निर्णय नं. ६८८३ - कर्तव्य ज्यान

निर्णय नं. ६८८३ ने.का.प. २०५७ अङ्क ४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
सम्वत २०५५ सालको फौ.पु.इ.नं. ...२१
फैसला मितिः २०५७।२।१२।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक/वादीः जिल्ला पर्सा, गम्हरिया गा.वि.स.वडा नं. ५ बस्ने शिवपुजन महतो कोइरीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला बारा, बन्जरीया गा.वि.स. वडा नं. ७ बस्ने कैलाश महतो समेत
§ समष्टिगत प्रमाणको मूल्यांकन गर्दा मोहमद रजाक हुसेनका बयान व्यहोरा मिलानकै जाहेरी परेको र निज महमद रजाक हुसेनले अदालत समक्ष बकपत्र गर्दा रोक भन्ने आवाज आयो, १५,१६ जना आई तिन तर्फबाट घेरे भनी भनेपछि जीरह हुँदा चारैतिरबाट घेरेको, गोलीको आवाज सुनेकोले निजहरुले नै मारेको सम्झेको, कहिले बसिरहेको, कहिले आली मुनी लुकी टाउको माथि निकाली रहेको भनी आफ्नो भनाई व्यहोरामा फरक पारी बकपत्र गरेको पाइन्छ । सर्जमिनका मानिस जसले मोटरसाईकलको उज्यालो, टर्चको उज्यालो, जुनेलीरात हुँदा जुनको उज्यालोले देखेको भनी मृतकलाई घेराउ गर्ने भनिएका प्रतिवादीहरुको संख्या कसैले ९।१० जना कसैले १५।१६ जना कसैले बन्दुक बोकेको व्यक्ति फलानो, फलानो कसैले हातमा बन्दुक थियो कि लाठी थियो भन्न सक्दिन, आफू खेतमा काम गरिरहेको, दिशा गर्न आएको, चारैतिरबाट घेरेको तिनतिरबाट घेरेको, लाम लागेर घरेको भन्ने भनाईबाट एकातिर विवरणहरु तथ्यसंगत नभई फरक-फरक परी रहेको देखिन्छ भने अर्कोतर्फ अस्पष्ट देखिन्छ । सर्जमिनका मानिसहरु मध्ये पनि कसैले ४।५ जना कसैले ९।१० जना, कसैले ७।८ जना व्यक्तिहरु मिली बुधनलाई मारेको भनेको पाइन्छ (देवी महतो, धुरन्धर, विश्वनाथ समेतको सर्जमिनको व्यहोराबाट देखिने) भने कसैले मारेको थाहा छैन भनी राजेन्द्र गोसाई, राम कैलाश कानू समेतका व्यक्तिहरुले र महमद रजाकको हातमा बन्दुक देखेकोले बुधनलाई रजाकले नै गोली हानी मारेकोमा पूर्ण शंका लाग्छ भन्ने इन्द्रप्रसाद, झापस महतो धानुक, मेधु राउत अहिर, रंगे महतो नुनिया समेतले व्यक्त गरेको पाइन्छ । यसबाट सर्जमिनका मानिसहरुले आ आफ्नो देखे जानेका कुरा वस्तुनिष्ठ तवरले तथ्यगत आधारमा व्यक्त गर्न सकेको अवस्था देखिदैँन । त्यसैगरी निज बुधनलाई मार्नुपर्ने कारणमा वैजनाथले रजाक मियासँग दुश्मनी रहेको बुधनप्रसाद निज रजाकको पक्षमा भएकोले भनेको भनेपनि कैलाश र वैजनाथको कागजबाट बुधनसँग दुष्मनी हुनु भनी देखाइएको छ भने वारदात स्थलमा एकलाख माग्दा नदिएकोले बुधनलाई मारेको भन्ने भनाई रहेको पाइन्छ । अर्कातिर बुधनलाई मार्न रु.सात हजार दिने गरी पक्का पक्की भएको भन्ने अवस्था पनि देखाइएको छ । यसबाट मार्नपर्ने कारण के हो र ? यी प्रतिवादीहरुले नै मारेको भन्ने अभियोजन पक्षबाट वस्तुनिष्ठ तवरले अनुसन्धान तहकिकात हुन सकेको अवस्था देखिदैँन । वारदातको प्रकृतिलाई अभियोजन कर्ताको कुरालाई एकछिन सही मानी हेर्दा पनि तीन जनाले बन्दुक लिएको अरुले बन्चरो फाटा लाठी समेत लिएको चारैतिरबाट घेरेको रातको समय भएकोमा महमद रजाक भागी उम्कन सफल भएको मात्र होइन निज नजिकै लुकी बसी बन्दुक फायर भई बुधनको हत्या भएपछि घटनास्थलबाट मृतकको घरतर्फ लागेको भन्ने पुष्ट्याई गरिन खोजिएको देखिन्छ तापनि रजाकलाई अपराधसँग सम्बन्धित व्यक्ति भनी देखाईरहेको अवस्था र आफू विरुद्ध प्रमाण हुन सक्ने व्यक्तिलाई सामान्य तवरले लखेटी छोडी दिएको वा घेरा बन्दी तोडी निज भागी गए होलान भनी अनुमान गर्न सकिने आधार कारण अवस्था रहे भएको देखिन नआई अभियोजनको पुष्ट्याई पत्यारलायक देखिन नआउने ।
(प्र.नं. ४१)
§ अदालत समक्ष प्रस्तुत हुन आएको विवादका सम्बन्धमा न्याय सम्बन्धी अधिकार प्रयोग गरी न्याय निरोपण गर्दा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८४ ले नेपाल अधिराज्यको न्याय सम्बन्धी अधिकार यो संविधान र अन्य कानून तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत तथा अन्य न्यायिक निकायहरुबाट प्रयोग गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दा फौज्दारी अभियोग सम्बन्धी भएको र व्यक्तिको वैयक्तिक सुरक्षाको लागि फौज्दारी न्यायका मान्य सिद्धान्तहरुलाई हाम्रो संविधानले नै सुरक्षित गरेको छ भने कतिपय सिद्धान्तहरु यस अदालतका पूर्व फैसलाहरुबाट स्वीकार हुदैँ आएको अवस्था छ । फौज्दारी अभियोग प्रमाणित हुनको लागि सो कार्य गर्ने मनसाय तयारी तथा मनसाय वा तयारीको परिणाम स्वरुप कृया भएको हुनुपर्दछ । त्यस्तो कृया शंकारहित तवरले पुष्टि भएको हुनुपर्दछ । ज्यान मार्ने कार्य भएको भन्ने आधारले मात्र कुनै व्यक्तिलाई आरोपित गर्नु पर्याप्त आधार हुन सक्दैन । विवादास्पद, अस्पष्ट, विरोधाभासपूर्ण प्रमाणको आधारमा कसैलाई दोषी सिद्ध गर्ने हो भने परिणामतः न्याय परेको भन्न मिल्दैन । विवादास्पद प्रमाणहरुलाई आधार मानी कसूरदार ठहर गर्न मिल्दैन । फौज्दारी न्यायको सिद्धान्त अनुसार बरु केही अपराधी छुटुन तर निरपराधी एउटा पनि नपरुन, शंकाको सुविधा अपराधीले पाउँछ भन्ने जस्ता सिद्धान्तका साथै न्यायिक स्वविवेक समेतका आधारमा उपयुक्त कार्य भएको छ भनी मान्न सकिदैन । अतः माथि गरिएको प्रमाणको मूल्याङ्कन सम्वद्ध कानूनी व्यवस्था तत् सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको आधारमा विश्लेषण गर्दा अभियोग पक्षबाट संकलित सबूद प्रमाणहरु अस्पष्ट माग दावी खम्बिर हुने प्रकृतिको प्रमाणहरु पुग्न नसकेको स्थिति र शंकारहित तवरबाट अभियोग प्रमाणित भएको देखिन नआएकोले पुनरावेदन अदालत हेटौडाले प्रत्यर्थी प्रतिवादीहरुलाई आरोपित अभियोगबाट सफाई दिने ठहर गरेको राय सदर गरेको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मुनासिव ठहर्ने ।
(प्र.नं.४३)
पुनरावेदक वादी तर्फबाटः विद्बान उपन्यायाधिवक्ता श्री भरतमणी खनाल
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री कमलनारायण दास
अवलम्बित नजिरः
फैसला
न्या.केदारनाथ आचार्यः पुनरावेदन अदालत हेटौडाको मिति २०४८।१२।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार परेको पुनरावेदनमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छः
2. जिल्ला पर्सा गम्हरिया गा.पं. वडा नं. ४ को गम्हरिया वडा नं. ६ छोटा टोला जाने नहरको बाटोको करिब १५० फिट दक्षिण पट्टि पूर्व लखन महतो खेत, पश्चिम पिताराम तुरहाको खेत, उत्तर ग्रहण शाहको खेत, दक्षिण सिउजरी साहको खेत यति ४ किल्लाभित्र ग्रहण साह कानुको आवादी गहुँ खेतमा पूर्व गोडी, पश्चिम टाउको उतानो परी मृतकै बुधन प्रसादको लाश रहेको, मृतकको चिउडोको बायाँ पट्टि गोली लागेको प्वाल देखिएको, प्वालको वरिपरि बारुदले डढेको दाग भएको, नाकको दुवै प्वालबाट रगत निस्की सुकेको, गोली लागेको ठाउँबाट रगत निस्किएको, बायाँ हातको कुइनोको जोर्नीमा ३×३ लम्बाइको गोलार्धमा प्वाल परेको, घाँटीको मफलर खोली हेर्दा बीच भागमा ३×३ इन्चको हिसाबले डढेको, रगतले भिजेको, गोली लागेको, टाउकोमा २ इन्च चौडाई २ इन्च लम्बाइको आधारमा बाहिरको छाला डढी प्वाल भई भित्रको हाड समेत देखिएको, बायाँ हातको कुइनोको मसल भागमा २ इन्च चौडाई लम्बाइमा गोली लागेको घाउ, बायाँ कोखामा १ इन्च लम्बाई चौडाइको गोली लागेको घाउ र अन्य ठाउँ ठाउँमा पनि गोली लागेको घाउ भएको, लाश छेउमै टुवीलवर बन्दुकको काठ नालमा सट्ने लोड अनलोड गर्ने ८ इन्च लामो भेटिएको र टोटा पनि फेला परेको भन्ने समेत व्यहोराको घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का ।
3. २०४२।११।२ गतेका दिन बुधन प्रसादको ना.अ.अ.८६८ नं. को मोटरसाइकल बुधन प्रसादले हाँकी म पछाडि बसी विरगंज आई काम सकी सोही दिन बेलुका अं.८ बजेको समयमा म सोही मोटरसाइकलमा पछाडि बसी बुधन प्रसादले चलाई दुवै जना आफ्नो घर जान लागेका बखत घटनास्थलमा पुग्दा १५, १६ जना व्यक्तिहरु हामी दुवैलाई घेरामा हाल्न तत्कालै आई मोटरसाइकल घेरी रु. १ लाख दे नत्र मारिदिन्छौं भनी बन्दुक तेर्साइ राखे, मोटरसाइकलको उज्यालो र जुनेली रात भएको हुँदा प्रष्ट देखें चिन्हेका रामपृत साह कानु, जगरनाथ साह कानु, कैलाश महतो कोइरी समेतले रु. १ लाख मागी कैलाश र जगरनाथले एक नाले बन्दुक आफ्नो हातमा लिई देखाई अहिले हामीसँग पैसा छैन कहाँबाट दिनु घरमा दिउँला भन्दा बैजनाथ, जगदिश, नागेश्वर, रामएकवाल, रामदेव र अन्य नचिनेका समेतले लाठी फाराले मलाई पछाडिबाट कुट्न थाले र मेरो पाकेटमा रहेको ५००।- ने.रु. ९०, घडी कागजपत्र समेत खोसी लिए म भाग्न लाग्दा मलाई लखेट्दै गएको साथी बुधनले पनि मोटरसाइकलबाट ओर्ली भाग्न लाग्दा निजलाई अन्य व्यक्तिहरुले घेरी बन्दुकले हानी ज्यान मारिदिएका हुन् । निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कार्यवाही गरी पाउँ भन्ने समेत व्यहोराको घाइते उप प्र.पंच महमद रजाक हुसेन हवारीले गरी दिएको कागज ।
4. २०४२।११।२ गतेका दिन दाजु बुधनप्रसाद राती ८ बजेसम्म फर्की नआएकोले सबै परिवार बाटो हेरी बसिराखेको बखत महमत रजाक घरमा आई म तथा तपाईको दाजु बुधन मोटरसाइकलमा घर फर्की आउन लागेका बखत नहरमा आई पुग्दा केही व्यक्तिहरु बन्दुक फाँट लिई रु. १ लाख दे नत्र मारिदिन्छौं भनी जगरनाथ साह, रामेत, वैजनाथ साह, कैलाश, नागेश्वर, रामएकवाल, जगदीश, रामदेवले मलाई कुटपिट गर्न लाग्दा म भागे बुधन पछि भागेकोमा निजहरुले घेरी बन्दुक हानी ज्यान मारी दियो भनी बताएकोले घटनास्थलतर्फ जाँदा दाजु बुधन मरेको देखें सो वारदातमा पारस साह पनि थियो भन्ने समेत व्यहोराको शिवपुजन महतो कोइरीको जाहेरी दर्खास्त ।
5. बन्दुकको गोली लागी अत्यधिक मात्रामा रक्तश्राव भई मृत्यु भएको देखिन्छ भन्ने समेत व्यहोराको पोष्टमार्टम रिपोर्ट ।
6. २०४२।१०।२९ गतेका दिन म जि.का. पर्सामा तारेख लिन गएको बखत जगरनाथ साह भेटी जरुरी काम छ घरमा आउनु भनेको र साँझपख निजको मिलमा जाँदा रामपृतसँग भेट भई बुधनप्रसादको खुन गर्नु परेको छ । रु.७०००।- दिन्छु भनेकाले मैले स्वीकार गरेपछि २०४२।११।२ गते आफूसँग भएको एकनाले बन्दुक गोली थान ८ दिन बन्दुक रामायणले बोके गम्हरिया जान हामी ५ जना म कैलाश, झगरु कोइरी, झगरु सिंह, विन्दाचल सिंह, रामायण समेत ५ बजे गम्हरिया पुगी जगरनाथको मिलमा जाँदा त्यहाँ वैजनाथ थिए । रामपृत आए निजले एकनाले बन्दुक लिए । त्यत्तिकैमा रामएकवाल पनि आए । सोही बखत जगरनाथ मोटरसाइकल चढी आई बुधन आउन लागेको छ, नहरमा जाउँ भनेपछि वैजनाथ बन्चरो लिई आई बाँस काटी फाँटा बनाए र हामी नहर डिल छेउमा लुकी बसेको बखत अं. ७ बजेतिर मोटरसाइकल आई पुगेपछि रोक्यौं । मोटरसाइकलमा अगाडि बुधन प्रसाद पछाडि रजाक मिया बसेका थिए । जगरनाथले रु.१ लाख दे नत्र ज्यान मारिदिन्छौं भन्दा साथै लाठी फाटाले बुधनलाई हिर्काउन लाग्दा रजाक मोटरसाइकलबाट उफ्री भागेपछि बुधन पनि ओर्ली भाग्न लाग्दा रामपृतले फायर गर्दा बुधनलाई लागेपछि निज भागी नै रहेकाले रामायणले दोस्रो फायर गर्दा लागेपछि ढलमलाउन लाग्दा मैले नजिक पुगी आफ्नो बन्दुकले फायर गर्दा निजको मुख नजिकै गोली लाग्यो । त्यसपछि गाउँबाट धेरै होहल्ला भई मानिसहरु आउन लागेका देखी पूर्वतर्फ भाग्यौं । सो बखत मेरो बन्दुकको कवर घटनास्थलमै खस्यो । हामी भागी गयौं । निज बुधनलाई म समेत भई ज्यान मारेको ठीक हो भन्ने समेत व्यहोराको प्र.कैलाश महतोले प्रहरीमा गरेको बयान ।
7. गम्हरिया वडा नं. ४ स्थित पूर्व राजकुमारको खेत, पश्चिम सितारामको खेत, उत्तर नहर, दक्षिण शिवपुजनको खेत यति ४ किल्ला भित्रको सितारामको गहुँ खेत बीचबाट एउटा सेतो सुतीको महिलो कपडाको पोको फेला पारी हामीहरुको रोहवरमा खोली हेर्दा प्लाष्टिकको जुत्ता चप्पल समेत फेला परेको र सो मध्ये सेतो प्लाष्टिकको जुत्ता मेरै हो भनी कैलाश महतोले सनाखत गरेको ठीक हो भन्ने समेत व्यहोराको विश्वनाथ प्रसाद कोइरी समेतले गरी दिएको बरामदी मुचुल्का ।
8. २०४२।११।२ गतेका दिन तपाइसँग काम छ, आज साँझमा मिलमा भेट्नु भनी रामपृतले मेरो घरमा आई भनेकोमा साँझमा जाँदा त्यहाँ हातमा बन्दुक लिई रामपृत साह, वैजनाथ साह, कैलाश साह र अन्य ४ जना मध्ये एक जनाको साथमा बन्दुक थियो । बन्दुक लिई सबैजना जाउँ भनी नहरको डिलमा आई बस्यौं, त्यहाँ मोटरसाइकल आएपछि जगरनाथ समेतले रोकी बुधनलाई १ लाख रुपैया दे भनेपछि बुधनले यहाँ छैन घरमा छ दिउँला भन्दा लाठी फाटाले मोटरसाइकलमा हिर्काउन थाले पछाडि बसेको रजाकलाई पनि कुट्न लागे । त्यो देखेर रजाक भागी गए त्यसपछि बुधन भाग्न लागेको देखी रामपृतले एक फायर गरे, गोली लाग्दा पनि बुधन भागी जाँदा एकजनाले एक फायर गर्दा त्यो फायर पनि बुधनलाई लागी गहुँ खेतमा लडेपछि कैलाशले एक फायर गरे बुधनको तत्कालै मृत्यु भयो । म सोही ठाउँमा हेरी बसेको थिएँ भन्ने समेत व्यहोराको प्र.रामएकवाल महतो धानुकले प्रहरीमा गरेको बयान ।
9. मेरा दाजु रामपृत र जगरनाथ तथा बुधनप्रसाद एउटै अफिसमा काम गर्ने गरेकोले निजसँग हामीहरुको रिसइवी थियो । निजलाई मार्नु पर्छ भनी राय सल्लाह अनुसार कैलाश, रामपृत, भवरु भन्ने २ जना रामायण, विन्ध्याचल, नागेश्वर, जगदीश, रामदेव, राम एकवाल समेतलाई साथ लिई गई जगदिश पारस समेत गयौं । दाजु रामपृत, कैलाश, रामायणको हातमा बन्दुक र अरुले लाठी, भाला बोके र मैले बन्चरो लिई नहरको डिलमा लुकी बसेको अवस्था मोटरसाइकल आइपुगेपछि मोटरसाइकल रोकेपछि मोटरसाइकल बुधनले चलाएका र रजाक पछाडि बसेको थियो । दाजु जगरनाथले १ लाख रुपैयाँ दे भन्दा अहिले छैन बुधनले भन्दा लाठी फाटाले प्रहार गर्न लाग्दा रजाक भागी गए त्यसपछि बुधन पनि मोटरसाइकलबाट उफ्री भाग्न लाग्दा दाजु रामपृतले एक फायर गर्दा निजलाई लाग्यो तैपनि भागी नै रहेकोले रामायणले फायर गर्दा सो पनि निजलाई लागी खेतमा लडी त्यसपछि कैलाशले नजिक गई मुख नजिक फायर गर्दा निजलाई लागी मृत्यु भयो भन्ने समेत व्यहोराको प्र.वैजनाथ साह कानुले प्रहरीमा गरेको बयान ।
10. बुधन मरेको २ दिन अघि रामपृत आई बुधनलाई मार्न कैलाश, रामएकवाल, कैलाशको साथी ४ जना जगरनाथ, वैजनाथ, नागेश्वर, रामदेव र म आफै जाने भनेपछि मैले पनि पारसलाई बोलाई ल्याउँछु भन्दा हुन्छ भने र म जगदिश, पारस, नागेश्वर, रामदेव समेत अलगै बस्छु भन्ने सल्लाह भयो । सरस्वती पुजाको दिन साँझ अं.७ बजेतिर सल्लाह भएअनुसार म समेत ४ जना नहरको डिलमा गइ बस्यौं । रातको ८ बजे मोटरसाइकल आएपछि रोकियो । बुधनलाई चिन्यौं । रजाक पनि थियो । त्यतिमा गोली फायर भयो रजाक भागे । लगत्तै फेरि फायर भयो । अब के गर्ने भन्ने वित्तिकै अर्को फायर भयो गाउँबाट धेरै हो हल्ला भएकोले हामी भाग्यौं भन्ने समेत व्यहोराको प्र.जगदीश साहले प्रहरीमा गरेको बयान ।
11. २०४२।११।२ गतेका दिन राती अं.८ बजेको समयमा कैलाश महतो, जगरनाथ, रामएकवाल, वैजनाथ, रामपृत, जगदिश, नागेशवर, रामदेव, झगरु समेतका व्यक्तिहरुले बुधनप्रसादलाई मोटरसाइकल रोकी बन्दुकको गोलीले हानी ज्यान मारेको हो भन्ने समेत व्यहोराको अधिकांश व्यक्तिहरुले पृथक पृथक बकी लेखाई दिएको सर्जमिन मुचुल्का ।
12. प्रस्तुत मुद्दामा संकलन भई आएको मिसिल संलग्न घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का, लाश जाँच प्रतिवेदन, घटनामा घाइते भएका तथा प्रत्यक्षदर्शी महमद रजाक मियाले गरेको कागज, शिवपुजनको किटानी जाहेरी, पक्राउ परेका कैलाश महतोले अधिकार प्राप्त अधिकारी समक्ष आफू कसुरमा सावित भई जगरनाथ, रामपृत, वैजनाथ, रामएकवाल, झगरु, बिन्ध्याचल, रामायण, मगरु सिंह समेत भई बुधनलाई मारेको हो भनी सावित भई गरेको बयानमा कागज र निजले बयान देखाए अनुसार निजको तारेख जि.का.मा थियो भन्ने बुझिएको पत्र र झ्याँगबाट बाँस काटेको ठीक हो भन्ने समेत मुचुल्का, चप्पल जुत्ताको पोका देखाएको ठाउँबाट बरामद भएको मुचुल्का र रामएकवाल ज्यान मार्नमा जानी-जानी सल्लाहमा बसेको घटनास्थलमा गएको भनी साविती र वैजनाथ आफू सावित भई घटनास्थलमा गई ज्यान मार्नमा सहयोग गरेको र मेरो हातमा भएको बन्चरोले बुधनको मोटरसाइकलमा हान्दा बत्ती फुटेको थियो भनी गरेको कागज र मिसिल संलग्न घटनास्थल तथा लासजाँच प्रकृति मुचुल्काबाट उक्त कुरा पुष्ट्याई भएको साथै म रामपृत, जगरनाथ, राम एकवाल, कैलाश र निजको साथी ४ जना एकापट्टि र नागेश्वर, जगदिश, रामदेव र पारस एकपट्टि बसेका थियौं भनी गरेको कागज, जगदिश आफू समेत ज्यान मार्ने सल्लाहमा बसी मद्दतका लागि रामदेव, नागेश्वर, पारसका सँगमा घटनास्थलबाट केही फरकको दुरीमा पूर्वपट्टि बसेको हो भनी गरेको साविति कागज, घटनास्थलमा गई बुझिएको सर्जमिन मुचुलका समेतबाट जाहेरीमा लेखिए बमोजिम बुधन प्रसादलाई बन्दुकको गोली हानी मारेको सिद्ध हुन आयो । अब को कसले के कस्तो तरिका अपनाई बुधनलाई कर्तव्य गरी ज्यान मारेको हुन भनी हेर्दा प्र.रामपृत, जगरनाथको निजको बुधनसँग पुरानो रिसइवी भएको, २०४२।१०।२९ गते बुधनलाई ज्यान मार्ने सल्लाह भई कैलाशलाई बोलाई रु.७०००।- को प्रलोभन दिन मलाई योजनाबद्ध तरिकाले फागुन २ गते निज बुधनको निगरानी समेत गरी साँझ अं.८ बजेको समयमा नहरको एकान्तमा पारी प्र.मध्येका रामपृत साह, कैलाश र रामायणले आ–आफ्नो एकनाले बन्दुक लिई पालो पालो गरी तीनै जनाले एक एक फायर गरी निज बुधनलाई मारेको सिद्ध हुन आएकोले प्र.कैलाश महतो, प्र.रामपृत साहले मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. विपरित ऐ.ऐनको १३(१) बमोजिम जोखिमी हतियार बन्दुकले बुधनलाई ज्यान मारेकोले निज प्र.कैलाश महतो र रामपृतलाई ऐ. १३(१) बमोजिम कार्यवाही भई सजाय हुन र पक्राउ नपरेका जगरनाथ साहको हातमा पनि बन्दुक थियो भनी जाहेरी दर्खास्त घाइतेको कागज र सर्जमिनका व्यक्ति समेतले उल्लेख गरेको भए तापनि लास जाँच प्रतिवेदनमा मृतकको जिउँमा तीन गोली लागेको भन्ने देखिएको र लाश जाँच प्रतिवेदन समेतबाट उक्त कुरा पुष्ट्याई भएकोले निज जगरनाथ साहले मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. विपरित ऐ.ऐनको १३(१) नं. बमोजिम ज्यान मार्नेमा अग्रसर भई सुराक लगाई ज्यान मार्नका बचन दिई ज्यान मार्नलाई सहयोग पारी दिई बुधनको मोटरसाइकल रोक्न लगाई निजलाई पक्री समाती समेत दिएकोले ऐ.ऐनको नं. १३(४) बमोजिम कार्यवाही भई सजाय हुन र पक्राउमा परेका प्रतिवादी रामएकवाल महतो र वैजनाथ साह र पक्राउ नपरेका झगरु महतोले मुलुकी एन ज्यान सम्बन्धीको १ नं. विपरित ज्यान मार्नमा महत्वपूर्ण सहयोग गरी ऐ.ऐनको १७(१) नं. विपरित हातमा बन्चरो र लाठी समेत लिई ज्यान मार्न निमित्त वारदात गरिरहेको ठाउँमा भइरहेको देखिएको सिद्ध हुन आएकोले निज प्र.वैजनाथ, झगरु महतो र रामएकवाल महतोलाई ऐ.ऐनको १७(१) बमोजिम कार्यवाही भई सजाय हुन र पक्राउमा परेका जगदीश र पक्राउमा नपरेका नागेश्वर, रामदेव र पारसले मुलुकी ऐन ज्यान सम्बन्धीको १ नं. विपरित ऐ.ऐनका १७(३) नं. बमोजिम बुधनप्रसादलाई ज्यान मार्ने मत सल्लाहमा पसी मार्ने ठाउँमा गएको सिद्ध हुन आएकोले ऐ.ऐनको १७(३) नं. बमोजिम कार्यवाही भई सजाय हुन राय व्यक्त गर्दै जाहेरी दरखास्तमा उल्लेख भए बमोजिम निज बुधनको कर्तव्य गरी ज्यान मारी रु.५८५०।- धनमाल डाका गरेतर्फ दशी फेला नपरेको र शुद्ध ज्यान मार्ने नियतले यो घटना घटेकोले डाका गर्ने प्रतिवादीहरुको मनसाय नदेखिएकोले डाकातर्फ दावी लिएको छैन ।
13. पक्राउमा नपरेको विन्ध्याचल, रामायण र झगरु सिंह भारतीय नागरिक भएकोले हाललाई दावी लिएको छैन । निजहरु पक्राउमा परेका बखत प्र.रामायण उपर ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम र प्र.विन्ध्याचल, झगरु सिंह उपर ऐ. ऐनको १३(४) नं. बमोजिम कार्यवाही गर्ने दावी लिइने राय साथ पक्राउमा नपरेका यसै सरहदका प्रतिवादीहरुका नाउँमा सम्मानित अदालतबाटै पक्राउ पुर्जी जारी हुन समेत सादर अनुरोध गर्दै सम्बन्धित मिसिल कागजात मानिस दशी समेत यसैसाथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको जिल्ला अदालत पर्सामा प्रस्तुत भएको जिल्ला न्यायाधिवक्ता र प्रहरीको सयुक्त अभियोग पत्र ।
14. २०४२।११।२ गतेका दिन म आफ्नो घरमै छु । पाहुनाहरुको स्वागतमा छु । ऐ ३ गते रजाकको भाइ दुखी र भतिजा बसिरले मलाई पक्री प्रहरीमा बुझाई दिएका हुन् । रजाकसँग रिसइवी रहेकोले जाहेरवालासँग झुठ्ठा जाहेरी दिलाएका हुन् । सर्जमिन हुँदा रजाकले नै मारेको भन्ने सुनेको छु । प्रहरीमा मलाई घा खत नदेखिने गरी पैतालामा कुटी कागज नसुनाई सहीछाप गराएका हुन् । सर्जमिनका विश्वनाथ जाहेरवालाको वैनीज्वाई नाता पर्ने हुन् र अरु पार्टी पोलिसीका कारणले पोल गरेका हुन् । मैले कसुर नगरेको हुँदा अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.जगदीश साह कानुले अदालतमा गरेको बयान ।
15. २०४२।११।२ गते सरस्वती पुजा भएकोले बेटाबेटीहरुलाई प्रसाद बाँड्ने काममा थिएँ । रजाकसँग रिसइवी रहेकाले जाहेरवालासँग झुठ्ठा जाहेरी दिलाएका हुन् । सर्जमिनका फुलचन रजाकको मानिस भएको र अरु जाहेरवालाकै व्यक्ति भएकाले मलाई किटान गरिबसेका हुन् । सर्जमिन हुँदा रजाकले नै बुधनलाई मारेको भन्ने सुनेको हुँ । प्रहरीमा मलाई कुटपिट गरी बेहोस पारी दिएको र १ रात अस्पतालमा राखे र १५, १६ दिन पछि तिमीलाई केही हुँदैन भनी कागज नसुनाई सही गराएका हुन् । वैजनाथलाई समेत कुटपिट गरी सही गराएका हुन् भन्ने समेत व्यहोराको प्र.रामएकवाल महतोको अदालतम गरेको बयान ।
16. २०४२।११।२ गते मेरो भाइ रामपृतलाई विरामी भएको औषधि उपचार गराउन रक्सौल अस्पतालमा म र जगरनाथ समेतले लगेको र म त्यहाँबाट राती १० बजे फर्किएको र भाइ जगरनाथ त्यहीँ रहेका हुन् । म घरमा आउँदा रजाकको भाइ भतिजाहरुले तपाइले बुधनको खुन गरेको छ भनी पक्री लगेका हुन् । कैलाश, जगदिश, झगरु, पारसलाई चिन्दिन मर्ने बुधन र जाहेरवाला शिवपुजन तथा रजाकलाई चिन्दछु । रजाकसँग रिसइवी भएको कारणले बाबुले शान्ति सुरक्षा विषयमा जि.का.मा दर्खास्त दिएको रिसइवीले भूमिका बाँधी जाहेरी दिलाएका हुन् । सर्जमिन हुँदा बुधनलाई रजाकले नै मारेका भनी भन्दथे । प्रहरीमा मलाई नाकबाट पानी हाली बेहोस अवस्थामा पारी बयान पढी वाची नसुनाई सही गराएका हुन् । प्रहरीमा कैलाशले गरेको बयानमा कसरी मेरो नाम भनेको हो निजलाई चिनेकै नहुँदा थाहा छैन । रामएकवाल जगदिशले झुठ्ठा लेखाएका हुन कि के गरेका हुन् मलाई थाहा छैन र सर्जमिनका व्यक्ति कोही रजाकका मानिस र कोही जाहेरवालाका मानिस भएकाले त्यस्तो सर्जमिनमा बसेका हुन् भन्ने समेत व्यहोराको प्र.वैजनाथ प्रसादले अदालतमा गरेको बयान ।
17. २०४२।११।२ गते सिमरामा शेरबहादुर जरसाहवको फारममा छु । रामएकवाल, जगदीश, रामपृत, जगरनाथ, नागेश्वर, रामदेवलाई चिन्दिन । जाहेरवालाले कसरी किटान गरी जाहेरी दिएका हुन मलाई थाहा छैन । बरामद भई आएको बन्दुकको कभर, टोन, चप्पल कसको हो मलाई थाहा छैन । प्रहरीमा रामएकवाल, वैजनाथ, जगदिश समेतलाई कुटपिट गरी मलाई पोल गरी बयान गराएका हुन् । सर्जमिनका व्यक्ति रजाक र जाहेरवालाकै व्यक्ति भएकाले किटान गरेका हुन भन्ने समेत व्यहोराको प्र.कैलाश महतोले अदालतमा गरेको बयान ।
18. मर्ने बुधनलाई म समेत भई मारेको छैन । २०४२।११।२ गते म आफ्नो गाउँ घरमा नभई बारा इनरवामा छु । ऐ. ६ गते मात्र फर्किएको हुँ । जाहेरी दर्खास्त सुनाउँदा सुने केही भन्नु छैन । जाहेरवालालाई चिनेकै छैन । प्र.कैलाशले प्रहरीमा किन पोल गरे निजै जानुन । सर्जमिनका व्यक्तिलाई मैले चिनेकै नहुँदा किन पोल गरे निजै जानुन । म निर्दोष हुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.झगरु महतोले अदालतमा गरेको बयान ।
19. जाहेरी र रजाकको भनाइ अनुसार मैले बुधनलाई मारे मराएको होइन । २०४२।११।२ मा म आफ्नो ससुराली वि.न.पा.वा.नं. १९ मा छु । त्यही बसी लेखापढी गर्छु । रजाकसँग मेरो बाबुको रिसइवी थियो । बाबुले नारायणी अंचलाधीशमा उजुरी दिएको थियो । सो को रिसइवीले मौका पारी जाहेरवालाले रजाकको भनाइमा लागी झुठ्ठा जाहेरी दिएका हुन् । प्रहरीमा वैजनाथ र जगदिशले गरेको बयान, अनुसार म समेत सहमती भएको छैन भन्ने समेत व्यहोराको नागेश्वर साहले गरेको बयान अभियोग दावी अनुसार म समेत भई बुधन महतोलाई मार्न मत सल्लाहमा पसेको वा मारे मराएको होइन । २०४२।११।२ गतेका दिन रात म आफ्नो गाउँ घरमा नभई आफ्नो ससुराली जिल्ला बारा भरवलीया एकवनियामा छु । पार्टी पोलिसीले जाहेरवालाले जाहेरी र रजाकले पोल गरेका हुन् । वैजनाथ जगदिशले प्रहरीमा गरेको पोल झुठ्ठा हो । सर्जमिनका धुन्धरा, रामजीत, विश्वनाथ र भागिरथलाई मैले चिनेजाने कै नहुँदा किन झुठ्ठा कुरा लेखाएका हुन निजै जानुन भन्न समेत व्यहोराको प्र.रामदेव महतो कोइरीले अदालतमा गरेको बयान ।
20. २०४२।११।२ गतेका दिन २ बजे म ब्लक नं. ४ रामनगरीमा छु । त्यसपछि दाजु रामपृत विरामी भएको खबर पाइ निज दाजुलाई टायरमा राखी इलाज गराउन भारत रक्सौलको सरकारी अस्पतालमा डा.राजेश्वर कहाँ लगी इलाज गराएको हुँ । इलाज गराउँदै रात परी म र दाजु रामपृत त्यही रहेको हुँ । राती ८ बजे दाजु वैजनाथ टायर गाडा लिई त्यहाँबाट फर्किएका हुन् । हामीले बुधनलाई १ लाख रुपैयाँ दे नत्र मारिदिन्छु भनी ज्यान मारेको छैन । रजाक मिया बराबर मेरो परिवारसँग झैझगडा गरिरहने भएबाट मेरो बाबुले निज विरुद्ध शान्ति सुरक्षाको दरखास्त दिएको रिसइवीले रजाकले झुठ्ठा पोल गरेका हुन् र निजकै भनाइमा लागि झुठ्ठा जाहेरी दिएका हुन् । प्र.राम एकवाल, वैजनाथ, कैलाश, जगदिशले प्रहरीमा बयान गर्दा वैजनाथ दाजु र जगदिश काका भएकाले मलाई पोल गरी बयान गरे होलान् सो विश्वासलायक नै छैन र रामएकवालले प्रहरीको कुटाइले भने होलान तथा कैलाश रजाककै मानिस भएको र हामीसँग निजको इवी रहेको समेत कारणले झुठ्ठा पोल गरेका होलान् । सर्जमिनका मेरो इवीवालाले समेत झुठ्ठा सर्जमिन गरी दिएका हुन् भन्ने समेत व्यहोराको प्र.जगरनाथ साह कानुले अदालतमा गरेको बयान ।
21. २०४२।११।२ गते विरामी भएकोले भाइ जगरनाथलाई लिई भाइ वैजनाथले टायरगाडा हाँकी रक्सौल डा.राजेश्वर प्रसाद कहाँ गई इलाज गराई म र भाइ जगरनाथ त्यही रहे बैजनाथ फर्के । म समेत भई बुधनलाई मारे मराएको होइन । रजाक उपर मेरो बाबुले शान्ति सुरक्षाको दर्खास्त दिएको रिसइवीले मलाई वारदातमा देखाएका हुन् जाहेरी झुठ्ठा हो । रामएकवाल, वैजनाथ, कैलाश र जगदिशले प्रहरीमा गरेको बयान बमोजिम मैले बन्दुक फायर गरी ज्यान मारेको होइन । म रामएकवाल, वैजनाथ र जगदिशलाई प्रहरीले कुटपिट गरी बयान गराएको र कैलाशले मेरो बाबुसँग पैसा मागेको नदिएको रिसइवीले झुठ्ठा पोल गरेका हुन् सरजमिनका व्यक्तिसँग झैं झगडा भएको रिसले त्यस्तो सरजमिन गरी दिएका हुन् भन्ने समेत व्यहोराको प्र.रामपृतको अदालतमा गरेको बयान ।
22. अभियोग दावी बमोजिम मैले बुधनलाई मारे मराएको पनि छैन र मार्ने मत सल्लाह समेत छैन । म २०४२।११।२ गते दिउँसो सरस्वती पुजामा भोज खाँदै झाडाबान्ता लागेबाट कलैया अस्पतालमा रही ३ गते छुट्टी पाएको हुँ । जाहेरी दरखास्त झुठ्ठा हो । मैले निजलाई चिनेको नहुँदा किन त्यस्तो जाहेरी दिएका हुन् निजै जानुन । वैजनाथ र जगदिशलाई चिनेकै नहुँदा किन त्यस्तो पोल गरे निजै जानुन । सरजमिनका रामानन्दलाई चिनेकै नहुँदा विश्वनाथ, भागिरथले रिसइवीले झुठ्ठा पोल गरेका हुन् भन्ने समेत व्यहोराको प्र.पारस साह कानुले अदालतमा गरेको बयान ।
23. सरजमिनका व्यक्तिहरु देवी महतो कोइरी १, विश्वनाथ साह कानु १, भागिरथ कानु १, रामजीत महतो कोइरी १, फुलचन्द साह कानु १, नथुनी साह कानु १, विश्वनाथ महतो कोइरी १, धुरन्धर महतो कोइरी १, मिखु महतो कोइरी १, मेधु राउत १, इन्द्रप्रसाद यादव १, रंगिमहतो नुनिया १, झपस महतो धानुक १, समेतले गरी दिएको बकपत्र ।
24. प्रतिवादीको साक्षी प्र.पारसको साक्षी विक्रम साह कानु १, रामपृथको साक्षी राम अयोध्या १, रामदेवको साक्षी निधारी महतो कोइरी १, जगदिशको साक्षी वीरबहादुर साह कानु १, रामदेव गोसाइ १, नागेश्वरको साक्षी विरलाल साह कानु १, किशोरी साह कानु १, जगरनाथको साक्षी हरदेव साह कानु १, रामजी साह तेली १, राजेन्द्रप्रसाद १, वैजनाथको साक्षी जयनारायण समेतले गरेको बकपत्र ।
25. २०४२।११।२ गते म र बुधन वीरगंजबाट मोटरसाइकलमा आएको, मोटरसाइकल बुधनले चलाएको र म पछाडि बसी घर आउन लाग्दा नहरको डिलमा १५।१६ जनाले घेरी १ लाख रुपैयाँ दे नत्र मारिदिन्छु भनी भनेको, जुनेली रात र मोटरसाइकलको बत्तिको उज्यालोबाट कैलाश, रामपृत, जगरनाथ, वैजनाथ, जगदिश, रामएकवाल, रामदेव, नागेश्वरलाई चिने । निजहरुले हिर्काउन थाले त्यसपछि म भाग्न लागें र बुधन पनि भाग्न लाग्दा ती व्यक्ति समेत भई बन्दुकको गोलीबाट बुधनलाई ज्यान मारी दिएका हुन भन्ने समेत व्यहोराको महमद रजाक हुसेन शेष हजारीले अदालतमा गरेको बकपत्र ।
26. प्रतिवादी कैलाश महतो र रामपृत साहलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ । प्रतिवादी जगरनाथ उपरको दावी पुग्न सक्दैन । प्रतिवादी वैजनाथ साह र रामएकवाललाई ज्यान सम्बन्धीको १७(३) नं. बमोजिम ३ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी जगदिश साहलाई ऐ.को १७(३) नं. ले एक वर्ष कैद हुने ठहर्छ । साथै प्र.नागेश्वर, प्र.रामदेव, झगरु महतो, पारस साहले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०४५।१२।१३ को फैसला ।
27. पर्सा जिल्ला अदालतको फैसलामा चित्त बुझेन मैले सफाइ पाउनु पर्छ भन्ने समेत व्यहोराको कैलाश महतोको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
28. पर्सा जिल्ला अदालतबाट कानुनी त्रुटियुक्त फैसला भएको हुँदा उक्त फैसला वदर गरी श्री ५ को सरकारको माग दावी बमोजिम सबै प्रतिवादीहरुलाई सजाय हुनुपर्दछ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
29. पर्सा जिल्ला अदालतको फैसला चित्त बुझेन मेरो माग दावी बमोजिम सो फैसला उल्टी गरी सफाई पाउँ भन्ने समेत व्यहोराको वैजनाथ साह कानुको पुनरावेदन अदालत हेटौडामा परेको पुनरावेदन पत्र ।
30. दावीको वारदातमा प्रतिवादीहरु कैलाश महतो, वैजनाथ, जगरनाथ, रामपृत, रामएकवाल, जगदिश, रामदेव, झगरु र पारस समेतका व्यक्तिहरुलाई फसाउने उद्देश्यले म रजाक हुसेनले योजना एवं परिपन्च रची तदनुसार जाहेरी लगायतको कार्य भएको जाहेरी, म रजाकको कागज सर्जमिनका व्यक्तिहरुको भनाइ र बकपत्रहरुबाट प्रष्ट देखिन आएकोले प्रतिवादीहरु कसुरदार देखिन आउने शंकारहित विश्वासनीय प्रमाणको अभावमा शंकाको सुविधा प्रतिवादी पक्षले पाउने हुँदा पुनरावेदक प्रतिवादी साधकको रोहमा आएका प्रतिवादी र पुनरावेदन नै नगर्ने प्रतिवादीको हकमा समेत निजहरु उपरको दावी प्रमाणित नहुँदा सफाई पाउने ठहर्छ । पर्सा जिल्ला अदालतको फैसला नमिलेको हुँदा उल्टी हुने भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति २०४८।१२।२३ को फैसला ।
31. मृतकसँग मोटरसाइकलमा गएका चश्मदिद गवाह मोहम्मद रजाक हुसेनले प्र.कैलाश महतो समेतले बाटो ढुकी बसी बन्दुक फायर गरी मारेको भनी किटानी लेखाई दिएका र अदालतमा समेत सोही व्यहोरा बकपत्र लेखाई दिएको स्थिति छ । जाहेरवाला शिवपुजन महतोले प्रतिवादीहरु उपर कसुर गरेकोमा किटान गरी जाहेरी दिएका हुन् । प्र.कैलाश महतोले अरु समेतले बुधनलाई फायर गरी मारेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती भई कागज लेखाई दिएका र परस्परमा अन्य प्रतिवादीहरुलाई समेत पोल गरी बयान गरेका र बुधनलाई मारी भाग्दा विन्ध्याचलले बोकेको चप्पल लगायतको सामानको पोको घटनास्थल नजिकै बरामद भएको समेत स्थितिमा शुरु पर्सा जिल्ला अदालतले तथ्यमा प्रवेश गरी रामपृत कैलाश महतोले गोली हानी बुधनलाई मारेको ठहर्याएकोमा पुनरावेदन अदालत हेटौडाले सफाई दिएको फैसला मिलेको छैन । शुरु माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
32. किटानी जाहेरी, अधिकार प्राप्त अधिकारी समक्ष भएको साविती, चप्पल बरामद भएको स्थिति सर्जमिनका दश (१०) जना व्यक्तिले अभियुक्तहरुलाई घटनास्थल वरपर देखेको भनेका मृतक साथ मोटरसाइकलमा जाने मोहम्मद रजाकको बकपत्रबाट पनि यिनै अभियुक्तहरुले अपराध गरेको देखिन्छ । मृतकको परिवार अभियुक्त रामपृतको परिवारबीच झैझगडा रहेको तथ्य पनि प्रमाणित छ । मृतकलाई अन्य उद्देश्यले मारेको भन्ने कुनै सवुद नदेखिँदा अभियुक्तहरुसँगको पूर्व रिसइवीको महत्व समेतबाट सबै अभियुक्तलाई कसुरबाट सफाई दिने ठहर्याइएको पुनरावेदन अदालत हेटौडाको निर्णय फरक पर्ने देखिँदा अ.वं.२०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५१।५।२०।२ को आदेश ।
33. बरामदी मुचुल्कामा सही गर्ने तत्कालीन प्र.पं. मंगलप्रसाद समेतका व्यक्तिहरुलाई अदालतबाट बुझेको नदेखिँदा ती व्यक्तिहरुलाई एक महिनाभित्र बुझी बकपत्र गर्ने कार्य सम्पन्न गरी पठाउन मुद्दाको लगत यसै अदालतको कायम राखी मिसिल पर्सा जिल्ला अदालतमा पठाउने र छलफलमा उपस्थित भएका प्रतिवादीहरुलाई पनि सोही अदालतमा तारेख तोकी पठाई कार्य सम्पन्न भएपछि कानुन बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५३।१।११ को आदेश ।
34. बुधन महतो मरेको भनी प्रहरीले सही गराएको हो । जुत्ता चप्पल बरामद भएको र बरामदी मुचुल्कामा सही गरेको समेत मलाई थाहा छैन भन्ने समेत व्यहोराको बरामदी मुचुल्कामा सही गर्ने असर्फी साह कानु समेतको एकै मिलनको बकपत्र ।
35. प्रस्तुत मुद्दामा बुधन प्रसादको हत्या भएकोमा कुनै विवाद नरहेको, यी प्रतिवादीहरु बाहेक अरु कसैबाट निजको हत्या गरेको भन्ने तथ्यपूर्ण एवं भरपर्दो आधार केही देखिन नआएको र प्रतिवादी कैलाश महतोको मौकाको अधिकार प्राप्त अधिकारी समक्षको साविती, वारदातसँग सम्बन्धित बरामदी मुचुलका तथा बारदातका प्रत्यक्षदर्शी महमत रजाक समेतको व्यहोरालाई अन्यथा हो भन्न सकिने स्थिति देखिन नआएको र महमत रजाकको ठाडो कागज व्यहोरा एवं बकपत्रलाई पन्छाई हेर्ने हो भने पनि प्रतिवादीहरु कैलाश महतो, वैजनाथ, रामएकवाल, जगदिश समेतका प्रतिवादीहरु मौकामा सावित छन् र परस्परको पोलसहितको सो साविती लाश प्रकृति मुचुल्का, सर्जमिन समेतको प्रमाणबाट समर्थित भइरहेको र साथै प्रतिवादीहरु रामपृत, रामएकवाल र जगदिश शुरु जिल्ला अदालतको फैसला उपर पुनरावेदन पनि नगरी चित्त बुझाई बसेको अवस्था समेत देखिएको भई प्रतिवादीहरुले नै सो वारदात गरेको स्पष्ट देखिन आएको छ । यस स्थितिमा प्रतिवादीहरुलाई शंकाको सुविधा दिई रहन पर्ने अवस्था नै नपर्नेमा पुनरावेदन अदालत हेटौडाले प्रतिवादी पक्षले शंकाको सुविधा पाउँछ भनी कैलाश महतो, रामपृत लगायतका सम्पूर्ण प्रतिवादीहरुलाई सफाइ दिएको इन्साफ मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भई शुरु पर्सा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । मा.न्या.श्री कृष्णकुमार वर्माको भिन्न राय भएको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) बमोजिम मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको राय ।
36. प्रतिवादीहरुलाई महमद रजाक हुसेन हवारीले फसाउने उद्देश्यले योजना तथा परिपंच रचेको भन्ने कुरा संलग्न कागज र सर्जमिनका व्यक्तिहरुको भनाइ र बकपत्रहरुबाट पनि प्रष्ट देखिन आएको र प्रतिवादीहरु कसुरदार देखिन आउने शंकारहित र विश्वसनीय प्रमाणको अभावमा शंकाको सुविधा प्रतिवादीहरुले पाउने गरी ठहर्याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मुनासिव ठहर्छ । माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्यको रायसँग सहमत हुन नसकेको हुँदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम मुद्दा पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री कृष्णकुमार वर्माको रायसहितको यस अदालत संयुक्त इजलासको मिति २०५५।३।१ को फैसला ।
37. नियमअनुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री भरतमणि खनालले बुधनको मृत्यु कर्तव्यबाट भएकोमा दुवै मा.न्या.हरु सहमत हुनुहुन्छ । मौकामा पक्राउ परेका प्रतिवादीहरु कैलाश, रामएकवाल, वैजनाथ, जगदिश चारैजना अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेमा सावितै रहेका छन् । घटनास्थलमा चप्पल बरामद भएको र सो आफ्नो भनी प्रतिवादी कैलाशले सनाखत गरी दिएका छन् । शिवपुजन मृतकका दाजु हुन् । निजले रजाकको भनाइलाई मात्र आधार मानी जाहेर गरेका होइनन् । नजिकको हकदारको नाताले आफैले जाहेर गरेका हुन् । मा.न्या.श्री अरविन्दनाथ आचार्यको राय मिलेकै हुँदा सो सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस जिकिर प्रस्तुत गर्नुभयो । प्रत्यर्थी प्रतिवादी मध्येका रामपृत, जगरनाथ र वैजनाथको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री कमल नारायण दासले प्रतिवादीहरुलाई डर त्रास धम्की दिई प्रहरीले बयान गराएको भन्ने भनाइ अदालत समक्षको बयानमा रहेको हुनाले त्यस्तो भनाइलाई प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) ले प्रमाणमा लिन मिल्दैन । मा.न्या. श्री अरविन्दनाथ आचार्यज्यूको रायमा बरामदी मुचुल्काको मानिसको भनाइलाई १० वर्ष पछिको भनाइ हुँदा मान्य नहुने भनी व्यक्त गर्नु भएको राय प्रमाण ऐन प्रतिकूल छ । रजाक रिसइवीका व्यक्ति हुँदा निजको भनाइलाई आधार लिन मिल्दैन । मेरो पक्ष र बुधनको परिवारका बीचमा कुनै झगडा छैन । सर्जमिनका ७ जना व्यक्तिले मार्ने व्यक्ति रजाक हुन भनेका छन् रजाक शंकाको घेराभित्रका व्यक्ति हुन, मरेको र गोली लागेकोमा शंका छैन । अनुसन्धान तथ्यपरक रुपमा भएको छैन । यी प्रतिवादीहरुको कर्तव्यबाट मरेको भन्ने भनाइ सावित छैन । तसर्थ शंकाको अवस्था विद्यमान हुँदा शंकाको सुविधाका आधारमा समेत प्रतिवादीहरुलाई सफाइ दिएको सदर गरेको मा.न्या.श्री कृष्णकुमार वर्माको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको प्रतिरक्षात्मक बहस जिकिर प्रस्तुत गर्नुभयो ।
38. उपयुक्तानुसारको बहस जिकिर सुनी सम्पूर्ण मिसिल कागजात अध्ययन गर्दा शिवपुजनको जाहेरीले उठान भएको प्रस्तुत मुद्दामा प्रतिवादीहरु मध्येका प्रतिवादी कैलाश महतो, रामपृत साहले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १, १३(१) बमोजिम जख्मी हतियार बन्दुकले बुधनलाई मारेकोले निजहरुलाई ऐ. १३(१) बमोजिम प्रतिवादी जगरनाथ साहलाई ऐ.को १३(४) नं. बमोजिम प्रतिवादी रामएकवाल महतो, वैजनाथ साह र पक्राउमा नपरेका झमरु महतोले ज्यान मार्नमा महत्वपूर्ण सहयोग गरेको आरोपमा निजहरुलाई ऐ.ऐनको १७(१) बमोजिमको, प्रतिवादीहरु जगदिश, नागेश्वर, राम प्रसाद र पारसको हकमा ऐ.ऐनको १७(३) नं. बमोजिमको सजायको माग गरी प्रहरी प्रतिवेदन परेको देखिन आउँछ ।
39. सो बमोजिम सुनुवाई हुँदा यी प्रतिवादीहरु मध्ये कैलाश महतो र रामपृत साहले गोली हानी बुधन प्रसादलाई मारेको ठहर्छ भनी निजहरुका हकमा ज्यान सम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद, प्रतिवादी जगरनाथ उपर दावी नपुग्ने, मत सल्लाहसम्ममा पसेको देखिएको भन्ने आधारमा प्रतिवादीहरु वैजनाथ साह र रामएकवाललाई ज्यान सम्बन्धी महलको १७(३) नं. बमोजिम जनही ३ वर्ष कैद हुने, प्रतिवादी जगदिश साहलाई ऐ.१७(३) नं. बमोजिम १ वर्ष कैद र अन्य प्रतिवादीहरु नागेश्वर, रामदेव, झगरु महतो, पारस साहले सफाइ पाउने ठहराई शुरु पर्सा जिल्ला अदालतबाट फैसला भएको देखिन्छ । सो फैसला उपर प्रतिवादीहरु कैलाश महतो,वैजनाथ साहले आरोपित कसुर बमोजिम सजाय गरेकोमा चित्त नबुझाई परेको पुनरावेदन र वादी श्री ५ को सरकारको तर्फबाट दावी बमोजिम नभएको विषयमा दावी वमोजिम हुने माग गरी परेको पुनरावेदन तथा पुनरावेदन नगर्ने रामपृत साहका हकमा साधकको रोहबाट विचार गरी दावीको वारदातमा प्रतिवादीहरु कैलाश महतो, वैजनाथ, जगरनाथ, रामपृत, रामएकवाल, जगदिश, रामदेव, झगरु, पारस समेतका व्यक्तिहरुलाई फसाउने उद्देश्यले रजाक हुसेनले योजना एवं परिपंच रची कार्य भएको देखिन आएकोले प्रतिवादीहरु कसुरदार देखिन आउने शंकारहित विश्वसनीय प्रमाणको अभावमा शंकाको सुविधा प्रतिवादी पक्षले पाउने हुँदा पुनरावेदक प्रतिवादी कैलाश महतो, वैजनाथले दावीको अभियोगबाट सफाई पाउने, साधकको रुपमा सुनुवाई भएको प्रतिवादी रामपृत साह विरुद्धको अभियोग प्रमाणित नहुँदा निजले सफाई पाउने ठहर्छ । पुनरावेदन नगर्ने प्रतिवादीहरु रामएकवाल, जगदिश समेत उपर दावी प्रमाणित नहुँदा अ.वं. २०५ नं. बमोजिम निजहरुले पनि सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौडाबाट फैसला भई शुरु जिल्ला अदालतको फैसला उल्टी भए उपर वादी श्री ५ को सरकारको यस अदालतमा दावी बमोजिम सजाय हुनुपर्ने माग गरी पुनरावेदन पर्न आएको देखिन्छ । सो पुनरावेदन उपर सुनुवाई हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको हुँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर बमोजिम प्रतिवादीहरुले कसुर गरेको हो होइन ? निजहरुलाई दावी बमोजिम सजाय हुनुपर्ने हो होइन ? भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आएको छ ।
40. निर्णयतर्फ विचार गर्दा अभियोग दावी बमोजिम कसुरदार ठहर गर्ने संयुक्त इजलासका माननीय न्यायाधीशले बुधनप्रसादको हत्या भएकोमा विवाद नभएको, यी प्रतिवादीहरु बाहेक अरुबाट निजको हत्या गरेको भन्न तथ्ययुक्त एवं भरपर्दो आधार केही देखिँदैन । कैलाश महतोको मौकाको अधिकार प्राप्त अधिकारी समक्षको साविती वारदातसँग सम्बन्धित बरामदी मुचुल्का तथा वारदातका प्रत्यक्षदर्शी महमत रजाक समेतको व्यहोरालाई अन्यथा भन्न नसकिने भन्ने समेत आधारमा प्रतिवादीलाई शंकाको सुविधा दिइरहनु नपर्ने भन्ने आधार लिनु भएको देखिन्छ । अभियोग दावीबाट सफाइ दिनुपर्ने राय व्यक्त गर्नु हुने माननीय न्यायाधीशले प्रतिवादीहरुलाई महमद रजाक हुसेन हवारीले फसाउने उद्देश्यले योजना तथा परिपंच रचेको भन्ने कुरा संलग्न कागज र सर्जमिनका व्यक्तिहरुको भनाइ र बकपत्रहरुबाट पुष्टि हुन आएको भन्ने आधार लिनु भएको देखिन्छ । यस परिप्रेक्ष्यमा श्री ५ को सरकारको पुनरावेदन जिकिर समेतको रोहमा मिसिल संलगन प्रमाण कागजातको मूल्यांकनका साथै सम्बन्धित कानुनी व्यवस्था बमोजिम विपक्षी प्रतिवादीहरु कसुरदार हुन होइनन् कसो रहेछ भनी विचार गर्दा प्रथमतः जाहेरी हेरिनुपर्ने भई हेर्दा जाहेरवालाले दिएको जाहेरीमा आफूले देखे जाने अनुसारको विवरण दिएको अवस्था छैन । बुधन महतोसँगै थिएँ भन्ने महमद रजाक हुसेन हवारीले बताएको भनेको विवरणको आधारमा जाहेरवालाको जाहेरी परेको देखिन्छ । जाहेरी दरखास्त अनुसार बुधन र रजाक मिया साथसाथै एउटै मोटरसाइकलमा आइरहँदा प्रतिवादीहरुले घेरेको र दुवै जना भाग्न लाग्दा रजाक मियालाई सामान्य कुटपिटसम्म गरेका र बुधन महतोलाई गोली हानी मारेको भन्ने देखिन्छ । मोटरसाइकल रोक नभए मारिदिन्छु भनी प्रतिवादीहरुले भन्दा १५।१६ जना मानिस आई घेरा हाल्न थालेका भन्ने देखिन्छ । रजाक मियाले प्रहरी समक्ष गरेको कागजमा जाहेरी मिलानको व्यहोरा लेखाई दिएको पाइन्छ । रामएकवाल महतोले प्रहरी समक्ष कागज गर्दा वारदात अवस्थामा ९ जना व्यक्ति मात्र रहेको भनी उल्लेख गरेका छन् । रजाक मियाको कागजमा भए अनुरुप १५।१६ जना व्यक्ति रहेको पाइँदैन । प्रतिवादी मध्येका वैजनाथले प्रहरी समक्ष कागज गर्दा रजाक मियासँग दुश्मनी रहेको उल्लेख गरेका छन् । बुधन महतोलाई रजाक मियाकै गठमेलका व्यक्ति देखाइएको र निजको हत्या गरिनु पर्ने योजना बनाएको र सो हत्यामा नागेश्वर, जगदिश, रामदेव र पारसको समेत संलग्नता रहेको भनी देखाएको अवस्था छ । प्रतिवादी मध्येको कैलाश महतो, जगदिश साह कानुले गरिदिएको कागज व्यहोरा फरक देखिन्छ । मार्नुपर्ने कारणमा बुधनसँग रामपृतको परिवारसँगको दुश्मनीले हो भनी लेखाइ दिएको तथा वारदातमा संलग्न रहेका व्यक्तिहरुमा कैलाश महतोका चार जना साथी रामएकवाल, जगरनाथ, वैजनाथ, नागेश्वर, रामदेव, रामपृत र पारस समेतका व्यक्ति भनी देखाएको छ । कैलाश महतोले लेखाई दिएको कागजमा बुधनसँग रामपृत र जगरनाथको दुश्मनी थियो भन्ने कुराको साथै रामएकवाल, झगरु, रामायण, विन्ध्याचल, झगरु सिंह समेतका व्यक्तिको संलग्नता देखाएका छन् । अदालतमा आई प्रतिवादीहरु सबै इन्कार रहेको अवस्था छ । प्रतिवादी मध्येका जगदिश साह कानु र रामएकवालले बयान गर्दा रजाकसँग रिसइवी रहेकोले जाहेरवालाले झुठो जाहेरी दिलाएका हुन भन्ने व्यहोराको साथै सर्जमिनमा रजाकले नै बुधनलाई मारेको भन्ने सुनेको व्यहोरा लेखाई दिएको पाइन्छ । अर्का प्रतिवादी वैजनाथ प्रसादले बयान गर्दा रजाकसँग रिसइवी भएको कारण बाबुले शान्ति सुरक्षा विषयलाई लिएर जिल्ला कार्यालयमा उजुर गरेको कारणबाट रिसइवी हुन गएको र भूमिका बाँधी रजाकले नै जाहेरी दिलाएका हुन् तथा सर्जमिनमा बुधनलाई रजाकले नै मारेको भनी सुनिएको व्यहोरा लेखाई दिएको देखिन्छ । अन्य प्रतिवादीहरु नागेश्वर साह, जगरनाथ साह र रामपृतले अदालतमा बयान गर्दा झैझगडा भइरहने र बाबु चाहिंले जिल्ला कार्यालयमा शान्ति सुरक्षाको कुरो लिएर उजुरी दिएकाले रिसइवी हुन गएकाले झुठो पोल गरेको र झुठो जाहेरी दिलाएका हुन् भनी माथि उल्लेख भएको प्रतिवादीहरुले बुधनको मृत्यु रजाक मियाका कारणबाट भएको भनी लेखाई दिएको पाइन्छ । भु.पु. हवल्दार रजाक मियासँग प्रतिवादीहरुको रिसइवी झैझगडा भएको भन्ने स्थिति देखिँदा घेराउमा पारिएका बुधन र रजाकमध्ये रजाकलाई सामान्य कुटपिट सम्म गरेका र बुधनको ज्यानै लिएका कारणतर्फ अनुसन्धान र तहकिकात गर्ने अधिकारीले स्पष्ट खुलाउन, बताउन सकेको अवस्था देखिँदैन । सर्जमिनका इन्द्रप्रसाद, झापस महतो धानुक, मेधु राउत अहिर, रंगे महतो नुनिया समेतका व्यक्तिहरुले महमद रजाकको हातमा बन्दुक देखिएकोले बुधनलाई रजाकले नै गोली हानी मारेकोमा पूर्ण शंका लाग्छ भन्ने कुरा व्यक्त गरेकोमा उल्लेख भए बमोजिम प्रतिवादीहरुको भनाइ र सर्जमिनका यी व्यक्तिहरुको भनाइतर्फ एकिन अनुसन्धान भएको अवस्था देखिँदैन ।
41. यसप्रकार समष्टिगत प्रमाणको मूल्यांकन गर्दा मोहमद रजाक हुसेनका बयान व्यहोरा मिलानकै जाहेरी परेको र निज महमद रजाक हुसेनले अदालत समक्ष बकपत्र गर्दा रोक भन्ने आवाज आयो, १५,१६ जना आई तिन तर्फबाट घेरे भनी भनेपछि जीरह हुँदा चारैतिरबाट घेरेको, गोलीको आवाज सुनेकोले निजहरुले नै मारेको सम्झेको, कहिले बसिरहेको, कहिले आली मुनी लुकी टाउको माथि निकाली रहेको भनी आफ्नो भनाई व्यहोरामा फरक पारी बकपत्र गरेको पाइन्छ । सर्जमिनका मानिस जसले मोटरसाईकलको उज्यालो, टर्चको उज्यालो, जुनेलीरात हुँदा जुनको उज्यालोले देखेको भनी मृतकलाई घेराउ गर्ने भनिएका प्रतिवादीहरुको संख्या कसैले ९।१० जना कसैले १५।१६ जना कसैले बन्दुक बोकेको व्यक्ति फलानो, फलानो कसैले हातमा बन्दुक थियो कि लाठी थियो भन्न सक्दिन, आफू खेतमा काम गरिरहेको, दिशा गर्न आएको, चारैतिरबाट घेरेको तिनतिरबाट घेरेको, लाम लागेर घरेको भन्ने भनाईबाट एकातिर विवरणहरु तथ्यसंगत नभई फरक-फरक परी रहेको देखिन्छ भने अर्कोतर्फ अस्पष्ट देखिन्छ । सर्जमिनका मानिसहरु मध्ये पनि कसैले ४।५ जना कसैले ९।१० जना, कसैले ७।८ जना व्यक्तिहरु मिली बुधनलाई मारेको भनेको पाइन्छ (देवी महतो, धुरन्धर, विश्वनाथ समेतको सर्जमिनको व्यहोराबाट देखिने) भने कसैले मारेको थाहा छैन भनी राजेन्द्र गोसाई, राम कैलाश कानू समेतका व्यक्तिहरुले र महमद रजाकको हातमा बन्दुक देखेकोले बुधनलाई रजाकले नै गोली हानी मारेकोमा पूर्ण शंका लाग्छ भन्ने इन्द्रप्रसाद, झापस महतो धानुक, मेधु राउत अहिर, रंगे महतो नुनिया समेतले व्यक्त गरेको पाइन्छ । यसबाट सर्जमिनका मानिसहरुले आ आफ्नो देखे जानेका कुरा वस्तुनिष्ठ तवरले तथ्यगत आधारमा व्यक्त गर्न सकेको अवस्था देखिदैँन । त्यसैगरी निज बुधनलाई मार्नुपर्ने कारणमा वैजनाथले रजाक मियासँग दुश्मनी रहेको बुधनप्रसाद निज रजाकको पक्षमा भएकोले भनेको भनेपनि कैलाश र वैजनाथको कागजबाट बुधनसँग दुष्मनी हुनु भनी देखाइएको छ भने वारदात स्थलमा एकलाख माग्दा नदिएकोले बुधनलाई मारेको भन्ने भनाई रहेको पाइन्छ । अर्कातिर बुधनलाई मार्न रु.सात हजार दिने गरी पक्का पक्की भएको भन्ने अवस्था पनि देखाइएको छ । यसबाट मार्नपर्ने कारण के हो र ? यी प्रतिवादीहरुले नै मारेको भन्ने अभियोजन पक्षबाट वस्तुनिष्ठ तवरले अनुसन्धान तहकिकात हुन सकेको अवस्था देखिदैँन । वारदातको प्रकृतिलाई अभियोजन कर्ताको कुरालाई एकछिन सही मानी हेर्दा पनि तीन जनाले बन्दुक लिएको अरुले बन्चरो फाटा लाठी समेत लिएको चारैतिरबाट घेरेको रातको समय भएकोमा महमद रजाक भागी उम्कन सफल भएको मात्र होइन निज नजिकै लुकी बसी बन्दुक फायर भई बुधनको हत्या भएपछि घटनास्थलबाट मृतकको घरतर्फ लागेको भन्ने पुष्ट्याई गरिन खोजिएको देखिन्छ तापनि रजाकलाई अपराधसँग सम्बन्धित व्यक्ति भनी देखाईरहेको अवस्था र आफू विरुद्ध प्रमाण हुन सक्ने व्यक्तिलाई सामान्य तवरले लखेटी छोडी दिएको वा घेरा बन्दी तोडी निज भागी गए होलान भनी अनुमान गर्न सकिने आधार कारण अवस्था रहे भएको देखिन नआई अभियोजनको पुष्ट्याई पत्यारलायक देखिन आएन ।
42. अब अभियोजन पक्षको दावीतर्फ हेर्दा यी प्रतिवादीहरु मध्ये कसैले आफैले ज्यान मारेको कसैले मार्न सहयोग पुर्याएको भन्ने समेत आधारमा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. समेतको कसुरमा सोही महलको १३(१) नं., १३(४) नं., १७(१) नं. र १७(३) नं. को सजायको माग दावी लिएको देखिन्छ । ज्यान सम्बन्धी महलको १ नं. मा कानुन बमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नको उद्योग गर्न हुँदैन भन्ने र १३(१) र १३(४) नं. ले क्रमशः धार भएको वा नभएको जोखिमी हतियार गैह्रले हानी रोपी घोची ज्यान मारेमा जति जना भई हतियार छाडेको छ उतिजना ज्यानमारा ठहर्ने हुनाले सर्वश्वसहित जन्मकैद गर्नुपर्ने र जुनसुकै कुरा गरिकन पनि ज्यान मार्नमा बचन दिनेलाई वा दारदात भइरहेको ठाउँमा गई मार्नलाई संयोग पारिदिन निमित्त मर्ने मानिसको ज्युमा हातहाली पक्री समाती दिनेलाई जन्मकैद गर्नुपर्ने व्यवस्था कानुनद्वारा गरेको पाइन्छ । त्यसैगरी १७(१) र १७(३) नं. ले क्रमशः ज्यान मार्नालाई भनी हतियार विष मागेकोमा जानी जानी हतियार गोली बारुद विष दिने वा ज्यान मार्ना निमित्त वारदात गरिरहेको ठाउँमा हतियार साथमा लिई मौजुद रहनेलाई दश वर्ष कैद गर्नुपर्छ । अरु किसिमसँग मतसल्लाहमा पसेकोमा मर्ने ठाउँमा गई अरु कुरा केही नगरी हेरी रहनेलाई लेखिए देखि बाहेक अरु किसिमका मतलवीलाई ६ महिनादेखि तीन वर्षसम्म कैद गर्नुपर्छ भन्ने व्यवस्था गरेको देखिन्छ ।
43. अदालत समक्ष प्रस्तुत हुन आएको विवादका सम्बन्धमा न्याय सम्बन्धी अधिकार प्रयोग गरी न्याय निरोपण गर्दा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८४ ले नेपाल अधिराज्यको न्याय सम्बन्धी अधिकार यो संविधान र अन्य कानून तथा न्यायका मान्य सिद्धान्त अनुसार अदालत तथा अन्य न्यायिक निकायहरुबाट प्रयोग गरिने छ भन्ने व्यवस्था गरेको पाइन्छ । प्रस्तुत मुद्दा फौज्दारी अभियोग सम्बन्धी भएको र व्यक्तिको वैयक्तिक सुरक्षाको लागि फौज्दारी न्यायका मान्य सिद्धान्तहरुलाई हाम्रो संविधानले नै सुरक्षित गरेको छ भने कतिपय सिद्धान्तहरु यस अदालतका पूर्व फैसलाहरुबाट स्वीकार हुदैँ आएको अवस्था छ । फौज्दारी अभियोग प्रमाणित हुनको लागि सो कार्य गर्ने मनसाय तयारी तथा मनसाय वा तयारीको परिणाम स्वरुप कृया भएको हुनुपर्दछ । त्यस्तो कृया शंकारहित तवरले पुष्टि भएको हुनुपर्दछ । ज्यान मार्ने कार्य भएको भन्ने आधारले मात्र कुनै व्यक्तिलाई आरोपित गर्नु पर्याप्त आधार हुन सक्दैन । विवादास्पद, अस्पष्ट, विरोधाभासपूर्ण प्रमाणको आधारमा कसैलाई दोषी सिद्ध गर्ने हो भने परिणामतः न्याय परेको भन्न मिल्दैन । विवादास्पद प्रमाणहरुलाई आधार मानी कसूरदार ठहर गर्न मिल्दैन । फौज्दारी न्यायको सिद्धान्त अनुसार बरु केही अपराधी छुटुन तर निरपराधी एउटा पनि नपरुन, शंकाको सुविधा अपराधीले पाउँछ भन्ने जस्ता सिद्धान्तका साथै न्यायिक स्वविवेक समेतका आधारमा उपयुक्त कार्य भएको छ भनी मान्न सकिदैन । अतः माथि गरिएको प्रमाणको मूल्याङ्कन सम्वद्ध कानूनी व्यवस्था तत् सम्बन्धी सर्वमान्य सिद्धान्त समेतको आधारमा विश्लेषण गर्दा अभियोग पक्षबाट संकलित सबूद प्रमाणहरु अस्पष्ट माग दावी खम्बिर हुने प्रकृतिको प्रमाणहरु पुग्न नसकेको स्थिति र शंकारहित तवरबाट अभियोग प्रमाणित भएको देखिन नआएकोले पुनरावेदन अदालत हेटौडाले प्रत्यर्थी प्रतिवादीहरुलाई आरोपित अभियोगबाट सफाई दिने ठहर गरेको राय सदर गरेको माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्माको राय मुनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उपयुक्त रायमा सहमत छौं
न्या.कृष्णजंग रायमाझी
न्या.भैरवप्रसाद लम्साल
इति सम्वत २०५७ साल जेष्ठ १२ गते रोज ५ शुभम.................।