निर्णय नं. ६८८७ - अंश दर्ता

निर्णय नं. ६८८७ ने.का.प. २०५७ अङ्क ४
संयुक्त इजलास
सम्माननीय का.मु.प्रधानन्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
सम्वत २०५५ सालको दे.पु.नं. ...४९००
फैसला मितिः २०५६।५।२८।२
मुद्दाः अंश दर्ता ।
पुनरावेदक/प्रतिवादीः जिल्ला महोत्तरी, भटोलिया गा.वि.स. वडा नं. ४ घर भै जिल्ला महोत्तरी, रामगोपालपुर गा.वि.स. वडा नं. ६ बस्ने रामलखन राय यादव समेत
विरुद्ध
विपक्षी/वादीः ऐ.ऐ.बस्ने अशोककुमार यादव समेत
§ वादीका पति एवं पिता समेत वादी, राम लखन समेत प्रतिवादी भएको २०३७ सालको दे.नं. ७७४ को मुद्दामा वादी प्रतिवादीका बीच अंशवण्डा हुने ठहर भै फैसला भएपनि फैसला अनुरुप रीतपूर्वकको वण्डा मुचुल्का भै अंश छुट्याउने कार्य भएको पाइदैन । २०३७ सालको मुद्दामा ०३७।११।८ मा मानो छुट्टिएको मिति कायम भएतापनि २०३७ सालको दे.नं. ७७४ को मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग बसी सम्पत्ति बबुको नाममा रही चारैजना छोराहरु पुनः एकासगोलमा रहेको भएको भन्ने कुरा विन्देश्वर यादवको प्रतिउत्तर लेखबाट देखिन आएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी अर्थात अंशियार मध्येकै विन्देश्वर यादवले २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग अलग बसी दाजु भाईहरु एकासगोलमा बसी आएको र सम्पूर्ण सम्पत्ति बाबुकै जिम्मामा रहेको भन्ने उल्लेख गरी दिएबाट वादी गुलाब देवीले (२०३७ सालको) दे.नं. ७७४ को मुद्दामा मिति २०३९।११।२४ मा प्रस्तुत गरेको तायदातीबाट ७ खण्डको १ खण्ड र प्रस्तुत मुद्दामा ०४८।१२।१४ मा पेश भएको तायदातीबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।८।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं.१७)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री कमलनारायण दास
विपक्षी वादी तर्फबाटः विद्बान अधिवक्ताद्बय श्री राजु महत तथा श्री विरेन्द्रप्रसाद जयसवाल
अवलम्बित नजिरः
फैसला
का.मु.प्र.न्या. केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अनुसार मुद्दा दोहोर्याई पाउनका लागि यस अदालतमा दिएको निवेदनमा मुद्दा दोहोर्याई हेर्नका लागि निस्सा प्रदान भई पुनरावेदनको लगतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छः
2. विपक्षी रामलखन एकासगोलका ससुरा हुन् । रामलखन रामचलितर दाजुभाइ हुन् । ससुरा दाजुभाइको बीच घरसारमा अंश छुट्याई २०३६ साल वैशाख महिनादेखि अलग अलग भोग गरी आएका छन् । ससुरा रामलखनको ४ भाई छोरामध्ये जेठो कृष्णदेव, माहिला म फिरादिका पति स्व.विष्णुदेव, साहिला जिनेखर, कान्छा विन्देश्वर यादव गरी पाँच अंशियार छौं । मेरो पति स्वर्गे भएपछि ३,८०,०००।- प्राप्त गरेकोमा रु.८०,०००।- २०४२।१०।२७ मा निकाली ससुराले रा.बा.बैंक जलेश्वरको सुन कर्जा नं. २०।२३३।०४१।५।१७ को रु.६४,५३३।०८ तिरी बाँकी रकम आफूले खर्च गर्नुभयो । सगोलको जग्गा निजी आर्जन गर्ने काममा लाग्नु भएकोमा म सँग रु. २ लाख रुपैयाँ माग्दा नदिएकोले २०४६।२।३ गते मैले बाकसमा राखेको १७ तोला सुन एक किलो चाँदीको गहना जबरजस्ती लिनु भएकोले र साथै खान लाउन नदिई हेला गरेकोले फिराद परेको अघिल्लो मितिसम्मको तायदाती दाखिल गराई २ भागको एक भागमध्ये ५ खण्डको एक खण्ड अंश दिलाई नाबालक छोराहरुको नाउँमा संयुक्त दर्ता गराई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।
3. रवि रायको २ छोरामा जेठो रामचलितर राय, कान्छा राम लखन भई राम लखनको २ श्रीमती, जेठी सगरियादेवी, कान्छी ननुवती भई जेठीबाट ४ छोरा मध्ये कृष्णदेव, विष्णुदेव, जिनेश्वर, विन्देश्वर भई हामी सगोलमा बसी आएकोमा चित्त नमिली प्र.मध्येका कृष्णदेव फिरादीको लोग्ने विष्णुदेव तथा विन्देश्वर जिनेश्वर समेत रामलखन समेत उपर २०३७ को देनं. ७७४ को अंश मुद्दा दिई २ भागको एक भागबाट ७ खण्डमा ४ खण्ड अंश पाउने ठहर भई २०३९।११।२९ मा फैसला भई मानो छुट्टिएको मिति समेत कायम भइसकेकोले अंशको दावी कानुन विपरित हुँदा खारेज गरी पाउँ भन्ने समेत व्यहोराको रामलखन, जिनेश्वरको प्रतिउत्तर पत्र ।
4. अंश मुद्दामा २०३७।११।८।५ मा मानो छुट्टिएको मिति कायम भई अंश मुद्दा फैसला भइसकेको छ । सोही दिनदेखि अलग अलग बसी आएकोले झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्र.कृष्णदेव यादवको प्रतिउत्तर पत्र ।
5. चारै दाजुभाइले एकैसाथ अंश मुद्दा दायर गरेका थियौं । सो मुद्दाको आधारमा बाबु आमा अलग हुने र हामी चारै दाजुभाइ सगोलमा बसिआएका छौं । फिरादीको अंश मेरो जिम्मामा नभएकोले म उपरको दावी झुठ्ठा मुद्दा हो भन्ने समेत व्यहोराको प्र.विन्देश्वर यादवको प्रतिउत्तर पत्र ।
6. विपक्षीको लोग्ने तथा बाबु विष्णुदेव रायले हामी समेत माथि दिएको दे.नं. ७७४ को अंश मुद्दामा अंश भएको फाँटवारीमा उल्लेखित सम्पत्ति मध्ये अघिबाट ७ खण्डको १ खण्ड पाउने ठहर भई २०३९।११।२९ मा फैसला भएकाले बण्डा छुट्याउनु पर्नेमा सो नगरी लोग्ने बाबु स्वर्गिय भएपछि झुठ्ठा मुद्दा दिएको हो भन्ने समेत व्यहोराको रामचलितरको प्रतियत्तर पत्र ।
7. वादीले मिति २०४७।२।१७ मा दाखिल गरेको सक्कल कागज, सरुवा गरी पाउँ भनी वन तथा भुसंरक्षण मन्त्रालयलाई लेखिएको निवेदन प्र.मध्येकै कृष्णदेव यादवकै हस्ताक्षर हो निवेदनमा मिति उल्लेख छैन भन्ने समेत व्यहोराको प्र.जिनेश्वरको बयान ।
8. सागरवती, ननुवतीको समेत गरी सात अंशियार छौं । सात खण्डको एक खण्ड अंश वादीले पाउनु पर्ने हो । हामीहरुबीच कानुन बमोजिम अंशबण्डा भएको छैन भन्ने समेत व्यहोराको प्र.वा.स.रामलखनको बयान ।
9. दे.नं. ७७४ को अंश मुद्दामा अघि अंशबाट ७ खण्डमा चार खण्ड अंश पाउने ठहरी फैसला भएकोमा उक्त फैसला बमोजिम यी चार भाइका बीच बण्डा नछुट्याई बण्डा हुने काम बाँकी नै रहेकोबाट निजहरु हालसम्म एकासगोलमा बसेको देखिन्छ । दे.नं. ७७४ को अंश मुद्दामा ०३९।११।२४ गते दे.नं. १५६१ को जिनेश्वर रायले पेश गरेको फाँटवारी मध्येबाट आधा गरी सो आधाबाट वादीले सात खण्डको एक खण्ड र ०४८।१२।२४ गते दे.नं. ३४९८ को फाँटवारी समेतबाट चार खण्डको एक खण्ड अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४९।२।१२ को महोत्तरी जिल्ला अदालतको फैसला ।
10. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
11. पूर्व अंश मुद्दाको प्रतिकुल हुने गरी गरेको शुरुको इन्साफ फरक पर्ने देखिएकोले अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउने भन्ने २०४९।१२।१२।१ को आदेश ।
12. दे.नं. ७७४ को अंश मुद्दा फैसलासम्म भई फैसला कार्यान्वयन हुन नसकेको अवस्थामा बण्डा छुट्याई सकेको भन्न मिलेन । दे.नं. ७७४ को अंश मुद्दामा दाखिल भएको तायदाती फाँटवारीबाट सात खण्डको एक खण्ड र प्र.मध्येका कृष्णदेव, विन्देश्वर, जिनेश्वरले मिति २०४८।१२।२४ द.नं. ३४९८ को तायदाती फाँटवारीबाट चार खण्डको एक खण्ड अंश पाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफ मुनासिव ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको २०५१।८।२०।३ मा पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला ।
13. दे.नं. ७७४ को अंश मुद्दाको अंशियारहरुमध्ये प्रतिवादीहरुलाई विगोलमा र वादीहरुलाई सगोलमा ठहराउनु र सो आधारमा अंश पाउने ठहराई फैसला गर्नु कानुनी त्रुटिपूर्ण भएको फैसलालाई वदर वातिल नगरी शुरु म.जि.अ.को त्रुटिपूर्ण फैसलालाई सदर हुने ठहराई भएको फैसलामा गम्भीर कानुनी त्रुटि भएकोले सो फैसला वदर गरी पाउन मुद्दा दोहोर्याई हेर्ने निस्सा पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको निवेदन ।
14. यसमा फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी पाउन र तायदाती फाँटवारीबाट २ भागको १ भाग र सो १ भागमध्ये ५ खण्डको १ खण्ड अंश दिलाई पाउँ भन्ने फिराद दावी भन्दा बढी दे.नं. ७७४ को अंश मुद्दाको तायदातीबाट सात खण्डको एक खण्ड र २०४८।१२।२४ द.नं. ३४९८ को दायदाती फाँटवारीबाट चार खण्डको एक खण्ड अंश पाउने ठहराएको पुनरावेदन अदालत जनकपुरको फैसलामा अंशबण्डाको १ नं. को व्याख्यात्मक त्रुटि देखिएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याउने निस्सा प्रदान गरिएको छ । नियम बमोजिम पेश गर्नु भन्ने २०५५।२।५।३ मा यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
15. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक रामलखन यादव समेतको तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ता श्री कमलनारायण दासले प्रस्तुत मुद्दामा विपक्षीका पति तथा पिताले २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दाबाट २०३७।११।८ मा मानो छुट्टिएको मिति कायम गरी ७ खण्डको एक खण्ड अंश पाउने ठहर भई फैसला भएपछि पुनः सोही मुद्दाको सम्बन्धमा छुट्टै मानो छुट्टिएको मिति कायम गरी अंश पाउनका लागि परेको मुद्दामा पुनः निर्णय गर्न र प्रस्तुत मुद्दामा २०४८।१२।१४ मा पेश भएको अर्को तायदातीलाई कायम गरी ४ खण्डको १ खण्ड पाउने गरी फैसला गर्न मिल्दैन । मानो छुट्टिएपछि आर्जन गरेको सम्पत्ति जसले आर्जन गरेको छ, उसको हुन्छ । पुनरावेदन अदालतबाट भएको फैसला मिलेको नहुँदा उक्त फैसला उल्टी गरी प्रतिउत्तर जिकिर बमोजिम हुनुपर्दछ भनी र विपक्षी तर्फबाट बहसको लागि उपस्थित विद्वान अधिवक्ताद्वय श्री राजु महत तथा श्री वीरेन्द्रप्रसाद जयसवालले अगाडिको तायदातिमा परेको सम्पत्ति दोस्रो तायदातीमा परेको छैन । ०३७ सालको दे.नं. ७७४ को मुद्दामा मानो छुट्टिएको मिति कायम भई अंश पाउने ठहर भएपछि अंशबण्डा छुट्याउने कार्य भइसकेको छैन । अंशबण्डा छुट्याउने ठहर भए तापनि छुट्याई नलिएको अवस्थामा सगोलमै रहेको ठहर्छ । पछिल्लो तायदातिको जग्गा विपक्षीले आफ्नो निजी आर्जनको भनी पुष्टि गर्न सक्नु भएको छैन । पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला सदर हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिर समेत सुनियो ।
16. यसमा दुवै तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरुको बहस जिकिर समेत सुनी निर्णय सुनाउनका लागि आजको तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन सहितको मिसिल अध्ययन गरी पुनरावेदन अदालत जनकपुरबाट भएको मिति २०५१।८।२०।३ को फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।
17. यसमा रवि रायको २ छोरामा राम चलितर यादव -१, रामलखन यादव भई एकासगोलका रहेका र रामलखनका ४ छोरा मध्ये जेठा कृष्णदेव, माइला मेरो पति विष्णुदेव, साइलो जिनेश्वर एवं कान्छो विन्देश्वर हुन् । ससुराहरु २०३६ साल देखि चुलो मानो छुट्टिई अलग गरी बसेको भएपनि अंश भाग दर्ता हुन बाँकी छ । विपक्षी ससुरा जेठाजुले खान लाउन नदिइ हेला गर्नु भएकोले फिराद परेको अघिल्लो मितिलाई मानो छुट्टिएको मिति कायम गरी विपक्षीहरुसँग भएको सम्पूर्ण चल अचल सम्पत्तिको तायदाती लिई २ भागको १ भाग लगाई सो १ भाग मध्ये ५ भागको १ भाग अंश दिलाई छुट्याई पाउँ भन्ने समेत मुख्य दावी जिकिर । सम्वत २०३७ सालको दे.नं. ७७४ को मुद्दामा यी वादीका पति विष्णुदेव यादव जेठाजु एवं देवर कृष्णदेव यादव, जिनेश्वर यादव एवं विन्देश्वर यादव वादी र रामलखन यादव, रामचलितर यादव तथा रामसोगारथ प्रतिवादी भै चलेको अंश मुद्दामा २०३७।११।८ लाई मानो छुट्टिएको मिति कायम गरी २ भाग मध्ये रामचलितर र रामलखनको एक एक भाग मध्ये रामलखनको १ भागबाट रामलखन-१, निजकी जेठी श्रीमती सागरदेवी -१, कान्छी श्रीमती ननुवती -१ एवं कृष्णदेव यादव -१, वादीका पति विष्णुदेव यादव -१, जिनेश्वर यादव -१ तथा विन्देश्वर यादव -१ समेतको ७ अंश लगाई वादीका पतिले अंश पाउने ठहर भई फैसला भई सकेकोले एउटै सम्पत्ति दुई पटक अंश छुट्याउने गरी निर्णय गर्न एवं २ पटक मानो छुट्टिएको मिति कायम गर्न मिल्ने होइन भन्ने समेत रामलखन यादव, जिनेश्वर यादव, रामचलितर यादव, कृष्णदेव यादवको प्रतिउत्तर जिकिर एवं २०३७ सालको अंश मुद्दामा फैसला भएपनि अंश छुट्याउने काम नगरी सम्पत्ति वाबुकै जिम्मामा छ । २०३७ सालको मुद्दाको आधारमा वाबु आमा अलग हुने र हामी चारै दाजुभाई सगोलमा बस्ने स्थिति भएकाले सगोलमा बसी आएका छौं भन्ने समेत विन्देश्वर यादवको प्रतिउत्तर जिकिर रहेको पाइन्छ । जिल्ला अदालत महोत्तरीबाट यी वादीका पति विष्णुदेव यादव समेत वादी र विपक्षी रामलखन यादव समेत भएको २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा २०३९।११।२४ मा जिनेश्वर यादवले पेश गरेको तायदातीबाट २ भाग लगाई १ भागबाट ७ खण्डको १ पाउने गरी र प्रस्तुत मुद्दामा २०४८।१२।१४ मा पेश भएको दायदातीबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर्ने गरी २०४९।२।१२ मा जिल्ला अदालतबाट फैसला भएको पाइन्छ । सो उपर प्रतिवादी रामलखन, कृष्णदेव एवं विन्देश्वरले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेकोमा पनि शुरुको इन्साफ सदर गरी २०५१।८।२०।३ मा फैसला भए उपर पुनः प्रस्तुत मुद्दाका प्रतिवादीहरुको मुद्दा दोहोर्याई हेरी पाउन यस अदालतमा निवेदन परी सो उपर निस्सा प्रदान भएपछि पुनरावेदनको लगतमा दायर भई पेश हुन आएको पाइन्छ । प्रस्तुत मुद्दाको निर्णयतर्फ विचार गर्दा, वादीका पति एवं पिता समेत वादी, राम लखन समेत प्रतिवादी भएको २०३७ सालको दे.नं. ७७४ को मुद्दामा वादी प्रतिवादीका बीच अंशवण्डा हुने ठहर भै फैसला भएपनि फैसला अनुरुप रीतपूर्वकको वण्डा मुचुल्का भै अंश छुट्याउने कार्य भएको पाइदैन । २०३७ सालको मुद्दामा ०३७।११।८ मा मानो छुट्टिएको मिति कायम भएतापनि २०३७ सालको दे.नं. ७७४ को मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग बसी सम्पत्ति बाबुको नाममा रही चारैजना छोराहरु पुनः एकासगोलमा रहेको भएको भन्ने कुरा विन्देश्वर यादवको प्रतिउत्तर लेखबाट देखिन आएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादी अर्थात अंशियार मध्येकै विन्देश्वर यादवले २०३७ सालको दे.नं. ७७४ को अंश मुद्दामा भएको फैसला पश्चात बाबु आमा अलग अलग बसी दाजु भाईहरु एकासगोलमा बसी आएको र सम्पूर्ण सम्पत्ति बाबुकै जिम्मामा रहेको भन्ने उल्लेख गरी दिएबाट वादी गुलाब देवीले (२०३७ सालको) दे.नं. ७७४ को मुद्दामा मिति २०३९।११।२४ मा प्रस्तुत गरेको तायदातीबाट ७ खण्डको १ खण्ड र प्रस्तुत मुद्दामा ०४८।१२।१४ मा पेश भएको तायदातीबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहर गरी पुनरावेदन अदालत जनकपुरबाट मिति २०५१।८।२० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बझाई दिनू ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिप्रसाद शर्मा
इति सम्वत २०५६ साल भाद्र २८ गते रोज २ शुभम..................।