजी गरेमा कीर्ते कागजको १० नं. अनुसार सजायँ समेत गरिपाउँ भन्ने २०४३।५।३०।२ को फिरादपत्र ।

      ३.    विपक्षीको भनाई झुठ्ठा हो दावी लिएको कित्ताका जग्गाहरू मैले मेरी छोरीलाई बकसपत्र गरिदिएको कुनै जालसाजीबाट र जानी जानी हालैको बकसपत्र लिनु दिनु गरेको होइन । विपक्षीले बिगो भरी भराउन गरिपाउँ भनी कहिले दर्खास्त दिए हामीलाई थाहा थिएन, अदालतबाट म काजीमानलाई २०४२।१०।२९ गतेको म्याद २०४२।१२।१७ मा बुझी लिएपछि मात्र थाहा जानकारी भएको हो विपक्षीको झुठ्ठा फिराद अ.बं. १८० नं. बमोजिम खारेजभागी छ भन्ने समेत प्र.काजीमान समेतको संयुक्त प्रतिउत्तरपत्र ।

      ४.    जग्गा रोक्का राख्नु भन्दा अगावै र प्रतिवादीलाई म्याद जानु भन्दा अगावै बकसपत्र गरी लिनु दिनु गरेको देखिएकोले जालसाजीमा फिराद दावी पुग्न सक्दैन भन्ने समेत शुरु नुवाकोट जिल्ला अदालतको मिति २०४४।३।३१ को फैसला ।

      ५.    उक्त फैसला उपर परेको वादीको पुनरावेदनमा शुरु जि. अ. को फैसला सदर हुने ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

      ६.    बा.अं.अ.को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको निवेदनमा वादीले प्रतिवादीको नुवाकोटको ज्येथा देखाई का.जि. अ. मा भरी भराउको लागि दिएको दर्खास्त नुवाकोट जिल्ला अदालतमा २०४२।६।१३ मा दर्ता हुनु भन्दा अगावै २०४२।३।३ मा प्रतिवादीहरूले आफ्नो हक तिरोको जग्गा बकसपत्र लिखत पारित गरी लिनु दिनु गरेको क्रियालाई जालसाजी हो भन्ने वादीको दावा पुग्न नसक्ने ठहर्‍याएको शुरुको सदर गरेको बा.अं.अ. को फैसलामा न्या. प्र.सु.ऐन, २०३१ (संशोधन सहित) को दफा १३(४) को अवस्था विद्यमान नहुँदा पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने समेत म.क्षे.अ. को २०४५।४।२७।५ को आदेश ।

      ७.    अदालतको फैसला बमोजिम थैली भरी भराउको निमित्त मिति २०४२।२।९ मा दर्खास्त परी सकेपछि दर्खास्तमा पक्रिएका जग्गाहरू विपक्षीहरू मिति २०४२।३।३ मा बकसपत्र लिनुदिनु गरेको जालसाजी ठहर्नु पर्नेमा नगरी मेरो फिराद दावी पुग्न नसक्ने ठहर गरेको शुरु फैसला सदर गरेको बा.अं.अ. को फैसलाउपर पुनरावेदनको अनुमति प्रदान नगर्ने गरेको म.क्षे.अ. को आदेश त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी तर्फबाट यस अदालतमा पर्न आएको निवेदनपत्रमा म.क्षे.अ. को आदेशमा कीर्ते कागजको ३ नं. को व्याख्यात्मक त्रुटि भएको देखिँदा न्या. प्र.सु. ऐन, (संशोधन सहित) २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति २०४५।६।२१।६ को आदेश ।

      ८.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नरमान मानन्धर तथा विपक्षी प्रतिवादी वा. समेत काजीमान तामाङ्गलाई रोहवरमा राखी पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदनको अनुमति नदिने गरेको म.क्षे.अ. को आदेश मिले नमिलेको के रहेछ सो को निर्णय दिन पर्ने हुन आयो ।

      ९.    यस्मा म.क्षे.अ. बाट बागमती अञ्चल अदालतबाट दावी बमोजिम जालसाजी नठहर्‍याएको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान नगर्नाको मुख्य आधारमा बा.अं.अ. को ठहर बमोजिम वादीको दर्खास्त सहितको मिसिल नुवाकोट जिल्ला अदालतमा २०४२।६।१० मा मात्र पुगेको र सो मिसिल नुवाकोट जिल्ला अदालतमा पुगी विपक्षीले दर्खास्त परेको व्यहोरा जानकारी पाउनु अगावै आफ्नो हक दर्ताको जग्गा २०४२।३।३ मा नै विपक्षी मध्येको ठुलीमायालाई हालैदेखिको बकसपत्र गरी दिइसकेको भन्ने आधार लिएको देखिन आएको छ तर यस सम्बन्धमा भएको कानुनी व्यवस्थाहरू हेरिएमा दण्ड सजायँको ४२ नं. को देहाय (१) मा बिगो भरी पाउने ठहरी फैसला भएकोमा सो फैसला भएको मितिले ३ वर्ष भित्र जायजात समेत देखाई दिउँला भन्ने बोली पारी दर्खास्त लिई तारेख समेत राख्ने व्यवस्था गरेको र सोही नम्बरको देहाय (४) मा जायजात गर्नुपर्नेमा मानिस अर्कै ईलाकाको भए जायजात देखाउन गए दर्खास्तवाला धनीलाई समेत साथ राखी पठाई काम गरिदिनु पर्ने व्यवस्था गरी दण्ड सजायँको २६ नं. मा सरकारी बिगो र दुनियाँको बिगोमा जायजात गर्ने व्यवस्था गरी सो जायजात गर्दा स्वास्नी छोरी बुहारीको दाईजो विवाह नभएका छोराछोरीको विवाह खर्च दुनियाँको बिगोमा जायजातको दर्खास्त नपर्दै र सरकारी बिगोमा सो बिगो लाग्ने भनी पक्राउ भएको मिति भन्दा अगावै साहुलाई लेखी दिएको अचलको भोग दृष्टि तमसुक बमोजिमको थैली पर सारी अरु जायजात गरी भरी भराउ गर्नुपर्ने व्यवस्था गरेको देखिन आउँछ । कानुनमा भएको यो व्यवस्थाबाट यो स्पष्ट हुन आउँछ की बिगो भरी पाउनेले कानुन बमोजिम ऐनका म्याद भित्र जायजात देखाई दर्खास्त दिएपछि सो दर्खास्त गर्नु अगावै बिगो बुझाउनु पर्नेले साहु समेतलाई गरिदिएको लिखत भए मान्यता दिनु पर्ने तर दर्खास्त परी सकेपछि गरिदिएको लिखतले कानुनी मान्यता नपाउने स्पष्ट भएको छ । कानुनको यो व्यवस्थालाई ध्यानमा राखी सम्बन्धित मिसिल हेरिएमा वादी पुनरावेदकले २०४१।७।१३ को फैसला बमोजिम विपक्षी काजीमान तामाङ्गबाट बिगो भरी पाउँ भनी कि.नं. ६२, ६३ र ३९४ को जग्गा समेत देखाई २०४२।२।९ मा काठमाडौं जिल्ला अदालतमा कानुनको म्यादभित्र दर्खास्त दिएकोमा विपक्षी असामी नुवाकोट जिल्लाको भएको र जायजातमा देखाएको जग्गा पनि नुवाकोट जिल्लाकै भएको नाताबाट दण्ड सजायँको ४२(४) नं. मा भएको व्यवस्था बमोजिम कानुन बमोजिम कारवाही गर्न नुवाकोट जिल्ला अदालतमा पठाएको देखिन आएकोले यस्तो अवस्थामा सो मिसिल नुवाकोट जिल्ला अदालतमा २०४२।६।१० मा पुगेकै आधारमा दण्ड सजायँको २६ नं. मा भएको व्यवस्था भित्र नपर्ने भन्न नमिली पुनरावेदकको कानुन बमोजिम २०४२।२।९ मा दर्खास्त परिसकेपछि मात्र विपक्षी काजीमानले आफ्नी छोरी ठुलीमायालाई हालैको बकसपत्र पारित गरी आफ्नो भएको सबै अचल सम्पत्ति हस्तान्तरण गरिदिएको बिगो भरी भराउको मिसिलमा रहेको मालपोत कार्यालय नुवाकोटको पत्रबाट देखिन आएकोले वादीको दर्खास्त परेपछि फैसला बमोजिमको बिगो भरी पाउने हक मेटाउन बाबु छोरी मिली आफ्नो हकको सबै अचल आफ्नी छोरीलाई हालैको बकसपत्र गरिदिएको देखिन आएकोले वादी दावी बमोजिम दर्खास्तमा परेको जग्गाका हकमा जालसाजी गरेको ठहर गर्नु पर्नेमा वादी दावी नपुग्ने ठहर्‍याएको शुरुको सदर गरेको बा.अं.अ. को ठहर समर्थन गरी पुनरावेदन गर्ने अनुमति प्रदान नगर्ने गरी गरेको म.क्षे.अ. को आदेश समेत गल्ती भई वादी दावी बमोजिम दर्खास्तमा परेका ३ कित्ता जग्गा सम्बन्धमा जालसाजी गरेको ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

     

तपसील

प्रतिवादी ठुलीमाया तामाङ्गनी १, काजीमान तामाङ्ग १ के माथी इन्साफ खण्डमा लेखिए बमोजिम निजहरूले जालसाजी गरेको ठहरेकाले कीर्ते कागजको १० नं. बमोजिम जालसाजी गरेको ठहरेको ३ कित्ता जग्गाको बकसपत्रबाट देखिएको जम्मा बिगो रु. १४०० को सयकडा २५ प्रतिशत ले रु. ३५०। जरिवाना हुन्छ दुवै प्रतिवादीहरूबाट बराबरीका दरले काम बमोजिम असूल गर्नु भनी शुरु जि. अ.मा लेखी पठाउन का.जि. अ. मा लगत दिनु....१

पुनरावेदक वादी नरमान मानन्धरके माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्रतिवादीहरूले जालसाजी गरेको ठहरेकाले वादी दावी नपुग्ने ठहराई शुरु जि. अ.ले वादीलाई गर्ने गरेको तजविजी जरिवाना रु. २० तथा सो इन्साफ सदर गरी बा.अं.अ. ले गर्ने गरेको थप जरिवाना रु. २। समेत नलाग्ने हुँदा उक्त रकम निजले मिति २०४४।४।१९।३ मा नुवाकोट जिल्ला अदालतमा रु. २०। तथा मिति २०४५।१।९ मा म.क्षे.अ. मा रु. २। समेत दाखिल गरेको देखिँदा ऐनको म्याद भित्र फिर्ता पाउँ भनी रीत पूर्वकको दर्खास्त दिन आए कानुनको रीत पुर्‍याई फिर्ता दिनु भनी शुरु नुवाकोट जिल्ला अदालतमा लेखी पठाउन का.जि. अ.त. मा लगत दिनु......२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु ..............३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०४६ साल आश्विन ३० गते रोज २ शुभम् ।

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु