निर्णय नं. ११०६ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ११०६ ने.का.प. २०३४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३४ सालको रि.फू.नं.२९
आदेश भएको मिति : २०३४।१०।४।३ मा
निवेदक : जि. ललितपुर गा.पं चापागाउँ वार्ड नं.३ बस्ने रत्न देसारनी
विरुद्ध
विपक्षी : भू.प्र. कार्यालय ललितपुरको प्रमुख अधिकारी भूमि प्रशासकसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) जग्गावालाले मोही पत्याई बाली बुझी भरपाई गरिदिएकोबाटै जग्गा पत्याएको देखिन आउने हुनाले त्यसरी साविक मोही मरी जग्गाधनीले जग्गा पत्याएकोमा दफा ३४ (१) बमोजिम कबुलियतको अवस्था नपर्ने ।
(प्रकरण नं. १२)
निवेदक तर्फबाट :
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी”
उल्लेखित मुद्दा :
आदेश
न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३४।४।१४ मा निर्णय हुँदा निवेदक काजिलाल ब्याजू विरुद्ध भूमिप्रशासन कार्यालय भक्तपुर समेत भएको रिट नं.२४०८ को रिट निवेदनमा डिभिजन बेञ्चबाट ०३१।१२।१४।५ मा भएको निर्णयसँग रुलिङ्ग नमिलेको भनी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : काजिमानको हकको बडिखेल गा.पं. वार्ड नं.१(क) कि.नं.८८ ऐ वार्ड नं.१(ख) कि.नं.५३ को जग्गा मेरा पति तुल्सीबहादुरले जोती मोही कायम भएको पति ३ वर्ष अघि परलोक भएको जग्गा मैले जोति आएको र बाली बुझी भरपाई समेत गरी दिनु भएको मसँग छ, मेरो सौता कृष्णमाया र टिकाराम समेत जना ३ मिली वीरमानले जग्गाको हक मेरो हो कृष्णमायालाई यो जग्गा दिन्छु भनेकोले मेरो जग्गामा खिचोला गर्नेलाई सजाय गरी पाउँ भन्ने यो निवेदकको वादी मैले मोही दखल गर्नुपर्ने कारण समेत नभएको हुँदा मोही वेदखल गरेको छैन भन्ने टिकाबहादुर घर्ति कि.नं.५३ मा मोही हिरामान देसार र कि.नं.८८ मा निजको छोरा तुल्सीबहादुर थियो हिरामान मरेपछि तुल्सीबहादुर कायम भएको तुलसीबहादुर परलोक भएपछि निजको श्रीमती मध्ये कृष्णमायाले कमाई आएकोमा रत्नमायाले बाली बुझाउन ल्याएकोले मात्र निजको नाउँमा भरपाई गरिदिएको हुँ मैले निजहरू मध्ये १ जनालाई पत्याउनु पर्नेमा कृष्णमायालाई पत्याएको छु । ०२३।१।२७ मा मेरो राजीखुशीले हालै देखिको बकसपत्र समेत गरी कृष्णमायालाई दिई सकेको हुँदा खिचोला गरेको छैन भन्ने विपक्षी वीरमान देसारको र पति मरेपछि जग्गाधनीले मलाई मोहियानी हक पत्याई दिएकोले जग्गा कमाई आएको जग्गाधनीले हालै देखिको मलाई बकसपत्र गरिदिएकोले जग्गाधनी र मोही कर मेरै भोग चलन गरी आएको भन्ने कृष्णमाया देसारनीको बयान भएको मुद्दामा निवेदक रत्न देसारनीले बाली बुझाएको भरपाई पेश गरेको भए पनि भूमिसम्बन्धी ऐनको दफा ३४ अनुसार कबुलियत भइसकेको भन्ने प्रमाण पेश गर्न नसकेकोले जग्गावालालाई मोही राख्ने अधिकार बाँकी नै रहेको देखियो, जग्गावाला भाइचा भन्ने वीरमानको बयानबाट कृष्णमायालाई पत्याएको देखियो, वादीले आफ्नो मोहियानी कायम गराउन नसकेको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालय ललितपुरबाट ०३३।५।१५।३ मा निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक रत्न देसारनीले दिएको रिट निवेदनपत्रमा प्रस्तुत विवादमा कबुलियतको प्रश्न उत्पन्न हुन सक्ने अवस्था छैन, कबुलियतको आवश्यकता भूमिसम्बन्धी ०२१ को दफा २५(१) र दफा २६ को व्यवस्था भित्र पर्न आउने अवस्थामा मात्र हो, मोही रही आएको कुरामा दर्तावाला मोहीको मृत्युपछि निजको कुनै हकवालालाई जग्गाधनीको मोही मानिनु पर्ने बाध्यात्मक व्यवस्था छ । जग्गामा आफै जोताहा समेत उपभोग गर्नसक्ने हक पूर्ण रुपले सुरक्षीत रहेको अवस्थामा मात्र जग्गाधनीको भू.सु. ऐन, ०२१ को दफा ३४ (१) बमोजिम कबुलियत गरी आफूले चाहेको व्यक्तिलाई मोहियानीमा आफ्नो जग्गा कमाउन दिन सक्ने अवस्था रहन्छ, जग्गाधनीको त्यस्तो हक पहिलेनै समाप्त भइसकेकोमा पुनः प्राप्त हुन सक्ने अवस्था छैन । भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) को निमित्त परिधिमा रही आंशिक अधिकारको प्रयोग मात्र गर्न पाउने जग्गाधनीलाई ऐ को दफा ३४(१) को अधिकार बनाउनु कानून विपरित भएको छ । विपक्षी भूमिप्रशासन कार्यालयको फैसलाको दोश्रो आधार जग्गावालालाई मोही राख्ने अधिकार बाँकी नै रहेको भन्ने सम्बन्धमा बाली बुझी दिएको भरपाईलाई खुदै साँचो हो भनी सकेपछि मोही रोज्ने अधिकार बाँकी नै रहेको भन्नु कानूनअनुरुप भएन, दफा २६(१) ले जग्गाधनीलाई एक पटक दर्तावाला मोहीको मृत्यु भएपछि उसको हकवाला मध्ये कसैलाई पत्याउन पाउने सुविधा प्रदान गरेको मात्र हो, जग्गाधनीको सो इच्छामा हकवाला मध्ये कहिले कसैलाई कहिले कसैलाई पत्याउनु भन्न पाउने अधिकार प्रदान गरेको छैन । जग्गाधनीले कृष्णमायालाई पत्याउँदछु भनी बयान गरेतापनि एक पटक दफा २६(क) अनुरुप सम्पन्न भई म निवेदकको हक कायम भई सकेको आधारमा मेरो नाममा मोहियानी दर्ता रहोस भनी निवेदन दिई राखेको अवस्थामा आफ्नो हक कायम गराई नसकेको भन्ने समेत आधार बनाई मेरो हकमा आघात पुर्याउने विपक्षी भू.प्र.का.को निर्णय दफा २६(१) को प्रतिकूल हुन गएको छ, उत्प्रेषणको आदेशद्वारा उक्त गैरकानूनी निर्णय बदर गरी पाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. यस कार्यालयले गरेको निर्णय प्रचलित भू.सं.ऐन कानून अनुकूल नै भएकोले रिटनिवेदन खारेज गरीपाउँ भन्नेसमेत विपक्षी जि.का.भूमि प्र.शाखा ल.पु.को लिखितजवाफ रहेछ ।
५. विपक्षी रत्न देसारलाई मैले मोही पत्याएकै नभई कृष्णमाया देसारलाई मोही पत्याएको समेत हुँदा दावी रत्न देसारले आफ्नो मोहियानी कायम गरी नसकेको हुँदा वादी दावी पुग्न सक्दैन भन्ने भू.प्र.का. ललितपुरको निर्णय फैसला विलकुल कानूनी हुनाले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी भाइचा भन्ने वीरमान देसारको लिखितजवाफ ।
६. मोहीको मृत्यु पछि यो अवधीसम्म मोही पत्याई मोही कायम गरी सक्नु पर्छ भन्ने कानूनमा हद म्यादको व्यवस्था गरेको नहुँदा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) बमोजिम मलाई मोही पत्याई म मोही कायम भएकोमा गैरकानूनी भन्न मिल्ने ठाउँनै छैन, विपक्षी भू.प्र.का. ललितपुरको निर्णय कानूनी हुनाले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी कृष्णमाया देसारको लिखितजवाफ ।
७. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१) अनुसार मोहीको मृत्यु पछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाको पत्याएको व्यक्तिलाई मोहियानी हक प्राप्त हुन्थ्यो, सो बमोजिम जग्गावालाले पत्याएको साविक मोहीको पति पत्नी वा छोराले मोहियानी हक प्राप्त गर्नलाई दफा ३४(१) बमोजिमको कबुलियतको आवश्यकता पर्दैन, पत्याउने कृया जग्गावालाको लिखत स्वीकृति वा आधारबाट पनि पूरा हुन सक्दछ । साविक मोही मरेपछि पहिलेकै बाली मै पत्याउने अधिकार प्रयोग गर्नुपर्छ, एउटालाई जग्गा जोत्न दिई निजबाट कूत बुझी लिए पछि जग्गावालाले आफ्नो आचारणबाटै निजलाई पत्याएको सम्झनु पर्छ । जग्गावालाले आचरणबाट उसले एक पटक त्यस्ता व्यक्तिहरू मध्ये एउटालाई पत्यार मोहियानी कूत बुझि लिइ सकेपछि फेरी अर्कोलाई पत्याउनु भनी पत्याएको अधिकारको पटक–पटक प्रयोग गरी आफ्नो स्वेच्छा अनुसार मोही हेरफेर गरी रहन पाउने अवस्था रहँदैन । यस स्थितिमा रत्न देसारलाई मोहियानी २ वर्षको बाली बुझी सकेपछि अर्कोलाई पत्याउँछ भन्ने बयान गर्दैमा कृष्णमाया मोही कायम हुन सक्ने देखिन्न । दफा ३४(१) बमोजिम कबुलियत नभएको र जग्गावालाले कृष्णमायालाई पत्याएको भन्ने भूमि प्रशासकले गरेको निर्णय त्रुटीपूर्ण हुँदा बदर गरिएको छ, कानूनबमोजिम किनारा गर्नु भनी परमादेशको आदेश जारी हुने ठहरी यस्तै प्रश्न समावेश भएको निवेदक काजीलाल व्यंजू रिट नं.१४०८ को रिटको डिजिनबेञ्चको ०३१।१२।१४।५ को निर्णयसँग रुलिङ्ग नमिलेकोले फुल बेञ्चमा पेश गर्नु भन्ने समेत ०३४।४।१४ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।
८. विपक्षी भू.प्र.कार्यालयतर्फबाट खटीआउनु भएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयीले प्रस्तुतमुद्दामा भएको डि.बे.को निर्णय रुलिङ्ग बाझिएकोछ,मोही मरी निजको छोरा स्वास्नीमा जग्गाधनीले पत्याएकोमा भूमिसम्बन्धी ऐन,०२१ को दफा ३४ बमोजिमको कबुलियत हुनुपर्छ कबुलियतको आवश्यकता पर्दैन भनी गरेको डिभिजन बेञ्चको निर्णय मिलेको छैन रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
९. यसमा डिभिजन बेञ्चबाट ०३४।४।१६ मा निर्णय हुँदा रिट नं.१४०८ को निवेदक काजीलाल व्यंजू विरुद्ध भू्.प्र.का. भक्तपुर समेत भएको उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने मुद्दामा भएको डिभिजन बेञ्चको ०३१।१२।१४ को निर्णयसँग रुलिङ्ग बाझिएको भनी निणयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा रुलिङ्ग बाझिएको छ छैन भन्नेतर्फ हेर्दा प्रस्तुत मुद्दाको निर्णय जुन निर्णयसँग रुलिङ्ग बाझिएको भनेको छ सो ०३३।१२।१४ को डिभिजन बेञ्चको निर्णय साविक मोही परलोक भएकोले निजको छोरा काजिलाल व्यंजूका नाउँमा जोताहा कायम गरी पाउँ भन्ने जग्गाधनीको निवेदन परेकोमा निज काजिलालका नाउँमा म्याद पठाउँदा गुजारेको जोत स्वत जग्गाधनीको कायम हुन जाने भई जग्गाधनीको नाउँमा जोताहा कायम गर्ने गरी भूमिप्रशासनबाट भएको निर्णय उपर बदर गरी पाउँ भन्ने काजिलाल व्यांजूको परेको रिट निवेदनमा साविक मोही मरेपछि निजको छोरा काजिलाल व्यंजूलाई जोताहा कायम गरी पाउँ भनी निवेदन परेबाट जग्गावालाको पत्यार देखिएको छ मोही हाजिर भई कबुलियत गर्नुपर्नेमा सो नगरेकोबाट ऐनको दफा ३४ बमोजिम हुनुपर्ने कबुलियत हुन सकेन विना कबुलियत मोही कायम गर्न मिलेन मोही नभएको कित्ताको चलन पनि जग्गावाले गर्न पाउने भनी अधिकारयुक्त अधिकारीले ठहर गरेकोमा अन्यथा गर्नुपर्ने कारण परिवन्द देखिन आएन रिट निवेदन खारेज हुने ठर्हछ भनी निर्णय भएको देखिन्छ । सो निर्णयबाट साविक मोही मरी भूमी सम्बन्धी ऐन, ०२१ को दफा २६ (१) बमोजिम मर्नेको पति पत्नी वा छोरामा जग्गाधनीले मोही पत्याउँदा दफा ३४ (१) बमोजिम कबुलियत हुनुपर्छ भन्ने निष्कर्षमा पुगेको पाईन्छ ।
१०. प्रस्तुत मुद्दामा भएको ०३४।४।१६।६ को डिभिजन बेञ्चको निर्णय हेर्दा दफा २६ (१) अनुसार मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएकोलाई मोहियानी हक प्राप्त हुन्छ ।
सो बमोजिम जग्गावालाले पत्याएको साविक मोहीको पति पत्नी वा छोराले मोहियानी प्राप्त गर्नलाई दफा ३४ (१) बमोजिमको कबुलियतको आवशयकता पर्दैन पत्याउने कृया जग्गावालाको लिखित स्वीकृति वा आचरणबाट पूरा हुन सक्दछ । साविक मोही मरेपछि जग्गाधनीले पहिलो बाली मै पत्याउने अधिकार प्रयोग गर्नुपर्छ, एउटालाई जग्गा जोत्न दिई निजबाट बाली बुझी लिएपछि जग्गावालाले आफ्नो आचरणबाट निजलाई पत्याएको सम्झनु पर्छ । यस स्थितिमा रत्न देसारलाई मोहियानी २ वर्षको बाली बुझी लिई सकेपछि जग्गाधनीले साविक बमोजिम मोहीको अर्को पत्नी कृष्णमायालाई पत्याउँछु भन्ने बयान गर्दैमा कृष्णमाया मोही कायम हुन सक्ने देखिन्न, भूमिप्रशासनको निर्णय बदर गरिएको छ भन्ने निर्णय भएकोबाट ०३४।४।१६ को डिभिजन बेञ्चले साविक मोही मृत्यु भई दफा २६(१) बमोजिम जग्गाधनीले मोही पत्याएको दफा ३४(१) बमोजिम कबुलियतको आवश्यकता पर्दैन भन्ने निर्णय गरेको पाइन्छ ।
११. भूमिसम्बन्धी ऐनको दफा २६ (१) बमोजिम साविक मोहीको मृत्यु पछि निजको पति वा पत्नी छोराहरू मध्येमा जग्गाधनीले मोही पत्याउँदा भूमिसम्बन्धी ऐनको दफा ३४(१) बमोजिम कबुलियत हुनुपर्छ वा पर्दैन भन्ने एउटै कानूनी प्रश्नमा ०३१।१२।१४ को डिभिजन बेञ्चले कबुलियत हुनुपर्छ भन्ने र ०३४।४।१६ को डिभिजन बेञ्चले कबुलियतको आवश्यकता पर्दैन भन्ने भिन्दा भिन्दै निर्णय गरेको देखिन्छ । यसरी एउटै कानूनी प्रश्नमा एक डिभिजन बेञ्चबाट एक किसिमको कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय गरेको र त्यसै कानूनी प्रश्नमा अर्को डिभिजन बेञ्चले भिन्दै किसिमले अर्को कानूनी सिद्धान्त प्रतिपादित गरी निर्णय गरेको देखिएकोले यस्तो स्थितिमा ०३१।१२।१४ को डिभिजन बेञ्चको कबुलियत हुनुपर्छ भन्ने निर्णयसँग प्रस्तुत मुद्दामा भएको कबुलियतको आवश्यकता पर्दैन भन्ने ०३४।४।१६ को निर्णय प्रष्टतया रुलिङ्ग बाझिएको देखिन आएको छ ।
१२. अब रुलिङ्ग बाझिएको देखिएबाट प्रस्तुत मुद्दामा भएको ०३४।४।१६ को डिभिजन बेञ्चको निर्णय कानूनअनुरुप छ छैन भन्ने कुरामा सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (ख) बमोजिम निर्णय दिनुपर्ने हुन आयो र तत्सम्बन्धमा विचार गर्दा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) मा यस परिच्छेदका अन्य दफाहरूको अधिनमा रही मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने कानूनी व्यवस्थाले साविक मोहीको मृत्यु पछि निजको पति पत्नी वा छोराहरूमा जग्गावालाले पत्याउँदा दफा ३४(१) बमोजिमको कबुलियत हुनुपर्छ कि भन्नालाई दफा ३४ (१) मा जग्गा कमाउन लिँदा दिंदा मोही र जग्गावालाको बीचमा तोकिएबमोजिमको लिखत कबुलियत गर्नुपर्छ र त्यस्को दोहरो दुवै पक्षले लिई दिई राख्नु पर्छ भन्ने उल्लेख भएकोबाट सो दफाले जग्गा कमाउन लिँदा दिँदाको अवस्था मोही र जग्गावालाको वीचमा कबुलियत हुनुपर्ने व्यवस्था भएको पाइन्छ । उक्त दफा २६ (१) बमोजिम साविक मोहीको मृत्युपछि निजको पति पत्नी वा छोराहरूमा जग्गाधनीले पत्याउँदाको अवस्था जग्गा कमाउन लिए दिएको व्यवस्था हुने नभई साविक मोहीको मृत्यू भई निजकै पति पत्नी वा छोराहरूमा छनौट गरी त्यस मध्येको व्यक्तिलाई मोही पत्याउने कुरा हुँदा उक्त दफा ३४ (१) बमोजिमको कबुलियत हुनुपर्ने अवस्थाको देखिन आउँदैन, जग्गावालाले मोही पत्याई बाली बुझी भरपाई गरी दिएकोबाटै जग्गा पत्याएको देखिन आउने हुनाले त्यसरी साविक मोही मरी जग्गाधनीले जग्गा पत्याएकोमा दफा ३४ (१) बमोजिमको कबुलियतको आवश्यकता पर्दैन, निवेदक रत्न देसारनीलाई मोहियानी २ वर्षको बाली बुझी बाली सकेपछि जग्गाधनी वीरमान देसारले साविक मोहीको अर्को पत्नी कृष्णमायालाई जग्गा पत्याउँछ भन्ने बयान गर्दै कृष्णमायालाई मोही पत्याएको भन्ने त्रुटिपूर्ण असाधारणमा गरेको विपक्षी भूमि प्रशासकको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिएकोछ । कानूनबमोजिम किनारागर्नु भनी परमादेश को आदेश जारीगर्ने ठहर्याएको डि.बे.को ०३४।४।१६को निर्णय मिलेकै देखियो । यो आदेश विपक्षी भू.प्र.का.मापठाउन प्रतिलिपि म.न्या.का.मापठाई मिसिलनियमबमोजिम बुझाइदिनु ।
मेरो सहमती छ ।
प्र.न्या. नयनबहादुर खत्री
मा.न्या श्री हेरम्बराजको राय
१३. मोही मरेपछि निजको तथा कथित हकवाला मध्ये एउटालाई जग्गाधनीले मोही बनाउँदै भूमिसम्बन्धी ऐनमा व्यवस्था रहेकोले जग्गाधनीले रोजे पनि मोही नेले पनि मञ्जुरी गरेकै हुनुपर्छ यदि जग्गा कमाई कूत बुझाउन मञ्जुर छैन भने कसैलाई कर लगाएको हुन्छ ।
१४. २०३१ सालको रिट नं.१४०८ मा मोही काजीबहादुर मरेपछि निजको छोरा काजीलाललाई जोताहा कायम गराउने विश्वनाथले मुद्दा चलाएकोमा काजीलाललाई समन पठाउँदा हाजिर नभएकोले मोहीको मञ्जुरी नदेखिँदा मोही काम हुन नसक्ने ठहर भएको रहेछ ।
१५. प्रस्तुत २०३३ सालको रिट नं.१२६५ मा मोही तुल्सीबहादुर मरेपछि निजैको पत्नी रत्न देसारनीसँग बाली बुझी भरपाई गरी दिनु भएकोमा हाल खिचोला गरेको छ भन्ने रत्न देसारनीले मुद्दा चलाएकोमा रत्न देसारनीसँग बाली बुझेपछि जग्गाधनीले पत्याएका सम्झनु पर्छ भन्ने ठहर भएकोबाट मोही हुनेको र जग्गाधनीको मञ्जुरी भएको देखिएको कारणले मोही कायम गरेको देखिन्छ । माथि लेखिएको २ मिसिलको बीचमा भिन्न भिन्न व्यहोरा देखिएकोले रुलिङ्ग बाझिएको देखिएन । यस कारणले सम्माननीय प्रधान न्यायाधीश समेतको रायसँग मेरो मत नमिलेको स्पष्ट गर्दछु ।
इति सम्वत् २०३४ साल माघ ४ गते रोज ३ शुभम् ।