निर्णय नं. ११०९ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. ११०९ ने.का.प. २०३४
डिभिजन बेञ्च
सम्माननीय का.मु. प्रधान न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३३ सालको रिट नम्बर १४२९
आदेश भएको मिति : २०३४।१०।१८।३ मा
निवेदक : सप्तरी जि.मल्लेठ गा.पं. वार्ड नं. ७ बस्ने रतिलाल यादव
विरुद्ध
विपक्षी : भूमि प्रशासक भूमिप्रशासन कार्यालय सप्तरी राजविराज समेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) झगडा परी रोक्का रहेका बाली फुकुवा दिने सम्बन्धमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (६) प्रयोग हुन सक्ने नदेखिने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद “विजयी”
उल्लेखित मुद्दा :
आदेश
का.मु.प्र.न्या.वासुदेव शर्मा : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यस प्रकार छ : रतिलाल यादवको छोरा अम्बरनारायण यादवको नाउँमा दर्ता रहेको जग्गा मोही भई ०३२ सालको बाली लगाएको बाली धरौटी रहेको फिर्ता पाउँ भन्ने खुसिलाल, सत्यदेव, मेवालाल ढोढाई भन्ने सीताराम यादव समेतको निवेदन परेकोमा रतिलाल यादव समेतको जग्गामा मोही सम्बन्धी झगडा परी ०३२ सालको बाली रोक्का भई सीताराम जिम्मा रहेको सजाय गरी आउन खटी गएको कर्मचारीले पेश गरेको सरजमिन मुचुल्का जग्गाधनीले आफ्नो फाँट बुझी लिएको भरपाई र पेश गरेको प्रतिवेदन समेत हेर्दा ०३२ सालको बाली वापत धरौटी रहेको मोहीबोटी रु १३५७।५० मध्ये भूमिसम्बन्धी ऐन, ०२१ को संशोधन सहितको दफा ३६ को उपदफाबमोजिम सयकडा २ प्रतिशतका दरले कट्टी गरी खुसिलाल यादवले रु ३९२।९३ सत्यदेव यादवले ४७८।४७ मेवालाल यादव रु.३३३।४४ ढोढाई भन्ने सीताराम यादवले रु.१२५।४९ मोहीबोटी उठाई लिनु दिनुपर्ने मुनासिव देखिँदा पेश गरेको जो आदेश भन्ने टिप्पणीमा सदर भन्ने भई ०३३।५।८ मा निर्णय भएको रहेछ ।
३. उक्त निर्णय बदर गरी पाउँ भनी निवेदक रतिलाल यादवले दिएको रिट निवेदन पत्रमा मोही हुँ भनी झुटो कबुलियत र भरपाईको आधारमा विपक्षले उजूर गरेको थियो । लिखत कीर्ते जालसाजी भनिएकोले अदालतबाट छुट्याई ल्याएको बखत मोहियानी कारवाही हुने सुनाइएको थियो अदालतमा दायर भए कीर्ते मुद्दा सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चबाट लिखतहरू जालसाज ठहराई ०३२।११।५ मा निर्णय भएको अन्तिम रुपमा छ । रोका रहेको मोहीबोटी उठाउन जाँदा पहिलेनै विपक्षीहरूलाई दिइएको सुनियो र नक्कल सारी हेर्दा मोहीहरूलाई मोहीबोटी उठाई लिनु दिनुपर्ने देखिन्छ भन्ने निर्णय गरेको देखिन्छ उक्त निर्णय कानूनी त्रुटीपूर्ण र प्रबृत रहेको स्वतः सिद्ध छ । आदेशनुसार रोका रहेको मोहीबोटी निर्णयावस्था अझ विचाराधीन रहेको अवस्था जनाउ व्यक्तिहरूको एकसरो निवेदनहरूमा मोहीलाई मोहीबोटी पाउने भनी निर्णय गरेको अनाधिकार साथै जग्गा मिच्नेको १० नं. को प्रत्यक्ष प्रतिकूल छ असर पर्ने व्यक्ति मलाई बुझ्दै नबुझी गरिएको निर्णय प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल छ जुन जग्गाको मोही सम्बन्धी विचाराधिन र निर्णयको टुङ्गो नलागुन्जेल मोहीबोटी रोक्का रहेको छ सोही कार्यालयले मोहीलाई मोहीबोटी पाउने भनेको अधिकार क्षेत्रात्मक दोष छ र साथै अ.बं. ८५ र ८९ नं.समेतको प्रतिकुल छन् हचुवा टिप्पणीमा कुनै विवेक कारण र आधार नगरी टिप्पणी सदर गरेको छ, पूर्व आदेशलाई वेवास्ता गरिएको छ विपक्षीहरूको छुट्टा छुट्टै निवेदनहरूमा अ.बं. १८४क.१८५ नं.र १८९नं.प्रतिकूल सगोल निर्णयगरियो,भूमिसम्बन्धी ऐन,२०२१ को दफा ३६(६) प्रस्तुत विषयमा प्रयोग हुनसक्दैन, उत्प्रेषणको आदेश जारी गरी उक्त टिप्पणी सदर निर्णय बदर गरी हक प्रचलन गरी पाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।
४. मोहियानी विषयमा झगडा परेको बखत ०३२ सालको बाली हामीले लगाएको सो बाली काट्ने बखत रोका भएको बाली जग्गाधनी फाँट बुझाई बाँकी मोही बोटी जिम्मा रोका रहेको त्यस्तो हामीहरूले जोती पकाएको बाली हामी १० कर्म गरी जोत्ने जोताहाको भाग हामीलाई दिने गरी भएको टिप्पणी सदर राखी रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी खुसिलाल यादव १, सत्यदेव यादव १ समेतको लिखितजवाफ ।
५. निवेदकले सही गरी आफ्नो जग्गाधनी फाँट बुझी सीताराम यादव समेत ४ जनाले उक्त जग्गा ०३२ सालको बाली अवाद गरेको कुरालाई स्वीकार गरेको हुँदा मोही बोटी वापतको धरौटी रकम विपक्षी सीताराम यादव समेतलाई दिने टिप्पणी सदर हुने निर्णय भएको हो, विपक्षी सीताराम यादव समेतले ०३२ सालको बाली लाएको कुरालाई स्वीकार गरी सकेको हुँदा निजलाई बुझी रहने कुनै कारण नरही प्राकृतिक न्याय प्रतिकूल नभई अनुकूल छ, रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत विपक्षी भूमिप्रशासन कार्यालय राजविराज सप्तरीको लिखितजवाफ ।
६. विपक्षी मेवालाल यादव १, ढोढाई भन्ने सीताराम यादव १ को नाउँमा जारी भएको सूचनाको ध्यानमा लिखितजवाफ प्राप्त नभएको ।
७. निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मुद्दा पर्दा रोका रहेको बाली मुद्दाबाट जिती पाउने निवेदकलाई जग्गा मिच्नेको १० नं.बमोजिम बाली फुकुवा गरी दिन पर्नेमा निवेदकलाई बुझ्दै नबुझी प्राकृतिक न्याय सिद्धान्त विपरित विपक्षीलाई फुकुवा गरिदिएको टिप्पणी निर्णय अनधिकृत कानूनी त्रुटी छ, बदर हुन पर्छ भन्ने समेत र विपक्षी भूमिप्रशासन कार्यालय तर्फबाट खटी आउनु भएको विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयीले बाली फिर्ता दिने निर्णय भएपछि मात्र निवेदकले मुद्दा जिति पाएको हुँदा बाली फिर्ता दिने गरेको निर्णयले निवेदकलाई कुनै असर नपर्ने र सो बाली फिर्ता दिने टिप्पणी निर्णय भएको ६ महिना पछि ढिला गरी यो निवेदन परेकोले समेत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
८. यसमा निर्णयतर्फ विचार गर्दा विपक्षी ढोढाई भन्ने सीताराम समेतलाई बाली फुकुवा दिने गरेको भनेको निर्णय उत्प्रेषणको आदेश जारी भई बदर हुने नहुने के रहेछ सो कुराको नै निर्णय दिन पर्ने भएको छ ।
९. निवेदकले बदर गरी पाउँ भनेका विपक्षी भूमि प्रशासकको टिप्पणी आदेश हेर्दा रतीलाल यादवसँगको जग्गामा मोही सम्बन्धी झगडा परी ०३२ सालको बाली रोका भई सीताराम महतो जिम्मा रहेको सजाय गरी धरौटी खातामा लेखिएको रु.१३५७।५० मध्ये भूमिसम्बन्धी ऐन, २०२१ को संशोधन सहितको दफा ३६ (६) बमोजिम सयकडा २ प्रतिशतका दरले कट्टी गरी बाँकी विपक्षी खुसिलाललाई रु ३९२।९३ सतदैव यादवलाई ४७८।४७ मेवालाल यादवलाई रु.३३३।४४ ढोढाई भन्ने सीताराम यादवलाई रु १२५।४९ मोहीबोटी दिने निर्णय गरेको पाइन्छ । सो निर्णयले विपक्षी ढोढाई भन्ने सीताराम यादव समेतलाई दिने गरेको बालीको धरौटी रु.१३५७।५० मोही सम्बन्धी झगडा परी रोक्का रहेको बाली भन्ने उक्त भूमि प्रशासकको निर्णयबाटै देखिन आउँछ त्यस्तो झगडा परी रोक्का रहेको बाली सम्बन्धमा मुलुकी ऐन जग्गा मिच्नेको १० नं.मा” ...मुद्दा नछिनन्ज्याल साल–सालको बाली देहायमा लेखिएबमोजिमको हिसाबसँग रोक्का गरी इन्साफ गर्नुपर्छ, मुद्दा छिनिएपछि हक पुग्नेलाई फुकुवा र अड्डामा धरौट रहेको दिनुपर्ने समेत ऐनबमोजिम जो गर्नुपर्ने ठर्हछ सो बमोजिम गरी दिनु पर्छ” भन्ने र ऐ नं.११ मा” जग्गा मुद्दा परी रोक्का भएको बाली हक पुग्नेलाई फुकुवा गरी दिँदा वा नगद पारी अड्डैमा रहेको दिँदा समेत दसौंद लाग्दैन” भन्ने समेत उल्लेख भएबाट सो कानूनी व्यवस्थाबाट झगडा परी रोक्का भएको बाली मुद्दाबाट जिती पाउनेलाई फुकुवा गरी दिने व्यवस्था भएको पाइन्छ ।
१०. प्रस्तुत मुद्दामा रोक्का रहेको बालीको धरौटी भूमिसम्बन्धी ऐन, ०३१ को दफा ३६ (६) बमोजिम मोही बोटी फुकुवा गरिदिएको छ भन्ने उक्त भूमिसम्बन्धी ऐनको दफा ३६ को उपदफा (६) मा उपदफा (२) र (५) बमोजिम धरौटी अङ्कको सयकडा २ को दरले स्थानीय पञ्चायतले दस्तुर लिएको रकम सोही पञ्चायतको कोषमा आम्दानी बाँधी खर्च गर्नसक्नेछ भन्ने उल्लेख भएको र उक्त दफामा उल्लेखित उपदफा (२) र (५) ले मोहीले कूत बुझाउन जाँदा जग्गावाला वा निजको प्रतिनिधिले कूत बुझी नलिएमा मोहीले कूत धरौट राख्ने र जग्गावालालाई बुझाई दिने समेतको व्यवस्था भएकोले सो दफा ३६ (६) मोहीले जग्गावालाले कूत बुझी दिएन भनी कूत धरौट राखेको जग्गावालालाई बुझाई दिने सम्बन्धमा व्यवस्था भएको देखिन्छ, झगडा परी रोक्का रहेको बाली फुकुवा दिने सम्बन्धमा सो दफा प्रयोग हुन सक्ने देखिँदैन । त्यसरी प्रयोग हुन नसक्ने उक्त दफा ३६(६) को ऐन प्रयोग गरी रोक्का रहेको बालीको धरौटी रु.विपक्षी ढोढाई भन्ने सीताराम समेतलाई दिने गरेको विपक्षी भूमि प्रशासकको निर्णय उक्त कानूनको त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेश जारीगरी बदरहुने ठर्हछ । यो आदेश विपक्षी भूमिप्रशासक कहाँ पठाउन प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम बुझाइ दिनु ।
मेरो सहमति छ ।
न्या. हेरम्बराज
इति सम्वत् २०३४ साल माघ १८ गते रोज ३ शुभम् ।