निर्णय नं. ६८८४ - अंश

निर्णय नं. ६८८४ ने.का.प. २०५७ अङ्क ४
पूर्ण इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
माननीय न्यायाधीश श्री ज्ञाइन्द्रबहादुर श्रेष्ठ
सम्वत २०५६ सालको दे.पु.इ.नं. ..९८
फैसला मितिः २०५७।१।१६।६
मुद्दाः अंश ।
पुनरावेदक/प्रतिवादीः जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. २ बस्ने स्व.डम्बरजंग राणाको छोरा दिपक भन्ने ज्योतिजंग राणा समेत
विरुद्ध
विपक्षी/वादीः जिल्ला धनुषा,जनकपुर नगरपालिका वडा नं. २ बस्ने डम्बरजंग राणाको छोरी विनारानी राणा
§ बकसपत्र हुँदा छोरा सरह अंश पाउने हकनै स्थापित नभएकी कानूनले अंशियार भन्न नमिल्ने अवस्थाकी वादीलाई भविष्यमा असर पुग्न सक्तछ कि भन्ने सम्भावित अनुमानबाट कानूनले निषेध नगरेको सम्पत्ति अवतरण गर्न नमिल्ने भन्न मिल्ने भएन । बकसपत्रकै शर्तका आधारमा प्रतिवादीमा सम्पत्ति अवतरण भएपछि पनि त्यस्तो क्रियाबाट वादीको हक मेटिने भएमा कानून बमोजिम नालिस गरी वदर गराउनु पर्ने हुन्छ । डम्बरजंगले प्रतिवादीहरुलाई बकसपत्र दिएको अवस्था होइन र बकसपत्र पाई हकभोग हुने डम्बरजंगको मृत्यु पछि सोही बकसपत्रका आधारमा २०४७ सालमा प्रतिवादीहरुमा सम्पत्ति अवतरण भएको अवस्था छ । जहाँसम्म बकसपत्रको शर्तको कुरा छ पदम कुमारीलाई बुझ्दा निजले पनि बकसपत्रको शर्तलाई अन्यथा भन्न सकेको अवस्था छैन । वादीले आफ्नो पैत्रिक सम्पत्तिबाट अंश पाउने हो भनी भनेको देखिन्छ । पदम कुमारीले बकसपत्र गरिदिएको सम्पत्ति निजले आफूखुश गर्न नपाउने भन्ने नहुँदा निजले गरिदिएको त्यस्तो सम्पत्तिको बकसपत्र लिखतमा आफ्नो इच्छा र मन्जुरी अनुसार वैद्य शर्त बन्देज राख्न नपाउने भन्न सकिने अवस्था पनि भएन । ने.का.प. २०३२ अंक २, पृष्ठ ३५ मा प्रकाशित नि.नं. ८९० को जालसाजी मुद्दामा वादी दावी भन्दा बढी कुरा राखी जग्गामा हक बेहक हुने गरी मालले मिलापत्र गराएको भनी प्रमाणमा आएको मिलापत्रको वैद्यताको प्रश्न उठेकोमा यस अदालतको पूर्ण इजलासबाट त्यस्तो सम्पत्ति सम्बन्धी शर्त करारको लिखत गर्न गराउन नपाउने भन्न कानूनले बन्देज गरेको छैन । कानूनले आफूखुस गर्न पाउने सम्पत्ति जे जस्तो सुकै शर्त बन्देज हक पुने व्यक्तिको इच्छा र मन्जुरी अनुसार राखिन सकिने कुरा हो सो वदर गराउन चाहि कानून बमोजिम वदर गराएको पनि छैन भने त्यस्तो प्रमाणमा आएको मिलापत्रलाई प्रमाणमा लिने वा नलिने भन्ने बाहेक मिलापत्रलाई कानूनले मान्यता दिन नमिल्ने भनी ठहर गर्न मिल्ने देखिदैँन भनी व्याख्या गरेको देखिन्छ । यो व्याख्याको सन्दर्भमा विचार गर्दा पनि प्रस्तुत मुद्दामा विवाद उठेको सम्पत्तिको बकसपत्र कानून बमोजिम वदर नभएको र बकस दिन हक पुग्नेले आफ्नो इच्छा र मन्जुरीबाट शर्त बन्देज राखी गरिदिएको बकसपत्र लिखत देखिँदा सो लिखतलाई अंश मुद्दाबाट कानूनी आधार वेगर मान्यता नहुने भन्न मिल्ने देखिएन । बकसपत्र दिने लिनेको मन्जूरीबाट भएको बकसपत्रको शर्त अनुसार प्रतिवादीको हक भोगमा आएको सम्पत्ति वण्डा भई वादीले अंश पाउने भन्न नमिल्ने ।
(प्र.नं. १८)
§ सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुन्छ । यसरी कानून बमोजिम अभिनिश्चित हुने हकमा कुनै कार्यबाट असमान स्थितिको श्रृजना भयो भने त्यस्तो कार्यको वैद्यता कानूनी आधारबाट हेरी निश्चित गरिनु पर्ने हुन्छ । कानूनी मान्यता रहेको सम्पत्ति अवतरण हुने व्यवहारबाट त्यस्तो अवस्था श्रृजना हुन गएको हो भने त्यस्तो वैद्य व्यवहार अमान्य हुने पनि होइन । प्रस्तुत विवादमा मिति २०३४।८।१४ को बकसपत्र लिखत कानूनसंगत रहेको माथि विवेचना भईसकेको छ । कानूनका आधारमा सम्पत्तिमा हक सृजित हुने अवस्थाहरु हुने ।
(प्र. नं. १९)
§ वादी डम्बरजंग राणको ३५ वर्ष नाघेकी अविवाहित छोरी हुन भन्ने कुरामा विवाद छैन । पदम कुमारीबाट यिनले २०३४ सालमा २५ वर्षको कन्या रहेकै अवस्थामा बकसपत्र पाएको सम्पत्ति वण्डा नहुने गरेको शुरुको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्दा त्यसमा वण्डा पाउनुपर्छ भन्ने जिकिर पनि रहेको अवस्था देखिंदैन । दाता पदम कुमारी राणाले देवर डम्बरजंग पछि डम्बरजंगका छोरा प्रतिवादीहरुको हक हुने गरी डम्बरजंगलाई र छोरी वादी समेतलाई एकै मितिमा अलग अलग बकसपत्र लिखतबाट सम्पत्ति दिएको देखिन्छ । प्रतिवादीहरुमा पिता डम्बरजंगपछि मात्र हक प्राप्त हुने शर्त सहित प्रतिवादीहरुलाई आफ्नो सम्पत्ति बकसपत्र लिखतहरु गरिदिएको अवस्था छ । प्रतिवादीहरुको उल्लेखित बकसपत्र अनुसार हक प्राप्त हुन आएको सम्पत्तिमा वादीको अंश पाउँ भन्ने दावी नपुग्ने भन्ने राय माथि व्यक्त भईसकेको छ । प्रतिवादीहरुको वादीले बकसपत्रबाट पाएको सम्पत्ति पनि वण्डा लाग्नु पर्ने भन्ने पुनरावेदन जिकिर माथि लेखिए अनुसार कानूनसंगत भन्न मिलेन । तसर्थ डम्बरजंग राणाले पदम कुमारीबाट बकसपत्र पाएको सम्पत्तिबाट वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको पुनरावेदन अदालतको मिति २०५२।३।२५ को फैसला सो हदसम्म उल्टी भई वादी प्रतिवादीका बाबुले बकस पाएको निजको शेषपछि ज्योतीजंग र प्रकाशजंगले पाउने भन्ने बकसपत्र लिखतको सम्पत्तिमा र वादीले पदम कुमारीबाट पाएको बकसपत्रको जग्गा वण्डा नहुने ठहर्यएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर हुने ।
(प्र.नं. २०)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री वेदप्रसाद शिवाकोटी र श्री संभु थापा
प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्थी र श्री रामप्रसाद भट्टराई
अवलम्बित नजिरः ने.का.प. २०३२, अंक २, पृष्ठ ३५, नि.नं. ८९० जालसाजी मुद्दा ।
फैसला
न्या.कृष्णजंज रायमाझीः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) को खण्ड (घ) बमोजिम पूर्ण इजलासमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः
2. बाबु डम्बर जंगका ३ श्रीमतीमध्ये जेठी मेरी आमा कृष्णकुमारी, माहिली मधुमाया र कान्छी होमकुमारी हुन् । ज्योती र प्रकाश होमकुमारीका छोरा हुन् । बाबुको मृत्यु भइसकेको र मेरो उमेर ३५ वर्ष नाघी सकेकोमा मैले विवाह नगर्ने निश्चित गरेको हुँदा विपक्षीले खान लाउन नदिई हेला गरेको कारण मिति २०४९।१।१४ मा अंश माग गर्दा नदिएकोले विपक्षीसँग तायदाती फाँटवारी लिई ५ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादीको फिराद पत्र ।
3. वादीलाई अंश दिनुपर्ने होइन हाम्रो पैतृक सम्पत्ति केही छैन । वीरगंजको श्रीमती पदमकुमारीको सेवा गरे वापत पिताजीले प्राप्त गर्नु भएको निजको शेषपछि हामी छोराले पाउने हामी आफै पदमकुमारीको आश्रयमा रहेको हुँदा हामीले अंश दिने कुरै आउँदैन भन्ने समेत व्यहोराको दिपक भन्ने ज्योतिजंग राणा र प्रकाशजंग राणाको संयुक्त प्रतिउत्तर पत्र ।
4. वादीले देखाएको पुस्तावारीमा विवाद छैन, म सगोलको अंशियार होइन र अंश हक त्याग्ने सम्पत्ति पनि छैन, हाम्रो बीचमा अंशवण्डा समेत भइसकेको छ । वादीले अंश पाएमा आपत्ति छैन भन्ने समेत व्यहोराको प्र.मधुमायाको प्रतिउत्रर पत्र ।
5. प्र. होमकुमारीले शुरु म्यादै गुजारी बसेकी ।
6. वादीको उमेर ५० वर्ष जति भई आजसम्म अविवाहित हुँदा निजले आफ्नो पैतृक सम्पत्तिबाट अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको अ.वं. १३९ नं. बमोजिम बुझिएकी पदमकुमारी राणाको वारेस लिलाराज उपाध्यायले अदालतमा गरेको बयान ।
7. वादी प्रतिवादीका बाबुले बकस पाएको जग्गा निजको शेषपछि ज्योतिजंग र प्रकाशजंगले खाने भन्ने रजिष्ट्रेशन लिखतमा उल्लेख भएको देखिँदा त्यसमा र विनारानीले पदम कुमारीबाट पाएको बकसपत्रको जग्गा बण्डा हुने ठहर्दैन सो बाहेक तायदातीमा आएका श्रीसम्पत्तिबाट वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०५१।३।१३ को फैसला ।
8. शुरु अदालतले बुबा डम्बर जंगले बकसपत्रबाट पाएको सम्पत्तिबाट अंश नपाउने र साहुको ऋणको हकमा नालेस परेका बखत ठहरे बमोजिम हुने भनी गरेको फैसला त्रुटिपूर्ण हुँदा सो हदसम्म वदर गरी बकसपत्रबाट पाएको घर जग्गाबाट अंश पाउने फैसला गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत जनकपुरमा परेको पुनरावेदन पत्र ।
9. वादी गृहस्थ आश्रम त्यागी भेषधारी भइसक्नु भएकोले अंश पाउने अवस्था छैन । शुरु अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिपक भन्ने ज्योतिजंग र प्रकाशजंगको संयुक्त पुनरावेदन पत्र ।
10. डम्बरजंग राणाले पदम कुमारीबाट बकसपत्र पाएको बकसपत्रमा उल्लेखित सम्पत्तिबाट पनि वादीले दावी अनुसार ५ खण्डको १ खण्ड अंश पाउने हुँदा बकसपत्र लिखतमा उल्लेख भएअनुसार डम्बरजंगको शेषपछि प्रकाशजंग राणा र ज्योतिजंग राणाको नाममा दर्ता हुने भनिएको सम्पत्ति बण्डा नलाग्ने गरी गरेको शुरु धनुषा जिल्ला अदालतको मिति २०५१।३।१३ को फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको २०५२।३।२५ को फैसला ।
11. हामीले बकसपत्रबाट पाएको सम्पत्ति बण्डा हुने र वादीले वक्सपत्रबाट पाएको सम्पत्ति निजको निजी भई बण्डा नहुने गरी भएको पुनरावेदन अदालत जनकपुरको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला वदर गरी इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी दिपक भन्ने ज्योतिजंग राणा र प्रकाशजंग राणाको यस अदालतम पर्न आएको संयुक्त पुनरावेदन पत्र ।
12. मिति २०३४।८।१४ मा पारित वक्सपत्रमा किटानीसाथ दाताको इच्छा देवर डम्बरजंगको शेषपछि तपाइको जेठो छोरा ज्योतिजंग र कान्छो छोरा प्रकाशजंगले मात्र आफ्नो नाउँमा दर्ता गराई खुस गर्न पाउने अरु कसैले नपाउने भनी किटानी बन्देज राखी दिएको सम्पत्ति डम्बरजंगपछि उक्त दुई जना बाहेक अरु अंशियार समेतको हक लाग्ने भनी अरु गर्न नमिल्ने हुँदा पुनरावेदन अदालत जनकपुरको फैसलामा फरक पर्ने देखिँदा अ.वं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली बमोजिम विपक्षी झिकाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५४।७।२० को आदेश ।
13. रजिष्ट्रेशन भएको मिति २०३४।८।१४ को बकसपत्रलाई अध्ययन गर्दा डम्बर जंगलाई बकसपत्रबाट हक हस्तान्तरण गर्ने व्यहोरा टुङ्ग्याई सकेपछि डम्बर जंगको शेषपछि निजको छोरा ज्योतिजंग र प्रकाशजंगले मात्र बकसपत्रको सम्पत्ति दर्ता गरी खान पाउने अरुले नपाउने भनी शेषपछि सम्पत्ति कसमा जाने भन्ने शर्त राखी शेषपछिको बकसपत्रको रुप दिन खोजेको देखिन्छ । तर ज्योतिजंग र प्रकाशजंग त्यस बकसपत्रमा बक्स पाउनेको रुपमा समावेश भएको देखिँदैन । यसरी तेस्रो व्यक्तिको एकाधिकार कायम हुने गरी सम्पत्ति अवतरण गर्नु प्रचलित कानुनले मिल्छ मिल्दैन ? बकसपत्र प्राप्त गर्दा २५ वर्ष उमेर मात्र पुगेकी छोरीले ३५ वर्ष नाघेपछि छोरा सरह बाबुको सम्पत्तिमा अंश पाउने कानुनी हकमा आघात पर्ने परिणामको हुने कि नहुने ? अर्थात सम्पत्ति अवतरण र अंशियारले समान रुपले बाबुको हकमा असमान व्यवहार हुन जाने कि नजाने ? र बकसपत्रको लिखत गर्दा २५ वर्ष पुगेकी छोरीको पछि ३५ वर्ष नाघेपछि पाउने अंशको मात्रामा घटबढ हुने भयो भनी बकसपत्र वदर गराउन पर्ने कि नपर्ने ? भन्ने जस्ता जटिल कानुनी प्रश्नहरुको समाधान गर्नुपर्ने देखिएको र यस्तो विषय वकस दिने र पाउने सबै व्यक्तिहरुमा लागू हुने हुँदा सर्वसाधारण जनताको पारिवारिक व्यवहारसँग सरोकार राख्ने हुँदा यस्तो महत्वपूर्ण विषयमा पूर्ण इजलासबाट निश्चित निर्णय हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(घ) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५५।८।१६ को आदेश ।
14. नियमबमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता द्वय श्री वेदप्रसाद सिवाकोटी र श्री शम्भु थापाले बकसपत्रमा लेखिएको व्यहोरा वदर नभएसम्म त्यसको परिपालना हुनुपर्छ । बकसपत्र दिँदाका अवस्थामा दाताले इच्छा गरे अनुसार हुनुपर्छ, बकसपत्र दिने दाता अंशियार भित्रको नभएको र दाताले वादी प्रतिवादी दुवैलाई बकसपत्र गरी दिएकोले असमान व्यवहार भएको भन्न मिल्दैन । वादीले पाएको बकसपत्रमा बण्डा नलाग्ने र प्रतिवादीले पाएको बकसपत्रमा बण्डा लाग्ने भन्न मिल्दैन । बकसपत्रबाट पाएको सम्पत्ति बण्डा लाग्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी बहस प्रस्तुत गर्नभयो भने प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्रीरामप्रसाद भट्टराईले मानो छुट्टिएको मितिमा वादी ३५ वर्ष पुगी सकेको स्थिति छ । वादीका बुवा डम्बर जंगमा अन्तरभुत भएर रहेको पैतृक सम्पत्ति बण्डा लाग्छ । डम्बर जंगले पाएको लिखत शेषपछिको बकसपत्र नभई हालैदेखिको बकसपत्र हो । लिखतमा भएका शर्तले बण्डा नलाग्ने भन्न मिल्दैन । चित्त नबुझेका कुरामा पुनरावेदन गर्दा चित्त नबुझेका कुरा खुलाई आउनु पर्छ । वादीले पाएको बकसपत्रमा विपक्षीले दावी लिन सकेको छैन । लिखतमा भएका शर्तले बकसपत्रबाट पाएको सम्पत्ति बण्डा नलाग्ने भन्ने मिल्दैन । पुनरावेदन अदालतले गरेको फैसला मिलेकै हुँदा सदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनियो ।
15. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी विद्वान कानून व्यवसायीहरुले गर्नु भएको उपयुक्त बहस जिकिर समेतलाई ध्यानमा राखी निर्णयतर्फ विचार गर्दा तेस्रो व्यक्तिको एकाधिकार कायम हुने गरी सम्पत्ति अवतरण गर्न कानुनले मिल्छ कि मिल्दैन ? बकसपत्र प्राप्त गर्दा २५ वर्ष उमेर मात्र पुगेकी छोरीले ३५ वर्ष नाघेपछि छोरा सरह बाबुको सम्पत्तिमा अंश पाउने कानुनी हकमा आघात पर्ने परिणाम हुने कि नहुने ? अर्थात् सम्पत्ति अवतरण र अंशियारले समान रुपले बाबुको हकमा असमान व्यवहार हुन जाने कि नजाने ? र बकसपत्र लिखत गर्दा २५ वर्ष पुगेको छोरीको पछि ३५ वर्ष नाघेपछि पाउने अंशको मात्रामा घटबढ भयो भनी बकसपत्र वदर गराउन पर्ने कि नपर्ने ? भन्ने जस्ता जटिल तथा महत्वपूर्ण विषयमा निश्चित निर्णय हुन भनी सर्वोच्च अदालत नियमाली, २०४९ को नियम ३(१)(घ) बमोजिम प्रस्तुत मुद्दा निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखियो ।
16. शुरु धनुषा जिल्ला अदालतले बकसपत्रबाट पाएको सम्पत्ति बण्डा नहुने र सो बाहेक तायदातीमा आएको सम्पत्तिमा ५ खण्डको १ खण्ड वादी विनारानीले अंश पाउने ठहर्याएको फैसला उपर वादी प्रतिवादी दुवै पक्षकै पुनरावेदन परी पुनरावेदन अदालत जनकपुरबाट शुरुको फैसला केही उल्टी भई डम्बरजंग राणाले पदम कुमारीबाट बकसपत्र पाएको सम्पत्तिबाट पनि वादीले अंश पाउने भनी ठहर्याएको फैसला उपर हामीले बकसपत्र पाएको सम्पत्ति बण्डा हुने तर वादीले बकसपत्रबाट पाएको सम्पत्ति बण्डा नभई निजी हुने भनी पु.वे.अ.ले गरेको फैसला त्रुटिपूर्ण रहेको भन्ने प्रतिवादीहरुको पुनरावेदन जिकिर रहेको देखिन्छ । डम्बर जंगका ३ श्रीमतीमा जेठी वादी विनारानी राणाकी आमा कृष्णकुमारी र कान्छी प्रतिवादीहरुको आमा होमकुमारी भई वादी विनारानी राणा फिराद गर्दाका अवस्थामा ३५ वर्ष उमेर पुगिसकेकी र यी वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद देखिँदैन । वादी प्रतिवादीका पिता डम्बरजंग राणालाई निजको भाउजु पदम कुमारी राणाले मिति २०३३।५।५ मा घरपरिवारको लिखतबाट ज.वि. ०–३–० जग्गा र सोमा बनेको घर समेत तपाई देवर डम्बर जंगको शेषपछि तपाइको जेठो छोरा ज्योतिजंग राणा र प्रकाशजंग राणा समेत २ जनाले मात्र आफ्नो नाउँमा दर्ता गराई खुश गर्न पाउने अरु कसैले नपाउने भनी शर्त राखी बकसपत्रको लिखत गरी सो लिखत मिति २०३४।८।१४ मा रजिष्ट्रेशन पारित गरी दिएको र सोही मितिमा प्रत्यर्थी वादीलाई यिनै पदम कुमारीले ०–२–० जग्गा बकसपत्र गरी दिएकी देखिन्छ । बकसपत्र गर्दाका मितिमा यी वादी २५ वर्ष पुगेकी र यिनको अंशबण्डाको महलको १६ नं. बमोजिम १० वर्षपछि अर्थात् २०४३।५।५ मा ३५ वर्ष पुगी छोरा सरह अंश पाउने निजको हक सिर्जित हुन आएको देखिन्छ । पिता डम्बर जंगले बकसपत्रबाट पाएको सम्पत्ति २०४७ सालमा निजको मृत्युपश्चात् दाताले इच्छाए अनुसार यी प्रतिवादीहरुको संयुक्त नाममा आफ्नो पिताको नामबाट नामसारी दर्ता हुन आएको देखियो । मिति २०३४।८।१४ को बकसपत्र लिखतकै प्रतिवादीहरुको नाममा दर्ता नामसारी भएको सम्पत्तिमा वादीले अंश पाउने गरेको पुनरावेदन अदालत जनकपुरको फैसला उपर पुनरावेदनमा विचार हुँदा संयुक्त इजलासले जटिल, महत्वपूर्ण र सर्वसाधारणको व्यवहारसँग सरोकार रहने विषय रहेको भनी उल्लेखित प्रश्नहरु उठाई निर्णयार्थ पूर्ण इजलास समक्ष पठाएको अवस्था छ ।
17. पदम कुमारी राणाले आफखुश गर्न पाउने सम्पत्ति बकसपत्रबाट देवर डम्बरजंग पछि निजका छोराहरु प्रतिवादीहरु ज्योतिजंग राणा र प्रकाशजंग राणाले मात्र आफ्नो नाउमा दर्ता गराई खुश गर्न पाउने शर्त र मन्जुरीबाट डम्बरजंगलाई मिति २०३३।५।५ मा घरसारमा र २०३४।८।१४ मा बकसपत्र पारित गरी दिएको अवस्था छ । बकसपत्र लिखत गरिदिने पदमकुमारी राणा र बकसपत्र लिखित पाउने डम्बरजंग राणा लिखत गरी दिन लिन कानुनले योग्य रहेका भन्ने कुरामा विवाद छैन । २०३४।८।१४ को बकसपत्र लिखतको शर्तको वैधताको प्रश्न उठाउन हक पुग्ने अवस्थाकी व्यक्ति वादी त्यसबेलासम्म अंशियार नभइसकेकोले सो बकसपत्रको शर्तमा विवाद उठ्ने अवस्था रहेन । बकसपत्र सोही समयदेखि कार्यान्वयनमा आइसकेको अवस्था छ । वादी बाबु डम्बरजंगको मृत्यु हुँदाको समयसम्ममा ३५ वर्ष उमेर नाघी अंशबण्डाको १६ नं. ले डम्बरजंगको छोरा सरह अंश हक प्राप्त गर्न पाउने अवस्थामा पुगेकी देखियो । तर उल्लेखित बकसपत्र लिखतको वैधतामा प्रश्न उठाई नालिस गरी बकसपत्र वदर गराउन सकेको अवस्था छैन । अर्थात् बकसपत्रमा कानुनले राख्न नहुने शर्त राखेकोबाट हकमा असर पारेको भनी कसैले वदर गराएको अवस्था छैन । डम्बरजंगपछि प्रतिवादीमा जाने सम्पत्ति बकसपत्रको नाताबाट डम्बरजंग जीवित हुँदासम्म निजको हक भोगमा रहेका मान्नुपर्ने अवस्था छ र दाता पदमकुमारी, डम्बरजंग तथा वादी प्रतिवादीको सगोलको अंशियार रहेको भन्ने पनि देखिँदैन । बकसपत्र दिँदा वादीको उमेर पुगी डम्बरजंगको छोरा सरह अंश हक पाउने अवस्थामा रहेकी भए पनि पदम कुमारीले आफ्नो सम्पत्ति प्रतिवादीहरुलाई सोझै बकसपत्र गरीदिन पाउने कुरालाई कानुनले रोक लगाएको थिएन । उक्त मितिमै वादीले पनि पदमकुमारीबाट बकसपत्र पाएको अवस्था पनि छ । तसर्थ डम्बरजंगलाई निजको शेषपछि प्रतिवादीहरुले पाउने शर्त र मन्जुरीमा आफ्नो सम्पत्ति पदमकुमारीले बकसपत्र दिन कानुनले रोकेको थियो भन्न मिल्ने अवस्था देखिँदैन । दिन नहुने बकसपत्र दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेकोमा बकसपत्र वदरमा नालिस गर्नुपर्ने दानबकसको ५ नं. ले व्यवस्था गरेको छ । यस्तो भएको पनि देखिएन । स्वतः अमान्य भन्न सक्ने अवस्था पनि छैन ।
18. बकसपत्र हुँदा छोरा सरह अंश पाउने हकनै स्थापित नभएकी कानूनले अंशियार भन्न नमिल्ने अवस्थाकी वादीलाई भविष्यमा असर पुग्न सक्तछ कि भन्ने सम्भावित अनुमानबाट कानूनले निषेध नगरेको सम्पत्ति अवतरण गर्न नमिल्ने भन्न मिल्ने भएन । बकसपत्रकै शर्तका आधारमा प्रतिवादीमा सम्पत्ति अवतरण भएपछि पनि त्यस्तो क्रियाबाट वादीको हक मेटिने भएमा कानून बमोजिम नालिस गरी वदर गराउनु पर्ने हुन्छ । डम्बरजंगले प्रतिवादीहरुलाई बकसपत्र दिएको अवस्था होइन र बकसपत्र पाई हकभोग हुने डम्बरजंगको मृत्यु पछि सोही बकसपत्रका आधारमा २०४७ सालमा प्रतिवादीहरुमा सम्पत्ति अवतरण भएको अवस्था छ । जहाँसम्म बकसपत्रको शर्तको कुरा छ पदम कुमारीलाई बुझ्दा निजले पनि बकसपत्रको शर्तलाई अन्यथा भन्न सकेको अवस्था छैन । वादीले आफ्नो पैत्रिक सम्पत्तिबाट अंश पाउने हो भनी भनेको देखिन्छ । पदम कुमारीले बकसपत्र गरिदिएको सम्पत्ति निजले आफूखुश गर्न नपाउने भन्ने नहुँदा निजले गरिदिएको त्यस्तो सम्पत्तिको बकसपत्र लिखतमा आफ्नो इच्छा र मन्जुरी अनुसार वैद्य शर्त बन्देज राख्न नपाउने भन्न सकिने अवस्था पनि भएन । ने.का.प. २०३२ अंक २, पृष्ठ ३५ मा प्रकाशित नि.नं. ८९० को जालसाजी मुद्दामा वादी दावी भन्दा बढी कुरा राखी जग्गामा हक बेहक हुने गरी मालले मिलापत्र गराएको भनी प्रमाणमा आएको मिलापत्रको वैद्यताको प्रश्न उठेकोमा यस अदालतको पूर्ण इजलासबाट त्यस्तो सम्पत्ति सम्बन्धी शर्त करारको लिखत गर्न गराउन नपाउने भन्न कानूनले बन्देज गरेको छैन । कानूनले आफूखुस गर्न पाउने सम्पत्ति जे जस्तो सुकै शर्त बन्देज हक पुने व्यक्तिको इच्छा र मन्जुरी अनुसार राखिन सकिने कुरा हो सो वदर गराउन चाहि कानून बमोजिम वदर गराएको पनि छैन भने त्यस्तो प्रमाणमा आएको मिलापत्रलाई प्रमाणमा लिने वा नलिने भन्ने बाहेक मिलापत्रलाई कानूनले मान्यता दिन नमिल्ने भनी ठहर गर्न मिल्ने देखिदैँन भनी व्याख्या गरेको देखिन्छ । यो व्याख्याको सन्दर्भमा विचार गर्दा पनि प्रस्तुत मुद्दामा विवाद उठेको सम्पत्तिको बकसपत्र कानून बमोजिम वदर नभएको र बकस दिन हक पुग्नेले आफ्नो इच्छा र मन्जुरीबाट शर्त बन्देज राखी गरिदिएको बकसपत्र लिखत देखिँदा सो लिखतलाई अंश मुद्दाबाट कानूनी आधार वेगर मान्यता नहुने भन्न मिल्ने देखिएन । बकसपत्र दिने लिनेको मन्जूरीबाट भएको बकसपत्रको शर्त अनुसार प्रतिवादीको हक भोगमा आएको सम्पत्ति वण्डा भई वादीले अंश पाउने भन्न मिलेन ।
19. सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुन्छ । यसरी कानून बमोजिम अभिनिश्चित हुने हकमा कुनै कार्यबाट असमान स्थितिको श्रृजना भयो भने त्यस्तो कार्यको वैद्यता कानूनी आधारबाट हेरी निश्चित गरिनु पर्ने हुन्छ । कानूनी मान्यता रहेको सम्पत्ति अवतरण हुने व्यवहारबाट त्यस्तो अवस्था श्रृजना हुन गएको हो भने त्यस्तो वैद्य व्यवहार अमान्य हुने पनि होइन । प्रस्तुत विवादमा मिति २०३४।८।१४ को बकसपत्र लिखत कानूनसंगत रहेको माथि विवेचना भईसकेको छ । कानूनका आधारमा सम्पत्तिमा हक सृजित हुने अवस्थाहरु हुन्छन् ।
20. वादी डम्बरजंग राणाको ३५ वर्ष नाघेकी अविवाहित छोरी हुन भन्ने कुरामा विवाद छैन । पदम कुमारीबाट यिनले २०३४ सालमा २५ वर्षको कन्या रहेकै अवस्थामा बकसपत्र पाएको सम्पत्ति वण्डा नहुने गरेको शुरुको फैसला उपर प्रतिवादीको पुनरावेदन पर्दा त्यसमा वण्डा पाउनुपर्छ भन्ने जिकिर पनि रहेको अवस्था देखिंदैन । दाता पदम कुमारी राणाले देवर डम्बरजंग पछि डम्बरजंगका छोरा प्रतिवादीहरुको हक हुने गरी डम्बरजंगलाई र छोरी वादी समेतलाई एकै मितिमा अलग अलग बकसपत्र लिखतबाट सम्पत्ति दिएको देखिन्छ । प्रतिवादीहरुमा पिता डम्बरजंगपछि मात्र हक प्राप्त हुने शर्त सहित प्रतिवादीहरुलाई आफ्नो सम्पत्ति बकसपत्र लिखतहरु गरिदिएको अवस्था छ । प्रतिवादीहरुको उल्लेखित बकसपत्र अनुसार हक प्राप्त हुन आएको सम्पत्तिमा वादीको अंश पाउँ भन्ने दावी नपुग्ने भन्ने राय माथि व्यक्त भईसकेको छ । प्रतिवादीहरुको वादीले बकसपत्रबाट पाएको सम्पत्ति पनि वण्डा लाग्नु पर्ने भन्ने पुनरावेदन जिकिर माथि लेखिए अनुसार कानूनसंगत भन्न मिलेन । तसर्थ डम्बरजंग राणाले पदम कुमारीबाट बकसपत्र पाएको सम्पत्तिबाट वादीले ५ खण्डको १ खण्ड अंश पाउने ठहर्याएको पुनरावेदन अदालतको मिति २०५२।३।२५ को फैसला सो हदसम्म उल्टी भई वादी प्रतिवादीका बाबुले बकस पाएको निजको शेषपछि ज्योतीजंग र प्रकाशजंगले पाउने भन्ने बकसपत्र लिखतको सम्पत्तिमा र वादीले पदम कुमारीबाट पाएको बकसपत्रको जग्गा वण्डा नहुने ठहर्यएको शुरु धनुषा जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको देहाय १ मा उक्त बकसपत्रको सम्पत्तिबाट ५ खण्डको १ खण्ड वादीलाई अंश छुट्याई दिनु भनी राखिएको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गरी दिनु भनी शुरुमा लेखी पठाई दिनू ...................१
पुनरावेदन अदालतको फैसला केही उल्टी हुने ठहरेकाले प्रतिवादीले पुनरावेदन दर्ता गर्दा राखेको कोर्ट फि रु.२०७।- फिर्ता माग्न आए कानुन बमोजिम फिर्ता दिनु भनी शुरुमा लेखी पठाई दिनू ....................२
नियमानुसार गरी मिसिल बुझाई दिनू ................३
उपयुक्त रायमा हामी सहमत छौं ।
न्या.टोपबहादुर सिंह
न्या. ज्ञाइन्द्रबहादुर श्रेष्ठ
इति सम्वत २०५७ साल वैशाख १६ गते रोज ६ शुभम ........................................।