निर्णय नं. ६९०९ - कर्तव्य ज्यान
निर्णय नं. ६९०९ ने.का.प. २०५७ अङ्क ५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
सम्वत २०५५ सालको फौ.पु.नं. ...१९३२
फैसला मितिः २०५६।१०।२४।२
मुद्दाः कर्तव्य ज्यान ।
वादीः राजमानको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला, नयागाउँ गा.वि.स. वडा नं. ९ बस्ने मलाङगाई भन्ने सन्तबहादुर तामाङ समेत
पुनरावेदक/प्रतिवादीः काभ्रेपलाञ्चोक जिल्ला, नयागाउँ गा.वि.स. वडा नं.९ घर भई हाल केन्द्रीय कारागार जगनन्नाथदेवल काठमाडौंमा थुनामा रहेका मलाङगाई भन्ने सन्तबहादुर तामाङ समेत
विरुद्ध
प्रत्यर्थी/वादीः राजमान लामाको जाहेरीले श्री ५ को सरकार
§ मिति २०४९।८।७ गते बिहान छोरा महादेवस्थान गा.वि.स.मा सतविज छर्ने जात्रा हेर्न गएकोमा छोरा लालकाजीलाई मलाङगाई भन्ने लालबहादुर र साईला भन्ने सार्कीमानले छुरी प्रहार गरी मारेकोले कारबाही गरी पाउँ भन्ने किटानी जाहेरी परेको देखिन्छ । रगत लागेको छुरी र हिलो लागेको कपडा प्रतिवादी सन्तबहादुरको घरबाट बरामद भएको र निज सन्तबहादुरले सनाखत समेत गरेको देखिन्छ । मुटु तथा फोक्सोमा भएको फेटल इन्जुरीबाट अकस्मात मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । मैले मेरो साथमा भएको फलामे छुरीले मृतकको टाउको र छातीमा हानेँ र त्यसपछि त्यहाँबाट भागेर गए भनी प्रहरीमा र मैले मृतकलाई २, ३ चोटी छुरीले हिर्काएको हो भन्ने अदालतमा कसूरमा सावित भै प्रतिवादी सन्तबहादुरले बयान गरेको देखिन्छ । अन्य प्रतिवादीहरुले समेत मृतकलाई सन्तबहादुरले मारेका हुन भन्ने सुनेको हुँ भनी बयान गरेको देखिन्छ । सर्जमिनका मानिसहरुले समेत प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट लालकाजी तामाङ्गको मृत्यु भएको भनी लेखाई दिएको देखिन्छ । यसरी संकलित प्रमाणहरुबाट मृतक लालकाजीको मृत्यु प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट भएको कुरा पुष्टी हुन आएको देखिँदा निज प्रतिवादी सन्तबहादुर तामाङ्गलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादी सन्बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी सन्तबहादुरले मार्ने मनसायले छुरी जस्तो जोखिमी हतियार पटक-पटक प्रहार गरी हत्या गरेको देखिन्छ । प्रतिवादी सन्तबहादुलाई घटी सजाय हुनुपर्ने सम्बन्धमा शुरु र पुनरावेदन अदालतले कारण सहितको खुलासा राय व्यक्त गरेको समेत देखिदैँन । कसूरमा प्रतिवादीले प्रहरी र अदालतमा सावित भै बयान गरेको देखिन्छ । तसर्थ अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने भन्ने शुरुले जाहेर गरेको रायलाई सदर गरेको पुनरावेदन अदालत पाटनको राय मिलेको नदेखिने ।
(प्र.नं.२५)
पुनरावेदक प्रतिवादी तर्फबाटः
प्रत्यर्थी वादी तर्फबाटः
अवलम्बित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदनको रोहमा र ऐ.दफा १०(२) अन्तर्गत साधक जाँचको लागि पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः
2. मिति २०४९।८।७ गते विहान ११ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला महादेवस्थानम सदविज छर्ने जात्रा हेर्न भनी मेरो छोरा लालकाजी तामाङ र छोरी कुमारी र साहिली तामाङनी, गाउँका मानिस समेत सो जात्रा हेर्न गई भोलिपल्ट निज छोरा उक्त स्थानबाट अगाडि आउँदा कुन्ता बेसी भन्ने ठाउँमा आइपुग्दा मेरो छोरा लालकाजीलाई छुरी हानी मारेको भन्ने हल्ला सुनी म घटनास्थलमा जाँदा छोरालाई टाउकोमा समेत छुरी प्रहार गरी मारी राखेको लास देखी कसले मारे भनी बुझ्दा काभ्रेपलाञ्चोक जिल्ला नयाँ गाउँ देउपुर गा.वि.स. वडा नं. ९ बस्ने धाइन तामाङको छोरा मलाङगाई भन्ने लालबहादुर तामाङ र ऐ.वडा नं. ८ बस्ने धर्मदत्तको छोरा साइला भन्ने सार्किमान तामाङ समेतले छुरी प्रहार गरी मारेको भन्ने बुझिन आएको र निजहरुले मार्नुपर्ने कारण मलाङगाईको दाजुको श्रीमती मेरो भाइ नाता पर्ने असल तामाङले भगाई ल्याई श्रीमती बनाई राखेकोमा जार यही हो भनी झोक्किई मेरो छोरा लालकाजीलाई छुरी हानी मारेको पूरा विश्वास भएकोले जाहेरी दर्खास्त गरेको छु । कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने राजमान लामाको जाहेरी दर्खास्त ।
3. बायाँ नाक माथि टाउकोमा काटेको घाउ, वायाँ दूध निर छुरीले काटेको घाउ, सो घाउबाट फोक्सो समेत देखिएको भन्ने समेत व्यहोराको लास प्रकृति मुचुल्का ।
4. रगत लागेको छुरी र हिलो लागेको कपडा समेत सन्तबहादुरको घरबाट बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का ।
5. २०४९ साल मार्ग ७ गते म र मेरो गाउँ नजिकका साइला भन्ने सार्किमान तामाङ का.प.जि. महादेवस्थानमा जात्रा हेर्न भनी गई भोलिपल्ट विहान घरतर्फ आउन लाग्दा कुन्ताबेसी नजिक आइपुग्दा साथी सार्किमान तामाङले एकजना मानिससँग फाइट पर्यो भनी मलाई भनेकोले म र सार्किमान कुन्ता बेसीमा आई सार्किमानले लाठीले जाहेरवालाको छोरा लालकाजीको टाउकोमा हाने । त्यसपछि मैले मेरो साथमा भएको फलामे छुरीले टाउकोमा र छातीमा २ ठाउँमा हाने । त्यसपछि लालकाजी भुइमा लडे । त्यसपछि हामी दुवैजना सो ठाउँबाट भागी घर गई हिलो लागेको कपडा खोली उनीको झोलामा राखी अर्को लुगा लगाई शंकर सिंहको घरमा आई बसें । त्यसपछि साथी होमबहादुर र म समेत सोही दिनको ३ बजे हिडी नाला हुँदै २०४९।८।९ गते विहान भक्तपुर पुगी बस चढी पोखरातर्फ गयौं । मिति २०४९।८।१२ गते मेरै गाउँको सानु सूर्यबहादुर पोखरा गई तिम्रो बाबुलाई पक्री लाने भएका छन् भनी भनेकाले सूर्यबहादुरको साथ काठमाडौं आउँदा प्रहरीले फेला पारी दाखिल गरेको हो । मैले प्रयोग गरेको छुरीको काठको दाप घटनास्थलमा खसेको थियो । दाप मेरो हो । मलाई देखाएको झोला र कपडा मेरै हो । साथीले झगडा भयो भनेकाले मैले मादक पदार्थ सेवन गरेको हुँदा छरीले २।३ पटक टाउको, छातीमा समेत हानी भागेका हौं । सार्किमानले लठ्ठीले र मैले छुरीले हानेको कारणबाट निजको मृत्यु भएको हो भन्ने समेत व्यहोराको प्र.मलाङगाई भन्ने सन्तबहादुर तामाङले प्रहरीमा गरेको बयान ।
6. मिति २०४९।८।८ गते विहान कुन्ता बेसीमा झगडा भयो भन्ने सुनेको थिएँ । सो बेलुकाको खाना खाई सुतिरहेको अवस्था मेरै गाउँको शंकर सिंह, जितबहादुरको छोरा सुर्यबहादुर तामाङ राती अन्दाजी ३.०० बजे मेरो घरमा आई बोलाउँदा ढोका खोली दिएँ । साथी साथीमा झगडा भयो तिमीले पोखरा देखेका छौ । मेरो फुपुको घर गोगन गौंडासम्म पुर्याइदेउ खाना खर्च र मोटर भाडा पाउँछौ भनी सन्तबहादुरले भनेकोले मैले मन्जुर गरी भोलिपल्ट मैले गोगनगौंडा फुपुको घरमा पुरा एकरात बसी भोलिपल्ट म घर फर्केको हुँ । सार्किमानलाई को कसले कहाँ लगी लुकाएका छन् थाहा छैन भन्ने प्रतिवादी हेमबहादुर तामाङले प्रहरीमा गरेको बयान ।
7. २०४९।८।७ गते विहान आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा घटनास्थलमा हो हल्ला सुनें । पछि २ जना मानिस दौड्दै गएको देखेपछि हेर्न आउँदा लालकाजीको मृत्यु भइरहेको देखेको हुँ । हाल नाम थाहा हुन आएको सन्तबहादुर र सार्किमानले छुरी हानी मारेको भन्ने सुनेको छु । निजहरुले कर्तव्य गरेकोमा पुरा विश्वास लाग्छ । निजहरुलाई भगाई सहयोग गरी दिनेमा डोरमा उपस्थित हेमबहादुर र निजको बयानमा उल्लेखित मानिसहरु हुन भन्ने समेत व्यहोराको हिरामणि ढकाल समेत १० जना सर्जमिनका मानिसहरुले गरी दिएको सर्जमिन मुचुल्का ।
8. मिति २०४९।८।७ गते विहान घटनास्थलमा मानिसलाई छुरी हानी मारे भन्ने सुनी म दौड्दै हेर्न आउँदा डोरमा उपस्थित सन्तबहादुरको हातमा नांगो छुरी र सार्किमान तामाङको हातमा लठ्ठी बोकी भागी गएको देखेको छु । लास नजिक काठको दाप समेत देखेको हुँ । उक्त अपराध माथि उल्लेखित मानिसहरुले नै गरेको हो । निजहरुलाई भगाई सहयोग गर्नेमा हेमबहादुर समेत रहेको भन्ने सुनेको छु अरु थाहा छैन भन्ने समेत व्यहोराको झलकप्रसाद पौडेलको सर्जमिन मुचुलका ।
9. मुटु तथा फोक्सोमा भएको फेटल इन्जुरीबाट अकस्मात मृत्यु भएको हो भन्ने समेत व्यहोराको लास जाँच प्रतिवेदन ।
10. सन्तबहादुर र सार्किमानले छुरीले हानी मारी छुरी र लाठी हातमा लिई दौड्दै गएको देखेको हो भन्ने घटनास्थलमा बुझिएको सर्जमिन मुचुलका समेतको आधार प्रमाणबाट अभियुक्त सन्तबहादुर र सार्किमानले कर्तव्य हत्या गरी मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. अनुसार कसुर अपराध गरेको हुँदा निज अभियुक्तहरुलाई सोही ऐनको १३(३) नं. बमोजिम र हेमबहादुर र शंकर सिंह, सूर्यबहादुर र सानु सूर्यबहादुरले हत्या गर्ने व्यक्तिहरुलाई लुकाई छिपाई भगाई पोखरासम्म पुर्याई मुलुकी ऐन ज्यान सम्बन्धी महलको २२ नं. विपरित कसुर अपराध गरेको हुँदा निजहरुलाई सोही महलको २५ नं. अनुसार जरिवाना गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग दावी ।
11. मिति २०४९।८।७ गते जात्रामा म गएको थिइन । सूर्यबहादुर, शंकर सिंहले मलाई बोलाउन आयो । मेरो घरमा म सुतिराखेको थिएँ । सूर्यबहादुरले मलाई पोखरासम्म पुर्याई देऊ भनी भनेकोले म सूर्यबहादुरसँग पोखरासम्म गएँ । मैले गाउँघरमा सुन्दा सन्तबहादुरले छुरी हानेको भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी हेमबहादुर तामाङले शुरु जिल्ला अदालतमा गरेको बयान ।
12. मिति २०४९।८।७ मा सार्किमान र म जात्रा हेर्न गएका थियौं । अघिल्लो दिन झगडा भएको हो । मैले लालकाजीलाई चिनेको थिइन । मैले उसैको लठ्ठी खोसी उसलाई हिर्काएर ज्यान जोगाउन नसकी मैले २, ३ चोटी छुरीले हिर्काएको हो र अरुले पनि हिर्काएको हो । त्यतिखेर लालकाजी मरेको थिएन । पछि मरेको भन्ने सुनेको हो । म र सार्किमान मात्र थिएँ । हेमबहादुरले मलाई भाग भनेबाट मलाई पोखरा गोगनडाँडा पुर्याई फर्की आएका हुन् । हेमबहादुरलाई ८०, ९० रुपैयाँ दिइ फर्किनलाई पठाई दिएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी मलाङगाई भन्ने सन्तबहादुरले शुरु जिल्ला अदालतमा गरेको बयान ।
13. मिति २०४९।८।७ गते म आफ्नो घरमा छु । म जात्रा हेर्न गएको पनि छैन । लालकाजीलाई छुरी हानेको कुरा २०४९।८।८ गते विहान सुनेको हुँ । वारदात भएपछि सन्तबहादुर मेरो घरमा आएको छैन । पोखरा भगाउन मैले सहयोग गरेको छैन । सन्तबहादुरले छुरी हानी मारेको भन्ने गाउँ घरमा सुनेको हुँ । अरु कुरा थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी शंकर सिंह तामाङको शुरु जिल्ला अदालतमा गरेको बयान ।
14. मिति २०४९।८।७ मा म घरमा थिएँ । जाहेरवालाले म माथि शंका गरी जाहेरी दिएको छ । मैले कसैलाई सहयोग गरी म समेत भई मृतकलाई मारेको होइन । गाउँघरमा मृतकलाई मलाङगाइले मारेको रे भन्ने सुनेको छु । सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुर्यबहादुर तामाङले शुरु जिल्ला अदालतमा गरेको बयान ।
15. मिति २०४९।८।७ गते म विरामी भएर आफ्नै घरमा बसेको छु । म जात्रा हेर्न गएको छैन । लालकाजीलाई सन्तबहादुरले छुरी हानेको भन्ने सुनेको हुँ । मेरो फुपुको घर गोगनडाँडामा छैन । व्यक्तिगत रिसइवीको कारणले ज्यान मुद्दामा फसाउनको लागि झुठ्ठा बयान गरेका हुन् । सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी सुर्यबहादुर तामाङले शुरु जिल्ला अदालतमा गरेको बयान ।
16. हेमबहादुर असल सिधा खालको मानिस हो । हेमबहादुर आफ्नै तर्फबाट गएको हो । सन्तबहादुरलाई लुकाउन गएको थाहा छैन भन्ने समेत व्यहोराको प्रतिवादी हेमबहादुरको साक्षी केदारसिंह तामाङको बकपत्र ।
17. मृतक र प्रतिवादीहरुबीच रिसइवी भएको थाहा छैन । सन्तबहादुरले मारेकोमा शंका लाग्दैन भन्ने समेत व्यहोराको एकै मिलानको प्रतिवादी सन्तबहादुरको साक्षी ज्ञानबहादुर समेतको बकपत्र ।
18. प्रतिवादी साइला भन्ने सार्किमान तामाङका नाउँमा शुरु जिल्ला अदालतबाट जारी भएको ७० दिने म्याद मिति २०५१।४।२० मा तामेल भई उक्त म्यादमा समेत हाजिर नभई शुरु म्यादै गुजारी बसेको ।
19. प्रतिवादी सन्तबहादुरले जाहेरवालाको छोरा लालकाजी तामाङलाई फलामे छुरी जस्तो जोखिमी हतियारले हानी कर्तव्य गरी मारेकोले निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ र अन्य प्रतिवादीहरुलाई सोही महलको २५ नं. बमोजिम रु. २० जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला ।
20. संकलित प्रमाणहरुबाट मृतक लालकाजीको मृत्यु प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट भएको कुरा पुष्टि हुन आएको देखिँदा निज प्रतिवादी सन्तबहादुर तामाङलाई ज्यान सम्बन्धीको महलको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई गरेको मिति २०५३।६।१५ को शुरुको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । साथै वारदातको प्रकृति र प्रतिवादीको उमेर समेतलाई मध्यनजर राखी अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने गरेको राय समेत मुनासिव देखिँदा सदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।
21. पुनरावेदन अदालत पाटनको मिति २०५५।५।२ को पत्रसाथ साधक जाँचको लागि शुरु तथा रेकर्ड मिसिल प्राप्त भई आएको ।
22. प्रस्तुत मुद्दा सम्बन्धमा प्रहरी प्रतिवेदन र जाहेरी पक्षको कुराको आधारमा घटनाको यथार्थ वस्तुस्थिति नबुझी मनसाय रिसइवी, षड्यन्त्रको गन्ध समेत नभएको अज्ञानतावस भएको आवेश प्रेरित घटनालाई तिलको पहाड बनाई दायाँ वायाँ कतै विचारै नगरी न्यायिक दृष्टिबाट पृथक रहेर अन्धाधुन्ध रुपमा ज्यान सम्बन्धीको १ नं. विपरित कसुर गरेको भनी ज्यान सम्बन्धी १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने माग दावी लिइएको अभियोग पत्र बमोजिम चर्को सजाय गर्ने गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला कानुन न्याय संगत नहुँदा वदर गरी उचित न्याय गरी पाउँ भन्ने समेत व्यहोराको सन्तबहादुरको पुनरावेदन ।
23. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी हेर्दा पुनरावेदन अदालत पाटनले गरेको फैसला मिलेको छ, छैन सो विषयमा निर्णय गर्नुपर्ने हुन आयो ।
24. निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी साहिला भन्ने सार्किमान तामाङ अनुसन्धानको अवस्थामा फरार रहेको र अदालतबाट जारी गरिएको म्यादीपुर्जीमा समेत हाजिर हुन नआएकोले निजको हकमा अ.वं. १९० नं. बमोजिम शुरुबाट मुद्दा मुलतवी रहेको देखिँदा निज प्रतिवादी सार्किमान तामाङको सम्बन्धमा केही विचार गरिरहन परेन । प्रतिवादी सन्तबहादुर तामाङको हकमा साधक जाँचको लागि मिसिल प्राप्त भई आएको र निज सन्तबहादुरको पुनरावेदन समेत परेको देखिन्छ । यस्तो अवस्थामा अ.वं. २१५ र न्याय प्रशासन ऐन, २०४८ को दफा १०(३) बमोजिम मुद्दाको साधक जाहेर गरेकोमा पुनरावेदन परेको रहेछ भने साधकको लगत काटी पुनरावेदनको तहबाट हेर्नुपर्ने हुँदा साधकको लगत काटी दिएको छ ।
25. अब पुनरावेदनको रोहबाट हेर्दा प्रतिवादी सन्तबहादुर तामाङ र सार्कीमान तामाङले मृतकलाई हत्या गरी ज्यान सम्बन्धी महलको १ नं. को कसूर अपराध गरेकोले निजहरुलाई ऐ.को १३(३) नं. अनुसार र हेमबहादुर, शंकर सिंह, सूर्यबहादुर र सानु सूर्यबहादुरले हत्या गर्ने व्यक्तिहरुलाई पक्राउ गरी सम्बन्धित ठाउँमा बुझाउनु पर्नेमा सो नगरी हत्यारालाई लुकाई छिपाई भगाई पोखरा सम्म पुर्याई मुलुकी ऐन ज्यान सम्बन्धीको २२ नं. बमोजिम कसूर गरेकाले निजहरुलाई ऐ.ऐनको दफा 25 नं. बमोजिम जरिवाना गरी पाउँ भन्ने अभियोग दावी रहेको देखिन्छ । जाहेरी दरखास्त हर्दा मिति २०४९।८।७ गते बिहान छोरा महादेवस्थान गा.वि.स.मा सतविज छर्ने जात्रा हेर्न गएकोमा छोरा लालकाजीलाई मलाङगाई भन्ने लालबहादुर र साईला भन्ने सार्कीमानले छुरी प्रहार गरी मारेकोले कारबाही गरी पाउँ भन्ने किटानी जाहेरी परेको देखिन्छ । रगत लागेको छुरी र हिलो लागेको कपडा प्रतिवादी सन्तबहादुरको घरबाट बरामद भएको र निज सन्तबहादुरले सनाखत समेत गरेको देखिन्छ । मुटु तथा फोक्सोमा भएको फेटल इन्जुरीबाट अकस्मात मृत्यु भएको भन्ने शव परीक्षण प्रतिवेदनमा उल्लेख भएको देखिन्छ । मैले मेरो साथमा भएको फलामे छुरीले मृतकको टाउको र छातीमा हानेँ र त्यसपछि त्यहाँबाट भागेर गए भनी प्रहरीमा र मैले मृतकलाई २, ३ चोटी छुरीले हिर्काएको हो भन्ने अदालतमा कसूरमा सावित भै प्रतिवादी सन्तबहादुरले बयान गरेको देखिन्छ । अन्य प्रतिवादीहरुले समेत मृतकलाई सन्तबहादुरले मारेका हुन भन्ने सुनेको हुँ भनी बयान गरेको देखिन्छ । सर्जमिनका मानिसहरुले समेत प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट लालकाजी तामाङ्गको मृत्यु भएको भनी लेखाई दिएको देखिन्छ । यसरी संकलित प्रमाणहरुबाट मृतक लालकाजीको मृत्यु प्रतिवादी सन्तबहादुरको कर्तव्यबाट भएको कुरा पुष्टी हुन आएको देखिँदा निज प्रतिवादी सन्तबहादुर तामाङ्गलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराएको शुरु काभ्रेपलाञ्चोक जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादी सन्बहादुरको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी सन्तबहादुरले मार्ने मनसायले छुरी जस्तो जोखिमी हतियार पटक-पटक प्रहार गरी हत्या गरेको देखिन्छ । प्रतिवादी सन्तबहादुलाई घटी सजाय हुनुपर्ने सम्बन्धमा शुरु र पुनरावेदन अदालतले कारण सहितको खुलासा राय व्यक्त गरेको समेत देखिदैँन । कसूरमा प्रतिवादीले प्रहरी र अदालतमा सावित भै बयान गरेको देखिन्छ । तसर्थ अ.वं. १८८ नं. बमोजिम १० वर्ष कैद गर्ने भन्ने शुरुले जाहेर गरेको रायलाई सदर गरेको पुनरावेदन अदालत पाटनको राय मिलेको देखिएन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या.राजेन्द्रराज नाख्वा
इति सम्वत २०५६ साल माघ २४ गते रोज २ शुभम...............।