निर्णय नं. ६९०० - विदेशी मुद्राको अनियमित कारोवार
निर्णय नं. ६९०० ने.का.प. २०५७ अङ्क ५
पूर्ण इजलास
माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
संवत २०५३ सालको फौ.पु.नं. ............३२
फैसला मितिः २०५७।२।२७।६
मुद्दाः विदेशी मुद्राको अनियमित कारोवार ।
पुनरावेदक/प्रतिवादीः रजिष्टर्ड अफिस चितवन भई हाल काठमाडौं महानगरपालिका वडा नं.१ दरवारमार्ग स्थित टाइगर टप्स प्रा.लि.का अध्यक्ष एवं संचालक ए.भि. जिम एडवार्डस
विरुद्ध
प्रत्यर्थी/वादीः श्री ५ को सरकार, अर्थ मन्त्रालय, राजस्व अनुसन्धान महाशाखा
प्रस्तुत मुद्दामा २०५३ सालको दे.पु.इ.नं.११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध प्रत्यर्थी प्रतिवादी शारदा शाहसमेत भएको अंश चलन मुद्दामा मिति २०५५।९।९ मा प्रतिपादित भएको सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो । सो सम्बन्धमा उक्त इन्द्रविक्रम शाह र प्रस्तुत मुद्दाको सन्दर्भलाई एक साथ दाँजेर हेर्नुपर्ने हुन्छ । जस अनुसार इन्द्रविक्रम शाहको मुद्दामा यस अदालतबाट भएका विभिन्न निर्णयसँग रुलिङ बाँझिन गई संयुक्त इजलासबाट फैसला भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्ने आदेश पाउँ भन्ने समेत व्यहोरा उल्लेख भई निवेदन परेकोमा सम्माननीय प्रधान न्यायाधीशबाट निवेदकले निवेदनमा उल्लेख गरेका यस अदालतबाट अघि भईरहेका कानूनको व्याख्यासँग प्रस्तुत मुद्दामा मिति २०५१।५।२१ मा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न पूर्ण इजलासको लगतमा दर्ता गरी नियमनुसार पेश गर्नु भन्ने आदेशानुसार पूर्ण इजलासमा पेश हुँदा प्रधान न्यायाधीशले आदेश गर्दा यो यस्तो मुद्दामा यस्तो सिद्धान्त कायम भएकोमा सो विपरीत भएको भन्ने कारण समेत खुलाई उल्लेख गर्नुपर्ने हो होइन भन्ने विषयमा समेत विचार विमर्श गरी ठोस निष्कर्षमा पुग्न बृहत पूर्ण इजलासमा पठाएको देखिन्छ । सो विषयमा सन्बन्धमा अर्थात सर्वोच्च अदालतले पूर्ण इजलासमा आदेश गर्दा कारण र आधार प्रष्ट रुपमा उल्लेख गर्नुपर्ने हो होइन ? भन्ने विषयका सम्बन्धमा वृहत पूर्ण इजलासबाट "संयुक्त इजलासबाट पूर्ण इजलासमा पठाउदा जसरी आधार र कारण खोल्नु पर्दछ त्यसरी नै प्रधान न्यायाधीशले पनि सोही प्रकृतिको विषयमा पूर्ण इजलासमा पठाउने आदेश गर्दा आधार र कारण खोलेको हुनुपर्छ । पूर्ण इजलासमा पेश गर्नुभनी गरिएको आदेशमा त्यसरी कारण र आधार स्पष्ट नखुलेको अवस्थामा कानूनसंगत नहुने र त्यस्ता आदेशबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय हुने अवस्था पनि हुदैन" भन्दै त्यस्तो कानूनी शर्तको पालना नभएको अप्रष्ट आदेशलाई पेश हुन आएको प्रस्तुत मुद्दामा दुई संयुक्त इजलासहरुबाट कानूनको व्याख्या वा कानूनी सिद्धान्तको सम्बन्धमा भिन्न भिन्न प्रतिकूल राय तथा निर्णय भएको भनी पूर्ण इजलासबाट निर्णय हुने अवस्था देखिन आएन भनी मिति २०५५।९।९ मा फैसला भएको देखियो । उक्त मुद्दाकोनिर्णयमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रधान न्यायाधीशले पूर्ण इजलासमा पेश गर्ने आदेश गर्दा आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्ने र त्यस्तो कानूनी शर्तको पालना नभएबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय गर्ने अवस्थामा नहुने भनी एउटा निश्चित सिद्धान्त प्रतिपादन भईरहेको देखिन्छ । उल्लेखित मुद्दामा सम्माननीय प्रधान न्यायाधीशले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्न भनी गरेको आदेश र उक्त आदेशमा उल्लेख गरिएकोनियमको व्याख्या तथा विवेचना गरी गरिएको निर्णयलाई प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा उक्त मुद्दामा सम्माननीय प्रधान न्यायाधीशबाट भएको आदेशमा जुन नियम उल्लेख गरीपूर्ण इजलासमा पठाएको हो सोही नियम उल्लेख गरी प्रधान न्यायाधीशबाट भएको आदेश बमोजिम नै प्रस्तुत मुद्दा निर्णयार्थ यस पूर्ण इजलासमा आएको देखिन्छ । जहाँसम्म ने.का.प. २०५२, पृ.५४२, नि.नं.६०३२ प्रदिप कुमार अग्रवाल विरुद्ध कर कार्यालय मोरङ्ग समेत भएको उत्प्रेषण मुद्दामा कानूनको व्याख्या वा विवेचना नभएको निर्णयहरु नजिर हुदैँनन र मुद्दाका पक्ष बाहेक अरुका लागि बाध्यात्मक पनि हुदैँन भनी सिद्धान्त प्रतिपादन भईरहेको अवस्थामा इन्द्रविक्रम शाहको मुद्दामा कुनै कानूनको व्याख्या वा विवेचना नभएको हुँदा सो नजिर प्रस्तुत मुद्दामा आकर्षिक हुन सक्तैन भन्ने पुनरावेदक तर्फका विद्बान कानून व्यवसायीहरुको जिकिर छ सो सम्बन्धमा उक्त मुद्दामा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) को व्याख्या तथा विवेचना गरेर मात्र मूलतः सोही व्याख्या तथा विवेचनाको आधारमा निर्णयमा पुगेको अवस्था देखिँदा विद्बान कानून व्यवसायीहरुको उक्त जिकिरसँग सहमत हुन सकिएन ।
यस अदालत संयुक्त इजलासबाट भएको फैसला पश्चात परेको निवेदनमा सम्माननीय प्रधान न्यायाधीशको आदेशमा उल्लेखित समान कानूनी आधारमा वृहत पूर्ण इजलासमा निर्णयार्थ पेश भएको माथि उल्लेखित २०५३ सालको दे.पु.इ.नं. ११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध शारदा शाह समेत भएको अंश चलन मुद्दामा संयुक्त इजलासबाट पूर्ण इजलासमा पठाउँदा जसरी आधार र कारण उल्लेख गर्नुपर्छ त्यसरी नै प्रधान न्यायाधीशले पनि सोही प्रकृतिको विषयमा पूर्ण इजलासमा पठाउने आदेश गर्दा आधार र कारण खोलेको हुनुपर्छ । पूर्ण इजलासमा पेश गर्नु भनी गरिएको आदेशमा त्यसरी कारण र आधार स्पष्ट नखुलेको अवस्थामा कानून संगत नहुने र त्यस्तो आदेशबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय हुने अवस्था पनि हुदैन भनी सिद्धान्त प्रतिपादन भईरहेको देखिन्छ । उक्त सिद्धान्तको परिप्रेक्ष्मा प्रस्तुत मुद्दामा सम्माननीय प्रधान न्यायाधीशले मिति २०५३।१०।११ मा आदेश गर्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) सम्म उल्लेख गरी पूर्ण इजलासमा पठाउनु पर्ने कुनै आधार र कारणस्पष्ट रुपमा उल्लेख भए गरेको देखिदैन । त्यस्तो आदेश र कारण स्पष्ट रुपमा उल्लेख नभएको गोश्वारा आदेशलाई कानून सम्मत मान्न मिलेन । तसर्थ प्रधान न्यायाधीशले मिति २०५३।१०।११ मा गरेको आदेशमा कानूनको रीत पुगेको नदेखिँदा तथ्य भित्रप्रवेश गरी पुनरावेदकद्बारा उठाइएको अन्य प्रश्नहरुका सम्बन्धमा केही बोलिरहन नपर्ने ।
(प्र.नं. २७, २८)
पुनरावेदक प्रतिवादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता द्वय श्री कुशुम श्रेष्ठ र श्री मधुप्रसाद शर्मा तथा विद्बान अधिवक्ता श्री राधेश्याम अधिकारी
प्रत्यार्थी वादी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा तथा अधिवक्ताद्वय श्री शंभु थापा र श्री पन्नामान तुलाधर
अवलम्बित नजिरः ने.का.प. २०५२, पृ.५४२, नि.नं. ६०३२ र २०५३ सालको दे.पु.नं. ११८
फैसला
न्या.भैरवप्रसाद लम्सालः यस अदालत संयुक्त इजलासको मिति २०५३।५।२६ को फैसला उपर परेको निवेदनमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) बमोजिम सम्माननीय प्रधान न्यायाधीशको आदेश बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छः
2. कैयौं सालदेखि काठमाडौंको टाइगर टप्समा एकाउन्टेन्ट भई काम गरी विदेशी मुद्रा अवैध तवरले पर्यटकसँग लिई अमेरिकाको चेसप्याज इन्टर जस्तो ठूलो बैंक तथा हङकङ बैंकमा अपार विदेशी मुद्रा राखी नेपालबाट पनि व्यापारीलाई डलरको हुन्डीको व्यापार गर्ने का.जि.लाजिम्पाट घर हुने प्रकाशराज मानन्धरलाई नियमानुसार कारवाही हुनुपर्ने देखेर यो सूचना दिएका छौं । निज मानन्धरले विगत सालहरुमा लाखौं डलरको कारोवार गरी कमाएको बुझिएको छ । नजिकको विदेशमा रहेको डलरको बैंक एकाउन्टहरु यसैसाथ राखी कागजातमा समावेश गरिएको छ । नियमानुसार पुरस्कार पाउँ भन्ने का.जि.लाजिम्पाट बस्ने राजु श्रेष्ठ १, ऐ.ऐ. कमल ताम्राकार १ समेतको मिति २०४४।३।२९ मा नेपाल राजश्व अनुसन्धान विभागमा परेको जाहेरी पत्र ।
3. अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाबाट विदेशी विनिमय तथा राजश्व सम्बन्धी अनुसन्धानको सिलसिलामा का.जि.का.न.पा.वडा नं. ३ लाजिम्पाटस्थित प्रकाश मानन्धरको घर आज मिति २०४४।४।६ गते खानतलासी लिँदा देहायका मालसामान नगद, ट्राभल चेक आदि बरामद भएको हुँदा सो को बरामदी मुचुल्का लेखी दिएका छौं भन्ने समेत व्यहोराको मिति २०४४।४।६ को बरामदी मुचुल्का ।
4. आजभन्दा दुई वर्ष अगाडि लोकर्स गार्मेन्ट भन्ने कम्पनी खोली तयारी पोशाक बनाएर विदेशी मुलुकमा पठाउने गर्थे हालै आफ्नो काम केही गरेको छैन । तर सानो सानो उद्योग गर्ने इच्छामा छु । वार बनाउने र विजुलीको सामान बनाउने उद्योग खोल्ने इच्छा छ । उक्त उद्योगको निर्यात गरिएको सामानको विदेशी मुद्राहरु मैले काम गरि रहे सम्मको भुक्तानी आइसकेको छ । त्यसपछि उक्त गार्मेन्टको शेयर टेकचन्द्र पोखरेलको छोरीमा ट्रान्सफर गरी दिएँ । उक्त उद्योगका पार्टनरहरुमा अरु पनि छन् । देखाइएको विदेशी मुद्रा र नगद समेत मेरो घरबाट बरामद भएको ठीक साँचो हो भनी सनाखत गरि दिएँ । उल्लेख गरिएका नगद तथा ट्राभलर चेकहरु काठमाडौंको बैंक मार्फत पठाएको हो र सविता मानन्धरको नाममा भएको ट्राभलर चेकहरु मेरो श्रीमती र छोराहरुको नामको पासपोर्टबाट नेपाल राष्ट्र बैंकबाट दिइएको हो । विदेशबाट फर्की आउँदा बाँकी रकम आफैसित राष्ट्र बैंकबाट लिनुपर्छ भन्ने मलाई थाहा थिएन । विदेशी खाता खोल्ने सम्बन्धमा नगद राख्दा हराउने सम्भावना भएकोले खोलेको हो । टाइगर टप्स कम्पनीमा रहेको सो कम्पनीमा काम गरिरहेको सो कम्पनीका चेयरमेनलाई रकम सापट दिई त्यस कम्पनीको शेयर किन्ने कुरा भएको र पछि सो कम्पनीले शेयर पनि नदिने र कामबाट पनि निकालि दिएँ । त्यसपछि रकम दिलाइ पाउन जिल्ला अदालतमा मुद्दा परी सर्वोच्च अदालतमा गई मिलापत्र गरी मलाई दिन पर्ने रकम वापत दिइएको चेक हो । सो रकम पाउनु पर्ने रकम आजसम्म पाएको छैन । विदेशमा जाँदा खाता खोलेको हो हुन्डीको कारोबार गरेको छैन भन्नेसमेतको व्यहोराको प्रकाशराज मानन्धरले अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखा तथा विशेष प्रहरी अधिकृत समक्ष मिति २०४४।४।६ गते रोज ४ मा गरेको बयान तथा मिति २०४४।४।७।५ मा गरेको ततिम्वा बयान साथै मिति २०४४।८।६ र मिति २०४५।२।२८।६ मा र मिति २०४५।१।३०।५ मा र मिति २०४७।१।५ गतेको समेत ततिम्बा बयान ।
5. राजश्व अनुसन्धान महाशाखाबाट फुकुवा पत्र नपाएसम्म अमेरिका, लण्डन र हङकङ समेतको बैंकहरुमा खाता खोली राखिएका रकमहरु झिक्ने तथा यत्रतत्र गर्ने छैन भनी प्रकाशराज मानन्धरले मिति २०४४।४।६।४ मा राजश्व अनुसन्धान महाशाखा मार्फत श्री ५ को सरकारमा गरेको कागज ।
6. राजश्व अनुसन्धान महाशाखाबाट नेपाली राष्ट्रभाषाको माध्यमबाट सवाल सोधनी गरिएको इङलिस भाषाको माध्यम तथा इङलिस अक्षरमा गरी दिएको पृष्ठ १८ तकको जिम अडवार्डसले मिति २०४५।२।२८ मा गरेको बयान तथा ततिम्वा बयान ।
7. वादी प्रकाशराज मानन्धर प्रतिवादी टाइगर टप्स प्रा.लि.समेत भएको मुद्दा मिति २०४६।४।२६।५ मा रकम दिलाई पाउँ भन्ने मुद्दा र मिति २०४६।३।१२।२ मा रकम दिलाई कैद जरिवाना समेत गरी पाउँ भन्ने मुद्दा किनारा भइसकेको जानकारी गराइन्छ भन्ने काठमाडौं जिल्ला अदालतबाट मिति २०४६।११।२८।१ मा अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखालाई लेखेको पत्र ।
8. रकम दिलाइ पाउँ भन्ने मुद्दा सर्वोच्च अदालतमा मिति २०४४।८।१६।२ मा मिलापत्र भएको प्रतिलिपि प्रमाणको लागि पेश भई मिसिल सामेल रहेको ।
9. वादी प्रकाशराज मानन्धर टाइगर टप्स प्रा.लि.समेतको भएको रकम दिलाइ पाउँ भन्ने मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०४६।४।२६।५ मा भएको फैसला प्रतिलिपी प्रमाणको लागि पेश भई मिसिलमा संलग्न रहेको ।
10. ए.भि.जिम एडवार्डस लेखिएको यु.एस.डलर ३४४७९४ को चेक सम्बन्धलाई लिएर एडवार्डसले प्रकाशराजलाई नेपालमा विदेशी मुद्रा लेनदेन कारोवार किन गरेछन् त भन्नलाई सो चेक मैले केवल सही मात्र गरी मेरो अफिसको टेवलको ड्रयरमा राखेको हो । प्रकाशराजलाई मैले दिएको होइन प्रकाशराजको घरमा चेक कसरी पुग्यो भन्ने जिम एडवार्डस र मैले जिम एडवार्डसबाट लिन बाँकी हिसाब वापतमा जिम एडवार्डसले मलाई दिएको हो सो चेक निजको खातामा रहेको न्यूयोर्कको बैकमा भुक्तानीको निमित्त नेपाल बैंक मार्फत पठाउँदा खातामा पैसा नभएकोले भुक्तानी नभई त्यसै फिर्ता आई मेरो घरमा रहेको हो र लेनदेनतर्फ छुट्टै अदालती कारवाही गराएको छु भन्ने प्रकाशराज मानन्धरको भनाइ हुँदा नेपालमा बसोबास गरिरहेका परिवारलाई अन्यत्र जाँदा खर्च चलाउन अफिसको टेबुलको ड्रयरमा खाली चेकमा सही गरी छाडेको भन्ने जिम एडवार्डसको यो भनाइबाट प्रकाशराजलाई चेक झिकी लगेको आरोपित गराई आफू नेपालमा बसी अनियमित तरिकाले विदेशी मुद्रा लिनुदिनु पर्ने पक्षबाट उम्कने प्रयास गर्न खोजेको मात्र हो भन्ने कुरा देखिन आएको छ । यसकारण उक्त उल्लेखित डलरको चेक विना इलाकावाला नेपाली नागरिक प्रकाशराज मानन्धरलाई भुक्तानी वापत दिएको देखिन्छ । तसर्थ यो काम तत्काल बहाल रहेको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को प्रतिकूल भएको छ । खास गरेर निज एडवार्डसले दिएको प्रकाशराजले लिएको भनेको यु.एस.डलर ३४४७९४ को चेक उक्त प्रकाशराजको घरमा तलासीबाट बरामद भएको प्रकाशराजले मेरो हो भनेको उक्त विदेशी मुद्राहरु अनियमित कारोवारमा प्रेरित मुद्रा हुन भन्ने कुरा प्रमाणित भएको छ ।
11. उपरोक्त कारण प्रमाण प्रतिवादी मध्येका प्रकाशराजले विना इजाजत विदेशी मुद्राहरु ऐनले निर्धारित गरेको समय नघाई घरमा राख्ने गरेको निज एडवार्डसले नेपालमा दिन निषेधित विदेशी मुद्राको व्यक्तिगत चेक दिई अवैध कारोबार गरेको प्रमाणित हुन आएको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को विपरित काम भए गरेको प्रष्ट देखिएकाले प्रकाशराज मानन्धरबाट बरामद भएको मुद्रामध्ये यु.एस. डलरको ट्राभलर चेक ५५० को बरामद हुँदाको दिनको दर रु. २१।८० ले हुने रु. ११९९०।- र नगद डलर ३३९ को सोही दरले ७३९०।२०, स्टर्लिङ पाउण्ड २० को दर रु. ३८।९० ले हुने रु. ७७८।- डि.एम.को दर रु. १३।०३ ले हुने रु. १३०३।-, स्वीस फ्रैंक १० को दर रू. १६।१३ ले हुने रु. १६१३।- र हङकङ डलर ७० को दर रू. २।७० ले हुने रु. १९३।९० समेत जम्मा रु. २१४८।२० भएको सो मुद्रा राष्ट्र बैंकबाट सटही गरी नेपाली रुपैयाँ निज प्रकाशराजको जिम्मा लगाई सोको सटही भौचरसम्म फाइल संलग्न रहेकोले विगोको रकम प्रकाशराजबाट असुल गराई तत्काल बहाल रहेको ऐन बमोजिम जरिवाना सजाय गर्न र जिम एडवार्डसबाट प्रकाशराजले आफ्नो ऋण असुल गर्ने सिलसिलामा दिएको यु.एस.डलर ३४४७९४ को चेकका सम्बन्धमा ऐनले लिन निषेधित चेक लिनुदिनु गरेको तर्फ भुक्तानी प्राप्त नभई चेकको रकम निज जिम एडवार्डसबाट भराई दिलाई पाउँ भन्नेतर्फ सो चेकलाई नै प्रमाण बनाई अदालती कारवाही चलिरहेको छ भनी प्रकाशराजले प्रमाणस्वरुप का.जि.अ.को २०४६।४।२६ को फैसलाको फोटोकपी पेश गरेको भुक्तानि प्राप्त गर्न नसकेको चेकको विगो दावी गर्न सामाजिक न्याय सिद्धान्त विपरित हुन जाने हुँदा अनियमित कारोवार गरेतर्फ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा १ बमोजिम कारोवारमा संलग्न दुवै पक्षलाई हदैसम्म जरिवाना र सजाय गर्ने कारवाहीको निमित्त अनुरोध गर्दछु भन्ने समेतको माग दावी गरी अर्थ मन्त्रालय राजश्व अनुसन्धान महाशाखाको मिति २०४८।४।१३।२ को बागमती अंचल अदालतमा दाखिल भएको आरोपपत्र ।
12. आरोपपत्र बमोजिम यु.एस. डलर ट्राभलर चेक ५५०, नगद डलर ३३९, स्टर्लिङ पाउण्ड २०, डि.एम. १००, स्वीस फ्रैंक १००, हङकङ डलर ७०, थाइभाट २०, पाकिस्तानी मुद्रा २४५ र दुई अक्षर लेखिएको मुलुक थाहा नभएको दर १ को थान मेरो घरबाट बरामद भएको हो । ट्राभलर चेक र क्यास डलरको हकमा पासपोर्ट सुविधा पाउने राष्ट्र बैंक र अन्य बैंकबाट सटही गरी नेपालमै लिएको हुँ । अन्य मुद्राहरु विदेशबाट नेपाल फर्कदा आफूसँग बाँकी भएको रकम हो । उल्लेखित क्यास डलर र ट्राभलर्स चेक पनि विदेशमा गए फर्केर आफूसँग बाँकी भएको रकम हो । उल्लेखित क्यास डलर र ट्राभलर्स चेक पनि विदेशमा गई फर्केर आउँदा खर्च नभई बाँकी भएको हो । उल्लेखित विदेशी मुद्राहरु राजश्व अनुसन्धान महाशाखाको निर्णय बमोजिम इण्डोस्वेज बैंक दरबारमार्गबाट सटही गरी जम्मा ने.रु. २३१४८।२० आफैले राखी सोको रसिद राजश्व अनुसन्धान महाशाखामै बुझाएको हुँ । साथै युरोपियन अमेरिकन बैंक न्यूयोर्कको अक्ल्वर्ट भी एडभर्डस लेखेको ३.७९४ को चेकको हकमा टाइगर टप्स र ए.भी. जिम एडवार्डससँग मेरो दुईवटा बेग्लाबेग्लै रकम दिलाई पाउँ भन्ने मुद्दा शुरुमा काठमाडौं जिल्ला अदालतमा चलेको थियो । टाइगर टप्सको मुद्दा सर्वोच्च अदालतमा हुँदा दुवैसँग मिलापत्र भयो । मिलापत्र हुँदा मलाई नेपाल बैंकमा खिचिएको ३ वटा चेक र उल्लेखित चेक पठाई वापस गरेको वारिसले मलाई दिएको हो । सो बैंकहरुमध्ये नेपाल बैंकमा खिचिएको एउटा चेक र उल्लेखित चेक पेश नभएको कारणले नेपाल बैंक काठमाडौं शाखामा फिर्ता भई आएकोले मैले उल्लेखित दुवै चेक साथै राखी दुई भिन्दाभिन्दै मुद्दाहरु जिल्ला अदालतमा दर्ता गरेको हुं । का.जि.अ.बाट दुवै चेकको रकम भरिभराउ गर्ने ठहर गरी फैसला भयो हालमा दुवै मुद्दा बागमती अंचल अदालतमा विचाराधीन छन् । अतः उल्लेखित चेकका सम्बन्धमा मैले विदेशी मुद्राको अवैध कारोवार गरेको होइन मैले सो चेकको भुक्तानी लिन कानुन बमोजिम नै नेपाल बैंक मार्फत पाउने भएको थिएँ । उल्लेखित चेक बेन्चबाट देखाउँदा देखें हेरे सो मा भएको अंग्रेजी सही मेरै हो साथै बाल्केज बैंक अफ न्यूयोर्कको नं. १५४ को यु.एस. डलर ११६४।५० को चेकको सम्बन्धमा म विदेशमा हुँदा उक्त चेक सामान किनी ल्याई दिन लि सा भ्यान गनुसनले दिएको हो सो बमोजिम सामान ल्याई दिएको हुँ । त्यसैले मलाई सजाय गर्नुपर्ने होइन । मैले विदेशी मुद्राको अवैध कारोबार नगर्ने भन्ने कुरा उल्लेखित ३४४७९४ यु.एस. डलरको चेक नेपाल बैंकमा रहेको नेपाली मुद्रा खातामा जम्मा हुने गरी जम्मा गरेको कारणबाट समेत प्रष्ट हुन्छ । मिति २०४४।४।५।४ को बरामदी मुचुल्कामा भएको हस्ताक्षरको सही मेरै हो सो बमोजिम विदेशी मुद्रा मेरो घरबाट बरामद भएको हो । राजश्व अनुसन्धान महाशाखामा भएको मेरो तातिम्वा सहितको बयान हेरे सुने सो मा भएको हस्ताक्षर सहीछाप मेरै हो । बयान व्यहोरा राजीखुशीको हैन चोरी गरी लगेको भन्ने सरासर झुठ्ठो बयान हो । मिलापत्र वापत मलाई दिनुपर्ने रकम नदिनलाई निजले त्यस्तो झुठ्ठो बयान गरेको हो । विदेशी मुद्राको कारोवार गर्नलाई इजाजत पाएको छैन भन्ने समेतको व्यहोराको प्रकाशराज मानन्धरले बागमती विशेष अदालतमा गरेको बयान ।
13. यसमा प्रस्तुत मुद्दाको वारदात विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधन पूर्वको भएकोले अ.वं. ११८ नं. को देहाय ५ र १० समेतको आधारमा पछि बुझ्दै जाँदा ठहरे बमोजिम गर्ने गरी हाल रु. २०००। (दुई हजार रुपैयाँ) नगद धरौट वा सो वापत जेथाजमानी दिए प्र. प्रकाशराज मानन्धरलाई तारेखमा राखी मुद्दाको कारवाही गर्नु भन्ने समेत व्यहोराको बागमती विशेष अदालतबाट मिति २०४८।४।१३।२ मा भएको आदेश बमोजिम धरौट राखी तारेखमा रही मुद्दा कारवाही भएको ।
14. वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको विदेशी मुद्रा सम्बन्धी मुद्दामा मलाई यस अदालतबाट हाजिर हुन आउनु भन्ने म्याद जारी भएको हुँदा बयान गर्न आएको छु । मेरो भएको व्यहोरा यो छ कि प्रकाशराज मानन्धरलाई चेक दिएको छैन । ए.भि. जिम वार्डसले लेखिदिएको यु.एस. डलर ३४४७९४ को चेक इजलासबाट देखाउँदा देखे सनाखत गरे यो चेकको खाता मेरो हो सन् १९७८।८० तिर मलाई राम्ररी सम्झना भएन मैले खाता संचालन गर्न बन्द गरिसकेको छु । सम्बन्धित बैंकले खाता बन्द गरिसकेको कुरा मलाई लेखेर दिएको पत्र मैले राजश्व अनुसन्धान महाशाखामा दाखेल गरिसकेको छु । मलाई थाहा छ कि यो चेकमा लेखिएको व्यहोरा किर्ते हो । खाता बन्द भइसकेपछि मैले चेक काट्न मिल्दैन । अमेरिकी कानुनले त्यसो गर्न अपराध मानिन्छ । त्यसैले सो चेकमा लेखिएको व्यहोरा किर्ते हो । मैले प्रकाशराज मानन्धरलाई कुनै रकम तिर्नु छैन तसर्थ चेक मैले दिएको छैन । टाइगर टप्स र प्रकाशराजको मुद्दामा कम्पनीको तर्फबाट अधिकार प्राप्त व्यक्ति मेरा भाइ जोन आर एडवर्डसले कम्पनीका तर्फबाट मिलापत्र गरेको हो । त्यस मुद्दासँग सम्बन्धित छैन । कम्पनीको लेनदेनमा मेरो चेक दिनुपर्ने प्रयोजन छैन । मेरो व्यक्तिगत चेक मैले दिएको छैन । चेकमा लागेको दस्तखत सरसर्ती हेर्दा मेरो जस्तो लाग्दछ । किर्ते गर्ने व्यक्तिले दुरुस्त हुबहु मिलाउन कोशिस गर्ने हुन्छ । त्यसैले विशेषज्ञद्वारा जँचाउनु पर्ने हुन्छ । प्रकाशराज मानन्धरले मेरो अनुपस्थितिमा मैले गरी आएका सबै काम गर्दथे । त्यसैले दराज र अफिसमा रहेका दस्तखत भएको व्यक्तिगत कागज चेकहरु निजले सजिलै लिन राख्न सक्दथे यिनै क्रममा हाल देखाइएको चेक निज प्रकाशराजले लिई राखेको रहेछ, जुन चेक टाइगर टप्सबाट हराइसकेपछि किर्ते गरी प्रयोग गरेको हो । सद्दे किर्ते भन्नलाई अन्दाजी बाह्रा चौध वर्ष अगाडिको कुरालाई कसरी भन्न सक्नु चेकमा लेखिएको टाइपको अक्षर हालैको हुने निश्चित छ । चेकमा टाइप गरिएको व्यहोरा किर्ते हो । विशेषज्ञ जाँच गराउन आफ्नै खर्चमा बेलायत स्कट ल्याण्डयार्डबाट विशेषज्ञ झिकाउँछु नेपाली विशेषज्ञ साथ राखी जाँच गराउन चाहन्छु सो बमोजिम जाँच गराउन पाउँ राजश्व अनुसन्धान महाशाखामा मैले गरेको ततिम्वा बयान कागज बेन्चबाटै देखाउँदा देखें पढें सो कागज मैले राजीखुशीबाट गरेको हुँ । चेक हराएको सम्बन्धमा नै कतै उजुर गरेको थिइन किनभने चेक हराएको कुरा नै मलाई थाहा थिएन । टाइगर टप्सको व्यवस्थापकबाट हटाइएको रिसइवीले टाइगर टप्ससँगको मुद्दामा मिलापत्र भएपछि मबाट लिन खान पाइन्छ कि भन्ने कारणले मात्र अघिबाट लिई राखेको मेरो व्यक्तिगत चेक किर्ते गरेको मात्र हो । उपरोक्त भनाइ मैले भनेको कुरालाई कानुन व्यवसायी अधिवक्ता राधेश्याम अधिकारीले अनुवाद गरी लेखिएको ठीक साँचो हो भन्ने समेतको व्यहोराको निज एम.भि. जिम एडवार्डसले निज राधेश्यामलाई रोहवरमा राखी पुनरावेदन अदालत पाटनमा मिति २०४९।१।१८।५ मा गरेको बयान ।
15. पछि बुझ्दै जाँदा ठहरे बमोजिम गर्ने गरी हाल रु. २०००।- नगद धरौट वा सो वापत जेथा जमानी लिई प्र.ए.भि.जिम एडवार्डसलाई तारेखमा राखी मुद्दाको कारवाही गर्नु भन्ने पु.वे.अ.पाटनको मिति २०४९।१।१८ का आदेशानुसार निज प्रतिवादीले नगद धरौट राखी तारेखमा रहेको ।
16. १० वर्ष अगाडि नै खाता बन्द गरिसकेको एकाउण्टको चेक हो भन्ने कथनका सम्बन्धमा त्यसरी १० वर्ष अगावै खाता बन्द गरिसकेको कुराको कुनै सवुद निजले पेश गर्न सकेको पाईदैंन । आफ्नो अधिनको सो चेक प्रतिवादी प्रकाशराजको हातमा कसरी पर्न गयो सोको सवुद समेत निजले गुजार्न सकेको पाइँदैन । १० वर्ष अगावै बन्द गरि सकेको खाताको चेक निजले जानकारी बेगर प्रकाशराजले प्राप्त गरी रकम र मिति लेखी जम्मा गर्न (Collection) मा पठाएको भए चेक अनादर भएको सूचना प्र. प्रकाशराजले मिति २०४४।२।८ मा पठाएपछि (दे.पु.नं. २५०, २४७ को मुद्दामा) तत्काल उजुर गर्न सक्नु पर्नेमा सो नगरी चुप लागी बसेको देखिन्छ । फेरि बैंकबाट प्रेषित अनादरको सूचनामा (Accounts Closed) अथवा खातावालाको सही नभिडेको भन्ने जस्तो कैफियत जनिएको पनि देखिदैन । तसर्थ उक्त चेक निजको जानकारी विना प्रकाशराजले प्राप्त गरी मिति र रकम लेखी जम्मा गर्न पठाएका हुन । खाता दश वर्ष अघि नै बन्द भइसकेको थियो भन्ने समेतको प्रतिवादी ए.भि.जिम एडवार्डसको बयान जिकिरलाई प्रतितलायक भन्न मिलेन । निजको आफ्नै नाउँमा रहेको खाताको आफ्नै जिम्मा नियन्त्रणको चेकमा निज स्वयंको सहीछाप परेको जसलाई किटानसाथ आफ्नो होइन किर्ते हो भन्न र लेख्न नसकेको बैंकलाई प्र.प्रकाशराजले किर्ते गरेको भन्ने तर्फ शंका उठाई विशेषज्ञलाई जचाउन पर्ने भन्ने समेत मिलेन । विदेशी विनिमय कारोबारको इजाजत प्राप्त गरेको भन्ने प्रतिवादीहरुको जिकिर समेत रहे भएको देखिन्न । यसबाट प्र.ए.भि. जिम एडवार्डसकले ३४४७९४ डलरको चेक प्र.प्रकाशराज मानन्धरका नाउँमा काटी सही समेत गरी चेक निजहरुले लिनु दिनु गरी प्र.प्रकाशराजले नेपाल बैंक लि.मार्फत् जम्मा (Collection) मा पठाउने समेतका काम गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ ले निषेध गरेको कार्य गरेको देखिन आयो ।
17. त्यस्तै प्रतिवादी प्रकाशराज मानन्धरले यु.एस. डलरको ट्राभल चेक नगद स्टर्लिङ पौण्ड, डचमार्क, स्वीस फ्रांक, थाइभाट, हङकङ डलर समेतका विदेशी मुद्रा आफ्नो साथमा रहे भएकोमा निज सावितै रहेको र २०४४।४।५ को खानतलासी मुचुल्कालाई निजले स्वीकार गर्दै अदालतमा समेत सो विदेशी मुद्राहरु मेरो घरबाट बरामद भएको हो भनी साविती बयान गरेको देखिन्छ । प्रतिवादी प्रकाशराजले सो मुद्राहरु पासपोर्ट सुविधाबाट पाई विदेश जाँदा खर्च भई बाँकी रहेको, श्रीमतीको दिदी विदेशबाट आउँदा छाडिगएको आदि भनी बयान गरे पनि तोकिएको समयभित्र सम्बन्धित निकायमा विधिवत दाखिल गरी सटही गरेको देखिन आएन । अदालतमा बयान गर्दा नै पनि सो रकम बैंकमा गई कानुन बमोजिम सटही गर्ने विचार थियो तर बीचमा कलकत्ता जानु परी त्यहाँबाट फर्कनासाथ सो को ४।५ दिनमै बरामद भयो भन्ने सम्मको व्यहोरा लेखाएको पाइन्छ । यसरी विदेशबाट फर्किसकेपछि इजाजत बेगरको विदेशी मुद्रा आफैसँग राखी समयमै सटही नगरी प्र.प्रकाशराज मानन्धरले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ को बर्खिलापको कार्य गरेको देखिन आयो । यसमा प्र.प्रकाशराज मानन्धरले विदेशी विनिमय घरमा राख्ने र कारोबार गर्ने समेतको कार्य गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ अन्तर्गतको कसुर गरेको र प्र.ए.भि जिम एडवार्डसले समेत विदेशी विनिमय दिनु लिनु गरी उक्त ऐनको दफा ४ अन्तर्गतको कसुर गरेको ठहर्छ । सो ठहर्नाले निजहरुलाई ऐ.ऐनको दफा १७(१) बमोजिम जनही रु.१०००।- जरिवाना हुन्छ । उक्त ऐनको तत्काल प्रचलित दफा १७(१) मा विदेशी विनिमय जफत हुन सक्ने भन्ने व्यवस्था भएको र बरामद गरिएको भनिएको विगो जफतको मागदावी नभई सकेको रकम प्र.प्रकाशराजकै जिम्मा लगाएकोले विगोको रकम निजबाट असुल गरी पाउँ भन्ने आरोपपत्र माग दावीसम्म कानुन अनुरुपको नदेखिँदा विगो असुल गरी पाउँ भन्ने सम्मको वादी श्री ५ को सरकारको माग दावी नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०४९।४।२०।३ को फैसला ।
18. मैले प्राप्त गरेको चेकको सम्बन्धमा मलाई कसुरदार ठहर गर्न सकेको पाइदैन जबकि उक्त प्राप्त गरेको चेक डलर ३४४७९४ को सम्बन्धमा ए.भि.जिम एडवार्डसलाई आधार बनाई सजाय गरेको पाइन्छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ (२) ले ए.भि.जिम एडवार्डसले विदेशी बैंकमा खाता खोल्न सक्ने र त्यस्तो खाताबाट खोलेको चेक मलाई दिएकोमा मैले चेक बैंकमा जम्मा गर्न पाउने व्यवस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कुनै पनि कानुनले नियन्त्रण गरेको छैन । चेकबाट भुक्तानी लिन खोज्नु अपराधिक कार्य होइन । निर्णयकर्ताले दोहोरो मापदण्ड अपनाई निर्णय गरेको देखिन्छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १६ ले विदेशमा खाता खोल्न नेपालीलाई मात्र रोक लगाएको छ । प्र.ए.भि. जिम एडवार्डस विदेशी हुन निजले दिएको चेकबाट नेपाली रुपैयाँमा भुक्तानी पाउँ भनी पेश गरेको चेकलाई अनियमित कारोबार भन्न मिल्दैन । अर्को तर्फ मैले भुक्तानी लिइसकेको छैन । ऐनले दफा १७ (१) ले विदेशी विनिमय भने जफत नहुने तर सजाय भने हुने अर्थ गर्दा फैसला वदरभागी हुन गएको छ । मसँग बाट बरामद भएका विदेशी मुद्राहरु कानुन विपरितका होइनन् । साथै यो विनिमय अधिकार पत्र ऐन, २०१९ बमोजिम दायर गरेकोमा यस मुद्दाको तात्विक सम्बन्ध र असर पार्न नसक्ने निश्चित छ । साथै यो मुद्दा मेरो मुद्दासँग लगाएको मुद्दा समेत भएकोले यसको क्षेत्राधिकार नै गैरकानुनी रहेको छ । यो मुद्दा विशेष अदालतबाट सरी आएको मुद्दा हो, यसको क्षेत्राधिकार एक न्यायाधीशको इजलासबाट हुने व्यवस्था प्रचलित कानुनमा उल्लेख छ । अतएव उल्लेखित प्रकरणहरुमा वर्णित तथ्य कानुन सबुद प्रमाणको संयोजनको अभावमा पुनरावेदन अदालत पाटनबाट भएको फैसला वदर गरी पाउँ भन्ने समेतको प्रतिवादी प्रकाशराज मानन्धरको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
19. मैले प्रकाशराजलाई कुनै चेक दिएको छैन । खाता बन्द भएपछि चेक काट्नु अमेरिकी कानुन विपरित कार्य हो । मैले प्रकाशराजलाई कुनै रकम बुझाउन पनि छैन । चेकको सही मेरो जस्तो देखिएतापनि त्यो जाँच गरिनु पर्दछ । टाइगर टप्स र प्रकाशराज बीच मिलापत्र हुँदा म संलग्न छैन । चेकमा परेको सहीछाप मेरो होइन म पुनरावेदक चियरमेन भएको कम्पनीमा प्रकाशराज डेपुटी चियरमेन हुनुहुन्थ्यो । म बाहिर गएको अवस्थामा दराजबाट प्रकाशराजले चेक लिएका हुन् । प्रकाशराजले आफूले झिकेर लिएको चेकलाई मैले दिएको भनी अनुमान गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४ बमोजिम कसुर गरेको ठहराउन ऐ.को दफा १७(१) बमोजिम जरिवाना गर्न मिल्ने अवस्था छैन । मैले प्रकाशराजसँग लिएको रु.१४,००,०००।- नगद घरसारमा दिई तत्काल मध्यमाञ्चल क्षेत्रीय अदालतमा मिलापत्र भएका यसका अतिरिक्त घरसारमा रु.६०,०००।- लिई माउण्टेन ट्राभल्सको शेयर राजिनामा गरिदिएको प्रकाशराजले ट्राभललाई दिएको रु.३,०७,६६३।- मिति २०४३।८।१३ मा नगद बुझाएको भरपाई पेश छ भन्ने समेत व्यहोराको ए.भि.जिम एडवार्डसको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
20. यसमा छलफलको लागि श्री ५ को सरकारलाई उपस्थित गराउन महान्यायाधिवक्ताको कार्यालयमा लेखी पठाई नियम बमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको २०५१।११।३० को आदेश ।
21. टाइगर टप्स तर्फबाट जिम एडवार्डसले प्रकाशराजलाई युरोपियन अमेरिकन बैंकको आफ्नो नीजि खातामा भुक्तानी हुने गरी डलर ३४४७९४ को चेक विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को तत्कालीन प्रचलित दफा ४(१) को कसुर गरेको नदेखिँदा प्र.प्रकाशराजले आरोपित दफा ४(१) को कसुर गरेको ठहर्दैन । पुनरावेदन अदालत पाटनले निजलाई उक्त ऐन बमोजिम कसुरदार ठहर्याएको हदसम्म इन्साफ उल्टी हुने ठहर्छ । एउटै मुद्दाको कसुरदार भनी आरोपित भएका चेक लिने प्रकाशराज मानन्धरले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४(१) को आरोपबाट सफाई पाएको हुँदा चेक दिने प्र.जिम एडवार्डसलाई पनि अ.वं. २०५ नं. बमोजिम आरोपित कसुरबाट सफाई दिनु पर्ने ठहर्छ । पुनरावेदन अदालत पाटनबाट निजलाई जरिवाना रु.१०००।- सजाय समेत गरी कसुरदार ठहर्याएको इन्साफ समेत उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५३।५।२७ को फैसला ।
22. मलाई कसुरबाट सफाई दिने गरी भएको फैसलामा चित्त बुझे पनि सो सफाई दिँदाको कारण र आधार पटक्कै नमिलेको तथा मेरो पुनरावेदन सुनुवाईसम्म नभएकोले उक्त संयुक्त इजलासको फैसला यस्तै अन्य पूर्ण एवं संयुक्त इजलासबाट भएको फैसलाहरुको राय तथा प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल तथा भिन्न भई रुलिङ बाझिएकोले पूर्ण इजलासमा पेश गर्नु भन्ने व्यहोराको आदेश पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा पर्न आएको निवेदन पत्र ।
23. निवेदकले निवेदनमा उल्लेख गरेको यस अदालतबाट अघि भइरहेको कानुनको व्याख्यासँग प्रस्तुत मुद्दामा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न निवेदकलाई ७ दिनको सूचना पठाई पूर्ण इजलासको लगतमा दर्ता गरी सम्बन्धित मिसिल समेत झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको सम्माननीय प्रधानन्यायाधीशको मिति २०५३।१०।११ को आदेश ।
24. यस अदालतको मिति २०५३।१०।११।६ को आदेश बमोजिम निवेदकलाई मात्र झिकाइएको देखियो। मुद्दाको वस्तुगत विषयले गर्दा विपक्षीलाई समेत राखी निर्णय गर्नुपर्ने अवस्था देखिँदा विपक्षी प्रत्यर्थीलाई समेत ७ दिने सूचना दिई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासको मिति २०५४।२।२ को आदेश ।
25. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री कुसुम श्रेष्ठ र मधुप्रसाद शर्मा तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले सम्माननीय प्रधानन्यायाधीशले हाम्रो पक्षले दिएको निवेदन हेरी सर्वोच्च अदालते पहिले प्रतिपादन गरेको कानुनी सिद्धान्त र पछिबाट भएका कानुनी सिद्धान्त बाझिएको देखेर पूर्ण इजलासमा पठाएको हुँदा प्रस्तुत मुद्दाको सुनुवाई गरी तथ्यगत रुपमा इन्साफ गर्न कुनै बाधा देखिँदैन । सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रधानन्यायाधीशको आदेशले प्रस्तुत मुद्दामा तथ्यभित्र प्रवेश गरी हेर्न सकिन्छ । इन्द्रविक्रम शाह विरुद्ध शारदा शाह समेत भएको मुद्दाको विरोधाभाषपूर्ण निर्णयले नजिरको रुपधारण गर्न सक्तैन । कानुनको व्याख्या वा विवेचना नभएका निर्णयहरु नजिर हुँदैनन् र त्यस्ता निर्णय मुद्दाका पक्ष बाहेक अरुका लागि बाध्यात्मक पनि हुँदैन भनी प्रदीपकुमार अग्रवाल विरुद्ध कर कार्यालय मोरङ समेत भएको मुद्दामा बृहत पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको अवस्था छ । इन्द्रविक्रम शाहको मुद्दामा कुनै कानुनको व्याख्या र विवेचना नभएको हुँदा उक्त मुद्दामा भएको निर्णय प्रस्तुत मुद्दामा आकर्षित हुन सक्दैन । इन्द्रविक्रम शाहको मुद्दामा भएको निर्णयले प्रस्तुत मुद्दामा इन्साफ गर्न बाधा नपर्ने हुँदा तथ्यभित्र प्रवेश गरी निर्णय गरिनु पर्छ भनी बहस प्रस्तुत गर्नुभयो भने प्रत्यर्थी वादीका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा तथा अधिवक्ताद्वय श्री शम्भु थापा र श्री पन्नामान तुलाधरले इन्द्रविक्रम शाह विरुद्ध शारदा शाह समेत भएको मुद्दामा र प्रस्तुत मुद्दामा प्रधानन्यायाधीशले दिएको आदेशमा पक्ष विपक्षको नाम मात्र फरक रही अन्य उल्लेखित कुरामा समानता छ । इन्द्रविक्रम शाहको मुद्दामा बृहत् पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्तले सोही प्रकृति र आधारबाट उठान भएको प्रस्तुत मुद्दाको तथ्यभित्र प्रवेश गर्ने अनुमति दिँदैन । सिद्धान्त कायम भइसकेको विषयमा उक्त सिद्धान्तको विपरित जान नमिल्ने हुँदा सोही सिद्धान्त अनुसार निर्णयमा पुग्नुपर्ने हुन्छ । उक्त मुद्दामा पूर्ण इजलासबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) को व्याख्या गरी नजिर स्थापित भइसकेकोले प्रस्तुत मुद्दामा तथ्यभित्र प्रवेश गरी निर्णय गरिरहनु पर्ने हुँदैन । संस्थापित सिद्धान्त बमोजिम विपक्षीहरुको निवेदन र प्रधानन्यायाधीशको आदेश कानुनसम्मत नभएकोले विपक्षीको निवेदन खारेज भई संयुक्त इजलासबाट भएको निर्णय कायम हुनुपर्छ भनी प्रस्तुत गर्नु भएको बहस समेत सुनियो।
26. आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्वान कानुन व्यवसायीहरुले गर्नु भएको उपयुक्त व्यहोराको बहस, पेश भएको बहस नोट र मिसिल समेत मनन् तथा अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यस अदालत संयुक्त इजलासबाट मिति २०५३।५।२६ मा भएको फैसलामा यस अदालतबाट भएको कानुनको व्याख्या एवं सिद्धान्त विपरित भई रुलिङ बाझिएकोले पूर्ण इजलासमा पेश गर्ने आदेश पाउँ भनी निवेदक प्रतिवादीको यस अदालतमा २०५३।१०।१० मा परेको निवेदनमा सम्माननीय प्रधानन्यायाधीशबाट निवेदकले निवेदनमा उल्लेख गरेका यस अदालतबाट अघि भइरहेका कानुनको व्याख्यासँग प्रस्तुत मुद्दामा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न पूर्ण इजलासको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५३।१०।११ को आदेशानुसार पूर्ण इजलासमा पेश हुँदा सम्वत् २०५३ सालको दे.पु.इ.नं. ११८ निवेदक वादी इन्द्रविक्रम शाह विरुद्ध शारदा विक्रम शाह समेत भएको अंश चलन मुद्दामा सम्माननीय प्रधानन्यायाधीशज्यूबाट सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (ख) अनुसार निस्सा दिएको विषयलाई लिएर बृहत् पूर्ण इजलासमा पेश भई विचाराधिन रहेकोले उक्त मुद्दामा निर्णय भएपछि फैसलाको प्रतिलिपी साथै राखी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको मिति २०५५।१।३१ को आदेशानुसार उक्त इन्द्रविक्रम शाह भएको मुद्दाको निर्णय पश्चात् फैसलाको प्रतिलिपी साथै राखी प्रस्तुत मुद्दा यस इजलासमा पेश हुन आएको देखियो ।
27. सर्वप्रथम प्रस्तुत मुद्दामा २०५३ सालको दे.पु.इ.नं.११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध प्रत्यर्थी प्रतिवादी शारदा शाहसमेत भएको अंश चलन मुद्दामा मिति २०५५।९।९ मा प्रतिपादित भएको सिद्धान्त प्रस्तुत मुद्दामा आकर्षित हुने हो होइन ? भन्ने सम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो । सो सम्बन्धमा उक्त इन्द्रविक्रम शाह र प्रस्तुत मुद्दाको सन्दर्भलाई एक साथ दाँजेर हेर्नुपर्ने हुन्छ । जस अनुसार इन्द्रविक्रम शाहको मुद्दामा यस अदालतबाट भएका विभिन्न निर्णयसँग रुलिङ बाँझिन गई संयुक्त इजलासबाट फैसला भएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्ने आदेश पाउँ भन्ने समेत व्यहोरा उल्लेख भई निवेदन परेकोमा सम्माननीय प्रधान न्यायाधीशबाट निवेदकले निवेदनमा उल्लेख गरेका यस अदालतबाट अघि भईरहेका कानूनको व्याख्यासँग प्रस्तुत मुद्दामा मिति २०५१।५।२१ मा भएको निर्णय बाझिएको अवस्था देखिन आएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१) को खण्ड (ख) अनुसार प्रस्तुत मुद्दालाई पूर्ण इजलास समक्ष पेश गर्न पूर्ण इजलासको लगतमा दर्ता गरी नियमनुसार पेश गर्नु भन्ने आदेशानुसार पूर्ण इजलासमा पेश हुँदा प्रधान न्यायाधीशले आदेश गर्दा यो यस्तो मुद्दामा यस्तो सिद्धान्त कायम भएकोमा सो विपरीत भएको भन्ने कारण समेत खुलाई उल्लेख गर्नुपर्ने हो होइन भन्ने विषयमा समेत विचार विमर्श गरी ठोस निष्कर्षमा पुग्न बृहत पूर्ण इजलासमा पठाएको देखिन्छ । सो विषयमा सन्बन्धमा अर्थात सर्वोच्च अदालतले पूर्ण इजलासमा आदेश गर्दा कारण र आधार प्रष्ट रुपमा उल्लेख गर्नुपर्ने हो होइन ? भन्ने विषयका सम्बन्धमा वृहत पूर्ण इजलासबाट "संयुक्त इजलासबाट पूर्ण इजलासमा पठाउदा जसरी आधार र कारण खोल्नु पर्दछ त्यसरी नै प्रधान न्यायाधीशले पनि सोही प्रकृतिको विषयमा पूर्ण इजलासमा पठाउने आदेश गर्दा आधार र कारण खोलेको हुनुपर्छ । पूर्ण इजलासमा पेश गर्नुभनी गरिएको आदेशमा त्यसरी कारण र आधार स्पष्ट नखुलेको अवस्थामा कानूनसंगत नहुने र त्यस्ता आदेशबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय हुने अवस्था पनि हुदैन" भन्दै त्यस्तो कानूनी शर्तको पालना नभएको अप्रष्ट आदेशलाई पेश हुन आएको प्रस्तुत मुद्दामा दुई संयुक्त इजलासहरुबाट कानूनको व्याख्या वा कानूनी सिद्धान्तको सम्बन्धमा भिन्न भिन्न प्रतिकूल राय तथा निर्णय भएको भनी पूर्ण इजलासबाट निर्णय हुने अवस्था देखिन आएन भनी मिति २०५५।९।९ मा फैसला भएको देखियो । उक्त मुद्दाकोनिर्णयमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम प्रधान न्यायाधीशले पूर्ण इजलासमा पेश गर्ने आदेश गर्दा आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्ने र त्यस्तो कानूनी शर्तको पालना नभएबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय गर्ने अवस्थामा नहुने भनी एउटा निश्चित सिद्धान्त प्रतिपादन भईरहेको देखिन्छ । उल्लेखित मुद्दामा सम्माननीय प्रधान न्यायाधीशले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम पूर्ण इजलासमा पेश गर्न भनी गरेको आदेश र उक्त आदेशमा उल्लेख गरिएकोनियमको व्याख्या तथा विवेचना गरी गरिएको निर्णयलाई प्रस्तुत मुद्दाको सन्दर्भमा हेर्दा उक्त मुद्दामा सम्माननीय प्रधान न्यायाधीशबाट भएको आदेशमा जुन नियम उल्लेख गरीपूर्ण इजलासमा पठाएको हो सोही नियम उल्लेख गरी प्रधान न्यायाधीशबाट भएको आदेश बमोजिम नै प्रस्तुत मुद्दा निर्णयार्थ यस पूर्ण इजलासमा आएको देखिन्छ । जहाँसम्म ने.का.प. २०५२, पृ.५४२, नि.नं.६०३२ प्रदिप कुमार अग्रवाल विरुद्ध कर कार्यालय मोरङ्ग समेत भएको उत्प्रेषण मुद्दामा कानूनको व्याख्या वा विवेचना नभएको निर्णयहरु नजिर हुदैँनन र मुद्दाका पक्ष बाहेक अरुका लागि बाध्यात्मक पनि हुदैँन भनी सिद्धान्त प्रतिपादन भईरहेको अवस्थामा इन्द्रविक्रम शाहको मुद्दामा कुनै कानूनको व्याख्या वा विवेचना नभएको हुँदा सो नजिर प्रस्तुत मुद्दामा आकर्षिक हुन सक्तैन भन्ने पुनरावेदक तर्फका विद्बान कानून व्यवसायीहरुको जिकिर छ सो सम्बन्धमा उक्त मुद्दामा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) को व्याख्या तथा विवेचना गरेर मात्र मूलतः सोही व्याख्या तथा विवेचनाको आधारमा निर्णयमा पुगेको अवस्था देखिँदा विद्बान कानून व्यवसायीहरुको उक्त जिकिरसँग सहमत हुन सकिएन ।
28. अब यस अदालत संयुक्त इजलासबाट भएको फैसला पश्चात परेको निवेदनमा सम्माननीय प्रधानन्यायाधीशको आदेशमा उल्लेखित समान कानूनी आधारमा वृहत पूर्ण इजलासमा निर्णयार्थ पेश भएको माथि उल्लेखित २०५३ सालको दे.पु.इ.नं. ११८ पुनरावेदक वादी इन्द्रविक्रम साह विरुद्ध शारदा शाह समेत भएको अंश चलन मुद्दामा संयुक्त इजलासबाट पूर्ण इजलासमा पठाउँदा जसरी आधार र कारण उल्लेख गर्नुपर्छ त्यसरी नै प्रधान न्यायाधीशले पनि सोही प्रकृतिको विषयमा पूर्ण इजलासमा पठाउने आदेश गर्दा आधार र कारण खोलेको हुनुपर्छ । पूर्ण इजलासमा पेश गर्नु भनी गरिएको आदेशमा त्यसरी कारण र आधार स्पष्ट नखुलेको अवस्थामा कानून संगत नहुने र त्यस्तो आदेशबाट मुद्दामा पूर्ण इजलासले प्रवेश गरी निर्णय हुने अवस्था पनि हुदैन भनी सिद्धान्त प्रतिपादन भईरहेको देखिन्छ । उक्त सिद्धान्तको परिप्रेक्ष्मा प्रस्तुत मुद्दामा सम्माननीय प्रधानन्यायाधीशले मिति २०५३।१०।११ मा आदेश गर्दा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) सम्म उल्लेख गरी पूर्ण इजलासमा पठाउनु पर्ने कुनै आधार र कारणस्पष्ट रुपमा उल्लेख भए गरेको देखिदैन । यस्तो आधार र कारण स्पष्ट रुपमा उल्लेख नभएको गोश्वारा आदेशलाई कानून सम्मत मान्न मिलेन । तसर्थ प्रधान न्यायाधीशले मिति २०५३।१०।११ मा गरेको आदेशमा कानूनको रीत पुगेको नदेखिँदा तथ्य भित्रप्रवेश गरी पुनरावेदकद्बारा उठाइएको अन्य प्रश्नहरुका सम्बन्धमा केही बोलिरहन परेन । प्रस्तुत मुद्दाको पूर्ण इजलासको लगत कट्टा हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उपयुक्त रायमा हामी सहमत छौं ।
न्या.दिलिपकुमार पौडेल
न्या.गोपालप्रसाद खत्री
इति सम्वत २०५७ साल जेष्ठ २७ गते रोज ६ शुभम................।